कामना सेवाले एनईभी नेपालको विद्युतीय गाडी किन्न कर्जा दिने

काठमाडौं । कामना सेवा विकास बैंकले एनईभी नेपालको विद्युतीय सवारी साधान किन्नेलाई सस्तोमा कर्जा दिने भएको छ । सो सम्बन्धमा विकास बैंक र एनईभी नेपालबीच भदौ २६ गते नै सम्झौता गरेका हुन् । उक्त सम्झौता पत्रमा कामना सेवा विकास बैंकका तर्फबाट नायव कार्यकारी अधिकृत विनय दाहाल र एनईभी नेपालको तर्फबाट कार्यकारी अधिकृत सबिता कुमारी क्षेत्रीले हस्ताक्षर गरेका हुन् । यससँगै एनईभी नेपालका विद्युतीय सवारी साधन खरिद गर्न चाहाने ग्राहकले कामना सेवा विकास बैंकबाट सस्तो ब्याजदरमा कर्जा सुविधा पाउने भएका छन् ।

काठमाडौंमा द्रुत बस सेवा सुरु, १९ स्थानमा स्टप, भाडा दर कति ?

काठमाडौं । सरकारले आजबाट काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सुर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन सुरु गरेको छ । संविधान दिवसको अवसर पारेर सरकारले काठमाडौं उपत्यकामा पहिलो पटक द्रुत बस सेवाको सञ्चालन गरेको हो । बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत सेवा बस सञ्चालनको उदघाटन गरेका छन् । उद्घाटनको दिन मन्त्रीज्वालासहित बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिका, मध्यपुर थिमी र सूर्यविनायक नगरपालिकाका मेयरहरु चढेर यात्रा गर्नेछन् । यातायात व्यवस्था विभागले बिहीबारदेखि दिनको ४ घण्टा यात्रु (सर्वसाधारण) का लागि द्रुत बस सञ्चालन हुने जनाएको छ । यात्रुहरुका लागि भने असोज चार गते बिहीबारदेखि मात्रै द्रुत बस सेवा सञ्चालन हुने जनाईएको छ । एम्बुलेन्सको जस्तै सुविधा दिएर सरकारले उक्त रुटमा ३५ देखी ४० सिटे बस द्रुत सेवाको रुपमा सञ्चालन गर्न लागेको हो । पहिलो चरणमा २८ वटा सार्वजनिक बसले उक्त सेवा दिनेछ । १९ स्थानमा बिसौनी बिहीबारदेखि यात्रुका लागि सञ्चालन हुने उक्त बसले विभिन्न १९ स्थानमा यात्रु ओराल्ने तथा चढाउन पाउँनेछन् । विभागका अनुसार द्रुत बस सेवाका लागि रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँबानेश्वर, शान्तिनगर, तीनकुने, कोटेश्वर जडीबुटीमा बस स्टप राखिएको छ । यस्तैगरी, लोकन्थली, कौशलटार, गठ्ठाघर, चारदोबाटो लगायत स्थानमा यात्रु चढाउने र ओराल्न गरी उक्त रुटमा १९ स्टप राखिएको विभागका सूचना अधिकारी इश्वरीदत्त पनेरुले जानकारी दिए । उनका अनुसार द्रुत सेवाका बसहरुले अन्य बसहरु जस्तरी यात्रु कुरेर बस्न भने पाउँनेछैनन् । द्रुत सेवाका बसहरु बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ बजेदेखि ६ बजेसम्म रत्नपार्क र सूर्यविनायक दुवैतर्फबाट ५/५ मिनेटको फरकमा छुट्नेछन् । ती बसहरु रातो रंगले पोतिएको लेनमा मात्र चल्ने छन् । कार्यालय आउने कर्मचारीहरुले ट्राफिक जामकै कारण समयमा कार्यालय आउन नसकेको गुनासो गरेपछि सरकारले कर्मचारीलाई लक्षित गर्दै द्रुत बस सेवा सञ्चालनमा ल्याएकोे हो । यसअघि उक्त रुटमा डेढदेखि २ घण्टाको समय लाग्नेगरेकोमा अब ४५ मिनेटमा नै पुगिने विभागको दाबी छ । रत्नपार्क–सूर्यविनायक रुटमा अरु सार्वजनिक बसहरुले जति भाडा लिन्छन् द्रुत सेवाका बसमा पनि त्यति नै भाडा लाग्ने विभागका सूचना अधिकारी पनेरुले जानकारी दिए ।

टिभिएसद्वारा च्याम्पियन्स एक्सचेन्ज मेलाको आयोजना

काठमाडौं । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले च्याम्पियन्स एक्स्चेन्ज मेलाको आयोजना गरेको छ । असोज १ गते देखि काठमाडौंको भृकुटीमण्डपमा आयोजित यो मेला असोज ६ गते सम्म चल्ने छ । यस भव्य मेला मार्फत ग्राहकहरुले कुनै पनि ब्राण्डका पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गर्दा आर्कषक छुट तथा उपहारहरु पाउने कम्पनीले जानकारी दिएको छ । मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गरेर टिभिएसको दुई पाङ्ग्रे सवारी साधन लिँदा बजार मुल्याङ्कन भन्दा १० हजार बढी मूल्य पाउने छन् । मेला मार्फत नै उपभोक्ताले कम्पनीद्वारा दशैँ तथा तिहारका सुअवसरमा सार्वजनिक ‘हर मोडमा उमंग’ योजना अन्तर्गत, नकिन्दै १ लाख र किन्दा नगद ५ लाख सम्मको नगद छुट पनि पाउन सक्ने व्यवस्था रहेको छ । साथै, हरेक महिना लक्कि ड्र मार्फत सत् प्रतिशत क्याश ब्याक पनि जित्न सक्नेछन् र एक भाग्यशाली विजेतालाई बम्पर उपहार १० लाखको नगद पुरस्कार उपलब्ध गरिने जनाएको छ । यो योजनामा ​​आकर्षक फाइनान्स अफर पनि समावेश छ, जस अन्तर्गत न्यूनतम २५% डाउनपेमेन्ट र शुन्य प्रतिशत ब्याजदरको ईएमआइमा ईच्छुकले बाइक तथा स्कुटर खरिद गर्न सक्नेछन् । यस बाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर, र ब्याग जस्ता आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्ने छन् । जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ । गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।