मारुती सुजुकी इन्डियाको ‘मार्केट क्याप’ पुग्यो ४० खर्ब
काठमाडौं । भारतको सबैभन्दा ठूलो अटोमोबाइल कम्पनी मारुती सुजुकीले अर्को इतिहास रचेको छ । मारुती सुजुकी इन्डिया लिमिटेडले मार्च २७ मा ४० खर्ब रुपैयाँको ‘मार्केट क्याप’ को माइलस्टोन छोएको छ । यसो गर्ने यो देशकै १९औं सूचीकृत कम्पनी बनेको छ । सन् २०२४ मा मारुती सुजुकीको सेयर २३ प्रतिशतले बढेको छ । अब मारुती सुजुकी रिलायन्स इन्डस्ट्रिज, टीसीएस, एचडीएफसी बैंक, इन्फोसिस, आईसीआईसीआई बैंक, भारती एयरटेल र एसबीआई जस्ता ठूला कम्पनीहरूको समूहमा सामेल भएको छ । ५२ साताको उच्च बिन्दुमा पुग्यो हालै मारुती सुजुकीको बजार मूल्य जापानको मूल कम्पनी सुजुकी मोटर कर्पको भन्दा दोब्बर भएको छ । बुधवार दिउँसो १२ः३० बजे कारोबारका क्रममा कम्पनीको स्टक बीएसईमा १२ हजार ७ सय २४ रुपैयाँ ९५ पैसाको ५२ हप्ताकै उच्च बिन्दुमा पुगेको थियो । यो अघिल्लो दिनको तुलनामा ४ प्रतिशतले बढेको हो । साँझ २.४० प्रतिशतले बढेर १२ हजार ५ सय ५० रुपैयाँमा बन्द भयो । यससँगै कम्पनीले ४० खर्ब रुपैयाँको बजार मूल्य हासिल गरेको छ । यसअघि रिलायन्स, टीसीएस, एचडीएफसी बैंक, इन्फोसिस, आईसीआईसीआई बैंक, भारती एयरटेल, एसबीआई, एलआईसी, एचयूएल, आईटीसी, एलएन्डडटी, बजाज फाइनान्स, अदानी इनर्जी, अदानी ग्रीन, एचसीएल टेक, अदानी इन्टरप्राइजेज, कोटक महिन्द्रा बैंक र अदानी टोटल ग्यास छन् । यो माइलस्टोन हासिल भएको छ । येनमा आएको गिरावटको फाइदा मारुतीले पायो बुधबार जापानी मुद्रा येन ३४ वर्ष यताकै न्यून स्तरमा झरेको छ । यो त्रैमासिकमा डलरको तुलनामा येन ७ प्रतिशतले घटेको छ । येनको गिरावटबाट मारुती सुजुकीलाई फाइदा भएको छ । उनीहरूले जापानबाट वस्तु तथा सेवा आयात गर्दा कम तिर्नुपरेको छ । योसँगै भारतमा मारुती सुजुकीको बिक्री लगातार बढिरहेको छ । जसका कारण यसको आम्दानी मात्र होइन नाफा पनि बढेको छ । राम्रो त्रैमासिक नतिजाका कारण मारुती स्टकले राम्रो प्रदर्शन जारी राखेको छ । हाई स्ट्रङ हाइब्रिड गाडी आउँदै विज्ञहरूका अनुसार नयाँ ब्रेजा, ग्रान्ड भिटारा र फोर्डले कम्पनीको बिक्री बढाउन महत्त्वपूर्ण भूमिका खेलेको छ । कम्पनीले पहिलेदेखि नै सानो कारको क्षेत्रमा राम्रो प्रदर्शन गरिरहेको थियो । अब यसले कम्प्याक्ट एसयूभी खण्डमा पनि राम्रो गरिरहेको छ । यसबाहेक, यसले हाल हल्का हाइब्रिड पेट्रोल गाडीहरू प्रदान गर्दैछ । कम्पनीले आगामी ३ वर्षभित्र धेरै शक्तिशाली हाइब्रिड सवारीसाधन लन्च गर्न लागेको छ । यस्तो अवस्थामा कम्पनीको सेयरले आगामी दिनमा पनि राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । एजेन्सी
हुन्डाईले विद्युतीय सवारी साधन निर्माणमा थप ५० अर्ब डलरभन्दा बढी लगानी गर्ने
सियोल । हुन्डाईले दक्षिण कोरियामा विद्युतीय कारको बजार प्रवद्र्धनका लागि सन् २०२६ सम्ममा ५० अर्ब डलरभन्दा बढी लगानी गर्ने योजना सार्वजनिक गरेको छ । कियासँगै हुन्डाई बिक्रीका आधारमा विश्वको तेस्रो ठूलो कार कम्पनी हो । तर इलोन मस्कको टेस्ला र चिनियाँ फर्म बीवाईडीपछि दक्षिण कोरियाली विशाल कम्पनी हुन्डाई विद्युतीय सवारी साधन उत्पादन क्षेत्रमा पछि परेको छ । हुन्डाईले सन् २०३० सम्ममा विद्युतीय कारको उत्पादन ३६ लाख युनिटभन्दा बढी पुर्याउने लक्ष्य राखेको भन्दै विश्वव्यापी विद्युतीय कारको पहिलो तीन स्थानभित्र पर्ने प्रयास गरिरहेको छ । हुन्डाई मोटर ग्रुपले बुधबार घोषणा गरेको ५०.५ अर्ब अमेरिकी डलर लगानीको साथ ‘निरन्तर परिवर्तन र नवीनताको माध्यमबाट अनिश्चित व्यावसायिक वातावरणमा भविष्यको वृद्धिका आधारहरू सुरक्षित गर्न’ चाहेको बताएको छ । भविष्यको गतिशील परियोजनाहरूसहित कम्पनीले सवारी उत्पादनमा कुल लगानीको ६३ प्रतिशत हिस्सा लगानी गर्न लागेको हो । यस योजना अन्तर्गत हुन्डाईले दक्षिण कोरियामा ८० हजार नयाँ रोजगारी सिर्जना गर्नुका साथै तीन वटा नयाँ विद्युतीय कार निर्माण कारखानाहरू स्थापना गर्नेछ । हुन्डाईले सन् २०३० सम्ममा दक्षिण कोरियामा वार्षिक विद्युतीय गाडी उत्पादन १५ लाख १० हजार युनिट पुर्याउने लक्ष्य लिएको छ । समूहको विद्युतीय सवारी साधन उत्पादन रणनीतिमा पूर्वाधार, सफ्टवेयर, ब्याट्री टेक्नोलोजी र स्वचालित ड्राइभिङमा लगानी पनि समावेश छ । हुण्डाईको किया मोडेलको कारले पछिल्लो एक दशकमा ‘एसयूभी’को बिक्रीमा १५० प्रतिशतभन्दा बढीको वृद्धि हासिल गरेको छ । एसयूभीले सेडानको तुलनामा करिब १२ प्रतिशत बढी कार्बन डाइअक्साइड उत्सर्जन गर्ने भन्दै हुन्डाईलाई एसयूभीको बिक्री घटाउन आग्रह गरेको छ । रिपोर्टका बारेमा सोधिएको प्रश्नमा हुण्डाईले कियाको ईभी-६ र इभी-९ सहित ‘पूर्ण विद्युतीय एसयूभी’ कारको बजार क्षेत्रलाई विस्तार गरिरहेको बताएको छ । रासस
बीवाईडीले निकाल्यो ७० लाखौं न्यु इनर्जी भेइकल
काठमाडौं । बीवाईडीले ७० लाखौं न्यु इनर्जी भेइकल निकालेको छ । बीवाईडीका अनुसार मार्च २५ मा विश्वकै प्रमुख न्यु इनर्जी भेइकल र पावर ब्याट्री उत्पादक कम्पनी बीवाईडीले ७० लाखौ न्यु इनर्जी भेइकल, डेन्जा एन७ सार्वजनिक गरी यो लक्ष्य हासिल गर्ने पहिलो कम्पनी बनेको छ । कम्पनीको चीनस्थित जिनान फ्याक्ट्रीमा उत्पादित डेन्जा एन७ सार्वजनिक गरेर बीवाईडीले ब्रान्डको लागि सो ऐतिहासिक उपलब्धि हासिल गरेको बताएको छ । बीवाईडी अटोमोटिभ उद्योगमा सन् २००३ मा प्रवेश गरेको थियो र पहिलो न्यु इनर्जी भेइकल २००८ मा बिक्री गरेको थियो । अहिले भने यसले दर्जनौ मोडल बिक्री गर्दै आएको छ । बीवाईडीले सन् २०२१ को मे महिनामा १० लाख सवारी साधन उत्पादन गरेको थियो भने त्यसपछिको १८ महिनामै तीनगुणा पुर्याएको थियो । त्यसपछिको ९ महिनामा ५० लाख र फेरि ७ महिनामै ७० लाख उत्पादन पु¥याउन सफल भएको हो । कम्पनीका अनुसार सन् २०२३ मा बीवाईडीको वार्षिक बिक्री ३० लाख २० हजार युनिट भन्दा बढी पुगेर न्यु इनर्जी भेइकलको बजारमा ग्लोबल लिडर नै बन्न सफल भएको छ । विभिन्न ब्रान्ड पोर्टफोलियो अन्तर्गतका फरक फरक क्याटागोरीमा उपलब्ध फरक मोडलले यसरी बिक्री बढाउनमा भूमिका खेलेका छन् । यसैगरी यही वर्ष नै अन्तर्राष्ट्रिय बजारमा समेत २ लाख ४० हजार युनिट भन्दा बढी कार निर्यात गरी बीवाईडी न्यु इनर्जी भेइकल अन्तर्गत टप चाइनिज निर्यातकर्ता कम्पनी समेत बनेको छ । एक वर्षमै यो संख्या ३३७ प्रतिशतले बढेको हो । हाल विश्वका ६४ देश र क्षेत्रमा बीवाईडीका न्यु इनर्जी प्यासेन्जर गाडी बिक्री भइरहेका छन् । ती मध्ये थाइल्यान्ड, ब्राजिल, उज्वेकिस्तान र हंगेरीमा गाडी उत्पादन गर्ने कारखाना छन् । कम्पनीका अनुसार यही वर्ष देखि नै बीवाईडी युरो कपको समेत अफिसियल पार्टनर बनेर न्यु इनर्जी भेइकललाई वर्ल्ड स्टेजमा पुर्याउन सफल भएको छ । बीवाईडीले हाल इलेक्ट्रिक र प्लग इन हाइब्रिड सवारी साधन उत्पादनमा आफ्नो ध्यान केन्द्रित गरिरहेको छ र ब्याट्री तथा इलेक्ट्रिक मोटर लगायतका विभिन्न प्रविधिमा समेत कार्य गरिरहेको छ । डेन्जा बीवाईडी अन्तर्गतकै एक ब्रान्ड हो ।