बीवाईडीले निकाल्यो ७० लाखौं न्यु इनर्जी भेइकल

काठमाडौं । बीवाईडीले ७० लाखौं न्यु इनर्जी भेइकल निकालेको छ । बीवाईडीका अनुसार मार्च २५ मा विश्वकै प्रमुख न्यु इनर्जी भेइकल र पावर ब्याट्री उत्पादक कम्पनी बीवाईडीले ७० लाखौ न्यु इनर्जी भेइकल, डेन्जा एन७ सार्वजनिक गरी यो लक्ष्य हासिल गर्ने पहिलो कम्पनी बनेको छ । कम्पनीको चीनस्थित जिनान फ्याक्ट्रीमा उत्पादित डेन्जा एन७ सार्वजनिक गरेर बीवाईडीले ब्रान्डको लागि सो ऐतिहासिक उपलब्धि हासिल गरेको बताएको छ । बीवाईडी अटोमोटिभ उद्योगमा सन् २००३ मा प्रवेश गरेको थियो र पहिलो न्यु इनर्जी भेइकल २००८ मा बिक्री गरेको थियो । अहिले भने यसले दर्जनौ मोडल बिक्री गर्दै आएको छ । बीवाईडीले सन् २०२१ को मे महिनामा १० लाख सवारी साधन उत्पादन गरेको थियो भने त्यसपछिको १८ महिनामै तीनगुणा पुर्याएको थियो । त्यसपछिको ९ महिनामा ५० लाख र फेरि ७ महिनामै ७० लाख उत्पादन पु¥याउन सफल भएको हो । कम्पनीका अनुसार सन् २०२३ मा बीवाईडीको वार्षिक बिक्री ३० लाख २० हजार युनिट भन्दा बढी पुगेर न्यु इनर्जी भेइकलको बजारमा ग्लोबल लिडर नै बन्न सफल भएको छ । विभिन्न ब्रान्ड पोर्टफोलियो अन्तर्गतका फरक फरक क्याटागोरीमा उपलब्ध फरक मोडलले यसरी बिक्री बढाउनमा भूमिका खेलेका छन् । यसैगरी यही वर्ष नै अन्तर्राष्ट्रिय बजारमा समेत २ लाख ४० हजार युनिट भन्दा बढी कार निर्यात गरी बीवाईडी न्यु इनर्जी भेइकल अन्तर्गत टप चाइनिज निर्यातकर्ता कम्पनी समेत बनेको छ । एक वर्षमै यो संख्या ३३७ प्रतिशतले बढेको हो । हाल विश्वका ६४ देश र क्षेत्रमा बीवाईडीका न्यु इनर्जी प्यासेन्जर गाडी बिक्री भइरहेका छन् । ती मध्ये थाइल्यान्ड, ब्राजिल, उज्वेकिस्तान र हंगेरीमा गाडी उत्पादन गर्ने कारखाना छन् । कम्पनीका अनुसार यही वर्ष देखि नै बीवाईडी युरो कपको समेत अफिसियल पार्टनर बनेर न्यु इनर्जी भेइकललाई वर्ल्ड स्टेजमा पुर्याउन सफल भएको छ । बीवाईडीले हाल इलेक्ट्रिक र प्लग इन हाइब्रिड सवारी साधन उत्पादनमा आफ्नो ध्यान केन्द्रित गरिरहेको छ र ब्याट्री तथा इलेक्ट्रिक मोटर लगायतका विभिन्न प्रविधिमा समेत कार्य गरिरहेको छ । डेन्जा बीवाईडी अन्तर्गतकै एक ब्रान्ड हो ।

नेपालमा ओमोडा इ-फाइभको अर्डर डेलिभरि सुरू

काठमाडौं । एस.पी.जी. अटोमोबाइल्सले ओमोडा इ फाइभ गाडीको वितरण नेपालमा सुरु गरेको छ । गत सन् २०२४ को फेब्रुअरी २ मा नेपालमा सार्वजनिक गरिएको गाडीको औपचारिक बुकिङ्ग सोही दिनमै खुला गरिएको थियो । उक्त पहिलो चरणमा बुकिङ गर्ने ग्राहकको गाडी हस्तान्तरण यस महिनाबाट सुरु भएको हो । ओमोडा इ फाइभमा अत्याधुनिक प्रविधिलाई ध्यानमा राख्दै बनेको ६१ किलोवाटको उर्जा क्षमता (इनर्जी क्यापासिटी) भएको लिथियम आइरन फोसफेट ब्लेड ब्याट्री प्रयोग गरिएको छ । जसले गर्दा यसको डब्लुएलटिपी रेन्ज ४३० किलोमिटर रहेको छ । ओमोडा इ फाइभको फ्रन्ट-माउन्टेड विद्युतिय मोटरले ३४० एनएम टर्कको उर्जा उत्पन्न गर्दछ । नेपाली बजारमा सार्वजनिक भएको एक महिनाभित्रै एस.पी.जी. अटोमोबाइल्सले यस गाडीको ३ सयभन्दा बढी संख्यामा बुकिङ गरेको तथ्याङ्क रहेको छ । सुरुवाती मूल्य ५९ लाख ४९ हजार रुपैयाँ रहेको ओमोडा इ(फाइभ गाडीको प्रमुख आकर्षण, एल.इ.डी. प्रोजेक्टरयुक्त हेडल्याम्प, नेपाली सडकका निम्ति उपयुक्त उत्कृष्ट १८० (एमएम)को ग्राउण्ड क्लियरेन्स, १८ इन्चको एलोय ह्विल तथा लेदरका सिट रहेका छन् । ओमोडा इ फाइभले एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) मा ५ स्टार एनक्याप रेटिङ्ग प्राप्त गरेको छ । गाडीमा उपलब्ध लेन डिपार्चर वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन, अडाप्टिभ क्रुज कन्ट्रोल र ६ वटा एयर ब्यागले गाडीमा सवार सबैको उच्चतम सुरक्षा सुनिश्चित गर्दछ । गाडीको बाहिरी एक्स्टेरियर भाग, ‘एक्स(सेप(आकार) फ्रन्ट फेस’ सहित ‘डाइनामिक फास्टब्याक सेप’ डिजाइनमा बनेको छ । भित्र इन्टेरियरको भागमा उच्चस्तरको एम्बिएन्ट लाइटिङ, सोनी प्रिमियम स्पिकर, तथा भेन्टिलेसनयुक्त सिटको सुविधा रहेको छ । साथै यसमा जडित फास्ट चार्जिङको सहायताले २८ मिनेटमा नै ३० प्रतिशतको ब्याट्रीलाई ८० प्रतिशत बनाउन सक्दछ । एस.पी.जी. अटोमोबाइल्स, ग्राहक तथा नयाँ गाडी किन्न इच्छुकले नजिकैको ओमोडा सोरुममा गई नयाँ ओमोडा इ(फाइभको बारेमा जानकारी लिन सक्नेछन् । एस.पी.जी. अटोमोबाइल्स नेपालमा ओमोडा र जेइको अटोमोबाइल्स कम्पनीको आधिकारिक वितरक हो ।

टिभिएसको नयाँ बाइकमा समस्या, पीडित भन्छन्,-‘कम्पनीले फिर्ता लिओस्, म चड्दै चड्दिन’

काठमाडौं । प्रकाश श्रेष्ठ पेशाले बैंकर हुन् । बैंकिङ क्षेत्रमा काम गरेको उनले करिब एक दशक भयो । आफू बैंकिङ क्षेत्रमा काम गर्ने भएकाले उनले अन्य क्षेत्रमा पनि कर्मचारीहरूले बैंकिङ क्षेत्रको जस्तो व्यवहार गर्छन् भन्ने सोचेका छन् । उनले गत जनवरीमा टीभीएसको जमल सोरूमबाट मोटरसाइकल खरिद गरे । उनले २ लाख ६६ हजार ५ सय रुपैयाँमा टीभीएस राइडर १२५ मोडलको मोटरसाइकल खरिद गरेर घर फर्किए । अघिल्लो दिन मोटरसाइकल खरिद गरेर खुसी हुँदै घर फर्केका उनी अर्को दिन बिहानै निराश बन्नु पर्यो । खरिद गरेको दोस्रो दिनमा मोटरसाइकलमा समस्या देखियो । उनले बाइक स्टार्ट गर्न खोजे पनि स्टार्ट भएन । पटक–पटक प्रयास गर्दा बल्लतल्ल स्टार्ट भयो । उनले मनमनै सोचे, ‘चिसोको मौसम भएर ब्याट्री डाउन भएको होला ।’ तर, जमल सोरूमलाई बाइक स्टार्ट भएन भनेर जानकारी भने गराए । तेस्रो दिन पनि त्यस्तै समस्या देखियो । उनले केही दिन त बाइक तातेपछि सुधार होला भन्ने सोचे । अफिस जानु १० मिनेट अगाडि नै बाइक स्टार्ट गरेर खाना खान जान्थे । तर, पनि समस्या निरन्तर दोहोरियो । दैनिक समस्या आउन थालेपछि जमल सोरूममा गएर देखाउँदा कर्मचारीले उनलाई टेकु सर्भिस सेन्टर गएर देखाउन सुझाव दिए । सोही बमोजिम उनी टेुक सर्भिस सेन्टर पुगे । ‘मैले जनवरी फर्स्टमा जमल सोरूमबाट टीभीएसको राइडर बाइक किनेको हुँ, बाइक किनेको डे वानदेखि समस्या आयो, एक/डेढ सय किलोमिटर मात्रै कुदाएर कम्पनीलाई जानकारी गराउँदा सर्भिस सेन्टर जाउ भन्यो,’ उनले गुनासो गर्दै भने, ‘सामान्य समस्या होला भनेर सर्भिस सेन्टर गएँ, सर्भिस सेन्टरमा देखाउँदा केही भएको छैन, एकचोटी बन्द गरेर फेरी स्टार्ट गर्याे भने स्टार्ट हुन्छ भन्याे, यो समस्या सबैकोमा हुन्छ भनेर सहज उत्तर दिएर फर्काए ।’ उनका अनुसार तीन महिना नवित्दै उक्त बाइकलाई धेरै पटक सर्भिस सेन्टरमा देखाइसके । कम्पनीका धेरै व्यक्तिसँग कुरा गसिकेका छन् । उनी टेकु सर्भिस सेन्टरमा मात्रै ३/४ पटक धाइसके । बाइकमा समस्या आउँदा सानो भर्याङ सर्भिस सेन्टर पनि पुगे । तर, उनी बैंकर भएकाले सधैं सर्भिस सेन्टर धाउन सक्ने अवस्था थिएन । अफिसले पनि सधैं बिदा दिने अवस्था थिएन । ‘साढे ९ बजे अफिस आउनुपर्छ, केही दिन बिदा लिएर सर्भिस सेन्टर गएँ, इन्जिनियरले बाइक परीक्षण गरेपछि केही पनि समस्या छैन । तैपनि ब्याट्री फेरिदिन्छु भन्नुभयो, जबकी २ सय किलोमिटर पनि कुदेको थिएन,’ उनले भने, ‘२ लाख ६६ हजार रुपैयाँ नगदमा खरिद गरेको बाइकमा पहिलो दिन नै समस्या आउँदा पीडा भयो ।’ कम्पनीले ब्याट्रीमा समस्या हुन सक्ने आँकलन गर्दै ब्याट्री पनि फेर्यो । तर, समस्या पुरानै दोहोरियो । एकदिन त कम्पनीबाटै मान्छेहरू आएर बाइक लगेर गएको उनले सुनाए । तर, कम्पनीबाट फेरि कुनै समस्या छैन भन्ने कुरा आयो । उनले फेरि कम्पनीमा गएर ल्याए । तर, फेरि स्टार्ट नै नहुने समस्या देखियो । सामान्य समस्या होला भनेर एडजस्ट गरिरहेका बैंकर श्रेष्ठ बाइकको इन्जिनमा पछि समस्या आयो भनियो । ६/७ सय किलोमिटर मात्रै कुदेको बाइको इन्जिनमा समस्या देखियो भनेपछि उनी अचम्ममा परे । उनको बाइकबाट ट्रयाक्टरको जस्तै आवाज आउन थालेपछि कम्पनीले इन्जिन पनि फेरिदियो । जतिपटक समस्या आउँछ उनी कम्पनीलाई जानकारी गराउँछन् । तर, उनले फोन गर्दा कर्मचारीले पनि सहज रूपमा उत्तर नदिने, झर्किएर बोल्ने गरेको गुनासो उनको छ । ‘सोरुममा फोन गर्दा म व्यस्त छु, तपाईंको मात्रै काम होर भनेर फोन काट्नु हुन्छ, सोरुमको कर्मचारीले मलाई नराम्रो व्यवहार गरिन्, तपाईंलाई जे मन लाग्छ, त्यही गर्नुहोस् भन्ने जस्ता व्यवहार गर्नु भयो,’ श्रेष्ठले गुनासो गर्दै भने, ‘समस्यामा परेको ग्राहकको समस्या समाधान गर्नुको साँटो जे गर्न सक्छस् त्यही गर भन्ने अभिव्यक्ति दियो ।’ निरन्तर बाइकमा समस्या आएपछि उनले आफ्नो पैसा फिर्ताको माग गरेका छन् । ‘मलाई बाइक सर्भिसमा लिँदा लिँदै इरिटेड भइसकेँ, एउटा लेभलसम्म सहन सकिन्छ । तर, अब त्यो लेभल कटिसकेको छ । बाइक फिर्ता दिएर मेरो पैसा फिर्ता दिनुपर्छ,’ उनले भने । टीभीएस काठमाडौंका इन्चार्ज पुजन श्रेष्ठका अनुसार बाइकमा समस्या आएपछि कम्पनीले बनाइदिन सक्छ । बिक्री भइसकेको बाइक फिर्ता हुने अवस्था भने छैन । यस विषयमा आफूले कम्पनीको माथिल्लो तहमा जानकारी गराइसकेको जानकारी दिए । ‘उहाँको बाइकमा समस्या भएको सत्य हो, उहाँको पीडा मैले पनि महसुस गरेको छु, इन्जिनमा समस्या आउनु स्वाभाविक पनि हो । तर, उहाँले बाइक फिर्ता गर्नु पर्ने माग पूरा गर्न मेरो अथोरिटीमा छैन, उहाँले राख्नु भएको मागका लागि माथिल्लो तहमा जानकारी गरेको छु, माथिबाट जे निर्णय आउँछ मैले त्यही कार्यान्वयन गर्छु,’ उनले भने, ‘बाइक बिक्री गर्दा टम्स एण्ड कण्डिसन अनुसार वारेन्टी कार्ड दिइएको हुन्छ, त्यसमा बाइक फिर्ता गर्दैनौं । पार्टपुर्जाहरू फेरिदिने भनेर उल्लेख गरिएको हुन्छ ।’ सवारी साधनमा समस्या देखिएपछि यसअघि विद्युतीय सवारी निर्माता टेस्लाले बिक्री भइसकेको गाडी पनि फिर्ता लिएको थियो । टेस्लाको गाडीको ब्रेक, पार्क र एन्टीलक ब्रेक सिस्टम (एबीएस)को वार्निङ लाइट देखाउने इन्स्ट्रुमेन्टल प्यानलमा अक्षरको आकार सानो भएपछि कम्पनीले अमेरिकी ग्राहकबाट गाडी फिर्ता लगेको थियो । संसारमा यस्ता उदाहरण धेरै भएपनि नेपाली उपभाेक्ताले भने त्यस्ताे सुविधा पाएका छैनन् ।