टेस्ला भारतमा बलियो उत्पादन उपस्थिति स्थापना गर्ने योजनामा छ : एलन मस्क

नयाँदिल्ली । टेस्ला कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कले अन्य मुलुकमा जस्तै भारतमा पनि विद्युतीय कार हुनुपर्ने बताएका छन् । उनले टेस्लाले भारतमा विद्युतीय सवारी साधन उपलब्ध गराउनु आफ्नो कम्पनीका लागि स्वाभाविक प्रगति हुने बताए । ‘भारत अहिले जनसङ्ख्याका आधारमा विश्वको सबैभन्दा ठूलो मुलुक हो, अन्य मुलुकमा भएजस्तै भारतमा विद्युतीय कारहरू हुनुपर्छ, भारतमा टेस्लाले विद्युतीय सवारी साधन उपलब्ध गराउनु स्वाभाविक प्रगति हो’, नोर्गेस बैंक इन्भेस्टमेन्ट म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत निकोलाई टाङ्गगेनसँगको ‘एक्स स्पेस’ सत्रमा उनले भने । अर्बपति सिइओले भने, ‘भविष्यमा सबै सवारी विद्युतीय हुनेछन् र यो केवल समयको कुरा हो ।’ भारतीय बजारमा आफ्नो उपस्थितिलाई सुदृढ पार्न टेस्लाले भर्खरै आफ्नो प्रयासलाई तीव्रता दिएको छ र अत्याधुनिक उत्पादन कारखाना स्थापना गर्न उपयुक्त स्थानको खोजी गरिरहेको छ । महाराष्ट्र र गुजरातका राज्य सरकारले भारतमा विद्युतीय कारको प्लान्ट स्थापना गर्न टेस्ला उत्पादक कम्पनीलाई आकर्षक जग्गा प्रस्ताव गरेका छन् । उक्त प्रस्तावित प्लान्टमा दुईदेखि तीन अर्ब अमेरिकी डलरसम्मको लगानी लाग्ने र यसले अन्तर्राष्ट्रिय बजारहरू पनि लिने बताइएको छ । यो कदम भारतको नयाँ ‘विद्युतीय सवारी नीति’ पछि आएकाले यसले भारतमा विद्युतीय सवारी उत्पादन कारखाना स्थापना गर्न प्रोत्साहन प्रदान गरेको छ । यस योजनाअन्तर्गत भारतलाई अत्याधुनिक प्रविधिले सुसज्जित विद्युतीय सवारी उत्पादन गन्तव्यका रूपमा स्थान दिने लक्ष्य राखिएको छ । साथै देशमा उद्यमशीलतालाई बढावा दिन ‘मेक इन इन्डिया’ पहललाई समावेश गरिएको छ । यस नीतिले ५० करोड अमेरिकी डलरको न्यूनतम लगानी सीमा र घरेलु मूल्य अभिवृद्धि ९डिएभी० को महत्त्वपूर्ण स्तर हासिल गर्न उत्पादकहरूलाई प्रोत्साहित गर्न आग्रह गरेको छ । सवारी साधन बनाउन प्रयोग हुने पार्टपुर्जाको २५ प्रतिशत स्वदेशमै प्रयोग गर्नुपर्ने नीतिमा उल्लेख छ । पैँतिस हजार अमेरिकी डलर वा सोभन्दा बढी मूल्यका सवारी साधनमा निर्माताले तीन वर्षभित्र भारतमा उत्पादन सुविधा निर्माण गरेमा पाँच वर्षका लागि १५ प्रतिशत भन्सार शुल्क लगाइने छ । नीति अन्तर्गत आयात गर्न अनुमति दिइएको कूल विद्युतीय सवारीे सङ्ख्या लगानीका आधारमा सीमित हुनेछ । यदि ८० करोड अमेरिकी डलरभन्दा बढी लगानी भएमा वार्षिक आठ हजारभन्दा बढी नभई अधिकतम ४० हजार विद्युतीय सवारी साधन आयात गर्न सकिने नीतिमा उल्लेख गरिएको छ । टेस्लाले उत्पादन सुविधाका लागि भारतको उपयुक्त स्थान खोज्नका लागि विशेषज्ञहरूको टोली पठाउने योजना बनाएको छ । गत वर्ष अमेरिकाको ऐतिहासिक चारदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदीले भेटमा आफूलाई भारत भ्रमणको निम्तो दिनुभएको मस्कले बताए । केन्द्रीय वाणिज्य तथा उद्योगमन्त्री पीयुष गोयलले क्यालिफोर्नियामा टेस्ला उत्पादक कम्पनीको भ्रमण गरेपछि   अमेरिकी विद्युतीय कार निर्माता टेस्ला भारतबाट आफ्नो कम्पोनेन्ट आयात दोब्बर गर्ने बाटोमा रहेको बताएका थिए । रासस

साझा यातायातले सञ्चालनमा ल्यायो सबैभन्दा बढी पावरको चार्जिङ स्टेसन

काठमाडौं । साझा यातायात सहकारी संस्थाको १.१ मेगावाटको चार्जिङ स्टेसन उद्घाटन भएको छ । मंगलबार उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले उक्त स्टेसनको उद्घाटन गरेका हुन् । साझा यातायातले पहिलो पटक ललितपुरको पुल्चोकमा नेपालकै सबैभन्दा बढी पावर भएको चार्जिङ स्टेसनको शुरुवात गरेको हो । चार्जिङ स्टेसनसहित मंगलवार नै ४० वटा विद्युतीय बस पनि औपचारिक रुपमा सञ्चालनमा आएका छन् । साझा यातायातले आउँदो दिनमा डिजेल गाडीलाई रूपान्तरित बिजुली गाडी बनाएर परीक्षण गर्न लागेको साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले जानकारी दिए । उनले अहिले सञ्चालनमा आउने बसमा २६ सिट रहेको र ४५ मिनेटमा बस पूर्ण चार्ज (फुल चार्ज) हुने बताए । उनले एक पटक फुल चार्ज गरेपछि साझा यातायातका विद्युतीय सवारी २ सय किलोमिटरसम्म गुड्नसक्ने बताए । १.१ मेगावाट क्षमताका २४ वटा समानान्तर चार्जिङ पोइन्ट रहेको बताउँदै उनले अब आउने विद्युतीय साझा बसको लागि साझासँग स्थान नभएको जानकारी गराए । कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले साझा यातायातमा काठमाडौं महानगरपछि ललितपुर महानगरपालिकाको धेरै लगानी भएको बताए । उनले ललितपुर महानगरको बाहिर क्षेत्रमा साझाका बस चल्ने र भित्रि कोर क्षेत्रमा सटलबस चलाउन साझालाई रकम दिइसकेको बताए । उनले ४५ सिट भएका सटलबस पुल्चोक, पाटनदबार, महाबौद्ध र लगनखेल क्षेत्रमा चलाउन गइरहेको बताए । सटलबस सञ्चालनमा लाग्ने खर्च बिइपीमा हुनुपर्ने नभए ललितपुर महानगरपालिकाले सहयोग गर्ने उनको भनाई छ । साझाले २०७९ असोज २२ गते चीनको सिएचटिसी किनविङ (नानजिन) अटोमोबाइल कम्पनी लिमिटेडसँग ४० वटा बस खरिदका लागि सम्झौता गरेर बस नेपालमा ल्याएको थियो । साझा यातायातले आफ्नै जग्गामा चार्जिङ स्टेसन बनाएको हो ।

रोयल इन्फिल्ड पोकर रनको १४औं संस्करण चैत ३० देखि हुने

काठमाडौं । पोकर रनको १४औं अप्रिल १२ अर्थात चैत ३० देखि सुरु हुने भएको छ । एड्भेन्चर ट्राभल कम्पनी स्याकर्ड समिटले सोमबार पत्रकार सम्मेलन गर्दै काठमाडौं रोयल इन्फिल्डका विभिन्न मोडलका मोटरसाइकल राइडर सहभागी टोली पोखरा पुगेर रमाइलो गर्ने कार्यक्रम रहेको जानकारी दिएकाे छ। स्याकर्ड समिटले सन् २००९ देखि पोकर रनको आयाेजना गर्दै आएकाे छ । यस पटक नेपाल, भारत, अस्ट्रेलिया, अमेरिका, अस्ट्रियालगायत विभिन्न देशका १५० भन्दा बढी राइडर सहभागी हुने कार्यक्रममा बताइएकाे छ ।  नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ तथा रोयल इन्फिल्ड राइडरहरूको संस्था फ्रेन्ड्स अफ रोयल इन्फिल्ड नेपाल (फोरे नेपाल)  नेपाल  पर्यटन बाेर्ड, नेपाल नेपाल  पर्यटन बाेर्ड पाेखरा  र पाेखरा पर्रयटन बाेर्ड परिषद् लगायत अन्य सहप्रायाेजकले  कार्यक्रममा सहयोग गर्नेछ । निश्चित स्थानबाट प्रारम्भ हुने पोकर रन गन्तव्यसम्म पुग्दा ५ वटा बिन्दु निर्धारण गरिएको हुन्छ । प्रत्येक बिन्दुमा सहभागीले एक एकवटा तासको जस्तो पत्ती अर्थात पोकर उठाउन पाउछन् । बीचमा उनीहरू साथसाथै जान्छन् । एकै स्थानमा मोटरसाइकलको लहर देख्दा एक प्रकारको रौनकता पनि थपिन्छ । अन्तिम बिन्दुसम्म पुग्दा जसको नम्बर बढी हुन्छ, उसैलाई बिजेता घोषणा गरिन्छ । राइडरहरूका लागि पोकर हात पार्नु यो इभेन्टको मुख्य उद्देश्य हो । तर योभन्दा बाहेक विभिन्न तरिकाले डिजाइन गरिएको आफ्नो मोटरसाइकल शो गर्नु पनि यसको अर्को आकर्षण हो । बेस्ट इन्फिल्ड अर्थात ओरिजिनल डिजाइन र बेस्ट कस्टमाइज्ड मोटरसाइकललाई सो अवसरमा पुरस्कृत समेत गरिने छ । कार्यक्रममा सहभागीहरुलाई विभिन्न प्रकारका रोचक पुरस्कारको समेत व्यवस्था गरिने छ । यसमा बेस्ट पोकर ह्यान्ड, बेस्ड इन्फिल्ड अवार्ड, सपोर्टिङ वुमन राइडर, सिनियर सिटिजन अवार्ड, लङ डिस्टेन्स राइडर र यात्रा अवधिभर धेरै दुःख दिने मोटरसाइकललाई हार्ड लक अवार्ड प्रदान गरिने छ । चैत ३० का दिन नेपाल पर्यटन बोर्डको प्रांगणबाट राइडरहरूको टोली पोखराका लागि प्रस्थान गर्नेछ । उनीहरूले पहिलो कार्ड यही संकलन गर्नेछन् । त्यसपछि दोस्रो कार्ड नौविसेमा संकलन हुनेछ भने मुग्लिनमा तेस्रो र पोखरा भन्दा ३५ किलोमिटर यता अकला हाइवेमा चौथो कार्ड संकलन हुनेछ । नयाँ वर्ष २०८१ को पहिलो दिन सबै सहभागी पाेखरामा रहेकाे अन्नपूर्ण बालगृहमा पुगेर विभिन्न शैक्षिक सामग्री  वितरण गर्ने कार्यक्रम पनि रहेकाे छ । प्रत्येक वर्ष आयोजना हुने पोकर रनको आगामी संस्करणका लागि देश तथा विदेशका रोयल इन्फिल्ड राइडरहरू उत्साही भएको आयोजकको भनाइ छ । दिवंगत राइडर मित्र विनोद आचार्य क्षेत्रीको सम्झनामा रवि थापा र अष्ट्रेलियामा एन्जाक डे हार्ले डेभिडसन पोकर रन अफ अल्बरी सञ्चालक स्टुअर्ट म्याक्लिन मिलेर सन् २००९ मा जम्मा २२ जना मोटरबाइक राइडरहरुको सहभागितामा यस प्रकारको कार्यक्रम नेपालमा सुरुवात गरिएको थियो । सुरुवाती दिनमा द इन्फिल्ड रन्देभु एन्ड पोकर रनको नाममा सञ्चालन भई सन् २०२१ देखि यसलाई पोकर रन नेपाल नामकरण गरिएको हो । सन् २०१५ मा यस्तै कार्यक्रममा ४१५ जना सहभागी भएका थिए । पोकर रन नेपाल एउटा राइडिङ इभेन्ट मात्र नभई यो जिन्दगीमा एक पटक अनुभव गर्ने पर्ने कार्यक्रम मध्येको एक नम्बरमा पर्दछ । सबै उमेर समूह, महिला वा पुरुष, साथीभाई, इस्टमित्र, परिवार सहित मिलेर एकैसाथ रमाइलो गर्न पाउने भएको हुनाले पनि यस कार्यक्रमको लोकप्रियता ह्वात्तै बढेको अनुमान गर्न सकिन्छ ।