गाडी किन्दा १० लाखसम्म छुट, सस्तो हुँदै कर्जाको ब्याज

काठमाडौं । नयाँ वर्ष २०८१ को अवसरमा देशमा विभिन्न ब्रान्डका गाडी बिक्रेता कम्पनीहरूले आकर्षक स्कीमहरू सार्वजनिक गरेका छन् । सवारी साधन खरिदबिक्रीमा कम्पनीहरूले आकर्षक स्कीमहरू सार्वजनिक गरेका हुन् ।कम्पनीहरूले विभिन्न गाडी खरिदमा नगद छुट, बीमा सुविधादेखि एक्सचेन्जसम्मका अफर सार्वजनिक गरेका हुन् । कुनै कम्पनीले ग्राहकलाई एक वर्षको बीमा सुविधा, १० लाखसम्म नगद छुट र अन्य सामानहरू उपहारहरू पाइने स्कीम ल्याएका छन् । यस्ता छन् अफर निसान गाडी किन्दा ६ लाखसम्म छुट नयाँ वर्ष २०८१ को अवसरमा निसानको नयाँ गाडी खरिद गर्दा ६ लाखसम्म नगद छुट र ३ लाखसम्म एक्सचेन्ज बोनस पाइने भएको छ । निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले नगद छुटमा केन्द्रित नयाँ वर्ष अफर ल्याएर यस्तो अवसर प्रदान गरेको हो । नगद छुट र एक्सचेन्ज बोनसको साथ ग्राहकले १ वर्षको इन्स्योरेन्स तथा एक वर्षकै रोड ट्याक्ससमेत निःशुल्क पाउनेछन् । उक्त अफर निसानको सबै मोडलमा लागु हुने बताइएको छ । निसानको हाल नेपाली बजारमा म्याग्नाईट, किक्स र एक्स–ट्रायल मोडलका एसयूभी उपलब्ध छ भने पिक अपमा नभरा तथा इलेक्ट्रिक सेडान लिफ बिक्री हुँदै आएका छन् । फक्सवागेनको ७ प्रतिशतभन्दा कम ब्याज फक्सवागेनको आधिकारीक बिक्रेता पूजा इन्टरनेसनल नेपालले नयाँ वर्ष अफरे ‘नयाँ वर्ष नयाँ पन’ नामको अफर ल्याएको छ । यस अफरमा ६.९९ प्रतिशतमा एसयूभी किन्न पाइने कम्पनीले बताएको छ । कम्पनीले सञ्चालन गरेको स्कीममा ग्राहकले ५ वर्षसम्मका लागि स्थीर ब्याजदरमा कर्जा सुविधा पाउने छन् । फक्सवागेनले ल्याएको स्कीममा पनि बैंक तथा वित्तिय संस्थाबाटै कर्जा लिने हो । तर, त्यसमा नपुग ब्याज कम्पनीले नै ब्योहोर्ने छ । जर्मन ब्राण्डले भारतमा उत्पादन गरेको एसयूभी टाइगुन नेपाली बजारमा बिक्री हुँदै आएको छ । यसको खरिदमा ग्राहकले निःशुल्क एसोसरिज, एक वर्षको वार्षिक कर, ठाँउका ठाँउ पुरानो गाडीको भ्यालूएसन र टेस्ट ड्राइभमा आकर्षक उपहार दिने जनाएको छ । टाटा मोटर्समा एक्सचेन्ज सुविधा टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ वर्ष २०८१ का लागि नयाँ कार योजना ल्याएको छ । यस योजना अन्तर्गत टाटा मोटर्सको शोरूममा भएर नयाँ तथा अत्याधुनिक डिजाइनका नेक्सन ईभीलगायत गाडी अवलोकन तथा टेस्ट ड्राइभ गर्न सकिनेछ । त्यस्तै, जुनसुकै ब्रान्डका गाडीहरू एक्सचेन्ज गर्न सकिनेछ । यसका लागि एक्सचेन्ज बोनस, एक वर्षको अटोप्लस इन्सुरेन्स, एक वर्षको सवारी कर, एक्सेसरिज र फास्ट चार्जर निःशुल्क गरिने कम्पनीले जनाएको छ । यो योजना टाटा मोटर्सको देशभर रहेका शोरूममा लागू हुने भएको छ । जिडब्लुएमका गाडी किन्दा १० लाखसम्म छुट पाइने विश्वव्यापीरूपमा प्रसिद्ध ब्रान्ड जिडब्लुएमको नेपालका लागि आधिकारिक वितरक भिजी इम्पेक्स प्रालिले ‘शानदार नववर्ष २०८१’ योजना ल्याएको छ । यो योजनाअन्तर्गत जिडब्लुएमका लोकप्रिय मोडेलहरू हाभल–एच् सिक्स, जोलायन, इलेक्ट्रिक ओरा ०३ र पावर पिकअप गाडीहरूमा विशेष अनि आकर्षक अफरहरु प्रवर्द्धन गरिएको छ । जिडब्लुएमका मोडेलहरूमा ल्याइएका यी अफरमार्फत ग्राहकहरूले विभिन्न लाभहरू पाउन सक्नेछन् । ओरा ०३ ईभीमा भारी नगद छुट, फ्री एसेसरीज, एक वर्षसम्मको व्यापक बीमा र फास्ट चार्जरसहित ५ लाख रुपैयाँसम्मको फाइदा पाउन सकिने कम्पनीले जनाएको छ । हालका एच् सिक्स, र जोलायनमा ८ लाख ५० हजार रुपैयाँ सम्मको फाइदासहित नगद छुट, एक वर्षसम्मको व्यापक बीमा, एक्सचेन्ज बोनस र फ्री एसेसरीज साथै पावरमा १० लाखसम्मको फाइदासहित इलेक्ट्रिक सनरुफ, लेदर सिट्स, सिक्स एयरब्याग र रिभर्स पार्किङ क्यामेरा समावेश छन् । यी सुविधामार्फत अटोमोटिभ उत्साहीहरुले उत्कृष्ट ड्राइभिङ अनुभवका साथ नयाँ वर्ष अविष्मरणीय बनाउन सक्नेछन् । सिट्रोनको एक्सचेन्ज अफर नयाँ वर्षको अवसरमा नेपालमा सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले पनि सिट्रोनको एक्सचेन्ज अफर ल्याएको छ । कम्पनीका अनुसार सांग्रिला मोटर्स प्राइभेटको यो अफरमा ग्राहकले भारतमा बनेको फ्रेन्च ब्राण्ड सिट्रोन सी३ र सिट्रोन ई–सी३ को खरिदमा नगद बोनस, निःशुल्क रोड ट्याक्स, एक वर्षसम्मको व्यापक बीमा, एक्सचेन्ज बोनससहित २ लाख ५० हजार रुपैयाँसम्मको फाइदा लिन सक्ने छन् । यस अफरको बारेमा व्यक्तिगत रूपमा सिट्रोनको शोरूममा गई थप जानकारी लिन सकिनेछ । साथै, वैकल्पिक रूपमा कम्पनीको अफिसियल नम्बर र वेवसाइट मार्फत सीधा सम्पर्क गर्न सक्ने कम्पनीले बताएको छ । २० प्रतिशत डाउन पेमेन्टमा होन्डाको गाडी किन्न सकिने हेण्डाले पनि नयाँ वर्षको अफर सार्वजनिक गरेको छ । स्याकार ट्रेडिङ कम्पनी प्रालिअन्तर्गत होण्डाकारले २०८१ नयाँ वर्षको उपलक्ष्यमा होण्डाको गाडी खरिद गर्ने ग्राहकहरूलाई नगद छुट तथा अन्य सुविधासहित स्किम निकालेको छ । जसअन्तर्गत २० प्रतिशत डाउनपेमेन्ट, १०.४९ प्रतिशत ब्याजदर, एक आर्थिक वर्षको टयाक्स फ्री, एक वर्षको फुल इन्स्योरेन्स र आकर्षक नगद छुटसहित ग्राहकको सुविधालाई ध्यानमा राखी रोड साइड असिस्ट पनि फ्री दिने घोषणा गरेको छ । यो अफर मिति २०८०/१२/१ गते बाट लागु भइसकेको छ भने उक्त अफर २०८१ साल वैशाख ३१ गते सम्मका लागि हुने कम्पनीले जनाएको छ । हुन्डाईका गाडी किन्दा ६ लाख छुट नेपालको लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष–२०८१’ अफर सावर्जनिक गरेको छ । कम्पनीका अनुसार उक्त योजनाअन्तर्गत हुन्डाईका कुनै पनि मोडलका गाडी खरिद गर्दा ६ लाख रुपैयाँसम्मको छुट र एक्सचेन्ज गर्दा १० लाख रुपैयाँसम्म बोनस पाउन सकिने छ । यस योजनाअन्तर्गत गाडी खरिदमा उपलब्ध हुने स्क्रयाच कार्डको तीन गुणसम्म नगद छुट पाउन सक्नेछन् । कम्पनीले बीमा साथै एक वर्षसम्मको सडक कर पनि बेहोर्ने बताइएको छ ।

नयाँ वर्षमा टाटा मोटर्सको नयाँ कार योजना

काठमाडौं । नयाँ वर्षमा टाटा मोटर्सले नयाँ कार योजना ल्याएको छ । टाटा मोटर्सको नेपालका लागि एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले नयाँ वर्ष २०८१ को अवसरमा ‘नयाँ वर्ष नयाँ कार’ २०८१ योजना ल्याएको हो । कम्पनीका अनुसार यस नयाँ वर्ष नयाँ कार योजनामा सहभागी हुन ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका नेक्सन इभी लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् । साथै, जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमा आकर्षक एक्सचेन्ज बोनस, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज र फास्ट चार्जर निस्शुल्क प्राप्त गर्न सक्नेछन । यो योजना टाटा मोटर्सको नेपालभर रहेका शोरुमहरुमा लागु हुनेछ । यो योजना सिमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।

टेस्ला भारतमा बलियो उत्पादन उपस्थिति स्थापना गर्ने योजनामा छ : एलन मस्क

नयाँदिल्ली । टेस्ला कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कले अन्य मुलुकमा जस्तै भारतमा पनि विद्युतीय कार हुनुपर्ने बताएका छन् । उनले टेस्लाले भारतमा विद्युतीय सवारी साधन उपलब्ध गराउनु आफ्नो कम्पनीका लागि स्वाभाविक प्रगति हुने बताए । ‘भारत अहिले जनसङ्ख्याका आधारमा विश्वको सबैभन्दा ठूलो मुलुक हो, अन्य मुलुकमा भएजस्तै भारतमा विद्युतीय कारहरू हुनुपर्छ, भारतमा टेस्लाले विद्युतीय सवारी साधन उपलब्ध गराउनु स्वाभाविक प्रगति हो’, नोर्गेस बैंक इन्भेस्टमेन्ट म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत निकोलाई टाङ्गगेनसँगको ‘एक्स स्पेस’ सत्रमा उनले भने । अर्बपति सिइओले भने, ‘भविष्यमा सबै सवारी विद्युतीय हुनेछन् र यो केवल समयको कुरा हो ।’ भारतीय बजारमा आफ्नो उपस्थितिलाई सुदृढ पार्न टेस्लाले भर्खरै आफ्नो प्रयासलाई तीव्रता दिएको छ र अत्याधुनिक उत्पादन कारखाना स्थापना गर्न उपयुक्त स्थानको खोजी गरिरहेको छ । महाराष्ट्र र गुजरातका राज्य सरकारले भारतमा विद्युतीय कारको प्लान्ट स्थापना गर्न टेस्ला उत्पादक कम्पनीलाई आकर्षक जग्गा प्रस्ताव गरेका छन् । उक्त प्रस्तावित प्लान्टमा दुईदेखि तीन अर्ब अमेरिकी डलरसम्मको लगानी लाग्ने र यसले अन्तर्राष्ट्रिय बजारहरू पनि लिने बताइएको छ । यो कदम भारतको नयाँ ‘विद्युतीय सवारी नीति’ पछि आएकाले यसले भारतमा विद्युतीय सवारी उत्पादन कारखाना स्थापना गर्न प्रोत्साहन प्रदान गरेको छ । यस योजनाअन्तर्गत भारतलाई अत्याधुनिक प्रविधिले सुसज्जित विद्युतीय सवारी उत्पादन गन्तव्यका रूपमा स्थान दिने लक्ष्य राखिएको छ । साथै देशमा उद्यमशीलतालाई बढावा दिन ‘मेक इन इन्डिया’ पहललाई समावेश गरिएको छ । यस नीतिले ५० करोड अमेरिकी डलरको न्यूनतम लगानी सीमा र घरेलु मूल्य अभिवृद्धि ९डिएभी० को महत्त्वपूर्ण स्तर हासिल गर्न उत्पादकहरूलाई प्रोत्साहित गर्न आग्रह गरेको छ । सवारी साधन बनाउन प्रयोग हुने पार्टपुर्जाको २५ प्रतिशत स्वदेशमै प्रयोग गर्नुपर्ने नीतिमा उल्लेख छ । पैँतिस हजार अमेरिकी डलर वा सोभन्दा बढी मूल्यका सवारी साधनमा निर्माताले तीन वर्षभित्र भारतमा उत्पादन सुविधा निर्माण गरेमा पाँच वर्षका लागि १५ प्रतिशत भन्सार शुल्क लगाइने छ । नीति अन्तर्गत आयात गर्न अनुमति दिइएको कूल विद्युतीय सवारीे सङ्ख्या लगानीका आधारमा सीमित हुनेछ । यदि ८० करोड अमेरिकी डलरभन्दा बढी लगानी भएमा वार्षिक आठ हजारभन्दा बढी नभई अधिकतम ४० हजार विद्युतीय सवारी साधन आयात गर्न सकिने नीतिमा उल्लेख गरिएको छ । टेस्लाले उत्पादन सुविधाका लागि भारतको उपयुक्त स्थान खोज्नका लागि विशेषज्ञहरूको टोली पठाउने योजना बनाएको छ । गत वर्ष अमेरिकाको ऐतिहासिक चारदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदीले भेटमा आफूलाई भारत भ्रमणको निम्तो दिनुभएको मस्कले बताए । केन्द्रीय वाणिज्य तथा उद्योगमन्त्री पीयुष गोयलले क्यालिफोर्नियामा टेस्ला उत्पादक कम्पनीको भ्रमण गरेपछि   अमेरिकी विद्युतीय कार निर्माता टेस्ला भारतबाट आफ्नो कम्पोनेन्ट आयात दोब्बर गर्ने बाटोमा रहेको बताएका थिए । रासस