मारुती सुजुकीका पाँच उत्पादनमा एक कार ईभी
काठमाडौं । भारतीय कार उत्पादक कम्पनी मारुती सुजुकी इन्डिया लिमिटेड (एमएसआइएल) ले विद्युतीय कार उत्पादनका लागि गुजरात सरकारसँग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको छ । यस एमओयूअन्तर्गत चौथो लाइनको उत्पादन सुरु हुनेछ । मारुती सुजुकीका अध्यक्ष आरसी भार्गवले जग्गा प्राप्तिको काम पनि केही महिनामा सम्पन्न हुने बताए । सन् २०२८ देखि उत्पादन सुरु हुने अपेक्षा गरिएको छ । यस दशकको अन्त्यसम्ममा कम्पनीले उत्पादन गरेका ५ मध्ये १ कार विद्युतीय हुने कम्पनीको अनुमान छ । भगरवले भने, ‘अहिलेको अनुमानअनुसार सन् २०३०–३१ सम्म कुल उत्पादनको १५ देखि २० प्रतिशत विद्युतीय सवारीसाधन हुनेछ र यो एक लाइनको उत्पादनले सम्भव हुँदैन । यस्तो अवस्थामा यो लाइनको क्षमता पूरा भएपछि केही विद्यमान लाइनलाई ईभी लाइनमा परिणत गर्नुपर्ने हुन्छ ।’ कम्पनीले ब्याट्री उत्पादनलाई पनि स्थानीयकरण गर्न चाहन्छ । यो ईभीको स्वदेशी उत्पादनका लागि ठूलो चुनौती हो । भार्गवले यस्तो अवस्थामा मारुतीको नयाँ प्रविधिको ब्याट्री उत्पादनमा कम्पनीको ध्यान केन्द्रित रहेको बताए । ईभीको उत्पादन मागमा भर पर्ने भए पनि भार्गवले उत्पादित गाडीमध्ये आधा निर्यात हुने अपेक्षा गरेका छन् । मारुती सुजुकीले आर्थिक वर्ष सन् २०३१ सम्ममा ७.५ देखि ८ लाख युनिटको निर्यात क्षमता पुग्ने अपेक्षा गरेको छ । ईभी सवारीसाधन निर्माणसँगै कम्पनीले आफ्नो बढ्दो माग पूरा गर्न वैकल्पिकरूपमा जैविक इन्धनमा पनि ध्यान केन्द्रित गरिरहेको छ । भार्गवका अनुसार विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएको छ । जसले गर्दा विद्युतको माग पनि बढ्दै गएको छ । यसले कार्बन फुटप्रिन्ट बढाउँछ । हाइब्रिड प्रविधिमा ईभीको तुलनामा कम कार्बन फुटप्रिन्ट उत्पन्न हुन्छ । एजेन्सी
एकैसाथ पाँच स्थानमा टाटा मोटर्स फन कार्निभल ३.० आयोजना हुँदै
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्गले टाटा मोटर्स फन कार्निभल ३.० कार्यक्रमको आयोजना गर्न लागेको छ । यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसंग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन इभी र टियागो इभी लगायतका गाडीहरु साट्न सकिनेछ । कम्पनीका अनुसार ग्राहकवर्गको परिवर्तित जीवनसैली र अत्याधुनिक सवारीहरु प्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै यस मेलाको आयोजना गरिएको हो । मेला यहि पौष २७ गतेदेखी पौष २९ गतेसम्म उपत्यका बाहिर टाटा मोटर्सको शोरुम अलास्का मोर्टस बिर्तामोड, सिद्र्धाथ कटेज बुटवल, सिप्रदी ट्रेडीङ्ग बुद्ध चोक पोखरा र टाउनहल प्लानिङ विरगंज आयोजना गर्न लागिएको हो । फन कार्निभल ३.० मा टाटाका गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क रुपमा इभी गाडीहरुका लागि फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा इलेक्ट्रिकल स्कुटर प्राप्त गर्नेछन । यस कार्निभलका मुख्य उदेश्य भनेको ग्राहकवर्गलाई खेल तथा मनोरञ्जन मार्फत नौलो अनुभुति गर्दै गाडी किन्ने फरक एक्सपेरियन्स प्रदान गर्नु हो । यस कार्यक्रमको अबसरमा ग्राहक महानुभावहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् साथै यस कार्यक्रममा सहभागी भई नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउन कम्पनीले अनुरोध गरेको छ ।
एक वर्षमा बिएमडब्ल्यूले गर्यो २५ लाख ६० हजार कार बिक्री
जर्मन । जर्मन कार निर्माता कम्पनी बिएमडब्ल्यू ग्रुपले मिनी रोल्स रोयस कारको विश्वव्यापी बिक्रीमा वार्षिकरूपमा ६.५ प्रतिशतले वृद्धि गरी सन् २०२३ मा २५ लाख ६० हजार पुगेको मङ्गलबार जनाएको छ । ब्याट्रीबाट चल्ने विद्युतीय बाहन (बीईभी) को डेलिभरी वार्षिक रूपमा ७४.४ प्रतिशतले बढेर तीन लाख ७६ हजार भन्दा बढी सङ्ख्या पुगेको कम्पनीले जनाएको छ । बिएमडब्ल्यू एजीको बोर्ड अफ म्यानेजमेन्टका सदस्य जोचेन गोलरले भने, ‘हाम्रा नयाँ, अत्यधिक आकर्षक र प्राविधिक रूपमा उत्कृष्ट सवारी साधनहरूको साथ, हामी २०२३ मा विद्युतीय आवागमनलाई अझ गतिशील रूपमा बढाउन सक्षम भएका छौं ।’ यस वर्ष, कम्पनीका नवनिर्मित कारको हरेक पाँचमध्ये एक बीईभी हुने र सन् २०२५ सम्ममा कूल उत्पादनको चारमध्ये एक बीईभी कार बनाउने लक्ष्य राखिएको छ । गोलरले भने, ‘हाम्रो पूर्ण विद्युतीय उत्पादनहरूको लागि हामीले माग निरन्तर उच्च भइरहेको देखेका छौँ ।’ चीनमा बिएमडब्ल्यू ब्रान्ड र मिनीको बिक्री ४।२ प्रतिशतले बढेर करिब आठ लाख २५ हजार पुगेको छ । रासस