लोन टु भ्यालु रेसियो ७५ प्रतिशत पुर्याउन नाडाको आग्रह
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको सम्बन्धमा नेपाल राष्ट्र बैंकका गर्भनरसंग छलफल गरेको छ । शुक्रबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसंग भेटगरी अटोमोबाइल क्षेत्रका विभिन्न विषयहरुमा विस्तृत छलफल गरेको हो । उक्त छलफलमा अध्यक्ष चौधरीले सुस्ताएको अटोमोबाइल क्षेत्रलाई माथी आउन आवश्यक रहेका नीतिहरुमा सुधार ल्याउन आग्रह गर्दै खाशगरी लोन टु भ्यालु रेसियोमा हाल ५० प्रतिशतको सिमालाई बढाएर ७५ प्रतिशत पुर्याउन आग्रह गर्दै यस्तो व्यवस्था भएमा मात्र अटोमोबाइल व्यवसाय गतिशील हुने भएकोले यसलाई आउदो मौद्रिक नीतिबाटै सम्बोधन गर्न आग्रह गरे । त्यसैगरी उनले घरपरिवारको आम्दानी सामान्यतया घरका धेरै सदस्यहरूले प्रयोग गर्ने अर्थात दम्पतीले सवारी साधनको रूपमा अटोलोन उधारकर्ताको चुक्ता गर्ने क्षमताको गणना गर्दा विचार गर्नुपर्ने बताए । अर्थात घर जग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरणगरी चुक्ता प्रमाण पेश गरेको आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गर्नका लागि आग्रह गरे । यसै क्रममा चौधरीले पेट्रोल र डिजेलबाट चल्ने नीजि र व्यावसायीक महत्वका सवारी साधनहरुलाई छट्याउनु पर्ने भन्दै कालो सुचिमा परेका व्यक्ती वा कम्पनीमाथीको कारबाही ज्यादै फितलो भईरहेकाले यस सम्बन्धी नियमहरुलाई थप कडा र प्रभावकारी बनाउन आग्रह समेत गरे । यसै छलफलको क्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले भारतिय मालवाहक ट्रक नेपालबाट फर्किदा नेपालबाट सामान समेत लैजाने गर्दा नेपालको ढुवानी व्यवसाय र ढुवानीका साधनहरुको विक्रीमा ठूलो असर परिरहेको बताउँंदै नेपालमा अटोमोबाइल कम्पोनेण्ट उद्योगहरुको प्रशस्त सम्भावना भएकोले यस्तो उद्योगहरु खोल्न सरकारले प्रोत्साहित गर्नू पर्ने धारणा राखेका थिए । छलफल कै क्रममा महासचिव उप्रेतीले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको सम्बन्धमा नाडाकोतर्फबाट ६ बुंदे लिखित सुझावहरु समेत प्रस्तुत गरेका थिए । नाडाबाट प्रस्तुत सुझावहरुका विषयमा प्रतिक्रिया दिदै गर्भनर अधिकारीले अटोमोबाइल व्यवसायबाट राष्ट्रलाई ठूलो राजस्व आउने गरेको भन्दै अटोमोबाइल व्यवसायलाई दिगो बनाउन, फाइनानसियल र इकोसिष्टम सिष्टम, डेभलप गर्न र आर्थिक गतिविधि बढाउन नेपाल राष्ट्र बैंक लागि रहेको बताए । यसैक्रममा अधिकारीले अटोमोबाइल मार्केट कसरी चलिरहेको छ त्यसतर्फ विचार गर्नु पर्ने भन्दै व्यवसायलाई ठाउमा ल्याउन नेपाल राष्ट्र बैंकले प्रयास गरिरहेको बताए । सोही दिन नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौलासंग भेटगरी भन्सार मूल्यांकनका सम्बन्धमा परिरहेको समस्याहरुका विषयमा छलफल गरेको थियो । सो छलफलमा चौधरीले वर्तमान बजेटमा सवारी साधनहरुमा मुल्य अभिवृद्धिकर लाग्ने भन्ने उल्लेख नभएको सन्दर्भमा व्यवसायीहरुले मुल्य अभिवृद्धि कर लिने वा नलिने अन्यौलता भएको बताए । सोही छलफलमा नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाले भन्सार विभागले सोमबार मालवस्तु छुटाई जैजाने सम्बन्धमा जारी गरेको सूचनाका बारेमा जिज्ञासा राख्दै वर्तमान समयमा सो तोकिएको समयमा भन्सार विन्दूहरुमा रहेका सवारी तथा ढुवानीहरुको जाचपास गर्न नसकिने बताउँदै सयम थपका लागि आग्रह गरेका दिए । उक्त छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले भन्सारसंग सम्बन्धित ७ बुंदे लिखित सुझावहरु प्रस्तुत गर्दे टायर लुव्रिकेण्टस जस्ता अटोमोवाइल वस्तुहरुको गुणस्तर मापन गर्ने व्यवस्था गर्न र देशमा गुणस्तर युक्त सामानहरु आयात गर्न सरकारले प्राथमिकता दिनुपर्ने माग राख्दै यसबाट देशमा रोजगारी सिर्जना हुने र देश आत्मनिर्भरतर्फ अग्रसर हुने बताए । सोही छलफलमा महासचिव उप्रेतीले नेपाल मै सिकेडी मोडेलमा अटोमोबाइल वस्तुहरु पनि उत्पादन गर्न सकिने भारतबाट अटोमोबाइल कवाडी सामानहरु समेत आयात हँदा व्यवसायमा असर परिरहेको बताए । सोही क्रममा महासचिव उप्रेतीले एक्जीम कोडको नविकरण अवधि १ वर्षबाट ५ वर्ष पुर्याउने व्यवस्थाका लागि समेत आग्रह गरे । सो छलफलमा नाडाका सचिव विक्रम सिंहानियाले दिल्ली नेपाल चल्ने बस सेवाबाट अटोमोबाइल वस्तुहरुको अनधिकृत आयात हुने गरेको बताउँदै एअरपोर्ट कुरियर मार्फत पनि नेपालमा अटोमोबाइल कम्पोनेण्टहरु आउने गरेकोले सरकारले सीमामा कडाई गर्नु पर्ने धारणा राखे । नाडाका हेलमेट समितिका उपसभापती नारायणप्रसाद पौडेलले हेलमेट जस्तो वस्तु जनताको जीवन शुरक्षासंग सम्बन्धित भएकोले नेपालमा गुणस्तरिय हेलमेटहरु मात्र आयात गर्न सकिने व्यवस्था हुनु पर्ने र त्यसका लागि विभागले त्यसको गुणस्तर मापन गर्ने यन्त्र समेत राख्नुपर्ने धारणा राखे । छलफलको अन्त्यमा महानिर्देशक निरौलाले नेपालका अटोमोबाइल क्षेत्रका समस्याहरुका विषयमा आफु जानकार रहेको र नाडाका सुझावहरु मनननीय रहेको बताउँदै सवारी साधनमा मूल्य अभिवृद्धि कर नलाग्ने व्यवस्था भुलबस भएको बताए । त्यसैगरी उनले आउदो आषाढ मसान्तसम्म भन्सार विन्दूहरुमा रहेका सवारी तथा ढुवानीका साधनहरुको जाँचपास गरि दिन अनुरोध गरे । उक्त छलफलहरुमा नाडाका सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्य समिति सदस्य नवराज भुषाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।
जगदम्बा मोटर्सले ल्यायो अफरसहितको ‘मनसुन एक्सचेन्ज’
काठमाडौं । नेपालको लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले आफ्ना ग्राहकहरूका लागि ‘च्याम्पियन्स एक्सचेन्ज’ अभियान सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ग्राहकहरूलाई असाधारण डिलहरू र सवारी अपग्रेड गर्ने मौका प्रदान गर्दै यो अभियान जेठ १४ देखि जेठ १९ गते सम्म चल्नेछ । ’च्याम्पियन्स एक्सचेन्ज’ अभियानले स्मार्ट कनेक्ट, आरटी–एफआई, बीएस–भीआई, राइड मोडहरू र जीटीटी (ग्लाइड थ्रु ट्राफिक) जस्ता नवीन प्रविधिहरूयुक्त टिभिएस मोटरसाइकल मोडलहरूमा लाभहरू प्रदान गर्दछ । यी सुविधाहरूले सवारी चलाउने अनुभव, सुधारिएको प्रदर्शन र उच्च इन्धन दक्षता सुनिश्चित गर्दछ । यस सीमित अवधिको अभियानमा ग्राहकहरूले टिभिएसका बाईक तथा स्कुटरको खरीदमा छ हजार रुपियाँसम्मको नगद छुटका साथै, पुरानो मोटरसाइकलमा छ हजार रुपियाँसम्मको थप मूल्याङ्कन र यी प्रस्तावहरूलाई अझ पहुँचयोग्य बनाउन जगदम्बा मोटर्सले बजारकै सबैभन्दा कम तीन हजार ९९९ रुपियाँ प्रतिमहिनाको ईएमई (बैंकको किस्ता) पनि उपलब्ध गराएको छ । साथै, ग्राहकहरूले हेल्मेट, बाइक कभर र ब्याग लगायत निःशुल्क सामग्री पनि प्राप्त गर्न सक्नेछन । जगदम्बा मोटर्स प्रा लि नेपालमा टिभिएसका दूई पांग्रे सवारी साधनको आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको वितरण सञ्जालका साथ बजारमा आफ्नो मजबुत पकड राख्न सफल भएको छ ।
नेपाली टोलीको प्रत्येक रन र विकेटमा ओमोडाले रुख रोप्ने
काठमाडौं । विद्युतीय गाडी (ईभी) ब्राण्ड ओमोडाले आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकपमा सहभागी नेपाली टोलीले जोड्ने हरेक रन र ढाल्ने विकेटमा रुख रोप्ने भएको छ । दोस्रो पटकको ऐतिहासिक विश्वकप यात्रा तय गरेको नेपाली टोलीलाई हौसला प्रदान गर्ने मुख्य उद्देश्यका साथ कम्पनीले ‘नेपाल स्कोर, ओमोडा ग्रोज’ नाराका साथ यो वातावरणीय अभियान सार्वजनिक गरेको हो । यो अभियान अन्तर्गत ओमोडाले हरेक रनमा एउटा रूख रोप्ने सङ्कल्प गरेको छ । त्यसैगरी हरेक ‘चौका’मा पाँचवटा रूख रोपिनेछ भने हरेक ‘छक्का’ र हरेक ‘विकेट’मा १० वटा रूख रोपिने छ । यसअन्तर्गतको वृक्षारोपणका लागि ब्रान्डसँगै नेपालभर रहेका ओमोडा खरिदकर्ता तथा चालकहरूले सहभागिता जनाउने कम्पनीले बताएको छ ।