‘मारिया अस्पताल’ विना अनुमति सञ्चालन
काठमाडौं । काठमाडौंको बालुवाटारस्थित ‘मारिया अस्पताल’ (मारिया हेल्थ सेन्टर प्रालि) हाललाई बन्द गरिएको छ । मेडिकल काउन्सिलले गरेको अनुगमनमा उक्त अस्पताल गैरकानुनी रूपमा सञ्चालन भएकाले सिलबन्दी गरी हाललाई बन्द गरिएको बुझिएको मेडिकल काउन्सिलका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डेले जानकारी दिए । उनले विना अनुमति सञ्चालन रहेकाले उक्त अस्पतालका सञ्चालकमाथि कारबाही चलाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंमा पत्राचार गरिएको बताए । काउन्सिलले आवश्यक अनुमति र क्लिनिकल मापदण्ड पूरा नगरी चिकित्सा अभ्यासमा संलग्न तीन चिनियाँ नागरिकको चिकित्सक अभ्यास अस्थायी दर्ता तत्कालका लागि निलम्बन गरेको छ । संस्थाको बोर्डमा नाम राखी आचारसंहिता उल्लङ्घन गर्ने नेपाली चिकित्सकलाई पनि दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको डा. पाण्डेले जानकारी दिए ।
विद्युतीय गाडी आयातमा अनियमितता भएको भन्दै संसदीय छानबिनको माग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले विद्युतीय सवारीसाधन (ईभी) आयातका क्रममा भन्सारमा अनियमितता भएको आरोप लगाउँदै संसदीय छानबिन समिति गठनको माग गरेका छन् । सांसद शाहीले मंगलबारको संसदीय बैठकमा बोल्दै ईभी आयात प्रक्रियामा पारदर्शिता अभाव देखिएको र राज्यलाई ठूलो राजस्व घाटा हुन सक्ने आशंका व्यक्त गरे । उनले भन्सार मूल्यांकनदेखि लिएर कर निर्धारणसम्मका प्रक्रियामा गम्भीर त्रुटि भएको दाबी गर्दै तत्काल उच्चस्तरीय छानबिन आवश्यक रहेको बताए । उनले यस्ता विषयमा निष्पक्ष छानबिन नगरे सार्वजनिक विश्वास कमजोर हुने भन्दै सरकारलाई जिम्मेवार बन्न आग्रहसमेत गरेका छन् ।
सुभास श्रेष्ठले तिरेनन् हिमालयन बैंकको ऋण, बिक्रीमा राख्यो ३ कम्पनीको सेयर
काठमाडौं । हिमालयन बैंकले धितोमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकको पाटन शाखाले ऋणी सुभास श्रेष्ठको नाममा रहेको सेयर कर्जा अन्तर्गत धितो राखिएका विभिन्न कम्पनीका संस्थापक सेयर लिलाम बिक्रीमा राखेको हो । बैंकका अनुसार ऋणी श्रेष्ठले सेयर कर्जा लिँदा प्राइम बैंकको ४६ हजार ८९४ कित्ता, युनाइटेड अजोड इन्सुरेन्सको ३८ हजार २७२ कित्ता र महालक्ष्मी विकास बैंकको ७३ हजार ८५३ कित्ता सेयर धितोमा राखेका थिए । कर्जाको साँवा, ब्याज तथा हर्जाना समयमै भुक्तानी नभएपछि बैंकले लिलाम प्रक्रिया अघि बढाएको बैंकले जनाएको छ । बैंकका अनुसार ऋणी तथा जमानतकर्तालाई कर्जा चुक्ता गर्न पटक-पटक मौखिक तथा लिखित रूपमा ताकेता गरिए पनि कुनै पहल नभएपछि धितोमा रहेको सेयर बिक्री प्रक्रिया अगाडि बढाइएको हो । बैंकले यसअघि ३५ दिनको समय दिएको भएपनि हालसम्म रकम भुक्तानी नभएपछि पुनः १५ दिनको समय दिएको हो । हाल बैंकको धितो सुरक्षणमा रहेको सेयर जे जस्तो अवस्थामा छ, त्यही अवस्थामा बिक्री गरिनेछ । इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाले पाटन शाखाबाट निर्धारित शुल्क तिरी बोलपत्र फारम खरिद गरी आवेदन दिन सक्नेछन् ।
ट्राफिक कारबाहीमा एकैदिन २० लाख २१ हजार राजस्व संकलन
काठमाडौं । बितेका २४ घण्टामा दुई हजार २९७ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २० लाख २१ हजार रुपैयाँ राजस्व दाखिला भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १३४, सङ्केत बत्ती उल्लङ्घनकर्ता १०२ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १०८ जनालाई कारबाही गरिएको हो । यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १४१, निषेधित क्षेत्रमा हर्न बजाउने १८६, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १५८, एकतर्फी सडकमा सवारी चलाउने ७७ र अन्य सवारी नियम पालना नगरेका एक हजार २८८ जनालाई कारबाही गरिएको हो ।
‘दुई अर्ब होइन, दुई रुपैयाँमात्रै बेइमानी गरेको प्रमाण दिनूस्, राजनीति छाडिदिन्छु’
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौती दिएका छन् । बिहीबार संसदको सार्वजनिक लेखा समितिमा आयोजित छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । नैतिकताको उच्च कडीमा उभिएर बनाएको छवि धमिल्याउन नियोजित रूपमा मानिसहरू लागेको र बदनाम गर्ने प्रयास गरेको उनको आरोप छ । अर्थमन्त्रीले भने, ‘दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनूस्, अर्थमन्त्री र राजनीति मात्रै होइन, सार्वजनिक जीवन नै त्यागिदिन्छु । यो नैतिकता अन्य कोही संसद वा राजनीति गर्नेहरूमा छ ?’
कांग्रेसको गतिरोध फुकाउन 'साझा संयन्त्र' गठन प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र देखिएका मतभेद अन्त्य गर्दै १५ औं महाधिवेशन निष्पक्ष, पारदर्शी र सबै पक्षको स्वामित्व हुने बनाउन छोटो समयका लागि साझा सहमतिको संयन्त्र गठन गर्न प्रस्ताव गरेका छन् । आफ्नो निवासमा बिहीबार (आज) आयोजित पत्रकार सम्मेलनमा महतले १४ औं महाधिवेशनबाट आएको कार्यसमिति र गत पुसमा भएको विशेष महाधिवेशनबाट बनेको संरचनालाई समन्वय गर्दै दुवै पक्षबीचको विवाद समाधान गर्न यस्तो संयन्त्र आवश्यक रहेको बताएका हुन् । उनका अनुसार पार्टीभित्र देखिएका असमझदारी अन्त्य गरी बृहत्तर एकता कायम गर्न वर्तमान नेतृत्वले अग्रसरता लिनुपर्ने र यसका लागि सभापति गगनकुमार थापाबाट पहल हुनु आवश्यक छ । महतले भने, ‘फाट्टफुट्ट भेटघाटले मात्र समस्या समाधान हुँदैन, दुवै पक्ष बसेर स्पष्ट समझदारी गर्नुपर्छ ।’ उनका अनुसार उनको पक्षले कुनै पदको भागबन्डा नखोजेको तर १५ औं महाधिवेशन निष्पक्ष हुने आधार र विश्वासको वातावरण चाहिन्छ । महतले प्रस्तावित संयन्त्रमार्फत मुख्यतः तीनवटा विषय समाधान गर्नुपर्ने आवश्यकता औँल्याए । उनका अनुसार पहिलो, १५ औँ महाधिवेशनको निष्पक्षता र पारदर्शितासँग सम्बन्धित विषय सुनिश्चित गर्नु हो । दोस्रो, लामो समयदेखि विवादित रहेको क्रियाशील सदस्यता व्यवस्थापन गरेर टुंग्याउनु र तेस्रो, विधान संशोधनसम्बन्धी विषयमा सहमति कायम गर्नु रहेको छ । महतका अनुसार क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियामा देखिएको अन्योल अन्त्य गर्न पनि दुवै पक्षबीच संवाद आवश्यक छ । उनले केन्द्रले जिल्लास्तरबाट विवरण संकलन गरी डिजिटल रूपमा अद्यावधिक गर्न सक्ने विकल्पसमेत प्रस्तुत गरे । नेता महतले पार्टीभित्र संवादको अभावले असमझदारी बढेको भन्दै तत्काल बृहत एकताको प्रयास आवश्यक रहेको दोहोर्याए । साथै विभिन्न विवाद र अन्यौलका कारण केही नेता तथा कार्यकर्ता पार्टी छोड्ने अवस्थामा पुगेको महतको दाबी छ । महतले पार्टी एकताकै पक्षमा आफूहरू रहेको स्पष्ट पार्दै सबै पक्षलाई सहमति र सहकार्यमार्फत १५ औं महाधिवेशनलाई सर्वस्वीकार्य बनाउने वातावरण निर्माण गर्न आग्रह पनि गरे ।
सुनको मूल्य आज ५ हजारले घट्यो
काठमाडौं । पछिल्लो केही दिनदेखि नेपाली बजारमा सुनको मूल्य घटिरहेको छ । सुनको मूल्य आज (बिहीबार) पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ हजार १ सय रुपैयाँले घटेको हो । ५ हजार १ सय रुपैयाँ घटेसँगै आज सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिनपनि सुनको मूल्य १० हजार १ सय रुपैयाँले घटेको थियो । उक्त दिन १ तोला सुनको मूल्य २ लाख ९१ हजार ८ सय रुपैयाँमा झरेको थियो । यसैगरी, चाँदीको मूल्य पनि आज ९० रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ७४० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
इप्पानको उपाध्यक्षमा नरेन्द्र बल्लभ पन्तको उम्मेदवारी घोषणा
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को उपाध्यक्ष पदमा युवा उर्जा उद्यमी नरेन्द्र बल्लभ पन्तले उम्मेदवारी घोषणा गरेका छन् । इप्पानको आगामी जेठ २९ गते हुने वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गर्नेछ । ऊर्जा तथा निर्माण व्यवसायी पन्तले वरिष्ठ उपाध्यक्ष प्रत्यासी उत्तम भ्योल लामाको प्यानलबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । इप्पानको वर्तमान कार्यसमितिको कोषाध्यक्ष समेत रहेका पन्तको यस कार्यकालको चर्चा उर्जा क्षेत्रमा लोभलाग्दो रहेको छ । विशेष गरी जलविद्युत कम्पनीहरूलाई संगठित गरी इप्पानलाई नीतिगत र आर्थिक रुपमा अब्बल बनाउन पन्तको भूमिका ठूला रहेको उर्जा व्यवसायीहरू बताउँछन् । उपाध्यक्षको प्रत्यासी पन्त २२.५ मेगावाट क्षमताको ठूलो खोला हाइड्रोपावर लिमिटेडका अध्यक्ष समेत हुन् । पन्तको नेतृत्वले १० मेगावाट क्षमताको युनाइटेड मोदी हाइड्रो पावर लिमिटेड, ८ मेगावाट क्षमताको टक्सार पिखुवाखोला हाइड्रो पावर र ५० मेगावाट युनाइटेड मेवा हाइड्रो लिमिटेडको आयोजन निर्माण सम्पन्न गरी विद्युत उत्पादन गरिरहेको छ भने ६ सय भन्दा बढी मेगावाट क्षमताको विभिन्न आयोजनमा लगानी रहेको छ । नेपाल चेम्बर अफ कमर्सका कार्यसमिती सदस्य पन्त चेम्बरको उर्जा समितिका सभापति पनि हुन् । पन्त निर्माण व्यवसाय, जलविद्युत, इन्भेष्टमेन्ट कम्पनीहरूमा लगानी रहेको देव ग्रुपका अध्यक्ष पनि हुन् । उर्जा युवा उद्येमी पन्त जलविद्युत आयोजनाको निर्माणका क्षेत्रमा आफूलाई अब्बल रूपमा स्थापित गरिसकेका छन् । २० वर्ष लामो क्षेत्रगत अनुभवका कारण आफू इप्पानको उपाध्यक्षमा बलियो दाबेदार रहेको उनले बताए । आफू उपाध्यक्ष पदको लागि योग्य भएकाले जलविद्युत उर्जा उद्येमीहरूले सहयोग गर्नेमा पन्त ढुक्क छन् । जलविद्युत क्षेत्रमा उत्पादकहरूले भोग्दै आएको समस्याको समाधान गर्ने योजना पन्तसँग छ । आगामी दिनमा उर्जा क्षेत्रले मात्रै देशको विकास गर्ने उनको दावी छ ।