विश्वकप उद्घाटनसँगै विवाद, टिकटको मूल्य ३० हजार डलर
काठमाडौं । उच्च टिकट मूल्य, भिसा विवाद र राजनीतिक संवेदनशीलताबीच मेक्सिको सिटीको ऐतिहासिक एस्टाडियो एजटेकामा दक्षिण अफ्रिका र आयोजक सह–देश मेक्सिकोबीचको खेलसँगै ४८ टोली सहभागी विश्वकपको सुरुआत भएको छ । करिब छ सातासम्म चल्ने यो प्रतियोगिता संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानाडाको संयुक्त आयोजनामा भइरहेको हो । प्रतियोगिताको फाइनल जुलाई १९ मा न्युजर्सीमा हुनेछ । फिफाका अनुसार यो संस्करण इतिहासकै सबैभन्दा ठूलो विश्वकप हो । प्रतियोगिताबाट करिब १३ अर्ब अमेरिकी डलर बराबरको राजस्व उठ्ने अनुमान गरिएको छ । तर प्रतियोगिता सुरु हुनुअघि नै टिकट मूल्य अत्यधिक भएको भन्दै आलोचना तीव्र बनेको छ भने अमेरिकाको कडा अध्यागमन नीतिका कारण खेलाडी, रेफ्री र समर्थकहरूलाई भिसासम्बन्धी समस्या भएको रिपोर्ट सार्वजनिक भएको छ । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले मेक्सिको सिटीमा प्रतियोगिताको उद्घाटन अवसरमा बोल्दै आलोचनालाई अस्वीकार गरेका छन् । उनका अनुसार टिकट मूल्यमा विविधता राखिएको र केही खेलका लागि ६० डलरसम्मका सस्तो टिकट उपलब्ध गराइएको छ भने केही प्रिमियम टिकटको मूल्य ३० हजार डलरसम्म पुगेको छ । औसत टिकट मूल्य ५०० डलरभन्दा कम रहेको भन्दै उनले यसलाई अमेरिकी खेलकुद घटनामध्ये तुलनात्मक रूपमा सुलभ भएको दाबी गरे । भिसा विवादबारे टिप्पणी गर्दै इन्फान्टिनोले सोमाली रेफ्री ओमार आर्टनको घटनालाई ‘दुर्भाग्यपूर्ण’ भनेका छन् । सुरक्षा चिन्ताका कारण उनलाई संयुक्त राज्य अमेरिकामा प्रवेश अनुमति नदिइएको र उनी प्रतियोगितामा सहभागी नहुने फिफाले पुष्टि गरेको छ । अमेरिकी विदेश मन्त्रालयले उनलाई ‘आतङ्कवादी सङ्गठनसँग सम्बन्धित व्यक्तिहरूसँग सम्पर्क रहेको’ आरोप लगाएको थियो । इन्फान्टिनोले भिसा तथा सुरक्षासम्बन्धी सबै परिस्थितिमा फिफाको पूर्ण नियन्त्रण नहुने स्पष्ट पार्दै ती घटनालाई लिएर तत्काल आक्रोश व्यक्त गर्नु सधैँ समाधान नभएको बताए । उनले इरानको सहभागितालाई लिएर उठेका प्रश्नबारे पनि टिप्पणी गर्दै विभिन्न राजनीतिक तनावका बाबजुद इरानले विश्वकप खेल्न पाउनु फिफाका लागि उपलब्धि भएको उल्लेख गरे । हाल इरान र अमेरिका बीचको सैन्य तनाव जारी रहे पनि प्रतियोगितामा सहभागिता सुनिश्चित गर्न सम्भव भएको उनको भनाइ थियो । फिफा प्रमुखको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्ध पनि चर्चामा रहेको छ । इन्फान्टिनोले ट्रम्पको समर्थन बिना अमेरिकामा विश्वकप आयोजना गर्न कठिन हुने धारणा राखेका छन् । ट्रम्पले भने प्रतियोगिताका केही खेलमा सहभागी हुने योजना रहेको बताएका छन् । खेल मैदानतर्फ भने उद्घाटन खेलमा ८५ हजार दर्शक अट्ने एस्टाडियो एजटेकामा दक्षिण अफ्रिकाले घरेलु टोली मेक्सिकोको सामना गर्दैछ । दक्षिण अफ्रिकाका प्रशिक्षक ह्युगो ब्रुसले घरेलु समर्थकहरूको अत्यधिक आवाजलाई चुनौतीका रूपमा लिएर खेलमा ध्यान केन्द्रित गर्न आफ्ना खेलाडीहरूलाई आग्रह गरेका छन् । मेक्सिकोले अहिलेसम्म सात पटक विश्वकपको उद्घाटन खेल खेले पनि जित निकाल्न सकेको छैन । प्रशिक्षक जेभियर एगुइरेले यस पटक त्यो तथ्याङ्क तोड्ने लक्ष्य रहेको बताउँदै खेलाडीलाई विशेष प्रेरणा दिइएको उल्लेख गरे । उद्घाटन दिनको दोस्रो खेल दक्षिण कोरिया र चेक गणतन्त्रबीच गुआडालाजारामा हुनेछ । प्रतियोगिताका प्रमुख दाबेदारका रूपमा स्पेन, फ्रान्स र इङ्ल्यान्डलाई हेरिएको छ भने वर्तमान च्याम्पियन अर्जेन्टिना आफ्नो कप्तान लियोनेल मेस्सीको नेतृत्वमा उपाधि रक्षा गर्ने लक्ष्यमा मैदानमा उत्रिनेछ । रासस
शिक्षा र स्वास्थ्यमा कर लगाउनु हुँदैन : सांसद सिंह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा कर लगाउने व्यवस्था गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । बजेटमाथि धारणा राख्दै उनले शिक्षा र स्वास्थ्यलाई संविधानले नागरिकको मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै कर लगाउन नहुने बताएका हुन् । यस्तो अवस्थामा राज्यले ती क्षेत्रमा कर लगाउनु उपयुक्त नहुने उनको तर्क छ । सिंहले आफू संविधान निर्माण प्रक्रियामा हस्ताक्षर गर्ने सांसदमध्ये एक भएको उल्लेख गर्दै संविधानद्वारा प्रत्याभूत मौलिक अधिकारमाथि कर लगाउने आधारबारे प्रश्न उठाए । उनले संविधानले सुनिश्चित गरेका अधिकारमा कर लगाउने निर्णयको औचित्य स्पष्ट हुनुपर्ने धारणा व्यक्त गरे । यस्तै, उनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन हुनेमा आफू विश्वस्त नरहेको बताए । उनले कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को तुलनामा अत्यधिक आकारको बजेट ल्याइएको दाबी गर्दै त्यसलाई ‘फुकिएको बेलुन’सँग तुलना गरे । उनले व्यंग्यात्मक शैलीमा बजेट पूर्ण रूपमा कार्यान्वयन भए देश एकैदिनमा सिंगापुर, जापान वा दुबईजस्तै विकसित बन्ने अवस्था आउने टिप्पणी समेत गरे ।
डा. श्यामराज रेग्मीले गरे ३३ हजार बिरामीको मुटुको शल्यक्रिया
चितवन । चिकित्सा विज्ञानको क्षेत्रमा मुटुरोगको परीक्षण तथा उपचार विधिलाई तुलनात्मक रुपमा संवेदनशील र महँगो मानिन्छ । विशेषगरी जनचेतना र पेसाप्रति समर्पित एवं दक्ष चिकित्सकको अभाव र महँगा उपकरणका कारण मुटुरोगको परीक्षण तथा उपचारलाई तुलनात्मक रुपमा जटिल र महँगो रुपमा लिइन्छ । पछिल्ला दिनमा मुटुरोगका क्षेत्रमा देखिएको जनचेतना, अहोरात्र क्रियाशील दक्ष चिकित्सक र आधुनिक उपकरणसहित सुविधासम्पन्न अस्पताल सञ्चालन भएसँगै उपचार सहज भएको छ । यसै सन्दर्भमा मुटुरोग उपचारका क्षेत्रमा काठमाडौं र चितवनमा करिब २५ वर्ष सेवा गरी उदाहरणीय व्यक्तित्व बन्न सफल प्रा. डा. श्यामराज रेग्मीले हृदयाघातको लक्षण थाहा पाउनासाथ यथासक्य छिटो अस्पताल पुगी धनजनको नोक्सानी हुनबाट जोगिन सबैसँग अनुरोध गरेका छन् । करिब साढे दुई दशकको आफ्नो सेवाअवधिमा करिब ३३ हजार बिरामीको मुटुको शल्यक्रिया गरी बिरामीलाई राहत दिन सफल भएकामा गर्व गर्दै प्रा. डा. रेग्मीले हरेक वर्ष मुटुको परीक्षण गर्न र मुटु दुख्नासाथ ‘क्याथल्याब’ सुविधा भएको अस्पताल पुग्न पनि अनुरोध गरेका छन् । हाल भरतपुरस्थित चितवन मेडिकल कलेज (सिएमसी) मा कार्यरत प्रा. डा. रेग्मीले अहिलेसम्म ३२ हजार ६६९ जनाभन्दा बढी बिरामीको मुटुको शल्यक्रिया गरी समाजमा आफूलाई एक समर्पित एवं उदाहरणीय चिकित्सकका रुपमा स्थापित भएका छन् । विसं २०२३ मा पर्वतमा जन्मिएका रेग्मीले काठमाडौंस्थित महारागजञ्ज क्याम्पसबाट एमबिबिएस अध्ययन पूरा गरी बङ्गलादेशको ढाकाबाट मुटुरोग विषयमा स्नातकोत्तर (एमडी) उपाधि हासिल गरेका डा. रेग्मीले अहिलेसम्म करिब ३३ हजार बिरामीको मुटुको शल्यक्रिया गरेको बताए । बाँसबारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृृदय रोग केन्द्रबाट सेवा प्रारम्भ गरेका डा. रेग्मी हाल कार्यरत ‘सिएमसी’मा समेत गरी करिब ३३ हजार बिरामीको मुटुको शल्यक्रिया गरी उदाहरणीय चिकित्सक बन्न सफल भएका हुन् । मुटुसँग सम्बन्धित रोगको उपचारका लागि चितवनसहित आसपासका क्षेत्रमा सबैको रोजाइमा डा रेग्मी पर्न सफल भएका छन् । लामो समयको प्रयासपछि रासससँगको सङ्क्षिप्त कुराकानीमा प्रा.डा. रेग्मीले प्रचारभन्दा पनि सेवाप्रति समर्पित भई काम गर्ने आदत रहेकाले ‘मिडिया’मा खासै आउन नचाहेको स्पष्ट गरे । डा. रेग्मीले भने, 'गङ्गालाल अस्पतालमा रहँदा दुई हजार ५०० भन्दा बढी जन्मजात मुटुपीडित बालबालिकाको ‘एनजिओग्राम’ गरियो । यसैगरी दुई हजारभन्दा बढीको मुटुको ‘भल्व’ खोल्ने र १० हजारभन्दा बढीको ‘कोरोनरी एनजिओग्राफी’ गरी सेवा प्रदान गरियो ।' बाँसबारीस्थित गङ्गाल अस्पतालमा मुटुको धमनीबाट पाइप छिराएर ‘इन्टरभेन्सन कार्डियोलोजी’ प्रविधिबाट शल्यक्रिया सुरु गरेको उनले जानकारी दिए । विशेषगरी काठमाडौं उपत्यका बाहिरका बिरामीको सेवालाई प्राथमिकता दिँदै २०६९ काठमाडौं छोडी भरतपुरस्थित चितवन मेडिकल कलेज ‘सिएमसी’ पुगेका डा. रेग्मीले यसबीचमा १८ हजार १६९ जनाको मुटुको शल्यक्रिया गरेको बताए । डा. रेग्मीको नेतृत्वमा सिमसीमा ‘एनजिओग्राफी’ ‘एनजिओप्लास्टी’, पेसमेकर राख्ने, ‘पिटिएमसी’, मुटुको पानी तान्नेलगायतका काम विशेष उपकरण र प्रविधिको सहयोगमा मुटु नचिरिकन शल्यक्रिया हुनेगरेको अस्पताल प्रशासनले जनाएको छ । 'अस्पतालको आकस्मिक कक्षमा आउने हृदयघात पीडित बिरामीको यथासक्य छिटो शल्यक्रिया गरी धमनी खोल्ने काम गरिन्छ । मुटु रोगका बिरामीमध्ये करिब ७० प्रतिशत बिरामीको धमनी खोल्ने काम हुन्छ ।' प्रा. डा. रेग्मीले भने, 'हृदयघातको आशङ्का छ भने यथासक्य छिटो ‘क्याथल्याब’ सुविधा भएको अस्पतालमा पुर्याउनुपर्छ । अन्तरराष्ट्रिय मान्यताअनुसार आकस्मिक कक्षमा आएका त्यस्ता बिरामीलाई ९० मिनेटभित्र ‘क्याथल्याब’मा लगेर मुटु खोल्नुपर्छ भन्ने रहेको छ ।' छाती दुखेर बहिरङ्ग सेवामा आउने बिरामीको सबैभन्दा पहिला ‘टिएमटि (ट्रेडमिल टेष्ट)’ गरेर मुटुमा कुनै समस्या देखिए ‘एनजिओग्राफी’ गरी नसा खोली उपचार प्रक्रिया अघि बढाउँदै आएको सिएमसीमा बाहिरका अस्पतालबाट ‘रिफरल’ भएर पनि मुटुका बिरामी आउने गरेको उनले स्पष्ट गरे । डा. रेग्मीले भने, 'मुटुमा तीन वटा मुख्य नसा हुन्छन् । कतिवटामा कस्तो समस्याअर्थात् रोकावट छ, त्यसको यकिन गरी उपचार गरिन्छ । मुटुमा पीडा हुनासाथ अस्पताल आउने बिरामीको उपचार सहज छ । ढिलो आउँदा समस्या जटिल भई खर्च धेरै हुने र बचाउन पनि कठिन हुने भएकाले हृदयघातको लक्षण थाहा पाउनासाथ अस्पताल जान सबैसँग विनम्र अनुरोध छ ।' विशेषगरी चुरोट, सुर्तीजन्य पदार्थ र मादकपदार्थ सेवन गर्ने व्यक्ति तथा मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोल भएका बिरामीलाई हरेक वर्ष मुटुको परीक्षण गर्न उनको सुझाव छ । देव्रे पट्टीको छाती दुखेमा वा कहिलेकाहीँ ग्यास्ट्रिकले जस्तो पेट दुख्ने तर ग्यास्ट्रिकको औषधिले निको नभएमा मुटुको समस्या हुनसक्ने जानकारी दिँदै डा. रेग्मीले त्यस्ता बिरामीलाई परीक्षणका लागि अस्पताल जान सुझाव दिए । उनले भने, 'सहनै नसक्ने गरी छाती दुख्यो भने पनि यथासक्य छिटो ‘क्याथल्याब’ भएको अस्पताल पुग्न अनुरोध छ, अन्यथा धनजनको नोक्सानीसहित अपुरणीय क्षति व्यहोर्नुपर्ने हुनसक्छ ।' रासस
महाधिवेशनअघि काँग्रेसमा सहमतिको पहल तीव्र, प्रवक्ता चालिसे भन्छन् - विधान सर्वोपरि हुन्छ
काठमाडौं । नेपाली काँग्रेसले पार्टी विधानले तोकेको सीमाभित्र रहेर नेताहरूको व्यवस्थापन तथा आन्तरिक समायोजनमा कुनै समस्या नरहेको स्पष्ट पारेको छ । महाधिवेशन नजिकिँदै जाँदा देखिएका आन्तरिक मतभेद र नेतृत्व व्यवस्थापनसम्बन्धी बहसबीच पार्टीले संवाद र सहमतिको माध्यमबाट समाधान खोज्ने संकेत दिएको हो । पूर्व प्रवक्ता प्रकाशशरण महतले हाल पार्टीभित्र देखिएका मतभेद अन्त्य गर्दै १५औँ महाधिवेशनलाई निष्पक्ष, पारदर्शी र सबै पक्षको स्वामित्व रहने बनाउन छोटो समयका लागि साझा सहमतिको संयन्त्र गठन गर्न प्रस्ताव गरेका छन् । उक्त प्रस्तावसँगै काँग्रेसभित्र आन्तरिक छलफल थप सक्रिय बनेको छ । यसैबीच पार्टी प्रवक्ता देवराज चालिसेले पार्टीलाई सुदृढ बनाउन सबै पक्षलाई समेटेर अघि बढ्न काँग्रेस तयार रहेको बताएका छन् । तर उनले विधानविपरीत जाने कुनै पनि अतिरिक्त माग स्वीकार्य नहुने स्पष्ट पारेका छन् । विकासन्युजसँग प्रतिक्रिया दिँदै प्रवक्ता चालिसेले भने, 'पार्टीलाई सुदृढीकरण गर्न अर्को पक्षलाई समेट्न तयार छौँ, तर विधान मिच्ने गरी अतिरिक्त माग राख्नु हुँदैन । विधानले दिएको तहसम्म पार्टी लचक हुन्छ ।' उनका अनुसार पार्टीले विधानले निर्धारण गरेको संरचना र अनुशासनभित्र रहेर नेताहरूको समायोजन गर्ने विषयमा कुनै कञ्जुस्याइँ गर्ने छैन । तर सबै प्रक्रिया पार्टी विधान र अनुशासनको दायराभित्र मात्र हुने उनले दोहोर्याए । महाधिवेशनको तयारीसँगै काँग्रेसभित्र नेतृत्व, प्रतिनिधित्व र संगठनात्मक संरचनाबारे बहस चुलिएको छ । यद्यपि नेताहरूले आन्तरिक असहमति समाधान गर्दै एकताबद्ध रूपमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याइरहेका छन् । यसैबीच महाधिवेशनको पूर्वसन्ध्यामा आएको सहमतिको संयन्त्र गठनको प्रस्तावले पार्टीभित्रको शक्ति सन्तुलन र नेतृत्व व्यवस्थापनबारे नयाँ बहस सुरु गरेको छ । काँग्रेसले लिएको लचकता र विधानअनुसारको व्यवस्थापनको सन्देशले आगामी महाधिवेशनको राजनीतिक माहोल थप निर्णायक बन्ने संकेत देखिएको छ ।
प्रतिनिधिसभा : जनताका घर नभत्काउन आग्रह
काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग आसपासका क्षेत्रमा बनेका जनताका निजी घर नभत्काउन सरकारको ध्यानाकर्षण गराएकी छन् । बैठकको आकस्मिक समयमा उनले उक्त राजमार्गका किनारमा बनेका घर तथा त्यहाँ सञ्चालन भएका होटललगायत व्यवसाय प्रभावित हुने भएकाले जनताका घर तथा उनीहरूलाई बेरोजगार हुनबाट जोगाउन ती घर नभत्काउन आग्रह गरेकी हुन् । 'वर्षायाम सुरु हुन लाग्यो, जनता घर भत्किने चिन्तामा छन्, उनीहरूको रोजगारी गुम्ने अवस्था छ', उनले भनिन्, 'सडक विभागको सूचनाले उनीहरू त्रसित छन् । नागरिकका निजी घर भत्काउने निर्णय फिर्ता लिनुपर्छ ।' सांसद नीता घतानीले काठमाडौंमा दलितमाथि भएको विभेदको विरोध गरिन् भने अर्का सांसद ज्ञानबहादुर शाहीले महालेखा परीक्षकको प्रतिवेदनमा औँल्याइएका अनियमितता छानबिन गर्न माग गरिन् । सांसद यशोदाकुमारी बरालले कर्णाली राजमार्गका विभिन्न स्थान भत्किँदा सडक अवरुद्ध भएकाले यातायातका साधन सञ्चालनका निम्ति अविलम्ब सडक मर्मतसम्भार गर्नुपर्नेमा जोड दिइन् ।
भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया
रमेश गिरी भक्तपुर । भक्तपुर अस्पतालले बिरामी र विशेषज्ञ चिकित्सकबीच लामो दूरीमा रही मुटुलगायतका जटिल शल्यक्रिया सफल रुपमा गर्ने अत्याधुनिक रोबोटिक सर्जरी सञ्चालनमा ल्याउने भएको छ । भारतलगायतका देशमा रोबोटिक सर्जरी अर्थात् रोबोटमार्फत गरिने जटिल शल्यक्रिया सफलपछि नेपालको सरकारी अस्पतालमा पहिलो पटक रोबोटिक सर्जरी सुरु गर्न लागिएको हो । विश्वको जुनसुकै देशको एउटा कोठामा बसेर चिकित्सकले अर्को देशको अस्पतालका बिरामीको शल्यक्रियामार्फत उपचार गर्ने प्रविधि रोबोटिक सर्जरी हो । निजी क्षेत्रका अस्पतालले त्यस खाले उपचार सेवा यसअघि नै सुरु गरिए तापनि भक्तपुर अस्पतालले सञ्चालन गर्न लागेको रोबोटिक सर्जरी अत्याधुनिक रहेको जनाइएको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले सरकारी अस्पतालमा पहिलो पटक भक्तपुर अस्पतालमा रोबोटिक सर्जरी सेवा सुरु गर्ने प्रक्रिया प्रदेश सरकारले सुरु गरेको बताए । उनले भने, 'अत्याधुनिक उपकरण र प्रविधिको प्रयोग गरी नेपालमा पहिलो पटक सरकारी अस्पतालमा रोबोटिक सर्जरी सञ्चालन गर्ने जमर्को बागमती प्रदेश सरकारले गरेको छ, त्यसका लागि बोलपत्र आह्वान भइसकेको छ । यसबाट बिरामीलाई सहज र सुलभ रुपमा उपचार सेवा दिन सक्छौँ ।' बागमती प्रदेश सरकारको मुख्यमन्त्री इन्द्र बानियाँ र स्वास्थ्यमन्त्री किरण थापाले सरकारी अस्पतालमा गुणस्तरीय प्रविधि भित्र्याएर सर्वसुलभ रुपमा उपचार गर्ने लक्ष्यका साथ बागमती प्रदेश सरकारले रोबोटिक सर्जरी ल्याउने निर्णय गरेको हो । स्वास्थ्य थापाले विशेषज्ञ चिकित्सकले भित्तामा जडित ठूलो स्क्रिन हेर्दै रोबोट प्रविधिमार्फत शल्यक्रिया गर्ने भएकाले नेपालको स्वास्थ्य क्षेत्रका लागि नयाँ युगको सुरुआत भएको बताए । शल्यक्रियामा रोबोटिक प्रविधिको प्रयोगले चिकित्सक र बिरामी दुवैका लागि फाइदा र सहज हुने भक्तपुर अस्पतालका रोबोटिक विशेषज्ञ एवं कन्सल्टेन्ट सर्जन डा. रन्जिसकुमार पहाडी क्षेत्रीले जानकारी दिए । नेपालको चिकित्सा क्षेत्रमा झण्डै सवा शताब्दी लामो इतिहास बोकेको भक्तपुर अस्पतालले विश्वसनीय स्वास्थ्य सेवा पुर्याउँदै आएको छ । पछिल्ला वर्षहरुमा सरकारी अस्पतालमध्ये लगातार उत्कृष्ट स्थान हासिल गर्दै आएको अस्पतालले समयको माग र नयाँ प्रविधिसँगै आफ्नो सेवालाई अझ आधुनिक बनाउँदै लगेको छ । उनले भक्तपुर अस्पताललाई रोबोटिक सर्जरी सेवासँगै यसको तालिम केन्द्रका रुपमा विकास गरिने बताए । भक्तपुर अस्तालले त्यो सेवा सुरु गर्न आवश्यक जनशक्तिका समेत सञ्चालन गर्ने जनाएको छ । डा पहारीले रोबोटिक शल्यक्रियाको सुरुआतले भक्तपुर अस्पताल अब परम्परागत उपचार पद्धतिबाट माथि उठेर नेपालकै एउटा उत्कृष्ट उपचार र सिकाइ केन्द्रको रुपमा रहन पुगेको दाबी गरे । सरकारी अस्पतालमा भित्रिएको यस प्रविधिबाट गरिब तथा विपन्न वर्गका बिरामीले समेत संसारकै उत्कृष्ट र आधुनिक प्रविधिबाट सुलभ उपचार पाउने अस्पतालका निमित्त निर्देशक डा. त्रिभुवनचन्द्र झाले बताए । रोबोटिक शल्यक्रिया के हो ? रोबोटिक शल्यक्रिया मेसिन वा रोबोट आफैँले शल्यक्रिया गर्ने नभई रोबोटलाई सर्जन चिकित्सकले नियन्त्रणमा राखेर गरिने शल्यक्रिया भएका डा. पहारी बताउँछन् । उनका अनुसार, चिकित्सकले उपकरण चलाउँदा रोबोटका हात बिरामीको पेटभित्र निकै मसिनो र सटिक तरिकाले चल्ने भएकाले त्यसका माध्यमबाट शल्यक्रिया गरिन्छ । भक्तपुर अस्पतालमा त्यस प्रविधिको प्रयोग गरी विशेषगरी पेटको मांसपेशी नै सिलाउन र मिलाउनुपर्ने जटिल खालका हर्निया, पेट र आन्द्राको ट्युमर, पत्थरी, पाठेघरको ट्युमर, मिर्गौला र प्रोस्टेटसम्बन्धी जटिल समस्या तथा कार्डियाक ब्यारियाट्रिक र बाल चिकित्सा शल्यक्रिया सञ्चालन गर्ने लक्ष्यछ । कम दुखाइ र न्यून खर्चमा हुने यो प्रविधिले पेटमा ठूलो प्वाल नभई स–साना प्वाल पारेर शल्यक्रिया गरिनेछ । घाउ सानो हुने भएकाले तुलनात्मकरुपमा बिरामीलाई दुखाइ कम हुने, शल्यक्रियापछि थोरै समयमै हिँडडुल गर्न र घर फर्कन सहज हुनेछ । प्रविधिको प्रयोबाट हुने उपचार बिरामीको खर्च र अस्पतालको बसाई निकै कम हुने विश्वास गरिएको छ । नयाँ प्रविधिलाई अझ व्यवस्थित र सुरक्षित बनाउन रोबोटिक रजिस्ट्री विवरणलाई व्यवस्थित तुल्याइने अस्पतालले जनाएको छ । प्रविधिलाई नेपाली बिरामीमा अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भनी अस्पतालका सर्जनले नियमित रूपमा अनुसन्धान गर्ने छन् । त्यससँगै अस्पताललाई तालिमसहित रोबोटिक शल्यक्रिया सिकाउने नेपालकै उत्कृष्ट सेन्टर अफ एक्सीलेन्स बनाउने तयारी गरिएको छ । रासस
बिपी अस्पताल सुधार गर्ने
नारायणगढ । सेवाग्राहीले असन्तुष्टि जनाएपछि भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल प्रशासनले सुधारात्मक कदम चाल्ने प्रतिबद्धता जनाएको छ । मंगलबार सेवाग्राहीले अस्पताल प्रशासनसँग छलफल गर्दै बिरामीमैत्री सेवा प्रवाहमा ढिलाइ, कर्मचारीको व्यवहार तथा स्वास्थ्य बीमा र विपन्न नागरिक लक्षित सेवामा सहजता नभएको गुनासो गरेका थिए । कर्मचारी र सेवाग्राहीबीचको सम्बन्धलाई थप सौहार्दपूर्ण र मर्यादित बनाइने, फार्मेसी सेवालाई सुदृढ गरिने तथा बेड व्यवस्थापन र क्षमता विस्तारमा ध्यान दिने सम्बन्धमा अस्पताल प्रशासन र सेवाग्राहीबीच सहमति भएको छ । अस्पतालका निमित्त कार्यकारी निर्देशक उमेश नेपालले सेवाग्राहीबाट उठाइएका विषयलाई सकारात्मक रूपमा ग्रहण गर्दै सुधारात्मक कार्यान्वयन गरिने बचन व्यक्त गरेका थिए । सेवाग्राहीले बिमाका बिरामीको थप चाप बढेको उल्लेख गर्दै स्वास्थ्य बिमा तथा विपन्न नागरिक लक्षित सेवामा देखिएका समस्याको समाधानका लागि आवाज उठाएका थिए । हाल दैनिक रूपमा करिब एक हजार २०० जना बिरामीले बहिरङ्ग (ओपिडी) सेवा लिने गरेका छन् । तीमध्ये अधिकांश फलोअपका बिरामी रहने तथा दैनिक २५ देखि ३० जना नयाँ क्यान्सरका बिरामी पहिचान हुने गरेको निर्देशक नेपालले बताए ।
वरिष्ठ उपाध्यक्ष पदमा मनोनयन दर्ता गर्न २ लाख रुपैयाँ, अन्य पदमा कति ?
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आगामी २४ औं वार्षिक साधारण सभामा नयाँ कार्यसमिति चयनका लागि निर्वाचन हुने भएको छ । संस्थाको मौजुदा विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान रहेकाले अध्यक्षबाहेकका अन्य पदाधिकारी तथा सदस्य पदका लागि निर्वाचन हुन लागेको इप्पानले जनाएको छ । संस्थाको विधानको धारा १५ (१२) बमोजिम जेठ २५ गते अर्थात् सोमबार बसेको कार्यसमितिको बैठकले निर्वाचन प्रयोजनका लागि उम्मेदवारी मनोनयन शुल्कसमेत निर्धारण गरेको थियो । सोही बमोजिम १ जना वरिष्ठ उपाध्यक्षका लागि २ लाख रुपैयाँ तथा ५ जना उपाध्यक्ष, १ जना महासचिव, १ जना उप-महासचिव, ५ जना सचिव र १ जना कोषाध्यक्ष पदका लागि जनही १ लाख ५० हजार रुपैयाँ मनोनयन शुल्क तोकिएको छ । त्यसैगरी, खुलातर्फका ७ जना सदस्य र महिलातर्फका ३ जना सदस्य पदका लागि उम्मेदवारी दिन चाहनेले जनही १ लाख रुपैयाँ शुल्क बुझाउनुपर्ने इप्पानले जनाएको छ । निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि मनोनयन फारम दस्तुर छुट्टै १०० रुपैयाँ लाग्ने जानकारी दिएको छ । इप्पानको २४ औं वार्षिक साधारण सभा भोलि (शुक्रबार) हुँदैछ ।