५ अर्बको ऋणपत्र बिक्री गर्दै सिभिल बैंक, ११ प्रतिशत ब्याज पाइने
काठमाडौं । सिभिल बैंकले ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेवोन) मा आवेदन दिएको छ । बैंकले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दिन दिएको हो । बैंकले असार १६ गते बोर्डमा आवेदन दिएको थियो । बोर्ड अनुपति पाएपश्चात बैंकले ११ प्रतिशत ब्याजदर भएको ‘सिभिल बैंक डिबेञ्चर–२०८४’ निष्काशन तथा बिक्री खुला गर्नेछ । बैंकको उक्त ऋणपत्रको अवधि ५ वर्षको रहेको छ । बैंकले १ हजार अंकित मूल्यका कूल ५० लाख इकाइ निष्काशन गर्नेछ । जसमध्ये २० लाख इकाइ सर्वसाधारणका लागि र ३० लाद इकाइ ब्यक्तिगत तवरबाट बिक्री गर्नेछ । बैंकको उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
तारागाउँको सम्पत्ति संरक्षण गर्न अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्देशन
काठमाडौं । सङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लामो समयदेखि विवादमा रहेको तारागाउँ विकास समितिको सम्पत्ति संरक्षण व्यवस्थापनका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र तरागाउँ विकास समितिका पदाधिकारीसँग छलफल गर्दै समिति मातहत रहेको जग्गा कौडीको भाउँमा निजी क्षेत्रलाई दिइएको राज्यको सम्पत्ति संरक्षण र व्यवस्थित गर्न आग्रह गरेको हो । समितिका सभापति पवित्रा निरौलाले बहूमूल्य सरकारी सम्पत्ति कौडीको भाउँमा निजी क्षेत्रलाई दिएर सरकारी सम्पत्तिको दुरुपयोग भएको भन्दै समितिको जग्गा संरक्षण र काम कारबाहीलाई प्रभावकारी बनाउन दीर्घकालीन गुरुयोजना बनाएर अघि बढ्न निर्देशन दिइन् । उनले राज्यको सम्पत्ति संरक्षण व्यवस्थापन गर्नका लागि समितिले दिएको पटकपटकको निर्देशन कार्यान्वयन नभएकामा मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराइन् । विसं २०७५ मा नै समितिले तारागाउँका नाममा तीन महिना लामो अध्ययन गरी प्रतिवेदनमार्फत गम्भीर ध्यानाकर्षण गराएको निरौलाले स्मरण गराए । त्यस सम्बन्धमा समितिले हालसम्म १४ पटक निर्देशन दिएको छ भने यस अवधिमा सात पर्यटनमन्त्रीले नेतृत्व गरेको भन्दै सभापति निरौलाले छानबिन समितिको प्रतिवेदन चाँडो टुङ्ग्याएर आगामी रणनीति तयार गर्न मन्त्रालयलाई निर्देशन दिइन् । ‘नेपालको यो सम्पत्ति जगेर्ना गर्न सबै लाग्नुपर्छ, सरकारी सम्पत्ति फिर्ता गरी त्यहाँ कहीँ भ्रष्टाचार भएको पाइए समितिले निष्पक्ष छानबिन गरी प्रतिवेदन दिनुपर्छ’, सभापति निरौलाले भनिन् । उनले उक्त सम्बन्धमा छानबिन समितिको प्रतिवेदनपछि थप छलफल गरेर समितिले उपयुक्त निर्णय लिने बताइन् । तारागाउँको जग्गाबारे छानबिन गरी सत्यतथ्य पत्ता लगाउन पर्यटन मन्त्रालयले मन्त्रालयका सहसचिव होमप्रसाद लुईंटेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । उक्त समितिको समयावधि गत असार ३२ गतेसम्म रहेकाले छानबिनलाई अझ प्रभावकारी बनाउन साउन मसान्तभित्र प्रतिवेदन पेश गर्नेगरी समयावधि थपिएको मन्त्रालयले जनाएको छ । पर्यटनमन्त्री श्रेष्ठले लामो समयदेखि जटिल बनिरहेको तारागाउँको जग्गा र यसको समग्र अवस्थाबारे छानबिन गरी प्रतिवेदन तयार गर्न गठित समितिले काम गरिरहेको उल्लेख गर्दै साउनभित्रै समितिले प्रतिवेदन पेश गरेपछि सोही अनुरुप आवश्यक निर्णय लिइने बताए । तारागाउँ विकास समितिको नाममा ३०४ रोपनी जग्गामध्ये १५० रोपनी ह्यात रिजेन्सी होटलको नाममा रहेको मन्त्री श्रेष्ठले जानकारी दिए । जसमध्ये ४९.७७ प्रतिशत तारागाउँको र ६०.३३ प्रतिशत निजी क्षेत्रको नाममा रहको छ । बाँकी १४८ रोपनी जग्गा होटलले लिजमा लिएको बताइएको छ । उक्त जग्गाको लिजमा दिएको कानुनी प्रक्रिया ढिक छकी छैन भनेर समितिले अध्ययन प्रतिवेदन दिनेछ । पर्यटनमन्त्री श्रेष्ठले सरकारको बहुमुल्य सम्पत्ति कसरी अहिलेको अवस्थामा पुग्यो भनेर यसरी जग्गा उपभोगमा दिएको कानुनीलगायत सबै प्रक्रियाको यथार्थ अध्ययन गरेर आवश्यक निर्णय लिइने उल्लेख गरे। सांसदहरुले तारागाउँका सम्बन्धमा धेरै छलफल र निर्देशन दिइएको भए पनि सम्बन्धित निकायले कार्यान्वयन नगरेको भन्दै आपत्ति प्रकट गरेका छन् । उनीहरुले समितिको नामको जग्गामा लामो बिवाद रहनुले त्यहाँ भ्रष्टाचार भएको अनुमान गर्न सकिने भन्दै निश्पक्ष छानबिन गरी दोषीलाई कानूनी कार्बाही गरिनुपर्ने खाँचो औंल्याए । सांसद चाँदतारा कुमारीले सरकारी सम्पत्ति व्यवस्थापन गर्न मन्त्रालयले तत्काल कदम चाल्नुपर्नेमा जोड दिइन् । सांसद रेनुका गुरुङले समितिले पटकपटक गरेको निर्देशन सरोकारवाला निकायले कार्यान्वयन नगरेको भन्दै समितिको नाममा रहेको काठमाडौं, पोखरालगायत स्थानको जग्गाको सही सदुपयोग र संरक्षण गर्न गराउन मन्त्रालयको ध्यानाकर्षण गराइन् । सांसद नारदमणि रानाले समितिको नामको बहुमूल्य जग्गा कौडीका भाउँमा निजी क्षेत्रलाई बुझाएको भन्दै तत्काल सम्पत्ति फिर्ता गरेर प्रभावकारी व्यवस्थापन गर्न आग्रह गरे । सांसद मोहन बाँनियाले राज्यको सम्पत्ति संरक्षण गर्न मिनी संसद्को रुपमा रहेको समितिले पटक–पटक गरेको निर्देशन कार्यान्वयन नभएको गुनासो गरे । सांसद देवप्रसाद तिमल्सिनाले तारागाउँको ३० वर्षदेखिको विवाद चाँडो समाधान गर्नेतर्फ सरोकारवालाक निकायको ध्यानाकर्षण गराए । तारागाउँ विकास समितिका अध्यक्ष सुरेश जोशी र सदस्य सचिव महेन्द्र थापामगरले हालसम्मको प्रगतिबारे समितिलाई जानकारी गराएका थिए । रासस
एभरेष्ट बैंकलाई एकैपटक २ वटा ऋणपत्र निष्काशन गर्न अनुमति, वार्षिक ब्याज कति ?
काठमाडौं । एभरेष्ट बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट ४ अर्ब रुपैयाँ बराबरको २ वटा ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न अनुमति पाएको छ । सेबोनले बैंकलाई एकैपटक २ वटा ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न अनुमति दिएको हो । बोर्डले साउन २ गते बैंकलाई २ वटा ऋणपत्र निष्काशनको अनुमति दिएको हो । बोर्डले बैंकलाई २ अर्ब रुपैयाँ बराबरको ‘एभरेष्ट बैंक ऋणपत्र-२०८५’ र २ अर्ब रुपैयाँ बराबरको ‘एभरेष्ट बैंक ऊर्जा ऋणपत्र-२०८९’ निष्काशन तथा बिक्री खुला गर्न अनुमति दिएको हो । अब बैंकले एभरेष्ट बैंक ऋणपत्रको १ हजार अंकित दरका कूल २० लाख इकाइ ऋणपत्र बिक्री गर्नेछ । जसमध्ये १२ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी ८ लाख इकाइ सर्वसाधारणका लागि बिक्री गर्नेछ । बैंकले अनुमति पाएको ऋणपत्रको एभरेष्ट बैंक ऋणपत्रको अवधि ६ वर्ष रहेको छ भने वार्षिक १०.५ प्रतिशत ब्याजदर तोकिएको छ । त्यस्तै, बैंकले एभरेष्ट बैंक ऊर्जा ऋणपत्रको १ हजार अंकित दरका कूल २० लाख इकाइ ऋणपत्र बिक्री गर्नेछ । जसमध्ये १२ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी ८ लाख इकाइ सर्वसाधारणका लागि बिक्री गर्नेछ । बैंकको ऊर्जा ऋणपत्रको अवधि १० वर्ष तोकिएको छ भने वार्षिक ५.५ प्रतिशत ब्याजदर तोकिएको छ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ ।
दुई मिडियाविरुद्ध बालेनले दिए उजुरी, क्षतिपूर्तिको माग
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दुई मिडियाविरुद्ध उजुरी दिएका छन् । उनले हिमालय टीभी र नेपाल समाचारपत्र दैनिकविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका हुन् । उनले कारबाही सहित क्षतिपूर्तिको माग गर्दै निवेदन दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । सञ्चार माध्यमहरूले व्यवसायिक पत्रकारितालाई ख्याल नगरी एकतर्फी रूपमा प्रकाशन र प्रसारण गरेको तथ्यहीन समाचारहरूले भ्रम सृजना हुनाको साथै यसबाट व्यक्तिगत र संस्थागत आँच पुगेको उनले बताएका छन् ।
बन्दाबन्दी नभए कोभिड-१९ संक्रमण दैनिक ११ हजार नाघ्ने
काठमाडौं । कोभिड-१९ को संक्रमण दैनिक ११ हजार ६०० को हाराहारीमा पुग्न सक्ने अनुमान गरिएको छ । कोरोना संक्रमण बढ्दै जाँदा बन्दाबन्दी नभएमा, सरकारले तोकेका स्वास्थ्य मापदण्डहरुको पालना पूर्ण रुपमा नभए यस्तो अवस्था आउन सक्ने अनुमान गरिएको छ । कोरोना महामारीको पहिलो र दोस्रो लहरको तथ्याङ्क विश्लेषण र पछिल्लो समयमा देखिएको संक्रमणको ट्रेनका आधारमा यस्तो अनुमान गरिएको नीति अनुसन्धान प्रतिष्ठानले जनाएको छ । यो पूर्ण सरकारी स्वामित्वको सरकारी थिङ ट्याङ्क हो । विभिन्न मुलुकमा कोभिड-१९ महामारीको अवस्था, व्यवस्थापनको अनुभव र सिकाइहरूबारे गरिएको अनुसन्धान प्रतिवेदनमा आगामी डिसेम्बरसम्म खराव, मध्यम र राम्रो हुँदा कस्तो असरपर्ला भनेर व्याख्या गरिएको छ । यसअघिको महामारीमा दैनिक ८ हजार भन्दा बढी नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । कोभिड-१९ सङ्क्रमणको विगत १८ महिनाभन्दा बढी अवधिको शृङ्खलाबद्ध तथ्याङ्क हेर्दा सङ्क्रमण बिस्तारै सुरु भएर निश्चित बिन्दुमा पुगेपछि ह्वात्तै बढ्न थाल्ने र करिब ४५ देखि ५० दिनको अवधिमा सङ्क्रमणदर उच्च रहने प्रवृत्ति देखिएको प्रतिष्ठानले जनाएको छ । ‘कोभिड-१९ को सङ्क्रमण दर कम गर्न आवागमन, बन्दाबन्दी तथा अन्य कार्यमा गरिएको कडाइ, बढ्दो सङ्क्रमण र मृत्युदरको सूचना प्रसारणसँगै मानिसहरूले अपनाउने संयम र सतर्कताले कोभिड-१९ को सङ्क्रमण फैलावटको साङ्लो तोडिने भएको हुँदा सङ्क्रमण दर मत्थर हुँदै जाने प्रवृत्ति देखिएको छ । कोभिड-१९ को सङ्क्रमणको सम्बन्धमा हामीले ध्यान दिनुपर्ने पक्ष भनेको पहिलो लहरमा सङ्क्रमण बढ्ने र घट्ने दर उस्तैउस्तै रहे पनि दोस्रो लहरमा भने सङ्क्रमणको वृद्धिदर तीव्र भयो र घट्ने दर बढ्ने दरभन्दा ढिलो देखियो । यस प्रवृत्तिको विश्लेषण गर्दा एक पटक कोभिड-१९ सङ्क्रमणमा ह्रास आएपछि पुनः अर्को लहर आउन केही समय लाग्ने देखिन्छ’ प्रतिस्ठानको प्रतिवेदनमा भनिएको छ ।
२ वर्षदेखि हुन नसकेको फर्निचर एक्स्पो भदौ अन्तिम साता हुने
काठमाडौं । आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ भदौ अन्तिम साता आयोजना हुने भएको छ । कोभिड १९ ले उत्पन्न महामारीका कारण पछिल्ला २ वर्ष आयोजना हुन नसकेको एक्स्पो अगामी भदौ २३ देखि २७ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने भएको हो । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना तथा इभेण्ट सोलुसन प्रालिको व्यवस्थापनमा एक्स्पो आयोजना हुन लागेको हो । एक्स्पोले चलायमान हुन खोजिरहेको अर्थतन्त्रमा टेवा पुर्याउने विश्वास आयोजकको छ । संघका अध्यक्ष शुभेन्द्र जोशीका अनुसार झण्डै डेढ वर्ष फर्निचरजन्य व्यवसाय ठप्पप्राय अवस्थामा रहेर अहिले सामान्य अवस्थामा फर्किरहेको छ । ‘यो अवस्थामा एक्सपोले व्यवसायी र उपभोक्तालाई उचित प्लेटफर्मको भूमिका निर्वाह गर्ने छ,’ जोशीले भने, ‘यति मात्र नभई एक्स्पोले आर्थिक क्रियाकलाप चलायमान बनाउन पनि योगदान पुर्याउने विश्वास लिएका छौं ।’ फर्निचर व्यवसायमा आबद्ध उद्यमी तथा व्यवसायी एक्स्पोप्रति उत्साहित रहेको पनि जोशीले बताए । पछिल्लो पटक २०७६ भदौ अन्तिम साता सातौं संस्करणको एक्स्पो आयोजना भएकोमा कोरोना महामारीका कारण पछिल्ला २ वर्षसम्म एक्स्पो आयोजना हुन सकेको थिएन । ५ दिनसम्म चल्ने एक्स्पोमा १ सय २० भन्दा बढी स्टल रहने छन् । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री एक्स्पोको मुख्य आकर्षण रहने आयोजकको भनाई छ । आठौं संस्करणको एक्स्पोलाई प्रेस्टिज कार्पेटले मुख्य प्रायोजन गर्नेछ । एक्स्पोमा भारत बंगलादेश, पाकिस्तान लगायत मुलुकका प्रदर्शकहरुले समेत सहभागिता जनाउदैछन् । फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने अपेक्षा गरिएको छ । आधुनिक जीवनशैलीको चलन बढिरहेका बेला फर्निजन्य उत्पादनको बजार बिस्तारमा पनि एक्स्पोले महत्वपुर्ण भूमिका खेल्ने बताइएको छ । एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिका अनुसार एक्स्पोमा सहभागि हुनका लागि बुकिङ खुल्ला गरिएको छ । साउन २३ गतेसम्ममा स्टल बुकिङ गर्नेहरुलाई कुल लागतमा १० प्रतिशत छुटको व्यवस्था गरिएको इभेन्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए ।
एशियन लाइफले बढाएर घोषणा गर्यो नयाँ बोनसदर
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । बीमा समितिको स्वीकृतिसँगै इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नयाँ बोनदर सार्वजनिक गरेको हो । यससँगै कम्पनीले नाफामा सरिक हुने सबै जीवन बीमालेखको लागि प्रतिवर्ष प्रतिहजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म दिने भएको छ । अघिल्लो वर्ष कम्पनीले बीमितलाई न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिएको थियो । नयाँ बोनसदर अनुसार इन्स्योरेन्सको सावधिक तथा आजीवन बीमालेखका बीमितले न्यूनतम ५० देखि अधिकतम ७५ रुपैयाँसम्म पाउने छन् । बालबालिकाको सावधिक जीवन बीमालेखमा न्यूनतम ४० देखि अधिकतम ६० रुपैयाँ निर्धारण गरिएको छ । यसअघि यो बीमालेखका बीमितले न्यूनतम ३८ रुपैयाँ बोनसदर पाएका थिए । त्यस्तै, सावधिक जीवन बीमालेखका बीमितले पनि न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनस पाउने छन् । यो बीमालेखको १४ वर्ष अवधिको ४० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५३ रुपैयाँ र २५ वा सोभन्दा माथिको लागि ६० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ । त्यसैगरी, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा प्रतिहजार न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाइने छ । त्यसैगरी, नव रत्न, जीवन संजीवनी, दम्पत्ति सुरक्षा प्लस एशियन वार्षिक धनलाभ योजनाका बीमितले न्यूनतम ४० देखि अधिकतम ६० रुपैयाँसम्म बोनस पाउने कम्पनीले जनाएको छ । साथै, बीमा समितिबाट अर्को बीमाङ्कीय मूल्याङ्कन स्वीकृत नभएसम्म कम्पनीले भुक्तानी गर्ने उक्त दाबीहरुमा समेत सोही बोनसदर कायम हुने कम्पनीले जनाएको छ ।
२०७ स्थानीय तहले ल्याउनै सकेनन् चालु आवको बजेट
काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भएको तीन दिन पूरा भए पनि हालसम्म २०७ स्थानीय तहले बजेट पेश गर्न सकेका छैनन् । संविधानअनुसार स्थानीय तहले असार दोस्रो साताभित्रै बजेट पेश गर्नुपर्ने व्यवस्था छ । संविधानअनुसार हरेक वर्षको जेठ १५ गते सङ्घीय सरकारले, असार १ गते प्रदेश सरकार र असार १० गते स्थानीय तहले बजेट पेश गर्नुपर्ने व्यवस्था छ । कूल ७५३ स्थानीय तहमध्ये ५४६ स्थानीय तहले चालु आवको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको भए पनि २०७ स्थानीय तहले विभिन्न कारणले गर्दा बजेट प्रस्तुत नै गर्न सकेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार प्रदेश नं १ का कूल १३७ स्थानीय तहमध्ये १०७ स्थानीय तहले बजेट ल्याइसकेका छन् । सो प्रदेशका ३० स्थानीय तहले भने हालसम्म बजेट प्रस्तुत गर्न सकेका छैनन् । कूल १३६ स्थानीय तह भएको मधेस प्रदेशका ६५ स्थानीय तहमा विवादका कारण चालु आवको बजेट नै प्रस्तुत हुन सकेको छैन । उक्त प्रदेश मातहतका ७१ स्थानीय तहले भने असारको दोस्रो साता नै बजेट प्रस्तुत गरेका थिए । सङ्घीय राजधानीसमेत रहेको बागमती प्रदेशका पनि ३४ स्थानीय तहको बजेट तोकिएको समयमा पेश हुन सकेको छैन । सो प्रदेशको कूल ३४ स्थानीय तहमा बजेट पेश भएको छैन । कूल ११९ स्थानीय तहमध्ये ८५ स्थानीय तहले भने तोकिएको समयमा नै चालु आवको नीति तथा कार्यक्रम र बजेट पेश गरिएको थियो । गण्डकी प्रदेशका कूल ८५ स्थानीय तहमध्ये ७६ स्थानीय तहले बजेट प्रस्तुत गर्दा नौ तहको भने बाँकी देखिन्छ । लुम्बिनी प्रदेशका कूल १०९ स्थानीय तहमध्ये ८४ वटाले बजेट ल्याएका छन् भने २५ वटाको हालसम्म सुुरसार नै देखिँदैन । केहीको भने विवाद देखिएको छ । कर्णाली प्रदेशका कूल ७९ स्थानीय तहमध्ये ६० वटाले बजेट ल्याए भने १९ वटाको अझै बाँकी देखिन्छ । सुदूरपश्चिम प्रदेशको कूल ८८ स्थानीय तहमध्ये ६३ वटाले बजेट ल्याउँदा २५ वटाको अझै पनि बाँकी छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत असार ३१ गते नै बजेट स्वीकृत भएको विवरण अध्यावधिक गराउन सबै स्थानीय तहलाई आग्रह गरिसकेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ उपदफा ६ बमोजिम नगर वा गाउँ सभाले असार मसान्तभित्र आगामी आवको बजेट पारित गरिसक्नुपर्ने व्यवस्था छ तर, ती स्थानीय तहले हालसम्म पनि यसअनुसार बजेट प्रस्तुत गरेका छैनन् । रासस