विकासन्युज

विदेशमा कमाएको पैसा अब ज्योति विकासमा ६५ महिनामै डबल, ९० प्रतिशतसम्म ऋण पनि

काठमाडौं । ज्योति विकास बैंकले रेमिट्यान्स प्राप्त रकमलाई मुद्धती खातामा बचत गरि ६५ महिनामै डबल हुने ‘ज्योति रेमिट्यान्स दुई गुणा डिपोजिट’ मुद्धती खाता सञ्चालनमा ल्याएको छ। विदेशमा गरिएको मेहनतको कदर गर्दै बैंकले रकम डबल प्राप्त हुने मुद्धती योजना सार्वजनिक गरेको हो । व्यक्तिगत ग्राहकहरुलाई लक्षित गरी ल्याइएको उक्त डबल मुद्दती खाता न्यूनतम मौज्दात १० हजार वा सोभन्दा बढी रकम जम्मा गरि खोल्न सकिन्छ । सो खाता बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट तथा विदेशमा रहेका ग्राहकहरु द्वारा अनलाइनबाटै भिडियो केवाईसी अपडेट गरि संचालनमा ल्याउन सकिनेछ। साथै, यस खातामा ग्राहकलाई आवश्यक परेको खण्डमा साँवा रकमको ९० प्रतिशतसम्म ऋण सुविधाको व्यवस्था पनि छ। यो योजना २०७९ भदौ महिनासम्मको लागि लागु हुनेछ । त्यसैगरी, रेमिट्यान्स आम्दानी बाहेकका ग्राहकहरुको लागि पनि ‘ज्योति दुई गुणा डिपोजिट’ मार्फत ७० महिनामै रकम डबल हुने मुद्दती योजना पनि संचालनमा ल्याइएको छ । ज्योति विकास बैंकले हाल ११९ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ६५ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।

राष्ट्रपति भण्डारीसमक्ष नवनियुक्त दुई राजदूतले लिए शपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त दुई राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा भदौ ५ गते आयोजित समारोहमा दुई राजदूतले शपथ दिएका हुन् । राष्ट्रपति भण्डारीसमक्ष गणतन्त्र ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्ले र गणतन्त्र कोरियाका लागि नवनियुक्त राजदूत प्रा डा ज्योति प्याकुरेल (भण्डारी) ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । रासस

कृषि विकास बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । कृषि विकास बैंकको ‘४ प्रतिशत एग्रिकल्चर बोण्ड’ नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । ४ प्रतिशत व्याजदर रहेको बैंकको उक्त ऋणपत्र भदौ २ गते नेप्सेमा सूचीकृत भएको हो । नेप्सेका अनुसार बैंकको २५ लाख ७३ हजार २५ थान ऋणपत्र सूचीकृत भएको हो । यससँगै, बैंकको उक्त ऋणपत्र भदौ ६ गतेदेखि दोश्रो बजारमा कारोबार सुरु हुनेछ । सूचीकृत भएको नयाँ ऋणपत्र र योभन्दा अघि सूचीकृत भएका गरी बैंकको कूल ६० लाख थान ऋणपत्र नेप्सेमा सूचीकृत भएका हुन् ।

चितवनका १२३ भूमिहिनले पाए जग्गाधनी प्रमाणपूर्जा, यहि वर्ष पाँच लाख बढीलाई दिइने

काठमाडौं । चितवनको भरतपुर उपमहानगरपालिकाका १२३ भूमिहिन सुमुम्वासीहरुले जग्गाधनी प्रमाणपूर्जा पाएका छन् । राष्ट्रिय भूमि आयोग, चितवन जिल्ला समिति मार्फत चितवन जिल्लाको भरतपुर उपमानगरपालिका वडा नं. २ मा १२३ भूमिहिन सुकुम्वासी घरपरिवारलाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले जग्गाधनी प्रमाणपूर्जा वितरण गरेकी हुन् । भूमिहिन सुकुम्वासीहरुलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले दुई वर्षभित्र भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गरिसक्ने भनेर सरकारले गरेको प्रतिवद्धता अनुरुप भूमिहिन दलित, भूमिहिन सुकुम्वासीहरुलाई लालपूर्जा वितरणको काम गरिरहेको बताइन् । मन्त्री श्रेष्ठले यहिवर्ष भित्र ३०० पालिकाकाका पाँच लाख भूमिहिनलाई लालपूर्जा वितरण गरिसक्ने र दुई वार्ष भित्र भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गर्न मन्त्रालय सवै खालका प्राविधिक समस्या, कानुनी र कार्यविधिगत जटिलता हटादै नतिजा दिनेगरी काम गरिरहेको पनि बताइन् । मन्त्री श्रेष्ठले आफूले मन्त्रालय संहालेपछि हालसम्म २०२१ सालयता नापि भएर पनि लालपूर्जा प्रप्त नगरेका ४९ हजार भन्दा बढी घरपरिवारलाई लालपूर्जा वितरण गरिसकेको भन्दै यही वर्षभित्र सबै गाउँब्लकको पुनः नापी र विशेष नापीको काम सकेर लालपूर्जा वितरण गर्ने काम सम्पन्न गरिसक्ने जानकारी गराए । उनले यसअघिका आयोगहरुले भूमिहिनलाई लालपूर्जा वितरण गर्न धेरै काम गरिसकेको भनेपनि काम केही पनि काम नभएको र धेरै पटक स्थानीय तहसँग तथ्याङ्क माग्दा प्राप्त गर्न नसकेको भन्दै अहिलेको सरकारले सम्पूर्ण काम प्रक्रियगत र नीतिगत रुपमा पुरागरी भूमिहिनको समस्या दिगो रुपमा नै समाधान हुने गरी लालपूर्जा वितरण गरिएकाले यसअघिका आयोगले दिएका लालपूर्जा जस्तो यो लालपूर्जा फिर्ता नहुनेमा ढुक्क हुन समेत सबैलाई आग्रह गरिन् । मुक्त हलिया, कमैया कमलरी र हरवाचरवाको हक शुनिश्चित गर्न मन्त्रालयले काम शुरु गरिसकेको र अव कुनै पनि वाहानामा हरवाचरवा राखेको र ऋण मुक्त गरेको छैन भने त्यसलाई मुक्त गर्न निर्देशन जारी गरिसकेको पनि मन्त्री श्रेष्ठले जानकारी दिइन् । उनले २०४९ सालभन्दा अगाडी विभिन्न साझा संस्थाहरुमा किसानले मल लिनका लागि धितो राखेको जग्गा लिलामी हुने अवस्थामा रहेको भन्दै उनीहरुको ऋण मोचन गर्ने अफू लागि परेको, भूउपयोग नियमावली ल्याई जग्गा वर्गिकरण गर्न लागिएको र स्थानीय तहहरु मार्फ काम भइरहेको भन्दै भूमिको संरक्षण गर्दै उत्पादन र उत्पादकत्व बढाएर आत्मनिर्भर अर्थतन्त्र विकासका लागि सरकार प्रतिबद्ध भएर लागेको पनि बताइन् ।

पाँचौ दशैं जुत्ताचप्पल व्यापार प्रवर्द्धन मेला शुरु

काठमाडौं । आइतबारबाट स्वदेशी उत्पादनलाई प्रवर्धन गर्न पाँचौ दशैँ जुत्ताचप्पल व्यापार प्रवर्द्धन मेला शुरु भएको छ । स्वदेशमा उत्पादित जुत्ताचप्पल, छालाकावस्तु तथा सामग्री प्रदर्शन गर्ने उद्देश्यले फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा पाँचौं व्यापार प्रवर्द्धन मेला काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको हो । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशनको अनुसार मेलामा १० देखि ५० प्रतिशत छुटमा ३० भन्दा बढी ब्राण्डका एक हजार मोडलका जुत्ता पाउन सकिनेछ । मेला १५ दिनसम्म चल्ने एशोसिएशनका अध्यक्ष नानीराज घिमिरेले बताए ।

समितिले अनुसन्धान गर्नै नसक्ने गरी बढे बीमामा अपराधिक घटना

काठमाडौं । बीमा समितिले बीमा क्षेत्रमा बढ्दै आएको अपराधिक क्रियाकलापको अनुसन्धान गर्न नसक्ने बताएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले सो बताएका हुन् । ‘बीमा व्यवसायमा करोडौंको बीमालेखमा अवैध लगानी भई वित्तीय अपराध समेत हुनसक्ने आशङ्का भएकाले बीमा समितिले निगरानी गरिरहेको छ, तर व्यवसायको विस्तारसँगै बढ्ने अपराधिक क्रियाकलापको अनुसन्धान समितिले मात्र गर्न सक्दैन, अब अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा पठाउनुपर्ने बेला आएको छ, प्रहरीले गर्ने अनुसन्धानमा सघाउन बीमा समिति प्रतिवद्ध छ,’ उनले भने । समितिले बीमा व्यवसायमा देखिएका अनियमितता र कानून विपरितका क्रियाकलापको अनुसन्धान गरी नियन्त्रण गर्न भरसक कोशिस भने गरिरहेको बताउँदै अध्यक्ष सिलवालले बीमा व्यवसायमा देखिएका धेरै घटनाहरूको छानबिन गरी टुँगोमा पुर्याउन प्रहरीको सहयोग आवश्यक रहेको बताए । बीमा समिति, नेपाल प्रहरी र बीमा कम्पनीहरूबीचको सहकार्यबाट नै बीमा व्यवसायमा देखिएका समस्याहरू समाधान गर्न सकिने उनको भनाइ छ । ‘बीमा व्यवसाय अब एकाङ्कीरूपमा चल्न सक्दैन, फाइदाका लागि गलत गतिविधि गरिएका हुन सक्छन्, जोखिमाङ्कनमा समस्या छ, फाइदाका लागि नीति, नियम र निर्देशिकालाई तोडमोड गर्ने गरिएको पाइन्छ,’ अध्यक्ष सिलवालले भने, ‘जीवन तथा निर्जीवन बीमामा कहाँ कहाँ कमी कमजोेरी छन्, बीमा समितिले बुझेको छ र सोही अनुसार अनुसन्धान र कारवाही अगाडि बढाएको छ, यसमा प्रहरीको पनि सहयोग आवश्यक छ,। बीमा व्यवसायमा हुने अपराधिक क्रियाकलापको नियन्त्रणका लागि नवीनतम औजार एवम् उपकरणको विकास तथा प्रयोगमा बीमा कम्पनीहरूले पनि प्रहरीलाई सहयोग गर्नुपर्छ ।’ कार्यक्रममा बीमा समितिका निर्देशक दिनेश कुमार लालले बीमा व्यवसायमा भएको विस्तारसँगै समस्याहरू पनि थपिंदै गएको, दाबी भुक्तानीमा समस्या देखिएको र जालसाजी तथा ठगीका घटनाहरू समेत देखिन थालेकाले यस्ता समस्याहरूका बारेमा छलफल गरी समाधानका उपाय पहिल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । बीमा समितिका उपनिर्देशक विरोध भट्टले बीमा सम्बन्धी विद्यमान कानूनी व्यवस्था, दाबी भुक्तानीमा देखिएका समस्या र समाधान सम्बन्धी प्रस्तुती गरेका थिए । यसैगरी, जीवन बीमक संघका तर्फबाट सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले जीवन बीमा दाबी भुक्तानी प्रक्रियामा देखिएका समस्या तथा समाधानका उपाय र नेपाल बीमक संघका तर्फबाट सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवारले निर्जीवन बीमा दाबी भुक्तानी प्रक्रियामा देखिएका समस्या र समाधानका उपाय सम्बन्धी प्रस्तुती गरेका थिए । कार्यक्रममा नेपाल प्रहरीको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक मीरा चौधरीले बीमा सम्बन्धी समस्याको समाधानका लागि जनचेतना अभिवृद्धिमा जोड दिनुपर्ने र समस्या समाधानका लागि बीमा समितिले ठोस नीति ल्याउनुपर्ने बताए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिनेश आचार्यले बीमामा हुने अपराध तथा ठगी लगायतका सबै घटनाको अनुसन्धानका साथै ठूला ठूला बीमालेखहरूमा हुने लगानीका सम्बन्धमा समेत अनुसन्धानको आवश्यकता औंल्याए । कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशकहरू सुशीलदेव सुवेदी र पूजन ढुङ्गेल (अधिकारी), नेपाल प्रहरी प्रधान कार्यालय र मातहतका निकायहरूका प्रमुख तथा पदाधिकारीहरू र बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।

लुम्बिनी विकास बैंकको इनरुवा शाखा कार्यालय स्थानान्तरण

काठमाडाैं । लुम्बिनी विकास बैंकले इनरुवा शाखा कार्यालयको शाखा स्थानान्तरण गरेको छ । बैंकले साविकको इनरुवा शाखाभन्दा करिब १०० मिटर दक्षिणतर्फ रहेको नयाँ भवनमा शाखा स्थानान्तरण गरेको हो । उक्त शाखा सुनसरी जिल्ला, इनरुवा नगरपालिका वडा नं. १, देवानगन्ज रोड स्थित गोलचोकमा स्थानान्तरण भएको छ । यस विकास बैंकको स्थानान्तरीत इनरुवा शाखाको उद्घाटन इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले गरे । लुम्बिनी विकास बैंकको हाल देशका सातवटै प्रदेशमा गरी ८६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।

सरकारले अनुदान रकम नदिएको भन्दै आन्दोलन गर्ने किसानको चेतावनी

काठमाडौं । झापाका किसानहरुले नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजनासँग गरेको सम्झौता अनुसार काम गर्दै आएकोमा सर्वोच्च अदालतको अन्तरिम आदेशले अनुदान रकम रोकिदिएकोमा आपत्ति जनाउँदै आन्दोलनको चेतावनी दिएका छन् । अदालतले निजी फर्म र कम्पनी आयोजनाको सम्झौताअनुरुपको लक्षित वर्गभित्र नपर्ने र सोही बमोजिम भुक्तानी रोक्का राख्नु भनि जारी भएको अन्तरिम आदेशको उनीहरुले विरोध गरेका हुन् । पीडित किसान संघर्ष समितिले आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर अदालतको आदेशले अनुदान रकम रोकेर सरकारले किसानहरुको विचल्ली बनाएको गुनासो गरेका हुन् । उनीहरुले सरकारले न्याय नदिए कडा आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् । जनवरी २१, २०१८ मा विश्व बैंक र नेपाल सरकारबीच भएको सम्झौता अनुरूप आयोजनाको पूरक अनुदानग्राही भन्नाले कृषक समूह, सहकारी संस्था उत्पादक संघ र निजी फार्म र कम्पनी भनी प्रष्टरुपमा उल्लेख गरिएको उनीहरुको भनाई छ । पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रमका अध्यक्ष योगेन्द्र खनालले सर्वोच्च अदालतको अन्तरिम आदेश ८५ प्रतिशत किसानको हित विपरित भएको बताएका हुन् । अदालतले अन्तरिम आदेश जारी गरेको नेपालीको प्रतिनिधित्व गर्न नसकेको उनको भनाई थियो । उनले अदालतको एउटा स्टे अर्डरले ३ सय ७१ किसान कालोसुचीमा पर्ने बताए । उनले भने,‘बैंकबाट ऋण लिइएको छ, ३ महिना भयो उत्पादन छैन् । किसानहरु मानसिक रोग बोकेर काठमाडौं आउन बाध्य छन् ।’ उनले देशमा स्वाभिमान र स्वाधिनताको लडाई लडेको कोही भए ती किसान मात्रै भएको बताए । आफूहरु कुनै व्यक्ति विरुद्ध नलागेको भन्दै खनालले जनताको अन्तिम आशा न्यायालयमा हुने भएपनि आफुहरुप्रति भने अदालतले अन्याय गरेको टिप्पणी गरे । नेपालको भाषा, सस्कृति जसले लेख्यो उसले नै बुझ्न नसकेको उनको भनाई थियो । अदालतको निर्णयले सारा किसानले अपमानित महसुस गरेको भन्दै उनले किसानहरु कहिल्यै गलत नहुने जिकिर गरे । उनले भने,‘किसानको नाम बेचेर २०औं हजार कर्मचारीले तलव खान्छन्, प्रत्येक बैठकको भत्ता खान्छन् । तर, किसान तड्पिदैछ, किसान मर्दैछ । त्यसको बारेमा कसैलाई चासो छैन् ।’ अब यस्तै रबैया रहने हो भने कर्मचारीहरुलाई दशै भत्ता बुझ्न नदिने समेत उनले चेतावनी दिए । उनले आफुहरुको आन्दोलन अनुदानमा भएका वेतिथि, विकृतीका र किसानको नाममा गरिएका राजनीतिको विरुद्ध हुने बताए । उनले अदालतले पटक–पटक गरेर किसानहरुलाई झुलाएको भन्दै सर्वोच्च कहाँबाट सञ्चालित छ भन्दै प्रश्न गरे । उनले अदालतले किसान मरिरहेको, रुदै गरेको देखेरपनि मौन बसेको भन्दै आपत्ति जनाए । ५० प्रतिशत अनुदान, ३० प्रतिशत आफुले चाहेको बैंकको लगानी, २० प्रतिशत आफ्नो लगानी भएका किसानहरु आयोजनाको छनौटमा पर्ने उनले बताए । क्षमताको आधारमा १० लाख भन्दा माथि, कुल जम्मा २ करोड भनिएको अनुदान दिन आयोजनाले खोजेको बताए । अहिलेसम्म कुनै पनि किस्ता नबुझेको भन्दै उनले आफुले ८७ लाख लगानी गरेको सुनाए । किसानहरुको निम्ति आफुहरु मरेर गएपनि कडा आन्दोलन गर्ने उनले जानकारी दिए । अझै यही समयमा बैंकहरुले ऋण लिएका किसानहरुलाई ब्ल्याकलिस्टमा हाल्ने धम्कि दिँदै फोन गरिरहेको पनि उनले सुनाए । उनले भने,‘अहिलेको किस्ता बुझाउने नसक्ने अवस्थामा बैंकहरुले फोन गर्छन् । मैले पनि बैंकबाट ऋण लिएको छु, ४५ लाख माटोमा लगानी गरेको छु ।’ यसैगरी, राष्ट्रिय व्यवसायीक पशुपालन तथा दुध उत्पादक कृषक समाजका संयोजक दीपक तिमिल्सनाले किसानहरुलाई उत्पादकत्व बृद्धि गर्न यो कार्यक्रमको सुरुवात भएको बताए । उनले भने,‘पहिलो चरणमा सहकारी गरियो, दोस्रो चरणमा नीजि फर्महरुलाई पनि सम्वर्धन र प्रबर्धन गर्न कार्यक्रमको सुरुवात गरिएको हो । किसानहरुले सबै प्रतिस्पर्धामा सहभागी भएर छनौटमा परेपछि अनुदान पाउने भएका थियौं ।’ उनले आयोजनामा आफुहरु अनुदान माग्न नगएको समेत बताए । क्लस्टरवाइज राज्यले कार्यक्रम गरेर आह्रवान गरेपछि आफुहरु सहभागी भएको उनले स्पष्ट पारे । उनले किसानलाई सरकारले अन्याय गरेपछि सडकमा आउन वाध्य बनाएको बताए । किसानहरुलाई सरकारले गन्तब्यबिहीन बनाएको उनको भनाई थियो । उनले किसानलाई सडकमा उतार्ने कारक तत्व राजनीतिक दल भएको आरोप लगाए । त्यस्तै, अगुवा किसान धु्रव न्यौपानेले अदालतलाई केही वर्गले गुमराहमा पारेर किसानविरुद्ध फैसला गर्न बाध्य बनाएको बताए । उनले अदालतले उक्त फैसला पुनःविचार गर्न पर्नुपर्नेमा जोड दिए । संशोधन भएका नियवमावली, बुँदा केलाएर किसानका कुरा सुनेर चाडो भन्दा चाडो बहस सुरु गर्ने बताए । अदालतले वहस नगराएर किसानलाई रोडमा पुर्याएको उनको भनाई थियो ।