१६ वर्षिय सोहनले साढे १ लाख रुपैयाँमा बनाए विद्युतीय मोटरसाइकल
सुदूरपश्चिम । धनगढी उपमहानगरपालिका– ५ जाइँ गाउँका विद्यार्थी सोहन कैनीको घरमा आविष्कार गरिएको विद्युतीय मोटरसाइकल हेर्न मङ्गलबार बिहान भीड लागेको थियो । ऐश्वर्य विद्या निकेतन धनगढीमा कक्षा ११ मा अध्ययनरत कैनीले विद्युतीय मोटरसाइकल आविष्कार गरेको खबर फैलिएपछि उनको घरमा मोटरसाइकल अवलोकन गर्नेको भीड लागेको हो । नयाँ आकार र प्रकारको मोटरसाइकल आविष्कार भएपछि सोहनकी आमा बसन्तीलाई मोटरसाइकल अवलोकन गर्न आउनेलाई स्वागत गर्न भ्याइनभ्याइ छ । व्यवस्थापन विषयमा अध्ययनरत १६ वर्षीय कैनीलाई घरमा पुग्नेलाई आफ्नो प्रतिभाबारेमा जानकारी दिन निकै व्यस्तता छ । सोहनको प्रतिभालाई अनाैठो मान्दै त्यहाँ पुग्नेहरुले प्रशंसा गरिरहँदा बसन्तीमा खुसीको सीमा नै थिएन । उनले भने,’छोराले गरेको कामलाई मान्छेले अर्नाँठो मान्दै स्यावासी दिँदा आफूलाई गौरवको अनुभूति भइरहेको छ’, उनले थपे, ‘सानो कक्षामा पढ्दा उनले घरमै पनि विद्युत् आपूर्ति बन्द भएको बेला पनि ब्याट्री र तारको प्रयोग गरेर बिजुली बत्तीको उज्यालो बनाउने र पङ्खा चल्ने बनाउँथ्यो, यसबाहेक धातुका टुक्रा जम्मा गरेर कहिले खेलौना आकारको गाडी बनाइरहन्थ्यो ।’ सोहनले एसइई परीक्षा दिइसकेपछिको खाली समयमा ग्यारेजमा मोटर मर्मतसम्बन्धी काम सिकेका थिए । कोरोनाको महामारीको समस्या बढ्दा पूरा समय काम सिक्न नपाएको समस्या बताउँदै उनले भने,’आफै घरमा नेट इन्टरनेटको प्रयोगबाट अहिले यो विद्युतीय मोटरसाइकल आविष्कार गर्न सफलता मिल्यो ।’ कमजोर आर्थिक अवस्थाका कारण विद्युतीय मोटरसाइकल बनाउन चाहिने पाटपूर्जा र अन्य सामग्री जुटाउन सोहनलाई आर्थिक समस्या थियो । कमजोर आर्थिक अवस्थाका कारण मोटरसाइकल आविष्कारको कामका लागि आर्थिक समस्या देखिँदा आमा बसन्तीले ऋण खोजेर भए पनि छोराको योजना सफल बनाउने जुक्ति निकालिइन् । फलस्वरुप महिला समूहबाट एक लाख ५० हजार रुपैयाँ ऋण निकालेर छोरा सोहनको योजनालाई साथ दिए । ‘घरमा पैसाको अभाव हुँदा वडा सदस्य माया ताम्राकारको सहयोगमा महिला समूहबाट ऋण निकालेर छोराको कामलाई सघाउन सके’, बसन्तीले भने, ‘मोटरसाइकल आविष्कारमा सफलता पाएपछि वडा कार्यालयले ५० हजार रुपैयाँको सहयोग गर्ने बचन दिएको छ ।’ सोहनकी बज्यै गौरीदेवी ताम्राकारले मोटरसाइकल आविष्कार गर्न नाति सफल हुँदा आफ्नो जीवनमा सबैभन्दा खुसी भएको बताए । जाइँ गाउँका झङ्र ओडले विद्युतीय मोटरसाइकल आविष्कार गर्ने कुरा देशका लागि ठूलो उपलब्धिको विषय भएको बताए । कैनीलाई यो मोटरसाइकल तयार गर्न दुई महिना लागेको थियो । लागत एक लाख पचास हजार रुपैयाँ परेको छ । ओडले भने,’पेट्रोलबाट चल्ने मोटरसाइलमा पर्ने मूल्यसँग प्रतिस्पर्धा गर्नसक्ने गरी यसलाई अझैँ स्तरीय बनाउन सकेमा देशकै लागि ठूलो उपलब्धि हुनसक्छ ।’ आफूले पहिलो पटक मोटरसाइकल चलाउन सिक्दै गर्दा आफै मोटरसाइकल बनाउनुपर्छ र अरुले बनाएको मोटरसाइकल किन चलाउने भन्ने सोच आएको कैनीले बताए । अहिले बजारमा पाउँने मोटरसाइकल ‘सेल्फ स्टार्ट’ प्रविधीका रहे पनि कैनीले बनाएको मोटरसाइकलमा फ्रिङ्गर प्रिन्ट प्रयोग गरेर चाबी अन गर्दा स्टार्ट हुन्छ । यो मोटरसाइकल चलाउन फिङ्गर प्रिन्ट र चाबी दुवै आवश्यक पर्छ । मोटरसाइकलका लागि सोरुममा पाउने पाङ्ग्रा लगायतका पाटपूर्जा र विद्युतीय तार प्रयोग गरिएको छ । मोटरसाइकलमा एक देखि एक सय २७ फिङ्गर प्रिन्ट एड गर्न सकिने कैनीले बताए । १२ भोल्टेजका चार वटा ब्याट्री जडान गरिएको छ । जसका कारण एक पटक ब्याट्री रिचार्ज गर्दा ५५ किलोमिटर प्रतिघण्टाको गतिमा गुड्न सक्ने जनाइएको छ । एकपटक ब्याट्री रिचार्ज गर्दा ६० देखि ६५ किलोमिटरको दूरीसम्म चल्न सक्ने बनाइएको छ । विद्यार्थी कैनीले आगामी योजनाबारे भने, ‘सहयोग पाएमा आगामी दिनमा अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्न मिल्ने ह्वील चियर बनाउने सोच बनाएको छु, देशमा उपलब्धता हुन नसकेको साधन बनाउने प्रयासमा छु ।’ दुई दिनअघि धनगढी उपमहानगरपालिका कार्यालय परिसरमा आयोजित कार्यक्रममा नगर प्रमुख गोपाल हमालले मोटरसाइकल आविष्कार गर्ने कैनीलाई बधाई दिँदै आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए । पेट्रोलियम पदार्थको मूल्य महिनैपच्छिे बढ्दै गएको बेला यसको खपत घटाउन र विद्युत्को उपयोग बढाउन कनैले गरेको आविष्कारको सबैतिर प्रशंसा भइरहेको छ । रासस
धनतेरसको दिन एनआईबिएलको फण्डमा लगानी गर्नेलाई आधा तोला सुनको सिक्का
काठमाडौं । एनआईबिएल एस क्यापिटलले हरेक वर्ष झै यस वर्षको धनतेरसको अवसरमा लगानीकर्ताको लागि सोहि दिन पारि लगानी गर्न सक्ने अवसर ल्याएको छ । लगानीको लागि शुभ दिन मानिने धनतेरस यस वर्ष कार्तिक ५ गते शनिबारको दिन परेको छ । सो अवसरमा धितोपत्र बजारमा लगानी गर्न चाहने लगानीकर्ताले सोहि दिन बिहान ११ बजेदेखि अपरान्ह ५ बजे सम्मका लागी विशेष कारोबार सत्र संचालन हुने गरी एनआईबिएल एस क्यापिटलले व्यवस्था मिलाएको छ । यस अफर अन्तर्गत ३० हजार वा सोभन्दा बढि बराबर लगानी गर्नुहुने १ भाग्यशाली लगानीकर्तालाई आधा तोला सुनको सिक्का र ५ भाग्यशाली लगानीकर्ताहरुलाई २ तोलाको चाँदीको सिक्का उपहार स्वरुप प्राप्त गर्नसक्ने छन् । यस्तै, १० हजार देखि ३० हजारसम्मको लगानी गर्ने ५ भाग्यशाली लगानीकर्ताले समेत २ तोला चाँदीको सिक्का उपहार स्वरुप पाउनेछन् । विजेताहरुको चयन फेसबुक लाईभ गरी गोलाप्रथा मार्फत गरीने कम्पनीले जानकरी दिएको छ । यस क्यापटिल एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको एनआईबिएल सहभागिता फण्ड ९खुलामुखी योजना० को योजना व्यवस्थापक रहेको छ ।
कञ्चनपुर २ मा इन्जिनियर अवस्थीको स्वतन्त्र चुनौती, यस्ता छन् चुनाव जित्ने आधार
कञ्चनपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको चुनावमा कञ्चनपुर शुक्लाफाँटाका इन्जिनियर जगदिश अवस्थी चुनावी मैदानमा उत्रिएका छन् । ३ वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा अवस्थीले निर्वाचन क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी दिएर यतिबेला चुनावी प्रचार–प्रसारको कार्यलाई तिव्रता दिइरहेका छन् । वर्तमान राजनीतिक दलको विकल्पमा राजनीतिक संगठनको अभ्यास गरेका अवस्थी स्वतन्त्र तथा वैकल्पिक शक्तिको सुदूरपश्चिमका प्रदेश संयोजकको रुपमा समेत सक्रिय रहँदै आएका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका एनपी साउँद र नेकपा एमालेका नरबहादुर धामी चुनावी मैदानमा छन् । उमेरले ३८ वर्ष भएका अवस्थीले २०७८ सालमा नेपाली कांग्रेसमा संगठित भएर सक्रिय राजनीतिको प्रारम्भ गरेका थिए । उनले नेपाली कांग्रेसको शुक्लाफाँटा नगर समिति सदस्य र नेपाल प्रजातान्त्रिक महासंघ युवा समितिको केन्द्रीय सदस्यको जिम्मेवारी प्राप्त गरेका थिए । अवस्थीले पछिल्लो समय देशको लागि वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता भएको महशुस गरेर सो पार्टी छाडेका थिए । नेपाली कांग्रेस र एमालेको भिन्दाभिन्दै गठबन्धन रहेको पेचिलो प्रतिस्पर्धामा आफूलाई आममतदाताले विश्वास गर्नेमा उनले अपेक्षा गरेका छन् । ‘जनताले यस पटक मलाई विश्वास गर्नेमा आशावादी छु,’ उनले भने । छोटो समयमा नै नेपाली काग्रेसमा बौद्धिक व्यक्तित्वको पहिचान बनाएका अवस्थीले गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा सक्रिय भूमिका खेलेका थिए । नेपाली कांग्रेसका लागि शुक्लाफाँटा नगरपालिकाको घोषणापत्र निर्माण गरेका अवस्थीले अपेक्षाअनुसार पार्टी सञ्चालन नहुने अनुमान गरेर पार्टी परित्याग गरेका थिए । २०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा सो क्षेत्रबाट बाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेदवार नर बहादुर धामी ३३ हजार २२० मत ल्याएर विजयी भएका थिए भने उनका निकटतम प्रतिस्पर्धी काँग्रेस नेता एनपी साउँदले २४ हजार आठ सय ९३ मत ल्याएका थिए । सो निर्वाचन क्षेत्रमा पर्ने कृष्णपुर, शुक्लाफाँटा र बेदकोट नगरपालिकामा गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस अगाडि रहेको देखिन्छ । राजनैतिक र प्राविधिक हिसाबले क्षमता भएका अवस्थी धेरै क्षेत्रमा काम गरेर अनुभव हासिल गरेका छन् । उनले सिभिल इन्जिनियरिङ्ग र भूगोलमा बिए उत्तिर्ण गरेका छन् । अवस्थीसँग ०६२ सालदेखि विभिन्न क्षेत्रमा प्राविधिक परामर्शदाता, मिडिया म्यानेज्मेन्ट, गैरसरकारी सँस्था र सहकारीमा काम गरेको अनुभव छ । उनले साहित्य तथा संगित क्षेत्रमा पनि आफूलाई जोड्दै आएका छन् । राजनीतिक एजेण्डाहरु निती निर्माण तहमा इमानदार ब्यक्तिहरुको प्रवेश नभएको उनको भनाइ छ । उनले निती निर्माण तहमा इमानदार ब्यक्ति जाने व्यवस्था मिलाउने जनताको दायित्व भएको बताए । उनले उम्मेदवारी दिएको निर्वाचन क्षेत्रमा ठूलो समस्या भनेको भूमिविहीन र आरक्ष पिडितहरुको हो । सरकारले आरक्ष पिडितका समस्या समाधान गर्ने भनेर ३१ वटा आयोग निर्माण गरेको थियो । तर, उनीहरुको समस्या समाधान नभएको उनको गुनासो छ । आफू निर्वाचित भएपछि भूमिविहीन र आरक्ष पिडितहरुको समस्या समाधान गर्ने उनले बताए । ‘मैले उम्मेदावरी दिएको क्षेत्र नम्बर २ को सबैभन्दा ठूलो समस्या भूमिहिन र आरक्षपिडीतहरुको हो, सरकारले आरक्ष पिडितहरुको समस्या समाधान गर्ने भनेर ३१ वटा आयोग बनायो, ती ३१ वटा आयोगले ६२ अर्ब रुपैयाँ खर्च गर्याे तर जो पिडित मान्छे हुन् उनीहरुको समस्या समाधान हुन सकेन,’ उनले भने, ‘भूमिहिनलाई जग्गाको मालिक बनाउने भनेर धेरै वर्षदेखि भूमिसम्वन्धि समस्या समाधान आयोग बनायो तर ती आयोगले पनि समाधान गर्न सकेन, सरकारले तोकेको करको दायरमा जग्गाको मालिक हुने अवस्था छैन, उचित करको व्यवस्थापन गरेर भूमिहिनलाई जग्गाको मालिक बनाउने र आरक्ष पिडितहरुको समस्या समाधान गर्ने मेरो मुख्य एजेण्डा हो ।’ साथै उक्त क्षेत्रमा अर्काे मुख्य समस्या भनेको नदि कटानको रहेको छ । वर्षेनी नदि कटानले जनताहरुको विचल्ली बनाएको छ । आफूले पानीको सहि व्यवस्थापन गरेर जनतालाई राहत तुल्याउने उनको मुद्धा रहेको छ । महाकाली सिँचाई परियोजनालाई पनि सहि व्यवस्थापना गर्ने उनको भनाइ छ । क्षेत्र नम्बर २ मा नदि कटान र (वाटर म्यानेजमेन्ट) पानीको समस्या छ । पानी जम्ने र पानीको व्यवस्थापन नभएको अवस्था छ । निती निर्माण तहबाट महाकाली सिँचाई परियोजनाअन्तर्ग कमाण्ड एरिया प्रडक्सनका कामहरु ब्लक भएका छन् । उक्त कार्यलाई तत्काल कार्यान्वयन गर्ने गरी आफ्नो एजेण्डा रहेको उनले बताए । क्षेत्र नम्बर २ मा नदि कटानका समस्यालाई एउटै गरु योजना बनाएर लागू गर्ने उनको धारणा छ । उनले पुर्वाधारहरु सिक्वेन्स मिलाएर अघि बढ्ने बताए । ‘औधोगिक क्षेत्र कुन ठाउँमा, धार्मिक क्षेत्र कुन ठाउँमा, पर्यटकीय क्षेत्र कुन ठाउँमा, खेतियोग्य जमीन कता हुने भनेर वर्गीकरण गरेर अघि बढ्ने गरी उनले राजनीतिक एजेण्डा बनाएका छन् । उनले कर प्रणालीलाई डिजिटल्ली बनाउने बताए । सबै जनताले घरबाटै कर तिर्ने गरी सिस्टम तयार पार्ने उनको भनाइ छ । राष्ट्रिय समस्याको रुपमा रहेको शिक्षा प्रणालीलाई उनले ब्यापक सुधार गर्ने बताए । आफू निर्वाचित भएपछि नेपालको भूगोल सुहाउँदो शिक्षा प्रणाली लागू गर्न पहल गर्ने उनको भनाइ छ । ‘जनताका जनजीविकाका सामान्य समस्याहरु छन्, जस्तै कर तिर्नु छ भने कार्यालयमा गइरहनु पर्ने बाध्यतालाई हटाउँछु, कर तिर्दा समयको खर्च र अन्य खर्च गरेर कार्यालयमा नगएर घरबाटै तिर्ने व्यवस्था मिलाउँछु,’ उनले भने, ‘राष्ट्रिय समस्या शिक्षा प्रणालीमा सबैभन्दा धेरै अभ्यास गर्नुपर्नेछ, नेपालको माटो सुहाउँदो शिक्षा र टिपिकल विषय सबै हटाएका छन्, विदेशी शक्तिको प्रभावमा परेर नेपालको पुर्व व्यावसायीक शिक्षा, नैतिक शिक्षा, नेपाली समाजमा भिजेका सबै कहानी कथाहरु समाप्त पारे, शिक्षा क्षेत्रमा धेरै सुधार गर्छाैं ।’ कर्मचारीहरुमा समेत समानता हुनु पर्ने उनको बुझाइ छ । इन्जिनियर अवस्थीले आफू निर्वाचित भएर संसदमा पुगेपछि शिक्षक र निजामतिलाई हेर्ने दृष्टिकोणमा समानता ल्याउने बताए । सरकारी विद्यालयमा पढ्ने विद्यार्थी र निजी विद्यालय (बोर्डिङ) मा पढ्ने विद्यार्थी हरुको एउटै स्तर बनाउनु पर्ने मुद्धा आफूसँग रहेको उनको भनाइ छ । ‘क्षेत्र नम्बर २ को सबैभन्दा ठूलो समस्या युवा दुव्र्यशन हो, बेलौरी नाकाबाट दैनिक १३ करोड रुपैयाँ बराबरको कारोबार हुन्छ, नेपालबाट १३ करोड रुपैयाँ कलकत्ताबाट भारतमा रहेका ब्यापारीको खातामा जान्छ, त्यो १३ करोड बराबरको लागुऔषध नेपालमा दैनिक भित्रिन्छ, सरकारले अहिलेसम्म कुनै चिन्ता नै गरेको छैन, दुव्र्यशिनेले युवाहरुको अवस्था कमजोर बनायो, हाम्रो लक्ष्य भनेको ३ वटै नगरपालिकामा रिह्याबिटेसन सेन्टर र लागू औषधी आउनबाट बन्द गर्नेछ,’ उनले भने । आर्थिक मुद्धाहरु आर्थिक मुद्धाहरुमा उत्पादनमुलकमा बढावा दिने रहेको छ । जमीनलाई वर्गीकरण गरेर कृषिमा आधुनिकीकरण गर्ने हो । कुन जमीनमा के उत्पादन हुन्छ अध्यन गरी सोही उत्पादन गर्ने उनको भनाइ छ । ‘यहाँ सम्भावित कुराहरुमा तरकारी खेति, अध्ययन गरेर जमीनलाई वर्गीकरण गरेर कहाँ के के उत्पादन हुन्छ कृषिमा धेरैको संलग्नता बढाउँछौं, यहाँ धान धेरै फल्ने गर्छ, त्यो जमीनमा अन्य के उत्पादन हुन्छ त्यसलाई छुट्याँछौं, औधोगीकीकरण गर्ने भनेर सरकाले घोषणा गरेको छ, तर कुनै अवधारणा छैन, हामी त्यसलाई कार्यान्वयन गरेर देखाउँछौं,’ उनले भने । उनले गाँजाबाट कपडा बनाउन गरी उद्योगहरु संचालन गर्ने वातावरण मिलाउने र आर्थिक क्रियाकलपसँथै रोजगारी पनि श्रृजना गर्ने उनले बताए । चुनाव जित्ने आधार उनका अुनसार पुराना अर्थात् यसअघि निर्वाचित नेताहरुलाई जनताले रिपिट गर्न चाहेका छैनन् किनभने उनीहरुले खुसीको चूचक नै धेरै तल झरेको छ । यसअघिका नेताहरुले केही काम गर्न सक्नु भएको छैन । जनताले अहिले परिवर्तन खोजेका छन् । घरदैलो गर्दा सचेतना दिइरहेका छौं । यसपटक राजनीतिक पार्टी र पुराना ब्यक्तिह रिपिट हुँदैनन् । चुनाव जित्ने आधार भनेको आफ्ना एजेण्डा रहेको उनले बताए । राजनीतिक पार्टीबाट जितेको ब्यक्तिले कमिसन र पार्टीको स्वार्थमा काम गर्छन् । उनीहरुले जनताका मुद्धाहरुमा काम गर्न नसक्ने उनले बताए । उनले आफूहरुलाई त्यस्तो कुनै दबाव नरहेको उनको भनाइ छ । बैदेशिक शक्ति र कार्यकर्ता पाल्नु पर्ने दबावमा नभएकाले आफू जनताका लागि काम गर्न सक्ने क्षमता भएको ब्यक्ति रहेको उनको दाबी छ । अहिलेसम्म गरेका योगदान उनले दिपज्योती ग्रामीण सहकारी संस्थाको अध्यक्ष भएर जनताको काम गर्ने अवसर प्राप्त गरेका थिए । उनले संस्थाको विकाससँगै जनताका लागि काम गरेका थिए । विजुली नपुगेका ठाउँमा विजुली पुर्याए, पुर्वाधार निर्माणमा सहयोग गरे, ट्रान्सफर्मर बिग्रेकका बेला मर्मतको काम उनले गरे । लोडसेटिङ भइराख्ने समस्यालाई समाधान गरे । साथै उनी प्रगतिशिल सेवाको अगुवा ब्यक्ति भएर उक्त क्षेत्रका जनतालाई सहयोग गरे । समाजकल्याण परिषदमा दर्ता भएको उक्त संस्थाले थुप्रै कामहरु गरेको उनको भनाइ छ । संस्थाका लागि आवश्यक भवन निर्माण गरेर सामाग्रीहरु समेत खरिद गरेको उनले बताए । उनी दिपनगर आधारभूत विद्यालयको शिक्षक अभिभावक संघको अध्यक्ष पनि हुन् । १ कक्षादेखि सुरु भएको विद्यालयलाई ८ कक्षासम्म पठनपाठन हुने अवस्थामा उनले पुर्याए । विद्यालयको १२ वटा कोठा भएको भवन निर्माणमा उनले ठूलो योगदान गरेका छन् । राष्ट्रिय स्तरको कोठा भएको भवन निर्माणमा योगदान गरेका उनले ५० लाख लागतको वाल पनि निर्माण गरेको उनले बताए । ‘आफ्नो पहलमा कोरोना महामारीको समयमा क्षेत्र नम्बर २ मा पहिलो आइसोलेसन स्थापना गरे, कोरोना महामारीका बेला आफ्नै खर्चमा राहत वितरण गरेको थिए, इन्जिजियर क्षेत्रको ब्यक्ति हुँदा डिजाइनमा समेत सहयोग गरेको छुँ, भम्केस्वर पर्यटकीय स्थलको डिपीआर, आर्यघाट निर्माण, विभिन्न सडकहरु, विभिन्न संरचनाहरुमा मैले महत्वपूर्ण भूमिका खेलेको छु,’ उनले भने । हेभिवेट उम्मेदवारलाई हराउने कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका एनपी साउँद र नेकपा एमालेका नरबहादुर धामी चुनावी मैदानमा छन् । जनताले निर्वाचित गरेर पठाउने हुँदा आफ्नो लागि हेभिवेटले खासै प्रभाव नपार्ने उनको दाबी छ । ‘हेभि गर्ने भनेको पब्लिकको मतले हो, यसपाली हेभिवेट उम्मेदवारको हैसियत निर्वाचन पछि नै देखिन्छ, केशव स्थापित भनेको एशियाको टप मेयर हो, अहिले बालेनले गरेको काम र उहाँले गरेको कामको तुलनामा केही पनि होइन, उहाँले पनि धेरै काम गरेको होनी, जतिसुकै ठूलो मान्छेलाई पनि जनताले जिताउने हो, उहाँहरुले जनतालाई दिएका बाचाहरु कुनै पनि पुरा गर्नु भएको छैन, उहाँहरु गाउँमा छिर्नुनै भएको छैन,’ इन्जिनियर अवस्थीले भने ।
इमर्जिङ नेपालको कम्पनी सचिवमा रमेश बेलबासे नियुक्त
काठमाडौं । इमर्जिङ नेपालको कम्पनी सचिवमा रमेश बेलबासे नियुक्त भएका छन् । कम्पनीको असोज ३१ गते बसेको संचालक समितीको बैठकले बेलबासेलाई कम्पनी सचिवमा नियुक्त गरेको हो । यसका साथै समितीले उनलाई कम्पनीको सहायक कम्पनी होटल एलिश द वण्डर इन लिमिटेडको संचालकको लागि सिफारिस समेत गरेको छ । बेलबाशे यसअघि कम्पनीको निमित्त कार्यकारी अधिकृत थिए ।
२८ लाख घुससहित रामेछापमा खानेपानी कार्यालयका इन्जिनियर पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित रामेछापस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं ३ बाट दुई जनालाई पक्राउ गरेको छ । आयोगले २८ लाख रुपैयाँ घुससहित कार्यालयका इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापालाई कार्यालयको क्वार्टरबाट पक्राउ गरेको हो । उनीहरुबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक गरी २८ लाख रुपैयाँ बरामद गरिएको अख्तियार जानकारी दिएको छ ।
तनहुँमा पाठेघरको मुखमा हुने क्यान्सरको परीक्षण
तनहुँ । म्याग्दे गाउँपालिकाले आयोजना गरेको एकीकृत घुम्ती शिबिरबाट नौ सय चौध जना महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सरको परिक्षण गरिएको छ । महिलामा समस्या हुने पाठेघरको मुखको क्यान्सर परीक्षणमा गाउँपालिकाको पाँच वटा वडाका महिलाले सेवा लिएका हुन् । यसमध्ये ३६ महिलामा भिआई ‘ए’ पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएका महिलालाई थप उपचारका लागि सम्बन्धित निकायमा सिफारिस गरिएको स्वास्थ्य शाखाका प्रमुख दिनेश पण्डितले बताए । शिविरमा महिलाको पाठेघर परीक्षण र देखापरेका स्वास्थ्य समस्याको उपचार, व्यवस्थापन एवं परामर्श सेवा दिइएको छ । परिवार नियोजन परामर्श, कोभिड १९ विरुद्धको पहिलो, दोस्रो र अतिरिक्त मात्रा खोप, आयुर्वेद, स्वास्थ्य बीमा सेवा घुम्ती शिविरबाट उपलव्ध गराइएको छ । जन्म, मृत्यृ, बसाइँ, सराई, एवं सम्वन्ध विच्छेदका दर्ता समेत हुनेछ । व्यवसाय दर्ता, राजश्व संकलन, मालपोत तथा भुमिकर सङ्कलन,ज्येष्ठ नागरिक एवं अपाङ्गता परिचय पत्र वितरण हुनेछ । बीउबिजन बितरण एवं कृषि अनुदान माग सङ्कलन, पशु सेवा शाखा अन्र्तगत गोवर परिक्षण सेवा रहेको छ । त्यसैगरी नतिजाको आधारमा पशु पक्षीलाई औषधि वितरण, बाख्रापाठा एवं बहर बन्ध्याकरण एवं बिरामी पशुको उपचार व्यवस्थापन, उपभोक्तासँग योजना संम्झौता हुने म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । शिविर कात्तिक ४ गतेसम्म चल्ने बताइएको छ । रासस
महिनामै २४ प्रतिशतले खस्कियो निर्जीवन बीमाको बिजनेस
काठमाडौं । पछिल्लो एक महिनामा निर्जीवन बीमा कम्पनीहरुको बिजनेस घटेको छ । गत साउनको तुलनामा भदौमा कम्पनीहरुको बिजनेस औषतमा २४.०६ प्रतिशतले घटेको हो । बीमा समितिका अनुसार १९ वटा निर्जीवन बीमा कम्पनीले भदौमा मात्रै ३ अर्ब ३९ करोड रुपैयाँ बराबरको बिजनेश गरेका छन् । जुन साउनको तुलनामा एक अर्ब ७ करोड रुपैयाँले घटी हो । कम्पनीहरुले साउनमा ४ अर्ब ४७ करोड रुपैयाँ बराबरको बिजनेश अर्थात बीमाशुल्क आर्जन गरेका थिए । निर्जीवन बीमा क्षेत्रको बिजनेसमा असर पर्नुको प्रमुख कारण गाडी आयातमा गरिएको प्रतिबन्ध हो । जसको कारण दशैं तिहारमा नयाँ सवारी साधनहरु नेपाल भित्रिन पाएनन् । त्यसको प्रत्यक्ष असर बीमा व्यवसायमा परेको जानकारहरु बताउँछन् । निर्जीवन बीमा कम्पनीका सीईओहरुको छाता संगठनका अध्यक्ष चंकी क्षेत्री पनि सवारी साधानको आयातमा गरिएको प्रतिबन्धको असर बीमामा परेको स्वीकार्छन् । ‘नयाँ गाडी भित्रिन पाएको छैन, दशैं तिहारमा गाडी बिक्री हुनु पर्ने त्यो पनि छैन,’ उनले भने । ‘अहिले जति भएको पुरानो रिन्यु मात्रै हो, नयाँ बिजनेस भए बिजनेस बढ्थ्यो, पहिला पहिला रिन्यू नहुँदा त्यसको रिकभरी नयाँले गर्थ्यो, अहिले त नयाँ नै ठप्प छ,’ उनले थपे । सरकारले बैशाख १४ गतेदेखि सबै प्रकारका पेट्रोलियमबाट चल्ने कार, १५० सीसीभन्दा माथिका मोटरसाइकल लगायतका सवारी आयातमा प्रतिबन्ध लगाएको थियो । बैशाख १३ गते राजपत्रमा सूचना जारी गर्दै असार मसान्तसम्म गरिने भनिएको उक्त प्रतिबन्ध हालसम्म जारी नै छ । सरकारले हटाएको छैन । त्यस्तै, कम्पनीहरुको बिजनेसमा ह्रास आउनुको अर्को कारण बैंकहरुबाट ऋण नपाउनु हो । पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता अभाव भएसँगै सर्वसाधारणलाई बैंक तथा वित्तीय संस्थाबाट ऋण पाउन गाह्रो भएको छ । जसले गर्दा ऋण लिएर बाइक गाडी किन्नेहरुले किन्न पाएका छैनन् । र, त्यसको असर बीमा परेको छ । कारोना कालमा जोखिम नै भएपनि बीमा व्यवसायमा असर नदेखिएको थिए । तर पछिल्लो समय त्यसको असार बीमा व्यवसायमा पनि पर्न थालेको सीईओ चंकीको भनाई छ । ‘समग्र अर्थतन्त्र नै सुस्ताएपछि सबैतिर चेन इफेक्ट त परिहाल्छ,’ उनले थपे । यद्पि अघिल्लो आर्थिक वर्षमा पनि निर्जीवन बीमा कम्पनीहरुको बिजनेस साउनको तुलनामा भदौमा घटेको थियो । २०७८ साउनमा २ अर्ब ९९ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका कम्पनीहरुले सोही भदौमा २ अर्ब ९६ करोड रुपैयाँ संकलन गरेका थिए । जुन चालु आवको तुलनामा न्यून दर हो । प्रभु बाहेक सबैको खस्कियो एक महिनाको अवधिमा प्रभु इन्स्योरेन्स बाहेक सबै कम्पनीको बिजनेस खस्किएको छ । बिजनेस खस्किएका १८ कम्पनीमध्ये राष्ट्रिय बीमा कम्पनीको सबैभन्दा बढी प्रतिशतले घटेको छ । साउनको तुलनामा भदौमा कम्पनीको बिजनेस ५७.०६ प्रतिशतले घटेको हो । साउनमा ८४ करोड २८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको कम्पनीले भदौमा ३६ करोड १८ लाख रुपैयाँ मात्रै संकलन गरेको छ । यद्पि यो रकम भने अन्य कम्पनीको तुलनामा सर्वाधिक बीमाशुल्क हो । त्यस्तै, नेशनल इन्स्योरेन्सको बिजनेस पनि एक महिनामै ५१.३५ प्रतिशतले घटेर ८ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीले साउनमा १७ करोड ४८ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको थियो । भदौमा सर्वाधिक बीमाशुल्क आर्जन गर्नेको दोश्रोमा शिखर इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सले भदौमा मात्रै ३१ करोड ७१ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । जुन साउनको तुलनामा १०.७१ प्रतिशतले घटी हो । त्यस्तै, नेको इन्स्योरेन्सको बिजनेस सबैभन्दा कम दरले घटेको छ । सर्वाधिक बीमाशुल्क आर्जन गर्नेको तेश्रो स्थानमा रहेको कम्पनीको बीमाशुल्क साउनको तुलनामा भदौमा ०.८८ प्रतिशतले घटेको छ । साउनमा मात्रै २७ करोड १० लाख रुपैयाँ रहेको कम्पनीको प्रिमियम भदौमा २६ करोड ८६ लाखमा सीमित छ । भदौमा सबैभन्दा कम बीमाशुल्क आर्जन गर्नेको अग्रस्थानमा जनरल इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सले भदौमा ६ करोड ६३ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । जुन साउनको तुलनामा ४५.८७ प्रतिशतले घटी हो । साउनमा सोही कम्पनीले १२ करोड २५ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको थियो । सबै कम्पनीको बीमाशुल्क आर्जनमा ह्रास आउँदा प्रभु इन्स्योरेन्सको भने बढेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सले आफ्नो बिजनेस ८८.६० प्रतिशतले बढाएर १९ करोड ५१ लाख रुपैयाँ पुर्याएको छ । जुन साउनमा १० करोड ३४ लाख रुपैयाँ थियो ।
सेन्साइकाे फ्रिजर किन्दा विरगंजका अकलेशले जिते एप्पल आइप्याड १०.२
काठमाडौं । ‘सेन्साई ३ को झट्का’ याेजना अन्तर्गत पहिलो लक्की ड्रको विजेता घाेषणा भएकाे छ । कम्पनीकाे आधिकारिक फेसबूक पेज मार्फत भएकाे घाेषणा अनुसार विरगंज निवासी अकलेश कुमार पटेल विजेता चुनिएका छन् । उनले एप्पल आइप्याड १०.२ जितेका छन् । पटेलले विरगंजको आरके ईलेक्ट्रोनिक्स् मार्फत सेन्साईको चेस्ट-फ्रिजर खरिद गरेका थिए । जापानमा ईन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले नेपालीहरुको चाड दशैं तिहार २०७९ लाई लक्षित गर्दै सेन्साई ब्राण्डका कुनै पनि सामानको खरिदमा लक्की ड्र मार्फत बम्पर उपहारमा आर १५ भिथ्री बाईक र एप्पल आइफोन १३ का साथै एप्पल आइप्याड १०.२ जित्न सकिने छ। कम्पनीकाे अनुसार यो योजनाको लक्की ड्रमा सहभागी हुन ग्राहकले सेन्साईका कुनै पनि सामानको खरिद गरेपछि अङ्ग्रेजीमा सेन्साई टाईप गरी आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेन्टी कार्ड नम्बर लेखि ३१००३ मा एसएमएस गर्नुपर्नेछ ।