फुटपाथ व्यवसायी भन्छन् : मेयर बालेन साह ठिक लागेन
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) निकट अखिल नेपाल क्रान्तीकारी ट्रेड युनियन महासंघले मजदुरको हकहीतका लागि २२ बुँदे माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले मजदुरको हकहितका लागि २२ बुँदे माग राखी सम्बधित निकायहरुको ध्यानाकर्षण गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष विनोद थापाले फुटपाथहरुलाई अमानवीय ढंगले दमन गर्दासमेत ठूला भनिएका दल र सरकार मौन बस्नु मजदुरप्रतिको अवहेलना भएको बताए । उनले अहिलेका ठूला राजनीतिक दलहरु थोत्रा प्रतिवद्धता लिएर जनतामाझ गइरहेको भन्दै जनताले आफ्ना माग पूरा नगरुन्जेल भोट दिनु नहुने बताए । मजदुरलाई उचित व्यवस्थापन नभएसम्म नेताहरुलाई भोट नदिन उनले सबैलाई आग्रह गरे । उनले ठेलागाडा खोसेर महिला रोइरहँदा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह पाश्चात्य संगीतमा परिवारसँग रमाइरहनु दुःखद् कुरा भएको बताए । कार्यक्रममा फुटपाथ व्यवसायी विमला चौलागाईंले बिहान कमाएर बेलुका खानेलाई धेरै समस्या हुनेहरुको उचित व्यवस्थापन नगरी व्यवसाय नै खोस्नु उचित नभएको बताइन् । उनले अरुको रोजीरोटी खोसेर महानगरको समस्या समाधान नहुने भन्दै मेयर साह मजदुरका लागि सही पात्र नभएको बताइन् । त्यस्तै, अर्की फुटपाथ व्यापारी सुनिता कार्कीले मेयर साहले फुटपाथमा व्यापार गर्नेहरुलाई बिचल्ली पारिदिएको बताइन् । उनले महानगरले फुटपाथ व्यवसायीको उचित व्यवस्थापन वा बेच्न दिने अधिकारको सुनिश्चितता गर्नुपर्ने माग गरिन् । यस्तै अर्काे फुटपाथ व्यवसायी सर्मिला तामाङले आफूजस्ता मजदुरका लागि गरिखाने एउटै साधन भएका ठेलागाडा भएकाले मजदुरको सही व्यवस्थापन नभइ महानगरले ज्यादती गर्न नहुने बताइन् । महासंघले भने दैनिक ज्याला प्रणाली खारेज गरी घण्टा अवधिको १५० रुपैयाँ र श्रमीकको न्युनतम मासिक तलब ३० हजार रुपैयाँ कायम गर्न, ८ घण्टा कार्यावधि घटाइ ५ घण्टा बनाउन, श्रमीकको लागि सहुलियत कार्डको व्यवस्था गर्न माग गरेको छ ।
सहकारीमा चल्याे गाेली, एक घाइते
काठमाडौं । सर्लाहीमा रहेको एक सहकारी संस्थामा गोली चलेको छ । सर्लाहीको मिलनचोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थामा गोली चलेको हो । लुटपाट गर्न आएका ३ व्यक्तिले उक्त सहकारीकाका प्रमुख रहेका ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार गरेका थिए । जिल्ला प्रहरी कार्यालय सर्लाहीले उनको दाहिने पाखुरा, दाहिने कोखा, बाँया कोखा, दाहिने तिघ्रामा गोली लागेको जनाएको छ । उनको हरिवनस्थित सरस्वती अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौं रेफर गरिएको छ ।
उदयपुर मालपोत कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर
काठमाडौं । मेगा बैंकले उदयपुरको गाइघाटस्थित जिल्ला मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । त्रियुगा नगरपालिका वडा नम्बर १०, बोक्सेस्थित मालपोत कार्यालयमा बुधबारबाट मेगा बैंकले एक्सटेन्सन काउन्टर विस्तार गरेको हो । अब मालपोत कार्यालयको सबै सेवाको आर्थिक कारोबार बैंकमार्फत नै हुने भएकाले सेवाग्राहीलाई सहज हुने र मालपोत कार्यालयलाई पनि आर्थिक पारदर्शितामा सहज हुने जनाएकाे छ । एक्सटेन्सन काउन्टर विस्तार गरेर सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीति अनुरुप मेगा बैंकले यसअघि पनि विभिन्न स्थानहरुमा एक्सटेन्सन काउन्टरहरु विस्तार गरिसकेको छ । मेगा बैंकको हाल देशभर २०८ वटा शाखा र २६ वटा एक्सटेन्सन काउन्टरहरु सञ्चालित छन् ।
मकवानपुरमा स्वास्थ्य बीमा गराउने बढे
बागमती । मकवानपुर जिल्लामा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढ्दै गएको एक तथ्याङ्कले जनाएको छ । साथै बीमा नवीकरण गर्नेको सङ्ख्या पनि बढेको छ । मकवानपुर जिल्लामा हालसम्म एक लाख ७२ हजार ४९ जनाले स्वास्थ्य बीमा गराएका छन् । नेपाल सरकारले पाँच वर्ष अगाडि सो कार्यक्रम सञ्चालन गरेको थियो । स्वास्थ्य बीमा बोर्ड मकवानपुरका दर्ता अधिकारी नरबहादुर खड्काका अनुसार गत आर्थिक वर्र्ष मात्र एक लाख ५२ हजार आठ सय ९४ जनाले स्वास्थ्य बीमा गराएका थिए । स्वास्थ्य बीमा गराउनेमध्ये जिल्लामा ९१ प्रतिशतले नवीकरण गरेको उनले जानकारी दिए । मकवानपुर जिल्लामा एक सय २८ जना दर्ता सहयोगी रहेका छन् । बीमाबाट एक हजार एक सय ३६ प्रकारको औषधि सूचीकृत रहेको बताइएको छ । औषधिको उपलब्धतामा कुनै गुनासो नआएको अधिकारी खड्काले भने । हेटौँडामा रहेको हेटौँडा अस्पताल तथा चुरेहिल अस्पतालमा स्वास्थ्य बीमा लागू गरिएको छ । रासस
बागलुङकाे बाँझो बारीमा किवी, वर्षमै लाखौँ आम्दानी
बलेवा । गाउँमा काम गर्ने जनशक्तिको अभाव छ । युवापुस्ता पालयन हुने र गाउँमा भएका वृद्ध तथा बालबालिकाले खेतबारीको काम गर्न सक्दैनन् । वर्षभरि दुःख गरेर छ महिना खान नपुग्ने भएपछि गाउँका बारी बाँझै राखेर सहर पस्नेहरुको कमी छैन । यो समस्या बागलुङका हरेक बस्तीमा छ । जनशक्तिको अभावमा बारी बाँझो राख्न बाध्य भएका एउटा पात्र छन् काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछाने । पाँच वर्षअघि वडाध्यक्षमा निर्वाचित भएपछि लामिछानेले पनि बारी बाँझै राखे । आफू जनप्रतिनिधि भएकाले २४ घण्टा वडावासीको काममा खट्नुपर्ने, श्रीमतीले जागिर गर्ने र वृद्ध बाबुआमाले काम गर्न नसक्ने भएपछि उनको बारी बाझिँदै थियो । तर बारीलाई बाँझै राख्न उनलाई पटक्कै मन लागेन् । अरुको बाँझोबारीमा समेत खेती गर्न लगाउनुपर्ने जिम्मेबारी पाएका व्यक्तिले आफ्नै बारी बाँझो राख्दा उनका अघि स्वभाविक प्रश्न थियो । त्यसैले वैकल्पिक खेतीको खोजीमा लागेका लामिछानेले अहिले भने त्यही बाझिँन थालेको बारीबाट लाखौँ कमाइ गर्न थालेका छन् । काठेखोला गाउँपालीका–७ रेशमा रहेको उनको घर वरिपरि किवीको बगान छ । दुई रोपनी बारीमा लगाएको किवी लटरम्म फलेको छ । मध्यम खालका एकनासका किवी दाना मनोरम देखिन्छन् । ‘चार–पाँच वर्ष पहिले बिरुवा लगाएको हुँ, पोहोर पातलो फल्यो, अहिले राम्रो फलेको छ’, लामिछानेले भने, ‘वैकल्पिक खेती गर्दा उत्पादन लिन केही वर्ष त कुर्नैप¥यो’, लामिछानेले दुई रोपनी बाँझो बारीमा ४५ वटा किवीका बिरुवा लगाएका छन् । तिनै बिरुवामा यो वर्ष सात सय किलो किवी फलेको लामिछानेले बताए । ‘दुई क्विन्टल त बिक्री भइसके, अझै पाँच क्विन्टल जति बोटमै छन्’, उनले भने, ‘बजारको समस्या नहोस् भनेर एकैपटक टिपेनौँ’, पाँच सय रुपैयाँ प्रतिगोटा खरिद गरेका ४५ वटा बिरुवाले गत वर्ष नै लगानी उठाएको उनले बताए । बगानमा किवीको बिरुवालाई आडदिन गत वर्ष ७० हजार खर्चेर उनले टहरा बनाएका छन् । लामिछानेको बगानमा फलेका किवी बागलुङ बजारमा बिक्री भइरहेका छन् । प्रतिकिलो दुई सय ५० रुपैयाँमा आफ्नै कोठाबाट किवी बिक्री गर्दै आएको उनकी श्रीमती कमला लामिछानेले बताइन् । ‘बजारमा होलसेल दिन खोजेको यस्तो उस्तो भनेर बिचौलिया आउँछन्, उपभोक्तालाई पनि महँगो पर्ने’, लामिछानेले भनिन्, ‘हामी आफैले उपभोक्तालाई दिँदा उनीहरूले रोजेर लैजान पाएका छन्, मूल्य पनि सस्तो पर्छ ।’ यो वर्षमात्रै किवीको बिक्रीबाट दुई लाख बढी आम्दानी हुने उनले बताए । वहुबर्षे बाली भएकाले बेला–बेलामा सिँचाइ र मलको प्रबन्ध गर्दा मात्रै अरु धेरै वर्ष किवीबाट उत्पादन लिन सकिने उनको भनाइ छ । त्यही बारीमा कोदो र मकैको खेती गर्दा खर्च उठाउन कठिन हुने गरेको अनुभव समेत लामिछानेसँग छ । ‘हामीले बजारको माग, उत्पादन लागत र उत्पादकत्व हेरेर खेती गर्नुपर्ने रहेछ’, लामिछाने भन्छन्, ‘पछिल्लो समय मैले नगदेबाली र फलफूल खेतीमा वडावासीलाई प्रेरित गर्ने गरेको छु ।’ लामिछानेले वडा कार्यालयको तर्फबाट किसानलाई अनुदानमा किवीका बिरुवासमेत हरेक वर्ष बाँड्दै आएका छन् । उनी गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका थिए । रासस
बुधबार १२.८१ अंकले घट्यो नेप्से, तीन कम्पनीको सेयरमा सर्किट
काठमाडौं । बुधबार सेयर बजार १२.८१ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बुधबार सेयर बजार १२ दशमलब ८१ अंकले ओरालो लाग्दा अभियान लघुवित्तको सेयरमा सर्किट लागेको छ । यस्तै, सयपत्री हाइड्रोपावर र सिटिजन म्युचाल फण्डको सेयर पनि ९.९९ र ९.९४ अंकले वृद्धि भएको छ । बुधबार २१ लाख ५१ हजार ७१४ कित्ता खरिद बिक्री हुँदा ६४ करोड ३६ लाख ७ हजार ९७५ रुपैयाँको कारोबार भएको छ ।
कालिका मन्दिरमा एक महिनामा ३५ लाख आम्दानी
बलेवा । बागलुङ भगवती गुठी व्यवस्थापन समितिले असोज महिनाभरी कालिका मन्दिरमा चढेको भेटी सार्वजनिक गरेको छ । गुठी व्यवस्थापन समितिले मङ्गलबार पत्रकार सम्मेलन गरि असोज महिनाभर कालिका मन्दिरमा ३५ लाख ३७ हजार आठ सय ४९ रुपैयाँ भेटी सङ्कलन भएको जानकारी दिइएको छ । आम्दानीबाट गुठीले विभिन्न शीर्षकमा १९ लाख ४० हजार ६ सय ६० रुपैयाँ खर्च भएको जनाएको छ । गुठीका अध्यक्ष कुमार खड्काले दिएको जानकारी अनुसार तलबका लागि पाँच लाख दुई हजार रुपैयाँ, बिद्युत महशुलमा १८ हजार रुपैयाँ अतिथि सत्कारमा १४ हजार रुपैयाँ, आर्थिक दान १० हजार रुपैयाँ, पूर्वाधार निर्माणमा १२ लाख आठ हजार रुपैयाँ, खाद्यान्न तथा आवासमा ४४ हजार पाँच सय रुपैयाँ, मर्मत सम्हारमा १४ हजार सात सय ४३ रुपैयाँ तथा सांस्कृतिक कार्यक्रममा एक लाख २२ हजार पाँच सय रुपैयाँ खर्च भएको छ । अन्य खर्चमा ६ हजार रुपैयाँ देखाइएको छ । आम्दानीतर्फ भेटीमा मात्रै १९ लाख २२ हजार सङ्कलन भएको हो भने चामल बिक्रिबाट ८५ हजार रुपैयाँ, बोकाको टाउकोबाट दुई लाख १३ हजार रुपैयाँ, कुखुराबाट १७ हजार रुपैयाँ, राँगोबाट पाँच हजार आठ सय रुपैयाँ र घरभाडाबाट तीन लाख ८२ हजार रुपैयाँ सङ्कलन भएको हो । विवाह गरेको १३ हजार रुपैयाँ, आर्थिक सहयोगबाट एक लाख ७६ हजार रुपैयाँ तथा परेवाबाट ६ लाख ७६ हजार रुपैयाँ सङ्कलन भएको बताइएको छ । असोज महिनाभरमा भक्तजनले चाँदीको औँठी एक थान, चाँदीको सिक्का एक थान, चाँदीकै घोडा एक थान र सुनको टीका दुई थान भेटी चढाएका थिए । त्यस्तै चाँदीको पाउजु दुई जोर, सुनको मुन्द्रा एक वटा, सुनको तिलहरी एक तथा सुनको टुक्रा एक र चाँदीको ताज एक वटा अन्दाजी पाँच तोलाको चढाएको जानकारी गराइएको छ । रासस
काठमाडौंमा भूकम्पको धक्का
काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । दिउँसो ३ बजेर ८ मिनेटमा भूकम्प गएको हो । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.४ म्याग्नेच्युटको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यका लगायत आसपासका जिल्लाहरुमा महशुस भएको छ ।