१३ म्युचुअल फण्डको लाभांश : ३ वटाको २० प्रतिशत बढी, अन्य कुनको कति ?
काठमाडौं । अघिल्लो वर्षको तुलनामा गत वर्ष म्युचुअल फण्डको प्रतिफल घटेको छ । सेयर बजार बढेपछि राम्रो आम्दानी गरेका म्युचुअल फण्डले इकाईधनीहरुलाई मनग्य प्रतिफल वितरण गरेका थिए । तर गत वर्ष बजारमा गिरावट आएसँगै म्युचुअल फण्डको नाफा घट्दा प्रतिफल पनि घटेको छ । अघिल्लो वर्ष सेयर बजारले रेकर्ड राख्दै नयाँ उचाइ चुम्न सफल भएपछि म्युचुअल फण्डको राम्रो आम्दानी भएको थियो । आम्दानी बढेसँगै फण्डले इकाईधनीहरुलाई मनग्य प्रतिफिल दिएका थिए । गत वर्ष भने सेयर बजार घटेको कारण म्युचुअल फण्डको लाभांश घटेको मर्चेन्ट बैंकर्स बताउँछन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न कम्पनीका २८ म्युचुअल फण्ड सूचीकृत छन् । हालसम्म १३ वटा म्युचुअल फण्डले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट इकाईधनीहरुलाई लाभांश वितरण गर्ने भएका छन् । लाभांश घोषणा गरेका अधिकांश फण्डको घटेको छ । तर एउटा फण्डको भने लाभांश बढेको छ । एनएमबि हाइब्रिड फण्ड एल–१ को भने लाभांश वृद्धि भएको छ । हालसम्म लाभांश घोषणा गरेका म्युचुअल फण्डहरुमा एनएमबि हाइब्रिड फण्ड एल–१ ले अघिल्लो वर्षको तुलनामा बढी घोषणा गरेको हो । उक्त फण्डले २१.०५ प्रतिशत लाभांश वितरण गरेको हो । यसअघि उक्त फण्डले इकाईधनीहरुलाई २० प्रतिशत मात्रै लाभांश वितरण गरेको थियो । लक्ष्मी क्यापिटलका दुई वटा म्युचुअल फण्डको प्रतिफल दोहोरो अंकबाट एकल अंकमा झरेको छ । लक्ष्मी इक्विटी फण्डले अघिल्लो वर्ष ३५ प्रतिशत वितरण गरेको गत वर्षका लागि भने ५ प्रतिशत मात्रै वितरण गरेको छ । लक्ष्मी उन्नति कोषले आर्थिक वर्ष २०७७/७८ मा २५ प्रतिशत लाभांश वितरण गरेको गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत मात्रै वितरण गरेको छ । यस्तै, नलिब ब्यालेन्स्ड फण्ड–२ ले ७ प्रतिशत, नबिल इक्विटी फण्डले ५ प्रतिशत, एनआईविएल प्रगति फण्डले ४.३ प्रतिशत र सिद्धार्थ इक्विटी फण्डले २२ प्रतिशत प्रतिफल वितरण गरेको हो । यस्तै, एनएमबि फिफ्टीले २१.०५ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले १० प्रतिशत र सनराइज फर्स्ट म्युचुअल फण्डले १२ प्रतिशत मात्रै प्रतिफल इकाईधनीहरुलाई वितरण गरेका हुन् । एनआईसी एशिया ब्यालेन्स्ड फण्डको र एनआईसी एशिया ग्रोथ फण्डको लाभांश पनि दोहो अंकमाबाट घटेर एकल अंकमा झरेको छ । एनआईसी एशिया ब्यालेन्स्ड फण्ड र एनआईसी एशिया ग्रोथ फण्डले इकाईधनीहरुलाई १३/१३ प्रतिशत प्रतिफल वितरण गरेको हो ।सानिमा इक्विटी फण्डको लाभांशमा पनि गिरावट आएको छ । सो फण्डले २२ प्रतिशत प्रतिफल वितरण गरेको छ ।
तिहार सुरुभएसँगै पालैपालो रोटी पकाउन व्यस्त महिला
टीकापुर । नेपालीको दोस्रो ठूलो पर्व तिहार सुरुभएसँगै यतिखेर घरघरमा महिलाहरू तिहारका लागि आवश्यक खानेकुरा बनाउन व्यस्त छन् । तिहार नजिकिएपछि महिला एक साताअघिदेखि नै रोटी पकाउन जुट्ने गर्दछन् । टीकापुरकी प्रगति जैसी र उनको साथीले एक साताअघिबाट रोटी पकाउन सुरु गरेका छन् । उनीरू पालैपालो सबैका घरमा रोटी पकाइरहेका छन् । ‘हामी हरेक वर्ष तिहारमा रोटी पकाउँछौँ, सबै जना मिलेर पालैपालो पकाउँछौँ, यसरी पकाउँदा सजिलो र रमाइलो हुन्छ’, जैसीले भनिन्, ‘तिहारमा देउसीभैलो खेल्नेलाई खानेकुरा दिन, भाइलाई कोसेली दिन र छिमेकीलाई बाँड्नका लागि पनि धेरै रोटी पकाउनुपर्छ’, उनले भनिन्, ‘एउटै घरमा पाँच किलोदेखि १० किलोसम्म पिठोको प्रयोग हुन्छ । अन्य मीठाइका परिकार पनि बन्छन् ।’ तिहारमा धेरैजसो नेपालीका घरमा सेल रोटी, फिनी रोटी, अनरसा अनिवार्य नै पाक्छ । यसबाहेकका अन्य मीठाइ र रोटीका परिकार पनि तिहारमा पकाउने गरिन्छ । लम्कीचुहाकी झरना विक र उहाँका छिमेकी पनि तिहारको रोटी पकाउन जुटेका छन् । उनीहरूले पनि पालैपाले पकाउन थालेका छन् । ‘तीन घरमा पकाएर सक्यौँ, अब तीन जनाको घरमा पकाउन बाँकी छ’, उनले भनिन्, ‘मैले पनि पाँच किलो मैदा किनेकी छु । विभिन्न किसिमका गुलिया र चिल्ला रोटी बनाउने गरिन्छ । तिहारलाई रोटीको पर्व भनेर चिन्छौँ ।’ यसरी हुनेखानेले तिहार तथा पर्वमा खर्च गर्दा नहुनेलाई भने पीडा हुन्छ । टीकापुरको एकतानगर शिविरकी रुपा विकलाई भने सबैले तिहारमा चहलपहल गर्दा पीडा हुन्छ । ‘छिमेकीहरू रोटी पकाउन थाले, किनमेल गर्छन्, मानिसको आउजाउ बढेको छ’, उनले भनिन्, “हामीलाई छाक टार्नै मुस्किल छ । कसरी थरिथरिका रोटी पकाउने होला ? छोराछोरीले सताएका छन् ।” रुपा आर्थिक अवस्था कमजोर हुुनेका लागि चाडपर्वले निकै पीडा दिने बताइन् । ‘छिमेकीजस्तै गर्न नसक्दा पीडा हुन्छ, बालबालिका पनि मान्दैनन्’, उनले भनिन्, ‘तिहारको दिन सेलरोटी पकाएर केटाकेटीको तिहार मनाइदिने योजना छ । थरिथरिका रोटी पकाउन त रकम छैन ।’ जोशीपुरकी झुमा शर्मा पनि तिहार नजिकिएपछि व्यस्त हुनुहुन्छ । हरेक वर्ष तिहारमा भाइलाई टीका लगाउन माइत जाने तयारीमा रहेकी झुमा किनमेल र विभिन्न थरिका रोटी पकाउन व्यस्त छिन् । ‘चार दाजुभाइ छन्, सधैँ माइतीमै टीका लगाउने गर्छौँ, चार भाइका लागि चार पोका कोसेली तयार गर्दैछु’, उनले भनिन्, ‘चिल्ला रोटी नपकाए कोसेली के लैजाने भन्ने समस्या हुन्छ । रोटी त पकाउनैपर्छ ।’ तिहारमा खाइने रोटीमा गुलियो र चिल्लोको मात्रा बढी हुन्छ । तर कतिपयले तिहारलाई सरल तरिकाले समेत मनाउन थालेका छन् । टीकापुरकै सरिता साउद भने सामान्य तवरले तिहार मनाउँछिन् । ‘तिहारमा अनावश्यक चिल्ला रोटी पकाउँदैनौँ, तिहारमा आवश्यक मसला भाइलाई कोसेलीका रूपमा दिन्छाँै, कोसेलीमा काजु, बदाम, नरिवल, फलफूल दिइन्छ’, उनले भनिन्, ‘देउसीभैलो खेल्नेलाई पनि फलफूल प्रसादका रूपमा दिने गर्दछौँ, पाके पनि सेलरोटीसम्म पाक्छ । नभए चिल्ला र गुलिया रोटी प्रयोग घटाएका छौँ ।’ यसरी चिल्ला र गुलिया खानेकुराले मधुमेह, उच्च रक्तचापलगायतका समस्या भएकाले गुलियो र चिल्लो खानेकुरा नखाएकै राम्रो हुने चिकित्सक बताउँछन् । टीकापुर अस्पतालका डा सम्वाद खरेल गुलियोले शरीरमा ग्लुकोजको मात्रा बढाउने, चिल्लोले ग्याष्ट्रिकको समस्या निम्त्याउने भएकाले यस्ता खानेकुरा कम प्रयोग गर्न सल्लाह दिन्छन् । ‘हरेक चाडपर्वमा बढी खानेकुरा खाइन्छ, यसले मानिसको स्वास्थ्यमा असर पार्छ’, उनले भने, ‘खानपानमा ध्यान दिनुपर्छ । चाडपर्वमा धेरै चिल्ला र गुलिया खानेकुरा कम बनाउने, कम खाने, खाइहालेमा पनि फलफूल र सागपात पनि खाने गर्नुपर्छ ।’ रासस
एनसीसी बैंकले मर्जर र लाभांश पारित गर्न बोलायो साधारणसभा
काठमाडौं । एनसीसी बैंकले मर्जर र लाभांश पारित गर्ने मंसिर २ गते साधारणसभा बोलाएको छ । कुमारी बैंकसँगको मर्जर र गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश पारित गर्न बैंकले साधारणसभा बोलाएको हो । बैंकले गत आवका मुनफाबाट ११ प्रतिशत लाभांश प्रस्ताव गरेको छ जसमा ३.३७ प्रतिशत बोनस सेयर र ७.६३ प्रतिशत नगद रहेको छ । कुमारी बैंक र एनसीसी बैंक बराबरी हैसियतमा गाभिँदै छन् । मर्जरको लागि दुवै बैंकबीच प्रारम्भिक सम्झौता भइसकेको छ ।
सोलुखुम्बुमा १७१ मेगावाटको आयोजना निर्माण हुने
काठमाडौं । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हमु गाउँपालिका–३ मा कूल एक सय ७१ मेगावाट क्षमताको दूधकोसी– ६ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । निजी क्षेत्रको सगरमाथा हाइड्रोपावरले निर्माण गर्न लागेको सो आयोजना नदी प्रवाही प्रकृतिको हो । पछिल्ला दिनमा जलविद्युत् आयोजनाको ‘हब’ का रुपमा स्थापित हुँदै गएको जिल्लामा अन्य केही आयोजनासमेत निर्माणमा क्रममा छन् । केही आयोजना भने निर्माण सम्पन्न भई केन्द्रीय प्रणालीमा बिजुलीसमेत जोडिसकेका छन् । आयोजनाले सुख्खायाममा दुई सय ९५ र वर्षायाममा छ सय ८८ गिगावाट घण्टा गरी वार्षिक रुपमा कूल नौ सय ८४ गिगावाट घण्टा ऊर्जा उत्पादन गर्नेछ । दूधकोसी नदी किनारै किनार भएर आयोजना स्थलको पहुँचमार्ग निर्माण हुनेछ । मुख्य संरचना ‘डाइभर्सन वेयर’, ‘अन्डरस्लुइस’, ‘ग्राभेल ट्र्याप’, ‘सेटलिङ’, ‘बेसिन’, ‘हेडरेस पाइप’, ‘हेडरेस टनेल’, ‘सर्ज ट्याङ्क’ र ‘अडिट टनेल’ जस्ता संरचना निर्माण गर्ने लक्ष्य राखिएको छ । सोलुखुम्बुको पासाङल्हमु गाँउपालिका ३ मा निर्माण हुने सो आयोजनाको ‘नेट हेड’ तीन सय ६७ मिटर रहेको छ । आयोजनाको विद्युत् गृह भूमिगत रहनेछ । तीन वटा ‘फ्रान्सिस टर्बाइन’ रहने आयोजनाबाट उत्पादित बिजुली दुई सय २० केभी क्षमताको ६३ किलोमिटर लामो प्रसारणलाइनमार्फत् नेपाल विद्युत् प्राधिकरणको नयाँ खिम्ती सवस्टेशनमा जोडिनेछ । आयोजनाको कूल लागत ३० अर्ब ८० रुपैयाँ करोड बराबर रहनेछ । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भइसकेको छ । वन तथा वातावरण मन्त्रालयले आयोजनाको उक्त प्रतिवेदन सार्वजनिक गर्दै सम्बन्धित निकाय वा प्रभावित क्षेत्रका बासिन्दालाई राय सुझाव दिन आग्रह गरेको छ । आयोजनाले कूल आठ दशमबल तीन हेक्टर जग्गा प्राप्त गर्नुपर्नेछ । आयोजनाको निर्माण अवधिमा पाँच सय ५० जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् । जैविक वातावरणीय प्रभाव न्यूनीकरणका लागि आयोजनाले १३ करोड ७५ लाख २९ हजार रुपैयाँ बराबरको रकम छुट्याएको छ । रासस
सुदूरका तीन जिल्लामा खाद्यान्न सञ्चित
डोटी । आर्थिक वर्ष २०७८/७९ मा सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र डोटी जिल्लामा मात्रै खाद्यान्न सञ्चित बचत रहेको देखिन्छ । सुदूरपश्चिम प्रदेशका दुई तराईका जिल्ला र सात पहाडी जिल्लामध्ये पहाडमा डोटी मात्र खाद्य सञ्चित गर्ने जिल्लाका रूपमा रहेको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले बताए । उनले भने, धान, मकै, गहुँ, जौँ, कोदो र फापरको उत्पादनका आधारमा खाद्यान्न वासलात निकाल्दा सुदूरका तीन जिल्ला मात्र खाद्य सञ्चित जिल्लाको रुपमा रहेको बताएका छन् । कृषि ज्ञान केन्द्र डोटीले दिएको जानकारीअनुसार प्रतिवर्ष प्रतिव्यक्ति आवश्यक खाद्यान्न तराईमा एक सय ८१ केजी, मध्य पहाडमा एक सय ९१ केजी र उच्च पहाडमा दुई सय एक केजी रहेको छ । सोहीअनुरुप जनसङ्ख्यालाई आधार मानी जिल्लाको उत्पादित खाद्यान्नलाई तुलना गरिएको थियो । जिल्लाको खाद्य उत्पादित तथा सञ्चितको अवस्थाअनुसार कञ्चनपुर जिल्लामा एक आवमा जिल्लाको वार्षिक आवश्यक खाद्यान्न ९३ हजार छ सय ९३ मेट्रिक टन थियो जिल्लामा एक लाख ४५ हजार नौ सय ८१ मेट्रिक टन उत्पादित हुँदा ५२ हजार दुई सय ८८ मेट्रिक टन खाद्यान्न सञ्चित रहेको देखिन्छ । कैलाली जिल्लामा पनि एक आवमा जिल्लाको वार्षिक आवश्यक खाद्यान्न एक लाख ६० हजार पाँच सय ५२ मेट्रिक टन थियो । जिल्लामा एक लाख ७६ हजार तीन सय ४९ मेट्रिक टन उत्पादित हुँदा १७ हजार सात सय ९७ मेट्रिक टन खाद्यान्न सञ्चित रहेको देखिन्छ । डोटी जिल्लामा पनि एक आवमा जिल्लाको वार्षिक आवश्यक खाद्यान्न ३९ हजार दुई सय ८५ मेट्रिक टन थियो जिल्लामा ४३ हजार आठ सय ३२ मेट्रिक टन उत्पादित हुँदा चार हजार पाँच सय ४७ मेट्रिक टन खाद्यान्न सञ्चित रहेको देखिन्छ । अन्य पहाडी जिल्लामा भने आवश्यकताभन्दा कम उत्पादन भएको पाइन्छ । तथ्याङ्कानुसार बैतडी जिल्लामा पनि एक आवमा जिल्लाको वार्षिक आवश्यक खाद्यान्न ४६ हजार छ सय ८० मेट्रिक टन थियो । जिल्लामा ३५ हजार आठ सय ५१ मेट्रिक टन उत्पादित हुँदा १० हजार तीन सय ७२ मेट्रिक टन खाद्यान्न अभाव भई बाहिरबाट आपूर्ति गर्नुपरेको जनाइएको छ । अछाम जिल्लामा पनि एक आवमा जिल्लाको वार्षिक आवश्यक खाद्यान्न ५५ हजार आठ सय ३८ मेट्रिक टन थियो जिल्लामा ५० हजार दुई सय १३ मेट्रिक टन उत्पादित हुँदा पाँच हजार छ सय २५ मेट्रिक टन खाद्यान्न अभाव भई बाहिरबाट आपूर्ति गर्नुपरेको देखिन्छ । डडेलधुरा जिल्लामा पनि एक आवमा जिल्लाको वार्षिक आवश्यक खाद्यान्न २६ हजार छ सय २९ मेट्रिक टन थियो । जिल्लामा २६ हजार तीन सय ४८ मेट्रिक टन उत्पादित हुँदा दुई सय ८१ मेट्रिक टन खाद्यान्न अभाव भई बाहिरबाट आपूर्ति गर्नुपरेको बताइएको छ । बाजुरा जिल्लामा पनि एक आवमा जिल्लाको वार्षिक आवश्यक खाद्यान्न २७ हजार नौ सय ३९ मेट्रिक टन थियो । जिल्लामा २४ हजार तीन सय चार मेट्रिक टन उत्पादित हुँदा तीन हजार छ सय ३५ मेट्रिक टन खाद्यान्न अभाव भई बाहिरबाट आपूर्ति गर्नुपरेको देखिन्छ । बझाङ जिल्लामा पनि एक आवमा जिल्लाको वार्षिक आवश्यक खाद्यान्न ३८ हजार आठ मेट्रिक टन थियो जिल्लामा ३६ हजार सात सय आठ मेट्रिक टन उत्पादित हुदाँ एक हजार तीन सय एक मेट्रिक टन खाद्यान्न अभाव भई बाहिरबाट आपूर्ति गर्नुपरेको देखिन्छ । दार्चुला जिल्लामा पनि एक आवमा जिल्लाको वार्षिक आवश्यक खाद्यान्न ३७ हजार एक सय ४६ मेट्रिक टन थियो जिल्लामा २२ हजार एक सय ७० मेट्रिक टन उत्पादित हुँदा चार हजार नौ सय ७६ मेट्रिक टन खाद्यान्न अभाव भई बाहिरबाट आपूर्ति गर्नुपरेको सम्बन्धित कार्यालयको भनाइ छ । समग्रमा सुदूरपश्चिम प्रदेशको खाद्यान्न र आपूर्तिको अवस्था हेर्दा ४८ हजार चार सय ४१ मेट्रिक टन खाद्यान्न सञ्चित रहेको छ । पछिल्लो समयमा विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण गरिएको लकडाउन र नाकाबन्दीका समयमा अधिकांश नेपालीले कृषिको महत्व थाहा पाउनुका साथै कृषि पेशामा व्यावसायिक रुपमा युवाहरुको आकर्षण बढ्नुका साथै अधिकांश युवाले खाद्यान्नलगायत अन्य नगदेबाली, तरकारी खेती, फलफूल खेती तिर पनि व्यवसाय गर्दै आइरहेको ज्ञान केन्द्र प्रमुख पनेरुले बताए । पछिल्लो समयमा स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले कृषिमा लगानी गर्नुका साथै अनुदानका कार्यक्रमलाई पनि प्राथमिकता दिएको पाइन्छ । रासस
नवलपरासीमा बस दुर्घटना हुँदा २३ जना घाइते
नवलपरासी । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–११ मा गए राति बस दुर्घटना हुदाँ २३ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको ना७ख ४१५ नंको बस ‘ब्रेकफेल’ भई सडकको दाहिनेतर्फ पल्टिँदा बसमा सवार ५० मध्ये २३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी उपरीक्षक सन्तोष पाठकले बताए । घाइतेलाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएका र ती मध्ये १८ जना सामान्य उपचारपछि डिस्चार्ज भएका जनाइएको छ । बाँकीलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर सिफारिस गरिएको र बस चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक पाठकले बताए । उनकाअनुसार घाइते सुर्खेत वीरेन्द्रनगर–१२ का प्रकाश सुनार, कैलालीको कैलाली गाउँपालिका–९ का श्याम चौधरी, कन्चनपुर बेलौरी नगरपालिका–२ का वीरेन्द्र नेपाली, कैलाली धनगढी उपमहानगरपालिका– १३ का सन्तोष भट्ट र निर्मला जोशीलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज पठाइएको हो ।रासस
धर्मशालामा व्यापार गरेपछि मारवाडी सेवा समिति लखेट्दै पशुपति क्षेत्र विकास कोष
काठमाडौं । धर्मशालाभित्र व्यापार गर्न थालेको भन्दै पशुपति क्षेत्र विकास कोषले मारवाडी सेवा समिति नेपाललाई गौशलाबाट हटाउने तयारी गरेको छ । मारवाडी सेवा समितिले तत्काल गल्ती स्वीकार गरेर अबैध कृयाकलाप बन्द नगर्ने हो भने कोषले समितिलाई दिएको ९ रोपनी जग्गा खाली गराउने कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले बताए । पशुपति क्षेत्रको स्वामित्वमा रहेको ९ रोपनी जग्गा मारवाडी सेवा समिति नेपालले बिक्रम संम्वत १९९७ देखि भोगचलन गर्दै आएको छ । हिन्दुहरुले लक्ष्मीमाताको रुपमा पुज्दै आएको गाई पालन गर्ने मुल कार्यको लागि पशुपति क्षेत्रले मारवाडी सेवा समितिलाई ९ रोपनी जग्गा भोगचलन गर्न दिएको थियो । गाइपालन गर्ने भएकोले उक्त क्षेत्रलाई गौशाला भनिन्छ । पछि समितिले उक्त क्षेत्रमा धर्मशाला पनि चलाउँदै आएको थियो । पछिल्लो समय मारवाडी सेवा समितिले धर्मशाला क्षेत्रभित्र अस्पताल पनि सञ्चालन गरेको छ । हस्पिटलभित्र स्वास्थ्य सेवा बिक्री भइरहेको जानकारी पाएपछि पशुपति क्षेत्र विकास कोषले त्यस्तो कार्य बन्द गराउन लागेको कार्यकारी निर्देशक खतिवडाले बताए । ‘गौशालामा मुलतः गाईपालन गर्ने, खाना, बस्न नपाएका गाई गोरुलाई यहाँ पालन गर्ने सहमतिको आधारमा ९ रोपनी जग्गा मारवाडी सेवा समितिलाई कोषले उपलब्ध गराएको हो । तर यहाँ सेवाभन्दा व्यापार बढी हुन थाल्यो । कोषसँग भएका सहमति विपरित भौतिक संरचनाहरु बनाइएको छ’ खतिवडाले भने–‘पशुपति क्षेत्र धर्म संस्कृत प्रवद्र्धन गर्ने कार्य मात्र गर्न पाइन्छ । घाटसेवा, कृयापुत्री सेवा गर्न पाइन्छ । अन्य काम गर्न निषेध गरिएको छ ।’ गौशलामा पालिएको गाई र गोरुको अवस्था पनि नाजुक रहेको कार्यकारी निर्देशक खतिवडाले बताए । ‘गाई–गोरुले खान पाएका छैनन् । उनीहरु दुब्ला र खानै नपाएर थलिएको अवस्थामा छन् । सरसफाई पनि भएको छैन । गाईहरु हिरोमा ढुबेर बाँचेका छन्’ उनले भने । अध्यक्ष गाेयल गौशलामा पालिएका गाई गोरुको अवस्थाबारे फोटो र भिडियो खिच्न गएको विकासन्युज प्रतिनिधिलाई उक्त क्षेत्रभित्र प्रवेश गर्न दिइएन । उक्त क्षेत्रभित्र फोटो, भिडियो खिच्न निषेध गरिएको भन्दै कर्मचारीले रोक लगाएको विकासन्युजका फोटो पत्रकार रिसब चौधरीले बताए । फाेटाेपत्रकारलाई धर्मशालाकाे मुल गेटबाट भित्र प्रवेश गर्नै नदिएकाे उनले बताए । मारवाडी सेवा समितिका अध्यक्ष कैलाशचन्द्र गोयलले यस विषयमा कुराकानी गर्न चाहेनन् । ‘तिहारभित्रै हामीले सुधारका काम गर्दैछौं । तिहारपछि यस विषयमा बोल्छु’ उनले भने । बास्तुस्थितिको फोटो खिच्न नदिएको विषयमा उनले भने–‘तिहारपछि फोटो खिच्न पनि दिउँला ।’ कानुनी रुपमा नै गर्न नपाइने काम मारवाडी सेवा समितिले गरेको पाइएकोले ती काम बन्द गर्न, सम्झौता र मापदण्डा विपरित बनेको संरचना हटाउन कोषले निर्देशन दिएको छ । निर्देशनसहित कोषले ३५ दिने सूचना पनि पत्रिकामा प्रकाशित गरेको छ । यसअघि पशुपति क्षेत्र भित्र बतास समूहले क्रियापुत्री सेवाको नाममा होटल चलाएर व्यापार गर्न थालेपछि बतास ग्रुपलाई पशुपति क्षेत्र विकास कोषले बतास समूहसँगको सबै सम्झौता भंग गरी व्यवसायिक कारोबार बन्द गराएको थियो ।
सयपत्री फूल प्रतिथुङ्गा चार रुपैयाँमा बिक्री
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ बडहरे निवासी मन्जु श्रेष्ठले गत वर्ष थोरै मात्रामा सयपत्री फूलखेती सुरु गरिन् । तिहारका समयमा उनलाई मागअनुसारको फूल पुर्याउन धौधौ भयो । परीक्षणका रूपमा फूलखेती सुरु गर्दा माग अत्यधिक भएपछि उनीमा त्यही बेला अब व्यावसायिकरूपमा फूलखेती गर्छु भन्ने सोच पलायो । ‘गत वर्ष उत्पादन भएको फूल नजिकका आफन्तजन, साथीभाइलाई पनि पु¥याउन सकिनँ, तिहारका बेला फूलको धेरै माग हुन्छ’, उनले भनिन्, ‘माग बढी भएपछि यस वर्ष भने दुई रोपनी क्षेत्रफलमा फूल लगाएको छु ।’ उनले आफ्नै निजी दुई रोपनी जग्गामा यो वर्ष व्यावसायिकरूपमा सयपत्री फूलखेती गरेकी छिन् । विगतमा तरकारी बेर्ना जमाएर बिक्री गर्ने उनले सयपत्री फूल विदेशबाट आउने गरेको थाहा पाएपछि स्वदेशमै उत्पादन गर्नुपर्छ भन्ने भावना विकास भएको बताइन् । ‘हरेक सामान विदेशबाट आउँछ, हुँदाहुँदै फूल पनि विदेशबाट आउने गरेको देखेपछि आफैँलाई धिक्कार लाग्यो, हामी पनि फूलखेती गर्न सक्छौँ भन्ने सोच र आत्मविश्वास वृद्धि भयो’, उनले भनिन्, ‘फूलमा आत्मनिर्भर गराउन मेरो पनि केही योगदान होस् भन्नका लागि फूलखेती गरेको हुँ ।’ फूलमा नेपाललाई आत्मनिर्भर बनाउन सरकारले कृषकलाई सहयोग गर्ने नीति ल्याउनुपर्ने श्रेष्ठको माग छ । ‘गाउँघरमा जग्गा बाँझै छन्, त्यस्ता जग्गालाई सदुपयोग गर्दै फूलखेती गर्नेतर्फ सरकारले सहयोग गर्नुपर्छ’, उनले भनिन् । तिहारका बेला फूलको माग बढी हुने गरेको र पुर्याउन मुस्किल पर्ने श्रेष्ठको अनुभव छ । ‘तिहार सुरु हुन लागिसक्यो, अब माग आउन थाल्छ, तिहारका लागि बजारको समस्या छैन”, श्रेष्ठले भनिन्, ‘तिहार सकिएपछि पनि यसको बजारका लागि समस्या छ ।’ गाउँघरमा हुने सहकारीका कार्यक्रम, अन्य सङ्घसंस्थाका कार्यक्रममा माला बिक्री हुने गरेको छ । ‘यो वर्ष तिहार छिटो परेकाले फूल उत्पादन हुनै बाँकी छ, तिहारमा समस्या हुँदैन, तिहारपछि भने फूलको बजार खोज्नुपर्ने अवस्था छ’, किसान श्रेष्ठले भने । उनले प्रतिथुङ्गा चार रुपैयाँमा फूल बिक्री गर्दै आएकी छिन् । फूलखेती गरेको बारेमा आफूले व्यक्तिगत सामाजिक सञ्जालबाट प्रचार–प्रसार गर्दै आएको उनले सुनाइन् । ‘मेरो फूलखेतीका बारेमा त्यति धेरै प्रचार–प्रसार भएको छैन, वडा कार्यालयले पनि सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार गरिदिएको छ’, उनले भनिन् । सरकारले केही दिन अगाडि भारतबाट आयात हुने सयपत्री फूलमा प्रतिबन्ध लगाएको छ । तिहारमा करिब ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादन धान्ने गरेको भए पनि १५ प्रतिशत सयपत्री फूल आयात हुने गरेको छ । सरकारको यो निर्णयप्रति श्रेष्ठले समर्थन गर्दै भनिन्, ‘विदेशी फूललाई प्रतिबन्ध लगाउने सरकारको निर्णय सकारात्मक छ । नेपाललाई फूलमा आत्मनिर्भर बनाउनेतर्फ लाग्नुपर्छ ।’ भिमाद नगरपालिका–८ भागरमा तीन युवाले तीन रोपनी क्षेत्रफलमा सामूहिकरूपमा फूलखेती लगाएका छन् । तिहार नजिकिँदै गरेको ७० प्रतिशतमात्र फूल फुलेकाले लक्ष्यअनुसारको फूल बिक्री नहुने हो कि भन्ने चिन्ता लागेको सागर विकले बताए । विकले भने, ‘बजारमा बिक्री केन्द्र राख्ने ठाउँसमेत पाउन मुस्किल परेकाले स्थानीय कृषकको समस्या समाधानमा सरोकारवालाले ध्यान पुर्याउनुपर्छ ।’ वैदेशिक रोजगारीबाट फर्केका र स्वदेशमै केही गर्नुपर्छ भन्ने मान्यता राखेर फूलखेतीमा लाग्नुभएका विकसहित विष्णु राना र अमृत कुमालले स्थानीय सरकारले प्रोत्साहन नगरेको बताए । फूल उत्पादनका लागि सहयोग गर्न वडा र नगरपालिकामा मौखिक निवेदन दिए पनि सकरात्मक प्रतिक्रिया नपाएको विष्णु रानाले बताए । सोही ठाउँका गोविन्द अधिकारीले विगत केही वर्षदेखि फूलखेती गर्दै आएका छन् । स्थानीयस्तरमा आयोजना कार्यक्रममा न्यून सङ्ख्यामा माला खपत भए पनि फूलको बजारमा समस्या रहँदै आएको उनको गुनासो छ । तिहारका बेलामा बजारको समस्या नभए पनि तिहारपछिको बजारमा भने समस्या हुँदै आएको उनी बताउँछन् । रासस