आकर्षक सहकारीले शुरु गर्यो ‘एकोलमार्ट डटकम’, अर्डर गर्नासाथ सामान घरमै आउने
काठमाडौं । आर्कषक उपभोक्ता कृषि सहकारी संस्थाले एकै छानामुनी सबै सामान बिक्री गर्न ई–कमर्स साइट ‘एकोल मार्ट डटकम’ सार्वजनिक गरेको छ । लक्ष्मीपुजाको अवसर पारेर सहकारीले सोमबार एक कार्यक्रम गर्दै ‘एकोलमार्ट डटकम’ को उद्घाटन गरेको हो । दश बर्षदेखि उपभोक्ता तथा कृषि क्षेत्रमा केन्द्रित रहेर कार्य गर्दै आइरहेको सहकारीले यसअघि दराज अनलाइनसँग सहकार्य गर्दै आफना उत्पादनहरु बजारमा बिक्री गर्दै आएको थियो । बजारमा आफना उत्पादनहरुको माग तिव्र बढ्न थालेकोले आँफैले आधुनिक अनलाइन सपिङ पेल्टफर्म ‘एकोलमार्ट डटकम’ साइट शुरु गरेको संस्थाका अध्यक्ष दीपकप्रसाद घिमिरेले बताए । निकट भविष्यमै आफनो सेवा देशैभर पुर्याउने लक्ष्य राखेको एकोल मार्टले अहिले भने उपत्यकाको तीन जिल्लामा सेवा शुरु गरेको घिमिरेले बताए । आम उपभोक्तालाई सहकारी आफैले उत्पादन गरेका तथा दशैभरबाट संकलन गरिएका अग्र्यानिक उत्पादनहरु घर–घरमै उपलब्ध गराउने अभिप्रायले ई–कमर्स साइड ‘एकोलमार्ट डटकम’ शुरु गरिएको बताए । एकोल मार्टले अर्गानिक खाद्यजन्य, जडिबुटीजन्य, तरकारी, फलफुल, माछा, विभिन्न प्रजातीका फुलहरु तथा औषधीजन्य उत्पादनहरु गरी करिव ५ सय प्रोडक्टहरु बिक्रीका लागि बजारमा ल्याएको उनले बताए । त्यसलाई क्रमशः विस्तार गर्दै लैजाने सहकारीको योजना भएको उनले बताए । एकोलमार्ट डटकमका आइटी प्रमुख इ.प्रदीप भटराईले उपभोक्ताहरुले एकोलमार्ट डटकम लगइन गरेर सजिलै रजिष्टेशन गर्न सक्ने र आफुलाई आवश्यक वस्तुहरुको अर्डर गर्न सक्ने बताए । उनले कुनैपनि सामान घर वा कार्यालयसम्म डेलिभरी गर्ने सुविधा भएको बताए । एकटकमा १० ओटा प्रोडक्टसम्म अर्डर गर्न सकिने उनले बताए । मोबाइल तथा इन्टरनेटबाट घरमै बसेर विभिन्न उपभोक्ता वस्तुहरु किनमेल गर्न सहज होस् भनेर एकोलमार्ट डटकम शुरु गरिएको उनले बताए । साइडको फिचरलाई क्रमशः ग्राहकमैत्री बनाउँदै लैजाने पनि उनले बताए । आकर्षक उपभोक्ता कृषि सहकारी संस्थाले जडिबुटीबाट निर्मित ग्रीन टी, स्लीम टी, हर्बल सावुन, मसाज तेल, टुथपेष्ट, सेम्फु जस्ता प्रोडक्टहरु आफैले उत्पादन गर्दै आएको छ । त्यसैगरी सहकारीले लतिलतुरमा फुलखेती, तरकारी खेती, कुरोलो तथा अकबरे खुर्सानीका विरुवा उत्पादन, ट्राउट माछापालन जस्ता व्यवसायिक कृषि गर्दै आइरहेको छ । साथै सहकारीले आफनो हेड अफिस सातदोबाटोमा आकर्षक आर्युबेद क्लिनिक पनि सञ्चालन गर्दै आइरहेको छ । ती सबै सेवाहरुका साथै देशैभरबाट संकलन गरिएका अर्गानिक चामल, पिठो, दाल, गेडागुडी, तेल, सिजनेबल तरकारी, आयुर्वेदिक औषधी जस्ता खाद्य तथा जडिबुटीजन्य करिव ५ सय आइटमका प्रोडक्टहरु बजारमा ल्याएको अध्यक्ष घिमिरेले बताए । जिल्लामै नमुना सहकारीको रुपमा ख्याती कमाएको आर्कषक सहकारीले डिजिटल पेल्टफर्म ‘एकोलमार्ट डटकम’ मार्फत आफनो बजार विस्तार गर्ने लक्ष्य लिएको छ । आधुनिक स्मार्ट फोन बोक्ने र इन्टरनेट मार्फत आफना आवश्यकताका वस्तुहरु सपिङ गर्ने जमात बढेको भन्दै सहकारीका प्रोडक्टहरुले राम्रो बजार पाउने विश्वास घिमिरेले व्यक्त गरे ।
दिपावलीमा झिलिमिली बत्ती बाल्दा ध्यान दिनु पर्ने कुराहरु
अन्धकार माथि विजयको आनन्द दिन उज्यालोको पर्व दिपावली हाम्रो घरदैलोमा आइपुगेको छ । आफनो घरलाई सफा, सुन्दर, आकर्षक र चिट्टिक्क पारेर उज्याला बत्तीहरु बाल्दै हुनुहन्छ होला । हिन्दु धर्ममा उज्यालो बेग्लै महत्व रहेको छ यसले शुद्धता, भलाई, शक्ति र सौभाग्यलाई जनाउने गर्दछ । तिहारमा घरै झिलिमिली हुने गरी दियो बाल्नुको पनि अर्थ छ । यसको धार्मिक तथा सांस्कृतिक महत्व छ । दीपावली तेत्रायुगमा सुरु भएको विभिन्न पुस्तकमा उल्लेख गरिएको छ । दीप र आवली शब्द मिलेर बनेको दिपावलीमा दिप भनेको बत्ती हो । त्यस्तै आवली भनेको पंक्तिवद्ध हो र, जब दीप र आवली एक आपमिल्छन्, तब दीपावली बन्छ ।चारैतिर अन्धकार छाएको बेला,अन्धकारबाट छुटकारा पाउनका लागि दिपावली मनाइन्छ । उज्यालो नहुँदा दुष्ट आत्मा र शक्ति सक्रिय हुने जनविश्वास छ । त्यसैले यी दुष्ट शक्तिहरूलाई कमजोर बनाउन घरको हरेक कुनामा दीप प्रज्वलन गरिन्छ । अन्धकारबाट छुटकारा पाउनका लागि मानिसहरु दियो, मौनबत्ती, आकर्षक विद्युतीय बत्ती प्रयोग गर्ने गर्दछन । तिहारमा बत्ती बाल्दा निम्न कुरामा ध्यान दिनु पर्दछ तिहारमा दियो बत्ती,मौनबत्ती बाल्दा हावा नलाग्ने, सफा, खुला र घरका कुनामा बाल्नुपर्छ । दियो बत्तीको वरिपरि छिटो आगो समात्ने प्रज्वलनशील पदार्थ जस्तै मट्टितेल, पेट्रोलियम पदार्थ आदि राख्नु । झिलिमिली बत्ती प्रयोग गर्दा राम्रो गुणस्तरीय खालको बत्ती मात्र प्रयोग गर्ने अन्यथा सर्ट सर्किट भएर घरमा आगो लाग्न सक्छ । बत्ती जडान गर्दा सधै मेन स्वीच बन्द गरेर मात्र गर्ने, यसो नगरेको खण्डमा करेन्ट लाग्ने सम्भावना प्रबल हुन्छ । झिलिमिली बत्ती जडान गर्दा दक्ष व्यक्तिबाट जडान गराउने । अग्ला भवन,अपार्टमेन्ट, टावरमा बत्ती जडान गर्दा सिडी, सु्रक्षा बेल्ट र हेल्मेट आदि प्रयोग गरेर मात्र गर्ने । बच्चाहरु उज्यालोका सौखिन हुन्छन अझ झन झिलिमिली बत्ती हुदा त उनीहरु दिउसै पनि बत्ती बाल्ने हेर्ने, आफना उमेरका साथीहरुलाई मेरो घरमा यस्तो लाइट छ भने् देखाउने गर्दछन । यस कारण कहि कतै पनि नाङ्गो तार नछोडने र स्वीच बक्स बच्चाहरुले नभेट्ने ठाउमा राख्ने । निरन्तर रुपमा लामो समयसम्म बत्ती बाली राख्नाले सर्ट सर्किटको समस्या हुन सक्छ त्यसैले बत्ती आवश्यकता बमोजिम प्रयोग गर्ने । राम्रोसँग चेकजाँच गरेर मात्र झिलिमिली बत्ती प्रयोग गर्ने,सम्भव भए वाटरप्रुफ झिलिमिली बत्ती को प्रयोग गर्ने । तिहारमा दियोको महत्व दियोलाई स्कन्द पुराणमा सूर्यको हिस्साको प्रतिनिधित्व गर्ने मानिएको जसलाई जीवनका लागि प्रकाश र उर्जाका लौकिक दाता हो । अँध्यारोलाई असत्य र उज्यालोलाई सत्यको प्रतिक पनि मानिन्छ । सत्यले असत्यमाथि विजय प्राप्त गर्छ भन्ने पनि जनाउँछ । विद्युतीय दियोले प्राकृतिक दियोको रौनक ल्याउँदैन । माटोको दियोमा तेल वा वनस्पति घिउ राखेर जलाइने दियोले तिहारको रौनक ल्याउँछ । र यो स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । हामी धन–ऐश्वर्य प्राप्त गर्ने इच्छा राख्छौं, त्यसका लागि घर उज्यालो र आकर्षक हुनुपर्छ जसबाट लक्ष्मी आकर्षित हुन्छिन भन्ने मान्यता छ । धार्मिक कथन अनुसार त्रेत्रायुगमा जब भगवान श्री राम, लक्ष्मण तथा सीताले चौध वर्षको वनबास पूरा गरी आफ्नो घर फर्किएका थिए, तब कार्तिक महिनाको कृष्ण पक्षको औसी थियो । अयोध्यावासीले उनीहरुको आगमनको खुशीमा प्रत्येक पाइलामा पंक्तिवद्ध रुपमा दियो बालेका थिए । त्यही समयदेखि पंक्तिवद्ध रुपमा दियो बालेर दिपावली मनाउन थालिएको विश्वास छ ।
अफगानिस्तानको अर्थतन्त्र २०२१ मा करिब २० प्रतिशतले संकुचित हुने
एजेन्सी । अफगानिस्तानको अर्थतन्त्र २०२१ मा करिब २० प्रतिशतले संकुचित भएको विश्वबैंकले जानकारी दिएको छ । सन् २०२१ को अगस्टमा तालिबान कब्जा गरेयता अफगानिस्तानमा भएको विकासको विवरणअनुसार अफगानिस्तानको अर्थतन्त्र नयाँ सामान्य समायोजन भइरहेको सो बैंकले जनाएको छ । सार्वजनिक खर्चमा तीव्र गिरावट, कम घरायसी आम्दानी र कम खपतका कारण कुल माग घटेको गत हप्ता सार्वजनिक गरिएको विश्व बैंकको प्रतिवेदनले जनाएको थियो । तालिबानले कब्जा गरेको सुरुको समयमा धेरै व्यवसायीहरुले आफ्ना सञ्चालन बन्द गर्न बाध्य भएका सो प्रतिवेदनमा जनाइएको छ । सन् २०२१ मा अर्थव्यवस्था लगभग २० प्रतिशतले संकुचित भएको र कुल घरेलु उत्पादन (जीडीपी) मा प्रारम्भिक तथ्याङ्क देखाउएको बताइएको छ । विगत एक वर्षमा,मानवीय आवश्यकताहरु र आधारभूत सेवाहरुको लागि अन्तर्राष्ट्रिय सहयोग पुनः सुरु हुँदा केही मात्रा नकारात्मक प्रभाव कम गर्न मद्दत गरेको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । सन् २०२२ मा वास्तविक जीडीपी थप संकुचित हुने र सन् २०२१ र २०२२ बीचमा ३०–३५ प्रतिशतको संकुचित संकुचन हुने अनुमान गरेको प्रतिवेदनले जनाइएको छ । प्रतिव्यक्ति आयमा कुनै सुधार छैन, विश्व बैंकले थप जानकारी दिएको छ ।
सबैभन्दा पवित्र गठबन्धन हाम्रै हो : डा. बाबुराम भट्टराई
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले गठबन्धनको आगामी कार्यक्रम सरकारी संस्थाहरुलाई बलियो बनाइ देशमा सुशासन प्रदान गर्नु रहेको बताएका छन् । सोमवार गठबन्धनले आयोजना गरेको वागमती प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका भट्टराईले यस्तो बताएका हुन् । उनले गठबन्धनको मुख्य एजेण्डा भनेको भ्रष्टाचार अन्त्य गर्नु, युवाहरुलाई स्वरोजगार प्रदान गर्नु रहेको बताए । उनले गठबन्धनले देशमा छिटो विकास र समृद्धिको चाहनालाई पूरा गर्ने प्रतिवद्धतासमेत जनाए । अध्यक्ष भट्टराईले नेपालको सन्दर्भमा नेपालले आफ्नै मौलिक विकासलाई प्राथमिकता दिनुपर्ने भन्दै बजार र राज्यको सन्तुलित भुमिका भएको मिश्रित प्रकारको विकासको मोडेल आवश्यक रहेको बताए । उनले वैचारिक, भूराजनीतिक, आर्थिक ढंगले समानता कायम गरेर यो गठबन्धन बनाएको पनि दाबी गरे । उनले अहिलेको गठबन्धनलाई कतिपयले अपवित्र गठबन्धन भन्ने गरेको भन्दै अहिलेको गठबन्धन नै सबैभन्दा पवित्र गठबन्धन भएको दाबी गरे । उनले भने, ‘हाम्रो प्रतिवद्धता भनेको संस्थाहरुलाई बलियो बनाएर देशमा सुशासन प्रदान गर्ने हो । भ्रष्टाचार अन्त्य गर्ने हो । सबैभन्दा ठूलो कुरा अहिलेका युवाहरुमा बेरोजगारी छ, विदेश पलायनका जुन समस्या छन्, छिटो विकास र समृद्धिको जुन हाम्रो चाहना छ । त्यसको निम्ति पनि गठबन्धन दलको बीचमा विकासको नीति सम्बन्धी मोटामोटी समझदारी भएन भने काम गर्न सकिँदैन ।’ गठबन्धले मौलिक विकासको मोडेल विकास गर्नुपर्ने भट्टराईको धारणा छ । ‘यो गठबन्धनले नेपालको सन्दर्भमा हामीले आफ्नै मौलिक विकासको मोडेल विकास गर्नुपर्छ । न त उदारवादी लोकतन्त्रको ढंगले अघि जानसक्छौँ, न हिजोको जस्तो एउटा प्रणालीले अपनाए जस्तो सबै राज्यले मात्रै नियन्त्रण गर्ने अर्थतन्त्रको पक्षमा जानसक्छौँ । बजार र राज्यको सन्तुलित भुमिका भएको मिश्रित प्रकारको विकासको मोडेल हाम्रो देशको आवश्यक्ता हो ।’ आफूहरुको गठबन्धन पवित्र पवित्र भएको दाबी गर्दै भट्टराईले भने, ‘वैचारिक, भूराजनीतिक, आर्थिक ढंगले समानता कायम गरेर यो गठबन्धन बनाएका छौँ । कतिपयले भन्ने गर्छन्, यो अपवित्र गठबन्धन भनेर तर यो सबैभन्दा पवित्र गठबन्धन हो । विचाविहीन ढंगले राजावादी, पृथकतावादी, आफूलाई वामपन्थी भनेर चर उग्रवादको नारा दिएर राष्ट्रिय समाजवादको थासीवादीको प्रवद्र्धन गर्ने शक्तिहरु त्यो गबठन्धन अपवित्र गठबन्धन हो ।’ अध्यक्ष भट्टराईले विगतका तीतामीठा कुरा बिर्सिएर आगामी निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन आवश्यक भएको बताए । उनले देशको विकासका लागि भविष्यमुखी बनेर काम गर्न आवश्यक रहेको जिकिर गरे । उनले लोकतन्त्र भनेको भद्रगोल हुँदै, अस्तव्यस्त हुँदै अघि बढ्ने प्रक्रिया रहेको पनि बताए ।
सिटिजन्स बैंकद्वारा क्यास डिपोजिट मेसिन मार्फत नगद जम्मा गर्ने सेवाको शुरुवात
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना सेवाहरु डिजिटलाइज गर्ने क्रममा मानव सहायताबिनै सोझै मेसिनबाट क्यास डिपोजिट गर्न सकिने सेवाको शुरुवात २०७९ लक्ष्मी पूजाको दिनबाट गरेको छ । सो नवीनतम सेवा मार्फत अब ग्राहकहरुले कुनै भौतिक फारम बिनानै सहज रुपमा यस बैंकमा रहेको आफ्नो वा अन्यको सक्रिय बैंक खातामा केबल खाता नम्बरको आधारमा नगद रकम जम्मा गर्न सक्ने बैंकले जनाएको छ । यस सेवा अन्तर्गत ग्राहकहरूले क्यास डिपोजिट मेसिनबाट १,००० र ५०० दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेको छ । यस सेवाबाट ग्राहकहरूले शाखामा पुगेर लाइनमा बसी फारम भरी नगद जम्मा गर्ने झन्झटबाट मुक्त हुने भन्ने विश्वास बैंकले लिएको छ । बैंकले यो सेवा हालको लागि आफ्नो दरवारमार्ग शाखा नारायणहिटी पथ, काठमाडौंमा सञ्चालन गरेको र यस सेवालाई निकट भविष्यमा देशका अन्य शाखाहरूमा समेत विस्तार गर्ने योजना बनाइरहेको छ । कार्यक्रमको आरम्भ समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेले आधुनिक बैंकिङ्गको प्रमुख अंगको रुपमा रहेको डिजिटल बैंकिङ्गलाई सिटिजन्स बैंकले अत्यन्त प्रभावकारी ढंगले अगााडि बढाएको र शसक्त ढंगले गा्रहक मैत्री सेवा अझ सहज, सुरक्षित, सर्वसुलभ, र विश्वास योग्य बनाईएको बताएका छन् । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३३ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
कृत्रिम फूलका मालाले ‘मखमली र सयपत्री’ ओझेलमा
सुर्खेत । ‘मखमली फूल्दा मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउनेछिन्’ प्रसिद्ध गायक नारायण रायमाझीले गाएको गीत हो यो । यो गीत सुन्दा अहिले पनि समय–सान्दर्भिक लाग्छ । शरद ऋतुको आगमनसँगै सहर बजार र गाउँघरतिर यो गीत धन्किन थाल्छ । यो गीत घन्किन सुरु भएसँगै हिन्दूहरुका चाडपर्व सुरु भएको सङ्केत पनि मिल्छ । दसैँ तिहारको समयमा बज्ने यो गीतले खेतीपाती भित्र्याउने चटारोसँगै नेपाली समाजलाई चाडपर्वले छपक्कै छोपेको आभास दिलाउँछ । पुराना पुस्ताले अहिले पनि भाइटीकामा मखमली र सयपत्री फूल नै खोज्ने गर्दछन् । दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध प्रगाढ बनाउने भाइटीकामा दाजुभाइका लागि दिदीबहिनीले दीर्घायुको कामना गर्दै कहिल्यै नओइलाउने मखमली फूलको माला लगाइदिने चलन छ । कहिल्यै नओइलिने भएकाले मखमली फूलको मालालाई दीर्घायु र स्वस्थ जीवनको प्रतीकका रूपमा लिइन्छ । ‘दाई मेरो कहाँ गयो मखमली फूल ओइलायो’ गायक रायमाझीकै गीतका यी शब्द सुन्दा परदेशमा रहेका दाजुलाई सम्झेर बहिनीले मखमली फूल ओइलायो तर दाजु भाइटीकामा नआएको पीडा झस्काइदिन्छ । तिहारका अवसरमा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी मखमली फूलको माला लागाइदिन्छन् । सयपत्री फूलसँग गाँसेर मखमली फूलको महत्वलाई जोगाइराख्न भाइटीकामा दाजुभाइलाई मखमली फूलको माला लगाइदिने गरिन्छ । पछिल्लो समय भने गाउँघरतिर मखमली फूल हराउँदै गएको छ । फूल जोगाउनतिर कसैको ध्यान छैन, बजारमा गएर प्लाष्टिकका माला किनेर ल्याउने बढेका छन् । ‘तिहारमा कुन फूलको माला लगाउने हो अबका पुस्ताले महत्व चिन्नै छाडेजस्तो लाग्यो’, वीरेन्द्रनगर नगरपालिका–४ का खगेन्द्र खनालले भने, ‘गाउँघरमा यो फूल पाउनै मुस्किल छ ।’ मखमली फूल लोप हुँदै गएकामा चिन्ता व्यक्त गर्दै उनले अहिले यो फूल गाउँघरमा पाइनै छाडेको पनि बताए । ‘मखमली फूल सुन्दै तिहारको झल्को आइहाल्छ, पहिला–पहिला त घर वरपर दुई÷चार वटा बोट भए पनि मखमली फूल हुन्थ्यो, अहिले त फूलमा त्यति महत्व नदिदा गाउँघरमा यस्ता परम्परागत चलनचल्तीमा आएका पर्व विशेष महत्व राखेका मखमली लगायतका फूलको संरक्षण हुन नसक्दा लोप हुँदै गएको छ’, खनालले भने। दिदीबहिनी र दाजुभाइको प्रेमलाई पवित्र गाँठोमा बाँध्न सफल मखमलीको माला नेपालीका लागि तिहारको अभिन्न अङ्ग बनिसकेको छ । वीरेन्द्रनगर नगरपालिका–५ का प्रकाश आचार्य तिहारमा मखमली फूलको महत्व नबुझेर लोप हुन लागेकामा चिन्ता व्यक्त गर्नुहुन्छ । मखमली फूल हराउँदै जाँदा यसको संरक्षणमा कसैले चासो नदेखाएको उनले बताए । आचार्यले भने, ‘तिहारजस्तो पर्वमा पनि दाजुभाइलाई मखमली फूलको माला पहिराउन नपाउँदा तिहार खल्लोजस्तो हुन्छ, पहिला त घर वरिपरि बारीका डिल, कान्ला जताततै मखमली फूलमात्रै हुन्थे, हिजोआज भेटिँदैनन् ।’ अहिले बजारमा आएका सस्ता र कृत्रिम फूलका मालाले मखमली र सयपत्री फूल लोप हुँदै गएको पनि उनले बताए । सुपारीजस्तो गोलाकार मखमली फूल पनि सयपत्री झैँ सयौँ फूलको पुष्पपुञ्ज हो । नामले मखमली भनिए तापनि यो फूल नरम, कोमल र कलिलो नभई खस्रो हुन्छ । वैजनी र प्याजी रङमा फूल्ने मखमली तिहारमा विशेष लोकप्रिय र महत्वपूर्ण मानिन्छ । संस्कृतमा रक्त मल्लिका भनिने यो फूल देख्दा पनि सुन्दर मानिन्छ । नझर्ने, नओइलाउने र वर्षौं पनि टिक्ने हुनाले यसको अजम्बरी प्रकृतिलाई आत्मसात् गरेर दिदीबहिनीले आफ्ना दाजुभाइलाई मखमली फूलको माला लगाइदिएर दीर्घायुको कामना गर्छन् । मखमली फूल नेपालीका लागि सांस्कृतिक महत्व बोकेको प्रसिद्ध फूल हो । सेता, गाढा कलेजी तथा हल्का रातो रङमा फूल्ने मखमली फूल भाइटीकामा विशेष प्रयोगमा आउँछ । छुँदा घोच्ने, मखमलको कपडाजस्तो सेता, गाढा कलेजी र हल्का रातो रङमा फूल्ने गर्दछ । यस फूललाई नरम मखमली नाम दिइन्छ । पछिल्ला वर्षका तिहारमा मखमली फूलको माला देखिनै छाडेको छ । अर्कोतर्फ मखमली फूलसँगै गाउँघरमा फूलने सयपत्री र गुर्धौली फूल पनि देखिन छाडेको वीरेन्द्रनगर नगरपालिका–४ का लोकप्रसाद रेग्मीको भनाइ छ । कृत्रिम मालामा उपभोक्ताको आकर्षण पछिल्लो समय प्लाष्टिकका कृत्रिम मालाको प्रयोग बढेपछि सयपत्री, मखमली र गुर्धौली फूल लोपोन्मुख भइसकेको छ । पहिलाको तुलनामा सयपत्री फूल पनि कम पाइन्छ । प्राकृतिक फूलको महत्वलाई बिर्सदै गएकाले गाउँघरमा ढकमक्क फूल फूले पनि देखाउनकै लागि प्लाष्टिकको माला प्रयोग गर्ने संस्कार बस्न थालेको छ । प्लाष्टिक तथा कृत्रिम मालाको प्रयोग बढ्दै जाँदा तिहारमा मखमली फूलले विशेष महत्व राखे पनि गाउँघरमा संरक्षण नगरिँदा हराउँदै गएको लोकप्रसाद रेग्मीको भनाइ छ । हिन्दू धार्मिक परम्पराअनुसार चाडपर्वमा सोहीअनुसारका फूल र माला प्रयोग गर्नुपर्ने भए पनि विश्वकर्मा बाबाको पूजादेखि तिहारसम्म पनि कतिपयले प्लाष्टिकका माला प्रयोग गर्ने गरेका छन् । सुर्खेतको बजारमा रहेका कस्मेटिक पसलदेखि सडक छेउका ठेलामा समेत रङ्गीचङ्गी कृतिम मालाको छ्याप्छ्याप्त देखिन्छन् । तिहार नजिकिँदै गर्दा बजारभरि कृत्रिम माला बिक्रीका लागि छ्याप्छ्याप्ती राखिएका छन् । सरकारले प्लाष्टिकका फूलका गुच्छाको उत्पादन, आयात, बिक्रीवितरणमा पूर्ण रोक लगाए पनि उपभोक्ताको आकर्षण भने कृत्रिम मालामै बढी देखिन्छ । चाडपर्वमा चाहिने जति फूलको माग धान्न नसकेर पनि छिमेकी देश भारतबाट हरेक वर्ष धेरै मात्रामा प्लाष्टिकका कृतिम मालाहरु भित्रिने गरेका छन् । सुर्खेतमा प्राकृतिक फूलले अभाव पूर्ति गर्नसक्ने अवस्था रहे पनि कर्णालीका पहाडी जिल्लामा भने अहिले पनि थानका थान भारतीय बजारमा बनेका प्लाष्टिकका कृत्रिम माला पुग्ने गरेका छन् । सुर्खेतमा लामो समयदेखि कस्मेटिक व्यवसाय गर्दै आएकी अमृता शर्मा न्यौपानेले कर्णालीका पहाडी जिल्लाबाट हरेक वर्ष चाडपर्वमा कृत्रिम मालाको माग बढ्ने गरेको बताए। ‘चाडपर्वको सिजनमा पहाडी जिल्ला र सुर्खेतको पश्चिमतिरको व्यवसायीले अधिकांश माला लैजानुहुन्छ”, उहाँले भन्नुभयो, “पहिलेजस्तो फुल नपाइने भएकाले कृत्रिम माला धेरै बिक्री हुन्छ ।’ वीरेन्द्रनगरको तल्लो बजारमा रहेको फिरोज कस्मेटिक पसल पनि अहिले प्लाष्टिकका मालाले ढपक्कै ढाकिएको छ । दसैँ सकिएलगत्तै पूरै पसलभरि मालाले मात्रै ठाउँ पाएको छ । ५० देखि एक हजारसम्म पर्ने कृत्रिम माला हरेक वर्ष तिहारका समयमा यसरी नै सजाएर बिक्री गर्दै आएको पसल सञ्चालक फिरोज खानले बताए। ‘पहिलो कुरा त माला बनाउने फूल नै अभाव हुन्छ, पाइए पनि महँगो पर्छ’, उनले भने, ‘पैसा नहुनेले त चाडपर्वका बेला फूलमालामा खर्चिनुभन्दा बरु खानपिनमै खर्च गर्छन् ।’ कृत्रिम माला नझर्ने, नओइलाउने, नसुक्ने र अर्को साल पनि बिक्री गर्न सकिने भएकाले पनि उपभोक्ताको आकर्षण रहेको पसल सञ्चालक फिरोज खानले बताए । आर्थिकरुपमा पनि सस्तो पर्ने हुँदा कृत्रिम फूलमालातिर आकर्षण बढेको उनले बताए। उनले ५० देखि एक हजार मूल्यसम्मका माला बेच्ने गरेको बताए । प्राकृतिक फूलप्रतिको लगाव भए पनि बिक्रीका लागि सहज नहुँदा समयस्या भएको उनी बताउँछन् । प्राकृतिक फूल बिग्रिने र व्यापारमा घाटा लाग्ने भएकाले कृत्रिम फूलमाला बेच्ने गरेको उनको भनाइ छ । अहिले वीरेन्द्रनगरका कस्मेटिक तथा फुटपाथका पसल रङ्गीबिरङ्गी ‘कृत्रिम’ मालाले सजिएका छन् । व्यापारीले कृत्रिम मालाले पसल झकिझकाउ पारेका छन् । रेशम, प्लाष्टिक र रङ्गिन कपडाबाट बनाइएका कृत्रिम मालाको व्यापार बढेको वीरेन्द्रनगरका अर्का कस्मेटिक पसल सञ्चालक प्रकाश गिरीले बताए। यसरी बिक्री हुने माला स्वदेशी उत्पादन भने होइनन् । हाल बजारमा उपलब्ध सबै माला भारतबाट आयात गरिएका माला भएको गिरीले बताए । यस वर्ष बजारमा भारतबाट आयातित प्लाष्टिकका मालाहरुको प्रभाव रहेको व्यापारी स्वयं स्वीकार गर्छन् । हरेक वर्ष दशैं, तिहार जस्ता चाडबाडमा फूल र फूलबाट निर्मित माला भारतबाटै आउने गरेको छ । गाउँघरमा प्रशस्त मात्रामा फूलहरु नपाउनुसँगै फूलहरुको खेती पर्याप्त नहुँदा अहिले बजारमा रहेका कृतिम मालाको प्रयोग बढेको व्यावसायीहरु बताउँछन् । हिन्दू परम्पराअनुसार हरेक धार्मिक कार्यमा फूल अनिवार्य हुन्छ । पछिल्लो समय तिहारमा घरमै फूलेको फूलको मालाभन्दा पनि बजारमा पाइने कृत्रिम मालाको प्रयोग बढ्दै गएकोप्रति संस्कृतिप्रेमी चिन्ता व्यक्त गर्छन् । उनीहरुका अनुसार आयातित फूल, माला, किन्नुभन्दा घर–आँगनमै फूल हुर्काउन सकिन्छ । बरु व्यावसायिकरुपमै फूलको खेती गरी मनग्य कमाउन सकिने तर्क उनीहरुको छ । फूल विनाको तिहार कल्पना गर्न सकिँदैन । तिहारको अस्तित्व कृतिमतामा होइन, प्राकृतिकतामा छ । मखमली, गोदावरी, सयपत्री र हजारीलगायतका फूलहरु फूल्ने मौसममै तिहार पर्नु त्यसको प्रमाण हो । आधुनिकता र सहजताका नाममा पछिल्लो समय तिहारलगायतका विभिन्न चाडपर्वमा कृतिमताको प्रभाव बढ्दै गएको पाइन्छ । यसले नेपाली मौलिकपन हस हुनुका साथै कृत्रिम मालाका लागि करोडौँ रुपैयाँ भारत जाने गरेको बताउँछन्, सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मण कँडेल । स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न र प्लाष्टिकजन्य पदार्थको खपत घटाउनकै लागि सरकारले कृतिम फूलमालामा चर्को कर लगाए पनि आयातमा कमी आउन नसकेको अध्यक्ष कँडेलको भनाइ छ । रासस ।
नाफा वृद्धिमा कुमारी आक्रमक बन्दा एनआईसी एक नम्बर, सनराइज ओरालो लाग्यो, कुन बैंकको कति ?
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा वाणिज्य बैंकहरुले आफ्नो वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । चालु आर्थिक वर्षको ३ महिनामा वाणिज्य बैंकहरुको खुद नाफा ६ प्रतिशत बढेको छ । तरलता असहज रहेको अवस्थामा बैंकहरुको नाफा नढ्ने अनुमान गरिएकोमा ३ महिनामा ६ प्रतिशत मात्रै बढाएका हुन् । २६ वटा वाणिज्य बैंकहरुको खुद नाफा ५.९३ प्रतिशत बढेर १८ अर्ब ७५ करोड ५६ लाख १५ हजार रुपैयाँ आर्जन गर्न सफल भएका हुन् । गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले १७ अर्ब ७० करोड ५७ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । २६ वटा बैंकहरुमध्ये १२ वटा बैंकको खुद नाफा भने घटेको छ भने बाँकी १४ वटा बैंकको नाफा बढेको छ । तीन महिनाको अवधिमा एक अर्ब भन्दा बढी नाफा आर्जन गर्नेमा ६ वटा वाणिज्य बैंक रहेका छन् । अन्य सबै बैंकको नाफा करोड क्लबमा छ । जसमध्ये सबैभन्दा धेरै एनआईसी एशिया बैंकको नाफा बढेको छ । बैंकले यस अवधिमा १ अर्ब ७५ करोड ६७ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस्तै, दोस्रोमा नबिल बैंकले १ अर्ब ५७ करोड १५ लाख ३७ हजार रुपैयाँ, तेस्रोमा राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २४ करोड ६६ लाख ७८ हजार रुपैयाँ, चौंथोमा ग्लोबल आइएमई बैंकले १ अर्ब १८ करोड ९५ लाख ४५ हजार रुपैयाँ र पाँचौंमा नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब १४ करोड ५ लाख९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यस्तै, कुमारी बैंकले १ अर्ब १४ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष एनएमबि बैंकले तीन महिनमा नै १ अर्ब नाफा कमाएकोमा यस वर्ष भने घटेर ९० करोड ४१ लाख ३४ हजार रुपैयाँ मात्रै आर्जन गरेको छ । यस अवधिमा सबैभन्दा कम नाफा सनराइज बैंकको रहेको छ । बैंकले १६ करोड ५८ लाख २७ हजार रुपैयाँ आर्जन गरेको छ । यस्तै, कृषि विकास बैंकले २२ करोड ९ लाख ५३ हजार रुपैयाँ, बैंक अफ काठमाण्डूले २८ करोड ६ लाख १५ हजार रुपैयाँ, सेञ्चुरी बैंकले ३१ करोड ८५ लाख १५ हजार रुपैयाँ, सिभिल बैंकले ४१ करोड ५० लाख ९१ हजार रुपैयाँ, माछापुच्छ्रे बैंकले ४५ करोड ११ लाख ८३ हजार रुपैयाँ, सिद्धार्थ बैंकले ४९ करोड ८२ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छन् । यस्तै, प्राइम कमर्सियल बैंकले ८७ करोड ४१ लाख ७० हजार रुपैयाँ, एभरेष्ट बैंकले ८६ करोड २२ लाख ३७ हजार रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ८१ करोड १३ लाख ९७ हजार रुपैयाँ, प्रभु बैंकले ७० करोड ५० लाख ६ हजार रुपैयाँ, नेपाल एसबिआई बैंकले ६२ करोड ७३ लाख ५७ हजार रुपैयाँ, नेपाल बैंकले ६० करोड ४० लाख ९८ हजार रुपैयाँ, सानिमा बैंकले ५४ करोड ८२ लाख २० हजार रुपैयाँ, हिमालयन बैंकले ५३ करोड २४ लाख ७५ हजार रुपैयाँ, एनसीसी बैंकले ५१ करोड ६८ लाख ३६ हजार रुपैयाँ, मेगा बैंकले ५० करोड ९१ लाख ६९ हजार रुपैयाँ, लक्ष्मी बैंकले ५० करोड ३४ लाख ७२ हजार रुपैयाँ र सिटिजन्स बैंकले ५० करोड १२ लाख १५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । तीन महिनाको अवधिमा कुमारी बैंकल सबैभन्दा धेरै वृद्धि गरेको छ । बैंकले ८५ प्रतिशत नाफा वृद्धि गरेको हो । यस अवधिमा सनरइाज बैंकको नाफा भने झनै खस्किएको छ । सनराइज बैंकको नाफा भने ६१.४९ प्रतिशतले गिरावट आएको छ । (रकम हजारमा)
सेललगायत तारेका रोटी पेटका बिरामीलाई हानिकारक : चिकित्सक
काठमाडौं । हाम्रो घरआँगनमा तिहार सुरु भइसकेको छ । तिहारमा सेललगायत तारेका रोटी धेरै खाने प्रचालन छ । यी रोटीले स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने कुरा कमैले मात्रै हेक्का राख्ने गरेका छन् । चिकित्सकले आफ्नो स्वास्थ्यलाई ख्याल गरेर मात्र यस्ता परिकार सेवन गर्न सुझाव दिएका छन् । यस्ता परिकार खाँदै नखानुभन्दा पनि सन्तुलित खाना खान चिकित्सकहरुको सुझाव छ । कतिपय बिरामीले खानै नहुने पनि अवस्था हुन्छ । कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालका ग्यास्ट्रो इन्टरोलोजिष्ट डा. खुशराज देवानले तेल वा घ्यूमा तारेर बनाएका रोटी ग्यास्टिक, अल्सर र मुखमा अमिलो पानी आउने समस्या भएका बिरामीका लागि हानिकारक हुने बताए । उनले भने, ‘यस्ता समस्या भएका बिरामीले रोटी नखाएकै राम्रो हो ।’ महिनौंदेखि औषधि खाएर स्वास्थ्य राम्रो बनिरहेका बेला एउटा दुई वटा रोटीले फेरि समस्या बल्झिन सक्ने भएकाले सावधानी अपनाउन सुझाव दिँदै डा. देवानले भने, ‘त्यस्ता बिरामीले धेरै चिल्लो खाँदा बान्ता भएर रगतसम्म आउन सक्ने भएकाले धेरै चिल्लो भएको मासु र तारेका अन्य कुरा पनि बार्नुपर्छ ।’ सामान्य मानिसले पनि चिल्लो धेरै नखान र फलफूल, सागपातलगायत स्वस्थकर खानामा जोड दिनुपर्नेमा उनको सुझाव थियो । यतिबेला डेंगु, पखालालगायत समस्या रहेकाले उच्च सावधानी अपनाएर पर्व मनाउन र बजारमा मासु किन्दासमेत स्वस्थकर ठाउँ र कम बोसो भएको मासु खान समेत आग्रह गरिएको छ । कलेजो रोग विशेषज्ञ डा रुपेश श्रेष्ठ कलेजोको समस्या भएका बिरामीले तारेका चिज खान नहुने बताए। कलेजो रोग लागेर निको नहुने अवस्थामा पुगेका बिरामीले चिल्लोको सट्टामा धेरै प्रोटिन र कार्बाहाइड्रेड भएका खानामा ध्यान दिनुपर्ने उनको भनाइ थियो । डा श्रेष्ठले भने, ‘पर्वमा खानै हुँदैन भन्नुभन्दा पनि आफ्नो स्वास्थ्यलाई हेरेर चिल्लो सकेसम्म कम खानुपर्छ ।’ जण्डिस भएका बिरामीले सेलजस्ता तारेका रोटी खानु हानिकारक हुन्छ । भरतपुर अस्पतालका बरिष्ठ फिजिसियन डा. कालिदास अधिकारीले तिहारमा सेललगायत रोटी खाने संस्कार पनि भएकाले खानै हुँदैनभन्दा पनि कम खान सुझाव दिए । उनले भने, ‘घ्यू, तेल बढी भएका रोटी मधुमेह, उच्च रक्तचाप, कोलस्ट्रोल भएका बिरामीले कमै खानुपर्छ ।’ ‘चार्ड मनाउनुुपर्छ, शरीर र रोगको अवस्था हेरेर खानपिन गर्नुपर्छ ।’ डा अधिकारीले भने, ‘पित्त थैलीमा पत्थरी भएकाले यस्ता रोटी धेरै खाँदा दुखेर समस्या झन् बढ्न सक्छ ।’ पाचन प्रणाली कमजोर भएकाले पनि रोटी कम खान सुझाउँदै उनले भने, ‘पचाउन गाह्रो हुनेले खाली पेटमा रोटी त खानै हुँदैन ।’ खाली पेटमा बढी चिल्लो खाँदा सामान्य मानिसलाई पनि असर गर्न सक्ने तर युवालाई भने खासै असर गर्दैन । डा. अधिकारीले थपे, ‘शरीर र स्वास्थ्यलाई ध्यान दिएर पर्व मनाऔँ ।’ चाडपर्वको समयमा आजै मात्र त हो भनेर एकै पटक धेरै चिल्लो खाना खाँदा समस्या बल्झिने खतरा हुन्छ । समयमै खानपानमा ध्यान दिन सकेमा समस्या नपर्ने भएकाले सन्तुलित भोजनमा ध्यान दिन उनको सुझाव थियो।