चाडपर्वको ऋण तिर्ने बालुवामा सुन खोज्न हिँडे तनहुँका बोटे
तनहुँ । व्यास नगरपालिका–१० स्थित कुमालटारी, माथिल्लोबाटे गाउँका बोटेहरू यतिबेला नदी किनारमा सुन खोज्न नदीतर्फ लागेका छन् । नेपालीहरूको महान् पर्व दशैं र तिहार चाड मनाउँदा लागेको ऋण तिर्न नदी किनारका बालुवा चालेर सुन खोज्न उनीहरू घरबाट निस्किएका हुन् । दशैँ र तिहार मनाउँदा करिब ३० हजार ऋण लागेकाले साहुलाई तिर्न सुन खोज्न नदी किनारतर्फ हिँडेको ५७ वर्षीय मेखलाल बोटेले जानकारी दिए । आर्थिक अवस्था कमजोर रहेका यहाँका अधिकांश बोटे दशैँ र तिहारमा मासु, नुन, तेल र छोराछोरीको लत्ता, कपडालगायत साहुसँग ऋण लिएर मनाउने गरेको उनले बताए । साहुको ऋण तिर्नका लागि नदी किनारमा बालुवा चालेर फेला परेको सुन बिक्री गरेर तिर्ने गरिएको छ । उनले भने, ‘दुई ठूला चाडपर्व मान्दा लागेको ऋण बालुवामा सुन खोजेर बिक्री गरेर साहुलाई तिर्ने पुरानो चलन रहिआएको छ ।’ क्रसर उद्योगले नदी किनारमा थुप्रिएका बालुवा उठाइदिँदा पछिल्लो समय सुन पाउन कठिन हुने भएकाले साहुको ऋण कसरी तिर्ने भन्ने चिन्ता पनि उत्तिकै रहेको त्यस क्षेत्रका बोटेहरू दुःखेसो पोख्छन् । सीमान्तकृत बोटे समुदायको बालुवामा सुन खोज्ने पुख्र्यौली पेसा भएकाले यस कार्यलाई निरन्तरता दिँदै आएका छन् । काम गर्न सक्नेहरू ओढ्ने ओछ्याउने र पकाउने भाँडाकुँडाका गुन्टाहरू कसेर नदी किनारमा नै पाल टाँगेर बसेर सुन खोज्ने कार्यमा लाग्ने अस्मिता बोटेले जानकारी दिए । काम गर्न नसक्ने बूढाबूढी र केटाकेटीलाई घरमा छाडेर जाने गर्दछन् । अधिकांश बोटे घरपरिवार गर्मी समयमा खेती गर्ने र हिउँद लागेपछि नदीमा सुन खोजेर जीविकोपार्जन गर्ने गर्दछन् । बोटेहरू कात्तिकदेखि वैशाखसम्म सुन खोज्न नदी किनार धाउने गर्दछन् । तनहुँका मादी, सेती नदीमा सुन पाउन छाडेपछि त्यस क्षेत्रका ४० घर बोटेमध्ये अधिकांश बोटे कालीगण्डकी, बूढीगण्डकी, मस्र्याङ्दी र त्रिशूलीको बालुवामा सुनका कण खोज्न किनारामा जाने गरेको अस्मिता बोटेले बताइन् । नदी किनारमा जाँदा सुन चाल्न प्रयोग गरिने डुड, पार्टी, चनौटोलगायतका सामान लिएर सुन खोज्न जाने गर्दछन् । कुमालटारी क्षेत्रमा पाखे बोटे र पानी बोटे गरी करिब ९० घरपरिवार बसोबास गर्दै आएका छन् । पाखे बोटेले माछा मारेर र पानी बोटेले बालुवामा सुन खोजेर गुजारा चलाउँदै आएको सोममाया बोटेले जानकारी दिइन् । बोटेहरू माछा मार्ने जाली पनि साथ लिएर जान्छन् । नदीकै किनारमा बस्ने, माछाको परिकार बनाएर खाने र सुन खोज्ने कार्यमा तल्लीन भएर लाग्ने उनले बताइन् ।
नाका नखुल्दा सतुवाको बजार शून्य, ताप्लेजुङका किसान निरास
ताप्लेजुङ । लामो समयदेखि बन्द चीनको सीमावर्ती टिप्ता नाका नखुल्दा बहुमूल्य जडीबुटी सतुवाको बजार शून्य जस्तै भएको छ । विगत चार वर्षदेखि बन्द नाका नखुल्दा सतुवाको निर्यात हुन सकेको छैन । ताप्लेजुङमा सङ्कलन भएको सतुवा चीन निर्यात हुँदै आएको थियो । विगत ६ वर्षदेखि व्यावसायिकरुपमा सतुवाको खेती गर्दै आएका फुङ्लिङ नगरपालिका १० का पूर्णहाङ लिम्बू नाका नखुल्दा निराश बनेका छन् । सात वर्ष अगाडि प्रतिकिलो २० हजार रुपैयाँमा खरिद बिक्री हुने सतुवा नाका नखुल्दा उचित मूल्य पाउन सकेको छैन । तत्कालीन समयमा सतुवा राम्रो मूल्यमा बिक्री हुन थालेपछि लिम्बूले वन जङ्गलमा मात्र पाइने सतुवाको व्यावसायिक खेती सुरु गरेका थिए । उनले जङ्गलबाट सतुवाको बिउ ल्याएर खेती सुरु गरेका थिए । उनले बिस्तारै सतुवाको बेर्ना उमार्नका लागि एक रोपनी जग्गामा टनेल लर्गाए । अहिले पनि टनेलबाट सतुवाको बेर्ना बिक्री गर्दै आएका छन् । प्रतिबोट १५ देखि ३० रुपैयाँ सम्म सतुवाको बेर्ना बिक्री गरिरहेका भएकाले लिम्बुले उत्पादन गरेको सतुवाको ताप्लेजुङको भिन्न स्थानमादेखि अन्य जिल्लामा समेत निर्यात गरिरहनु भएको छ । ‘सात वर्षअघि लगाएको सतुवाको बेर्नाबाट यतिबेला फल बिक्री गर्ने समय भएको छ तर फल निकालेको छैन’, लिम्बूले भने, ‘हामी नाका खुलेपछि राम्रो बजार मूल्य आउँछ भन्ने आशामा बसेका छौं ।’ एकपटक सतुवाको दानाबाट बेर्ना उमारेपछि दानाको आकार प्रत्येक वर्ष ठूलो हुँदै जाने भएकाले जुन समयमा पनि खनेर बिक्री गर्न सकिने उनको भनाइ छ । ‘एकपटक रोपिएको दाना कुहिन्न, प्रत्येक वर्ष आख्ला सर्दै जान्छ’, उनले भने । सात वर्षअघि रोपिएको सतुवा अहिले खन्ने हो भने ५० देखि ७० केजीसम्म आउने उनको भनाइ छ । तर बजार मूल्य राम्रो नभएकाले अहिले बारीमै रहेको लिम्बूले बताए । चार वर्षअघि रोजगारीका लागि विदेश जाने तयारीमा रहेका फक्ताङलुङ गाउँपालिका ६ का सन्तोष राई पनि सतुवा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि विदेश जाने योजना त्यागे । विदेश जाँदा लाग्ने खर्च सतुवामा लगानी गरी राईले व्यावसायिक खेती सुरु गरेका छन् । सतुवाको खेती गर्न सुरु गरेसँगै कोरोना महामारी फैलिएको र सोही कारण बन्द टिप्ता नाका हालसम्म खुल्न सकेको छैन । नाका नखुल्दा सतुवा जडीबुटीको बजार बजार शून्य जस्तै बनेको छ । ‘बजार शून्य छ । तैपनि आशा अझै बाँकी छ, कुनै दिन सतुवाले राम्रो बजार मूल्य पाउँछ भन्नेमा विश्वास छ’, राईले भने । डिभिजन वन कार्यालय ताप्लेजुङको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०६६र७७ मा दुई हजार दुई सय २० केजी सतुवा सङ्कलन भएको थियो । त्यसयता सतुवाको सङ्कलन भएको तथ्याङ्क नरहेको डिभिजन वन कार्यालयले जनाएको छ । ‘सतुवा चीनका व्यापारीले खरिद गर्छन्, ताप्लेजुङमा सङ्कलन हुने सतुवा टिप्ता नाका हुँदै चीनको रियु बजारसम्म पुग्छ’, फुङ्लिङ नगरपालिका ५ का सतुवा व्यापारी सविन बानियाँले भने, ‘कोरोना महामारीका कारण बन्द नाका नखुल्दा व्यापार शुन्य जस्तै बनेको छ ।’ स्थानीयका अनुसार सतुवाले धेरै किसिमका रोगको औषधि हो । पेट दुखेको, पखाला लाग्दा, बान्ता हुँदा र पेटको जुका पर्दा समेत औषधिका रुपमा यसको प्रयोग हुँदै आएको छ । यस्तै काटिएको घाउ, आन्द्रा निस्कने अल्काइन हुने, अपच हुने, कमजोरी र रिँगटा लाग्ने रोगको समेत उपचारमा सतुवाको प्रयोग हुँदै आएको छ । रासस
फिलिपिन्स आँधीमा मृत्यु हुनेको संख्या ९८ पुग्यो
मनिला । फिलिपिन्समा पाएङ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार आँधीमा परी ६९ जना घाइते भएका छन् भने ६३ जना बेपत्ता भएका छन् । आँधीका कारण राजधानी मेट्रो मनिलासहित १७ क्षेत्रका ३१,९४२ गाउँका १८ लाख १२ हजार सात सय ४० जना प्रभावित भएका मनिला टाइम्सले जनाएको छ । कम्तीमा एक लाख १३ हजार चार सय आठ हेक्टर कृषि क्षेत्र प्रभावित भएको छ भने ११ हजार ७६१ मेट्रिक टन उत्पादनमा नोक्सानी भएको छ । आठ हजार छ सय आठ किसान र माछुवारा प्रभावित भएका छन् । मिमारोपा, विकोल क्षेत्र, पश्चिमी भिसायास, जाम्बोनागा प्रायद्वीप, दक्षिणी कोटाबाटो, सुल्तान कुदारत, साराङगानी र सान्तोस शहर अधिक प्रभावित भएका छन् । यी स्थानका धान, मकैका साथै अन्य बालीमा क्षति भएको छ ।
कात्तिक १७ देखि मंसिर १ गतेसम्म जुलुस, आमसभा र कोणसभा गर्न मिल्ने
काठमाडौं । आसन्न निर्वाचनमा उम्मेदवारहरुले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाउने स्पष्ट पारेको छ । मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम जुलुस, आमसभा तथा कोणसभा गर्न पाउने स्पष्ट पारेको हो । आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ । उक्त दफा १३ (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिनअघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ । आचारसंहिताबमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत् मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्नुपर्नेछ । आचारसंहिताबमोजिम दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न सकिनेछ । यस्तै कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्न गराउन नहुने, उम्मेदवार तथा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने र कुनै साम्प्रदायिक विद्वेष फैलाउने गरी प्रचारप्रसार गर्न वा मत माग्न नहुने प्रावधान आचारसंहितामा रहेका सम्बन्धमा पनि आयोगले स्मरण गराएको छ । आचारसंहिताको प्रभावकारी कार्यान्वयन भए/नभएका सम्बन्धमा निर्वाचन आयोग र जिल्ला आचारसंहिता अनुगमन समितिबाट भएको अनुगमन, उल्लङ्घनका घटनाबारे प्राप्त उजुरी तथा जानकारीका आधारमा स्पष्टीकरण सोध्ने र जवाफ आउनेक्रम जारी छ । आचारसंहिताको प्रतिकूल हुने गरी कुनै पनि गतिविधि नगर्न आयोगले राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षसँग आग्रहसमेत गर्दै आएको छ ।
मूल्य नपाउँदा दूधको उत्पादन घटाउँदै बागलुङका किसान
बागलुङ । गोठमा उन्नत जातका दश वटा गाई छन् । बिहानबेलुका दानापानी र दिउँसोको समयमा पर्याप्त घाँस दिनसके माउ गाईले दिनमा दुई पटकको दरले चारदेखि छ लिटर दूध दिन्छन् । सहकारीमार्फत् दूध बिक्री हुने भएकाले बजारको समस्या त किसानलाई छैन् तर मूल्य वृद्धिको मारले थिचेको छ । दुईवर्ष पहिले ४० लिटरसम्म दूध बेचेका बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका विकास पौडेललाई आजभोलि गाईलाई दानापानी दिनै मन लाग्दैन् । दानापानीको भरमा घटबढ हुने दूध धेरै उत्पादन गर्दा पनि मूल्य उठ्दैन् । बजार मूल्य र किसानले पाउँने दूधको मूल्यमा आधाभन्दा फरक छ । विकासले सरदरमा एक लिटर दूधको ५३ देखि ५५ रुपैयाँ पार्छन् । तर त्यही दूध बजारमा एक सय २० रुपैयाँमा बिक्री हुन्छ । दुईवर्ष पहिले दूधको मूल्य ५० रुपैयाँसम्म पथ्र्यो र पनि किसानको दुःख उठ्थ्यो । अहिले बजारमा महँङगिएको दाना चोकरको मूल्य जस्तै दूधको मूल्य नबढेका कारण किसान पशुपालनमा निरुत्साहित हुन थालेका हुन् । यो समस्या विकासको मात्रै होइन, कुश्मीशेराका अन्य किसानको पनि समस्या हो । जसको असर दुई वर्ष पहिले दैनिक चार सय लिटर दूध उत्पादन गर्ने जैमिनी दुग्ध उत्पादक सहकारी संस्थामा परेको छ । अहिले सहकारीले दिनमा दुई सय ५० लिटर दूध मात्रै उत्पादन हुन्छ । ‘बिक्री भएको दूधको पैसासमेत समयमा नआउने समस्या छ, दाना चोकर समयमा पुर्याउनै कठिन हुने’, पौडेलले भने ‘व्यावसायिक गाई पालेर पनि आम्दानी गर्न सकिन्छ तर महँगी र दूधको मूल्य वृद्धि समान हिसाबले हुनुपर्छ ।’ वैदेशिक रोजगारीबाट फर्किएर उत्साहका साथ गाईपालनमा सहभागी भएका विकाससँगै सोही गाउँका गुरुप्रसाद, बाबुराम शर्मालगायतका युवाले पछिल्लो समय व्यावसायिक रुपमा पालिएका गाईको सङ्ख्या घटाउने र अन्य व्यवसायको खोजी गर्न थालेका छन् । ‘बिहान तीन लिटर दिएको गाईले बेलुका पनि त्यतिनै दिन्छ, दाना चोकर प्रशस्त दिए त्यही गाईको दूध पाँच लिटर आउँथ्यो’, पौडेलले भने ‘दुई वर्ष पहिले एक हजार छ सय पर्ने दानाको बोरा अहिले दुई हजार दुई सय भएको छ ।’ महँगीको मार थेग्न नसकेका कारण आफूहरुले उत्पादन घटाउनु परेको उनीहरुको भनाइ छ । किसानले तीन वर्षको अन्तरमा बढेको दूधको मूल्यबाट आशा राखेका थिए तर दूधको मूल्य नबढ्दै बढेको दाना चोकरको मूल्यले किसानको आशा निराशामा परिणत भएको छ । ‘दूधको मूल्य बढाउने विषयमा अन्य उपायको पनि खोजी गर्नुपर्छ भन्ने लागेको छ’, कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्था बागलुङ नगरपालिका, १२ का सचिव रुद्रनाथ शर्माले भने,‘उपभोक्ता र उत्पादक किसानबीचको अन्तर घटाउँदा दूधको मूल्य किसानले पाउँछन् ।’ बिचौलिया र ढुवानीका खर्चका कारणले पनि किसानले दूधको उचित मूल्य पाउँदैनन् । बगलुङको दक्षिण क्षेत्रमा उत्पादन भएको अधिकांश दूध जिल्ला बाहिर निर्यात हुने गरेको छ । छिमेकी जिल्ला पर्वतको सदरमुकाम कुश्मा बजार र पोखरा बजारमा यहाँको दूध बिक्री हुन्छ । टाढाटाढा ढुवानी गरेर दूध पुर्याउँदा खर्च बढ्ने गरेको छ । हिउँदको समयमाभन्दा किसानले वर्षाको समयमा मूल्यमा थप मार व्यहोर्ने गरेका छन् । भेटेरीनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्र बागलुङका अनुसार बागलुङ दूधमा आत्मनिर्भर जिल्ला हो । तर पछिल्लो समय बढ्दो बसाइँसराइ, व्यावसायिक किसानमा आएको वितृष्णा, बजार मूल्यमा हुने घटबढ र पशुधनमा हुने क्षतिका कारण उत्पादन घट्ने चिन्ता बढ्न थालेको छ । रासस
अन्तर्राष्ट्रिय चार्टर्ड उडान भैरहवाबाट अनिवार्य गर्नुपर्ने
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएका अन्तर्राष्ट्रिय चार्टर्ड उडान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्नुपर्ने निर्णय गरेको छ । गएको जेठ २ गतेदेखि विधिवत्रुपमा सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा प्रयोगमा ल्याउन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएका चार्टर्ड उडान अब भैरहवाबाट गर्नुपर्ने निर्णय गरेको महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । उनका अनुसार कूटनीतिक चार्टर्ड उडान, कार्गो उडान र सेनाका उडान भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुने भएका छन् । प्राधिकरणले यही कात्तिक १३ गतेदेखि लागू गरेको हिउँदे उडान तालिकाअनुसार चार्टर्ड उडानसँगै काठमाडौंबाट हुँदै आएका हरेक तीन उडानमा एक उडानसमेत भैरहवाबाटै हुने भएका छन् । विदेशबाट आउने चार्टर्ड उडानलाई भने यसअघि नै भैरहवा अवतरण गराउन थालिसकिएको छ । प्राधिकरणले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्ससहित तीन विदेशी हवाई कम्पनीलाई हिउँदे उडान तालिका अनुसार गौतमबुद्ध विमानस्थलमा दैनिक एक उडान गर्न निर्देशन दिएको छ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, एयर अरेबिया, कतार एयरवेज, फ्लाई दुबईले दैनिक तीनभन्दा बढी उडान गरिरहेका छन् भने भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले मात्र हप्ताको तीन उडान गरिरहेको छ ।
सुनसरी, मोरङ र झापामा प्राधिकरणले उच्च क्षमताका विद्युत प्रसारण लाइन बनाउने
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले देशभित्र उत्पादित विद्युत आन्तरिक रुपमै खपत गर्नका लागि प्रसारण तथा वितरण प्रणालीलाई थप विस्तार र सुदृढ गर्ने भएको छ । देशभित्र खपत गरी बढी भएको विद्युत भारत र बंगलादेशमा निर्यात गर्न प्राधिकरणले थप प्रसारण पूर्वाधार विस्तार गर्ने भएकाे हाे । यस अन्तर्गत विद्युत खपत बृद्धिको सम्भावना रहेका प्रदेश नं १ अन्तर्गतका सुनसरी, मोरङ र झापा जिल्लालाई लक्षित गरी प्राधिकरणले उच्च क्षमताका विद्युत प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना बनाउने जनाएकाे छ । साथै, भारत र बंगलादेशमा विद्युत निर्यातका लागि थप प्रसारण लाइन पूर्वाधारको निर्माण गर्ने प्राधिकरणले जनाएकाे छ । प्राधिकरणले मुलुकमा उत्पादित विद्युत आन्तरिक रुपमै खपत बढाउन अल्पकालीन, र दीर्घकालीन योजनासहित प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण तथा पूर्वाधार विस्तारलाई अभियानकै रुपमा चलाइरहेको छ । सञ्चालनमा रहेका पूर्वाधारहरुको स्तरोन्नति गर्ने प्राधिकरणको कार्यक्रम रहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ सम्मिलित उच्चस्तरीय टोलीले शनिबार र आइतबार विद्युत खपत बढाउन तथा निर्यातका लागि सुनसरी, मोरङ र झापामा आवश्यक पर्ने पूर्वाधारका विषयमा स्थलगत अवलोकन भ्रमण गरी जानकारी लिइसकेकाे छ । टोलीले भारतको पश्चिम बंगाल राज्यबीच अन्तरदेशीय विद्युत प्रसारण लाइन निर्माणको सम्भावना, बंगलादेशतर्फ विद्युत निर्यातका सबैभन्दा छोटो रुट, प्रसारण लाइन तथा सबस्टेसन निर्माणका लागि उपयुक्त स्थान लगायतको पहिचाहन गर्न स्थलगत अध्ययन गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत आपूर्तिलाई भरपर्दो तथा विश्वसनीय बनाउन र बस्ती बिस्तार तथा औद्योगिक करिडोर स्थापनाको सम्भावना भएका ठाउँहरुलाई लक्षित गरी प्रसारण तथा वितरण पूर्वाधार विस्तार गर्न लागिएको बताए । ‘दीर्घकालीन रुपमा भारत र बंगलादेशतर्फ विद्युत निर्यातका लागि भारतको सिलिगुढी, पूर्णिया र किशनगञ्ज विन्दुहरु नजिक पर्ने देखिएको छ, त्यसैले ४०० केभीको इनरुवा सबस्टेसनबाट हुलाकी राजमार्गको आसपास हुँदै ४०० केभी प्रसारण लाइन निर्माण गरी झापाको अनारमनी क्षेत्रमा ४०० केभी सबस्टेसन बनाएर प्रसारण सञ्जाल विस्तार गर्नु पर्ने देखिएको छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘यो लाइन अत्यावश्यक छ, यसबाट त्यस क्षेत्रको विद्युत आपूर्ति भरपर्दो र विश्वसनीय भई खपत बढ्ने छ भने भारत र बंगलादेशमा विद्युत निर्यातका लागि थप प्रसारण सञ्जाल तयार हुने छ ।’ घिसिङ नेतृत्वको टोलीले पावर ग्रिड भारतको पश्चिम बंगलाको सिलिगुढी स्थिति ४००/२२० केभी विनागुढी सबस्टेसनको भ्रमण गरी विद्युत आयात निर्यातको जानकारी लिएको थियो । सबस्टेसनमा भुटानको ताला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत जोडिएको छ ।
छठ हेर्न गएका बालकको छुरा प्रहार गरी हत्या
झापा । झापाको दमकका एक बालकको छठ पूजास्थलमा छुरा प्रहारबाट ज्यान गएको छ । मोरङको उर्लाबारी– ७ स्थित मावा खोलामा आयोजित छठ पूजास्थलमा आइतबार साँझ छुरा प्रहारबाट झापा दमक–१० बस्ने १४ वर्षीय दिवस श्रेष्ठको ज्यान गएको हो । हत्यामा संलग्नको खोजीका लागि प्रहरी परिचालन गरिसकेको र केही शङ्कास्पदको नाम प्राप्त भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन थापाले बताए । छुरा प्रहारबाट घाइते श्रेष्ठलाई उर्लाबारीस्थित गोदावरी हस्पिटल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि झापाको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा उनको मृत्यु भएको हो । त्यस्तै सिटी सफारी दुर्घटनामा दमक–५ का रणबहादुर खड्काको मृत्यु भएको छ । आइतबार बेलुकी ७ बजे शिवसताक्षी– १ धरमपुरका कुशल लिम्बूको घरमा मे१ह ७२६० नम्बरको सिटी सफारीमा दमकबाट फर्निचरको सामान लिएर पुगेका खड्काले सामान झार्र्ने क्रममा एक्कासी सिटी सफारी गुडेर सफारी चालक खड्कालाई किचेको थियो । सिटीले किचेर बेहोस भएका ४८ वर्षीय खड्काको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारका क्रममा राति नै मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । रासस