४१ वर्ष पुरानो गण्डक जलविद्युत केन्द्र पुनर्स्थापना गरिने, ४२ करोड खर्च लाग्ने अनुमान
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नपलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर गाउँपालिका–७ सूर्यपुरास्थिति १५ मेगावाट जडित क्षमताको गण्डक जलविद्युत केन्द्रको पुनर्स्थापना र आधुनिकरण गर्ने भएको छ । विद्युतगृहका टर्बाइन, ब्रेकर, गभर्नर जस्ता इलेक्ट्रोमेकानिकल उपकरणहरु पुराना र जीर्ण बनेर चल्न नसके अवस्थामा पुगेपछि प्राधिकरणले पुरानो प्रविधिका उपकरणहरुको स्थानमा नयाँ जडान गरी केन्द्रलाई पुनर्स्थापना र आधुनिकरण गर्न लागिएको हो । विद्युत केन्द्र परिसरमा रहेका अधिकांश भवन र संरचनासमेत जीर्ण बनेका छन् । नेपाल र भारत सरकारबीचको गण्डक सिंचाइ तथा जलविद्युत आयोजना सम्झौता बमोजिम निर्माण गरिएको जलविद्युत केन्द्रबाट १९७९ को अप्रिलबाट विद्युत उत्पादन सुरु भएको थियो । भारत सरकारबाट गण्डक सम्झौता बमोजिम नेपाललाई जलविद्युतगृह ३१ अगष्ट १९८१ मा हस्तान्तरण गरिएको थियो । एनइए इन्जिनियरिङ कम्पनीले गण्डक जलविद्युतगृहको पुनस्र्थापना र आधुनिकरणको विस्तृत डिजाइन, लागत अनुमान तयार गरी प्राधिकरणमा पेश गरिसकेको छ । जलविद्युत केन्द्रको पुनस्र्थापना र आधुनिकरणका लागि करिब ४२ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । विद्युतगृहमा ५/५ मेगावाटका तीन वटा युनिट रहेका छन् । त्यसमध्ये २ वटा चल्ने अवस्थामा छन् भने एउटा युनिट बिग्रिएर लामो समयदेखि चल्न सकेको छैन । चालू अवस्थामा रहेका युनिटका उपकरणहरु पुराना भएकोले फेर्नु पर्ने अवस्थामा छन् । दुई देशबीचको गण्डक सम्झौता बमोजिम गण्डक बाँध सञ्चालनको सम्पूर्ण अधिकार भारतमा निहीत रहेकोले भारतले नहरमा पानी छोडेका आधारमा विद्युतगृह सञ्चालन हुन्छ । जसले गर्दा विद्युतगृहलाई सजिलोसँग निरन्तर रुपमा वर्षैभरी सञ्चालन चुनौतीपूर्ण छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले स्थलगत अनुगमन भ्रमण गरी जलविद्युत केन्द्रको अवस्थाका बारेमा जानकारी लिएको छ । कार्यकारी निर्देशक घिसिङले ४१÷४२ वर्षअघि निर्माण भएको विद्युत केन्द्रका उपकरणहरु पुरानो भई चल्न नसक्ने अवस्थामा पुगेका र केन्द्र आफैं पनि जीर्ण बनेकोले पुनस्र्थापना तथा आधुनीकरणका लागि छिट्टै टेण्डर गर्न लागिएको बताए । ‘मर्मतसम्भार र निरीक्षण भन्दै भारतीय पक्षबाट हरेक साल अक्टोबर–नोभेम्बर र मार्च–अप्रिलमा गरी झण्डै चार महिना नहर बन्द गर्ने गरिएको छ, नहर बन्द गरिएपछि पानी उपलब्ध नहुँदा विद्युतगृह सञ्चालन गर्न सकिंदैन, चार महिना विद्युत उत्पादन बन्द हुँदा हामीले दैनिक रुपमा लाखौं रुपैयाँ आम्दानी गुमाउँछौं’, उनले भने, ‘उपकरणहरु पुरानो भएकोले पानी उपलब्ध हुँदासमेत विद्युत केन्द्र पूर्ण क्षमतामा चल्न सकिरहेको छैन त्यसैले यसको पुनस्र्थापना र आधुनिकरण गर्न लागिएको हो ।’ नेपाल–भारत सीमाको बिहार राज्यको बाल्मिकी नगरमा नारायणी नदीमा बाँध बनाइएको छ । उक्त बाँधबाट गण्डक मुख्य पूर्वी र पश्चिम दुई वटा नहर निर्माण गरी भारतर्फ सिंचाइका लागि नारायणी नदीको पानी लगिएको छ । भारतको उत्तर प्रदेश राज्यमा सिंचाइका लागि निर्माण गरिएको गण्डक मुख्य पश्चिम नहरबाट विद्युतगृह सञ्चालनका लागि पानी उपलब्ध हुन्छ । बाँधबाट झण्डै १८ किलोमिटर तल्लो तटीय क्षेत्रमा विद्युतगृह रहेको छ । बिहार राज्यको जलसंसाधन विभागले गण्डक बाँधको सञ्चालन र मर्मत सम्भार गर्दै आएकोले उसकै नियमनमा बाँध सञ्चालन हुन्छ । विभागले आफ्नो राज्यको आवश्यकता अनुसार बाँधका ढोका खोली पानी लैजाने हुँदा सोही बमोजिम गण्डक जलविद्युत केन्द्रबाट विद्युत उत्पादन हुँदै आएको छ । जाडो मौसममा सिंचाइका लागि पानी नचाहिने भएकोले हरेक वर्ष विभागबाट मर्मतसम्भार तथा निरीक्षणका नाममा नहर बन्द गरिदिंदा उक्त समयमा विद्युत उत्पादन गर्न नसकिएको गण्डक जलविद्युत केन्द्र प्रमुख सुनील कुमार चतुर्वेदीले बताए । ‘हरेक वर्ष नहरको मर्मत गरिने भनिएको हुन्छ, तर हामीले हेर्दा मर्मतको काम भएको देखिंदैन, हरेक साल करिब ४ महिना नहर बन्द हुँदा विद्युत उत्पादन गर्न सकिंदैन’, चतुर्वेदीले भने, ‘हरेक वर्ष नहरको मर्मत आवश्यकता पर्दैन, यसबारे पटक–पटक विभागका अधिकारीहरुसँग छलफल गरिएको छ तर कुनै निश्कर्ष निकाल्न सकिएको छैन ।’ उत्पादित विद्युत गण्डक विद्युत केन्द्रको परिसरमा रहेको १३२ केभी गण्डक सबस्टेसनबाट १३२ केभी प्रसारण लाइनमार्फत बर्दघाट सबस्टेसन र भारतको रामनगरतर्फ प्रवाह गर्न सकिन्छ । प्राधिकरणले आवश्यक परेकोमा वेला रामनगर सबस्टेसनबाट करिब ४० मेगावाट विद्युत गण्डक हुँदै आयात गर्ने गरेको छ । प्राधिकरणले गण्डकमा रहेको १३२/३३ केभी सबस्टेसनबाट परासीसम्म २७ किलोमिटर ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरी परासी क्षेत्रमा विद्युत आपूर्ति दिइरहेको छ । गण्डकको खाली जग्गामा सौर्य विद्युत नेपाल विद्युत प्राधिकरणले नपलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर गाउँपालिका–७ सूर्यपुरा स्थिति गण्डक जलविद्युत केन्द्रको गण्डक जलविद्युत केन्द्रको स्वामित्वको खाली जग्गामा करिब ६ मेगावाट जडित क्षमताको सौर्य विद्युत आयोजना निर्माण गर्ने भएको छ । केन्द्रको स्वामित्वमा रहेको करिब ३४ बिघा जग्गामध्ये ९।७ बिघा जग्गामा सौयै विद्युत आयोजना निर्माण गरिने छ । गण्डकसहित लमजुङ स्थित मध्यमस्र्याङ्दी र सुर्खेतस्थित झुप्राखोला साना जलविद्युत केन्द्रको स्वामित्वको जग्गामा गरी करिब ९ मेगावाटको सौर्य विद्युत आयोजना निर्माण गरिने छ । आयोजनाको अनुमानित लागत एक करोड १५ लाख युरो रहेको छ । आयोजना निर्माणका लागि जर्मन सरकारद्धारा केएफडब्लू विकास बैंकमार्फत ६० लाख युरो अनुदान रकम प्राप्त हुने छ । अपुग रकम नेपाल सरकार र प्राधिकरणले बेर्होने छन् । मध्यमर्स्याङ्दी र झुप्राखोला जलविद्युत केन्द्रमा क्रमश : करिब १ र २ मेगावाटका सौर्य विद्युत राखिने छ । सोलार प्यानलमार्फत दिउँसो उत्पादित विद्युत सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ भने ब्याट्री राखिने छैन । एक वर्षभित्र ठेक्काट्टाका सम्पूर्ण प्रक्रिया पूरा गरी आयोजना निर्माण सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको प्राधिकरणका कायृकारी निर्देशक कुलमान घिसिङले बताए । आयोजनाको निर्माण २०८१ पुसभित्र सक्ने लक्ष्य राखिएको छ ।
नवलपरासीपूर्वमा आजदेखि मदिरा बिक्री गर्न निषेध
नवलपरासी । आगामी मङ्सिर ४ गते हुनलागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी आजदेखि नवलपरासीपूर्वमा मदिरा बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध लगाइएको छ । मदिरा बेचबिखन र सेवनका कारण समाजमा अप्रिय घटना घट्ने तथा निर्वाचन विरोधी गतिविधि हुन सक्ने सम्भावना देखिएकाले मदिरा बेचबिखन, ओसारपसार तथा सेवनमा निर्वाचन अवधिभर पूर्ण प्रतिबन्ध लगाइएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । ‘जिल्लाभरि मदिरा बिक्री र खुला रूपमा सेवन नगर्न/नगराउन सार्वजनिक सूचना जारी गरी निर्देशन दिएको हो’, प्रजिअ सुमन घिमिरेले भने, ‘निर्वाचनको समयमा राजनीतिक दलका कार्यकर्ताले मदिरा सेवन गरी होहल्ला गर्ने तथा शान्तिसुरक्षामा असर पर्ने भएकाले मदिरा बिक्रीवितरण तथा सेवनका लागि निर्वाचन अवधिसम्मका लागि प्रतिबन्ध लगाइएको छ ।’ निर्वाचनलाई लक्षित गरी मदिरा बेचबिखन, ओसारपसार तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाउने निर्णयलाई कार्यान्वयनका लागि जिल्लाभर रहेका सुरक्षा युनिटमा निर्देशन दिइसकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए । रासस
पढ्नलाई उमेरले छेकेन : दुई छोरी र एक छोरासँगै विद्यालय
दमौली । ‘पढाइजस्तो ठूलो केही रहेनछ, जीवनलाई पढाइ अति आवश्यक रहेछ’, तनहुँको व्यास नगरपालिका–१४ का ४२ वर्षीय विश्वबुढा परियारले भने, ‘जब मान्छे शिक्षित हुन्छ, तब घरको व्यवहारदेखि समाज र देश विकासमा टेवा पुग्छ ।’ व्यास–२ दमौलीस्थित बाल मन्दिर माविमा कक्षा ११ मा अध्ययन गरिरहेका परियारले विद्यालय छाडेको २५ वर्षपछि पुनः अध्ययनलाई निरन्तरता दिएका छन् । व्यास–१४ स्थित केशवटार माविमा कक्षा १ देखि ९ सम्म अध्ययन गरी पढाइ छाडेका बुढाले गत वर्ष सोही विद्यालयबाट एसइई उत्तीर्ण गरेका थिए । एसइईमा एक दशमलव छ जिपिए ल्याएका उनले हाल बाल मन्दिर माविबाट उच्च शिक्षा सुरुआत गरेका छन् । अझ रोचक त के भने परियारका दुई छोरी र एक छोरा पनि यही विद्यालयमा अध्ययनरत छन् । ठूलो छोरा १३ वर्षीय शिवशङ्कर बुढा परियार कक्षा ६ मा अध्ययनरत छन् । छोरी ११ वर्षीया पूर्णिमा परियार कक्षा ४ र अर्की छोरी नौ वर्षीया लक्ष्मी परियार कक्षा एलकेजीमा अध्ययनरत छन् । छोराछोरीसँगै एउटै विद्यालयमा अध्ययन गर्दा खुसी लाग्ने गरेको परियार बताउँछन् । ‘हामी त सबै एउटै विद्यालयमा पढ्छौँ, छोराछोरीसँगै एउटै विद्यालयमा अध्ययन गर्न पाउँदा खुसी लाग्छ’, परियारले भने, ‘सुरु–सुरुमा त केही अप्ठ्यारो महसुस हुन्थ्यो, अहिले त सबै विद्यार्थी साथी जस्तै भइसके ।’ परियारको कक्षामा ४२ विद्यार्थी छन् । सबै विद्यार्थी छोराछोरी जस्तै लाग्छन् । ‘उमेरका हिसाबले सबै छोराछोरी जस्तै लाग्छन्, अहिले त सबै मेरा साथी हुन्’, परियारले भने । सुरुमा विद्यालय जाँदा विद्यार्थीहरु खिस्स हाँस्ने गरेको उनले सुनाए । यसरी आयो पढ्ने सोच नेपाल कराते सङ्घ गोजो एकाइका प्रमुख प्रशिक्षक परियार केही वर्ष अगाडि स्वयम्सेवक प्रशिक्षकलाई अन्तर्वार्ता दिन गएका थिए । त्यतिबेला एसएसली उत्तीर्ण नगरेको भने पनि उनी छनोट भएका थिएनन् । त्यही बेला उनलाई एसएलसी उत्तीर्ण नगरेकामा हीनताबोध भयो र पढ्नुपर्छ भन्ने सोच जाग्यो । ‘खेलकुदबाट स्वयम्सेवक प्रशिक्षक खटाउने भनेर अन्तर्वार्ता दिन जाँदा एसएलसी उत्तीर्ण नहुँदा फालिएँ, त्यहाँबाट पढ्न पर्ने रहेछ भन्ने लाग्यो’, परियारले विगत सम्झँदै भने, ‘पढाइ जस्तो ठूलो केही पनि रहेनछ भन्ने अनुभूति भयो ।’ राजनीतिमा पनि आस्था रहेको र पछि गएर पढाइले केही समस्या हुन्छ भन्ने लागेर दुई वर्षअघि केशवटार माविमा कक्षा ९ मा भर्ना भएर अध्ययनलाई निरन्तरता दिएको परियारले बताए । केशवटार माविका तत्कालीन प्रधानाध्यापक दुर्गाबहादुर आलेले पढ्नुपर्छ भनेर प्रोत्साहन गर्ने गरेको परियार सम्झिन्छन् । ‘उनले सधैँ मलाई अध्ययनका लागि प्रोत्साहित गरिरहन्थ्यो, कक्षा ९ मा पुनः भर्ना हुने बेलामा पनि उनले मलाई सहयोग गरे’, परियारले भने, ‘पढ्नलाई उमेरले छेक्दैन, अध्ययन छाडेकाहरुलाई पनि पुनः अध्ययनलाई निरन्तरता दिनुस् भन्न चाहन्छु ।’ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँका वरिष्ठ उपाध्यक्ष, दलित सङ्घ तनहुँको सचिव, सांस्कृतिक सङ्घ तनहुँको सहकोषाध्यक्ष, संयुक्त दलित उत्थान मञ्चको वरिष्ठ उपाध्यक्ष, नेपाल कराते सङ्घ गोजो एकाइको प्रमुख प्रशिक्षक रहेका परियारले विद्यावारिधी गर्ने लक्ष्य रहेको बताए । ‘मेरो लक्ष्य विद्यावारिधी गर्ने लक्ष्य छ, बाँचुन्जेल पढेँ भने विद्यावारिधी गर्छु भन्ने आशा छ’, परियारले भने, ‘पढाइ भनेको जीवनलाई अति आवश्यक छ, इच्छा लाग्यो भने पढाइलाई उमेरले छेक्दैन, यत्तिको उमेरको मान्छे त आएर पढेको छ भनेर विद्यालयका बालबालिकामा पनि पढ्ने प्रोत्साहन जागेको छ ।’ परियारको पढ्ने इच्छाले पढाइलाई उमेरले छेक्दैन भन्ने प्रमाणित भएको बालमन्दिर माविका प्रधानाध्यापक राजेन्द्र खनालले बताए । ‘उनको पढ्ने आँट र साहस देखेर विद्यालयमा विद्यार्थीलाई प्रेरणा मिल्नाका साथै हौसला प्राप्त भएको छ’, खनालले भने, ‘हामीहरुले पनि उनलाई हौसला दिइरहेकाछौँ ।’ रासस
प्रधानमन्त्री बन्नका लागि चुनाव जित्नुको विकल्प मलाई छैन : गगनकुमार थापा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री बन्नका लागि संसदीय दलको नेता हुनुपर्ने भएकाले आसन्न निर्वाचनमा जित निकाल्नुको विकल्प नरहेको बताएका छन् । बुधवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा घरदैलो कार्यक्रममा सहभागी बनेका महामन्त्री थापाले आसन्न निर्वाचन जितेर पार्टीबाट संसदीय दलको नेताका लागि भिड्ने बताएका हुन् । उनले आफ्नो पहिलो लक्ष्य प्रतिनिधि सभा सदस्य र दोस्रो लक्ष्य भनेको पार्टीबाट संसदीय दलको नेतामा जितेर प्रधानमन्त्री भइ देशको विकास गर्नु रहेको बताए । महामन्त्री थापाले हरेक निर्वाचनमा आफूलाई जनता नै शक्ति हुन् भन्ने कुराले डर लाग्ने गरेको बताए । ‘यस अघिको चुनावमा धेरै स्थानमा उत्साह र सुभेक्षा देखिएपनि अहिले देशभरका विभिन्न स्थानमा चुनावप्रति आम मानिसको सुभेक्षा र उत्साह कम हुँदै गइरहेको छ, मेराे निर्वाचन क्षेत्रमा भने नेपालको राजनीतिक नेतृत्व परिवर्तनको निम्ति प्रयत्न गर्ने कुरामा आम नागरिकको साथ रहेको छ र त्यसलाई गर्ने पूरा गर्ने प्रतिवद्धता गर्दछु,’ उनले भने । निर्वाचन आयोगले उम्मेदवारहरुलाई सभा, गोष्ठी, सेमिनार लगायतका चुनावी प्रचारप्रसारको समय दिएसँगै अहिले देशभर राजनीतिक दल र उम्मेदवारहरु नागरिकको घरदैलोमा पुगेर भोट माग्न ब्यस्त छन् । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारहरुले नागरिकको घरघरमा पुगेर मत माग्ने क्रम जारी छ । निर्वाचन आयोगले मंसिर २ गतेसम्म उम्मेदवारहरुलाई भोट माग्नका लागि, गोष्ठी, सेमिनार, सभा गर्न समय उपलब्ध गराएको छ ।
गाउँमै स्वरोजगारको माध्यम बन्दै कुखुरापालन, मासिक ६० हजार नाफा
नवलपुर । आफ्नो ठाउँमा रोजगारको सम्भावना नदेखेर विदेसिनेहरुका लागि नवलपरासी बर्दघाट–सुस्तापूर्वका कृषक स्वेदशमै केही गर्न सकिन्न भन्ने गतिलो उदाहरण बनेका छन् । जिल्लाका विभिन्न क्षेत्रमा युवाहरुले स्थानीय जातका लोकल तथा ब्वायलर कुखुर पाल्दै गाउँमै सम्भावना भएको प्रमाणित गरेका छन् । गैँडाकोट नगरपालिका–८ का गोविन्द आचार्य बिहान उठेदेखि रातिसम्म कुखुराकै खोरमा समय बिताउँछन् । एक हजार पाँच सय स्थानीय जातका कुखुरा पालेका आचार्यले मासिकरुपमा खर्च कटाएर ६० हजार रुपैयाँ बचत हुने बताए । ‘परिवारसँगै रमाएर आफ्नै गाउँमा बसेर काम गर्नुको मज्जा नै छुट्टै छ’, आचार्यले भने, ‘विदेसिनेहरु सबैको राम्रो भएको पनि कहाँ छ र ? तर म यहीँ खुसी छु, रमाएर काम गरिरहेको छु ।’ कुखुराका लागि आवश्यक पर्ने दाना आफैँ उत्पादन गर्ने आचार्यलाई कुखुरापालनमा उहाँकी श्रीमती र परिवारको साथ मिलेको छ । कुखुरापालनमा लागेर पाँचजनाको परिवार सहजै पालिएको आचार्य बताउँछन् । ‘कुखुरापालन गर्ने समयमा केही गाह्रो भएको थियो बिस्तारै परिवारको साथ र अनुभवले कामलाई सहज बनायो र आम्दानी बढायो’, आचार्यले भने, ‘कुनै पनि काममा निरन्तरता दिँदै र मेहनत गरेमा सफलता मिल्ने रहेछ ।’ यहाँ लामो समय वैदेशिक रोजगारमा गएका स्थानीय पनि फर्किएर कुखुरापालन व्यवसायमा लागेका छन् । दश वर्षसम्म वैदेशिक रोजगारमा दुबई बस्नुभएका मध्यविन्दु–३ ब्रह्मस्थानका नन्दे गुरुङ अहिले गाउँमै स्वरोजगार बनेका छन् । दुई वर्षअघि दुबईबाट फर्किएर गुरुङ व्यावसायिकरुपमा कुखुरा, बाख्रा र बङ्गुरपालन सुरु गर्दै स्वरोजगार बनेका छन् । दुबईमा रहँदा मासिक एक लाखभन्दा बढी कमाई गर्ने उनी स्वेदशमै केही गर्ने चाहना बोकेर गाउँ फर्किएको बताउँछन् । ‘दुबईमा मेरो आम्दानी राम्रो थियो, ओभरटाइम गरेर त महिनामै एक लाखभन्दा बढी पैसा कमाउने गरेको थिएँ’, गुरुङले भने, ‘अहिले घरमै बसेर आफ्नै काम गर्दा पनि राम्रो कमाई भइरहेको छ ।’ उमेरले ५२ वसन्त पार गरेका गुरुङ घर फर्किएपछि विदेश जान मन नलागेको बताउँछन् । ‘यहीँ बसेर काम गर्दा घरपरिवारको हेरविचार गर्दै आफ्नै पेसाबाट राम्रो कमाई हुने भएपछि फेरि विदेश जान मन लागेन’, गुरुङले भने, ‘लकडाउनको समयमा कुखुरापालन व्यवसाय सुरु गर्दै कृषि कर्ममा होमिएँ, अहिले बाख्रा र बङ्गुर पनि थपेको छु ।’ पशुपन्छीपालनका लागि आफ्नै जग्गा प्रशस्त भएका कारण पनि उनलाई विदेश जान मन नलागेको अनुभव उनी सुनाउँछन् । ‘विदेश गएर अर्काको काम गरेर लाख कमाउनभन्दा आफ्नै घरमा परिवारसँग बसेर स्वरोजगार बन्नु ठूलो रहेछ’, गुरुङले भने, ‘विदेश गएर अर्काको ठाउँमा मेहनत गर्नुभन्दा स्वदेशमै पसिना बगाउँदा सुन फलाउन सकिन्छ जस्तो लाग्दैछ ।’ नन्दे गुरुङकै २५ वर्षीय छोरा उत्तम गुरुङ दुई वर्ष दुबई बसेर गाउँमै फर्किए । अरूको देशमा काम गर्नुभन्दा घरमै बसेर केही गर्ने बाबुछोराको सल्लाह भएपछि आफू पहिले गाउँ फर्किएको उत्तमको भनाइ छ । ‘अर्काको देशमा अरूले भनेकोअनुसार काम गर्नुपर्छ, केही काम बिग्रियो भने तबल पनि काट्छ अझै भएन भनेर गालीसमेत खानुपर्छ’, उत्तमले भने, ‘यहाँ हामी आफैँले फार्म सञ्चालन गरेका छौँ, बाबा र म मिलेर काम गर्छौं, धेरै सजिलो छ ।’ घरमा आएर सुरु गरेको व्यवसायबाट आफूहरु सन्तुष्ट रहेको उत्तमको भनाइ छ । ‘सुरुमा हामीले एउटा ठूलो खोर बनाएर पाँच सय ब्वायलर कुखुरा पाल्न सुरु गरेका थियौँ’, उनले भने, ‘अहिले दुई खोरमा गरी एक हजार पाँच सय जति ब्वायलर कुखुरा पालेका छौँ । कुखुरासँगसँगै बाख्रा र बङ्गुर पनि थपेका छौँ ।’ बाबुछोराले पालैपालो कुखुरा, बाख्रा र बङ्गुरको हेरचाह गर्ने गरेको उत्तमको भनाइ छ । आफ्नो फार्ममा उत्पादन भएका पशुपन्छी बिक्रीका लागि बजारको समस्या नरहेको उनीहरु बताउँछन् । ‘हामीलाई बजारको कुनै समस्या छैन’, उनले भने, ‘कुखुरा, खसीबोका तथा बङ्गुर खरिदका लागि व्यापारी घरमै आउने गरेका छन् ।’ पछिल्लो समय कुखुरालाई खुवाउने दाना महँगिएका कारण केही अप्ठ्यारो भएको गुरुङले गुनासो गरे । उत्पादन लागत बढेअनुसार बिक्री मूल्य नपाउँदा भने लगानी उठाउनै मुस्किल हुने गरेको गुरुङले दुःखेसो पोखे । जिल्लामा व्यवसाय दर्ता गरेर कुखुरापालन गर्ने कृषकको सङ्ख्या बढ्दै गइरहेको छ । थोरै समय र मेहनबाट पनि राम्रो आम्दानी हुँदा कृषक कुखुरापालन व्यवसायमा उत्साहित भएका छन् । सरकारले दिँदै आएको अनुदान असली व्यवसायीलाई दिन सकेको खण्डमा युवाहरुको विदेसिने क्रम घट्ने व्यवसायी बताउँछन् ।
तानसेन र अर्घाखाँचीले गरे साढे २१ करोडको सिमेन्ट निर्यात, भारतमा बजार खोज्दै
काठमाडौं । नेपालले तीन महिनामा साढे २१ करोड बढीको नेपाली सिमेन्ट निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तीन महिनाको तथ्यांक (गत साउनदेखि असोज मसान्तसम्म) अनुसार २१ करोड ५६ लाख ९० हजार रुपैयाँ बराबरको नेपाली सिमेन्ट भारत निर्यात भएको हो । तथ्यांक अनुसार उक्त अवधिमा ८ करोड ३३ लाख रुपैयाँ बराबरको क्लिंकर र १३ करोड ५४ लाख ६० हजार रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको हो । सरकारले चालू आर्थिक वर्षको बजेटमा निर्यातमा छुटको घोषणा गरेसँगै नेपाली दुई सिमेन्ट उद्योगले नेपाली ब्राण्डका सिमेन्ट भारतमा निर्यात सुरु गरेका छन् । गत असार २४ गतेदेखि पाल्पा सिमेन्टको ‘तानसेन’ ब्राण्ड र असोज ३१ गतेदेखि अर्घखाँची ब्राण्डको सिमेन्ट भारत निर्यात सुरु भएको हो । दुई सिमेन्ट तथा एक स्टील निर्यात गरेका व्यवसायीहरु भारतीय बजारमा नेपाली उत्पादनले बजार पाएको बताउँछन् । नियमित निर्यात पाल्पा र अर्घखाँची सिमेन्टरले भारतका विभिन्न सहरमा नेपाली सिमेन्ट निर्यात भैरहेको बताएका छन् । अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालक राजेश अग्रवाल ठूला चाडपर्वमा निर्यातमा केही सुस्तता आएतापनि हाल नियमित रुपमा निर्यात भैरहेको बताउँछन् । ‘ठूला चाडपर्वका कारण केही सुस्तता भयो, नयाँ सामग्री, नयाँ ब्राण्ड, नयाँ बजार भएपछि हामीसँगै ग्राहकले बुझन समेत केही समय लाग्छ, नयाँ स्थानमा पिकअप लिन केही समय लाग्यो’, उनले भने, ‘हामीले निरन्तर रुपमा नेपाली सिमेन्ट र रड निर्यात गरेका छौँ, विस्तारै बजार पाउँछ ।’ उनका अनुसार गत असोज ३१ गतेदेखि अर्घखाँची ब्राण्डको सिमेन्ट सात हजार बोरा सिमेन्ट निर्यात भैसकेको छ भने एक सय ५० टन रड निर्यात भैसकेको छ । कम्पनीले भारतको युपी सहरमा सिमेन्ट निर्यात गरेको जनाएको छ । कम्पनीले प्रतिबोरा २ सय ६५ रुपैयाँका दरले सिमेन्ट निर्यात गरेको हो । पाल्पा सिमेन्टले असार २४ गते, श्री स्टीलले साउन ४ गते तथा अर्घखाँची सिमन्टले गत असोज ३१ गतेदेखि नेपाली उत्पादन भारत निर्यातको सुरु गरेका हुन् । सरकारले सिमेन्ट, स्टील लगायत सामान निर्यातमा ८ प्रतिशत अनुदान र वार्षिक १० करोड बढीको विद्युत खपत गर्ने उद्योगलाई २ देखि १५ प्रतिशतसम्म महसुलमा छुट दिने घोषणा गरेको थियो । चालु आर्थिक वर्षको बजेटमार्फत् सो व्यवस्था गरेको थियो । त्यसका लागि कार्यविधि पनि बनिसकेको छ । तर, सञ्चालक अग्रवालले कार्यविधि बनेपनि सरकारसँग छुटको रकम नलिएको बताए । सिमेन्ट उत्पादक संघका उपाध्यक्ष ताराप्रसाद पोखरेल नेपाली सिमेन्ट नियमित रुपमा भारतका विभिन्न सहरमा निर्यात भैरहेको बताउँछन् । ‘सरकारले निर्यातमा छुटको घोषणा गरेपछि पाल्पा र अर्घखाँची सिमेन्टले निर्यात सुरु गरिसकेका छन्, उनीहरुले भारतका विभिन्न सहरमा नियमित रुपमा सिमेन्ट निर्यात गर्दै आएका छन्, दुई सिमेन्ट उद्योगसँगै अन्य उद्योगहरु निर्यातमा तयारीमा जुटेका छन्’, उनले भने । भारत सरकारबाट सिमेन्ट निर्यातमा गुणस्तर प्रमाणपत्रको पर्खाईमा धेरै सिमेन्ट उद्योग रहेको उनको भनाई छ । नेपाली सिमेन्ट उद्योगले भारत निर्यातका लागि भारत सरकारबाट गुणस्तर प्रमाणीत प्रमाणपत्र लिनुपर्नेछ । सिमेन्ट उत्पादक संघको तथ्यांक अनुसार नेपालमा ५० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन । तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्दै आएका छन । यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झण्डै २ करोड २० लाख टन जति रहेको अनुमान छ । उत्पादनको मात्रा हालको आन्तरिक मागभन्दा बढी जस्तो छ । सरकारले २०७२ को भूकम्पपछि पुनर्निर्माणका कामलाई तीव्रता दिँदा पछिल्ला केही वर्षमा सिमेन्ट उद्योगले तीव्र व्यापार गरे जस्तो थियो । विगत सात वर्षमा भूकम्पबाट क्षति भएका पाँच लाखभन्दा बढी निजी घर र हजारौं विद्यालय भवन, सम्पदा स्थल, स्वास्थ्य चौकी र अन्य संरचनाको पुनर्निर्माण गरिएको छ । निर्यात र विद्युत महसुलमा छुट पाउने भएपछि उद्योगीहरु उत्साहित भएका छन् । सरकारको उक्त छुटसँगै पाल्पा र अर्घाखाँची सिमेन्टपछि जगदम्बा, सर्वोत्तम र सौर्य लगायत सिमेन्ट उद्योग पनि निर्यातको तयारीमा छन् ।
प्रतितोला १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १ हजार ४०० रुपैयाँले र चाँदी ३० रुपैयाँले बढेको हो । आज बढेको मूल्य अनुसार छापावाल सुन प्रतितोला ९५ हजार ४ सय रुपैयाँ र चाँदी १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महांसघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
भृकुटीमण्डपमा जुत्ता चप्पल व्यापार मेला सुरु
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ‘जुत्ता चप्पल व्यापार प्रवद्र्धन मेला’ हुने भएको छ । नेपालमा उत्पादित जुत्ताचप्पललाई प्रवद्र्धन गर्नका लागि फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा कात्तिक २४ देखि आगामी पुस २ गतेसम्म मेला आयोजना हुन लागेको हो । मेलाका संयोजक एवं एशोसिएशनका पूर्वअध्यक्ष होमनाथ उपाध्यायले जाडो मौसमलाई लक्षित गरी आयोजना सुरु गर्न लागिएको जानकारी दिए । मेलामा जुत्ता चप्पल खरिद गर्दा १५ देखि ५० प्रतिशतसम्म सहुलियतको व्यवस्था गरिएको उनको भनाइ छ । तीन हजारभन्दा बढी मोडलका जुत्ता चप्पल एकैठाउँमा उपलब्ध गराइने भएकाले ग्राहकलाई जुत्ताचप्पल खरिद गर्न सहज हुने मेलाका सहसंयोजक जीवन श्रेष्ठले बताउनुभयो । मेला बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । मेलामा नेपालमा उत्पादित बिएफ डियरहिल सुज, रोयल सुज, रन सुज, कोशेली, फस्ट वाक, क्रस रोड, केटिएम, भिएनएस, स्टाइल सुजलगायत प्रदर्शनीमा राखिने छन् । उक्त मेलामा सयको चप्पलदेखि १० हजार रुपैयाँको जुत्तासम्म राखिने संयोजक उपाध्यायले बताए ।