तटस्थ भएर काम गर्न मतदान अधिकृतहरूलाई प्रमुख आयुक्तको निर्देशन
चितवन । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मंसिर ४ गते हुने निर्वाचनलाई निष्पक्ष बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन् । चितवनका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि भरतपुरमा आयोजित तालिमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले निर्वाचनमा कसैको प्रलोभन, डर, त्रास, धम्की वा अवरोधबाट माथि उठेर मतदाताले विवेकको मत हाल्न पाउने वातावरण सिर्जनाका लागि प्राप्त जिम्मेवारीलाई तटस्थ, इमानदार र निष्पक्ष भएर गहनरूपमा महसुस गरेर काम गर्न निर्देशन दिए । मतदाताको सार्वभौम मतको उपयोगलाई सहजरूपमा गर्न दिने र गलत व्यक्तिले मतदान गर्ने अवस्था आउन नदिने तथा मतदान केन्द्रलाई समावेशी, लैंगिक तथा अपांगमैत्री बनाउन मंसिर १ गतेसम्म सम्बन्धित केन्द्रमा पुगेर खट्न आग्रह गरे । कार्यक्रममा चितवनका मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, जिल्ला निर्वाचन अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
सुर्खेतमा मदिराजन्य पदार्थ बिक्री वितरणमा पूर्ण रोक
सुर्खेत । सुर्खेत जिल्ला प्रशासन कार्यालयले मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्यलाई पूर्ण रोक लगाएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि मङ्सिर ४ गते हुने निर्वाचनको प्रचार–प्रसार कार्य तीव्ररुपमा बढेकाले यसलाई स्वच्छ, निष्पक्ष, मर्यादित, भयरहित र शान्तिपूर्ण तवरबाट सम्पन्न गर्ने ध्येयले शुक्रबारदेखि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा पूर्ण रोक लगाइएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । ‘निर्वाचन मतपरिणाम घोषणा नभएसम्म यस जिल्लामा मेला, पर्व, जात्रा, महोत्सव, खेलकुद र अन्य मनोरञ्जनका क्रियाकलाप सञ्चालन गर्न दिइने छैन’, उनले भने, ‘मङ्सिर ४ गते मतदान हुनुभन्दा २४ घण्टा अगावै ग्यास सिलिण्डर, पाइप, सकेट, प्रेसरकुकर जस्ता विष्फोटनमा प्रयोग हुनसक्ने सामग्रीको ओसारपसार तथा बिक्री वितरणमा समेत रोक लगाउने निर्णय भएको छ ।’ उक्त निर्णयको पूर्ण परिपालना गर्न गर्न/गराउन जिल्लाका सबै राजनीतिक दल, उद्योगी, व्यापार व्यवसायी, आमसञ्चार माध्यम र सर्वसाधरणमा अनुरोध गरिएको प्रजिअ रिजालले बताए ।
आगामी निर्वाचनपछि गगन थापा प्रधानमन्त्री बन्छन् : अर्थविद् वाग्ले
काठमाडौं । अर्थविद् डा. स्वर्णिय वाग्लेले नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि प्रधानमन्त्री बन्ने दावी गरेका छन् । नेपाली काँग्रेसको निकट रहेर चुनावी प्रचारमा जुटेका अर्थविद् वाग्लेले मुलुकको प्रधानमन्त्री बन्नका लागि थापा सक्षम र तयार रहेको पनि पटकपटक दोहोर्याएका हुन् । शनिबार काठमाडौं क्षेत्र नम्बर ४ को एक कार्यक्रममा बोल्दै उनले थापालाई प्रधानमन्त्री बनाउनका लागि जिताएर पठाउन पनि स्थानीय मतदातालाई आह्वान गरे । अर्थविद् वाग्लेले थापासँग प्रधानमन्त्री बन्ने भिजन र सोही अनुसारको आफूहरुजस्ता विज्ञहरुको टिम रहेको समेत खुलासा गरे । थापाले कोभिड महामारीमा राजनेताको छवी बनाएको भन्दै उनलाई अगाडि बढाएर प्रधानमन्त्री बनाउन सके १० वर्ष भित्र मुलुकमा ठूलो परिवर्तन आउने विश्वास समेत व्यक्त गरे । अर्थविद् वाग्लेले थापाले ७ महिना स्वास्थ्यमन्त्री हुँदा मुलुकमा एकीकृत स्वास्थ्य नीतिको जग बसाएको र त्यसलाई कार्यान्वयन गरेर लैजादा हरेक नागरिकलाई विमाको माध्यामबाट स्वास्थ्य उपचार पाउने अवस्था रहेको पनि बताउनु । थापा आन्दोलनबाट आएको नेता भएको उल्लेख गर्दै उनले थापाकै नेतृत्वमा मुलुकको अवस्थामा पनि परिवर्तन गर्न सकिने बताए । अव पुराना पुस्ताका नेताहरुको योगदानको सम्मान गर्दै नयाँ नेतृत्वबाट मुलुकलाई अघि बढाउन सबै लाग्नुपर्ने अर्थविद् वाग्लेको भनाई थियो । उनले भने, ‘गगन थापा एउटा व्यक्ति । मैले संगठनको कुरा गरेँ । आर्थिक एजेण्डाका कुराहरु गरेँ । समन्यायिक समाज बनाउनका लागि पनि त्यो आर्थिक सामर्थ्य ठूलो हुुनुपर्छ भन्ने छ । यसपाली हामीले कोखदेखि शोकसम्म भनेर शिक्षा, स्वास्थ्यलगायत एकीकृत सामाजिक सुरक्षाको अवधारणाहरु पनि लिएर आएका छौं ।’ अर्थविद् वाग्लेले ०६२/६३ सालको आन्दोलनको नेतृत्व नै गगन थापाले थामेको बताए । ‘उनी आन्दोलनबाट खारिएका आएका नेता हुन । २०६२/०६३ को आन्दोलनमा गगन थापा, प्रदिप पौडेलहरुले नै विद्यार्थी आन्दोलनका थामेका हुन । काठमाडौंका सडकहरु तताएका हुन । त्यतिबेलाको आन्दोलनको अर्गमोर्चामा रहेर के का लागि भन्दाखेरी पहिला व्यवस्था परिवर्तन गरौं । त्यसपछि अवस्था परिवर्तन गर्नुपर्छ ।’ गगन थापामा देश हाँक्ने क्षमता भएको समेत उनले बताए । ‘एक दशक लगाएर एक थान संविधान बनेको छ । अहिले नै यसलाई कमजोर बनाउनेतिर हामी नलागौं । केही गुनासाहरु छन प्रदेश सरकारको हकमा । यो संविधान बोझिलो भयो’, उनले भने, ‘धान्न सकिन्छ किअव हामीले अवस्था परिवर्तनको एजेण्डाका लागि नयाँ खालको पुराना नेताहरुलाई ससम्मान विदाई गर्ने, उहाँहरुले जहाँसम्म नेपाललाई लिएर आएर छोडनु भएको छ । त्यसका निम्ति पनि धन्यवाद दिने र अवको नयाँ यात्रा चाँही नयाँ पुस्ताबाट नै ड्राइभ गर्ने खालको राजनीतिक प्रक्रियामा हामी गएका छौं । र, मलाई लाग्छ–गगन थापा, जो आन्दोलनबाट खारिएका व्यक्ति हुन ।’ थापाले बनाएको मास्टरप्लानमा नै मुलुक हिँडिरहेको समेत अर्थविद् वाग्लेको दावी छ । ‘उनी रेडी छन, उनी तयार छन । उनी क्वालिफाईड छन । यो कुरा उनले छोटो समयमा म योजना आयोगको सदस्य, उपाध्यक्ष हुँदाखेरी उनले यो मुलुकलाई युनिफाईड हेल्थ सिष्टममा कसरी बाँध्न सकिन्छ भन्ने बारे यति गहिरो होमवर्क गरे । उनले बनाएको माष्टर प्लानमै मुलुक हिँडीरहेको छ’, उनले भने । अर्थविद् वाग्लेले नयाँ पुस्ता नआई मुलुकलाई समुन्नत बनाउन सक्ने अवस्था नभएको कुरालाई सबैले मनन गरेर अघि बढनुपर्ने समेत बताए । उनले युवा पुस्ताको परिचालन गरेर मुलुकलाई समृद्ध बनाउन सकिने बताए । उनले मुलुक पछि पर्नुमा राजनीतिनै जिम्मेवार रहेको उल्लेख गर्दै त्यसलाई सुधार गर्दै लैजान पनि नयाँ पुस्ताले त्यसको नेतृत्व लिनुको विकल्प नरहेको बताए ।
पोखरा विश्वविद्यालमा बिएएलएलबी पढाई शुरु हुने
पोखरा । पोखरा विश्वविद्यालयले मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत स्नातक तहमा बिएएलएलबीको अध्यापन शुरु गरेको छ । एक समूहमा ४० जना भर्ना लिने गरी गरिएको दस सेमेष्टर प्रणालीको उक्त कार्यक्रम पाँच वर्ष अवधिको हुने र शिक्षण शुल्क करिब चार लाख रहेको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए। उनका अनुसार राजनीतिशास्त्र, समाजशास्त्र, इतिहास तथा कलाजस्ता विषयको एकीकृत अध्ययन गर्ने गरी निर्माण भएको बिएएलएलबीमा आफ्नो क्षमता अभिवृद्धि गर्न चाहने विद्यार्थीका लागि आकर्षणको विषय बनेको छ । यसले विद्यार्थीलाई कानुन व्यवसायी बन्न, कानूनी अध्ययनका लागि विष्लेषणात्मक एवं तार्किक सीप क्षमता अभिवृद्धि गर्न तथा आपराधिक वा वित्तीय मामिलामा पनि जागरूक बनाउने विश्वास लिइएको छ । यसको अध्ययनसँगै विद्यार्थी कर्पोरेट कानुन, कानुन फर्म, मध्यस्थता र वार्तालाप, अनुसन्धान, एकेडिमिक, पत्रकारिता, मिडिया वा मनोरञ्जनका क्षेत्रमा आफ्नो व्यक्तित्व विकास गर्न सबल हुन्छन् । यसमा अध्ययन गर्न चाहने विद्यार्थीले २०७९ मङ्सिर २१ गतेभित्र प्रवेश परीक्षाका लागि दरखास्त दिन सक्ने र प्रवेश परीक्षा मङ्सिर २३ गते हुने जनाइएको छ । यस कार्यक्रमको अध्ययन–अध्यापन विश्वविद्यालयको शैक्षिक प्राङ्गण, पोखरा–३०, ढुङ्गेपाटनमा सञ्चालन हुने ढकालले जानकारी दिए ।
क्रिप्टोमा लगानी जोखिम : एफटिएस ट्रेडिङ कम्पनीबाट १ बिलियन भन्दा धेरै फण्ड गाएब
एजेन्सी । एफटिएस ट्रेडिङमार्फत १ बिलियन डलर भन्दा धेरैको फण्ड गायब भएको छ । एफटिएक्स ट्रेडिङका संस्थापक सैम बैंकमैन फ्राइडले आफ्नै कम्पनी अल्मेडा रिसर्चमा ग्राहकको १० बिलियन डलर बराबरको फण्ड गोप्य रुपमा ट्रान्सफर गरेको रोयटर्समा लेखिएको छ । सोही क्रममा सो फण्ड गायब भएको बताइएको छ । सो फण्ड १ देखि २ बिलियन डलरको बीचमा हुनसक्ने अनुमान गरिएको छ । पछिल्लो बुधबार फ्राइडले आफ्ना अधिकारीहरुसँग सेयर गरेको सूचनाबाट उनको वित्तीय छलकपट बाहिर आएको हो । सो सूचना बाहिर ल्याउनेहरुले फ्राइडको कम्पनीको उच्च तहमा रहेर काम गर्ने गरेको बताइएको छ । रोयटर्ससँग टेक्स म्यासेजमा गरेको कुराकानीमा भने फ्राइडले गोप्य रुपमा आँफूले फण्ड ट्रान्सफर गरेको अस्विकार गरेको उल्लेख गरिएको छ । एफटिएक्स र अल्मेडाले भने सो विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।
नेपाली चलचित्र ‘सोल अफ द कमाण्डो’ को ट्रेलर सार्वजनिक
काठमाडौं । नेपाली चलचित्र ‘सोल अफ द कमाण्डो’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । खेलाडी राजकुमार राई अभिनित चलचित्र ‘सोल अफ द कमाण्डो’ यसअघि बेलायत र क्यानडामा प्रदर्शन भइसकेको छ । नेपालमा भने पहिलो पटक फिल्म प्रदर्शनमा आउन लागेको हो । नेपालका विभिन्न स्थानका साथै विदेशी भूमिमा समेत छायांकन गरिएको चलचित्र एक्शन जनारामा निर्माण गरिएको छ । युवराज राई (वीरबहादुर) द्वारा निर्देशित यो फिल्म रवि थापा, धन लिम्बू र मिलन राईले निर्माण गरेका हुन् । एक गोरखा आर्मीको संघर्षलाई फिल्मको कथावस्तु बनाइएको छ । फिल्मको प्रश्तुकर्ता विजया राई हुन् । फिल्ममा राजकुमार राई, कमला खापुङ लिम्बू, सेसुका राई, रवि थापा, मिलन राई, शिशिर वाङदेल, रुपेश झा, नरेन खडका, सर्मिला लिम्बू, सीमा राई, नरेन लिम्बू र पूर्ण लिम्बूले अभिनय गरेका छन् । कार्यक्रममा बोल्दै अभिनेता राजकुमार राईले फिल्ममा गोरखाली सेनाले उनीहरुको जीवनमा भोगेका पीडाहरुलाई देखाइएको बताए । उनले नेपालीहरुको कथावस्तुमा निर्माण भएका कारण पनि सबै नेपालीले चलचित्र हेर्नेमा आशावादी रहेको बताए । कार्यक्रममा अभिनेत्री सेसुका राईले क्यानडा र बेलायतमा फिल्म रिजिल भएपनि आफूले फिल्म हर्न नपाएको बताए । नेपाली चलचित्र ‘सोल अफ द कमाण्डो’ नेपालमा भने मंसिर २३ गतेबाट रिलिज हुनेछ ।
सगरमाथा पदमार्गमा बन्यो हिमालयन शेर्पा अस्पताल, अब पर्यटकलाई यात्रा सहज हुने
सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकाको सिरानमा छ विश्वकै सर्वोच्च हिमशिखर सगरमाथा । आठ हजार आठ सय ४८ दशमलव ८६ मिटर अग्लो हिमाल चुम्न तथा नजिकबाट नियाल्न दिनहुँ यहाँ आन्तरिक तथा बाह्य पर्यटकको घुइँँचो लाग्छ । सगरमाथासहितका अग्ला हिमाल पनि यहीँ छन् । हिमाल आरोहण र पदयात्रा गर्नेको सङ्ख्या बर्सेनी बढ्दै गएको छ । यसका लागि कोही लुक्लाबाट पैदल त कतिपय हेलिकप्टर प्रयोग गर्छन् । तर सबैजसोलाई बाटोभरि एउटै कुराको पीर रहन्छ, स्वास्थ्य अवस्था बिग्रिए तत्काल उपचार गर्न कहाँँ जाने ? उपचारको भरपर्दो व्यवस्था नहुँदा पर्यटकलाई निकै सकस हुने गरेको छ । स्थानीयलाई झनै सकस हुन्छ । पर्यटक र स्थानीयवासी उपचार अभावमा ज्यान गुमाउन बाध्य हुन्छन् । बिरामी भइहाले उनीहरु नाम्चे र लुक्लाको सामान्य अस्पतालको भर पर्दछन् । तर बिरामी घण्टौँ हिँड्नुपर्दा बाटोमै ज्यान गुमाएका अनेकन उदाहरण छन् । अब अवस्था फेरिएला जस्तो छ । यही सातादेखि खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङमा १५ शै्ययाको अस्पताल सञ्चालनमा आएको छ । यहाँ अस्पतालसँगै दक्ष चिकित्सकको व्यवस्था गरिएको छ । रु २० करोडको लगानीमा अस्पताल सञ्चालनमा आएको हो । लुक्ला र नाम्चेको बीचमा अवस्थित फाक्दिङमा तीन रोपनी क्षेत्रफलमा अस्पताल निर्माण गरिएको छ । अस्पतालमा ४० कोठा छन् । अस्पतालका मुख्य लगानीकर्ता हेली एभरेष्ट प्रालिका प्रबन्ध निर्देशक फुर्वा ग्याल्जेन शेर्पा रहेका छन् । उनी हिमालयन शेर्पा फाउण्डेशनको अध्यक्षसमेत हुन् । शेर्पाको होटल व्यवसाय पनि छ । बिरामीको अवस्था देखेर व्यवसायी शेर्पाको मन पोल्थ्यो । स्थानीयवासीको अवस्था दयनीय थियो । आर्थिक अवस्था एकदमै कमजोर । बिरामी पर्दा आन्तरिक तथा बाह्य पर्यटक बीच बाटोबाटै आफ्नो गन्तव्य त्याग्न बाध्य हुन्थे । यि सबै कुराले शेर्पा बेचैन भए । जसरी नि यो क्षेत्रमा एउटा अस्पताल बनाउनैपर्ने निष्कर्षमा उनी पुगे। ‘अस्पताल बनाउन सजिलो थिएन’, शेर्पाले भने, ‘मेरा सामु ठूलो चुनौती थियो, अन्ततः म सफल भए ।’ विसं २०७२ वैशाखमा गएको भूकम्पले सोलुखुम्बु पनि प्रभावित बन्यो । घर भत्किएपछि यहाँका सर्वसाधारण बिचल्लीमा परे । शेर्पा यस्तो अवस्था देखेर बेचैन भए । उनले सहयोग अभियान चलाए । स्वदेशी तथा विदेशी नागरिकले सहयोग गर्दा झण्डै डेढ करोड सङ्कलन भयो । उनी राहत सामग्री बाकेर गाउँ गाउँ पुगे । ‘साथीहरुले भूकम्प पीडितको अवस्था झल्किने तस्बिर सामाजिक सञ्जालमा राखेका रहेछन्, यसबाट मन पग्लेर विदेशमा रहेका स्थानीय तथा विदेशी नागरिकले सहयोगको इच्छा देखाए, उनले भने, ‘दैनिक रुपमा सहयोग रकम सङ्कलन हुँदै गयो ।’ रकम सङ्कलन हुँदै गएपछि शेर्पाको मन फाउण्डेशन स्थापनार्फ मोडियो । श्रीमती र छोरीको साथले उनले हिमालयन शेर्पा फाउण्डेशन स्थापना गरे । योसँगै शेर्पाले फाक्दिङमा भएको १५ रोपनी जग्गाा फाउण्डेशनका नाममा जोडे । त्यहीँ जग्गामा अस्पताल निर्माण गरिएको छ । ‘सुरुआतमा फाउण्डेशनको खातामा मैले दैनिनक १० डलर जम्मा गर्न थाले’ उनले भने, ‘पछि दैनिक एक सय डलरसम्म खातामा जम्मा गर्न सफल भए ।’ फउण्डेशनलाई विदेशमा रहेका नेपालीका साथै शेर्पासँँग जोडिएका सयौँ व्यक्तिले सहयोग गरे । यसरी सङ्कलन भएको रकमबाट सात वर्षअघि शेर्पाले तीन रोपनी क्षेत्रफलमा अस्पताल निर्माण थालेका हुन्। ‘जब म भूकम्पपछि राहत सामग्री लिएर गाउँगाउँ पुगे, सबैले यो ठाउँँमा अस्पताल बनाइदिन आग्रह गरे, उनले भने, ‘बिरामीको अवस्था देखेरै अस्पताल बनाउने अभियान थालेको हो ।’ हिमालयन शेर्पा अस्पतालको यही कात्तिक १९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । यही ठाउँमा शेर्पाले सात वर्षअघि स्थानीयको पीडा देखेर स्वास्थ्य क्लीनिकसमेत सञ्चालन गरेका थिए । उक्त क्लीनिकबाट स्थानीयले निःशुल्क उपचार पाएका थिए । ‘कोरोना महामारीका कारण अस्पताल बन्न ढिला भयो’, उनले भने। दुई हजार छ सय १० मिटर उचाइमा तीन महिनाअघि अस्पताल बनेको हो । सगरमथा पदमार्गको लुक्ला र नाम्चेमा अस्पताल छ । तर ती दुवै अस्पताल सुविधा सम्पन्न भने छैन । जटिल रोगका बिरामीले उपचार गर्न सक्ने अवस्था छैन । उपचारका लागि उनीहरु हेलिकप्टर चार्टर गरी काठमाडौँँ नै फर्किनुपर्ने अवस्था छ । ‘नेपाल घुम्न आउने पर्यटक बढीजसो मध्यम आर्थिक अवस्थाका हुन्छन्’, शेर्पा भन्छन्, ‘धेरै पैसा खर्च गर्न र पदयात्रामा ज्यानको जोखिम मोल्न उनीहरु चाहँदैनन् ।’ स्थानीय र आन्तरिक पर्यटकलाई त हेलिकप्टर चार्टर गरेर उपचार गर्न असम्भव जस्तै छ । ‘जेनतेन जोगाएको पैसोका भरमा घुम्न आइन्छ, हेलिकप्टर चढेर उपचार गराउन काठमाडौँ जाने कुरा त कल्पना गर्नै सकिन्न’, लुक्लामा भेटिएका जुम्लाका पदयात्री टङ्क महत भन्छन्, ‘अरु सबै कुरा ठीक छ, बिरामी परे उपचार गराउन धेरै समस्या रहेछ ।’ पदमार्गमा सामान्य औषधिसमेत पाउन नसकेको उनको गुनासो छ । सगरमाथा क्षेत्रमा पर्यटक भित्र्याउन सबैभन्दा पहिला सुविधासम्पन्न अस्पताल आवश्यक भएको महतको भनाइ छ । लुक्लादेखि फाकदिङ पुग्न पैदल चार घण्टा लाग्छ । बिरामीलाई लुक्ला अस्पताल पुग्न सातदेखि आठ घण्टासम्म लाग्छ । ‘उपचार गराउन लुक्ला गएका बिरामी बाटोमै मरेका धेरै घट्ना छन्’, हिमालयन शेर्पा फाउन्डेसनकी उपाध्यक्ष कान्छी फुटी शेर्पाले भने । डोकोमा बोकेर अस्पताल लैजानुपर्ने उनी बताउँछन् । खुम्बु पासाङल्हामु गाउँपालिका–३ मा ११ गाउँ छन् । गाउँँका सबैजसो पुरुष टे«किङमा जान्छन् । उनीहरु कोही भरिया, कतिपय गाइडको काम गर्छन् । महिला र बालबालिका घरमै हुन्छन् । बालबालिका बिरामी भए महिला आफैँले बोकेर अस्पताल लैजान्छन् । लुक्लाबाहेक उनीहरु उपचार गर्न जाने ठाउँ नाम्चे हो । त्यहाँ पनि उपचार गराउन सात आठ घण्टा हिँड्नुपर्छ । ‘सुत्केरीलाई उपचार गराउन बढी दुःख छ’, शेर्पा भन्छन्, ‘हेलिकप्टर चढेर अन्यत्र लैजान आर्थिक अभावले सम्भव नै हुन्न ।’ यहाँँको मुख्य खाना भनेको आलु र भात नै हो । अधिकांश मधुमेह, हृदयघात र रक्तचापबाट पीडित छन् । ‘बिरामी स्वास्थ्य जचाउन खाली पेट जानुपर्छ, यसरी घण्टौं हिंडेर जाँदा बाटोमै ज्यान जाने जोखिम हुन्छ’, उनले भने। यहाँका बासिन्दा सामान्य रोग लाग्दा सहेरै घरमा बस्न बाध्य हुन्छन् । हिमालयन शेर्पा अस्पतालले हाल १५ शै्ययाका लागि मात्र अनुमति पाएको छ । भविष्यमा शै्यया थप्ने योजना रहेको सञ्चालक शेर्पा बताउँछन् । ‘स्थानीयलाई निःशुल्क उपचारको व्यवस्था गरेको छु’, उनले भने। शेर्पा नेपाल पर्यटन बोर्डको सदस्यसमेत हुन्। उनले बोर्डमा हुँदा बजेट ल्याएर पर्यटक लक्षित विकासका काम गरे । विदेशी पर्यटकलाई हिमालमा पदयात्रा गर्न जाँदा, हिमाल आरोहणमा जाँदा धेरै समस्या हुने गरेकोप्रति उनी सधैँ सचेत छन् । ‘बिरामी भएका पर्यटकलाई फाक्दिङसम्म ल्याएर उपचार गरी पुनः आरोहण र पदयात्रामै फर्काउन चाहन्छु’, शेर्पाले भने, ‘उनीहरुलाई उद्धार गरेर काठमडौं पठाउने होइन् । यहीँँ उपचार गरी गन्तव्यमा पठाउन सके विश्वभर राम्रो सन्देश जान्छ ।’ पर्यटकले धेरै दुःख गरी पैसा बचत गरेर नेपाल घुम्न आएका हुन्छन् । उनीहरु गन्तव्यसम्म पुग्न नपाइ फर्किनु परे उनीहरुले चाहेको सपना पुरा हुन् सक्दैन् । यो कुरालाई ध्यानमा राख्दै अस्पताल निर्माण गरेको शेर्पा बताउँछन् । अस्पताल बनाउन जर्मनीका नागरिक डा मथेस बाउमेनले पाँच करोड तथा अन्य दाताबाट थप दुई करोड सहयोग प्राप्त भएको शेर्पाले जानकारी दिए। हाल अस्पतालमा एक चिकित्सकसहित तीन स्वास्थ्यकर्मी कार्यरत छन् । अस्पतालमा एक वर्षभित्र अक्सिजन प्लान्ट पनि सञ्चालनमा ल्याउने योजना छ । त्यसका लागि रु ५० लाखभन्दा बढी खर्च हुने बताइन्छ । राज्यको तर्फबाट यस क्षेत्रमा अस्पताल बनाउन चासो दिइएको छैन । तर शेर्पा भने, ‘सबैथोकका लागि राज्यका निकायमाथि निर्भर नरहन सबैलाई सुझाव दिनुहुन्छ । ‘हामी आँफैले केही गर्ने प्रयास गर्ने हो, किन सरकारमाथि नै निर्भर रहनु ?’ अस्पताल बनाउन सरकारी निकायले सहयोग नगरेको प्रति उनको गुनासो छैन । पर्यटन व्यवसायी शेर्पा परिवारले अन्य व्यावसायिक तथा सामाजिक कामसमेत गर्दै आएको छ । उनीहरुले यहाँ गुम्बा तथा विद्यालय आफ्नै खर्चमाा निर्माण गरेका छन् ।
अफगानिस्तानका जनता ‘विश्वकै सबैभन्दा जटिल’ भोकमरी सङ्कटमा
एजेन्सी । तालिबानले अफगानिस्तानमाथि कब्जा लिएदेखि नै अफगानिस्तानमा ‘विश्वकै सबैभन्दा ठूलो र गम्भीर भोकमरी’को सङ्कट देखिएको छ । संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले एक प्रतिवेदनमा अफगानिस्तानमा विश्वकै विकराल भोकमरीको समस्या रहेका जनाएको छ । एफएओले सन् २०२२ मा अफगानिस्तानमा थप खाद्य असुरक्षा बढेको जनाएको हो । खामा प्रेसका अनुसार लामो खडेरी, द्वन्द्व र राजनीतिक अस्थिरताका कारण भोकमरीको समस्याले दुई करोड २८ लाख मानिस प्रभावित भएका छन् । यो कूल जनसङ्ख्याको आधाभन्दा बढी हो । मार्च २०२२ सम्ममा अफगानिस्तानका जनताले विश्वको सबैभन्दा ठूलो र सबैभन्दा गम्भीर भोकमरी सङ्कटको सामना गरिरहेका छन् । लामो खडेरी, द्वन्द्व, राजनीतिक अस्थिरता र कोभिड–१९ का कारण जनसङ्ख्याको आधाभन्दा बढी अर्थात् दुई करोड २८ लाख मानिस प्रभावित भइरहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले सन् २०२२ मा तीव्र खाद्य असुरक्षामा तीव्र वृद्धिका साथै एशिया र प्रशान्त क्षेत्रको आर्थिक, वातावरणीय र विकासका मुद्दाहरूलाई पनि उजागर गरेको छ । यसबाहेक काबुलका बासिन्दाले देशमा आर्थिक सङ्कटका कारण खाद्यान्नको मूल्य बढेकोमा पनि चिन्ता व्यक्त गरेका छन् । काबुलका बासिन्दा रहमानुल्लाले भने, ‘खाद्यान्नको मूल्य बढेको छ । मानिसहरूले मासिक एक बोरा पीठो पनि किन्न पनि कठिनाई भइरहेको छ ।’ यसैबीच विश्व खाद्य कार्यक्रमले पनि अफगानिस्तानको आर्थिक सङ्कटबारे चिन्ता व्यक्त गरेको छ । भूकम्प र बाढीजस्ता अभूतपूर्व आर्थिक कठिनाइ र वातावरणीय विपत्तिको एक वर्षको सङ्घर्षपछि अफगानिस्तानका जनता अर्को कडा जाडोको सामना गर्न पहिलेभन्दा कम तयार रहेको डब्लुएफपीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । डब्लुएफपीको मूल्याङ्कनअनुसार १० घरधुरीमध्ये नौ घरधुरीले आफ्नो खाद्य आवश्यकता पूरा गर्न सक्दैनन् । ‘यो अफगानिस्तानका लागि तत्काल आवश्यकताको समय हो । चार दशक लामो द्वन्द्व, जलवायु सङ्कट, कोभिड–१९ र सामाजिक–आर्थिक सङकटका कारण विगत एक वर्षमा देशभरिका मानिसहरू रोजगारी र जीविकोपार्जनबाट बञ्चित भएका छन्’, अफगानिस्तानका लागि इयूका कार्यवाहक राजदूत रफाएला आयोडिसेले भने। ‘पहिले सहजरूपमा दुई छाक खान सक्षम मानिसहरूले अहिले अभावका कारण पेट भर्न संघर्ष गरिरहेका छन् र यस नयाँ वास्तविकतामा उनीहरूलाई स्थिर राख्न मद्दत गर्न मानवीय एजेन्सीहरूमा फर्किरहेका छन् । हामी विशेष गरी अति जोखिममा रहेको अफगानिस्तानको जनसङ्ख्या जोखिममा रहेकाहरूलाई सहयोग गर्न प्रतिबद्ध छौं ।’ अफगानिस्तानमा बढ्दो सङ्कटले साना उद्यमहरूलाई सबैभन्दा बढी असर पारेको छ र निजी कम्पनीहरूले बिक्रीमा कमी र उत्पादनहरूको लागि उपभोक्ताको मागमा भारी गिरावटको कारण आफ्ना आधाभन्दा बढी कर्मचारीहरूलाई कामबाट निकालेका छन् ।