विकासन्युज

महोत्तरी –३ मा स्वतन्त्र उम्मेदवार अगाडि

महोत्तरी । प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको महोत्तरी निर्वाचन क्षेत्र नम्बर–३ को मतगणना जारी रहेको छ । मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनका अनुसार अहिलेसम्मको मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार रामआधार कापरले एक हजार पाँच सय आठ मत प्राप्त गरेर अग्र स्थानमा छन् । तीन हजार १० मतको गणनामा स्वतन्त्र उम्मेदवार रामआधार कापरले एक हजार पाँच सय आठ मत प्राप्त गरेर अग्र स्थानमा छन् । गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आठ सय ४४ मत प्राप्त गरेका छन् भने जसपाका उम्मेदवार हरिनारायण यादवले पाँच सय २२ मत गरेका छन् । त्यसैगरी ३ मा जसपाका दीपेन्द्र झा एक हजार एक सय १५० मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन् भने एक हजार ६७ मत प्राप्त गर्दै लोसपाका अभिराम शर्मा दोस्रो स्थानमा रहेका छन् । त्यसैगरी ३ मा स्वतन्त्र उम्मेदवार उज्ज्वल झाले एक हजार दुई मत प्राप्त गर्दै अग्रस्थानमा छन् भने नेकपा एमालेका रामदयाल मण्डलले सात सय ५१ मत प्राप्त गर्दै दोस्रो र लोसपाकी रानी शर्माले पाँच सय ५६ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेका छन् ।

आज बाला चतुर्दशी, पाशुपत क्षेत्रमा शतबीज छर्नेको भीड

काठमाडौं । आज मार्ग कृष्ण पक्षको चतुर्दशी । पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा शतबीज छरेर मनाइएको छ । आज बिहानै पशुपतिमा रहेको मृगस्थली क्षेत्रमा शतबीज छरिएको छ । शतबीज छर्न पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ यसअघि मार्ग कृष्ण पक्षको त्रयोदशीका दिन राति शिवालयमा परिवारका मृतक सदस्यको सद्गतिको सङ्कल्पसहित दीपदान गरिएको थियो । यसरी दीपदान गर्नाले मृतकले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास छ । श्रद्धालुहरु त्रयोदशीको दिन राती पितृका नाममा दीप बाली जाग्राम बसेका थिए । अघिल्लो दिन विधिपूर्वक संकल्प गरी दीप बाली रातभर जाग्राम बस्ने र भोलिपल्ट बिहानै नदीमा बत्ती बगाउने परम्परा छ । श्रद्धालुहरु चतुर्दशीका दिन बिहान सबेरै उठी स्नान गरी पशुपतिनाथ क्षेत्रमा शतबीज छर्छन् । शतबीजमा धान, जौ, गहुँ, चना, तिल र कागुनुजस्ता अन्नसहित केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि फलका र विभिन्न किसिमका फूल हुन्छन् । पशुपतिमा भक्तजनका लागि व्यवस्थित रुपमा बत्ती बाल्न र शतबीज छर्न व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले बताएको छ । चतुर्दशीका दिन बिहानै मृगस्थली क्षेत्रमा धानका शतबीज छरेमा जन्मने र मर्ने प्रपञ्चबाट मुक्त भइने कुरा हेमाद्रिले लेखेको चतुर्वर्ग चिन्तामणिमा व्याख्या गरिएको छ ।

गठबन्धनका साझा उम्मेदवार बिनोद चौधरीलाई स्वतन्त्र पार्टीका ठकुरीले उछिने

नवलपरासी । सत्ता गठबन्धनका साझा उम्मेदवार बिनोद चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले उछिनेका छन् । नवलपरासी पश्चिम प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर १ को चुनावी प्रतिस्प्रर्धाको पछिल्लो मतगणनामा ठकुरीले चौधरीलाई ८९ मतले पछाडि छाडेका छन् । पछिल्लो मतपरिणाम अनुसार ठकुरीले ३ हजार ९ सय ५८ मत प्राप्त गरेका छन् भने चौधरीले ३ हजार ८ सय ६९ मत प्राप्त गरेका छन् । त्यसैगरी २ हजार १२ मत सहित जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी तेस्रो स्थानमा रहेका छन् ।

लमजुङमा एमालेका पृथ्वीसुब्बा गुरुङको अग्रता

लमजुङ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत लमजुङमा मतगणना जारी रहेको छ । पछिल्लो सार्वजनिक मतगणना परिणाम अनुसार १७ हजार नौ सय २८ मतगणना गर्दा नेकपा एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले नौ हजार एक सय नौ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार देवप्रसाद गुरुङले सात हजार दुई सय मत प्राप्त गरेका छन् । मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले भने,  ‘गणना भएका मध्ये हालसम्म चार सय ९७ मत बदर भएको छ ।’ जिल्लामा आठ पालिकामध्ये हालसम्म क्व्होलासोथर, दूधपोखरी, दोर्दी गाउँपालिका र मध्यनेपाल नगरपालिकाको मतगणना सम्पन्न भएको छ । जिल्लामा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको छ ।

सभापति देउवा दोब्बर मतले अगाडि

डडेल्धुरा । डडेल्धुराको प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तीन हजार २२ मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि छन् । अहिलेसम्म १० हजार आठ सय ७० मत गणना हुँदा उनले पाँच हजार छ सय २१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले दुई हजार पाँच सय ९९ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी, नेपाली कांग्रेस वीपीका कर्णबहादुर मल्लले एक हजार छ सय ३६ मत पाएका छन् भने छ सय ५६ मत बदर भएका छन् ।

झापा १ : ४ हजार २९९ मतान्तर, शर्माले भने-‘विजयतर्फ लम्किरहेका छौं’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका झापा क्षेत्र नम्बर १ का उम्मेदवार विश्वप्रकाश शर्माले मतान्तर फराकिलो बनाएका छन् । झापा क्षेत्र नम्बर १ मामतगणना जारी रहँदा ४ हजार २९९ मतको अग्रता कायम गरेका छन् । हालसम्म २२ हजार १४२ मत गणना हँदा शर्माले ४ हजार २९९ मतले अगाडि रहेका छन । उनले विजय तर्फ लम्किरहेको बताएका छन् । ‘विजय भइसकेको होइन, हामी त्यसतर्फ क्रमशः लम्किरहेका छौ, स्वदेश र विदेशबाट व्यक्त गरिरहनु भएको शुभेच्छाप्रती हृदयले आभारी छौं,’ उनले भने । उनको निर्वाचन क्षेत्रमा ८१ हजार ३३१ मत खसेको थियो ।

विश्वकप : अमेरिका र वेल्सको खेल बराबरीमा सकियो

काठमाडौं । कतारमाजारी फिफा विश्वकप फुटबल प्रतियोगितामा वेल्स र अमेरिकाले बराबरी खेल्दै अङ्क बाडेका छन् । कतारको अहमद बिन अलि स्टेडियममा आज बिहान सम्पन्न वेल्स र अमेरिकाले १–१ गोलको बराबरी खेल्दै अङ्क बाडेका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती अग्रता भने अमेरिकाले लियो । खेलको ३६ औँ मिनेटमा टिमोथी वेहले गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाएका थिए । उनले पुलिसिकको पासमागोल गरेको थिए तर, खेलको ८२ औँ मिनेटमा वेल्सका कप्तान ग्यारेथ बेलले पेनाल्टीबाट गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । अमेरिकाका वाल्कर जिमर म्यानले बेललाई फउल गर्दै पेनाल्टी क्षेत्रभित्र लडाएपछि वेल्सले पेनाल्टी पाएको थियो । यस खेलसँगै समूह ‘बी’मा रहेको वेल्स र अमेरिकाले समान एक एक अङ्क बाडेका छन् । आज चार खेल हुँदै कतारमा जारी फिफा विश्वकप फुटबल –२०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । कतार विश्वकपमा समूह ‘सी’ र समूह ‘डी’ को समान दुई दुई खेल हुनेछन् । पहिलो खेलमा समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । यस्तै दोस्रो खेलमा डेनमार्क र ट्युनिसियाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘डी’ मा रहेको डेनमार्क र ट्युनिसियाबीचको खेल साँझ ६ः४५ बजेदेखि सुरुआत हुनेछ । यसैगरी तेस्रो खेलमा समूह ‘सि’मा रहेको पोल्याण्ड र मेक्सिको भिडनेछ्न । उक्त खेल राति ९ः४५ बजेदेखि सुरु हुनेछ । त्यस्तै आजै हुने चौथो तथा अन्तिम खेलमा समूह ‘डी’ मा रहेको साविक विजेता फ्रान्सले अष्ट्रेलियाको सामाना गर्नेछ । उक्त खेल राति १२ः४५ बजे सुरु हुनेछ । विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । रासस

काठमाडौं १० : कांग्रेसका केसीको अग्रता

कीर्तिपुर । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र १० को मत गणना जारी रहेको छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेस उम्मेदवार राजेन्द्रकुमार केसीले तीन हजार नौ सय ८३ मत प्राप्त गरी अग्रता लिई रहेका छन् । उनलाई राष्टिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले दुई हजार आठ सय ८३ मतका साथ पछ्याई रहेका छन् । तेस्रो स्थानमा नेकपा एमालेका हिमेश केसीले दुई हजार चार सय २७ प्राप्त गरेका छन् । क्षेत्र न १० अन्तर्गत कीर्तिपुर नगरपालिकाको वडा न १, २, ३, ४, ५ र ६ को मतगणना सकिएको छ । कीर्तिपुर वडा नं ७ र ८ को गणना सुरु गरिएको जानकारी निर्वाचन अधिकृत फणेश्वरी घिमिरेले दिए । प्रदेशसभातर्फ क्षेत्र नं १ को हालसम्मको परिणामअनुसार कांग्रेसका पुकार महर्जन चार हजार ९६ मतका साथ अग्रस्थानमा छन् । दोस्रोमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेशराज सापकोटाले दुई हजार नौ सय २४ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा एमालेका शिवभक्ति बलामीले दुई हजार तीन सय ७८ मत प्राप्त गरेका छन् । क्षेत्र नं १० मा समानुपातिकतर्फ भने राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि छ । कीर्तिपुरका १, २, ३ र ४ वडाको मतगणना सकिँदा सो पार्टीले दुई हजार २५ मत प्राप्त गरेको छ दोस्रोमा कांग्रेसले एक हजार नौ सय ९० मत प्राप्त गरेको छ भने नेकपा एमालेले एक हजार एक सय ५३ मत प्राप्त गरेको छ ।