गठबन्धनभित्रकाे अन्तरविरोधले एमाले र स्वतन्त्रलाई सहज
काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । बुधबार बिहानसम्मको नतिजा र मतगणनाको प्रारम्भिक अवस्था हेर्दा नेपाली कांग्रेसको नेतृत्वमा बनेको ५ दलीय गठबन्धन भित्र पैदा भएको असहमति तथा असन्तुष्टिका कारण एमाले र स्वतन्त्रलाई मत हासिल गर्न र विजय हासिल गर्न सहज वातावरण भएको धेरैकाे अनुमान छ । ४ महिना अघि मात्रै रवि लामिछानेको नेतृत्वमा निर्माण भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको मत र त्यस क्षेत्रमा गठबन्धनका उम्मेदवार र एमाले उम्मेदवारले प्राप्त गरेको मतको अवस्थालाई हेर्दा त्यस्तो अनुमान गर्न सकिन्छ । बुधबार बिहानसम्म प्रतिनिधिसभा सदस्यतर्फ २२ जना उम्मेदवार विजयी भएका छन् भने प्रदेश सभा सदस्यतर्फ ३१ जना उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभा सदस्यतर्फ बुधबारकाे पछिल्लाे अपडेट अनुसार १ सय ५९ क्षेत्रको मतगणना मध्ये २२ सिटको मतगणना सम्पन्न भएको छ । मतगणना सकिएका क्षेत्रहरुमध्ये नेपाली कांग्रेसले १३, एमालेले ३, राष्ट्रिय स्वतन्त्र पार्टीले ३, एकीकृत समाजवादीले १, राप्रपाले १ र नागरिक उन्मुक्ति पार्टीले एक सिट जितेको छ । त्यस्तै अन्य गणना भइरहेका क्षेत्रहरुमा कांग्रेस ४१, एमाले ४२, माओवादी १७, राष्ट्रिय स्वतन्त्र पार्टी ६, राप्रपा ४, जसपा ५, नागरिक उन्मुक्ती पार्टी ३, लोसपा ३ र स्वतन्त्र लगायत अन्यले ११ स्थानमा अग्रता लिइरहेका छन् भने ६ स्थानको मतगणना प्रारम्भ हुन अझै बाँकी छ । सत्ता गठबन्धनले दलीय रुपमा उम्मेदवारहरुको सिट बाँडफाँड गर्दा पार्टीहरुभित्र व्यापक रुपमा असन्तुष्टि छाएको थियो । उम्मेदवारहरुको बाँडफाँडमा असहमति जनाउँदै गठबन्धन भित्रबाटै कतिपयले बागी र स्वतन्त्र उम्मेदवारी दिएका थिए । आफ्नै पार्टीभित्र नियमित रुपमा एउटै व्यक्तिले टिकट पाएकोप्रति कतिपयको गुनासो थियो भने अर्को पार्टीले टिकट लिएर आउँदा अर्को पार्टीका कार्यकर्ताले असहमति जनाएर निस्किृय समेत बनेका थिए । राजनीतिक दलमा हुने अन्तरविरोधको औसत अन्तरविरोध एमालेभित्र देखिए पनि पार्टी विभाजनपछि एमालेको नेतृत्वमा निर्माण भएको एमाले चुनावमा एकीकृत रुपमा प्रस्तुत भयो । संविधान निर्माणपछिको पहिलो ५ वर्षमा देशको विकास र सुशासनको पक्षमा नयाँ आयाम देखिन नसक्दा आम जनताको तर्फबाट राजनीतिक दलहरु र नेतृत्वप्रति व्यापक असन्तुष्टि प्रकट गरिरहेका थिए । ‘नो नट अगेन’, स्वतन्त्र उम्मेदवारी अभियान र नयाँ दलको पक्षमा क्याम्पियन गर्दै विशेष गरी युवापुस्ताले आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए । सोही क्रममा दलहरुभित्र थप असन्तुष्टि हुनेगरी गठबन्धन निर्माण हुन पुग्दा त्यसको लाभ एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले राम्रोसँग उठाउन सकेको नतिजाले देखाएको छ । गठबन्धन निर्माण भइसकेपछि विशेष गरी गठबन्धन पक्षधरका केही विश्लेषकहरुले प्रत्यक्ष निर्वाचन प्राणालीतर्फको नतिजामा नेपाली कांग्रेस, पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो हुनसक्ने अनुमान गरेका थिए । निर्वाचनमा विशेष गरी आम युवाहरुको समर्थनमा उदय हुँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सबै दलले त्यती धेरै महत्व दिएका थिएनन् । तर, सबै राजनीतिक दलहरुको अनुमान भन्दा मतपरिणामले फरक नतिजा दिएको छ । मतपरिणाममा देखिएको प्रवृत्तिलाई हेर्दा गठबन्धनको तर्फबाट काठमाडौं उपत्यकामा उम्मेदवार बनेका माओवादीका सबै उम्मेदवारले जित्ने अवस्था सिर्जना भएन । सोही क्षेत्रमा प्रदेश सभा सदस्यको लागि नेपाली कांग्रेसको तर्फबाट बनेका उम्मेदवारको तुलनामा माओवादीका उम्मेदवारलाई कम भोट आएको देखियो । विशेषतः नेपाली कांग्रेसका आम समर्थकहरुले माओवादी उम्मेदवारहरुलाई मन नपराएको उक्त नतिजाबाट विश्लेषण गर्न सकिन्छ । तर, नेपाली कांग्रेसका उम्मेदवार बनेका ठाउँमा भने गठबन्धनका अन्य समथर्कहरुको मतमा एक आध बाहेकका क्षेत्रमा बाहेक कमी हुन गएको देखिँदैन । एमालेको उम्मेदवारहरुले आफ्नो मत गठबन्धनको उम्मेदवारको तुलनामा सुरक्षित गर्न सकेको देखिन्छ । जसका कारण एमाले उम्मेदवारहरुले प्राप्त गरेको मतको आधारलाई हेर्दा एमालेको तर्फबाट स्वतन्त्र पार्टीका उम्मेदवार अथवा स्वतन्त्र उम्मेदवारहरुलाई कम मत गएको देख्न सकिन्छ । सामान्य तरिकाले विश्लेषण गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा युवाहरुको क्याम्पियन बाहेका अहिलेको निर्वाचनमा कुनै पनि राजनीतिक दलको पक्षमा माहोल सिर्जना भएको थिएन । समानुपातिक मत तर्फको प्रारम्भिक परिणाम र क्षेत्रगत मतपरिणाम हेर्दा गठबन्धनभित्रको अन्तरविरोधबाट एमाले र स्वतन्त्र पार्टीले राम्रो फाइदा उठाउन सकेको देखिन्छ । गठबन्धनले विशेष गरेर माओवादी र एकीकृत समाजवादीलाई केही नोक्सान भएको देखिन्छ । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा ४६ जना उम्मेदवार उठाएको थियो । तर, अहिलेसम्म माओवादीले २ ठाउँमा विजय हासिल गरेको छ भने १६ ठाउँमा अग्रता कायम गरेको छ । एकीकृत समाजवादीले प्रतिनिधिसभाको सदस्यका लागि २१ ठाउँमा उम्मेदवारी दिएको थियो । तर, सो पार्टीले पनि २ ठाउँमा विजय प्राप्त गरेको छ भने १२ ठाउँमा अग्रता कायम गरेको छ । गठबन्धनको मुख्य पार्टी नेपाली काँग्रेसले कुल ९१ ठाउँमा उम्मेदवारी दिएकोमा १३ ठाउँमा विजय हासिल गरेको छ भने ४२ ठाउँमा अग्रता कायम गरेको छ । यस हिसाबमा काँग्रेसको ५५ जना उम्मेदवार लगभग जित्न सक्ने प्रारम्भिक अनुमान लगाउन सकिन्छ । विजयी र अग्रताको हिसावमा पनि गठबन्धनमा काँग्रेसलाई केही सघाउ पुगेको होकी भन्ने अनुमान पनि लगाउन सकिन्छ ।
झापा २ (१) मा एमालेका कार्की र ३ (१) मा कांग्रेसका राजवंशी निर्वाचित
झापा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत झापा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । प्राप्त मत परिणामअनुसार झापा २ को प्रदेश १ मा नेकपा एमालेका एकराज कार्कीले १८ हजार सात सय ३१ मत प्राप्त गरी विजय भएका क्षेत्र नं २ का निर्वाचन अधिकृत केशवराज पन्तले जानकारी दिए । विजयी कार्कीका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका पुष्पराज पोखरेलले छ हजार एक सय एक मत प्राप्त गरेका छन् । कार्की र पोखरेलको मतान्तर १२ हजार ६ सय ५१ मत रहेको छ । झापा क्षेत्र नं। २ को प्रदेशसभा १ मा ३८ हजार पाँच सय ४८ मत खसेको थियो । जसमा ती हजार तीन सय ३० मत बदर भएको निर्वाचन अधिकृत पन्तले जानकारी दिए । कार्कीले जीतसँगै दोस्रो पटकको प्रदेशसभाको यात्रा तय गरेका छन् । उनी २०७४ सालको संसदीय निर्वाचनमा समेत झापा २ को प्रदेशसभा १ बाट विजयी भएका थिए । यस्तै झापा क्षेत्र नं ३ को प्रदेशसभा १ मा नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी विजयी भएका छन् । राजवंशीले २० हजार सात सय ७० मत प्राप्त गरि विजयी भएका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका वसन्त बानियाँले १९ हजार सात सय एक मत प्राप्त गरेका छन् । झापा क्षेत्र नं। ३ को प्रदेशसभा १ मा ४५ हजार दुई सय ९५ मत खसेको थियो । रासस
मनकामना केबलकार २५ वर्षमा प्रवेश, एक वर्षमा १० लाखले घुमे
काठमाडौं । मनकामना दर्शन प्रालिले सञ्चालनमा ल्याएको मनकामना केबलकार २५ औं वर्षमा प्रवेश गरेको छ । २०५५ साल मंसिर ८ गतेदेखि सञ्चालनमा आएको केबलकारले हालसम्म १ करोड ७० लाख यात्रुलाई सेवा दिइसकेको जानकारी कम्पनीले दिएको छ । केबलकार सञ्चालनमा आएसँगै यस क्षेत्र प्रमुख पर्यटकीय गन्तव्य क्षेत्र बन्ने पुगेको कम्पनीनको भनाइ छ । केबलकारको सञ्चालनसँगै यस क्षेत्रको विकास हुनुका साथै विश्व सामु मनाकामनाको ख्याति प्रचार प्रसार भएको कम्पनीनको भनाइ छ । कम्पनीका अनुसार विश्व प्रख्यात अष्ट्रियाको डोपेलमेयर कम्पनीको प्रविधिबाट सञ्चालित यस केबलकारबाट विश्वस्तरीय सेवा प्रदान गरिंदै आएका कम्पनीको दावी छ । कम्पनीले केबुलकारका संस्थापक स्व. लक्ष्मण बाबु श्रेष्ठकाे सम्झनामा लामो समय देखि चितवनको ईच्छाकामना गाउँपालिका र गोरखाको शहिद लखन गाउँपालिकामा प्रत्येकलाई कूल आम्दानीको ११ प्रतिशत रकम शिक्षा, स्वास्थ्य, धार्मिक, मठ, मन्दिरको जिर्णोद्वार लगायत विकास निर्माणका कार्य आदिमा सहयाेग गर्दै आएकाे छ । हाल रहेको एनालग सिस्टमलाई कम्पनीले पहिलाे चरणमा डिजिटल प्रविधिमा स्तरोन्नति गरिसकेकाे र २५ औं वार्षिक उत्सवको अवसरमा पूर्ण रुपले डिजिटल प्रणालीमा रुपान्तरण गरी देशकै पहिलो डिजिटल केबुलकार हुने जनाएकाे छ ।
कैलाली ३ : प्रतिनिधिसभा र प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी विजयी
कैलाली । कैलाली निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा र दुवै प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी निर्वाचित भएका छन् । साथै, दुवै प्रदेशसभामा पनि नागरिक उन्मुक्ति पार्टीको उम्मेदवार विजयी भएका हुन् । निर्वाचन कार्यालयका अनुसार प्रदेशसभा १ बाट घनश्याम चौधरी र प्रदेशसभा २ बाट खुसीराम चौधरी विजयी भएका हुन् । धनश्याम चौधरीले १३ हजार नौ सय २३ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज डगौरा थारुले ११ हजार पाँच सय ७२ मत प्राप्त गरे । प्रदेशसभा २ का खुशीराम चौधरीले सात हजार पाँच सय ३९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका अमर साउद ६ हजार छ सय १९ मत प्राप्त गरे ।
ताप्लेजुङबाट एमालेका योगेश भट्टराई निर्वाचित
काठमाडौं । ताप्लेजुङबाट एमालेका योगेश भट्टराई निर्वाचित भएका छन् । भट्टराई १८ हजार ९१२ मतसहित प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएका हुन् ।
मुगुमा मतगणना सुरु
मुगु । मुगुमा आजदेखि मतगणना सुरु भएको छ । निर्वाचन सम्पन्न भएको चार दिनपछि यहाँ मतगणना सुरु भएको हो । प्रतिनिधिसभातर्फबाट आज बाट मतगणना सुरु भएको हो । दुई हजार ४६ गणना हुँदा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार एनबहादुर शाहीले एक हजार १२ प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका राजबहादुर कार्कीले नौ सय ३३ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
काठमाडौं-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नंं ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा केही बेरअगाडि सम्पन्न मतगणनामा खनालले १४ हजार दुई हजार चार मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिइन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का सर्वेन्द्र खनालले आठ हजार नौ सय ११ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधानले आठ हजार आठ सय पाँच मत प्राप्त गरेकाे खनालले बताइने् । निर्वाचित खनाल टिच फर नेपालका संस्थापक हुन् । यस्तै, सर्वेन्द्र खनाल पूर्वप्रहरी महानिरीक्षक र प्रधान पूर्वरक्षामन्त्री हुन् । काठमाडौं क्षेत्र नं ६ मा प्रतिनिधिसभामा २४ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । जसमा १३ जना विभिन्न राजनीतिक दल र ११ जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृतकको कार्यालयले जनाएको छ । काठमाडौंको बागबजारदेखि गोँगबु हुँदै काभ्रेस्थलीसम्म फैलिएको क्षेत्रमा ३२ स्थानका ७५ मतदान केन्द्रमा मतदान भएको थियो । ६२ हजार एक सय दुई मतदाता रहेको यस निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न मतदानमा ३८ हजार नौ सय १० मत खसेको थियो । यस्तै, एक हजार पाँच सय ३२ मत बदर भएको छ ।
सिन्धुली २ मा माओवादीका लेखनाथ दाहाल विजयी
सिन्धुली । सिन्धुली प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका लेखनाथ दाहाल विजयी भएका छन् । गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार दाहालले नेपाल कम्युनिष्ट पार्टी एमालेका मनोजजङ्ग थापालाई पाँच हजार आठ सय ३० मतान्तारले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए । दाहालले २७ हजार पाँच सय १७ र प्रतिस्पर्धी थापाले २१ हजार छ सय ८७ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अनोजकुमार दाहालले एक हजार पाँच सय ५३, राष्ट्रिय प्रजातन्त्र पार्टीका भीष्मराज श्रेष्ठले एक हजार तीन सय ४० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिए । रासस