सबै शाखा आफ्नै भवनमा सञ्चालन गर्छौं, ५ अर्ब पूँजी सजिलै पुर्याउँछौं : अध्यक्ष सिंह
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले आफ्ना सबै शाखाहरुलाई आफ्नै स्वामित्वमा भएका भवनमा सञ्चालन गर्ने बताएकी छिन् । उनले नेपालगंज शाखा आफ्नै स्वामित्वमा भएको जग्गामा भवन निर्माण गरेको बताउँदै अन्य शाखाहरु पनि आफ्नै स्वामित्वमा रहेको भवनमा सञ्चालन गर्ने बताएकी हुन् । ‘नेपालगंज स्थित आफ्नो स्वामित्वमा रहेको जग्गामा भवन निर्माण कार्य शुरु गरेको छ, अन्य शाखाहरुमा पनि यो प्रकृया शुरु गरिने छ, कम्पनीले आफ्नो अभिकर्ता सन्जाललाई थप ब्यवसायीकरण गर्ने एवं सूचना प्रविधि क्षेत्रलाई अद्यावधिक गर्ने कार्यमा निरन्तर लगानी गर्नेछ,’ उनले भनिन् । नियामक निकायले २०७९ साल चैत्र मसान्तसम्म जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्याउनुपर्ने वाध्यात्मक ब्यवस्था गरेको छ । सोही बमोजिम बीमा समितिले तोकिएको अवधिमा नै नेशनल लाइफ इन्स्योरेन्सले चुक्ता पूँजी पुर्याउने उनले दाबी गरिन् । कम्पनीले हाल प्रसतव गरेको बोनस सेयर वितरण पश्चात् चुक्ता पूँजी ४ अर्ब ६४ करोड ४ लाख १ हजार रुपैयाँ पग्ने उनको भनाइ छ । बाँकी रहने चुक्ता पूँजी आगामी दिनमा तोकिएको समय भित्र सहज रुपमा पुग्ने स्थिति रहेको उनले बताइन् । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालिन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत रहेको उनले बताईन् । कम्पनीको वार्षिक औसत प्रतिफल सन्तोषजनक रहेको उनको भनाइ छ । कम्पनीको बीमाङ्कीय मूल्याङ्कन सन्तोषजनक रहेको र नियामकीय निर्देशन अनुसार पर्याप्त फ्युचर बोनस प्रोभिनिङ गरेर बीमितहरुलाई दिई आएको बोनस दरमा यथावत निरन्तरता दिई बीमितहरुलाई उचित प्रतिफल दिन सफल भएको उनले बताईन् ।
शिवम् सिमेन्ट किन्दा पाइन्छ टन्न उपहार, सुनको सिक्रीदेखि थाइल्यान्ड भ्रमणसम्म
काठमाडौं । शिवम् सिमेन्टले ‘शिवम्सँग उपहार टन्न’ नामक आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत अब प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा स्क्रयाच कुपन प्राप्त गर्नेछन् जसमा ५०० रुपैयाँसम्मको नगद, १५ ग्राम चाँदीको सिक्का, २.५० ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का र सुनको सिक्री मध्ये कुनै एक जित्न सक्नेछन् । यस्तै, सोही कुपनको आधारमा ग्राहकले मासिक लक्की ड्र तथा मेगा लक्की ड्रमा समेत गरी एउटै कुपनबाट ३ पटकसम्म जित्ने मौका पाउनेछन् । हरेक महिनाको लक्की–ड्र मार्फत पहिलो पुरस्कार २ जोडीले थाइल्यान्ड भ्रमण, दोस्रो पुरस्कार ४ जोडी विजेताले हेलिटुर, तेस्रो पुरस्कार ६ जनाले आधा केजी चाँदी, चौथो पुरस्कार ८ जनाले हिराको औंठी तथा पाँचौं पुरस्कार १० जोडीले माउन्टेन फ्लाइट लक्की ड्र मार्फत जित्न सक्नेछन् । कम्पनीको अनुसार अन्तिम महिनामा प्राप्त कुपनहरु मसिक लक्की ड्रमा समावेस नभई मेघा लक्की ड्रमा मात्र समावेस हुनेछन् । मासिक लक्की ड्रमा समावेश भएको तर उपहार जित्न नसकेको कुपन योजना अन्तर्गतको अन्तिम महिनाको कुपनसँगै मेगा लक्की ड्रमा पुनः समावेश हुने कम्पनीले बताएको छ । मेगा लक्की ड्र मार्फत २ जना भाग्यशाली ग्राहकहरुले ५ तोला सुन, ४ जनाले ३ तोला सुन, ६ जनाले २ तोला सुन, ८ जनाले १ तोला सुन र १० जनाले आधा तोला सुन उपहारमा जित्न सक्नेछन् । कम्पनीको अनुसार लक्की ड्रको कुपनमा उल्लेखित विवरण र मोबाइल नम्बरको आधारमा विजेता घोषणा गरिने र सोही आधारमा ग्राहकले उपहार दावी गर्नुपर्ने छ । कम्पनीको अनुसार यो उपहार योजना मंसिर १८ देखि नेपाल भरी लागू गरिएको छ ।
सुन तोलाको एक लाख पुग्न ५०० रुपैयाँ कम
काठमाडौं । आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार पाँच सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आइतबार सुनको मूल्य चार सय रुपैयाँले बढेर तोलाको ९९ हजार पाँच सय पुगेको हो । शुक्रबार सुन तोलाको ९९ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदी पनि तोलाको २५ रुपैयाँले बढेको छ । चाँदी शुक्रबार तोलाको १ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो ।
सकियो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ निटफेस्ट २०२२ को दोस्रो संस्करण सम्पन्न भएको छ । यही मङ्सिर ९ गतेदेखि काठमाडौँस्थित मण्डला नाटकघरमा महोत्सव आयोजना गरिएको थियो । । अर्थमन्त्री जनार्दन शर्माले महोत्सव समापन समारोहलाई सम्बोधन गर्दै भने ‘सरकारले आवश्यक सहयोग गर्न नसकेको मैले महसुस गरेको छु । मेरो प्रयास योजना र नीतिगत तहमै सहयोग गर्ने रहनेछ । ‘ मण्डलालाई कलेजको रूपमा सञ्चालन गर्ने तयारीलाई समेत सघाउने उनले जानकारी दिए । ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नाराका साथ सुरु भएको महोत्सवमा १२ देशको १८ नाटक मञ्चन हुनुका साथै विभिन्न कार्यशाला, अन्तक्र्रिया, मास्टरक्लास पनि गरिएको थियो । समापन कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकूलपति हरिहर शर्मालगायतका रङ्गकर्मीको सहभागिता रहेको थियो । महोत्सवका निर्देशक सिर्जना सुब्बाले महोत्सवले रङ्गमञ्चलाई नयाँ ऊर्जा दिन सकेको बताइन् । समापनका दिन शनिबार ‘रङ्गमञ्च अभिनय र चलचित्र अभिनयका फरक आयाम’ शीर्षकमा छलफल भएको थियो । आयोजक मण्डला थिएटरको ‘कुभिण्डोको कथा’को प्रिमियर मञ्चन भएको थियो ।
म्याग्दीमा दुई सय जना क्षमताको आधुनिक सभाहल निर्माण
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा दुई सय क्षमताको बहुउद्देश्यीय सभाहल निर्माण भएको छ । अन्नपूर्ण–६ घारका वडाध्यक्ष रामबहादुर खड्काले सभाहलको पूर्वाधार निर्माण, रङ्गरोगन, झ्याल, ढोका, विद्युत् जडानको काम सकिएको बताए । ‘गत वर्ष सुरुआत भएको सभाहल निर्माण योजनालाई यसपालि पनि बजेट विनियोजन गरेर पूर्णता दिएका छौँ’, उनले भने, ‘कुर्ची, टेबुललगायत फर्निचर व्यवस्थापन गरेर व्यवस्थित किसिमले सभाहल सञ्चालन गर्छौँ ।’ आर्थिक वर्ष २०७८/७९ मा दुई चरणमा २५ लाख विनियोजन भएको सभाहल निर्माणका लागि गाउँपालिकाले चालु आव २०७९/८० मा छ लाख ५० हजार विनियोजन गरेको छ । उपभोक्ता समितिमार्फत सभाहल निर्माण गरिएको वडाध्यक्ष खड्काले बताए । सभाहलभित्र स्टेज पनि बनाइएको छ । सभाहल निर्माण भएपछि तालिम, गोष्ठी, भेला, बैठक, सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न सहज हुने भएको छ । यसअघि संरक्षण क्षेत्र व्यवस्थापन समितिको भवन रहेको ठाउँमा सभाहल निर्माण गरिएको हो । पुरानो भवनमा रहेको प्रहरी चौकीलाई स्थानान्तरण गरिएको थियो । सभाहल नजिकै यसअघि नै वडा कार्यालय भवन निर्माण भएको छ ।
घर-घरमा खानेपानीका धारा आउँदा मरिणका स्थानीय दंग
सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका–३ चनौटेका स्थानीयवासीको घर–घरमा खानेपानीको धारा विस्तार भएको छ । दरबार लिफ्ट खानेपानी तथा सरसफाइ आयोजना निर्माण सम्पन्न भएसँगै यहाँका एक सय तीन घरमा खानेपानीको सुविधा भएको हो । वर्षौँदेखि खानेपानीको निकै सास्ती खेप्दै आएका चनौटेवासी घर–घरमा धारा विस्तार भई यसै सातादेखि खानेपानीको सेवा प्रवाह भएपछि खुसीले दङ्ग छन् । स्थानीय विमला तामाङले अहिले निकै सहज भएको बताए । । ‘हामीले खानेपानी समस्याबाट ठूलो मुक्ति पाएका छौँ । नत्र खानेपानी खोज्दै सधैँको बिहान बित्थ्यो’, उनले भने, ‘अहिले वर्षौँदेखिको खानेपानीको प्यास मेटिएको छ ।’ आफैँलाई पिउन, गाईवस्तुलाई खुवाउन र बढी भएको पानीले करेसाबारीमा सागसब्जी रोप्नसमेत सहज भएको उनले सुनाउए। मरिण गाउँपालिका र नेपाल स्वास्थका लागि पानी (नेवा) को साझेदारीमा खानेपानी घर–घरमा पुगेको हो । विसं २०७८ भदौमा सम्झौता भई निर्माण सुरू भएको खानेपानी आयोजनाको निर्माणकार्य विभिन्न समस्याका कारण सम्झौता अवधिभन्दा चार महिना ढिलो सम्पन्न भएको थियो । ६२ लाख १८ हजार आठ सय ६८ लागतमा निर्माण सम्पन्न भएर सञ्चालनमा रहेका खानेपानी आयोजनाबाट एक सय तीन घरधुरीका नागरिकलाई बाह्रै महिना स्वच्छ खानेपानी सुविधा उपलब्ध भएको गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले जानकारी दिए । उनका अनुसार मरिणखोला नजिकै रहेको इनारबाट पाँच सय मिटरमाथि डाँडामा चारवटा पानी ट्याङकी बनाइएको छ । त्यहीँबाट ल्याइएको पानी वितरण भइरहेको छ । खोलाको किनारमा रहेको इनारबाट डाँडामा रहेको ट्याङ्कीमा पानी लिफ्ट गर्दा मिटरमा उठ्ने शुल्क सबै गाउँपालिकाले तिरिदिने उनले बताए । ‘निःशुल्क खानेपानी हाम्रो अभियान हो’, उनले भने, ‘त्यही अनुरुप गाउँपालिकाले काम गरिरहेको छ ।’ उक्त खानेपानीको आयोजना धेरै मेहेनत र लागतमा निर्माण भएको उनले स्मरणसमेत गरे । त्यसको संरक्षण र रेखदेखमा स्थानीय उपभोक्ता आफैँ सचेत रहनुपर्नेमा उनको जोड छ । वडाध्यक्ष जितबहादुर श्रेष्ठले चनौटेमा भर्खरै निर्माण सम्पन्न खानेपानी योजनाबाट गाउँका बासिन्दामात्रै नभई गाउँमा रहेको सरकारी स्कुलमा पढ्ने अढाइ सय विद्यार्थीसमेत लाभान्वित भएका सुनाए । गरिबी निवारण कार्यक्रम र वडाले यसअघि पनि पटक–पटक खानेपानीको सेवा प्रवाह गर्ने प्रयास गरेको थियो । त्यसबेला विभिन्न कारणले असफल भएपनि हाल आएर घर–घरमा खानेपानीको धारा पुर्याउन सफल भएको उनको भनाइ छ । उनका अनुसार पहिले यहाँका स्थानीयवासीलाई खानेपानीको जोहो गर्न दुःख थियो । पानी सङ्कलन गर्न दुई घण्टा खर्चिनुपर्दथ्यो । अहिले घर–घरमा खानेपानीको सेवा प्रवाह भएपछि विशेषगरी गृहिणी महिलालाई सहज र सुख भएको उनले बताए ।
एनएलजी इन्स्योरेन्सले घोषणा गर्याे १०.५२६ प्रतिशत लाभांश
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई १०.५२६३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत अर्थात् १ अर्ब ३२ करोड ६६ लाख १४ हजार ३५५ रुपैयाँ बराबरको बोनस सेयर र ०.५२६३१५८ प्रतिशत अर्थात् ६९ लाख ८२ हजार १८१ रुपैयाँ बराबरको नगद गरी कूल १०.५२६३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको लाभांश घोषणा
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५.२६ प्रतिशत अर्थात् ६ करोड ४३ लाख ४० हजार ९३५ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यसअघि आर्थिक वर्ष २०७७/७८ मा ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद गरी कूल ५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७६/७७ मा २.८५ प्रतिशत बोनस सेयर र ०.१५ प्रतिशत नगद गरी कूल ३ प्रतिशत लाभांश वितरण गरेको थियो ।