विकासन्युज

हेलम्बुमा महिला भलिबल प्रतियोगिता सुरु, पहिलो हुनेले एक लाख ११ हजार प्राप्त गर्ने

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा हेलम्बुको चिलाउनेघारीमा सिन्धुपाल्चोक जिल्ला अन्तर पालिकास्तरीय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको आज गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछाने र प्रमुख प्रशासकीय अधिकृत उदयराज भट्टराईले बल हस्तान्तरण गरेर संयुक्त रुपमा उद्घाटन गरे । उद्घाटन खेल हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाबीच भएको छ । प्रतियोगितामा हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको सहभागिता रहेको उपाध्यक्ष लामिछानेले जानकारी दिए । महिलालाई खेल क्षेत्रमा अघि बढाउन पालिकाले सदैव सहयोग गर्ने उनले बताए । प्रतियोगितामा पहिलो हुनेले एक लाख ११ हजार एक सय ११, दोस्रोले ६५ हजार एक सय ११, तेस्रोले ३५ हजार एक सय ११ र सान्त्वनाले  २५ हजार एक सय ११ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता भोलिसम्म चल्ने खेलाडी श्याम शर्मा एलसीले जानकारी दिए ।

४७ लाख खर्चमा हुम्लाका १६ विद्यालयलाई शैक्षिक र खेलकुद सामग्री वितरण

हुम्ला। हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा रहेका सबै विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरिएको छ । विद्यालयको शैक्षिक र खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिकाको शिक्षा शाखाले शैक्षिक सामग्री सहयोग गरेको हो । कोरोना महामारीका कारण विद्यालयको शैक्षिक क्षेत्रमा परेको असरलाई कम गर्न गाउँपालिकाका १७ मध्ये १६ वटा विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरिएको गाउँपालिका शिक्षा शाखाका प्रमुख मनराज बुढाले बताए । विद्यालयको तहअनुुसार माध्यमिक, आधारभूत र प्राथमिक विद्यालयलाई सामग्रीको परिमाण वितरण गरिएको हो । लिमीको तिल गाउँको हिमशिखर प्राविमा विद्यार्थी सङ्ख्या नभएकाले विद्यालय बन्द भएको हुँदा सो विद्यालयलाई भने सामग्री वितरण गरिएको छैन । वितरण गरिएका सामग्री २६ किसिमका छन् । वितरित सामग्रीमा शैक्षिकतर्फ एउटा विद्यालयलाई ज्ञानबद्र्धक ९० थान पुस्तक, कापी, फाइल, कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन, फोटोकपी पेपर, साउण्ड सिस्टम छन् भने खेलकुद सामग्रीतर्फ क्यारेमबोर्ड, भलिबल, नेट, पम्प, ब्याडन्टिन रकेटलगायत छन् । यसका लागि गाउँपालिकाले  ४७ लाख खर्च गरेको छ । कूल खर्च भएको बजेटमध्ये एक जना शिक्षकसमेत भर्ना गरिएको थियो । सङ्घीय सरकारको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत आएको बजेटमध्ये गाउँपालिकाले कार्यक्रम गर्नुपर्ने कार्यक्रमबाट विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुुर शाहीले बताए। सहयोग सामग्री गाउँपालिकाका अध्यक्ष प्रेम लामाले विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरेको हो । वडा नं १ देखि ५ सम्म १६ वटा विद्यालयलाई ती सामग्री हस्तान्तरण गरिएको हो । रासस

सौर्य ऊर्जाबाट जुम्लाको गाउँमा विद्युत् सेवा

जुम्ला । जुम्लाको तिला गाउँपालिका–७ मा रहेको पोखरी गाउँमा सौर्य ऊर्जाबाट गाउँ झिलीमिली बनेको छ । स्थानीय मुनबहादुर रोकायाले विद्युत् सेवा नहुँँदा यहाँका स्थानीयवासी सल्लाको दियालोको भरमा अन्धकारमा बस्न बाध्य हुनुपरेको उल्लेख गरे । सौर्य ऊर्जाले गाउँ नै झिलीमिली पारेपछि बिजुली बाल्ने धोको पूरा भएको रोकायाले बताए । उनले भने, ‘गाउँ उज्यालो मात्र भएको होइन, सारा पोखरीवासीको मन उज्यालिएको छ । जम्मा गाउँमा ६० घरधुरी रहेका छन् । गाउँ नजिकै अर्को गोठीबस्ती छ । वर्षायामको ६ महिना पोखरी गाउँका स्थानीय त्यही बस्छन् । गोठीमा पनि सौर्य ऊर्जाको बिजुली पुर्याइएको छ ।’ सबै गरेर एक सय २० घरमा बिजुली बालिएको रोकायाले बताए । ५० किलोवाट क्षमताको सौर्य ऊर्जाले प्रत्येक घरमा ६ बल्ब राखिएको छ । एक घरले दुई बल्बभन्दा बढी बालेका छैनन् । गाउँमा पोलपोलमा बिजुली बालिएको छ । जतिबेला पनि मोबाइल चार्ज गर्न पाइएको छ । टिभी र वाइफाइ चलाउनसमेत सजिलो भएको अर्का स्थानीयवासी तुलवीर रोकायाले बताए । उत्पादन भएको सबै बिजुली खपत नहुने भए पनि गाउँमा कुटानी, पिसानी र काठ चिरानी मेसिन राख्ने तयारी भइसकेको छ । जसका लागि वडापालिकाले बजेट छुट्याइसकेको छ । गाउँमै कुटानी– पिसानीको काम हुने भएपछि महिलाको कार्यबोझ घट्ने सो गाउँका स्थानीयवासी बताउँछन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको तीन करोड ३४ लाख र ३० लाख तिला गाउँपालिकाको साझेदारीमा सौर्य ऊर्जा निर्माण भएको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिए ।

पुल निर्माणका लागि नारायणगढ–मुग्लिन सडकमा दैनिक चार घण्टा सवारी रोकिने

मुग्लिन । नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ । सडक खण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनमा आज सम्पन्न सरोकारवालाको बैठकले पुस ५ गतेदेखि एक महिनाका लागि सडक रोकेर काम गर्ने निर्णय गरिएको छ । सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिने छ । भौगोलिक रुपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुईन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्ने लगायतका कामको लागि सवारी आवागमन रोक्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी अश्मान तामाङको अध्यक्षतामा भएको बैठकले नारायणगढतर्फबाट जाने यात्रुबाहक बस, मिनि, माइक्रो बस, साना सवारी साधनलाई पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान ११ बजे रोक्ने निर्णय गरेको छ । यस्तै मालबाहक ट्रक, लरी, ट्रेलर, ट्रिपर, ट्याङ्कर लगायतका भारी सवारी साधनलाई भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०ः५० बजेदेखि रोकिने छ । काठमाडौँ तर्फबाट आउने यात्रुबाहक सवारीलाई मुग्लिन बजारदेखि मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुबाहक सवारीसाधनलाई बेनीटारदेखि पावरहाउससम्म बिहान १०ः५५ बजे रोकिने भएको छ । यस्तै, काठमाडौंतर्फबाट आउने मालबाहक सवारीलाई लेबाटारमा र पोखरातर्फबाट आउनेलाई मालबाहक सवारीलाई आँबुखैरहनीमा बिहान १०ः४५ बजे रोक्ने बैठकले निर्णय गरेको छ । बैठकले बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकल लगायतका अत्यावश्यकीय सवारीलाई अनुकूलता हेरी छोड्ने निर्णय गरेको छ । यस्तै, पोखरा–काठमाडौं सञ्चालन हुने सवारी सहज सञ्चालनका लागि ट्राफिक कार्यालयले समन्वय गर्ने भएको छ । निर्माण कार्यलाई तीव्रता दिन निर्माण व्यवसायीले पर्याप्त साधनस्रोत र जनशक्ति परिचालन गर्ने छन् भने सडक खण्डको ठाउँठाउँमा मर्मतको कार्य पनि यसै समयमा गरिने भएको छ । रासस

शिखर इन्स्योरेन्स बन्यो उत्कृष्ट बीमा कम्पनी, पायो बेष्ट म्यानेज्ड अवार्ड

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी निर्जीवन बीमा कम्पनीमध्ये उत्कृष्ट बन्न सफल भएको छ । न्यू बिजनेश एज प्रालिले कम्पनीलाई अन्य कम्पनीको तुलनामा उत्कृष्ट घोषणा गरेको हो । यससँगै कम्पनीले ‘बेष्ट म्यानेज्ड ननलाइफ इन्स्योरेन्स कम्पनी २०२२’ अवार्ड पाउन सफल भएको छ । सोमबार आयोजित सातौं न्यूबिज बिजनेस कन्क्लेभ एण्ड अवार्डमा कम्पनीले उक्त अवार्ड पाएको हो ।

विपद् जोखिम न्युनिकरणका लागि स्थानीय प्रविधि र आविष्कारलाई प्राथमिकता दिन्छौँ : गृहसचिव

काठमाडौं । सरकारले विपद् जोखिम न्युनिकरण सम्बन्धी कार्यक्रममा स्थानीय प्रविधि तथा नयाँ आविष्काहरुलाई प्राथमिकता दिने उद्देश्यका साथ सरोकारवालाहरुसँग परामर्श शुरु गरेको छ । गृह मन्त्रालयले मंगलवार काठमाडौंमा विपद् जोखिम न्युनिकरणका क्षेत्रमा काम गर्दै आएका तथा जोखिम न्युनिकरणका लागि भएका स्थानीय प्रयास तथा आविष्कारक संघ संस्थासँग परामर्श गरेको हो । कार्यक्रममा विभिन्न किसिमका विपद्जन्य घटनाबाट हुनसक्ने जोखिम न्युनिकरणका लागि स्थानीय संघ संस्थाहरुले अवलम्वन गरेको स्थानीय प्रविधि तथा आविष्कारका बारेमा छलफल भएको छ । छलफलपछि मन्त्रालयले विपद् जोखिम न्युनिकरणका लागि गरिने सरकारी प्रयासहरुलाई प्रभावकारी बनाउनका लागि उपयोगी हुनसक्ने स्थानीय प्रविधि तथा आविष्कारलाई सरकारी कार्ययोजनामा राख्ने बताएको छ । कार्यक्रममा गृहसचिव विनोदप्रकाश सिंहले स्थानीय स्तरमा भए, गरेका विपद् जोखिम न्युनिकरणका सफल अभ्यासहरुलाई सरकारले प्राथमिकता दिने बताए । विपद् जोखिम न्युनिकरणका क्षेत्रमा नेपालमा जनचेतना फैलाउने काम पर्याप्त भएपनि विपद्मैत्री विकास निर्माण सम्बन्धी नीति नियमहरु बन्न नसकेको बताए । उनले सरोकारवाला निकाय गम्भीर बन्न नसकेका कारण विकास निर्माण सम्बन्धमा भएका नीति नियम तथा कानूनको प्रभावकारी कार्यान्वयन हुन नसकेको स्वीकार गरे । उनले पछिल्ला दिनहरुमा विकास निर्माणका नाममा भइरहेको सडक बिस्तारको दीर्घकालिन असरबारे पूर्वानुमान गरी आवश्यक नीतिगत व्यवस्था गर्न नसक्दा भविष्यमा पनि त्यसबाट पुग्नसक्ने ठूलो क्षति भोग्न बाध्य हुनुपर्ने बताए । सडक बिस्तार, ढुंगा, गिटी बालुवाको व्यवसायमा रहेको विद्यमान मापदण्डहरु कार्यान्वयनमा तीन वटै तहका सरकार असफल रहेको स्वीकार गरे । उनले भने ‘विपद् सम्बन्धी चेतनाका कुराहरु नेपालमा पर्याप्त छ । तर हाम्रा नीति र कानूनहरु पनि विकसित देश भन्दा पछाडि छैनौँ । विगत भन्दा अहिले हजारौ किलोमिटर सडकहरु बनिरहेका छन् तर त्यसको असर के परिरहेको छ भन्ने कुराहरुमा हाम्रा नीति नियमहरु एकातिर छन् । त्यसैगरी ढुंगा गिटी बालुवाको व्यवसायको मापदण्डहरु पनि वास्तवमा कार्यान्वयन गर्न सकिएको छैन । तर मिटिगेजनको क्षेत्रमा लगानी गर्नुपर्ने हो, सजगता अपनाउनुपर्नेमा कुनैपनि निकाय त्यो रुपमा नभईदिँदा यो विषयले दिगोपना पाउनसकेको छैन ।’ कार्यक्रममा एडिपिसीका नेपाल प्रतिनिधि मानबहादुर थापाले स्थानीय तहमा विपद् जोखिम न्युनिकरणका लागि भए, गरेका प्रयासहरु अत्यन्तै प्रभावकारी देखिएकाले त्यस्ता प्रयासहरुलाई सरकारले संरक्षण र प्रवद्र्धन गर्दै अन्यत्र पनि प्रयोग बढाउँदै लैजानुपर्नेमा जोड दिए । उनले विपद् जोखिम न्युनिकरणका लागि नेपालले गरेको अभ्यास विश्वका अन्य मुलुकले पनि अनुकरण गर्ने गरेको बताए । उनले २०५३ देखि शुरु भएको समुदायमा आधारित विपद् व्यवस्थापन कार्यक्रम अत्यन्तै प्रभावकारी देखिएपछि अहिले विश्वका अन्य देशले पनि सोही अवधारणा अनुसार विपद् जोखिम न्युनिकरणमा लागेको बताए । उनले भने ‘नेपालमा विपद् जोखिम न्युनिकरणको क्षेत्रमा केही नयाँ आविष्कारहरु भइरहेको छ । त्यो हाम्रा लागि कति उपयोगी छन् भन्ने छलफल गरेर सुधार गर्दे अवलम्वन गर्नेतर्फ जानुपर्छ । हामीले स्थानीय स्तरमा गरेको विपद् जोखिम न्युनिकरणका प्रयासहरु अहिले कहीँ न कही विश्वव्यापी रुपमा सकारात्मक प्रभाव पारिरहेको छ ।  अहिले संसारका धेरै देशहरुमा त्यो मोडलमा काम भइरहेको छ ।’ कार्यक्रममा गृह मन्त्रालयका विपद् व्यवस्थापन प्रमुख एवं सहसचिव प्रदीप कोईरालाले विपद् व्यवस्थापनमा सरकार एक्लैले केही गर्न नसक्ने भएकाले सबै सरोकारवालाहरुको सहयोग आवश्यक पर्ने बताए । उनले विपद् व्यवस्थापनमा स्थानीय तहमा भएका प्रयास प्रभावकारी देखिएको बताए । उनले भने, ‘विपद व्यवस्थापन सरकारले मात्रै गर्ने विषय होइन यसमा सबैको सहयोग आवश्यक पर्छ । त्यसैले हामीे यसमा सबैको सहभागीताका आधारमा गर्छौं । विपद् व्यवस्थापनमा स्थानीय तहमा भएका प्रयास प्रभावकारी देखिएका छन् । कार्यान्वयन योग्य आविष्कारहरुलाई मन्त्रालयले नीतिगत रुपमा नै अगाडि बढाउँछ ।’ गृहमन्त्रालयका उपसचिव तुलसीप्रसाद दाहालले विपद् जोखिम न्युनिकरणको क्षेत्रमा गैह्र सरकारी क्षेत्रबाट भएका प्रयास र आविष्कारहरुलाई संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ मन्त्रालयले सरकोकारवालाहरु छलफल गरेको बताए । उनले विपद्बाट हुनसक्ने क्षतिको न्युनिकरण , पूर्व तयारी, रोकथाम तथा नियन्त्रणका लागि सरकारले गर्ने क्रियाकलापहरुमा गैह्रसरकारी संस्थाहरुबाट भएका विपद् जोखिम न्युनिकरण सम्बन्धी आविष्कारहरुले ठूलो सहयोग पु¥याउने विश्वास व्यक्त गरे । कार्यक्रममा विभिन्न गैह्र सरकारी संस्थाहरुले विपद् जोखिम न्युनिकरणका लागि गरेको असल अभ्यास र अन्वेषणहरुबाट प्रश्तुती गरेका थिए ।

खोटाङ अस्पतालमा एक्स-रे सेवा बन्द, मारमा सेवाग्राही

खोटाङ । जिल्ला अस्पताल खोटाङमा सञ्चालित एक्स-रे सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका छन् । अस्पतालमा कार्यरत दुई जना रेडियोग्राफरमध्ये एक बुवाको उपचारका लागि भारत गएको र अर्का रेडियोग्राफर पारिवारिक समस्याका कारणले बिदामा बसेपछि एक्स-रे सेवा बन्द गरेको हो । अस्पतालमा कार्यरत ती कर्मचारी नभएपछि आइतबारदेखि मङ्सिर २९ गतेसम्मका लागि एक्स-रे सेवा बन्द गरिएको अस्पतालका निमित्त प्रमुख डा चतुरानन्द यादवले बताए । ‘अस्पतालमा दैनिक सरदर ६० जनाको एक्स-रे हुने गरेको छ,’ उनले भने, ‘अस्पतालमा कार्यरत दुवै जना रेडियोग्राफर बिदा गएपछि सूचना प्रकाशन गरेर एक्स-रे सेवा बन्द गरिएको हो ।’ जिल्लाको एकमात्र सरकारी अस्पतालको एक्स-रे सेवा बन्द भएपछि एक्स-रे गर्न आएका बिरामी अन्यत्र जान बाध्य भएका छन् । एक्स-रे गर्न जिल्ला अस्पताल पुग्दा पुस १ गते आउन भनेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका कम्पसेर राईले बताए । एक्स-रेकै कारण कतिपय बिरामी दिक्तेलकै फेमिली केयर अस्पतालमा गइरहेका छन् । बाहिर गएर एक्स-रे गर्दा निजी अस्पतालहरूले महँगो शुल्क लिने गरेको सेवाग्राहीको गुनासो आउन थालेको छ । वैकल्पिक व्यवस्थाका लागि केही रेडियोग्राफरलाई बोलाएको भए पनि जिल्ला अस्पतालको एक्स-रे मेसिन चलाउन नजानेको अस्पतालका निमित्त प्रमुख डा यादवले बताए । ‘एक्स-रे सेवालाई नियमित गराउन पहल भइरहेको छ,’ उनले भने, ‘सम्भवत चाँडै सञ्चालनमा आउनेछ ।’ जिल्ला अस्पतालको एक्स-रे सेवा बन्द भएको जनगुनासो आएपछि सोमबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई र उपप्रमुख विशन राईको टोलीले जिल्ला अस्पताल पुगेर समस्याका बारेमा जानकारी लिएका छन् । अस्पतलमा देखिएको समस्या समाधान गर्न नगरपालिकाको तर्फबाट पहल भइरहेको नगरप्रमुख भट्टराईले बताए । रासस

जुम्लाका गाउँमा बालविवाह र छाउपडीविरुद्ध सचेतना

जुम्ला । सामाजिक विकृतिका रुपमा रहेको बालविवाह र छाउपडी प्रथाविरुद्ध ‘आत्मसम्मानका लागि सहकार्य क्याड नेपाल जुम्ला’ले सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा संस्थाले बालविवाह, अपाङ्गहरुको हकअधिकार र छाउपडी प्रथाविरुद्धका क्षेत्रमा काम गरिरहेको छ । बालविवाह न्यूनीकरणका लागि पालिकास्तरमा रणनीतिक योजना निमार्णमा संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरेको संयोजक गिरीराज अधिकारीको दाबी छ । ‘हिमा गाउँपालिकामा महिला सञ्जाल, सिञ्जामा अपाङ्गता सञ्जाल र कनकासुन्दरी गाउँपालिकामा दलित समूहसँगको समन्वयमा घरेलु हिंसा, बालविवाह, छाउपडीविरुद्ध सचेतनाका कार्यक्रम सञ्चालन भइरहेको छ’, उनले भने । सुरक्षित विद्यालय, यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी चेतना, युवा, महिला, बालबालिकालाई स्थानीयस्तरमा रोजगारका अवसर एवं परिवर्तनका संवाहकमार्फत् सामाजिक विकृति हटाउने प्रयास भइरहेको उनको दाबी छ । रासस