शिकारीको निसानामा परेपछि दुर्लभ पन्छी हुचिल लोप हुँदै
उदयपुर । उदयपुरको पूर्वी क्षेत्रको बेलका तथा चौदण्डी गढीको पहाडी क्षेत्रको भीरपाखामा पाइने दुर्लभ पन्छी हुचिल लोप हुँदैगएको छ । वासस्थानको समस्या तथा शिकारीले शिकार गर्नेगरेका कारण हुचिल हिजोआज यस क्षेत्रबाट लोप हुँदैगएको छ । बेलका नगरपालिकाको मैनामैनीको सुघाचरी भिरपाखा, बोपताङ डाँडाको भिरपाखा, चम्पाकोट पाखा तथा चौदण्डी गढीको सिद्धीपुर र बेलकाको कटुन्जेबबलाको पाखा पहरातिर केही वर्ष अघिसमम व्यापक रुपमा पाइने हुचिल हिजोआज यस क्षेत्रमा पाइन छोडेको चौदण्डी बबलाका रामबहादुर मगरले बताए । ‘केही वर्ष अघिसम्म चौदण्डीको कटुन्जे बबलाको भिरपाखा तथा जङ्गल क्षेत्रमा हिउँद वर्षा दुवै याममा हुचिल जताजतै पाइन्थ्यो’, उनले भने । केही वर्षयता यसको शिकार हुन थालेको र केहीले यसको वासस्थानसमेत नष्ट गरेको पाइएको मगरको भनाइ छ । हुचिलको शिकार गर्न गोप्यरुपमा अन्यत्र जिल्लाबाट शिकारी आउनेगरेको उनले बताए । स्थानीयसँग मिलेर हुचिल शिकार गर्नेगरेको पाइएको मगरको भनाइ छ । बेलका नगरपालिका –५ को मैनामैनी क्षेत्रको बोपताङ डाँडापाखा क्षेत्र, चम्पाकोट तथा सुघाचरी भीरपाखामा समेत विगतमा धेरै सङ्ख्यामा हुचिल पाइन्थ्यो । स्थानीय मानबहादुर राई केही समय यता फाटफुट्ट मात्र देख्न सकिने बताए । ‘हिजोआज गाउँघरमा रातभरि नै हुचिल कराएको सुनिदैन’ उनले भने । हुचिल मार्न, पक्रन र पासो थाप्न यहाँ बाहिरबाट आउने गरेका स्थानीयवासी बताउँछन् । हुचिल जिउँदै अन्यत्र लगेर बिक्री गर्नेगरेको पाइएको छ । जिउँदो हुचिल रु २० हजारसम्ममा बिक्री हुनेगरेको छ । बेलका नगरपालिकाका पूर्व नगरप्रमुख दुर्गाकुमार थापा आफूले बेलकाको मैनामैनीको सुगाचरी भिर बोपताङ डाँडा र भिरमा पाइने दुर्लभ प्रजातिका गिद्धको संरक्षण र हुचिल संरक्षणको अभियान नै चलाएको बताए । ‘संरक्षण अभियानलाई निरन्तरता दिनुपर्छ’ उनले भने । रासस
नेपालको अर्थतन्त्र बढेन भने प्रत्येक नेपालीको आम्दानी घट्छ – वरिष्ठ उपाध्यक्ष ढकाल
काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले नेपालको अर्थतन्त्र बढेन भने आम्दानी घट्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ(नाफिज) को १३ औं वार्षिक साधारण सभा एवं छैटौं महासभामा बोल्दै उपाध्यक्ष ढकालले अर्थतन्त्र बढ्न नसक्दा आम नेपालीको आम्दानी घट्न सक्ने बताएका हुन् । अबको समयमा आर्थिक मुद्दा नै देशको मुख्य मुद्दा बन्ने अवस्था रहेको उनले बताएका छन् । काम गर्ने सिलसिलामा सरकारी मन्त्रालयहरुबीचमा आवश्यक समन्वय हुन नसकेको उनले बताएका छन् । साथै उपाध्यक्ष ढकालले नेपालमा धेरै अवसर हुँदा पनि काम गर्न नसकिएको बताए । ‘हामीसँग धेरै अवसर हुँदा पनि काम गर्न सकेका छैनौं’, उनले भने । कोभिड महामारीपछि निजी क्षेत्रले भोगेको पिडाको विषयमा उनले राज्यको ध्यानआकर्षण पुग्न नसकेको बताएका थिए ।
केन्द्रिय बैंकले निजी अर्थतन्त्र चलायमान बनाउनुपर्दछ : शेखर गोल्छा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले अर्थतन्त्रमा आन्तरिक र बाह्य कारणले बहुआयामिक प्रभाव परिरहेकाले तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व एवं मूल्य स्थिरताका लागि नेपाल राष्ट्र बैंकले विशेष पहल गर्नुपर्नेमा जोड दिएको छ । महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासङ्घका पदाधिकारी, प्रदेश च्याप्टरका अध्यक्ष र कार्यकारिणी समितिका सदस्य सम्मिलित प्रतिनिधिमण्डलले आज राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहितका उच्च अधिकारीलाई भेट गरी उक्त आग्रह गरेको हो । ‘नेपालको निजी क्षेत्र सम्भवतः हालसम्मकै कठिन अवस्थाबाट गुज्रिरहेको छ’, अध्यक्ष गोल्छाले भने, ‘ब्याजदर स्थायित्व, चालु पूँजी कर्जासम्बन्धी नयाँ व्यवस्थाको स्थगन आदि उपायका माध्यमबाट केन्द्रिय बैंकले निजी अर्थतन्त्र चलायमान बनाउनुपर्दछ ।’ उनका अनुसार मौद्रिक नीतिको समीक्षाले पनि समस्या समाधान गर्न सकेन । अर्थतन्त्र जोगाउ अभियानलाई महासङ्घले अगाडि बढाएको र यसक्रममा देशका प्रमुख राजनीतिक दलका शीर्षस्थ नेता, सरकार प्रमुख र अर्थमन्त्रीसमेतलाई भेटेर समस्या समाधान गर्न आग्रह गरेको र सोही क्रममा गर्भनरसमक्ष पनि भेटघाटका लागि आएको उनले स्पष्ट पारे । अर्थतन्त्रका महत्वपूर्ण आधारका रूपमा रहेको सिमेन्ट, डण्डी, घर जग्गा व्यवसाय, निर्माण, अटोमोबाइललगायतको क्षेत्रमा ६० प्रतिशतसम्म गिरावट आएकाले तत्काल यी क्षेत्रलगायत सिङ्गो निजी क्षेत्रलाई चलायमान बनाउने वातावरण बनाउन अध्यक्ष गोल्छाले गभर्नर अधिकारीसमक्ष आग्रह गरे । निक्षेपको ब्याजका कारण अन्य उपलब्धि नभई कर्जाको मात्रै ब्याज बढ्दा उद्यमी व्यवसायी प्रभावित छन् । बजारलाई नियन्त्रण गर्न सुरु भएको करिब एक वर्षको अवधिमा बहुआयामिक जोखिम बढेको हुँदा सरकार एवं केन्द्रीय बैंकले अर्थतन्त्र जोगाउन विभिन्न उपाय अपनाउन आग्रह गरे । निजी क्षेत्रको सुझाव, तरलता व्यवस्थापन एवं ब्याजदर स्थायित्व हो । मौद्रिक नीति समीक्षामार्फत वाणिज्य बैंकहरूको औसत ब्याजदर अन्तर चार दशमलव चार प्रतिशतबाट चार प्रतिशत तथा विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर अन्तर पाँच प्रतिशतबाट चार दशमलव छ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । यो व्यवस्थाले ब्याजदर बढ्नबाट रोक्ने सम्भावना बलियो देखिएकाले त्यसका लागि केन्द्रीय बैंकलाई धन्यवाद दिएको छ । भेटका अवसरमा गभर्नर अधिकारीले महासङ्घले दिएका सुुझाव अध्ययन गरी निर्णय गर्ने विश्वास दिलाए ।
दमकमा दीर्घरोगी र सुत्केरीलाई निःशुल्क रगत उपलब्ध गराइने
दमक । नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको छ । दमक नगरपालिका र रेडक्रसबीच सुत्केरी, पाँच वर्षमुनिका बालबालिका र दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको हो । रेडक्रसले ल्याब परीक्षण गरेबापत सेवा शुल्क नौ सय ५० लिने गरेको थियो । नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाका सभापति प्रकाश बुढाथोकीले सुत्केरी, नियमित रगत चढाउनुपर्ने र पाँच वर्षमुनिका बालबालिकाका लागि निःशुल्क उपलब्ध गराउने सहमति भएको जानकारी दिए । त्यसका लागि दमकमा स्थायी बसोबासको प्रमाण पेश गर्नुपर्ने छ । दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत शशी राई, दमक रेडक्रसका सभापति बुढाथोकी र पूर्वसभापति लिला गुरागाईंको उपस्थितिमा सहमतिपत्रमा हस्ताक्षर भएको हो । दमक रेडक्रसले रक्तसञ्चार र सर्पदंश उपचार सेवा सञ्चालन गर्दैआएको छ । रासस
पाल्पामा ढाका बुनाइले महिलालाई स्वरोजगार बनायो
पाल्पा । शान्ता उचै मगरलाई यतिबेला ढाकाका विभिन्न कपडा बुन्न भ्याइनभ्याइ छ । उनी फुर्सदको समय तानमा बसेर ढाकाका सारी, चोलो, ब्लाउज, पछ्यौरा, कुर्तालगायतका विभिन्न ढाका कपडा बुनेर बिताउन्छिन् । ढाका कपडा बुन्न थालेदेखि आफू स्वरोजगार बन्दै गएको उनले बताईन् । ‘बिहानको घरको कामधन्दा सकाएर फुर्सदको समयमा ढाका बुन्ने गरिरहेको छु, यस क्षेत्रमा लागेपछि समयको सदुपयोग र स्वरोजगार बन्ने अवसर मिलेको छ’, उनले भनिन्, ‘मैले सिकेको सीप अन्य महिलालाई पनि सिकाउने गरेको छु’ । उनी बिहान १० बजेदेखि साँझ ५ बजेसम्म ढाका बुन्नमा व्यस्त हुने गरेकी छन्। ढाका बुनेर एक महिनामा २० हजारसम्मको कमाइ हुने गरेको उनले बताईन् । जीवन जीउन पहिलेदेखि धेरै सङ्घर्ष गरिरहेकी उनी आफू मात्रै स्वरोजगार नभई गरिव, विपन्न, कामको खोजीमा रहेका अन्य महिलालाई पनि ढाका बुन्न सिकाउँदै स्वरोजगार बन्न प्रेरणा दिदै आएकी छन् । घामपानी खेप्नु नपर्ने उद्योगभित्र बसेर हातले बुनेर जीविकोपार्जन गर्न पाइने यो व्यावसाय महिलालाई धेरै सहज भएको उनको भनाई छ । घरेलु तथा साना उद्योग कार्यालय पाल्पा तथा स्थानीय ढाका उद्योगमा सीप सिकेकी उनी दुई वर्ष अघिदेखि पाल्पाको तानसेनस्थित स्वदेशी बस्त्रकला पाल्पाली ढाका टोपी उद्योगमा ढाका बुन्ने काम गर्दै आएकी छन् । सानो सीप भए पनि तल्लिन भएर निरन्तर काम गरियो भने ढाका बुनेर राम्रै कमाइ गर्न सकिने उनको अनुभव छ । तानसेन नगरपालिका १२ बौघापोखराथोककी धनी थापाले पनि अहिले एक वर्ष अघिदेखि ढाका बुनेर आफ्नो खर्च जुटाउन थालेकी छन्। दिनभर घरमै फुर्सदमा बिताउने थापालाई ढाका बुनाईले व्यस्त बनाएको छ । तानसेन बजारमा कोठा भाडामा लिएर ढाका उद्योगमा काम गर्ने अवसर पाउँदा उनमा आत्मबल बढ्दै गएको छ । माथागढी गाउँपालिका–३ सराईका खिमकुमारी गाहाले ढाका बुनाइलाई नै प्राथमिकता दिएर आठ वर्षदेखि निरन्तर काम गर्दै आएकी छन् । तानसेन बजारमा भाडामा बसेर दिउँसोको समय ढाका बुन्ने त्यसैबाट आर्जन गरेको रकमले परिवार पाल्ने गर्छिन् । आफूले यस क्षेत्रमा काम गर्न थालेपछि आर्थिक क्षेत्रमा अरुको निर्भर रहनु नपरेको गाहाको भनाई छ । उनले भनिन्, ‘हातमा सीप भयो भने जहाँ बसेर पनि जीवन धान्न सकिन्छ, ढाकाको सीपले मलाई आत्मनिर्भर बनाएको छ, दुई चार पैसाका लागि अरुसंग हात थाप्नुपरेको छैन, आफैँले कमाउन सुरु गरेपछि कसैको तनाव भएन ।’ तानसेन–६ बर्तुङ बस्ने सानु केसीको ढाका सारीमा नयाँ नयाँ बुट्टा, डिजाइन राखेर तयार पार्ने राम्रो कला छ । ढाकाका सबैजसो कपडा बुन्ने गरे पनि सारी बुन्न उनी बढी मन पराउन्छिन् । ढाका बुनाइसम्बन्धी तीन महिनाको सीप विकास तालिम लिएकी उनी तानमा बसेर ढाका बुन्न थालेपछि सीप वृद्धिसँगै आयआर्जनको क्षेत्रमा पनि अब्बल बन्दै गएको बताउन्छिन् । ‘पछिल्लो समय ढाकाका सारी प्रयोग गर्ने बढ्दै गएका छन्, ग्राहकको रोजाइअनुसार विभिन्न डिजाइन भरेर सारी तयार पार्ने गरेको छु, तानमा बसेर ढाका बुन्दा आनन्द लाग्दछ’, उनले भनिन्। रिब्दिकोट गाउँपालिका–६ ठिमुरेकी विष्णु पुलामी छोराछोरी पढाउन सदरमुकाम तानसेनमा भाडामा बस्दै आएकी छन् । दुई जना छोराछोरीको भविष्य उज्वल बनाउन उचित शिक्षाको खोजीमा पाल्पा सदरमुकाम तानसेनमा भाडामा बसेकी उनलाई ढाका कपडा बुनाइले भुलाएको छ । बिहान छोराछोरीको स्याहारसुसारमा व्यस्त रहने उनी छोराछोरीलाई स्कुल पठाएपछि दिउँसोको समय ढाका बुनाइमा खर्चने गरेकी छन् । उनका श्रीमान् शिक्षण पेसामा गाउँमै कार्यरत छन् । ढाका कपडा बुनाइमा संलग्न हुन थालेपछि सामान्य खर्चका लागि श्रीमानको हात थाप्नु नपरेको उनको भनाई छ ।
काभ्रे बस दुर्घटनामा मृतक १३ जनाको पहिचान खुल्यो
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मङ्गलबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाएका १७ मध्ये १३ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार मृत्यु हुनेमा बनेपा नगरपालिका–११ की ७९ वर्षीया निर्मला तामाङ, ११ वर्षीय योगेश तामाङ, ५० वर्षीय अंकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, १० वर्षीय पुष्कर तामाङ, २५ वर्षीया कोपिला तामाङ र ६ वर्षीया श्रेया तामाङ रहेका छन् । त्यस्तै बनेपा नपा–१४ का ३९ वर्षीय राजकुमार तामाङ, २८ वर्षीया गीता श्रेष्ठ, मण्डनदेउपुर नपा–१ का ३७ वर्षीया जेली तामाङ, धुलिखेल नपा–११ का ३० वर्षीय बुद्ध तामाङ र बेथानचोक गाउँपालिका–५ की ३२ वर्षीया मञ्जु तामाङको पनि सो बस दुर्घटनामा मृत्यु भएको छ । यस्तै बस चालक ललितपुरको महाँकाल–४ घर भई हाल पनौती नपा–४ बस्ने २२ वर्षीय सन्तोष तिमल्सिनाको पनि दुर्घटनामा मृत्यु भएको जोशीले जानकारी दिए । घाइते केहीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । मृतकमध्ये चार जनाको नाम खुल्न बाँकी छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बस अत्यधिक गतिमा गुडेर दुर्घटना भएको हो । बस सडक मोडको भित्तामा ठोक्किएपछि दुर्घटनाग्रस्त भएको थियो । बसमा सवार ३९ यात्रु सवार थिए । घाइतेको धुलिखेल अस्पताल, बनेपास्थित शिर ममोरियल अस्पताल, मध्यपुर ठिमी अस्पताल, वीर अस्पताल, न्यूरो अस्पताल बाँसबारीलगायतमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् । बा३ख ४३८५ नम्बरको रिजर्भ बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । मृत्यु भएकामध्ये सात जना बनेपाको एउटै वडाका छन् । बनेपा नगरपालिका–११ का कुमार तामाङको नातिको व्रतबन्धमा बेथानचोक गाउँपालिका–५ च्याल्टी पुगेर फर्किंदै गरेको बस दुर्घटनामा परेको हो । रासस
विश्वकप फुटबल प्रतियोगिता : फ्रान्स र मोरक्कोबीच दोस्रो सेमिफाइनल हुने
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गतको दोस्रो सेमिफाइनल खेल साविक विजेता फ्रान्स र मोरक्कोबीच हुनेछ । कतारको दोहास्थित अल बायत रङ्गशालामा उक्त खेल आज राति १२ः४५ बजे सुरु हुनेछ । फ्रान्स मोरक्कोलाई पराजित गर्दै लगातार दोस्रो पटक विश्वकपको उपाधि जित्न चाहन्छ । फ्रान्स क्वाटरफाइनलमा इङ्ग्ल्यान्डलाई २–१ गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो । अफ्रिकी राष्ट्र मोरक्को भने विश्वकपमा पहिलो पटक सेमिफाइनलमा पुगेको हो । मोरक्को फ्रान्सलाई पराजित गर्दै एतिहासिक उपलब्धि हासिल गर्न चाहन्छ । यी दुई टोलीबीच विश्वकपमा पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो । क्वाटरफाइनलमा पोर्चुगललाई १–० गोलले हराएर मोरक्कोले सेमिफाइनलमा स्थान बनाएको हो । आजको विजेताले उपाधिका लागि फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ । गए राति अर्जेन्टिनाले क्रोएसियालाई ३–० गोलले हराएर फाइनल यात्रा तय गरेको छ ।
अनलाइन जुवा र सट्टेबाजी गर्नेको बैंक खाता र विद्युतीय कारोबार रोक्ने राष्ट्र बैंक चेतावनी
काठमाडौं । नेपाल राष्ट्र बैंकले अनलाइन जुवा नखेल्न निर्देशन दिएको छ । विश्वकप फुटबल सुरु भएपछि विद्युतीय भुक्तानीमा शंकास्पद कारोबारहरु देखिन थालेपछि राष्ट्र बैंकले सूचना नै जारी गरेर अनलाइन जुवा तथा बेटिङ कार्यमा सहभागी नहुन अनुरोध गरेको हो । ‘विद्युतीय भुक्तानी कारोबार मार्फत जुवा तथा बाजी लगायतका कार्यमा कोही संलग्न भएको पाइएमा सम्बन्धित व्यक्ति/समुह/संस्थालाई कानूनी कारबाही हुने तथा निजहरुको बैंक खाता, मोबाइल वालेट लगायतबाट हुने कारोबारहरु रोक्का गरिनेछ,’ राष्ट्र बैंकले भनेको छ । राष्ट्र बैंकले अनलाइन जुवाहरुको भुक्तानी नहुने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्था, मोबाइल बैंकिङ सेवा प्रदायक, मोबाइल वालेटहरुलाई पनि निर्देशन दिएको हो । विश्वकप फुटवल लक्षित अनलाइन जुवा तथा बेटिङ सञ्चालन गर्ने क्रम बढेपछि राष्ट्र बैंकले नियमनको प्रक्रिया थालेको हो । ‘जुवा तथा बाजीजन्य कार्यहरु गैर कानूनी हुन्, यस्ता प्रकृतिका कारोबारहरुमा सहभागी नहुन सर्वसाधारणमा सूचित गरिन्छ, विद्युतीय भुक्तानी कारोबार मार्फत जुवा तथा बाजी लगायतका कार्यमा कोही संलग्न भएको पाइएमा सम्बन्धित व्यक्ति समूहरसंस्थालाई कानूनी कारबाही हुने तथा निजहरुको बैंक खाता, मोबाइल वालेट लगायतबाट हुने कारोबारहरु रोक्का गरिनेछ,’ राष्ट्र बैंकको सूचनामा उल्लेख छ । जुवा तथा बाजीजन्य गैर कानूनी कार्यहरुको भुक्तानी बैंक खाता, मोबाइल बैंकिङ्ग, मोबाइल वालेट लगायतका माध्यमबाट हुन नदिने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले इजाजत र अनुमतिपत्रप्राप्त संस्थाहरुलाई निर्देशन दिएको छ । कसैले विद्युतीय भुक्तानीका माध्यमवाट जुवा तथा बाजीजन्य कार्य गरेको थाहा भएमा जानकारी गराउन पनि राष्ट्र बैंकले अनुरोध गरेको छ ।