एकैदिन एक हजार रुपैयाँ बढ्यो सुनको मूल्य
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला एक लाखमा कारोबार भएको सुन हजार रुपैयाँले बढेर १ लाख १ हजार तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ५०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार ५०० रुपैयाँ थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार ४०० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।
प्राविधिक शिक्षाले विद्यार्थीको रोजाइमा पर्न थाले सामुदायिक विद्यालय
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो छ । सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा अध्यापन सुरु भएपछि क्रमिकरुपमा बढेको विद्यार्थीको आकर्षण प्राविधिक शिक्षाको सुरुआतपछि थप बढेको हो । मध्यविन्दु नगरपालिका–७ चोरमारास्थित नवजागरण नमूना माध्यमिक विद्यालयमा पछिल्लो पाँच वर्षमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या दोब्बर भएको छ । विसं २०७४ मा आठ सय २२ विद्यार्थी अध्ययन गर्ने यस विद्यालयमा अहिले एक हजार छ सय ६० भन्दा बढी अध्ययन गर्छन् । यहाँ जिल्लाका सामुदायिक विद्यालयमध्ये सबैभन्दा बढी विद्यार्थी अध्ययन गर्छन् । पाँच वर्ष अगाडि विकास गुरुयोजना निर्माण गरेर पाँच वर्षभित्रमा विद्यार्थी सङ्ख्या दोब्बर बनाउने योजनासहित अगाडि बढेको विद्यालयले आफ्नो लक्ष्यअनुसारको सफलता हासिल गरेको प्रधानाध्यापक हरिप्रसाद देवकोटाले बताए । ‘विद्यालयको भौतिक र शैक्षिक अवस्थामा सुधार गर्दै करिब दुई हजारसम्म विद्यार्थी अध्यापन गराउने योजना छ’, उनले भने, ‘लक्ष्यअनुसार प्रगति हुँदै गएको छ ।’ विसं २०२९ मा निम्न माध्यमिक तहसम्मको अनुमति प्राप्त गरेर स्थापना भएको सो विद्यालयले २०३८ सालमा माध्यमिक तह अध्यापनको सुरुआत गरेको थियो । विसं २०४० मा विद्यालयले माध्यमिक तहको अनुमति प्राप्त गरेको हो । उच्च शिक्षाका लागि साविकको तमसरिया गाविससहित आसपास क्षेत्रका विद्यार्थी कावासोती वा अन्य जिल्ला पुग्नुपर्ने बाध्यतालाई ध्यानमा राख्दै २०५७ सालमा उच्च माध्यमिक तहसम्मको अध्यापन अनुमतिको लागि प्रक्रिया सुरुआत गरेको थियो । सोही वर्ष उच्च माध्यमिक तह अध्यापन अनुमति प्राप्त गरेको विद्यालयले सोही वर्षदेखि कक्षा ११ को पढाइ सुरुआत गरेको थियो । विसं २०६० को दशकमा सामुदायिक विद्यालयप्रति अभिभावकमा देखिएको वितृष्णा र समय अनुकूल शिक्षालाई ध्यानमा राख्दै विद्यालयले २०६६ सालमा अङ्ग्रेजी माध्यममा अध्यापन सुरुआत गरेको थियो । त्यसपश्चात् क्रमशः विद्यालयमा विद्यार्थी सङ्ख्यामा बढोत्तरी हुँदै आएको प्रधानाध्यापक देवकोटा बताउछन् । पञ्चवर्षीय गुरुयोजना निर्माणपछि विद्यालयमा विद्यार्थीको आकर्षण थप बढेको हो । स्थापनाको ५० वर्ष पूरा गर्दा जिल्लाकै उत्कृष्ट शैक्षिक संस्था र सबैभन्दा बढी विद्यार्थी अध्ययन गर्ने विद्यालयको रुपमा आफूलाई स्थापित गर्नसक्ने अवस्थासम्म आइपुग्दा संस्थापकदेखि हालसम्म विभिन्न व्यक्ति, संस्थाको भूमिका महत्वपूर्ण रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिन्दु काफ्लेले बताइन् । यही मङ्सिर २९ देखि पुस ४ गतेसम्म विद्यालयले आफ्नो स्वर्ण महोत्सव मनाउँदैछ । रासस
सरकारले निजी क्षेत्रलाई आर्थिक विकासको साझेदारका रुपमा लिएको छ – अर्थमन्त्री शर्मा
काठमाडौं । सरकारले निजी क्षेत्रलाई आर्थिक साझेदारका रुपमा लिएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । आर्थिक पत्रकार संघ(नाफिज) को कार्यक्रममा बोल्दै अर्थमत्री शर्माले सो कुरा बताएका हुन् । ‘निजी क्षेत्रलाई सरकारले आफ्नो अभिन्न अंगका रुपमा लिएको छ, उनले भने, ‘निजी क्षेत्रलाई सरकारले आर्थिक विकासको साझेदारका रुपमा लिएको छ ।’ प्राकृतिक विपत्तिको सामना गर्दै सकारात्मक रुपले अर्थतन्त्र अगाडि बढीरहेको बताउँदै अर्थमन्त्री शर्माले अब अर्थतन्त्रलाई गुणात्मक रुपमा बढाउनुपर्ने बताए । कार्यक्रममा बोल्दै उनले उत्पादन मुखी अर्थतन्त्रलाई जोड दिनुपर्ने बताए । ‘आयात भइरहेको छ, उत्पादन भइरहेको छैन, कार्यान्वयन क्षमता आजको आवश्यकता हो, उत्पादनमुखी अर्थतन्त्रलाई जोड दिनुपर्छ’, अर्थमन्त्री शर्माले भने । उनले पर्यटन, सूचना र जलविद्युतको क्षेत्रलाई बढावा दिँदै अगाडि बढनुपर्ने बताए ।
लाभांश पारित गर्न गरिमा विकास बैंकले पुस २२ गते बोलायो साधारणसभा
काठमाडौं । गरिमा विकास बैंकले पुस २२ गतेको लागि वार्षिक साधारणसभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई दिने लाभांश पारित गर्न साधारणसभा बोलाएको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । साधारणसभाले प्रस्ताव पारित गरेपछि सेयरधनीले लाभांश पाउनेछन् । यसको लागि बैंकले पुस ८ गते एक दिनको लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस ७ गते नेपाल स्टक एक्सचेन्जमा कारोबार भएका बैंकका सेयरधीले मात्र लाभांश पाउनेछन् ।
बाँकेमा मागको एक तिहाइ मात्रै मल मौज्दात
नेपालगञ्ज । बाँकेमा हिउँदे यामका लागि तीन हजार मेट्रिक टन युरिया मलको आवश्यकता छ। तर, कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङमा गरी एक हजार मेट्रिक टनभन्दा कम युरिया मल मात्रै मौज्दात छ। यो मागको एक तिहाइ मात्रै हो। जिल्लामा हालसम्म नौ सय ८२ मेट्रिक टन मल मात्रै आएको कृषि सामग्री कम्पनी लिमिटेड, नेपालगन्जका प्रमुख रमेशकुमार पौडेलले जानकारी दिए। उनका अनुसार हालसम्म साल्ट ट्रेडिङबाट एक सय ३१ दशमलव आठ मेट्रिक टन युरिया मल मात्रै किसानसम्म पुगेको छ। साल्ट ट्रेडिङले केही दिनअघि बिक्री सुरु गरे पनि कृषि सामग्री कम्पनी लिमिटेडले सोमबारदेखि सहकारीलाई मल उपलब्ध गराउन सुरु गरेको पौडेलले बताए। हालसम्मको अवस्था हेर्दा यस पटक पनि बाँकेमा मलको अभाव हुने देखिएको छ। मागको ३० प्रतिशत मात्र मल आउँदा सबै किसानले नपाउने अवस्था छ। व्यक्तिगत प्रयोगका लागि भारतीय बजारबाट मल ल्याउने किसानलाई सहजीकरण गर्न प्रशासनसँग अनुरोध गरिएकाले केही राहत हुने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ। कृषि सामग्रीले कोहलपुर नगरपालिका, राप्तीसोनारी, डुडुवा, बैजनाथ, खजुरा र नरैनापुर गाउँपालिकाका सहकारी संस्थालाई मल वितरण सुरु गरेको छ। जानकी गाउँपालिका र नेपालगञ्जका सहकारी संस्थालाई पनि छिट्टै मल वितरण गरिने कृषि सामग्री कम्पनीले जनाएको छ। बाँकेमा वार्षिक सात हजार मेट्रिक टन युरिया र दुई हजार पाँच सय मेट्रिक टन डिएपी मलको माग रहेको छ। हालसम्म साल्ट ट्रेडिङमा सात सय एक मेट्रिक टन मल आएको छ। उक्त मल गहुँ लगाउने बेला उपलब्ध हुने अवस्था नरहेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ। साल्ट ट्रेडिङमा हिउँदे यामका लागि एक सय ७५ मेट्रिक टन डिएपी मलको कोटा रहेकामा हालसम्म ७७ दशमलव ८५ मेट्रिक टन मात्र आएको छ। रासस
नारायणगढ–मुग्लिन सडकखण्डका पुल बनाउन अझै एक वर्ष लाग्ने
नारायणगढ । नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माण गर्न अझै एक वर्ष लाग्ने देखिएको छ । पाँच पुल सञ्चालनमा आएका छन् । आगामी असारसम्ममा १० पुल निर्माण सक्ने गरी काम अघि बढाइएको नागढुङ्गा मुग्लिन सडक आयोजना पश्चिम खण्ड नारायणगढ–मुग्लिनका आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए । विसं २०७६ चैत १० गते ३३ महिनामा पुल सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । यही पुस ९ गते सम्झौताको अवधि सकिँदै छ । उनले भने, ‘कोभिड–१९ का कारण समयमा काम सकिएन, अझै एक वर्ष लाग्ने देखिन्छ ।’ घरटहरा हटाउन र भित्तो काट्नुपर्ने ठाउँमा काम जटिल भएकाले समय धेरै लाग्ने देखिएको हो । समय थपका लागि फाइल विभागमा पठाइएको कार्की बताउछन् । विश्व बैंकको ऋण सहयोगमा पुल निर्माण गर्न लागिएको हो । चार पुल बनाउने ठाउँमा सडकको भित्तो काट्नुपर्ने भएकाले आगामी पुस ५ गतेदेखि दिउँसोमा सडक बन्द गरी काम गर्न लागिएको छ । सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोला पुल निर्माण गर्दा सडकको भित्तो काट्नुपर्ने भएको छ । भौगोलिकरुपमा असहज ठाउँमा रहेका कारण सवारी आवागमन रोक्नु परेको हो । कार्कीका अनुसार विश्व बैंकको ऋण सहयोग भएकाले सडक छेउमा बसोबास गर्नेको व्यवस्थापन अर्को चुनौती छ । त्यहाँबाट हटाउँदै गर्दा घरटहरामा बसोबास गर्नेलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ । उनका अनुसार पुल बनाएर सञ्चालन गर्ने क्रममा २६ घरटहरा भत्काउनुपर्ने हुन्छ । जसका लागि एक करोड रुपैया बजेट माग गरिएकोमा त्यो बजेट आइनपुगेकाले घरटहरा भत्काउने काम रोकिएको छ । असारसम्ममा १३ पुल सम्पन्न गर्ने गरी काम भइरहेको उनी बताउछन् । तीमध्ये सेतीदोभान, डुम्रे, तोपे, लामो बालुवा र खहरे २ को पुल तीन महिनाभित्रमा सम्पन्न हुने कार्कीको भनाइ छ । तुइन र जुगेडी पुललाई थप केही समय लाग्ने उनले जानकारी दिए । सो सडक विस्तारको कामसँगै साँघुरा पुल भएका ठाउँमा नयाँ पुल निर्माण गर्न लागिएको हो । हाल सो सडक नौदेखि ११ मिटर फराकिलो छ । ती पुललाई दुई भागमा विभाजन गरेर ठेक्का लगाइएको छ । प्याकेज–१ मा मुग्लिनबाट यताका खहरे, चिम्पान्जी, तुइन, काली, टोपे, न्याम्सी र रिद्धीखोला गरी सात पुल छन् । प्याकेज–२ मा जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभान खोल गरी आठ पुल छन् । प्याकेज–१ को कूल ठेक्का रकम ६७ करोड ९९ लाख रुपैया छ । पुल र नक्साङ्कनका लागि मात्र ५८ करोड ४० लाख छ भने अन्य रकम पोल सार्ने, बाटो फराकिलो बनाउने, नदी नियन्त्रण लगायतमा खर्च हुने आयोजनाले जनाएको छ । दोस्रो प्याकेजको कूल ठेक्का रकम ५९ करोड पाँच लाखमध्ये नक्साङ्कन र पुलका लागि ४९ करोड ६० लाख हो भने बाँकी रकम अन्य काम गर्ने गरी ठेक्का लगाइएको हो । दुवै ठेक्काको काम अनक कन्स्ट्रक्सनले गरिरहेको छ । पुलको गाडी हिँड्ने ठाउँ सात दशमलव पाँच मिटर फराकिलो हुनेछ । दुवैपट्टि एक दशमलव पाँच मिटर फराकिला फुटपाथ र २५ सेन्टिमिटर रेलिङका लागि छुट्याइएको छ ।
अर्थतन्त्रमा देखिएको समस्या नेपालमा मात्रै होइन, विश्वभरी नै छ – गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक क्षेत्रमा देखिएको समस्या नेपालमा मात्रै नभएर विश्वभरी नै भएको बताएका छन् । बुधबार आर्थिक पत्रकार संघ(नाफिज)को कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले बजार र निजी क्षेत्र समस्यामा रहेको बताएका हुन् । ‘बजार निजी क्षेत्र प्रताडित छ, यो नेपालमा मात्र होइन विश्वभरको समस्या हो’, गर्भनर अधिकारीले बताए । अन्तरबैंक स्प्रडेदर घटिरहेको र तरलतामा केही सहजता हुने उनले बताए । रिफाइनान्समा ७०/८० मा आउने र त्यसले पनि बैंकहरुलाई केही असहज हुने उनले बताए । पछिल्लो समयमा रेमिट्यान्स आप्रवाह बढेको गर्भनर अधिकारीले बताए । वित्तीय क्षेत्रमा विकृति भएको त्यसले थप समस्या बढाउन सक्ने बताउँदै उनले राष्ट्र बैंकले आफ्नो काम गरिरहेको बताए ।
गुराँस लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पुँजीको ४.२१ प्रतिशत लाभांश घोषणा गरेको हो । मंसिर २७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ४ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ ।