राष्ट्रिय वाणिज्य बैंकको लाभांश घोषणा, १ अर्ब पूँजी वृद्धि गर्ने
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक बर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव सहित १७ औँ वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको छ । बैंकको वार्षिक साधारण सभा पुस २८ गते राष्ट्रिय वाणिज्य बैंकको सभाहल दरबारमार्ग काठमांडौमा दिउँसो २ बजे बोलाएको हो । बैंकले गत आर्थिक बर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद गरी कुल १२.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले हालसम्म सर्वसाधारणका लागि सेयर जारी गरेको छैन भने सरकारको पूर्ण स्वामित्व रहेको छ । बैंकको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरण र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ । बैंकको चुक्ता पूँजी १३ अर्ब ९४ करोड ३ लाख ५९ हजार ९९ रुपैयाँ रहेको छ । नेपाल सरकारबाट बैंकको सेयर पूँजीमा लगानी बापत प्राप्त रकम १ अर्ब बैंकको जारी पूँजी र चुक्ता पूँजीमा थप गर्नेछ । स्वतन्त्र सञ्चालकको नियुक्ति सम्बन्धमा साधारण सभामा जानकारी प्रदान गर्नेछ ।
इतिहास रच्दै उदायो सूर्यज्योति लाइफ, देशकै उत्कृष्ट बन्ने, सेयरधनीलाई उच्च प्रतिफल दिने
काठमाडौं । जीवन बीमा व्यवसाय गर्दै आएका ज्योति लाइफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्स आजबाट एक हुँदै छन् । मर्जर प्रकृयामा रहेका दुबै कम्पनीले आज (पुस ७ गते) बाट एकीकृत कारोबार शुरु गरी औपचारिक रुपमा एक हुन लागेका हुन् । दुई कम्पनीबीचको यो मर्जर जीवन बीमा क्षेत्र कै पहिलो हो । जसले जीवन बीमा क्षेत्रमा नयाँ इतिहास राख्न सफल भएको छ । यद्दपि, बीमा क्षेत्रमा भने यो तेश्रो मर्जर हो । ज्योति लाइफ र सूर्या लाइफ मर्जरपश्चात सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्दै छन् । मर्जरमा जान गत असार १२ गते प्रारम्भिक समझदारी गरेका यी दुई कम्पनी एक बराबर ०.८२४५ को अनुपातको रेसियोमा मर्ज भएका हुन् । त्यसैगरी, कम्पनीको सञ्चालक समितिको अध्यक्षमा केशब प्रसाद भट्टराई हुनेछन् । प्रमुख कार्यकारी अधिकृत (सीईओ) भने ज्योति लाइफका प्रकाश बिक्रम खत्री र सूर्या लाइफका सीईओ पवन कुमार खड्का वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत भएका छन् । हाल ज्योति लाइफ इन्स्योरेन्सको २ अर्ब ४२ करोड रुपैयाँ र सूर्या लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ५५ करोड रुपैयाँ छ । १ बराबर ०.८२४५ को अनुपातमा मर्ज भएपश्चात बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी करिब ४ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । जुन प्राधिकरणले तोकेको न्यूनतम पुँजीभन्दा कम हो । बाँकी पुँजी भने कम्पनीले बोनस या हकप्रद सेयर मार्फत पुर्याउने योजना बनाएको छ । यस्तो बन्यो सूर्यज्योति लाइफ मर्जपछि सूर्यज्योति लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी साढे ४ अर्ब नाघेको छ । जुन १ बराबर ०.८२४५ को स्वाप रेसियोमा समायोजन पश्चात कायम भएको पुँजी हो । जीवन बीमा कोषको आकार बढेर २१ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । पछिल्लो तथ्यांकअनुसार सूर्या लाइफको १४ अर्ब ९२ करोड र ज्योति लाइफको जीवन बीमाकोषको आकार ७ अर्ब ४ करोड रुपैयाँ छ । त्यस्तै, कूल प्रिमियम अर्थात बीमाशुल्क २ अर्ब ८९ करोड रुपैयाँ रहेको छ । जसमा सूर्या लाइफको एक अर्ब ७१ करोड र ज्योति लाइफको १ अर्ब १८ करोड रुपैयाँ छ । कार्त्तिकसम्म सूर्या लाइफले ५३ करोड १८ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ भने ज्योति लाइफले ४१ करोड ३८ लाख रुपैयाँ संकलन गरेको छ । त्यस्तै, मर्जपछि बनेको कम्पनीको प्रथम बीमाशुल्क ९४ करोड ५६ लाख रुपैयाँ हुने छ । यसैगरी जगेडा कोषको आकार बढेर करिब पौने २ अर्ब पुगेको छ । हाल सूर्याको ७१ करोड २२ लाख र ज्योतिको १ अर्ब ३ करोडको जगेडा कोष छ । त्यस्तै, सूर्यज्योति लाइफको बीमालेख संख्या कूल ४ लाख ४३ हजार नाघ्ने छ । जीवन बीमा योजना कूल २५ वटा, शाखा संख्या २३१ र कर्मचारी संख्या (समायोजन नभए) ६३४ पुगेको छ । हाल सूर्या लाइफको मोरङको विराटनगर महानगरपालिका ७ मा रजिष्टर्ड कार्यालय र काठमाडौंको सानो गौचरनमा कर्पोरेट कार्यालय छ भने ज्योति लाइफको पोखरा महानगरपालिका ९ मा रजिष्टर्ड कार्यालय र काठमाडौंको ज्ञानेश्वरमा कर्पोरेट कार्यालय छ । यसकारण भए मर्ज नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण (साविकको बीमा समिति) बाट जीवन बीमा कम्पनीहरुले २०७९ चैत मसान्तसम्ममा चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्याउने पर्ने निर्देशनसँगै दुई कम्पनी एक आपसमा मर्जरमा जान तयार भएका हुन् । चुक्ता पुँजी पुर्याउनको लागि मर्जरको बाटो राजेका दुबै कम्पनीले प्रारम्भिक सम्झौता गरी २०७९ कार्त्तिक ४ गते अन्तिम सम्झौता गरेका हुन् । दुई कम्पनीले २०७९ मंसिर महिनाभित्र नै एकीकृत कारोवार शुरु गर्ने गरी समझदारी गरेका थिए । तर कम्पनी रजिष्ट्रारको कामले गर्दा पुसको पहिलो सातासम्म लम्बिन पुगेको कम्पनीका सीईओ प्रकाश बिक्रम खत्री बताउँछन् । उत्कृष्ट जीवन बीमा कम्पनी बन्ने मर्जरपश्चात बन्ने कम्पनी एक उत्कृष्ट जीवन बीमा कम्पनीको रुपमा स्थापित हुनेमा कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई विश्वस्त छन् । अध्यक्ष दुबै कम्पनी एक आपसमा गाभिए पश्चात् विशेष रणनीतिक योजनाहरुको बनाई त्यसको प्रभावकारी कार्यान्वयन गरी जीवन बीमा क्षेत्रमा देशकै एक अग्रणी संस्थाका रुपमा स्थापित हुने उनको लक्ष्य छ । ‘बीमा बजारको आवश्यकता अनुसारका नयाँ र प्रभावकारी जीवन बीमा योजनाहरु ल्याउने, कम्पनीको जीवन बीमा व्यवसायको विकासमा प्रत्यक्ष भूमिकामा रहेका अभिकर्ताहरुको संख्या वृद्धि तथा दक्षता अभिवृद्धि गर्न थप जोड दिन्छौं । देशव्यापी रुपमा अभिकर्ता तथा कर्मचारीहरुको लागि तालिम कार्यक्रम तथा पुनर्ताजगीकरण कार्यक्रमहरु सञ्चालन गर्ने, अभिकर्ताहरुको क्रियाशिलताका लागि बजार विभाग सम्बद्ध शाखा तथा कर्मचारीहरुलाई परिचालन गर्ने कार्यलाई थप प्रभावकारी बनाउँछौं,’ अध्यक्ष भट्टराईले भने । त्यस्तै, बीमा व्यवसायबाट कम्पनीका बीमित तथा लगानीकर्ता शेयरधनीहरुलाई उच्च प्रतिफल दिन अधिकतम प्रयास गरिने उनले बताए । कम्पनीको व्यवसाय अझै विस्तार गर्नुका साथै बीमा व्यवसायको पहुँच दूरदराज र ग्रामीण भेगसम्म विस्तार गर्ने, नवीन तथा आधुनिक प्रविधिको प्रयोगमा विशेष जोड दिने उनको भनाई छ । त्यस्तै, कम्पनीका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का पनि दुई कम्पनी मर्जपश्चात जीवन बीमा क्षेत्रको एक सबल, उत्कृष्ट तथा अग्रणी कम्पनीको रुपमा अगाडि बढ्नेमा विश्वस्त छन् । यता कम्पनीका सीईओ प्रकाश बिक्रम खत्रीले पनि कम्पनीलाई नयाँ उचाईंमा पुर्याउने प्रतिवद्धता गरेका छन् ।
नेपाल टेलिकमको ४० प्रतिशत लाभांश घोषणा, डाक्यो साधारण सभा
काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले सेयरधनीहरुलाई लाधांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले गत बर्षको नाफाबाट सेयरधनीहरुलाई ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक बर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत नगद लाभांश मात्र वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न सञ्चालक समितिको बैठकले १५ औँ वार्षिक साधारण सभा पुस २८ गते राष्टिय सभागृह, काठमांडौमा बिहान १० बजेद बोलाएको छ । सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरण र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोक्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १८ गतेदेखि पुस २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा सहभागी भइ लाभांश प्राप्त गर्न सक्नेछन् ।
कालिका पावरको १५.७९ प्रतिशत लाभांश घोषणा
काठमाडौं । कालिका पावर कम्पनीले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको पुस ६ गते बसेको संचालक समितिको बैठकले सेयरधनीहरुलाई १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद गरी कूल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साथै कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण पुस २८ गते शुक्रवार, बिहान ११ बजे, भरतपुर चितवनमा बोलाएको हो । कम्पनीको हाल कायम चुक्ता पूँजी ६९ करोड रुपैयाँको १० करोड ३५ लाख रुपैयाँको बोनस सेयर र ५४ लाख ४७ हजार ५५० रुपैयाँ नगद लाभांस वितरण गर्न स्वीकृत गर्नेछ । कम्पनीको सभाले प्रबन्धपत्रको दफा र नियमावलीको नियम संसोधन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा नियमाकबाट थपघट परिवर्तन वा संशोधनको निर्देशन भएमा सोही बमोजिम गर्नका लागि संचालक समितिलाई अख्तियारी दिनेछ । कालिका कन्स्ट्रक्सनअन्तर्गतको गोरखाको दरौदी खोलामा प्रस्तावित माथिल्लो दरौदी वि. साना जलविद्युत आयोजना (८.३ मेगावाट) र माथिल्लो दरौदी सि.साना जलविद्युत आयोजना (९.८२ मेगावाट) खरीद गर्ने निर्णय लिन संचालक समितिलाई अख्तियारी दिनेछ । यस्तै, संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०७९÷८० का लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संचालक समितिले गत वर्ष गरेका निर्णयहरु र कम्पनीको सर्वसाधारण सेयरधनी समुहमा प्रतिनिधित्व हुने २ जना संचालक र १ जना स्वतन्त्र संचालकको निर्वाचन गर्नेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा सहभागी भइ लाभांश प्राप्त गर्न सक्नेछन् ।
लाभांश पारित गर्न हिमालयन बैंकले डाक्यो साधारण सभा, सिभिललाई १००:८०.२८ अनुपातमा गाभ्ने
काठमाडौं । हिमालयन बैंकले ३० औं वार्षिक साधारण सभा पुस २८ गते बिहान ११ बजे होटल सोल्टी काठमाडौंमा बोलाएको हो । पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले आफेनो वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो । बैंकको सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ साल असार मसान्तको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, सहायक कम्पनी हिमालयन क्यापिटलको आर्थिक वर्ष २०७८÷७९ को वित्तीय विवरण सहितको एकिकृत वित्तीय विवरण, सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा एक जनाको निर्वाचन र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्नेछ । बैंकको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजी १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार ७२५ रुपैयाँको ८ प्रतिशत अर्थात् १ अर्ब ३ करोड ७४ लाख ९८ हजार ५८ रुपैयाँ बोनस सेयर र कर प्रयोजनाका लागि ११.११ प्रतिशत अर्थात् १ अर्ब ४४ करोड ८ लाख २५ हजार ४२८ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैकले आर्थिक वर्ष आर्थिक वर्ष २०७८/७९ मा संस्थागत सामाजिक उत्तरदायित्व सीमाभन्दा माथि सहयोग गरेको कुल रकम १ करोड २७ लाख १७ हजार २२४ रुपैयाँ अनुमोदन गर्नेछ । सभाले सिभिल बैंकलाई प्राप्ति गर्ने प्रयोजनका लागि भएको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कनकर्ताको नियुक्ति, उक्त मूल्याङ्कनकर्तालाई भुक्तानी गरिएको पारिश्रमिक, सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन, समझदारी पत्र तथा अन्तिम सम्झौतापत्र लगायतका सम्पूर्ण कामकारवाहीहरूलाई स्वीकृति प्रदान गर्नेछ । हिमालयन बैंकले १ सय सेयर बराबर ८०.२८ सेयर स्वाप रेसियो अनुपातमा सिभिल बैंकलाई प्राप्ति गर्नेछ । सिभिल बैंकको १ सय कित्ता सेयर बराबर हिमालयन बैंकको ८०.२८ कित्ता सेयर प्राप्त गर्नेछन् । दुबै संस्थाको सम्पत्ति, दायित्व तथा कारोवारको मूल्याङ्कन प्रतिवेदन तथा व्यावसायिक अवसरहरू, व्यावसायिक प्रतिष्ठा, कर्मचारीहरूको योग्यता, क्षमता, दक्षता तथा कार्यकुशलता, बजार उपस्थिती, मुनाफा वितरणको इतिहास, पछिल्लो सेयरबजार मुल्य समेतका विषयहरूको आधारमा सेयर आदान प्रदान अनुपात निर्धारण गरिएको हो । सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् बैंकको जारी तथा चुक्ता पूँजी वृद्धि हुने तथा संस्थापक तथा सर्वसाधारण सेयरधनीहरूको सेयर स्वामित्व प्रतिशत समेत परिवर्तन हुने भएकोले सोही बमोजिम बैंकको प्रबन्धपत्र तथा नियमावलीको विभिन्न सम्बन्धित दफाहरूमा संशोधनको प्रस्तावलाई स्वीकृति प्रदान गर्नेछ । हिमालयन बैकले सिभिल बैकलाई प्राप्ति पश्चात् हिमालयन बैंककै नाममा एकिकृत कारोवार गर्ने कार्यलाई स्वीकृति प्रदान गर्नेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १८ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र बैंकको साधारण सभामा सहभागी भइ लाभांश प्राप्त गर्न सक्नेछन् ।
छुट्ला है, सुपर मादीको आईपीओमा आवेदन दिने अन्तिम समय आज
काठमाडौं । सुपर मादी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । गत मंसिर २० गतेदेखि निष्काशन गरेको आईपीओमा आज पुस ७ गते अन्तिम दिन हो । यसअघि पुस २० गतेसम्म आवेदन दिन पाइने भएपनि मागभन्दा बढी आवेदन परेपछि आज बन्द गर्ने कम्पनीले जनाएको छ । कम्पनीले जारी पूँजी २ अर्ब १० करोड रुपैयाँ बराबरको १५ प्रतिशत अथार्त ३१ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३१ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये आयोजना अति प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. १ र २ का स्थानीय बासिन्दाहरुको लागि ३ लाख १५ हजार कित्ता, आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाका अन्य वडा नं. ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिका वडा नं. २६, २७ र २८ का स्थानीय बासिन्दाहरुको लागि ७ लाख ३५ हजार कित्ता निष्काशन गरेको हो । कम्पनीले पुस ५ गतेसम्म २१ करोड रुपैयाँ बराबरको २१ लख कित्ता मध्ये १० प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले एनसीसी बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र आयोजना स्थलबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् ।
एनआईबिएल ग्रोथ फण्ड आजदेखि बिक्री खुला, २० प्रतिशतसम्म प्रतिफल
काठमाडौं । एनआईबिएल एस क्यापिटलले आज (पुस ७ गते, बिहीबार) देखि हालसम्म कै ठूलो म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ । क्यापिटलले एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईबिएल ग्रोथ फण्ड निष्काशन तथा बिक्री खुल्ला गरेको हो । १ अर्ब ६० करोड रुपैयाँ आकारा रहेको यस बन्दमुखि योजनाको अवधि १० वर्ष रहेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १६ करोड इकाईहरु निष्काशन गरेको हो । जसमध्ये १९ प्रतिशत अर्थात् ३ करोड ४ लाख इकाई कोष प्रवद्र्धक नेपाल इन्भेष्टमेन्ट बैंकका लागि, १ प्रतिशत अर्थात् १६ लाख इकाई योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलका लागि र बाँकी १२ करोड ८० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ । क्यापिटलको उक्त फण्डमा लगानीकर्ताले न्यूनतम १ सय इकाईदेखि अधिकतम १ करोड ६० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । एनआईबिएल ग्रोथ फण्डमा लगानीकर्ताहरुले छिटोमा पुस १२ गते र ढिलोमा पुस २१ गतेसम्म आवेदन दिन सक्नेछन् । क्यापिटलको एनआईबिएल ग्रोथ फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । एनआईबिएल ग्रोथ फण्डमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् । क्यापिटलले योजना अवधिभर इकाईधनीहरुलाई २०.२५ प्रतिशत प्रतिफल वितरण गर्न सक्ने अप्रक्षेपण गरेको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न यतीको तयारी, बिहीबार प्रदर्शन उडान हुने
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न भएसँगै यती एअरलायन्सले उडान शुरु गर्ने तयारी गरेको छ । नागरिक उड्डयन प्राधिकरणले पर्यटकीय नगरीमा जनवरी १ तारिकबाट अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने तयारी गरेसँगै यती एअरलायन्सले उडान भर्ने तयारी गरेको हो । उडान भर्ने तयारी स्वरुप एअरलाइन्सले नयाँ विमानस्थलबाट उडान गर्न आवश्यक जनशक्ति तयारी गर्ने, आवश्यक तालिमहरु दिने, भुमिस्थ उपकरण व्यवस्थापन गर्ने, विमानस्थलको स्थित अफिस तयारी गर्ने आन्तरिक कामलाई तीव्र बनाएको छ । सोही तयारी अनुसार (बिहीबार ७ पुष) डिसेम्बर २२ का दिन बिहान १० बजे नयाँ एअरपोर्टमा प्रशिक्षक चालकदलले एटिआर-७२ बिमान मार्फत यतीले पहिलो पटक प्रदर्शन उडान गर्न लागेको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । यती एअरलाइन्सले चालक दलका सदस्यहरुलाई नयाँ विमानस्थलमा अभ्यस्त गर्न र एअरलाइन्सको आन्तरिक तयारीका लागि उडान भर्न लागेको हो । यसरी हुने उडानले चालक दलका सदस्यहरुलाई नयाँ विमानस्थलको वस्तु स्थिती जानकारी हासिल गर्न सहज हुने छ । काठमाडौ बाट पोखराका लागि यतीले दैनिक ७ वटा उडानहरु गर्दै आएको छ भने अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आए संगै नियमित उडानहरुको संख्या थप गर्ने र पोखरा बाट अन्य विमानस्थलहरुमा क्षेत्रीय उडान गर्ने तयारी गरेको छ ।