विकासन्युज

हुस्सुका कारण बिहानैदेखि आन्तरिक उडान प्रभावित

काठमाडौं । बिहीबार बिहानैदेखि लागेको बाक्लो हुस्सुका कारण आन्तरिक उडान प्रभावित बनेका छन् । बिहानैदेखि लागेको हुस्सु र बाक्लो कुहिरोका कारण तराईका अधिकाशं विमानस्थलमा हुने उडान तथा अवतरण प्रभावित बनेकोे हो । काठमाडौं, बिराटनगर, भैरहवा, जनकपुर, पोखरा, सिमरा, नेपालगन्ज लगायतका शहरमा बिहानैदेखि हवाई उडानहरु प्रभावित बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । बिहानै देखि उडान प्रभावित हुँदा दिनभरको उडानमा असर पर्ने कार्यालयले जनाएको छ । आन्तरिक उडान गर्दै आएका वायुसेवा कम्पनीले बिहानैदेखि उडान प्रभावित बनेको भन्दै उडान डिले हुन सक्ने भन्दै सूचना जारी गरेका छन् ।

एसवाई बजार एपमार्फत् अब अनलाइनबाटै किन्न सकिन्छ घर

काठमाडौं । अब अनलाइनबाटै घर किन्न पाउने भएका छन् । एसवाई बजार एपमार्फत् अनलाइनबाटै घर किन्न सकिनेछ । एसवाई बजारले कोरियन प्रविधिको विभिन्न डिजाइनका घर किन्ने सुविधा ल्याएसँगै अब अनलाइनबाटै घर किन्न सक्ने भएका हुन् । नेपालमा स्थापित हुँदै गइरहेको कोरियन प्रविधिको एसवाई प्यानल विश्वको उत्कृष्ट भवन निर्माण सामग्री उत्पादन गर्ने कोरियन कम्पनी हो । भूकम्प प्रतिरोधी तथा अन्य बिभिन्न भवनको लागि प्रयोग गर्ने प्यानलहरु सस्तो, बलियो र अत्याधिक इन्सुलेसनयुक्त हुन्छ । ‘यो घर हामीले हाम्रो आफ्नै फ्याक्ट्रीमा निर्माण गर्छौ’ एसवाई नेपालका महाप्रबन्धक शशी साहले भने, ‘अनलाइनबाट अर्डर आएपछि हामी रेडिमेड घर लगेर दिन्छौँ ।’ उनका अनुसार कन्टेनर हाउस, एक तला, दुई तला घर अनलाइनबाट किन्न सकिनेछ । यो प्रविधि कोरिया, युरोप लगायत पश्चिमी राष्ट्रहरुमा अत्याधिक प्रयोग भएको छ । भुकम्प प्रतिरोधी, सस्तो, कम तौल लगायत निर्माण तथा ब्यबस्थापनमा सजिलो रहेको यस प्यानलबाट निर्मित घरले तातो ,चिसो तापक्रमको असरबाट छुटकारा दिनुका साथै यो घर विभिन्न रङ, साइज तथा आकर्षक डिजाइनमा उपलब्ध हुने कम्पनीका महाप्रबन्धक शशी साहले जानकारी दिए । यो घर एसवाई बजारकाे वेबसाइटमा गएर किन्न सकिनेछ ।

भरतपुरमा ट्राफिक व्यवस्थापनका लागि आजदेखि हर्न निषेध

चितवन । चितवनको भरतपुरमा आजदेखि हर्न निषेध गरिएको छ । भरतपुर महानगरपालिकाले साना तथा ठूला सवारी साधनको समेत व्यवस्थापन गर्ने भएको छ । बढ्दो शहरीकरणले सवारी साधन व्यवस्थापनमा समस्या देखिएसँगै महानगरले केन्द्रीय बस टर्मिनल र नारायणगढ बसपार्कमा आजदेखि अनिवार्य पार्किङको व्यवस्था गरेको छ । एक साताअघि महानगरपालिकामा बसेको सरोकारवालाको बैठकले सवारी साधन व्यवस्थापन गर्न विभिन्न निर्णय गरी आजदेखि कार्यान्वनमा ल्याउने समझदारीसहित निर्णय गरेको थियो । उक्त निर्णयअनुसार पूर्वबाट काठमाडौँ–पोखरा जाने यात्रुबाहक बस, मिनी बस, माइक्रोलगायतका भाडाका सवारी साधनका यात्रु चढाउने तथा झार्ने कार्य केन्द्रीय बसपार्कबाट बाइपास सडक प्रयोग गरी आँपटारीबाट बाहिरिनुपर्नेछ । पूर्वबाट पश्चिम बुटवल, धनगढी, महेन्द्रनगरसम्म जाने यात्रुबाहक सवारी साधनका यात्रु चढाउने तथा झार्ने काम केन्द्रीय बसपार्कमा गरी चौबिसकोठी, लाइन्सचोक हुँदै पुलचोकबाट बाहिरिने व्यवस्था गरिएको छ । पश्चिम जाने यात्रुबाहक सवारी साधनले केन्द्रीय बर्सपार्कबाट यात्रु चढाउने तथा झार्ने गरी जानुपर्ने नियम बनाइएको छ । यस्तै भरतपुर महानगरपालिका क्षेत्रको रिङरोडमा चल्ने सवारी साधनको पार्किङ स्थल नारायणगढ बसपार्क हुनेछ । भरतपुरबाट टाँडी, पर्सा, भण्डरा, लोथरसम्म जाने यात्रुबाहक बसका लागि पार्किङ केन्द्रीय बसपार्कमा गर्नुपर्ने व्यवस्था मिलाइएको छ । नारायणगढ बजारको पुलचोकबाट पोखरा बसपार्कतर्फ जाने ट्रक र लामो दूरीका बस प्रवेशमा निषेध गरिएको छ । सोहीअनुसार काठमाडौँ पोखराबाट पूर्व वा पश्चिमतर्फ जाने यात्रुबाहक सवारी साधन ट्रक, लहरी, टिपरजस्ता मालबाहक सवारी साधनलाई आँपटारीबाट नारायणघाट बजारतर्फ जान निषेध गरिएको छ । महानगरको गोन्द्राङदेखि पुलचोक आँपटारीसम्मको बजार क्षेत्रमा हर्न बजाउन निषेध गरिएको छ । यस्तै नारायणगढ तथा भरतपुरमा रहेका राजमार्गको पेटी तथा सडकको दाँयाबायाँ भागमा निजी तथा भाडाका सवारी साधनलाई पार्किङमा निषेध गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले  महानगरको परिकल्पनाअनुसार सवारी साधनलाई व्यवस्थापन गर्न लागिएको बताइन् । बाहिर छरिएर राखिने सवारी साधनका कारण शहरको सुन्दरतामा ह्रास आएको र आवागमनसमेत प्रभावित भएका कारण बजार र पार्किङ व्यवस्थापनको काम गर्न लागिएको उनले जानकारी दिइन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख धर्मबहादुर अधिकारीले आजदेखि ट्राफिक व्यवस्थापनको काम परिवर्तन हुने र दुई बसपार्क पूर्णरुपमा सञ्चालनमा आउने बताए । उनले पटक–पटक यातायात व्यवसायीसँग छलफल गरेर निर्णय कार्यान्वयन गर्न लागिएको बताए । रासस

नारायणी अस्पतालमा १५ शैय्याको आकस्मिक डायलासिस सेवा सञ्चालनमा

पर्सा । पर्साको वीरगञ्जस्थित सरकारी स्वामित्वमा रहेको नारायणी अस्पतालमा आकस्मिक डायलासिस सेवा सञ्चालनमा आएको छ । राउण्ड टेबल नेपालको समन्वय र सिद्धार्थ बैंकको आर्थिक सहयोगमा अस्पतालमा १५ शैययाको डायलासिस सेवा सञ्चालनमा आएको हो । आइसियु कक्षका लागि भवन निर्माण गरी  डायलासिस सेवा सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्र प्रधानले जानकारी दिए । नियमित सेवा लिइरहेका बिरामीको अवस्था जटिल बनेमा आकस्मिक डायलासिस कक्षमा उपचार गरिने छ । साथै निमोनियालगायत रोगका कारण एक्कासि मिर्गौलामा असर परेका बिरामीको समेत उपचार गरिने डा. प्रधानले बताए । आकस्मिक डायलसिस सेवा लिनेले केही शुल्क तिनुपर्ने र शुल्कबापत डायलासिस गर्ने क्रममा चाहिने विभिन्न सामग्री अस्पतालले नै प्रदान गर्ने डा. प्रधानले बताइन् । यसबाहेक नियमित डायलासिस गर्न आउने दीर्घ मिर्गौला रोगीको हकमा अन्य बेलाजस्तै निःशुल्क सेवा दिने उनको भनाइ छ । निजी अस्पतालले आकस्मिक डायलसिस सेवाको १० हजारदेखि १२ हजार शुल्क लिने गरेका छन् । नारायणी अस्पतालले जम्मा पाँच हजार शुल्क तोकेको छ । पन्ध्र शैयया रहेको आकस्मिक डायलसिसमा दुई शैयया एचआइभी सङ्क्रमितका लागि छुट्याइएको छ । अहिले नारायणी अस्पतालमा २० देखि २२ वटा डायलसिस मेसिन छन् । यी सबै मेसिन २४ घण्टा तीन सिफ्ट गरी सञ्चालनमा आएमा ४० जनासम्मको दैनिक डायलासिस गर्न सकिने डा. प्रधानले बताइन् ।  उनले भवन निर्माणका लागि सिद्धार्थ बैंकले ५५ लाख र अन्य सहयोगी दाताबाट पाँच लाख सहयोग गरी कूल ६० लाखमा डायलासिस सेवा सञ्चालनमा आएको बताइन् । रासस

स्याङजामा तीन कक्षासम्म एक्लै पढाएर विद्यालय चलाउँछन् एक प्रधानाध्यापक

स्याङजा। स्याङजाको वालिङस्थित एक विद्यालयमा एक शिक्षकको भरमा तीनवटा कक्षाको पठन पाठन हुँदै आएको छ । वालिङ नगरपालिका–१४ करादीस्थित सौरीखाल्टा माइस्थान आधारभूत विद्यालयमा एक शिक्षक मात्र कार्यरत छन्। तीन कक्षासम्म मात्र पढाइ हुने उक्त विद्यालयमा तीन शिक्षकको दरबन्दी छ । तर एक वर्षयता अरु शिक्षक नआउँदा आफू एक्लैले विद्यालय धान्नुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापकसमेत रहनुभएका धनबहादुर हमालले बताए । ‘तीन कक्षासम्म पढाइ हुन्छ, शिक्षक दरबन्दी तीन जनाको छ, तर एक वर्षदेखि मैले मात्र पढाउनु परिरहेको छ’, उनले भने, ‘दरबन्दी काटिएको पनि छैन, अरु शिक्षक हाजिर हुन आएका छैनन् ।’ प्रधानाध्यापक आफै रहेका हमाल एक्लैले तीनवटा कक्षा एकसाथ सञ्चालन गर्दै आएका छन् । अघिल्लो वर्ष कात्तिकसम्म दुई शिक्षक रहे पनि एकजना बिरामी भएर अवकाश भएपछि गत मङ्सिरदेखि आफू एक्लैले तीनवटा कक्षाका विद्यार्थी हेर्नुपरेको उनले बताए । ‘विद्यालयमा अध्ययनका लागि आउने सबै बालबालिकालाई एउटै कोठामा राखेर कक्षागत समूह–समूह बनाएर पढाउने गरेको छु’, हमालले भने, ‘यसरी कति दिनसम्म चलाउने होला ? सरोकारवाला निकायलाई पटकपटक जानकारी गराउँदा पनि पदपूर्ति हुन सकेको छैन ।’ भौगोलिकरुपमा विकट ठाउँ भएकाले पनि अन्यत्रबाट यहाँ आउन शिक्षकले इच्छा नदेखाएकाले समस्या देखिएको हुनसक्ने उनको भनाइ छ । १–३ कक्षा सञ्चालनमा रहेको उक्त विद्यालयमा हाल १२ छात्र/छात्रा अध्ययनरत रहेका छन् । ‘लामो समयसम्म शिक्षण पेसामा रहेँ, अब अवकाश लिन खोजेको थिएँ’, हमालले भने, ‘कस्लाई छोडेर जाउँ, यस्तै अवस्थमाा छोड्दा अस्तब्यस्त हुन्छ, त्यस्तो गर्न मनले नि मान्दैन, छोड्न नि सकिरहेको छैन ।’ उनलाई कुनै काम विशेषले विद्यालयमा बिदा लिन पनि समस्या भइरहेको छ । विद्यालयकै कामको सिलसिलामा कतै जान परेमा कार्यालय सहयोगी तथा गाउँका अभिभावक खोजेर बालबालिका हेर्ने जिम्मा लगाउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक हमाल बताउछन्। दरबन्दीअनुसारका शिक्षक नहुँदा विद्यालयमा निक्कै समस्या आइपरेको छ । पठनपाठन कार्यमा समस्या देखिएको वालिङ–१४ का वडाध्यक्ष बोधराज कुँवरले बताए। यसअघि दुई शिक्षक कार्यरत भएको उक्त विद्यालयमा एक शिक्षकले अवकास लिएपछि एकवर्षदेखि एउटै शिक्षकको भरमा विद्यालय रहेको उनले बताए । ‘अनुगमनका क्रममा विद्यालयमा जाँदा जुन समस्या देख्यौँ त्यसको समाधानका लागि नगरपालिकाको शिक्षा शाखामा जानकारी गराउँदा पनि निकास निस्केको छैन’ उनले भने ‘नगरपालिकाले दरबन्दी मिलान गरेर छिटोभन्दा छिटो समस्याको समाधान गर्नुपर्छ ।’ भौगोलिक विकटता र अपायकमा भएका कारणले पनि शिक्षक जान नखोज्ने भएकाले अब नाम नै किटान गरेर शिक्षक पठाउनुपर्ने उनको माग छ । भौगोलिक विकटताका कारण यहाँबाट अर्को विद्यालयमा बालबालिका पठाउन पनि कम्तीमा एक घण्टा लाग्छ । वालिङ नगरपालिका–१४ को अर्को विद्यालयमा समायोजन गर्दा पायक नमिल्ने समस्या छ । वालिङ–१४ कै हुल्काङ वा भीरकोट नगरपालिका–९ को पिपलडाँडा माध्यमिक विद्यालयमा बालबालिका पठाउनुपर्ने हुन्छ । उक्त विद्यालयमा बालबालिकालाई जान एक घण्टा लाग्छ । सौरीखाल्टा माईस्थान आधारभूत विद्यालय आव २०६६/६७ सम्म १–५ कक्षा सञ्चालनमा रहेको थियो । १–५ कक्षा कटौती गरी हाल १–३ कक्षामात्रै सञ्चालनमा रहेको छ । वालिङ नगरपालिकाले उक्त विद्यालयमा अर्को कुनै शिक्षक हालसम्म नपठाएको शिक्षा अधिकृत गीता पाठकले बताइन् । नगरपालिकाले दरबन्दी मिलान सम्बन्धी कार्यविधि बनाउने काम अगाडि बढाएकाले अब छिट्टै समस्याको समाधान हुने उनले बताइन् ।

लाभांश र मर्जर प्रस्ताव पारित गर्न प्राइम बैंकले बोलायो साधारण सभा

काठमाडौं । प्राइम कमर्सियल बैंकले १५ औं वार्षिक साधारण सभा पुस २८ गते बिहान ११ बजे कार्की ब्याङ्क्वेट बबरमहल काठमाडौंमा बोलाएको हो । पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले आफेनो वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो । बैंकको सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ साल असार मसान्तको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने र बैंकमा स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने र सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा २ जना र संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना गरी ५ जनाको निर्वाचन, मनोनयन वा नियुक्ति गर्नेछ । बैंकको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र ४.९५ प्रतिशत नगद गरी कूल ८.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बोनस सेयर वितरण पश्चात् चुक्ता पूँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र र नियमावली संशोधन गर्नेछ । कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा मर्ज गर्न आवश्यक सम्पूर्ण प्रक्रिया सञ्चालक समितिलाई सम्पूर्ण अख्तियार प्रदान गर्नेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र बैंकको साधारण सभामा सहभागी भइ लाभांश प्राप्त गर्न सक्नेछन् ।

लाभांश प्रस्ताव पारित गर्न नेपाल बैंकले डाक्यो साधारण सभा, अन्य एजेण्डा के-के छन्?

काठमाडौं । नेपाल बैंक बैंकले ६३ औं वार्षिक साधारण सभा पुस २९ गते बिहान ११ बजे प्रधान कार्यालय काठमाडौंमा बोलाएको हो । पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले आफेनो वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो । बैंकको सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ साल असार मसान्तको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्नेछ । बैंकको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजी १४ अर्ब ४० करोड ५९ लाख ४ हजार ८३१ रुपैयाँको २ प्रतिशत अर्थात् २८ करोड ८१ लाख १८ हजार ९६ रुपैयाँ बोनस सेयर र कर प्रयोजनाका लागि १० प्रतिशत अर्थात् १ अर्ब ४४ करोड ५ लाख ९० हजार ४८३ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बोनस सेयर वितरण पश्चात् जारी तथा चुक्ता पूँजी वृद्धि गरी १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ पुग्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र बैंकको साधारण सभामा सहभागी भइ लाभांश प्राप्त गर्न सक्नेछन् ।

नेप्सेले घोषणा गर्याे १ सय प्रतिशत लाभांश

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नेप्सेको पुस ६ गते बसेको सञ्चालक समिती बैठकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीहरुलाई १ सय प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । नेप्सेले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी १ अर्बको १ सय प्रतिशत अर्थात् १ अर्ब रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । नेप्सेले प्रस्ताव गरेको उक्त लाभांश पारित गर्न पुस २९ गते बिहान ११ बजे नेप्से कै कार्यालयमा ४१ औं वार्षिक साधारण सभा बोलाएको छ । सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरण, नेप्सेको सहायक कम्पनी सिडिएस एण्ड क्लियरिङ्गको वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ ।