विकासन्युज

आज ३ लघुवित्त सहित ६ कम्पनीको सेयर किने लाभांश पनि पाइने, कुनको लाभांश कति ?

काठमाडौं । विभिन्न ६ कम्पनीको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त, आरएसडीसी लघुवित्त, कालिका पावर कम्पनी, यूनाइटेड इन्स्योरेन्स र सेन्ट्रल फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । आरएसडिसी लघुवित्तले भोलि अर्थात पुुस १५ गते र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त, कालिका पावर कम्पनी, यूनाइटेड इन्स्योरेन्स र सेन्ट्रल फाइनान्सले पुस १७ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । योबीचमा शुक्रबार र शनिवार परेकाले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम सेयरधनीहरुले मात्र यी ४ कम्पनीको लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन पाउनेछन् । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले १३ औं वार्षिक साधारण सभा आम्रपाली ब्याङ्क्वेट भाटभटेनी काठमाडौंमा पुस ३० गते बिहान १० बजे बोलाएको छ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले १० औं वार्षिक साधारण सभा पुस ३० गते, दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहल, दुहवी, सुनसरीमा ११ बजे बोलाएको छ । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट संस्थाका सेयरधनीहरूलाई हाल चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद लाभांश गरी कूल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न नवौं वार्षिक साधारण सभा पुस २९ गते एशियन होटल बुटवलमा बिहान ९ बजे बोलाएको छ । कालिका पावर कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरी कूल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले लाभांश पारित गर्न पुस २९ गते रजिष्टर्ड कार्यलय भरतपुर चितवनमा बिहान ११ बजे वार्षिक साधारण सभा बोलाएको छ । युनाईटेड इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश गरी कूल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले २९ औं वार्षिक साधारण सभा पुस २७ गते अनमोल ब्याङ्क्वेट शंखमुल काठमाडौंमा बिहान ११ बजे बोलाएको छ । सेन्ट्रल फाइनान्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले २६ औं वार्षिक साधारण सभा पुस २९ गते हेड अफिस कुपोण्डोलमा बिहान १० बजे बोलाएको छ ।

कुमारी र एनसीसी बैंकका ६० शाखा कार्यालय गाभिने, कुन-कुन शाखा हुन् ?

काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकबीच एकीकृत कारोबार हुनेभएपछि शाखा कार्यालयको पनि टुंगो लगाएको छ । दुवै बैंकबीच पुस १७ गते एकीकृत कारोबार गर्ने भएका छन् । सोही अनुसार दुवै बैंकका शाखा कार्यालय गाभेर एउटै शाखाबाट कारोबार हुने भएका छन् । बिहीबार जारी गरेको सूचनामा दुवै बैंकका ६० वटा शाखा कार्यालय गाभिने भएका हुन् । जसमा कुमारी बैंक ३० वटा शाखा कार्यालय र एनसीसी बैंकका ३० वटा गरी ६० वटा शाखा कार्यालउ गाभिएका हुन् । कुमारी बैंक र एनसीसी बैंक एक आपसमा मर्ज भई कुमारी बैंकको नामबाट एकीकृत कारोबार हुनेछन् । एकै स्थानमा रहेका कुमारी बैंक र एनसीसी बैंकका शाखाहरु पुस १७ गतेदेखि गाभिएर कारोबार हुने भएका हुन् ।

निफ्रा बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा) बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले मंसिर २९ गतेदेखि निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज पुस १४ गते अन्तिम दिन हो । बैंकले ७ प्रतिशत ब्याजदरमा ७ वर्ष अवधि भएको ‘निफ्रा उर्जा ऋणपत्र ७ प्रतिशत २०८५/८६’ निष्काशन तथा बिक्री खुला गरेको हो । बैंकले ५ अर्ब रुपैयाँ बराबरको प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्य दरका ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् ३० लाख कित्ता ब्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात् २० लाख कित्ता सर्वसाधारणका लागि बिक्री गरेको हो । सर्वसाधारणलाई बिक्री गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् १ लाख कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले आज पुस १४ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रमा लगानीकर्ताहरुले न्यूनतम २५ कित्ता र अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । बैंकको ऋणपत्रलाई इक्राएनपी आईआर आइआर त्रिपल बी रेटिङ्ग प्रदान गरको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् ।

नेकपा एसलाई गाभ्ने एमालेको तयारी, ठुलो दल बन्ने

काठमाडौं । एमालेका नेताहरूले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरूलाई भेटेर दुई पार्टीलाई मिलाउने प्रयास थालेका छन् । एमालेका उपाध्यक्षहरू विष्णु पौडेल र सुवास नेम्वाङ, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, पोलिटब्युरो सदस्य महेश बस्नेतलगायत नेताहरूले नेपालसँग भेटघाट गरी नेकपा एसका नेताहरूलाई पुरानो घरमा फर्कन आग्रह गर्दै एकताको प्रयास थालेका हुन् । मंसिर ४ मा निर्वाचन सम्पन्न भएपछि नै नेता नेपालसँग निरन्तर भेटघाट गरिरहेका एमालेका नेताहरूले संवाद सकारात्मक दिशातर्फ उन्मुख भएको बताएका छन् । यही सन्दर्भमा उपप्रधान तथा अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलले मंगलबार साँझ नेकपा एसका अध्यक्ष नेपालसँग भेटघाट गरी एमालेको धारणा राख्दै पुरानै पार्टीमा फर्कन आग्रह गरेका थिए। उनले एमालेभित्र सम्मानजनक स्थान दिने बताउँदै पार्टी एकता वा समाहितका लागि प्रस्ताव राखेका थिए । नेकपा एसका नेता एवं नेपालका सम्धी सोमप्रसाद पाण्डेको घरमा उनीहरूबीच भेटघाट भएको थियो। सो भेटघाटमा उनीहरूले सम्भावित योजना र सरकारको विषयमा पनि छलफल गरेको स्रोतको दाबी छ। यद्यपि उनीहरूबीचको भेटघाटबारे कुनै धारणा सार्वजनिक गरिएको छैन । एमाले र माओवादी केन्द्रभित्र वाम एकताको पक्षमा वकालत गर्दै आएका नेताहरूको प्रतिनिधित्व गर्दै पौडेलले अध्यक्ष नेपालसँग भेटघाट गरी एमालेमै फर्कन आग्रह गरेका थिए। यस विषयमा एमाले अध्यक्ष ओलीकै पहलकदमी रहनुपर्ने धारणा नेकपा एसबाट आएको स्रोतको दाबी छ। अर्थमन्त्री पौडलेले भेट्नुअघि एमालेकै पूर्वउपाध्यक्ष वामदेव गौतमले पनि नेता नेपाललाई भेटेका थिए । यो समाचार नागरिक दैनिकमा छ ।

साढे ७ प्रतिशत ब्याजमा एभरेष्ट बैंकले पुस २५ गतेदेखि ऋणपत्र निष्काशन गर्ने

काठमाडौं । एभरेष्ट बैंकले पुस २५ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले वार्षिक ७.५० प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको ‘एभरेष्ट बैंक उर्जा ऋणपत्र २०८९’ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । बैंकले २ अर्ब रुपैयाँ बराबरको प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दर मूल्यका २० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ । जसमध्ये ६० प्रतिशत अर्थात् १२ लाख कित्ता व्यक्तिगत तवरबाट र बाँकी ४० प्रतिशत अर्थात् ८ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ । सर्वसाधारणका लागि छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बैंकको उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको उक्त ऋणपत्रमा लगानीकर्ताले छिटोमा पुस २९ गते र ढिलोमा माघ ९ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट रहेको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिन्छ । साथै सिडिएससीको मेरो सेयर वेबसाइट वा एपबाट पनि सिआस्बा प्रणाली मार्फत आवेदन दिन सकिनेछ । बैंकको ऋणपत्रलाई केयर नेपालले केयर एनपी डबल ए माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले न्यून कर्जा जोखिम रहेको संकेत गर्दछ ।

घोराही सिमेन्ट उद्योग परिसरमा नेपाल एसबिआईको एक्सटेन्सन काउन्टर

काठमाडौं । नेपाल एसबिआई बैंकले दाङको घोराही सिमेन्ट उद्योग परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो सञ्जाल विस्तार गर्दै एक्टेन्सन काउन्टर खोलेको हो । सो काउन्टरको उद्घाटन बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमार देले गरेका हुन् । उक्त समारोहमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम, प्रमुुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल तथा घोराही सिमेन्ट उद्योगका कार्यकारी निर्देशक देबेन्द्र सिन्हाका साथै बैंकका अन्य कर्मचारी तथा ग्राहकहरुको उपस्थिति थियो । बैंकले ९१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १३१ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

सिद्धार्थ बैंकले ल्यायो १ करोड बीमा सुविधा भएको मुद्दती खाता, रकम दुई गुणाले बढ्ने

काठमाडौं ।  सिद्धार्थ बैंकले श्रीवृद्धि प्लस मुद्दती खाता योजना सञ्चालनमा ल्याएको छ । बैंकले २०औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक प्रतिफलका साथमा १ करोडसम्मको म्यादी जीवन बीमा सुविधा प्राप्त गर्न सकिने मुद्दती योजना सञ्चालनमा ल्याएको हो । बैंकको अनुसार व्यक्तिगत ग्राहकवर्गहरुलाई लक्षित गरी ल्याइएको यस मुद्दती योजना अन्तर्गत न्यूनतम ५० हजारमा खाता खोल्न सकिनेछ । यस मुद्दती योजनामा ग्राहकवर्गहरुले निक्षेप रकमको २ गुणा सम्मको प्रतिफल प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यसका अतिरिक्त, पहिलो वर्षको लागी नि:शुल्क क्रेडिट कार्ड सुविधा समेत प्राप्त गर्न सक्ने बै‌कले जानकारी दिएको छ । बैंकको यस मुद्दती योजनाको बीमा साझेदार महालक्ष्मी लाईफ इन्स्योरेन्स रहेको छ । बैंकको अनुसार ग्राहकवर्गहरुले सिद्धार्थ बैंककोे सबै शाखा कार्यालयहरुबाट सहजै यो मुद्दती खाता खोल्न सक्नेछन् । सिद्धार्थ बैंकले देशभर १९३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), २१५ वटा ए.टि.एम्, ११८ शाखारहित बैंकिङ्ग सेवा र १८ सयभन्दा बढी पिओएस् मेसिन मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

गृहमन्त्रीसँग परिसंघको भेटवार्ता, खुला सीमा क्षेत्रबाट हुने अवैध व्यापार रोक्न आग्रह

काठमाडौं ।  नेपाल उद्योग परिसंघले नवनियुक्त उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेसँग भेटवार्ता गरेको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आज गृह मन्त्रालयमा भेट गरी बधाई तथा शुभकामना दिँदै उद्योगी व्यवसायीहरुको समस्या, सीमा क्षेत्रमा भईरहेको अवैध कारोबारलगायतका विषयमा जानकारी गराएको हो । सो भेटमा परिसंघका अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानी योग्य पूँजीको अभाव जस्ता कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको बताएका थिए । यस्तै, अधिकांश वस्तुको मागमा ३० देखि ७० प्रतिशतसम्म गिरावट आउँदा उद्योगी व्यवसायी आत्तिइरहेको जानकारी दिएका थिए । सरकारले विदेशी मुद्रा संचिती बढाउन आयातमा कडाई गर्दा पनि अटोमोबाइल बाहेक अन्य वस्तुहरु बजारमा उपलब्ध भईरहेको जानकारी दिँदै अग्रवालले मुलुकमा बढिरहेको अवैध कारोबार रोक्न गृह मन्त्रालयले प्रभावकारी कदम चाल्नुपर्नेमा बताएका थिए । उनले विदेशी मुद्रा आर्जन गर्ने महत्वपूर्ण स्रोत पर्यटन पनि भएकाले ५० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ अगाडि बढ्नुपर्ने सुझाव दिएका थिए । सो अवसरमा नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले मुलुकको अर्थतन्त्र संकटउन्मुख रहेको भन्दै सुधारका लागि आफ्नो मन्त्रालयले गर्नुपर्ने काम प्रभावकारी रुपमा सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले उद्योगी व्यवसायीहरुको समस्या समाधानका लागि आफ्नो मन्त्रालयले गर्नुपर्ने कामलाई सधै उच्च प्राथमिकतामा राख्ने पनि बताएका छन् ।