विकासन्युज

गुणस्तरलाई कायम राख्न बजार अनुगमन गर्ने

विराटनगर । जिल्ला अनुगमन तथा मूल्याङ्कन समितिको बुधबार बसेको बैठकले बजारमा कुनै पनि किसिमको अस्वाभाविक मूल्य वृद्धि, तौल, गुणस्तरलाई कायम गर्न संयुक्तरूपमा बजार अनुगमन कार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलको अध्यक्षतमा बसेको बैठकले खाद्यान्न, औषधि, इन्धनलगायतका अत्यावश्यक उपभोग्य मालवस्तुको सहज आपूर्ति हुन जम्माखोरी, कृत्रिम अभाव सिर्जना, अधिक मूल्य कारोबार जस्ता अवाञ्छित गतिविधि हुन नदिने र त्यस्ता गतिविधिमा संलग्नलाई कानूनी दायरामा ल्याउने निर्णय गरेको छ । त्यस्तै कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण बढ्ने सम्भावना हुँदा सबै सरकारी, गैरसरकारी कार्यालय, सङ्घ संस्था, उद्योग, प्रतिष्ठान, यातायातलगायतका कर्मचारी, सेवाग्राही, मजदुर आदिका जम्मा, भीडभाड हुने स्थानमा आनिवार्य मास्कको प्रयोग, साबुनपानीले हात धुने, सेनिटाइजर प्रयोग, सामाजिक, व्यक्तिगत, भौतिक दूरी व्यवस्थापन कार्यलाई अनिवार्यरूपमा पालना गर्ने र गर्न लगाउने, भीडभाड हुन नदिने, सचेतना फैलाउने, फैलाउन लगाउने, आवश्यकताअनुसार स्थानीय तह र सुरक्षा निकायसँग आवश्यक समन्वय गर्न लगाउने र आवश्यकताअनुसार जिल्ला अनुगमन तथा मूल्याङ्कन समितिको बैठक नियमितरूपमा बस्ने निर्णय भएको छ ।  

कोरोनाको ‘वि एफ ७’ भेरियन्ट बढी सङ्क्रामक

काठमाडाैं । छिमेकी मुलुक चीन र भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट छोटो समयमा नै धेरै व्यक्तिमा सङ्क्रमण गर्ने खालको रहेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी मुलुक चीन र भारतमा देखिएको ‘वि एफ ७’ नामक प्रजातिको नयाँ भेरियन्ट चाँडै नै अरुमा सार्ने खालको रहेको जनाएको छ । मन्त्रालयकै इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले अध्ययनअनुसार कोरोना भाइरसको अरु प्रजातिभन्दा सो भाइरसले धेरै मानिसममा सङ्क्रमण सार्ने बताए । उनका अनुसार ‘वि एफ ७’ ले अरु भेरियन्टभन्दा तीन–चारगुणा बढी सङ्क्रमण सार्ने गर्दछ । ‘चीन र भारतमा यस किसिमको नयाँ भेरियन्ट फैलिरहेको छ । भारतमा पाँच जनामा देखिएको छ’, उनले भने, ‘भारतमा देखिएकाले हामी सतर्कता अपनाउनुपर्दछ ।’ नेपालमा भने ‘वि एफ ७’ नामको नयाँ भेरियन्ट अझै फेला नपरेको मन्त्रालयले जनाएको छ । एक महिनामा देशका विभिन्न ठाउँबाट सङ्कलन गरिएको ४८ नमुनाको जिन सिक्वेन्सिन गर्दा ‘वि एफ ७’ नामक प्रजातिको भेरियन्ट फेला नपरेको हो । मन्त्रालयले नयाँ भेरियन्टको जोखिम हुन नदिनका लागि नेपाल–भारत सीमानाका र अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने यात्रुको ज्वरो नाप्ने, शङ्कास्पद व्यक्तिको एन्टिजेन परीक्षण र जीन सिक्वेन्सिङ गर्ने कार्य गरिरहेको छ । नेपालमा अहिले कोरोना भाइरसको सङ्क्रमण घट्दै गइरहेको छ । पुस ११ गते एक जनालाई मात्र सङ्क्रमण देखिएको थियो । अहिले सक्रिय सङ्क्रमित १० जना मात्र रहेका छन् ।रासस

राजस्व चुहावट नियन्त्रणका लागि अधिकतम प्रयास गर्न निर्देशन

काठमाडाैं । केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बुधबार बसेको बैठकले राजस्व चुहावट नियन्त्रणका लागि अधिकतम प्रयास गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा बसेको बैठकले राजस्व सङ्कलनको वर्तमान अवस्था र राजस्व चुहावट नियन्त्रणका सम्बन्धमा छलफल गरेको थियो । बैठकमा राजस्व सङ्कलनमा देखिएका चुनौती, चोरी पैठारी नियन्त्रणमा भएका प्रयासका विषयमा छलफल तथा समीक्षा गरिएको अर्थमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । अर्थमन्त्री पौडेलले सबै प्रकारका राजस्व चुहावट नियन्त्रणका लागि अधिकतम प्रयास गर्न बैठकमार्फत निर्देशन दिएका छन् । राजस्व सङ्कलनका हिसाबले अहिले चुनौतीपूर्ण अवस्थामा रहेकाले सबैले आ–आफ्नो जिम्मेवारी इमानदारितापूर्वक सम्पादन गर्न र राजस्व सङ्कलनमा देखिएको न्यूनतालाई पूर्ति गर्न अर्थमन्त्रीबाट निर्देशन आएको प्रवक्ता काफ्लेले बताए । राजस्व चुहावट नियन्त्रणका लागि राजनीतिक नेतृत्वबाट आवश्यक पर्ने सबै किसिमको सहयोग उपलब्ध गराउन सरकार तयार रहेको आश्वासन पनि मन्त्री पौडेलले दिए  । त्यस्तै, समिति बैठकमा उपप्रधान तथा गृहमन्त्री लामिछानेले राजस्व सङ्कलनमा देखिएको अन्तर पूर्ति गर्न सीमानाकामा हुने राजस्व चुहावट नियन्त्रण गर्ने कार्यमा गृह प्रशासन सक्रिय भएर लाग्ने बताए । कर्मचारीलाई कुनै राजनीतिक दबाब र प्रभावमा नपरी उच्च मनोबलका साथ काम गर्न निर्देशन दिनुहुँदै लामिछानेले अवैध व्यापारिक गतिविधि रोक्न दृढताका साथ काम गर्न पनि सबै सुरक्षा निकायका प्रमुखलाई समेत निर्देशन दिए । बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थसचिव, गृहसचिव, राजस्व सचिव, सुरक्षा निकायका प्रमुखहरू, आन्तरिक राजस्व विभागमा महानिर्देशकलगायतको उपस्थिति थियो ।

गृहमन्त्रीद्वारा राहदानी विभागको अनुगमन

काठमाडाैं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमन गरेका छन् । राहदानी लिन सर्वसाधारणले ठूलो सास्ती खेप्नुपरेको समाचार बाहिर आइरहेकाबेला गृहमन्त्री लामिछानेले विभागको अनुगमन गरेका हुन् । यसअघि मन्त्रिपरिषद्को पहिलो बैठकले राहदानीलगायतका सेवा प्रवाहमा सुधार ल्याउने निर्णय गरेको थियो । ‘सोही आधारमा मन्त्रीले राहदानी विभागको अनुगमन गरेका हुन्’, गृहसचिव विनोदप्रकाश सिंहले जानकारी दिए । उनका अनुसार परराष्ट्रमन्त्री नियुक्त नभएकाले पनि प्राप्त जिम्मेवारीका आधारमा उनले आज स्थलगतरूपमा अनुगमन गरेर वस्तुस्थितिबारे जानकारी लिएका हुन् ।

गाँजाखेती हटाएर उदयपुरका किसान सुन्तला खेतीतर्फ आकर्षित

उदयपुर । लामो समयसम्म अवैध गाँजा खेती हुँदैआएको उदयपुरको पश्चिमी पहाडी गाउँपालिका ताप्लीमा किसानले सुन्तला खेती अभियान सञ्चालन गरेका छन् । किसानले व्यावसायिकरुपमा सुन्तला खेती थालेपछि केही वर्षयता उनीहरुले यसबाट मनग्य आम्दानी गर्न थालेका छन् । यस वर्ष पनि ताप्लीको ओख्ले, पिपलभन्ज्याङ, रुपाटार, इनामे, मादले र ठानागाउँ क्षेत्रमा रु दुई करोडभन्दा बढीको सुन्तला उत्पादन भएको ताप्ली सुन्तला जोन क्षेत्रका संयोजक तथा व्यावसायिक सुन्तला उत्पादक कृषक टोपबहादुर ठकुरीले जानकारी दिए । विसं २०५० देखि नै ताप्लीमा सुन्तला खेती थालिए पनि २०६० सालदेखि व्यावसायिक रुपमा सुन्तला उत्पादन गर्न थालिएको  ओख्लेका ज्ञानबहादुर ठकुरीले बताए । ‘अहिले ताप्ली जिल्लाकै उत्कृष्ट सुन्तला जोन क्षेत्र बन्न सफल भएको छ’, उनले भने । जिल्ला कृषि ज्ञानकेन्द्रका अनुसार जिल्लामा अहिले झण्डै दुई सय ५८ हेक्टरमा सुन्तला खेती हुँदै आएको छ । ताप्ली क्षेत्रमा मात्रै एक सय ८० हेक्टरमा सुन्तला खेती विस्तार गरिएको ज्ञानकेन्द्रका प्रमुख महेश चौधरीले बताए ।  ‘सुन्तलाकै कारण यस क्षेत्रका किसानको आर्थिक अवस्थामा सुधार आएको छ’, उनले भने । ताप्लीकी उपाध्यक्ष धना मगर केही वर्षयता यस क्षेत्रमा वार्षिक झण्डै दुई हजार चार सय मेट्रिक टनसम्म सुन्तला उत्पादन हुने गरेको तथ्याङ्क रहेको बताए ।  ‘अन्य अन्नबाली उत्पादन पर्याप्त हुँदैन, सुन्तलाका लागि नै यो क्षेत्र उपयुक्त छ । गाउँपालिकाले जनताको आर्थिकस्तर उकास्न सुन्तला जोन क्षेत्र घोषणा गरी घरघरमा सय बोट सुन्तला हुर्काउने अभियान सञ्चालन गरेको छ’, उनको भनाइ छ । ताप्ली पिपल भञ्ज्याङका बीर्खबहादुर राई यस क्षेत्रमा व्यावसायिक सुन्तला उत्पादन गर्ने कृषकको आर्थिक अवस्थामा सुधार हुँदैगएको बताए । कृषि ज्ञानकेन्द्रका  उदयपुरका अनुसार रौतामाई र लिम्चुङबुङ  गाउँपालिकामा समेत सुन्तला खेती विस्तार गरिँदैछ । रौताको नामेटार, आपटार, बोलुङखा र सल्ले, पाँबु उदयपुरगढी गाउँपालिकाको डुम्रे र उदयपुरगढी तथा लिम्चुङबुङको बाँसबोटे, बलाम्ता, बराह, ताम्लिछा,  लाफासहितका क्षेत्रमा व्यापक सुन्तला खेती विस्तार गर्दै लगिएको छ । यहाँ सुन्तला प्रतिकिलो ८० देखि एक सयसम्ममा बिक्री हुने गरेको छ । रासस

आजको मौसम : हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावले प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही हिमाली भूभागमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको प्रभावले प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदलीका साथै प्रदेश नं १ को हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौमस विज्ञान विभागले जनाएको छ । विभागले आगामी २४ घण्टा देशको प्रदेश नं १ को हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना तथा तराईका केही स्थानमा हुस्सु÷कुहिरो लाग्ने, दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव आठ डिग्री र अधिकमत तापक्रम १८ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस दुई दशमलव छ डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २२ दशमलव एक डिग्री सेल्सियस छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले २ वटा गाडी बेचेर रकम असुल्दै

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले धितोमा राखिएको सवारी साधन र सम्पतिहरू लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गर्ने भएको हो । बैंकले ऋण कर्जाको धितो सवारी साधन सम्पतिहरु जे जस्तो अवस्थामा छ सोही अवस्थामा बोलपत्र मार्फत लिलाम बिक्री गर्ने भएको हो । उक्त सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म वा कम्पनीले पुस २० गतेभित्र बोलपत्र आवेदन दिनुपर्नेछ । प्रल्हाद बोगटीले हायरपर्चेज कर्जा शिर्षकमा लिएको ऋण चुक्ता नगरे बा ४ ख ६१०१ नम्बरको टाटा मोटर्स बिक्री गर्ने भएको हो । यस्तै, ऋणी केश राज महर्जनले ऋण चुक्ता नगरे बा ४ ख ६०९ नम्बरको टाटा मोटर्स बिक्री गर्ने भएको हो ।

आयात नरोकिँदा नेपाली औषधि उद्योग मारमा, २ वर्षभित्रमा ९५ प्रतिशत आत्मनिर्भर हुने

काठमाडौं । आयात नरोकिँदा नेपाली औषधि उद्योग मारमा परेका छन् । नेपाललाई आवश्यक पर्ने ७० प्रतिशत औषधि यही उत्पादन गर्न सकिने भए पनि आयात नरोकिँदा उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । नेपालमा १ सय २५ औषधि उद्योग दर्ता भएका छन् । जसमध्ये ८३ उद्योगका औषधि बजारमा आइसकेका छन् । नेपाल औषधि उत्पादक सङ्घका महासचिव विप्लव अधिकारीका अनुसार नेपालमा एउटा औषधि ५ उद्योगले उत्पादन गरेकालाई आयात रोक्दा मात्रै पनि २ सयभन्दा बढी प्रकारका औषधि रोकिन्छन् । उनको भनाईमा २० वर्षअघि बङ्गलादेशले २ कम्पनीले उत्पादन गरेका औषधि विदेशबाट आयातमा रोक लगाएको थियो । जसको नतिजास्वरुप अहिले बङ्गलादेश आत्मनिर्भर मात्रै होइन, निर्यातमा पनि अग्रणी बनेको छ । भारत लगायतका देशले पनि आफू आत्मनिर्भर भएका औषधि आयातमा रोक लगाउने गरेको अधिकारीले बताए । विश्व बजारमा पहिलो चीन र दोस्रो भारत सबैभन्दा बढी औषधि उत्पादन गर्ने मुलुक भएको व्यवसायी बताउँछन् । यसअघि तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले ३० प्रकारका औषधि आयातमा प्रतिबन्ध लगाउने निर्णय गरे पनि कार्यान्वयन नभएको अधिकारी बताउँछन् । ‘सरकारले उद्योग बच्ने गरी निर्णय गर्नुपर्छ,’ उनले भने । नेपालमा ५ वटा उद्योगले उत्पादन गरेको औषधि आयातमा प्रतिबन्ध लगाएमा २ वर्षभित्रमा ९५ प्रतिशत आत्मनिर्भर हुने अधिकारीको भनाइ छ । अहिले बनाउन सक्ने क्षमताको हिसाबले ७० प्रतिशत र बजारको हिसाबले ४५ प्रतिशत आत्मनिर्भर भएको उनी बताउँछन् । ‘आयात रोक्न सकियो भने अहिले नै हामी ७० प्रतिशत आत्मनिर्भर हुन्छौँ,’ अधिकारीले भने । वि.सं २०७४ मा ५० उद्योग मात्रै रहेकामा त्यसपछिका वर्ष एकाएक उद्योग थपिएका हुन् । अधिकारी थपिएका सबै उद्योगलाई एउटै औषधि उत्पादनको अनुमतिको सट्टा फरक–फरक औषधि उत्पादनको अनुमति दिनुपर्ने बताउँछन् । सङ्घका निवर्तमान अध्यक्ष डा जीनारायणबहादुर क्षेत्री आवश्यकभन्दा दोब्बर औषधि उत्पादन गर्न सकिने क्षमता उद्योगमा रहेको बताउँछन् । औषधि उद्योगमा मात्रै ५० अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको उल्लेख गर्दै उनले उद्योगको पक्षमा सरकार हुनुपर्ने बताए । नेपालमा खपत हुने आधाभन्दा बढी औषधिमध्ये ९० प्रतिशत भारतीय आउने गर्दछ । १० प्रतिशत बङ्गलादेशलगायत देशबाट आयात गर्ने गरेको क्षेत्री बताउँछन् । क्षेत्रीका अनुसार १ वर्षमा ३० रुपैयाँदेखि ४० अर्ब रुपैयाँ औषधिका लागि विदेशिने गरेको छ । नेपाली औषधि उद्योगले ३० अर्ब रुपैयाँ हाराहारीको व्यापार गर्ने गरेका छन् । नेपालमा पर्याप्त उत्पादन भइरहेका औषधिको आयात तत्काल रोक्नुपर्ने उनले बताए । उद्योग स्थापनाका लागि आवश्यक पर्ने सामग्रीमा भन्सार छुट, सरल ब्याजदरमा ऋण, विशिष्टकृत औषधिको उत्पादन गर्नेलाई प्रोत्साहन, अनुसन्धानमा सरकारी लगानी हुनुपर्ने क्षेत्रीको भनाइ छ । नेपाली उत्पादन अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने उनले बताए । सरकारले सहयोग गरेमा नेपाली उत्पादनले नेपाललाई मात्रै नभएर विदेशमा समेत पुर्याउन सकिने उनको भनाइ छ । २५ वर्ष पहिला क्षेत्रीको नेतृत्वमा गैँडाकोटमा स्थापना गरिएको टाइम्स फर्मासिटिकल्स प्रालिले विदेशमा औषधि निर्यात गर्न लागेको भन्दै उनले सहज वातावरण बनेमा सबै उद्योगले निर्यात गर्नसक्ने बताए । अहिलेसम्म नेपालमा खोपबाहेकका औषधि उत्पादन हुँदै आएका छन् । उत्पादनमा कठिन हुने औषधिसमेत यही उत्पादन गरेर देशलाई आत्मनिर्भरतर्फ लैजानुपर्ने क्षेत्रीको भनाइ छ । मुटु, क्यान्सरलगायतका रोगका औषधिसमेत यही उत्पादन हुन थालेको छ । पछिल्लो समय ठूलो लगानीमा खुलेका उद्योग आयात नरोकिए धरासायी हुने क्षेत्रीले बताए । ‘सरकार निजी क्षेत्रमैत्री हुन नसक्दा उद्योग धरासायी हुने अवस्थामा पुगेका छन्,’ उनले भने, ‘चर्को ब्याजदर र विदेशी कम्पनीसँग अस्वस्थ प्रतिस्पर्धाको मारमा नेपाली उद्योग परेका छन् ।’