विकासन्युज

निसीखोला गाउँपालिकाका अध्यक्ष घर्तीलाई साढे ३ वर्ष कैद फैसला

काठमाडौं । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुुऔषध कारोबारमा सोमबार ३ वर्ष ६ महिना कैद फैसाला भएको छ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका न्यायाधीश डा.दिवाकर भट्टको इजलासले ३ वर्ष ६ महिना कैद सहित ५० हजार रुपैयाँ जरिवाना फैसाला गरेको जिल्ला अदालतका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिए । निसीखोला –६ को वडाध्यक्ष हुँदा वि.सं २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका घर्तीमाथि लागेको लागु्औषध गाँजा÷चरेससम्बन्धी कसुर २०७९ पुस ३ गते ठहर भएको थियो । सोमबार जिल्ला अदालत बागलुङका न्यायाधीश डा.भट्टको इजलासले घर्तीमाथि लागेको कसुर ठहर गर्दै सजाय निर्धारणको गरेको हो । इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई तत्कालीन अवस्थामा घरबाटै पक्राउ गरेको थियो । बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा ‘सप्लाई’ गर्ने व्यक्तिको खोजी गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो । तत्कालीन वडाध्यक्ष घर्तीको घरबाट बरामद भएको गाँजा धुलो पारिएको अवस्थामा भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरी २०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागुऔषध गाँजा/चरेस नियन्त्रण ऐन, २०३३ सम्बन्धी मुद्दा दर्ता भएको थियो । फैसलाको पूर्णपाठ आउन बाँकी रहेको सूचना अधिकारी भण्डारीले जानकारी दिए ।

८ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति ?

last day sign flat concept काठमाडौं । विभिन्न ८ कम्पनीको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन रहेको छ । मिर्मिरे लघुवित्त, साधना लुघवित्त, गुराँस लघुवित्त, हिमालयन डिष्टिलरी, शिवम् सिमेन्ट्स, मुक्तिनाथ विकास बैंक, बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल (बालाजु)को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । यी ८ कम्पनीले पुस २० गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन पाउनेछन् । मिर्मिरे लुघवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले १२ औं वार्षिक साधारण सभा पुस ३० गते योयो बैंक्वेट, सूर्याविनायक, भक्तपुरमा बिहान ११ बजे बोलाएको छ । साधना लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले छैटौं वार्षिक साधारण सभा पुस ३० गते होटल गोरखा बिसौनीमा साढे ११ बजे बोलाएको छ । गुँरास लुघवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१०५२६ प्रतिशत नगद गरी कूल ४.२१०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लघुवित्तले पुस ३० गते भेडेटार भिलेस रिर्सोट, धनकुटामा बिहान ११ बजे सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१०५ प्रतिशत नगद गरी कूल १४.२१०५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले पुस ३० गते होटल पोखरा ग्राण्डी बिरौटा पोखरामा बिहान १० बजे १६ औं साधारण सभा बोलाएको छ । हिमालयन डिष्टिलरीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कूल ७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले लाभांश पारित गर्न पुस २७ गते कम्पनीको रजिष्टार्ड कार्यालय बिरगंजमा बिहान १० बजे २२ औं वार्षिक साधारण सभा बोलाएको छ । शिवम् सिमेन्ट्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले सातौं वार्षिक साधारण सभा २९ गते होटल सामना, हेटौंडामा बिहान १० बजे बोलाएको छ । बोटलर्स नेपाल (तराई)ले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ३६औं वार्षिक साधारण सभा पुस २७ गते होटल र्याडिसन लाजिम्पाट काठमाडौंमा बिहान १० बजे आह्वान गरेको छ । बोटलर्स नेपाल (बालाजु)ले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ४४औं वार्षिक साधारण सभा पुस २७ गते गते होटल र्याडिसन लाजिम्पाट काठमाडौंमा दिउँसो ३ बजे आह्वान गरेको छ ।

एकीकृत कारोबार २७ गते, मर्जरपछि को-को बन्दैछन् नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सञ्चालक ?

काठमाडौं । मर्जरपश्चात् बन्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सञ्चालक समीतिको टुंगो लागेको छ । मर्जर प्रक्रियामा रहेका नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले एकीकृत कारोबार पश्चात् बन्ने सञ्चालक समितिको टुंगो लागेको एक मर्जर कमिटि सदस्यले बताए । मर्जरपश्चात् बन्ने बैंकको सञ्चालकमा इन्भेष्टमेन्ट बैंकबाट ४ जना र मेगा बैंकबाट ३ जना सञ्चालक बन्ने सहमति भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडेलाई बनाउने सहमति भएको छ । उनी हाल नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष समेत हुन् । यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकबाट प्रजन्यराज भण्डारी र कवि टिव्रेवाला मर्जरपश्चात् सञ्चालक बन्नेछन् । त्यस्तै मेगा बैंकबाट गोपाल खनाल, मुक्तिराम पाण्डेय र मदन कुमार आचार्य मर्जरपश्चात् सञ्चालक बन्नेछन् । नेपाल इन्भेष्टमेन्ट बैंकले एक जना सञ्चालक भने टुंगो लगाउन बाँकी रहेको छ । मर्जरपश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भने ज्योतिप्रकाश पाण्डेय बन्नेछन् । साथै, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत भने मेगा बैंकले पाउने सहमति भएको छ । साथै एकीकृत कारोबारको मिति पनि तय भइसकेको छ । पुस २७ गते दुवै बैंकबीच एकीकृत कारोबार हुने मेगा बैंकका सञ्चालक गोपाल खनालले जानकारी दिए । ‘नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको एकीकृत कारोबार पुस २७ गतेका दिन हुन्छ, सञ्चालक समितिको व्यवस्थापन, कर्मचारीको सेवा सुविधा लगायतका सबै व्यवस्थापन भइसकेको छ, राष्ट्र बैंकले अन्तिम स्वीकृति दिइसकेको छ, अब एकीकृत कारोबारको तयारीमा जुटेका छौं,’ उनले भने । राष्ट्र बैंकको गत बिहीबार बसेको संचालक समितिको बैठकले दुवै बैंकलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो । दुवै बैंक १००ः९० को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । इन्भेष्टमेन्ट बैंकको एक कित्ता सेयर बराबर मेगा बैंकको ०.९० कित्ता हुनेछ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच गत जेष्ठ २७ गते मर्जर प्रारम्भिक सम्झौता भएको थियो । नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे र मेगा बैंकको तर्फबाट अध्यक्ष भोज बहादुर शाहले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । स्वाप रेसियो तलमाथि भएपनि दुवै बैंकका कर्मचारीको सेवा सुविधा र पदीय हैसियत भने समान हुने खनालले बताए । दुई बैंकबीच कर्मचारीको समायोजनको विषय खासै समस्या नरहेको उनको भनाइ छ । ‘अहिले कर्मचारीको जुन सेवा सुविधा र पद छ, कायमै रहन्छ, हामीले स्ववेच्छिक अवकास प्याकेज (भिआरएस) ल्याउनु पर्ने आवश्यकता छैन, अन्य बैंकहरुमा देखिएको जस्तो विवाद हाम्रोमा छैन,’ खनालले विकासन्युजसँग भने, ‘कर्मचारीको सेवा सुविधा र खाइपाई आएको सुविधा घटाउन पाइएन, हाल कार्यरत पद पनि घटाउन मिल्दैन, अन्य सबै व्यवस्थापन गर्न सहज भएको छ, हामीले कुनै भिआरएस लागू गरेको छैन । कर्मचारीलाई मिलाएर लैजान्छौं ।’ हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८.३१ अर्ब रुपैयाँ छ भने मेगा बैंकको १६.१२ अर्ब रुपैयाँ छ । दुवै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी ३४.४३ अर्ब रुपैयाँ पुग्नेछ । मर्जरपश्चात् उपत्यका भित्र मात्रै ८८ वटा शाखा हुनेछ । उपत्यका बाहिर पनि बलियो उपस्थिति हुने गरी शाखा कार्यालय २०२ र एटीएम संख्या २७९ वटा पुग्नेछन् । जुन सबैभन्दा बढी शाखा हुने बैंकको सूचीमा तेश्रो हो । त्यस्तै, कर्मचारी संख्या ३ हजार ३१५ जना, एक्स्टेन्सन काउण्टर ५९ र ग्राहक संख्या झण्डै ३० लाख पुग्नेछन् । मर्जरपश्चात् जगेडा कोष १९ अर्ब ७५ करोड रुपैयाँ, निक्षेप संकलन ३ खर्ब ४६ अर्ब ८५ करोड रुपैयाँ र कर्जा प्रवाह ३ खर्ब १९ अर्ब ४४ करोड रुपैयाँ पुग्नेछ र

मोलुङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुल्ला, कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनीले आज (पुस १९ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र विदेशमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी ८० करोड २५ लाख रुपैयाँको ४४ प्रतिशत अर्थात् ३५ करोड ३१ लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यदरका ३५ लाख ३१ हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये ८ लाख २ हजार ५ सय कित्ता सेयर आयोजना प्रभावित क्षेत्र ओखलढुङ्गाको मोलुङ्ग गाउपालिकाका बासिन्दाहरुको लागि ५ प्रतिशत, सुनकोशी गाउँपालिकाका बासिन्दाहरुको लागि २.५ प्रतिशत र सिद्धिचरण नगरपालिकाका बासिन्दाहरुको लागि २.५ प्रतिशत गरी १० प्रतिशत सेयर निष्काशन गरिएको हो । बाँकी ३४ प्रतिशत अर्थात् २७ लाख २८ हजार ५ सय कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई १० प्रतिशत अर्थात् २ लाख ७२ हजार ८५० कित्ता, सामूहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ४२५ कित्ता र कर्मचारीहरुलाई २ प्रतिशत अर्थात् ५४ हजार ५७० कित्ता समेत साधारणलाई निष्काशन गरिएको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ८ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा छिटोमा माघ ३ गतेसम्म आवेदन दिन सकिनेछ । यदि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको सेयरमा पूर्ण आवेदन नपरे माघ १८ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सनराइज बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, कुमारी बैंक र लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

खाद्य व्यवस्थाले खरिद गर्यो ६३ हजार क्विन्टल धान

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हालसम्म ६३ हजार तीन सय ६२ क्वीन्टल धान खरिद गरेको छ । यसवर्ष ३० हजार मेट्रिक टन धान खरिदको लक्ष्य राखेको खाद्य व्यवस्था कम्पनीले पुस १७ गतेसम्म ६३ हजार तीन सय क्विन्टल बराबर मात्रै धान खरिद गरेको हो । खाद्य व्यवस्था कम्पनीले देशका विभिन्न १० कार्यालयबाट धान खरिद गर्दै आएको छ । जसमध्ये हालसम्म बिर्तामोड, विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, धनगढी र महेन्द्रनगर कार्यालयबाट धान खरिद सुरु भइसकेको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिनुभयो । उहाँकाअनुसार लहान, जनकपुर र भैरहवामा भने अझै खरिद कार्य सुरु भइसकेको छैन । ‘खाद्य व्यवस्था कम्पनीका सात कार्यालयबाट आइतबारसम्ममा ६३ हजार तीन सय क्वीन्टल धान खरिद भइसकेको छ । तीनवटा कार्यालयले भने खरिद सुरु गरिसकेका छैन । ती कार्यालयबाट पनि चाँडै सुरु गर्ने तयारीमा छौँ’, सुवेदीले भने । यसवर्ष ३० हजार २० मेट्रिकटन धान खरिद गर्ने खाद्य व्यवस्था कम्पनीको योजना छ । त्यसका लागि ९९ करोड बजेट छुट्याइएको छ । कम्पनीले पहिलो चरणमा २० हजार नौ सय मेट्रिकटन धान खरिदको योजना बनाएको छ । गत कात्तिक १६ गतेको मन्त्रिपरिषद् बैठकले यसवर्षका लागि धानको समर्थन मूल्य निर्धारण गरेको थियो । सरकारले मोटा धानको मूल्य प्रतिक्विन्टल दुई हजार नौ सय ६७ र मध्यम धानको मूल्य तीन हजार एक सय २८ तोकी दिएको छ । गतवर्षको तुलनामा मोटा धानमा प्रतिक्वीन्टल दुई सय १५ र मध्यम धानमा दुई सय २६ बढाएर समर्थन मूल्य तोकिएको छ । सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा किसानबाट धान सङ्कलनको जिम्मा खाद्य व्यवस्था कम्पनीको हो । कम्पनीले तोकिएको समर्थन मूल्यमा धान नकिनेको भन्दै किसान र तिनका प्रतिनिधि संस्थाहरु आन्दोलित छन् । गुणस्तरीय धान खरिदका लागि ढिलो गरी मात्रै खरिद प्रक्रिया सुरु गरेको खाद्य व्यवस्था कम्पनीको भनाइ छ । धान काट्ने वित्तिकै किन्दा त्यसमा चिस्यानको मात्रा बढी हुने भएकाले ढिलो गरी मात्रै धान किन्न लागिएको उसको दावी छ । धान किन्दा १८ प्रतिशत भन्दा कम चिस्यान भएको किन्नुपर्छ । यो सरकारले नै तोकेको मापदण्ड हो । धान काट्ने बित्तिकै किन्दा त्यसको चिस्यान बढी हुने र तौल पनि बढी हुने तर गुणस्तर भने नपुग्ने भएका कारण ढिलो गरी धान किन्न लागिएको कम्पनीको तर्क छ । सरकारले धानको उत्पादन लागत र ढुवानी बाहेक २० प्रतिशत थप रकममा समर्थन मूल्य तोक्छ । बजार मूल्यभन्दा महँगोमा धान किनेवापत सरकारले खाद्य व्यवस्था कम्पनीलाई शोधभर्ना उपलब्ध गराउनुपर्छ । तर खाद्य व्यवस्था कम्पनीले पछिल्लो चार वर्षको शोध भर्ना पाएको छैन । यस अघिकै ३४ करोड ५४ लाख शोध भर्ना लिन बाँकी रहेको र यसवर्षको धान खरिदका लागि थप २७ करोड आवश्यक रहेको खाद्य व्यवस्था कम्पनीले जनाएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गत बिहीबार सार्वजनिक गरेको ‘चालु आर्थिक वर्ष २०७९/८० को धान उत्पादनसम्बन्धी विवरण’ अनुसार यसवर्ष १४ लाख ४७ हजार सात सय ८९ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकोमा ५४ लाख ८६ हजार चार सय ७२ मेट्रिकटन उत्पादन भएको छ । रासस

वार्षिकोत्सवमा ग्लोबल आइएमईको देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न, २४२ लिटर रगत संकलन

काठमाडाैं । ग्लोबल आइएमई बैंकले आफ्नो १६औं वार्षिकोत्सवकाे अवसरमा देशव्यापीरुपमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ । पुस १८ गते सोमबारदेखि स्थापनाको १६ वर्ष पुरा गरी १७ औँ वर्षमा प्रवेश गरेको अवसरमा बैंकले देशका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको हो । यस कार्यक्रमअन्तर्गत, प्रदेश १ को बिर्तामोड शाखा, झापा, मधेश प्रदेशको मिर्चैया शाखा, सिरहा, बाग्मती प्रदेशको कान्तिपथ शाखा, काठमाडाैं, बाग्मती प्रदेशको भरतपूर शाखा, चितवन, गण्डकी प्रदेशको न्यूरोड शाखा, पोखरा, कास्की, लुम्बिनी प्रदेशको घोराही शाखा, दाङ, कर्णाली प्रदेशको सुर्खेत शाखा, विरेन्द्रचोक र सुदूरपश्चिम प्रदेशको चौराहा, धनगढी शाखा, कैलालीमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियाे । देशभर आयोेजित कार्यक्रममा ५१२ रक्तदाताहरुबाट २४२ लिटर रगत संकलन गरिएकाे बैंकले जानकारी दिएकाे छ ।

नबिल बैंकका ग्राहकले मिडास एजुकेसनमा विशेष छुट पाउने 

काठमाडौं । नबिल बैंक र मिडास एजुकेशन प्रालिबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । यो साझेदारीसँगै नबिलका ग्राहकहरूले मिडास ई–क्लासका पठनपाठनका सामग्रीहरूमा विशेष छुटहरू प्राप्त गर्न सक्नेछन् । नबिलका ग्राहकहरूले मिडास ई–क्लासको एक वर्षको शिक्षण र सिकाउने सफ्टवेयर आठ सय रुपैंयामा प्राप्त गर्न सकिनेछ भने ट्युसन, गृहकार्यमा मद्दत हुने कक्षा र परीक्षा तयारीका कक्षाहरूमा २५% छुट प्राप्त गर्न सकिनेछ । बैंकले यस समझदारी पत्रको मुख्य उद्देश्य खातावालाहरूलाई डिजिटल प्लेटफर्म मार्फत शिक्षण सिकाइ क्रियाकलापमा विशेष छुट प्रदान गर्नु रहेको बताएको छ । मिडास ई–क्लास एउटा शिक्षण र सिकाउने सफ्टवेयर हो जसमा ट्यूटोरियल भिडियोहरू र विद्यालय पुस्तकका सबै पाठहरूको अन्तरक्रियात्मक रुपमा विकास गरेका हुन्छन् ।

प्रभु र सेञ्चुरीको मर्जरले राष्ट्र बैंकबाट पायो अन्तिम स्वीकृति

काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कमर्शियल बैंकको मर्जरले अन्तिम स्वीकृति पाएको छ । नेपाल राष्ट्र बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले प्रभु बैंक र सेञ्चुरी बैंकको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको हो । प्रभु बैंक र सेञ्चुरी बैंक १ बराबर १ अनुपातमा मर्ज हुन लागेको हो । दुवै बैंकले आफ्नो साधारणसभाबाट एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरिसकेका छन् । मर्जरपछि प्रभु बैंकका हालका सिइओ अशोक शेरचन नै सिइओ बन्ने छन् भने संचालक समितिमा प्रभु बैंकको तर्फबाट ४ जना र सेञ्चुरी बैंकको तर्फबाट तीन जना हुने छन् । हाल प्रभुको चुक्ता पूँजी १२ अर्ब ७० करोड रुपैयाँ रहेको छ भने सेञ्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । मर्जरपछि बैंकको चुक्ता पूँजी २२ अर्बभन्दा बढी पुग्नेछ ।