विद्युत् प्राधिकरण र इन्टरनेट सेवाप्रदायक बीचको विवादले सर्वसाधारण मर्कामा
काठमाडौं । विद्युत् पोल तथा अप्टिकल फाइबरलगायत विद्युतीय संरचना प्रयोगको विषयलाई लिएर नेपाल विद्युत् प्राधिकरण र दूरसञ्चार सेवा प्रदायक संस्थाहरु बीच देखिएको विवादको असर सर्वसाधारणमा परेको छ । यी दुई पक्षबीचको किचलोले सर्वसाधारण उपभोक्ता अत्यावश्यकीय इन्टरनेट सेवा पाउनबाट वञ्चित हुने अवस्थामा पुगेका छन् । इन्टरनेट, टेलिफोन र केबल टिभी सेवा प्रदायक संस्थाले प्राधिकरणको विद्युत् पोलमा लाइन तान्छन् । कतिपयले प्राधिकरणकै फाइबर प्रयोग गर्छन् । तर उनीहरुले न त्यसको भाडा तिर्छन् न दुई पक्षबीच भाडा लिने–दिने सम्झौता भएको छ । भाडा सम्झौता नगरे वा सम्झौताअनुसार भाडा नतिरे लाइन काटिदिने भन्दै प्राधिकरण बेला–बेला सेवा प्रदायकलाई भन्छ । तर, उनीहरु इन्टरनेटजस्तो अत्यावश्यकीय सेवा बन्द गरिदिने भन्छन् । यो क्रम पाँच वर्षदेखि चलिरहेको छ । सोमबार दिउँसो इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले पत्रकार सम्मेलन गर्दै जुनसुकै ठाउँमा जतिसुकै बेला इन्टरनेट सेवा प्रभावित हुने चेतावनी दियो । नेपाल विद्युत् प्राधिकरणले सेवा प्रदायकको ‘डाटा सेन्टर’ र ‘अपरेसनल प्वाइन्ट’ मा बिजुली काटिदिन थालेपछि त्यसको विरोधबारे जानकारी दिन सो पत्रकार सम्मेलन गरेको थियो । काठमाडौँ उपत्यकामा मात्र नभई बाहिर जिल्लामा पनि विभिन्न ठाउँमा प्राधिकरणले विद्युत् लाइन काटिदिएकोले जुनसुकै ठाउँमा जतिसुकै बेला इन्टरनेट सेवा प्रभावित हुने आइस्पानको भनाइ छ । विद्युत् प्राधिकरणको आफ्नै तर्क छ । पोलभाडा सम्झौता बिनै वर्षौँदेखि लाइन तानिरहेका र सम्झौताअनुसार भाडा नतिरेका सेवा प्रदायकलाई पटकपटक पत्र काटेर भाडा सम्झौता गर्न र बक्यौता तिर्न भनिए पनि उनीहरुले अटेर गरेपछि बाध्य भएर बिजुलीको लाइन काट्नु परेको प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय प्रमुख मनोज सिलवाल बताउँछन् । ‘केही सेवा प्रदायक कम्पनीले भाडा तिरिरहेको छन् । तर अधिकांशले भाडा सम्झौता बिनै इन्टरनेट र केबल टिभीका लाइन प्राधिकरणका पोलबाटै तानिरहेका छन् । पटकपटक भाडा सम्झौता गर्न बोलाइएपनि अटेरी गरेपछि प्राधिकरणले उनीहरुको कार्यालयको बिजुलीको लाइन काट्न थालेको छ’, सिलवालले भने । एक सातायता प्राधिकरणले धमाधम दूरसञ्चार सेवा प्रदायकको बिजुली लाइन काटिदिए पछि उनीहरु भाडा सम्झौता गर्न आएको पनि उनको भनाइ छ । त्यस्तै, प्राधिकरणका कारण इन्टरनेट सेवा प्रभावित हुने अफबाह सेवा प्रदायक कम्पनीले फैलाएको सिलवालको तर्क छ । ‘हामीले लाइन काट्न थालेपछि केही कम्पनी आएर भाडा सम्झौता गरेका छन् । उनीहरुलाई हामीले एक महिनाभित्र नेटवर्क (पुष्टि) भेरिफिकेसन गरिसक्न भनेका छौँ’, उनले भने । विद्युत् प्राधिकरणले पुस ८ गते आइस्पानका अध्यक्ष रहेका सुधिर पराजुलीको कम्पनी सुबिसु केबलनेट लिमिटेडको कार्यालयमा बिजुली काटिदिएको थियो । विद्युत् कटौती पछि सुबिसुले भाडा सम्झौता गरेको र एक महिनाभित्र आफ्नो नेटवर्क भेरिफिकेसन गरी प्राधिकरणले तोकअनुसारको भाडा तिर्छु भनेर सम्झौता गरेको निर्देशनालय प्रमुख सिलवालले बताए । ‘सुरुमा सुबिसुको विद्युत् लाइन काट्यौ । उसले आएर सम्झौता ग¥यो । अहिले ज–जसले तिरेको पोल भाडा तिरेका छैनन्, उनीहरुको लाइन काटेपछि सम्झौतामा आउन थाले’, उनले भने । सुबिसुले आफ्नो सेवा सञ्चालन गरेदेखि नै विद्युत् प्राधिकरणसँग पोल भाडा सम्झौता गरेको छैन । सम्झौता बिनै पोल र फाइबरलगायत संरचना प्रयोग गर्ने र भाडा बक्यौता तिर्न बाँकी दूरसञ्चार सेवा प्रदायकको लाइन प्राधिकरणले काटिरहेको सिलवालको भनाइ छ । पाँच वर्षदेखिको विवाद विद्युत प्राधिकरण र टेलिफोन, इन्टरनेट तथा केबल टिभी सेवा प्रदायक कम्पनीबीच विद्युत पोल र अप्टिकल फाइबरलगायतका विद्युतीय संरचनाको भाडाको विषयलाई लिएर पाँच वर्षदेखि विवाद चलिरहेको छ । अहिले अधिकांश टेलिफोन, इन्टरनेट तथा केबल टिभी सेवा प्रदायकले भाडा सम्झौता बिनै आफ्नो संरचना प्रयोग गरिरहेको विद्युत् प्राधिकरणको दाबी छ । दूरसञ्चार कम्पनीले प्राधिकरणको संरचना प्रयोग गर्दा भाडा तिर्नुपर्ने विषयको विवाद २०७५ असारयता बल्झिन सुरु भएको हो । ‘नेपाल विद्युत् प्राधिकरण अप्टिकल फाइबर केबल सेवा सञ्चालन निर्देशिका २०७३’ जारीपछि प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पीसँग पोल र अप्टिकल फाइबरको भाडा उठाउन थाल्यो । सोही निर्देशिकाबमोजिम प्राधिकरणले २०७५ असारमा पोल र विद्युतीय संरचना उपयोग गर्दा लाग्ने भाडादर बढायो । तर सेवा प्रदायकले त्यसको विरोध गरे । दुई पक्षबीच विवाद बढ्दै गएपछि सेवा प्रदायकले प्राधिकरणसँग भाडा सम्झौता गर्न छाडे । उनीहरुले प्राधिकरणको संरचना प्रयोग गरेपनि त्यसको भाडा तिरेनन् । प्राधिकरण आफैले यो विषय सुल्झाउन सकेन । पोल र अप्टिकल फाइबरको भाडादर महँगो भएको भन्दै दूरसञ्चार सेवा प्रदायकले विरोध जारी राखेपछि २०७६ मङ्सिर १ गतेको प्राधिकरण सञ्चालक समितिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सहसचिव राधिका अर्यालको संयोजकत्वमा अध्ययन समिति बन्यो । समितिमा सेवा प्रदायक कम्पनीका प्रतिनिधि नरहेको भन्दै उनीहरुले त्यसको विरोध गरे । तर सोही प्रतिवेदनका आधारमा प्राधिकरणले २०७७ भदौमा पोल र अप्टिकल फाइबरको भाडादर घटायो । सेवा प्रदायकले प्राधिकरणको विरोध गर्न छाडेनन् । उनीहरुले विसं २०७५ असारदेखि २०७७ भदौसम्म बढाइएको भाडादर आफूहरुलाई मान्य नहुने भन्दै विरोध गरिरहे । यही विवादका कारण एकातर्फ पुरानो बक्यौता बढ्दै गयो । अर्कोतर्फ दुई पक्षबीच नयाँ भाडा सम्झौता हुन सकेन । भाडा सम्झौता बिनै पोल र अप्टिकल फाइबर प्रयोग गरेको तथा बक्यौता भाडा नबुझाएको गएको साउनपछि विद्युत् प्राधिकरणले धमाधम सेवा प्रदायकका लाइन काट्यो । इन्टरनेट र सूचना प्रविधिजस्तो अत्यावस्यक सेवामा प्राधिकरणबाटै अवरोध भएको भन्दै विरोधपछि अर्को अध्ययन समिति बनाएर विवाद टुङ्ग्याउने प्रयास गरियो । भाडादरबारे विवाद मिलाउन ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वयमा २०७८ असोज १७ गते एक सुझाव कार्यदल गठन भयो । सञ्चार मन्त्रालयका तत्कालिन सहसचिव विनोदप्रकाश सिंहको संयोजकत्वमा गठित कार्यदलले २०७५ असारदेखि २०७७ भदौसम्मको भाडादर बढी देखिएकाले त्यसको समायोजन गरिनुपर्ने सुझाव सहितको प्रतिवेदन बुझायो । “२०७५ साउनदेखि २०७७ असारसम्मको दुई वर्षे अवधिको भाडादर फरक र स्वभाविक भन्दा बढी देखिएकाले समायोजनका लागि सिफारिस गरिएको छ”, प्रतिवेदनमा भनिएको छ । सो अवधिको भाडादर समायोजन गरेर मात्रै इन्टरनेट, टेलिफोन तथा केबल टेलिभिजन सेवा प्रदायकबाट भाडा बक्यौता असुल उपर गरिनुपर्ने प्रतिवेदनको सुझाव थियो । प्राधिकरणले यो प्रतिवेदन कार्यान्वयन गर्न नमानेको आरोप सेवा प्रदायकले लगाएका छन् । कति छ बक्यौता भाडा तिर्न बाँकी ? सञ्चालनमा रहेका कुन दूरसञ्चार कम्पनीले विद्युत् प्राधिकरणको कति संरचना प्रयोग गरेका छन् र कति भाडा तिर्न बाँकी छ भन्ने स्पष्ट तथ्याङ्क छैन । सेवा प्रदायकले लाइन पोल र अप्टिकल फाइबरको संख्या कति छ र त्यसको बक्यौता भाडा कति हुन्छ भन्ने स्पष्ट नरहेको प्राधिकरणको ग्राहक सेवा निर्देशनालयका प्रमुख सिलवाल बताउँछन् । “प्राधिकरणसँग अनुमति लिएर लाइन तानेको भए पो बक्यौता कति भन्ने हुन्थ्यो । अधिकांश कम्पनीले अनुमति नलिइकनै आफूखुसी लाइन तानेका छन् । जसकारण हामीसँग स्पष्ट तथ्याङ्क नै छैन”, उनले भने । कति क्षेत्रफलमा इन्टरनेट वा केबल टिभीको लाइन विस्तार भएको हो भन्ने बारे व्यवसायी स्वयंले घोषणा गर्नुपर्ने र विद्युत् प्राधिकरणले त्यसलाई रुजु (जोइन्ट भेरिफिकेसन) गरिसकेपछि मात्रै भाडा कति भन्ने स्पष्ट हुने सिलवालको भनाइ छ । अघिल्लो साता विद्युत् प्राधिकरणले सुबिसुको लाइन काटिदिएपछि अर्को सरकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले भने त्यसमा आपत्ति जनायो । दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै इन्टरनेट जस्तो अत्यावश्यकीय सेवामा सरकारी निकायबाटै अवरोध हुनु दुःखद भएको उल्लेख गरेको थियो । ‘दूरसञ्चार ऐन २०५३ अनुसार कसैले यस्तो सेवा प्रवाह अवरुद्ध गरेमा दण्डनीय हुने व्यवस्था छ । यसरी दूरसञ्चार सेवा अवरुद्ध गर्ने कार्यप्रति यस प्राधिकरण गम्भीर दुःख व्यक्त गर्दछ । राज्यको अति आवश्यक दूरसञ्चार सेवा अबरुद्ध गर्ने जोकोहीलाई कानुनी कारबाही गर्न र त्यस्ता पूर्वाधारको सुरक्षा गर्न सम्बन्धित सबैलाई अनुरोध गर्दछौँ ।’ दूरसञ्चार प्राधिकरणले भनेको थियो । विद्युत् प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनीको विद्युत् लाइन काटीदिँदा धेरै स्थानमा इन्टरनेट सेवा अवरुद्ध हुन पुगी बैंकिङ, हवाइलगायत अत्यावश्यक सेवा अवरुद्ध हुन पुगेको उसको भनाइ छ ।
आजको मौसम : हल्का हिमपातको सम्भावना
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिक बदली केही स्थानमा हल्का हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रही प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । हाल देशको प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराई भू–भागमा हुस्सु लागेको अवस्था छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव पाँच डिग्री र अधिकमत तापक्रम १७ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइन छ दशमलव एक डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २३ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।
बालबालिकाको भुल्ने र खेल्ने साधन नै मोबाइल, मस्तिष्क र आँखाको समस्या हुने
कैलाली । कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्छन् । उनका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई तनाव हुन थालेको छ । छोराले मोबाइलमा विभिन्न एपहरू चलाउने, विभिन्न खेलमा रमाउने गर्न थाल्दा बच्चाको पढाइ बिग्रिएको छ । उनले भने, ‘छोराले मोबाइल बढी चलाउने र किताब कम पढ्ने गर्न थालेको छ । कोरोना महामारीका बेला अनलाइनमा पढ्थ्यो, पछि लत लागेछ । आजभोलि बच्चालाई मोबाइलमा खेल्ने बानी बसेको छ । उसले किताब छुनै मान्दैन, घर बाहिर साथीहरूसँग पनि खेल्दैन ।’ बालबालिकाको मोबाइलप्रतिको लत देखेर अभिभावक चितिन्त बन्न थालेका छन् । करन जस्तै हरि चौधरीलाई पनि यस्तै तनाव छ । हरिका १३ वर्षीय छोरा पनि मोबाइलमा बढी भुल्न थालेका छन् । ‘मेरो बच्चाको भुल्ने र खेल्ने साधन नै मोबाइल बनेको छ । पहिला फुर्सद हुने बित्तिकै साथीसँग खेल्न जान्थ्यो’, उनले भने, ‘आजभोलि स्कुलबाट आउनेबित्तिकै मोबाइल खोज्छ । घरभित्र एक्लै मोबाइलमा व्यस्त हुन्छ ।’ पछिल्लो समय बालबालिका मोबाइलप्रति बढी नै आकर्षित हुन थालेपछि अभिभावक चिन्तित हुन थालेका छन् । बालबालिकालाई खुसी राख्न मोबाइल दिएका अभिभावक अहिले पछुताउन थालेका छन् । मोबाइलको गलत प्रयोग हुँदा अभिभावकलाई समस्या हुन थालेको छ । बढ्दो आधुनिकतासँगै बालबालिकामा मोबाइलको प्रयोगले अभिभावक चिन्तित बन्दै छन् । पछिल्लो समय बालबालिकाको खेलौना र साथी नै मोबाइल बन्न थालेको छ । कतिपय अवस्थामा बालबालिकालाई खाना खुवाउँदा पनि मोबाइल चाहिने अभिभावकको गुनासो छ । ‘आफू काममा व्यस्त रहँदा बच्चालाई मोबाइल दिएर भुलाएँ, आजभोलि खाना खाँदा पनि मोबाइल चाहिन्छ’, टीकापुरकी बन्दना धामीले भनिन्, ‘बच्चाको क्रियाकलाप देखेर अहिले त चिन्ता बढेको छ । बच्चा मोबाइल बिना केही गर्न मान्दैन ।’ जानकी गाउँपालिकाकी जानकी न्यौपाने आफ्ना बच्चामात्र होइन, छिमेकीका बच्चा देखेर पनि आफू पीडामा रहेको बताउँछिन् । ‘विगतमा घर नजिकैको चौरमा स्कुलपछि बालबालिका फुटबललगायतका विभिन्न खेल खेल्थे, आजभोलि चौर खाली हुन्छ’, उनले भनिन्, ‘अचेल घरघरमा बालबालिका मोबाइल, टेलिभिजनमा भुलेका हुन्छन्, बालबालिका विद्यालय जान्छन्, विद्यालयबाट फर्केपछि कोठाभित्रै विभिन्न प्रविधि चलाएर बस्छन् ।’ अभिभावकहरू बालबालिका घरभित्रै बस्दा सामाजिक हुन नसक्ने चिन्ता व्यक्त गर्छन् । बालबालिकामा मोबाइलप्रतिको आकर्षण बढ्दै जानुमा अभिभावक नै जिम्मेवार भएको एक मनोसामाजिक परामर्शकर्ता धनराज विकको भनाइ छ । अभिभावककै कमजोरीका कारण उनीहरूमा भोलिका दिनमा विकराल समस्या आउन सक्ने उनी बताउँछन् । ‘बालबालिकालाई अभिभावकले समय दिएकै छैनन्, अभिभावक काममा व्यस्त रहने, बालबालिकाको हातमा मोबाइल दिने गलत कार्य हो’, उनी भन्छन्, ‘बालबालिकालाई घुम्न लैजाने, आफूसँगै विभिन्न खेल खेलाउने, घरको काम सिकाउने काम अभिभावकको हो । अभिभावकलाई समय छैन । अनि बालबालिका मोबाइलमा भुल्छन् ।’ मोबाइल चलाउनु नराम्रो होइन । मोबाइल, कम्प्युटर चलाएर, टेलिभिजन हेरेर ज्ञान लिन सके राम्रै हुन्छ । मोबाइल तथा सामाजिक सञ्जालबाट सही सूचना र सही ज्ञान लिएमा जीवनमा काम लाग्छ तर यसलाई लतका रूपमा प्रयोग गरेमा बेफाइदा हुनेमा सचेत हुन आवश्यक छ । बालक रुने बित्तिकै उसलाई फकाउन मोबाइल दिनुको साटो उनीहरूलाई विभिन्न आकर्षक चित्र देखाएर र उनीहरूसँगै खेलेर अनि समय दिएर यस्तो प्रवृत्तिलाई न्यूनीकरण गर्न सकिने टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीको सुझाव छ । ‘विभिन्न रमाइला चित्र भएका पुस्तक दिने, कथा सुनाउने, ज्ञानवद्र्धक चलचित्र देखाउने गर्न सकिन्छ’, उनी भन्छन्, ‘बढी मोबाइल चलाएमा स–साना बालबालिकामा विभिन्न मस्तिष्क र आँखासम्बन्धी समस्या हुनसक्ने जोखिम रहेकाले समयमै सचेत बन्न आवश्यक छ ।’ रासस
अत्यधिक चिसो बढेपछि महोत्तरीको विद्यालयमा बिदा
महोत्तरी । सोमबार बिहानैदेखि अचाक्ली जाडो बढेपछि महोत्तरीका स्थानीय तहले धमाधम विद्यालय बिदाको सूचना जारी गरेका छन् । जिल्लाका नौ स्थानीय तहले जाडो निकै बढेको हुँदा चार दिनदेखि आठ दिनसम्मको बिदा सूचना गरेका हुन् । जिल्लाका जलेश्वर नगरपालिका, पिपरा तथा सम्सी गाउँपालिकाले पुस १९ गतेदेखि पुस २६ गतेसम्म आठ दिनको बिदा सूचना गरेका छन् । त्यसैगरी मटिहानी, भङ्गाहा, लोहारपट्टी, औरही र बलवा नगरपालिका तथा सोनमा गाउँपालिकाले पनि आजदेखि २२ गतेसम्म चार दिन बिदा दिने सूचना जारी गरेका छन् । यसअघि गत आइतबार नै मनराशिशवा र रामगोपालपुर नगरपालिकाले पुस २२ गतेसम्मको बिदा सूचना गरेका थिए । जिल्लाका १५ स्थानीय तहमध्ये ११ ले विद्यालयमा जाडो बिदाको सूचना जारी गरिसकेका छन् । स्याँठ चल्न थालेपछि विद्यालय केही दिनका लागि बिदा दिन परेको ती स्थानीय तहका कार्यालयले जारी गरेका सूचनामा उल्लेख छ । जिल्लाका बर्दिबास र गौशाला नगरपालिका तथा महोत्तरी र एकडारा गाउँपालिकामात्र यस्तो सूचना निकाल्न बाँकी छन् । चार स्थानीय तहले बिदा सूचना जारी नगरी सके पनि त्यहाँका विद्यालयमा पनि जाडोले गर्दा विद्यार्थी उपस्थिति स्वात्तै घटेको छ । यीमध्ये महोत्तरी र एकडाराले आजै बिदा दिने सूचना जारी गर्ने तयारी गरेका बुझिएको छ । जिल्लामा उत्तरी क्षेत्रका बर्दिबास र गौशालाभन्दा मध्य र दक्षिणी क्षेत्रका अन्य ठाउँमा हुस्सु र स्याँठ चल्नेक्रम बढ्ता रहेको सर्वसाधारणको बुझाइ छ । रासस
बाराही हाइड्रोको आईपीओ सूचीकृत, आजदेखि कतिमा कारोबार होला ?
काठमाडौं । बाराही हाइड्रोपावर पब्लिकको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । सोमबार कम्पनीको २५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय वासिन्दाहरुलाई बिक्री गरेको १ लाख ४६ हजार, सर्वसाधरण लगानीकर्ताका लाथि बिक्री गरेको ५ लाख ५४ हजार कित्ता सेयर र संस्थापक सेयरधनीहरुको १८ लाख कित्ता गरी कूल २५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले कम्पनीको सेयरलाई न्यूनतम ६४ रुपैयाँ ९७ पैसा देखि १९४ रुपैयाँ ९१ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । उक्त ओपनिङ्ग रेन्जको आधारमा आज मंगलबारदेखि कम्पनीको सेयर कारोबार खुल्नेछ । नेप्सेले कम्पनीको सेयरलाई बिएचपीएल कारोबार संकेत प्रदान गरेको छ ।
नेप्सेमा समृद्धि फाइनान्सको हकप्रद सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समृद्धि फाइनान्स कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । सोमबार कम्पनीको ७ लाख ७२ हजार ६६६ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । फाइनान्सले गत फागुन ८ गतेदेखि २९ गतेसम्म निष्काशन तथा बिक्री गरिएको २ः१ कित्ता अनुपातमा हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत उक्त सेयर, सम्बन्धीत शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।
एशियन हाइड्रोपावरको आईपीओमा आज आवेदन दिने अन्तिम दिन
काठमाडौं । एशियन हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर २७ गतेदेखि निष्काशन गरेको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले आज (पुस १९) गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको १० प्रतिशत अर्थात् ३ करोड ४० लाख रुपैयाँको सेयर निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकिम मूल्य दरका ३ लाख ४० हजार कित्ता साधारण सेयर आयोजना अति प्रभावित क्षेत्र ईलाम जिल्लाको इलाम नगरपालिका वडा नं. १० (साविकको गोदाक गा.वि.स. को १ देखि ९ सम्मका सम्पूर्ण वडाहरु), माई जोगमाई गाउँपालिका वडा नं. ३ र ४ (साविकको नाम्सालिङ्ग गा.वि.स.का १ देखि ९ सम्मका सम्पूर्ण वडाहरु तथा नयाँबजार गा.वि.स.का वडा नं. ५० तथा सूर्योदय नगरपालिका वडा नं. ११ (साविकको माघेसुन्तले र तिनघरे गा.वि.स.का सम्पूर्ण वडाहरु तथा साविकको सूर्योदय गा.वि.स.का वडा नं. ३, ४ र ५) का स्थानीय बासिन्दाहरुका लागि १ लाख ३६ हजार कित्ता र आयोजना अति प्रभावित क्षेत्र बाहेकको ईलाम जिल्लाका अन्य क्षेत्रहरुमा बासोबास गर्ने बासिन्दाहरुका लागि बाँकी २ लाख ४ हजार कित्ता सेयर निष्काशन गरिएको हो । यस्तै, सर्वसाधारणलाई निष्काशन गरिने २४.७१ प्रतिशत अर्थात् ८ करोड ४० लाख रुपैयाँ ८ लाख ४० हजार कित्ता साधारण सेयर मध्ये १० प्रतिशत अर्थात ८४ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरी रहेका नेपालीहरुको लागि निष्काशन गरेको हो । उक्त सेयरमा आवेदन दिने समय पुस १२ गते नै सकिएको हो । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले एनएमबि बैंकको इलाम शाखा, सिभिल बैंकको जोगमाइ शाखा, प्राइम बैंक, ग्लोबल आइएमई बैंकको सूर्योदय शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारमा रहेको नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई केयर माइनस एनपी बीबी एस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
नेप्सेमा ५ कम्पनीको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ५ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले सिभिल बैंक, सिवाईसी लघुवित्त, आइसिएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी र पोखरा फाइनान्सको सेयरमूल्य समायोजन गरेको हो । यी ५ कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा कारोबार हुनेछ । सिभिल बैंकको ५ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता २३८.१० रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । सोमबार बैंकको सेयर प्रतिकित्ता २५० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको २.४० प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ३२९.१० रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । सोमबार फाइनान्सको सेयर प्रतिकित्ता ३३७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । पोखरा फाइनान्सको ४ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ३७३.०८ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । सोमबार फाइनान्सको सेयर प्रतिकित्ता ३८८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । आईसीएफसी फाइनान्सको ५ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ४४५.७१ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । सोमबार फाइनान्सको सेयर प्रतिकित्ता ४६८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । सीवाइसी लघुवित्त वित्तीय संस्थाको ३० प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता १९२९.२३ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । सोमबार लघुवित्तको सेयर प्रतिकित्ता २५०८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।