विकासन्युज

भक्तपुरको यातायात कार्यालयमा बारम्बार सर्भर डाउन हुँदा सेवाग्राहीलाई मार

भक्तपुर । बिहानको ६ बजेको चिसो तुसारो । जाडोले थरथर कमाउने शरीर । दुईघरको चेपुवामा रहेको साँघुरो गल्लीमा लामबद्ध सेवाग्राही । अगाडि कालोपत्र सडकमा दायाँबायाँ सवारी साधनको पार्किङ । त्यही सडकमा सेवाग्राहीको अर्को । मध्यपुरथिमि नगरपालिका–७ राधेराधेस्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमति पत्र) भक्तपुरमा सेवा लिन आज बिहान ६ बजेदेखि लामबद्ध सेवाग्राहीको अवस्थाको दृश्य हो, यो । यस्तो दृश्य आज बिहानको मात्रै होइन, यातायात कार्यालयमा सवारी चालक अनुमति पत्रका विभिन्न सेवा लिन आउने सेवाग्राहीको दैनिक देखिने दृश्य हो । पुसको कठाग्रिदो जाडोको पर्वाह नगरी काठमाडौं उपत्यकादेखि सिन्धुपाल्चोकसम्मका सेवाग्राही दिनरात नै माया मारेर नयाँ सवारी चालक अनुमति पत्र, नवीकरण, लिखित परीक्षा, प्रतिलिपी, स्वास्थ्य परीक्षणलगायत सेवा दिने यस कार्यालयमा सधैँ हुने सेवाग्राहीको भीड कोलाहालले यहाँका स्थानीयवासीसमेत दिक्क भएका छन् । बागमती प्रदेशका १३ जिल्लाका सेवाग्राहीले सेवा लिने यस कार्यालयमा लिखित परीक्षाका दिन जाडोको पर्वाह नगरी बिहान ५ बजेदेखि नै सेवाग्राही लाइनमा बस्ने गरेका छन् । बिहान ६ बजे सेवा लिन लाइनमा बसेकी सिन्धुलीकी रुपा खड्काले दुई दिनदेखि लाइन बसेर पनि सेवा नपाएको गुनासो गरे । उनले हिजो पनि १२ बजे सर्भर डाउन भएको सूचना निकालेर सेवाग्राहीलाई फर्काएको र आज पनि बिहानैदेखि लाइन बसे पनि फेरि सर्भरमा समस्या आयो भनेर सेवा प्रवाह नै रोकेको बताए । उनले भने, ‘यस्तो चिसोमा बिहानैदेखि लाइन बसेका छौँ, यस्तो साँघुरो ठाउँमा कार्यालय राखेको छ, त्यो पनि दिनभरी लाइन बस्दा पनि सेवा पाइदैन । एउटै सेवा लिन चार ठाउँमा लाइन बस्नुपर्छ, एकै दिनमा सबै सेवा लिन सकिन्न, यहाँ आफन्तको घरमा आएर बसेको छु, सरकारले कहिले दिन्छ सहज सेवा ?’ खड्काको यो प्रतिनिधि प्रश्न मात्रै हो । यातायात कार्यालयमा सेवा लिन आउने सेवाग्राहीका सकस यहाँ भोग्नेलाई मात्रै थाहा हुन्छ । स्थानीय व्यापारी सनोजकुमार श्रेष्ठले बिहान ५ बजेदेखि सेवाग्राही लाइनमा बसेर सेवा नपाएको देख्दा अचम्म लाग्ने गरेको बताए । ‘बिहान कार्यालय खुलेपछि हुने भीडभाड, बिचौलियाको चलखेल, लाइनमा बस्नेको पीडा, एउटै व्यक्ति कोठा कोठा धाएको हामी दैनिक देख्नेलाई त दिक्क लाग्न भने भोग्ने सेवाग्राहीलाई कस्तो हुँदो हो ।’, उनले भने, ‘हामी कस्तो राज्यका नागरिक हौँ, पैसा तिरेर सेवा लिन पनि सधैँ सकस ।’ कार्यालय अगाडि दैनिक हुने होहल्लाले स्थानीयवासी पनि आजित भएको बताउँछन्, उनी । बिहानैदेखि लामो लाइनमा बसेका सयौँ सेवाग्राहीले सेवा नपाएर बिचल्लीमा परेपछि सेवाग्राहीले कार्यालय अगाडि नै नाराबाजी गरेका छन् । अनलाइन फाराम भरेर आजका लागि बोलाइएका सेवाग्राही बिहानैदेखि लाइन बसेर फर्किन बाध्य भएपछि बिरोध गर्दै नाराबाजी गरेका हुन् । सेवा लिन काभ्रेपलाञ्चोक पनौती नगरपालिका–५ देखि बिहान ७ बजे लाइनमा बस्नुभएकी कविता केसीले यातायात कार्यालयले दिने सास्तीप्रति आक्रोश व्यक्त गर्दै भने, ‘यस्तो चिसोमा बिहान सात बजेदेखि नै लाइनमा बसियो, म भन्दा अगाडि ६ बजेदेखि नै लाइनमा बस्ने ५० जना जति थिए, १० बजेदेखि सेवा प्रवाह गर्नुपर्ने हुन्छ, तर सेवा अवरुद्ध हुँदा पनि एकछिनमा हुन्छ भनेर पर्खाइयो, दिन सकिए पछि सर्भर डाउन भो भनेर सूचना पो टाँस्छ, अनि कति पीडा हुन्छ हामीलाई, हाम्रो दिन यत्तिकै खेर गएन ?’ सेवा लिन काभ्रेका बनेपादेखि आउनुभएका राजेश श्रेष्ठले उस्तै गुनासो गर्नुभयो । बिहान ६ः३० बजेदेखि लाइनमा बसे पनि कार्यालयले सेवा नदिएको भन्दै सेवाग्राहीले नाराबाजी गर्नुपरेको बताउनुभयो । कार्यालयले हिजो सोमबार पनि बिहानैदेखि लामबद्ध सेवाग्राहीलाई सर्भर चलेन भन्दै फर्काएको थियो भने आज पनि सर्भर डाउन भो भनेपछि सेवालिन आएका सेवाग्राही निकै मर्कामा परेका हुन् । कार्यालयले सूचना जारी गर्दै भनेको छ, ‘प्रविधिमा आएको खराबीका कारण कार्यालयबाट प्राप्त हुने सम्पूर्ण सेवा आजका लागि सञ्चालन नहुने भएकाले आज दिएको सेवा लिन आउँदो २१ गते बिहीबारका लागि सारिएको जानकारी गराउँछौँ ।’ कार्यालयका प्रमुख शिवकुमार निरौलाले सर्भरमा समस्या आएर सेवा प्रभावित भएपछि सेवाग्राहीले हुलदङ्गा गरेको बताए । उनले सेवाग्राहीले नाराबाजी गर्दै हुलदङ्गा गर्न थालेपछि बिहीबारका लागि आउन सूचना जारी गरेको बताए । उनले यो समस्या भक्तपुरमा मात्र नभई सबैतिर भएको बताए । कार्यालयले नयाँ सवारी चालक अनुमति पत्र, परीक्षा, नविकरणलगायतका विभिन्न सेवाका लागि दैनिक एक हजार पाँच सय जनालाई सेवा दिँदै आएको प्रमुख निरौलाले बताए । सर्भर डाउन हुँदा हिजो र आज यातायात व्यवस्था कार्यालय भक्तपुर, सानोभ¥याङ, सुकेधारा, गुर्जुधारालगायत देशभरका विभिन्न कार्यालयमा सेवा प्रभावित भएको छ । यातायात व्यवस्था कार्यालयमा हरेक दिन बिहानै ६ बजेदेखि नै सेवाग्राहीहरु लाइनमा बस्ने गरेका छन् भने कार्यालय समयसम्म नै सेवाग्राहीको भीड लाग्ने गरेको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सरकार गठन भएकै दिन बसेको पहिलो मन्त्रिपरिषद् बैठकले राहदानी लाइसेन्सलगायत सेवामा लाइन बस्न नपर्ने गरी व्यवस्था गर्ने निर्णय गरेको भएपछि समस्या जस्ताको तस्तै छ । राहदानीको समस्या समाधान गर्न समिति गठन भए पनि लाइसेन्सका लागि अहिलेसम्म कुनै पहल भएको छैन । देशभरको यातायात व्यवस्था कार्यालयका सर्भर सङ्घीय सरकारअन्तर्गत यातायात व्यवस्था विभागको नियन्त्रण छ भने प्रदेश सरकारअन्तर्गत यातायात कार्यालयले यो सर्भरको प्रयोग गर्दै आएका छन् । यातायात व्यवस्था विभागकै कमजोरीका कारण आफूहरूले बारम्बार सेवाग्राहीको अपजस भोग्नुपरेको गुनासो कार्यालय प्रमुखहरूले गर्दै आएका छन् । रासस

श्रीलङ्काको अर्थतन्त्रमा क्रमिक सुधार, फस्टाउँदै पर्यटन

कोलम्बो । आर्थिक अनुशासन कायम गर्ननसक्दा टाट पल्टिएको श्रीलङ्काको अर्थतन्त्रमा पर्यटन क्षेत्रले उल्लेख्य योगदान गरेको छ । सात लाखभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटकले टापु राष्ट्रको भ्रमण गरेका छन् । विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत पर्यटन क्षेत्रमा भएको यो सुधार अघिल्लो महिनाको तुलनामा अधिक भएको पर्यटन विकास प्राधिकरणले बताएको छ । गत महिना ९२ हजार पर्यटकले श्रीलङ्का भ्रमण गरेका थिए भने सन् २०२२ मा छ लाख ७८ हजार तीन सय ९२ जना आमोदप्रमोदका निम्ति आएका थिए । कोभिड–१९ महामारीसँगै आर्थिक एवम् राजनीतिक सङ्कटले जकडिएको देशको अर्थतन्त्रलाई उजिल्याउन गठित वर्तमान सरकारले आगामी वर्ष १५ लाख र अर्को वर्ष ३० लाख पर्यटक भित्रा्उने लक्ष्य लिएको प्राधिकरणले जनाएको छ । ।

चीनमा सम्पन्न इसिआई अवार्डसमा आउटरिचले जित्यो दुई विधामा पुरस्कार

काठमाडौं । चीनमा सम्पन्न भएको इसिआई अवार्ड २०२२ मा नेपालको तर्फबाट आउटरिचले प्रडकट एण्ड मोडल इनोभेसन गरी २ विधामा काँस्य पुरस्कार जितेकाे छ । ग्लोबल इसिआई अवार्डस २०२२ को विजेताहरुको घोषणा ३० डिसेम्बर, २०२२ मा गरिएको थियो । अवार्ड अन्तर्गतका तीन विधाहरु प्रडक्ट एण्ड मोडल इनोभेसन, मेटाभर्स एप्लिकेसन इनोभेसन, मार्केटिङ्ग इनोभेसन तर्फ स्वर्ण, रजत र काँस्य अवार्ड विजेता देशहरुमा हङकङ, स्विटरजरल्याण्ड, इटाली, क्यानडा, नेपाल, युएसए, युके, साउदी अरबिया, ब्राजिल, थाइल्याण्ड, ताइपाई सिटी, अष्ट्रिया लगायतका लगायतका देशहरु रहेका छन् । समारोहमा इसिआई अवार्डसका प्रेसिडेन्ट लिजुन जियाले चीनमा चलिरहेको महामारीको कारण यो पटक सबै सहभागीहरुलाई भौतिक रुपमा उपस्थित गराउन नसकेकोले भर्चुअल माध्यमबाट अवार्डको घोषणा गर्नु परेको बताए । इसिआए अवार्डस इन्टरनेशनल इन्टरप्रेनर्स, क्रिएटिभ एण्ड इन्नोभेटर्स एसोसिएसनद्वारा स्थापना गरिएको हो । यो अवार्ड नव प्रवद्र्धनको प्रभावकारितालाई मानक मानेर प्रदान गरिने विश्वस्तरीय अवार्ड हो ।

वीर अस्पतालमा पनि फोनपे क्यूआर मार्फत सहजै भुक्तानी गर्न सकिने

काठमाडौं । वीर अस्पतालमा अबदेखि फोनपे क्यूअनारदेखि सहजै भुक्तानी गर्न सकिने भएको छ । याेसँगै नेपालको सबैभन्दा पुरानो सरकारी अस्पतालमा अबदेखि बिरामीहरूको उपचार गर्दा नगद बोकेर जानुपर्ने झञ्झट हटेकाे छ । वीर अस्पतालमा डाइनामिक क्युआरकोडको सिस्टमको सुरू गरिएसँगै बिरामीका उपचारका लागि नगद बोकेर जानुपर्ने बाध्यताको अन्त्य भएको हो । उक्त क्युआर सेवाको सुरूवात वीर अस्पतालका कार्यकारी अधिकृत भुपेन्द्र कुमार बस्नेतले गरेका थिए । यस्तै, अस्पतालमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेशनमार्फत् अनलाइन पेमेन्ट गर्ने र अस्पताललाई पेपरलेस बनाउन नयाँ सुविधा समेत थप गरिएको छ । क्यूआरमार्फत भुक्तानी गर्न सकिने सुविधाको उद्घाटन गर्नै अधिकृत बस्नेतले भने,‘ वीर अस्पतालमा क्यूआरबाट भुक्तानी गर्न सकिने सुविधा सुरू भएसँगै अबदेखि नगद नै बोकेर आउन पर्ने बाध्यता र पर्स चोरी हुने जस्ता डरबाट मुक्ति मिलेको छ ।’  

ग्लोबल आइएमई बैंकद्वारा ५९ जना कर्मचारी सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंकले १५ वर्षदेखि बैंकमा निरन्तर सेवारत ५९  जना कर्मचारीहरुलाई सम्मान गरेको छ । बैंकले आफ्नो स्थापनाको १६औं वर्षमा प्रवेशको अवसरमा कर्मचारीहरुलाई सम्मान गरेकाे हाे । सोमबार बैंकमा आयोजित एक कार्यक्रमकाबीच बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकमा १५ वर्षदेखि निरन्तर सेवारत कर्मचारीहरुलाई सम्मान गरे । अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले “उत्कृष्ट बैंकिङ्ग सबैका लागि” भन्ने नाराका साथ आफ्नो स्थापनाको १६ वर्षमा आफूलाई अधिकांश वित्तीय सूचकहरुमा अब्बल बनाउन सफल रहेको बताएका छन् । उनले उत्कृष्ट बैंक बनाउन आफ्नो तर्फबाट गर्नुभएको विशेष योगदानका लागि सबै कर्मचारीहरुलाई धन्यवाद प्रकट गर्दै अझ उत्कृष्ट र ग्राहकमैत्री सेवा उपलब्ध गराउन आग्रह समेत गरे । यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बैंकले आफ्नो सेवालाई ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिनेगरी आफ्नो लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताए । ग्लोबल आइएमई बैंकले २९२ शाखा, २७१ एटिएम, २८३ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ९०० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आएको छ । त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुबेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । ग्लोबल बैंक २०६३ साल पुस १८ गते क्षेत्रीयस्तरको वाणिज्य बैंकको रुपमा स्थापना भएको थियो ।

नेकपा समाजवादी सरकारमा जाने/नजाने निर्णय पार्टीको केन्द्रिय सचिवालयले गर्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा जाने/नजानेबारे निर्णय लिने जिम्मेवारी पार्टीको केन्द्रिय सचिवालयलाई दिएको छ । मंगलबार सम्पन्न पार्टी पोलिटब्युराे बैठकले सो निर्णय गरेको हो । थप अध्ययन, छलफल, विचार विमर्श गर्नुपर्ने भएकाले सरकारमा पार्टीको सहभागिताबारे निर्णय गर्ने अधिकार केन्द्रिय समितिलाई दिने निर्णय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए । बैठकमा धेरैजसो नेताहरुले सरकारले देश र जनताको हितमा ल्याउने कार्यक्रमलाई हेरेर मात्रै सरकारमा जानेबारे आवश्यक निर्णय लिन पनि पार्टी नेतृत्वलाई सुझाव दिएका थिए । त्यसैगरी, बैठकले वामपन्थी पार्टीहरुबीचको एकता र सहकार्यका लागि आवश्यक गृहकार्य गर्ने अनुमति पनि पार्टी केन्द्रिय सचिवालयलाई नै प्रदान गरेको छ । केन्द्रीय सचिवालयको संयोजनमा यो कामलाई अघि बढाउन पनि बैठकले अनुमति दिने काम गरेको पार्टीका प्रवक्ता खतिवडाले बताए । पार्टी भित्र संगठन सुदृढीकरण र सुद्धिकरण अभियान संचालन गर्ने, पार्टीको सदस्यता विस्तार गर्ने, पार्टीलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने अभियानलाई पनि अघि बढाउने काममा अघि बढने निर्णय पनि पोलिटव्यूरो बैठकले गरेको नेकपा (एकीकृत समाजवादी)ले जनाएको छ ।

गुल्मीको महिला स्वास्थ्य स्वयंसेवीकालाई निवृत्तिभरण

गुल्मी। गुल्मीको छत्रकोट गाउँपालिकाले अनिवार्य अवकाश पाउने महिला स्वास्थ्य स्वयंसेवीकालाई निवृत्तिभरण उपलब्ध गराउने भएको छ । पालिकाले ६० वर्ष उमेर पुगी अनिवार्य अवकाश हुने महिला स्वास्थ्य स्वयंसेवीकालाई मासिक रु एक हजारका दरले निवृत्तिभरण उपलब्ध गराउने घोषणा गरेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिएका छन् । सङ्घीय सरकारले ६० वर्ष उमेर पुगि निवृत्त हुनेलाई एकमुष्ट रु २० हजार उपलब्ध गराउँदै आएकोमा पालिकाले उक्त रकममा ३० हजार थप गरी एकमुष्ट ५० हजार उपलब्ध गराउने घोषणा गरिएको अध्यक्ष पाण्डेले बताए । पाँच वर्ष भन्दा बढी सेवा अवधि पुगेर अवकाश लिनेको हकमा भने पालिकाले एकमुष्ट दश हजार उपलब्ध गराउने भएको छ । महिला स्वास्थ्य स्वयंसेवीकालाई निवृत्तिभरण उपलब्ध गराउन पालिकाले बजेटको सुनिश्चितता गरिसकेको छ । यसका लागि कार्यविधि बनाउन लागिएको र कार्यविधि बनेपछि कानुन बनाएर यही आर्थिक वर्षको दोस्रो चौमासिकदेखि कार्यान्वयन गरिने प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले बताएका छन् । छत्रकोट गाउँपालिकाका स्वास्थ्य संयोजक श्यामसुन्दर पोख्रेलले पालिकाको उक्त निर्णय आम स्वास्थ्य स्वयंसेवीकाका लागि महत्वपूर्ण भएको बताए । यो निणर्यले स्वास्थ्य क्षेत्रमा काम गर्नेहरुका लागि प्रेरणा र हौसला प्रदान गर्नुका साथै स्वाथ्यकर्मीलाई पनि थप उत्साहित बनाएको बताए । रासस

बाहिर गएर पार्टीको आलोचना गर्ने काम बन्द गर्नुहोस् : माधव नेपाल

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेतृत्वको आलोचना गर्ने काम तत्काल बन्द गर्न पार्टीका नेता, कार्यकर्तालाई कडा निर्देशन दिएका छन् । मंगलबार सम्पन्न पार्टीको पोलिटब्युराे बैठकमा बोल्दै अध्यक्ष नेपालले पार्टी कमिटी भन्दा बाहिर गएर पार्टी नेतृत्वको बदख्वाई गर्ने, अरुको प्रशंशा गर्ने, फेसबुकमा लेख्ने, मिडियामा बोल्नेजस्ता पार्टी अनुशासन विपरित काम नगर्न पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराए । ‘आफूलाई लागेका कुरा पार्टी कमिटीमा राख्नुको साटो बाहिर बोल्दै हिँडने हो भने त्यो पार्टी क्रान्तिकारी र अनुशासित पार्टी हुनै सक्दैन, पार्टी अनुशासित र संस्थागत रुपमा चलोस् भन्ने चाहेको हाे,’ उनले भने । अध्यक्ष नेपालले पार्टी कमिटी भित्र बसेर व्यापक छलफल गर्ने, विचार मन्थन गर्ने परिपाटी पार्टीमा आफूले बसाउन चाहेको समेत बताए ।