तातोपानी नाकामा चहलपहल शून्य
चौतारा । काठमाडौँदेखि एक सय २४ किलोमिटर दूरीमा रहेको तातोपानी नाका कुनै समय गुलजार थियो । चिनियाँ बजारमा सामान खरिद गर्न पुग्ने व्यापारी र उपभोक्ताका कारण तातोपानी नाकामा चहलपहल निकै बढी थियो । तर २०७२ साल वैशाखमा आएको भूकम्पपछि भने तातोपानी नाकाको मुहार फेरिएको छ । अहिले समय भूकम्पले भत्काएका जीर्ण भवन र सीमा सुरक्षार्थ प्रहरी कार्यालय बोहक अरु छैन । कुनै रेस्टुराँ र होटलमा भ्याइनभ्याइ हुने यो क्षेत्रमा यति बेला एउटा पनि होटल तथा रेष्टुराँ छैन । चीनसँग जोडिएको नेपालको सबैभन्दा पुरानो नाकाबाट भूकम्पपछि आंशिक रूपमा आयात खुला भएको चारवर्ष भए पनि निर्यात बन्द भएको सात वर्ष भइसकेको छ । जसका कारण चहलपहल शून्य जस्तै अवस्थामा पुगेको हो । तातोपानी नाका नियमित सञ्चालन नभएपछि मितेरीपुलदेखि चीन-नेपाल दुवैतर्फको करिब पाँच किलोमिटर क्षेत्रमा चहलपहल छैन । यो नाकाबाट कहिलेकाँही मात्र सामान आयात भने भइरहेको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वमा नयाँ सरकार भएपछि चीन सरकारले तीन वर्षदेखि बन्द रहेका रसुवागढी र हुम्ला नाका खोलेको छ । हाल रसुवागढी नाकाबाट निर्यात सुरु भएको छ भने यारी नाकाबाट आयात भइरहेको छ । तर व्यवसायिकरुपले महत्वपूर्ण मानिएको सिन्धुपाल्चोकको तातोपानी नाका तीन वर्षदेखि पूर्ण रुपमा खुलेको छैन । केरुङबाट कन्टेनर ल्याउँदा ढुवानी भाडा बढी लाग्ने भएकाले नेपाली व्यापारीहरू तातोपानी नाकाबाटै सामान ल्याउन खोज्छन् । नेपाल च्याम्बर अफ कमर्शका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ कोटा तोक्नेभन्दा पनि आवश्यक सामग्री ल्याउने गरी चीन सरकारले वातावरण बनाउनुपर्ने बताउनुहुन्छ । चीनमा तीन वर्षदेखि जारी बन्दाबन्दी अहिले मात्रै हटेकाले नाकाबाट आयात-निर्यात खुला हुने स्थानीयमा आशा भने कायमै छ । चिनियाँ पक्षले बन्दाबन्दी हटेपछि खासाबाट पहिलेको तुलनामा बढी कन्टेनर नेपाल पठाउन थालेका छन् । लामो समयदेखि नाका नखुल्दा त्यहाँ कार्यरत मजदूरहरु समस्यामा परेको नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुनबहादुर सापकोटाले बताए। ‘सामान लोड र अनलोड गर्ने मजदुरहरुलाई काम नै पुगेको छैन’, उनले भने, ‘आयात र निर्यात पहिले झैँ भयो भने उनीहरुले पनि काम पाउँछन् ।’ नाका बन्द हुँदा त्यहाँ कार्यरत व्यवसायीहरू पलायन हुन थालेका छन् । लिपिङमा झोले पोके व्यापार र पर्यटकको भारी बोकेर गुजारा गर्ने स्थानीयहरु विदेश जान बाध्य भएका छन् । भोटेकोसी गाउँपालिकाको पाँच वटा वडा र बाह्रबीसे नगरका दुई वटा वडाका अधिकांश स्थानीय विदेश पलायन भएका हुन् । भोटेकोसी नारायणथान निवासी शेर्पाले तातोपानी नाका बन्द भएको आठ वर्षयता यस क्षेत्रका अधिकंश घर खाली भएको र धेरैजसो विदेश गएको बताए।
ग्वार्कोमा फ्लाइओभर निर्माण सुरु हुँदै, १४ महिनामा तयार हुने
ललितपुर । ललितपुरको ग्वार्कोमा ‘फ्लाइओभर’ निर्माण माघको पहिलो सातादेखि सुरु हुने भएको छ । हाल आवश्यक तयारी भइरहेको भन्दै सडक विभाग, गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका प्रवक्ता सिनियर डिभिजनल इञ्जिनियर सौरभ बज्राचार्यले माघको पहिलो सातादेखि निर्माण सुरु हुने बताए । ‘हाल सामान व्यवस्थापनको काम भइरहेको छ, सम्भवतः १० दिनपछि निर्माण सुरु हुन्छ’, उनले भने, ‘अहिले नै बाटो बन्द गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुने भएकाले सबै तयारी पूरा भएपछि मात्रै निर्माण सुरु गर्न लागिएको हो ।’ केही सामानहरु आयात हुन बाँकी रहेकाले सामान ल्याउने काम भइरहेको उनले बताए । फ्लाइओभर निर्माण अवधि १४ महिना तोकिएको छ । यस क्षेत्रमा पर्ने सडक बिस्तार गरी १० लेन बनाइए पनि ट्राफिक जामको समस्या समाधानका लागि फ्लाइओभर बनाउन लागिएको हो । हाल यस क्षेत्रमा चार लेनको मुख्य सडक, सर्भिस लेन र त्यसभन्दा बाहिर दुवैतर्फ एक/एक लेन छन् । सबैभन्दा बाहिरी लेनमा हाल सवारी साधन पार्किङ भइरहेकाले त्यसलाई हटाएर नियमित सवारी सधान गुड्ने बनाउनुपर्ने सूचना अधिकारी बज्राचार्यको भनाइ छ । उक्त लेन सञ्चालन गरी मोटरसाइकल सञ्चालन गर्न सकिने उनले बताए । फ्लाइओभरको उचाइ छ मिटर हुनेछ भने बालकुमारीतर्फ दुई सय ८० मिटर लामो ‘र्याम’ र सातादोबाटोतर्फ एक सय ७५ मिटर लामो ‘र्याम’ बनाइनेछ । कुल चार सय ९० मिटर लम्बाइको फ्लाइओभरमा ‘सुपर स्ट्रक्चर’ ३५ मिटर हुनेछ । फ्लाइओभर सञ्चालनमा आएपछि मङ्गलबजार– इमाडोल– मङ्गलबजार चल्ने सवारीसाधन पुलमुनिबाट जानेछन् भने चक्रपथमा गुड्ने सवारी साधन पुलमाथिबाट गुड्नेछन् ।
आँबुखैरेनीमा १५ शय्याको अस्पताल सञ्चालनमा
तनहुँ । जिल्लाको पूर्वी नाकामा रहेको आँबुखैरेनी गाउँपालिकाले पन्ध्र शय्याको अस्पताल सञ्चालनमा ल्याएको छ । अस्पताल सञ्चालन भएसँगै गाउँपालिकाका नागरिकलाई उपचारमा सहज भएको छ । गण्डकी प्रदेशकै पहिलो इएचआर इलेक्टोनिक्स हेल्थ रेकर्ड प्रविधि जडित अस्पतालबाट सेवा दिन थालिएकाले यहाँका बासिन्दालाई उपचारमा सहज भएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । ‘गाउँपालिकाले अस्पतालमा सञ्चालनमा ल्याएको करिब एक महिनाको अवधिमा प्रविधिमैत्री बनाइएको हो । अबको दुई महिनापछि शल्यक्रिया सेवासमेत उपलब्ध गराउन प्रक्रिया अघि बढाइएको छ’, उनले भने, ‘पेपररहित कार्यले बिरामीले कागजको भारी बोकेर अस्पताल धाउनुपर्ने समस्या अन्त्य हुने विश्वास लिएका छौँ ।’ भिडियो एक्सरे, एक्सरे, ल्याब परीक्षणको रिर्पोट र चिकित्सकले रिर्पोटको आधारमा लेखिदिएको औषधिसमेत सबै जानकारी मोबाइलमा आउने व्यवस्था मिलाइएको अस्पताल प्रशासन शाखाका प्रमुख मुकेशकुमार शाहले जानकारी दिए । नयाा प्रविधिसहित सबै कोठामा कम्प्युटर जडानका लागि पचास लाख खर्च भएको गाउँपालिका कार्यालयले जनाएको छ । कर्मचारीलाई उक्त प्रविधि सम्वन्धी तालिम प्रदान पश्चात् प्रयोगमा ल्याइएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख अगमराज उपाध्यायले बताए ।
पानी नपरेका कारण बढ्यो प्रदूषण
काठमाडौं । पानी नपरेका कारण केही दिनयतादेखि काठमाडौं उपत्यकासहित देशभर धुलोधुवाँ पनि बढेको र यसका कारण देशभर प्रदूषण बढेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पानी नपरेका कारण तराईमा हुस्सु लाग्न थालेको र वायू प्रदूषण दिनहुँ बढिरहेको छ । सो शाखाले काठमाडौं, भक्तपुर, दाङको तुलसीपुर र धनकुटाको हावा अस्वस्थकर बन्दै गएको जनाएको छ । हावाको गुणस्तर सूचक मापन ‘एयर क्वालिटी इन्डेक्स’को आज बिहान ७ बजेर ४५ मिनेटको तथ्याङ्कअनुसार भक्तपुर, काठमाडौँ, तुलसीपुर र धनकुटाको हावा अस्वस्थकर रहेको छ । काठमाडौंको एयर क्वालिटी इन्डेक्स एक्युआई एक सय ५३ रहेको छ । यस्तै भक्तपुरको एक सय ५४, तुलसीपुरको एक सय आठ र धनकुटाको एक सय छ रहेको छ । एक्यूआई सूचकाङ्क सयदेखि एक सय ५० सम्म पुग्दा बालबालिका तथा वृद्ध र श्वासप्रश्वाससम्बन्धी रोगीलाई अस्वस्थकर तथा एक सय ५० भन्दामाथि एक्युआइ पुग्नु सबैका लागि अस्वस्थकर मानिन्छ । सामान्यतया शून्यदेखि ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ । उक्त सूचकाङ्कअनुसार एक सय ५० भन्दामाथि दुई सयसम्मलाई अस्वस्थकर र त्यसभन्दा माथि तीन सयसम्मलाई अति अस्वस्थकर मानिन्छ । अस्वस्थकर वायुले मानिसको स्वास्थ्यमा असर पार्छ । सबै उमेर समूहका मानिसको स्वास्थ्यमा जोखिम बढेको र विशेषगरी बालबालिका र ज्येष्ठ नागरिकलाई थप जोखिम हुने भएकाले सतर्कता अपनाउन विज्ञले आग्रह गर्दै आएका छन् ।
बागमती प्रदेशमा सरकार गठनका लागि आह्वान
काठमाडौं । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले पाँच दिनभित्र मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका छन् । प्रदेश प्रमुख शर्माले प्रदेश सरकार गठन गर्न कुनै पनि एक दल मात्रैलाई बहुमत नपुगेकाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न पाँच दिनको समय दिएका छन् । उनले यही पुस २५ गते सोमबार अपरान्ह ४ बजेसम्म दाबी पेश गर्न आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश प्रमुखको कार्यालयले जनाएअनुसार सरकार गठनका लागि कुनै पनि दलसँग स्पष्ट बहुमत नपुगेकाले संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्ने अवस्था नरहेको हुँदा उपधारा (२) अनुसार आह्वान गरिएको हो । प्रदेश सभामा प्रतिनिधत्व रहने कूल एक सय १० सदस्यमध्ये नेपाली कांग्रेसका ३७, नेकपा(एमाले) का २७, नेकपा(माओवादी केन्द्र) का २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा(एस) का सात, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई सदस्य रहेका छन् ।
कस्तो हुनेछ प्रधानमन्त्रीले विश्वासको मत लिने प्रकृया, समाजवादीका सांसदलाई ह्विप लाग्छ ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २६ गते मंगलवार विश्वासको मत लिँदैछन् । नेकपा एमालेसहित सरकारमा सहभागी दलहरुले विश्वासको मत दिने बताइसकेका छन् भने सरकारमा सहभागी नभइसकेको नेकपा (एकीकृत समाजवादी) ले २६ गते यसबारेमा निर्णय गर्ने बताइसकेको छ । प्रधानमन्त्रीले विश्वासको मत लिने भन्दैगर्दा कसरी विश्वासको मत लिन्छन् भन्ने आम नागरिकमा चासोको विषय छ । विश्वासको मत लिनका लागि प्रधानमन्त्री कार्यालयबाट संघीय संसदलाई विश्वासको मत लिनको लागि सूचना दिनुपर्छ । सूचनापछि विश्वासको मतका लागि संसद सचिवालयले आफ्नो तयारी थाल्छ । प्रधानमन्त्री कार्यालयबाट विश्वासको मत लिने सूचना संसद सचिवालयलाई दिइसकिएको छ । सोही अनुसार संसद सचिवालयले पनि विश्वासको मतका लागि आफ्ना काम अघि बढाइसकेको छ । यसरी शुरु हुन्छ प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया प्रधानमन्त्रीले विश्वासको मत लिनेसम्बन्धी सूचना (२५ गते बस्दैछ) प्रतिनिधि सभाको बैठकमा सभामुख (सभामुख नभएको बेला ज्येष्ठ सदस्यबाट) बाट पढेर सुनाइने छ । नयाँ संसदको पहिलो बैठकमा प्रतिनिधि सभाका सदस्यहरुलाई जानकारी गराइसकेको प्रधानमन्त्रीको विश्वासको मत लिने दिन प्रतिनिधि सभामा प्रधानमन्त्रीलाई आफूलाई विश्वासको मत लिनका लागि सभामुखले प्रस्ताव पेस गर्न समय दिन्छन् । सभाुखले दिएको समयमा प्रधानमन्त्रीले (२६ गते) को प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिन संसदमा सहभागी दलहरुसँग प्रस्ताव राख्नेछन् । विश्वासको मत लिनुअघि प्रधानमन्त्रीको सम्बोधन प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुअघि संसदमा सांसदहरुलाई आफूलाई प्रधानमन्त्रीमा विश्वासको मत दिन प्रश्ताव पेस गर्नेछन् । प्रस्ताव पेससँगै प्रधानमन्त्रीले आफूलाई विश्वासको मत किन दिने भन्नेबारेमा आफ्नो सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीले पुस २६ गते मंगलवार विश्वासको मत लिनेछन् । प्रतिनिधि सभाको बैठक मंगलवार दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्रीको सम्बोधनपछि सांसदहरुको छलफल प्रधानमन्त्रीको सम्बोधनपछि संसदमा प्रधानमन्त्रीको विश्वासको मत लिने प्रस्तावबारे सांसदहरुले बोल्न चाहेमा सभामुखले उनीहरुलाई बोल्न समय उपलब्ध गराउँछन् । सभामुखले दिएको समयसीमा भित्र प्रधानमन्त्रीको विश्वासको मत लिने प्रश्तावमा सांसदहरुले आफ्नो धारणा राख्नेछन् । संसदमा यदी पूर्व प्रधानमन्त्री र पूर्व सभामुखले बोल्न चाहेको खण्डमा भने समयको पावन्दी रहँदैन । उनीहरुले बोल्न चाहेमा पर्याप्त समय पाउनेछन् । सबै सांसदले विश्वासको मत दिने वा नदिने भन्नेबारेमा संसदमा बोल्न चाहे भने विश्वासको मत लिने प्रक्रिया लम्बिनेछ । तर संसदमा रहेका ७ भन्दा बढी दलहरुले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्ने बताइसकेकाले त्यो अवस्था आउने देखिँदैन । छलफल सकिसकेपछि प्रतिनिधि सभाका सभामुखले प्रधानमन्त्रीलाई बोल्न समय उपलब्ध गराउँछन् । प्रधानमन्त्रीको जवाफ प्रतिनिधि सभामा आफूले राखेको विश्वासको मत दिने प्रस्तावमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनेछन् । प्रधानमन्त्रीले सांसदहरुले गरेका प्रश्नको जवाफ दिइसकेपछि संसदमा मत विभाजनको प्रक्रिया शुरु हुनेछ । प्रस्ताव निर्णयार्थ प्रस्तुत संसदमा मत विभाजन भइसकेपछि प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिन राखेको प्रस्ताव संसदमा निर्णयार्थ प्रस्तुत हुन्छ । त्यो प्रस्ताव भने मत विभाजनबाट हुन्छ । निर्णयार्थ प्रस्तुत भइसकेपछि प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रक्रिया शुरु हुन्छ । सदस्यहरुलाई प्रस्तावको पक्षमा र विपक्षमा दस्तखतसहितको मत दिनका लागि समय उपलब्ध गराइन्छ । तर प्रधानमन्त्रीको विश्वासको मत लिनका लागि भने ध्वनीमतको व्यवस्था हुँदैन । मत दिइसकेपछि सच्याउन पाउने अवसर प्रधानमन्त्रीलाई विश्वासको मत दिइसकेपछि पनि सांसदहरुलाई आफ्नो मत सच्याउन सभामुखले समय उपलब्ध गराउनु हुन्छ । सभामुखले उपलब्ध गराएको समयसीमामा सांसदहरुले आफूले प्रधानमन्त्रीका लागि दिएको विश्वासको मत सच्याउन पाउनेछन् । यो प्रक्रिया सकिएपछि सभामुखले प्रधानमन्त्रीले पाएको विश्वासको मतको नतिजा सुनाउनुहुनेछ । विश्वासको मतको परिणाम सुनाइसकेपछि उक्त प्रश्ताव राष्ट्रपति समक्ष संसद सचिवालयले लेखेर पठाउँछ । प्रधानमन्त्रीले पेस गर्नुभएको विश्वासको मत सभाबाट बहुमतको साथ अनुमोदन भएपछि संवैधानिक व्यवस्थाबमोजिम विश्वासको मत प्राप्त भएको मानिन्छ । संविधानको धारा ७६ को उपधारा (२) वा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । संविधानको धारा ७६ को उपधारा २ (१) बमोजिम प्रतिनिधि सभामा कुनैपनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्ति गर्छन् । सोही बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा पुस १० गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्ति गरेकी थिइन् । प्रधानमन्त्रीमा नियुक्ति भएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार प्रधानमन्त्री दाहालले यही पुस २६ गते मंगलवार विश्वासको मत लिँदैछन् । प्रधानमन्त्रीले कुनैपनि बखत आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्नेकुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधि समक्ष प्रश्ताव राख्न सक्नेछ । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रश्ताव राख्नुपर्नेछ । नेकपा (एकीकृत समाजवादी) लाई पार्टीको ह्वीप लाग्छ ? राजनीतिक दल सम्बन्धी ऐनले विश्वासको मत वा अविश्वासको प्रस्तावमा दलीय ह्वीप जारी भए मान्नुपर्ने व्यवस्था स्पष्ट गरेको छ । संविधानको कुन उपधारामा ह्वीप लाग्ने र कुनमा नलाग्ने भन्ने व्यवस्था भने गरेको देखिँदैन । यतिबेला नेकपा (एकीकृत समाजवादी) निर्वाचनमा राष्ट्रिय दल बन्न असफल भयो । जसकारण आम मानिसमा माधव नेपाल नेतृत्वको (एकीकृत समाजवादी) पार्टीलाई ह्वीप लाग्छ की लाग्दैन भन्ने जिज्ञासा छ । तर संसद सचिवालय भने (एकीकृत समाजवादी) पार्टीबाट निर्वाचित सांसदलाई पनि पार्टीको ह्वीप लाग्ने बताउँछ । तर राष्ट्रिय दल नबनेका कारण पार्टीको ह्वीप लाग्ने वा नलाग्ने भन्ने स्पष्ट व्यवस्था गरेको देखिँदैन । संघीय संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलासँग गरिएको कुराकानीमा आधारित ।
आशा लघुवित्तले दियो निशुल्क सिपमूलक तालिम
काठमाडौं । आशा लघुवित्तद्वारा निशुल्क सिपमूलक तालिम सम्पन्न गरेको छ । आशा लघुवित्त वित्तीय संस्थाले मंसिर ७ गते देखि पौष २० गते सम्म संस्थाको मधेश, बागमती, गण्डकी तथा लुम्विनी प्रदेश अन्तरगतको २१ वटा शाखा कार्यालयहरु मार्फत २ दिने सीपमूलक तालिम संचालन गरेको हो । वित्तीय संस्थाले शाखा कार्यालयहरुमा आबद्ध सदस्यहरु मध्ये १,०८५ जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगा धुने सर्फ, झोल साबुन, अचार, स्याम्पु, ह्यान्डवास, टिका विन्दी, चुरा गहना, कुसन तथा भाडा माझ्ने सावुन बनाउने तालिम प्रदान गरेको होे । वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिएको उक्त तालिमबाट सहभागीहरुले कम लागतमा बिभिन्न सामानहरु उत्पादन गर्ने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए । हालसम्म यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै ३,७८५ जना विपन्न महिलाहरुलाई यस प्रकारका निशुल्क सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरता तर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने विचार व्यक्त गरे । साथै यस कार्यक्रम पश्चात सदस्यहरुको लघुब्यवसायमा बृद्धी भई उक्त क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरता तर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको राष्ट्रिय स्तरको वित्तीय संस्थाका रुपमा स्वीकृती प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘विपन्न समुदायका निम्ति आशा’ भन्ने मुल नाराका साथ ककनी– ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको हो । हालसम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरु मार्फत करीब ७५ हजार भन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करीब ५ अर्ब कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट १ अर्व ८३ करोड भन्दा बढी निक्षेप संकलन गरेको छ ।
पेट्रोल/डिजेलको मूल्य घटाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् । प्रचण्डले बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा उद्योग, वाणिज्य तथा आपूर्ति सचिवलाई आम जनतालाई राहतको अनुभूति हुने गरी मूल्य घटाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमाजिक मूल्य समायोजन गरी मूल्य कटौती गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । पछिल्लो समय नेपाल आयल निगमले इण्डीयन आयल कर्पाेरेशन (आईओसी) बाट पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा समेत नेपालमा मूल्य समायोजन गरेको थिएन । निगम नोक्सानमा गएको र आईओसीलाई बक्यौता रकम भुक्तानीमा समस्या भएको भन्दै निगमले मूल्य समायोजन गरेको थिएन । नेपाल आयल निगमले यसअघि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँका दरले घटाएको थियो । अहिले पेट्रोल १७८ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर१७५ रुपैयाँ पर्छ । निगमको पछिल्लो विवरण अनुसार १५ दिनमा रु ९९ करोड नाफा हुने देखिएको छ । निगमले रु १८ अर्ब बराबरको रकम तिर्नुपर्ने दायित्व रहेको भन्दै मूल्य घटाउन तयार भएको छैन । चौतर्फी रुपमा मूल्य घटाउन निगमलाई दबाब परेपनि अस्वीकार गर्दै आएको छ । लगातार अन्तर्राष्ट्रिय बजारमा मूल्य ओरालो लागे पनि दायित्व बाँकी रहेको भन्दै मूल्य घटाउन निगम तयार नभएपछि प्रधानमन्त्रीले नै निर्देशन दिनुपरेको हो ।