पुस २५ गतेदेखि चितवनमा महोत्सव हुँदै, २५ करोड बढीको कारोबार हुने
काठमाडौं । उद्योग वाणिज्य संघ चितवनले ‘१४ औं चितवन महोत्सव-२०७९’ आयोजना गर्ने भएको छ । चितवनको कृषि, शिक्षा, स्वास्थ्य पर्यटन लगायत समग्र आर्थिक व्यवसायका क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्य सहित उक्त महोत्सव गर्न लागिएको संघले जनाएको छ । उक्त महोत्सव यही पुस २५ गतेदेखि माघ ४ गतेसम्म सञ्चालन हुनेछ । १० दिन चल्ने उक्त महोत्सवमा २५ करोड रुपैयाँ बढीको आर्थिक कारोबार तथा आन्तरिक तथा बाहृय पर्यटक सहित करिब ५ लाखले अवलोकलन गर्ने अनुमान गरिएको छ । महोत्सवको आयोजक टिमका अनुसार सर्वसाधारण तर्फ ६० र विद्यार्थी ३० रुपैयाँ शुल्क राखिएको छ । टिकट भौतिक रुपमा र वालेटबाट पनि खरिद गर्ने व्यवस्था रहेको छ । प्रत्येक २/२ वर्षको अन्तरालमा चितवन महोत्सव हुँदै आए पनि कोभिडका कारण समयमै हुन सकिरहेको थिएन । चितवन महोत्सव उद्योग वाणिज्य संघ चितवनको आयोजना एवम् भरतपुर महानगरपालिका र जिल्ला समन्वय समितिको शुरु प्रवद्र्धनमा सम्पन्न गर्न लागिएको छ । चितवन महोत्सव पर्यटनलाई केन्द्र विन्दुमा राखी आयोजना गर्नलागेको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले बताए । ‘प्राय सबै क्षेत्र प्रभावित भएको भएता पनि कोभिङका कारण सबै भन्दा वढि प्रभावित क्षेत्रको रुपमा पर्यटन क्षेत्र रहेको संघले महशुस गर्दै यस वर्ष पनि चितवन महोत्सव पर्यटनलाई केन्द्र विन्दुमा राखी आयोजना गर्न लागिएका हौं,’ उनले भने । चितवन महोत्सवले व्यवसायीक क्रियाकलापमा भन्दा पनि कोभिड-१९ को प्रभाव पश्चात विश्व परिवेशमा व्याप्त आर्थिक मन्दीका कारण विक्षिप्त बनेको आर्थिक क्षेत्र, हतोत्साहीत भएका उद्यमी व्यवसायी र आम सर्वसाधारणलाई आर्थिक पुनरुत्थानको एउटा नयाँ दियो बाल्ने आशा गरिएको अध्यक्ष श्रेष्ठले बताए । महोत्सवमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पोल्ट्री तथा उद्योग प्रवद्र्धनमा महोत्सवका गतिविधि सञ्चालन हुनेछन् । यस वर्षको चितवन महोत्सवमा ७ वटा विशेष स्टल, डोम, कृषि परिसर, अटो परिसर, सूचना तथा प्रविधि परिसर, मेड इन नेपाल परिसर र घरेलु तथा साना उद्योगका लागि आवश्यक मेसिनरी सामानको स्टल, विभिन्न संघ संस्थाका स्टल, रेष्टुरेन्ट परिसर सहित ४ सय ५० वटा स्टलहरु रहनेछन् । प्रत्येक स्टलको बीमा गरको पनि आयोजक टिमले जनाएको छ । नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश क्षेष्ठले सरकारको ध्यान् मेला महोत्सव तर्फ नगएको बताएका छन् । ‘अहिले आर्थिक गतिविधिलाई चलयामान बनाउन सरकार जति चिन्तित छ त्यति निजी क्षेत्र पनि छ, आर्थिक गतिविधि बढाउन् यो मेलाको आयोजना गरिएको हो,’ उनले भने । सरकारले ल्याएका नयाँ नीति, नेपाल राष्ट्र बैकले लागु गरेको चानुपूजी कर्जा मार्गदर्शन र त्यसका कारण बैंक तथा वित्तिय संस्थाहरुले वृद्धि गरेको बैंक ब्याजका कारण व्यवसायी आक्रान्त बनेको पनि श्रेष्ठले बताए ।
दोस्रो त्रैमासमा पनि बैंकहरुलाई रिकभरीको सकस, माघदेखि सुधार हुने अपेक्षा
काठमाडौं । बैंकरहरु यति बेला चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणको तयारीमा जुटेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले चालू आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गर्नु पर्ने हुन्छ । सोही कारण पनि उनीहरु दोस्रो त्रैमासको वित्तीय विवरणको तयारीमा व्यस्त छन् । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा अधिकांश कम्पनीहरुको वित्तीय विवरण नकारात्मक रहेकाले निराश बनाएको थियो । दोस्रो त्रैमास कस्तो आउला भन्ने चासोका रुपमा लिइएको छ । बैंकरहरु भने चालू आर्थिक वर्षको दोस्रो त्रैमास पनि खासै उत्साहप्रद नहुने बताउँछन् । पहिलो त्रैमासको जस्तै दोस्रो त्रैमासमा पनि बैंकहरुको नाफामा सुधार नहुने उनीहरुको धारणा छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर उच्च रहेको छ । सोही कारणले पनि बैंकहरुको खुद ब्याज आम्दानी र संचाल नाफा बढ्ने अपेक्षा गरिएको थियो । तर, निक्षेप संकलनका लागि ब्याजदर बढाएको भएपनि कर्जा प्रवाह भने शून्य जस्तै भएकाले दोस्रो त्रैमासमा व्यवसाय विस्तार हनु नसकेको बैंकर्सहरु बताउँछन् । कर्जाको लागत उच्च भएकाले उद्योगी व्यवसायीहरुले सडक आन्दोलन नै गर्नुपर्ने स्थिती आएको छ । लगानीयोग्य रकमको अभावका कारण अघिल्ला वर्षको तुलनामा धेरै राम्रो प्रगति विवरण नआउने बैंकर्सहरु बताउँछन् । अघिल्ला वर्षहरुमा जथाभावी लगानी बिस्तार गरेकाले केही बैंकहरुको खराब कर्जाको अनुपात पनि बढ्ने संभावना छ । दोस्रो त्रैमासमा बैंकहरुको आधारदर बढ्ने देखिन्छ भने स्प्रेडदर भने घट्दै जाने देखिन्छ । ग्लोबल आइएमई बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) महेश शर्मा ढकाल दोस्रो त्रैमास चुनौतीपूर्ण रहेको बताउँछन् । पछिल्लो समय बैंकहरुले तरलता अभाव स्थिती खेप्नु परेका कारण पनि अपेक्षा गरिए जस्तो वित्तीय विवरण नआउन सक्ने उनको भनाइ छ । अर्थतन्त्रमा दबाव सहितका विभिन्न कारणले गर्दा पहिलो क्वार्टरपछिको दोस्रो क्वार्टर पनि चिन्ताजन रहेको उनले बताए । ‘दोस्रो त्रैमास चुनौतीपूर्ण नै छ, अघिल्ला वर्षको जस्तो उत्साहपूर्ण स्थिती छैन, सामान्यतया प्रत्यके वर्ष पहिलो क्वार्टर त्यति धेरै राम्रो हुँदैनथ्यो, दोस्रो त्रैमास राम्रो हुन्थ्यो, त्यो एउटा ट्रेण्ड थियो तर, यसपटक त्यो ट्रेण्ड नरहन सक्ने डर छ,’ उनले भने, ‘किनभने तरलता अझै सुधार भएको छैन, (हिजोआज केही सुधार भएको हो) तर, त्यो त्रैमास अन्त्यमा पुग्दाखेरि ड्राइ हुने सम्भावना छ, िरफाइनान्सको पैसा गएको छ, सरकारलाई तिर्नुपर्ने करको पहिलो किस्ता पनि यहि त्रैमासमा पर्छ, अर्थतन्त्र चलायमान भएको छैन, आर्थिक गतिविध न्यून रहेको छ ।’ दोस्रो त्रैमाससम्म आइपुग्दा बजारमा ब्यापार सुस्त रहेको उनले बताए । कर्जाको किस्ता र ब्याज उठ्न पनि गाह्रो भएको उनको भनाइ छ । कर भुक्तानी गरेका कारण सोचेको जस्तो तरलता सहज नभएको उनले बताए । ‘पहिला जस्तो ब्यापार हुन्थ्यो, त्यो अहिले छैन, ब्यापार सुध्रेको छैन, कर्जा पनि सहजै पाइएको छैन, न बैंकले ऋण दिन्छ न सहकारीबाट पाइन्छ, कर्जा प्रवाह भएपछि पैसा चलायमान हुन्थ्यो, चारैतिरबाट कारोबार हुन्थ्यो तर, अहिले ब्याज तिर्न, निरन्तर किस्ता तिर्न रअर्थतन्त्र नै ठप्प जस्तै छ,’ उनले भने । अघिल्लो वर्षको तुलनामा कर्जाको रिकभरी कम भएको उनले बताए । पहिलो त्रैमासमा बैंकहरुको खराब कर्जादर बढेको भएपनि दोस्रो त्रैमासमा घट्ने अपेक्षा गरिएको थियो । तर, कर्जाको रिकभरी नभएकाले खराब कर्जा घट्न नसक्ने उनको भनाइ छ । ‘कर्जाको रिकोभरी अपेक्षित हिसावमा भएको छैन, सामान्यतया पहिला–पहिलाको ट्रेण्ड हेर्दा दोस्रोत्रैमासमा खराब कर्जा घट्नु पर्ने हो, अहिले घट्दै घट्दैन तर, धेरै बढ्छ भन्ने पनि होइन, पहिलो क्वार्टरमा धेरै प्रोभिजन क्रेट भएकोका कारण इण्डष्ट्रिको एनपीएल नै बढेको हो, दोस्रो क्वार्टरमा रिकभरी हुन्छ र अहिले घट्छ भन्ने अनुमान थियो तर नघट्ने अवस्था रह्यो,’ उनले भने । माघमा ब्याजदर घटाउनु पर्ने पक्षमा उनले जोड दिए । अहिले बैंकहरुको ब्याजदर उच्च रहेकाले व्यवसाय नै फस्टाउन नसकेको उनको बुझाइ छ । कर्जाको माग नभएपछि अन्य क्रियाकलाप घटेको रकर्जासँग सम्वन्धित कारोबार कम भएको उनले बताए । ‘निक्षेपको दर १ प्रतिशत घटाउनुपर्छ किनकी रेट उच्च भयो,जसले अर्थतन्त्रलाई असर गरिरहेको छ, राष्ट्र बैंकको सर्कुलर अनुसार १० प्रतिशत कम गर्न सकिने व्यवस्था भएकाले १ प्रतिशत घटाउनु पर्छ, नेपाल बैंकर्स संघले निर्णय गर्नु पर्ने भएकाले केही भन्न सक्दैन, निक्षेपकोब्याजदर घट्यो भनेकर्जाको दर पनि घट्छ, व्यवसाय पनि फस्टाउँछ,’ उनले भने । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकतृ (सीईओ) सुनिल पोख्रेल दोस्रो त्रैमासमा कर्जाको माग घटेकाले आक्रामक विजनेश ग्रोथ नभएको बताउँछन् । निक्षेपको लागत मात्रै बढको र कर्जा प्रवाह बढ्न नसक्दा दोस्रा त्रैमासमा अभिलाषा पुरा नहुने उनले बताए । ‘कर्जाको माग घटेको हुँदा विजनेशको ग्रोथ नै छैन, दोस्रो त्रैमासमा धेरै ठूलो जम्प गर्ने खालको विजनेश बढेको छैन, निक्षेपकर्ता बढेका छन् जसले गर्दा लागत मात्रै बढेको छ,त्यति धेरै राम्रो ब्यालेन्ससिट आउँछ जस्तो लाग्दैन, पहिलो क्वार्टर जस्तै हुन सक्छ, धेरै घट्दैन धेरै बढ्दैन,’ उनले भने । बजारमा पैसा नै नभएकाले रिकभरी पनि उत्साहजनक नभएको उनको भनाइ छ । बजारमा पैसाको परिक्रमा नभएकाले रिकभरीमा पनि प्रभाव पारेको उनले बताए । ‘रिकभरी ठिकै छ तर पहिलाको तुलनमा गाह्रो छ किनभने मान्छेहरुसँग पैसा नभएपछि असर पारेको छ, मान्छेसँग पैसा रोटेसन नभएपछि सबैलाई प्रभाव पार्छ नी, खराब कर्जा अझै बढ्न सक्ने सम्भावना छ,’ उनले भने, ‘त्यो सर्ट टर्मलाई प्रभाव परेपनि दीर्घकाल असर गर्दैन, वर्षको अन्तिममा कर्जा जसरी पनि तिर्नुपर्छ भन्ने ग्राहकहरुको बानीछ ।’ उनका अनुसार कर्जा चुक्ता गर्न बैंकहरुले निरन्तर सूचना प्रकाशन गर्ने गरेका छन् । तर, अघिल्ला वर्षभन्दा यस वर्ष बढी सूचनाहरु प्रकाशन भएका हुन् । अहिले पनि मार्केट टाइट नै रहेको उनले बताए । ‘बजारमा नगद प्रवाह (क्यास फ्लो) नहुँदा धेरै मिसम्याच भएको छ, सम्पत्ति भएकाले पनि बिक्री गर्न सकिरहेका छैनन्, सेयरमा भएको लगानी बेचेर बाहिरीन पनि सकिरहेका छैनन्, विजनेशमा सेल्स घटेको छ, मूल्य वृद्धि बढेको छ,’ उनले भने । उनका अनुसार माघमा ब्याजदर स्थीर रहन सक्ने सम्भावना रहेको छ । किनभने बैंकहरुको कम्फर्टटेबल पोजिशन भएको छैन । ‘पुसमा बैंकबाट रिफाइनान्स लागि पैसा धेरै बाहिर गएको छ, माघमा पनि केही पैसा रिफाइनान्सका लागि जाने देखिन्छ, अब ब्याजदर बढाउने निर्णय हुँदैनतर, बैंकहरुमा भएको पैसा बाहिरिएको हुँदा स्थीर रहन सक्छ,’ उनले भने, ‘आधार दर बढ्छ, यो क्वार्टरदेखिब्याजदर बढ्दा स्प्रेडदर घट्छ, चैत्रमा बैंकहरुले स्प्रेड दर ४.२ प्रतिशत ल्याउनुपर्ने बाध्यता छ ।’
कृषियोग्य जमिनको संरक्षण आवश्यक : अध्यक्ष तिमिल्सिना
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्थानीय तहले कृषि उत्पादनयोग्य जमिनको संरक्षण गर्न नसकेको बताएका छन् । आज यहाँ आयोजित नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडको १५औँ वार्षिक साधारणसभामा उहाँले जग्गाको खण्डीकरण र बस्ती विस्तार रोकिनुपर्ने बताए । उनले भने, “कृषियोग्य जमिन खुम्चिदैछ, जग्गा खण्डीकरण गरी प्लटिङ बढ्दो छ ।” उनले कृषियोग्य जमिन अभाव भइरहेको भन्दै सहकारी संस्थाले सामूहिक कृषिखेतीमा जोड दिनुपर्ने बताए । सहकारीमार्फत् प्रत्येक जिल्लामा एउटा सामूहिक कृषिजन्य सामग्री उत्पादन कार्यक्रम सुरु गर्न उनले आग्रह गरे । सामूहिक खेतीमार्फत् कृषि उद्यमशिलता बढाउन सके व्यापार घाटा कम गराउन सकिने उनको भनाइछ । नेपालमा मात्रै उत्पादन हुने उपज र वस्तुको पेटेन्ट दर्ता हुनुपर्ने उनले बताए । कृषि उत्पादनलाई निर्यातमुखी बनाउन अर्ग्यानिक उत्पादन, विज्ञ जनशक्तिको सहभागिता र प्रविधिको प्रयोग बढाउनुपर्ने उनको भनाइ छ । उनले किसानमुखी कानून निर्माण हुनुपर्नेमा जोड दिए । नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडका अध्यक्ष खेमबहादुर पाठकले किसानले मल र बिउ समयमा नपाउने, सिँचाइको अभाव र कृषि प्राविधिक जस्ता समस्या किसानले भोगिरहेको गुनासो गरे । उनले कृषि तालिम तथा अनुसन्धान केन्द्रको निर्माण गर्न सरकारले सहयोग गर्नुपर्ने बताए ।
८७ लाख खर्च गरेर ७ करोडको कारोबार गर्ने व्यापार मेला गर्दै घरेलु उद्योग महासंघ
काठमाडौं । आगामी फागुनमा काठमाडौंमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङगारिक कृषि मेला आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोगमा फागुन २ गतेदेखि ६ गतेसम्म औद्योगिक मेला हुन लागेको हो । ४ दिन चल्ने उक्त प्रदर्शनीमा ८६ लाख ८५ हजार रुपैयाँ खर्च हुनेछ भने ७ करोड रुपैयाँ बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको महासंघले जनाएको छ । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले गर्दै आएको औद्योगिक प्रदर्शनी कोरोनाका कारण रोकिएको थियो । कोरोनाका कारण रोकिएको मेला तीन वर्षपछि पुन हुन लागेको हो । उक्त मेलाले करिब ६ तथा साना उद्योगहरु र कृषि व्यवसायमा संलग्न उद्यमीहरुलाई प्रतिविम्वित गर्ने महासंघले जनाएको छ । ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौँ’, भन्ने नाराका साथ आयोजना हुने उक्त प्रदर्शनीमा सात प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू तथा भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक र चीनको सहभागिता रहने । २ सय वटा स्टल रहने प्रदर्शनीमा २ लाख भन्दा बढीले अवलोकलन गर्ने अपेक्षा गरिएको महासंघले जनाएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा हुने यस मेलाको सह आयोजकको रुपमा अर्गानिक एसोसियसन अफ नेपाल, नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, बागमती प्रदेश सरकार, सुदुरपश्चिम प्रदेश सरकार लगायतकोे सहयोग रहेको छ ।
‘कृत्रिम गर्भ’ वर्षमा ३० हजार बच्चा जन्माउन सक्छ, प्रसव पिडाको अन्त्य हुने सम्भावना
एजेन्सी । बर्लिनमा रहेका फिल्म निर्माता तथा बायोटेक्नोलोजिस्ट हसम अल–घलीले निर्माण गरेको एउटा छोटो भिडियो सामाजिक सञ्जालमा निकै चर्चित भएको छ । अल–घलीले आफ्नो भिडियोमार्फत भविष्यमा पिडा रहित ढंगले सुरक्षित बच्चा पैदा गर्नसक्ने वैकल्पिक कृत्रिम गर्भासय(पाठेघर)को विषयमा बताएका छन् । उनले भिडियोमार्फत ‘इक्टोलाइफ’ कृत्रिम गर्भासय सुविधाको विषयमा आइडिया प्रस्तुत गरेका छन् । सन्तान पैदा गर्न नसक्ने बाँझोपनको समस्या भएका बाबुआमाको लागि उक्त प्रविधिले सुविधा प्रदान गर्ने जनाइएको छ । भिडियोमा प्रस्तुत गरिएको असम अल घलीको ‘इक्टो लाइफ’ ले वार्षिक रुपमा ३० हजार बच्चाहरु पैदा गर्न सक्छ । सो क्षेत्रमा ५० वर्षदेखि वैज्ञानिक अनुसन्धान हुँदै आएको थियो । भिडियोअनुसार सो प्रविधिमार्फत तपाईंले भ्रुणलाई कृत्रिम गर्भमा प्रत्यारोपण गर्नुअघि आनुवंशिक इन्जिनियरिङ गर्ने सुविधा पाउनुहुन्छ । तपाईंले आफूले कृत्रिम रुपमा पैदा गर्न चाहेको बच्चाको उचाई, क्षमता, कपाल वा आंखाको रंग, छालाको रंग आदि छनोट गर्न सक्नुहुन्छ । साथै आनुवंशिक रोगहरुबाट समेत बच्नेगरी बच्चा पैदा गर्न सकिन्छ । हसमका अनुसार इक्टोलाइफ पूर्णतया नवीकरणीय उर्जाबाट सञ्चालित हुनेछ र यो विश्वकै पहिलो कृत्रिम गर्भ सुविधा सम्बन्धी अवधारणा हो । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१९ मा विश्वभरी बच्चा जन्माउने प्रकृयामा २ लाख ९५ हजार महिलाहरुको मृत्यु भएको थियो । ‘इक्टो लाइफ’ ले बच्चा पैदा गर्ने क्रममा भोग्नुपरेको मानव पिडालाई कम गर्न मद्दत प्रदान गर्नेछ । साथै यसले मानिसको जन्मको इतिहासलाई नै बदल्ने अपेक्षा गरिएको छ । हसनका अनुसार ‘इक्टो लाइफ’ ले स्वास्थ्यमा देखिने समस्याका कारण महिलाहरुले पाठेघर हटाउनुपर्ने समस्यालाई न्यूनिकरण गर्न मद्दत गर्नेछ । यसले जनसंख्याको घट्दो अनुपात देखिएका दक्षिण कोरीया, बुल्गेरिया, जापान, आदि जस्ता मुलुकहरुलाई मद्दत गर्छ । हसन भन्छन की यो प्रविधि निर्माण भइसकेको छ, तर कानूनी जटिलताको कारणले मात्रै व्यवहारिक रुपमा उतार्न नसकिएको हो । साथै कृत्रिम ढंगले बच्चा पैदा गरिने प्रविधि पूर्णतया विज्ञानमा आधारित हुने वैज्ञानिक तथा इन्जिनियरहरुले यसको सफलता हासिल गरिसकेको उनको भनाइ छ ।
उदयपुरको पहाडी क्षेत्रमा कोदो उत्पादन घट्दै
उदयपुर । परम्परागत अन्नका रुपमा प्रयोग हुने कोदोको उत्पादन घट्दै जान थालेको छ । जिल्लाको लिमचुङ्बुङ , उदयपुरगढी ,रौतामाई र ताप्ली गाउँपालिकामा कोदो खेती हुँदै आएको छ । लिमचुङ्बुङ-४ बलाम्ता लाकुका कृषक गोविन्द राईले भने, ‘विगतमा गाउँको खाली जग्गा बारीमा सबैले अनिवार्य कोदोखेती गर्दथे, हिजोआज अधिकांश पाखाबारी जग्गा बाँझै रहन्छ, अनि कोदो खेतीतिर पनि कृषकले मन दिन छाडेपछि फाटफुट्ट मात्र कोदो खेती हुने गरेका कारण उत्पादन घट्दै गएको हो ।’ रौतामाई-४ आँपटारका कृषक लोकबहादुर राईका अनुसार कोदो नै खान र कोदोमा नै निर्भर हुने चलन हराएको र सबैले चामल नै किनेर खान थालेपछि गाउँघरमा कोदो खेतीमा कमी आएसँगै उत्पादनमा पनि कमी आएको हो । रौतामाई गाउँपालिका बोलुङखाका कृषक प्रेमप्रसाद काफ्लेले गाउँघरमा कोदोको ढिँडो खाने चलन पनि घट्दै गएको र कोदो खेती हुने बारीमा कोदो धेरै कृषकले खेती नै गर्न छाडेका कारण उत्पादन पनि घट्दै गएको बताए। त्रियुगा-१५ खाँबुका कृषक जोगबहादुर पुलामी मगरले १० वर्ष अघिसम्म पनि आफूहरूको गाउँ को अधिकांश घरजग्गा पाखाबारीमा धेरै कोदोखेती हुनेगरेको भए पनि अहिले गाउँका अधिकांश युवा विदेश भएका कारण पाखाबारी जोतेर कोदोखेती नै हुन छाडेको बताए । गाउँमा बस्ने बूढाबूढीले जबर्जस्ती बारी खनेर केही जग्गामा मात्र कोदोखेती गर्ने गरिएका कारण कोदो उत्पादन पहिलेको जस्तो नभएको उनको भनाइ छ । ताप्ली गाउँपालिका पीपल भञ्ज्याङ तथा ओख्लेका कृषक दिलबहादुर राईका अनुसार आजभन्दा २०-२५ वर्ष अगाडिसम्म गाउँका अधिकांश पाखाबारीमा कोदोखेती मात्र हुने गरेको भए पनि कोदो उत्पादनले जीवन यापन हुन समस्या हुन थालेपछि १५ वर्षयता आएर अधिकांश गाउँलेले कोदो फल्ने बारीमा व्यावसायिक सुन्तलाखेती सुरु गरेपछि गाउँमा प्रायः केही कृषकले थोरै जग्गामा कोदोखेती गर्ने गरेको जनाइएको छ । गढी गाउँपालिका डुम्रेका कृषक टोपबहादुर घलेमगर भन्छन्, ‘पहिला-पहिला पर्याप्त चामल प्राप्त नहुँदा बाध्य भएर गाउँघरमा भात खानका लागि पनि धेरै कोदो उत्पादन गर्न पर्दथ्यो, हिजो आज गाउँघरमा सबैले चामल नै अन्नका रुपमा प्रयोग गर्छन्, कोदो सामान्य उत्पादन गरे पनि जाँड पकाउने र खाने, केही कोदो सहर, बजारको होटलमा जाँड तोङ्बा, बनाएर बिक्रीका लागि मात्र कोदो प्रयोग हुने गरेको छ ।’ अहिले गाउँमा विगतको जस्तो कोदो भातका रुपमा नै खानुपर्ने बाध्यता नभएका कारण कृषकले घरबारी पाखा जग्गामा कममात्रमा कोदो खति गर्ने गरेका कारण उत्पादनमा कमी आएको उनी बताउँछन् । जिल्ला कृषि ज्ञानकेन्द्र उदयपुरका अनुसार आजभन्दा १० वर्ष अगाडिसम्म जिल्लाको झण्डै सात हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा कोदो उत्पादन हुँदै आएको थियो । विसं २०७८-७९ मा जिल्लामा दुई हजार ७६८ हेक्टर क्षेत्रफलमा मात्र कोदोखेती भएको थियो भने पाँच हजार चार सय ५२ मेट्रिकटन कोदो उत्पादन भएको जिल्ला कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी महेश चौधरीले जानकारी दिए । यस वर्ष पनि सरदर दुई हजार ६५० हेक्टरमा कोदो खेती भएको र झण्डै चार हजार सात सय ७० मेट्रिकटन मात्र कोदो उत्पादन भएको जनाइएको छ । जिल्लामा कोदोखेती घट्ने र उत्पादन कम हुँदै जानुमा अधिकांश पहाडी क्षेत्रका युवा विदेश पलायन हुनु र कोदोखेती गर्ने जनशक्तिको अभाव हुनु, पहाडी क्षेत्रका पाखाबारीमा हिजोआज कृषकले कोदोखेतीभन्दा अन्य फलफूल, सुन्तलालगायतका वैकल्पिक नगदेबालीको खेती गर्ने कारण पनि कोदो खेती र उत्पादनमा कमी आएको जनाइएको छ । विसं २०५० सम्म जिल्लामा सरदर १० हजार हेक्टर क्षेत्रफलमा कोदोखेती हुँदै आएको थियो भने हाल दुई हजार ७६८ हेक्टरमा मात्र खेती गरिएको प्राविधिक मोहन फुयाँलले बताए।
भृकुटीमण्डपमा सुरु भयो फुटवेयर औद्योगिक मेला
काठमाडौं । नेपाली उत्पादनको बजारीकरण गर्ने र आर्थिक समृद्धिको आधार तयार पार्ने उद्देश्यसहित भृकुटीमण्डपमा १७औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक मेला सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले आज उद्घाटन गरिन् । जुत्ता उत्पादक सङ्घ नेपालले आयोजना गरेको मेलामा कूल एक सय ७० स्टल छन् । स्वदेशी तथा विदेशी उत्पादनका जुत्ता प्रदर्शनीमा राखिएको छ । मेला संयोजक सुरज बञ्जाडेले अनुसार तीन दिने मेलामा ४० विदेशी कम्पनी पनि रहनेछन् ।
विदेशी मुद्रा आर्जन गर्न सकेमात्रै मुलुकको अर्थतन्त्र बलियो हुन्छ : अध्यक्ष गोल्छा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले रेमिट्यान्स,निर्यात र पर्यटन क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्न सकेमात्रै मुलुकको अर्थतन्त्र बलियो हुने बताएका छन् । बिहीबार नेपाल निर्यात परिषद्ले आयोजना गरेको नेपाली निर्यातजन्य वस्तुहरुको प्रदर्शनीमा सञ्चारकर्मीहरुसँग बोल्दै अध्यक्ष गोल्छाले मुलुकको अर्थतन्त्र रेमिट्यान्स मात्रै आएर नचल्ने भन्दै रेमिट्यान्स,निर्यात र पर्यटन तीन वटै क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्न सकेमात्रै मुलुकको अर्थतन्त्र बलियो हुने बताएका हुन् । उनले सरकारले रेमिट्यान्स भित्र्याउने,नेपाली उत्पादित वस्तु विदेशमा निर्यात गर्ने र पर्यटक धेरै भित्र्याएर विदेशी मुद्रा आर्जनका तीन वटै क्षेत्रलाई चलायमान बनाउन जरुरी रहेको बताए । उनले अर्थतन्त्रको तीन वटा इन्जिनमध्ये रेमिट्यान्स मात्रै आएर मुलुकको अर्थतन्त्र सबल बन्न नसक्ने उल्लेख गरे । अध्यक्ष गोल्छाले सरकारले विदेशी मुद्रा आर्जनको लागि मौलिक वस्तुको निर्यातका लागि प्रोत्साहन गर्न आवश्यक रहेको बताए । उनले बैकिङ प्रणालीमा तरलताको अभाव र सोधानान्तर स्थिति कमजोर भएकाले मुलुकको अर्थतन्त्र गम्भिर अवस्थामा पुगेको बताए । उनले अहिले विदेशी मुद्राको आय स्रोत ९० प्रतिशत रेमिट्यान्स मात्रै भएकाले निर्यात र पर्यटनमा सरकारले विशेष जोड दिन सुझाव दिए । अध्यक्ष गोल्छाले नेपाली निर्यातजन्य वस्तुहरुको उत्पादनमा वृद्धि गर्नु आवश्यक रहेको बताए । उनले नेपाल भूपरिवेष्ठित राष्ट्र भएकाले निर्यातका लागि ठूलो चुनौति भएको उल्लेख गरे । उनले सरकारले निर्यात प्रोत्साहनको लागि नगद अनुदानको व्यवस्था गरेपनि निर्यातकर्ताहरुले सहज रुपमा पाउन नसकेको गुनासो गरे । अध्यक्ष गोल्छाले नेपालमा कस्ट अफ डुईङ विजनेस बढीरहेकाले नेपाली निर्यातजन्य वस्तुहरुलाई प्रतिष्पर्धी बनाउन नसकिएको बताए । उनले निर्यातकर्ता सरकारले दिने अनुदान सहज रुपमा पाउनको लागि एस्पोर्ट हाउसको स्थापना गर्न आवश्यक रहेको बताए । उनले भने,‘मुलुकको अर्थतन्त्र गम्भिर अवस्थामा छ । खास गरेर बैकिङ प्रणालीमा तरलताको अभाव र शोधानान्तर स्थिति कमजोर भएकाले अर्थतन्त्रको यो स्थिति आएको हो । विदेशी मुद्राको आय स्रोत एउटा मात्रै भयो । ९० प्रतिशत आय रेमिट्यान्स छ । निर्यातकर्ताहरुले इन्सेन्टिभ दिनको लागि एस्पोर्ट हाउसको अवधारणा ल्याएका छौं । समग्रमा मुलुकको अर्थतन्त्र जुन विमान हो जसको एउटा मात्रै इन्जिन रेमिट्यान्स चलेको छ । अर्को इन्जिन निर्यात हुनसक्छ । सबैले निर्यात अनुदान पाउनुपर्छ । हाम्रो मौलिक वस्तुहरुको निर्यातलाई प्रोत्साहन गर्न जरुरी छ ।’ निर्यात परिषद्ले २५ औं वार्षिक साधारण सभा तथा निर्यात दिवसको अवसरका दुई दिने नेपाली निर्यातजन्य वस्तुहरुको प्रदर्शनी काठमाडौंको ठमेलमा रहेको छाँया सेन्टरमा शुरु गरेको छ । पदर्शनीमा निर्यातजन्य नेपाली उत्पादनका विभिन्न विधालाई समावेश गरिएको छ । प्रदर्शनीमा २० वटा स्थलहरु राखिएको छ ।