विकासन्युज

चीनमा सवारी दुर्घटना, सत्र जनाको मृत्यु

चीन । पूर्वीचीनको जियाङ्सी प्रान्तको नानचाङ काउन्टीमा आइतबार बिहान भएको एउटा भीषण सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा परी अन्य २२ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको स्थानीय अधिकारीले जनाएका छन् । रासस

तनहुँको ताललाई धार्मिक पर्यटनसँग जोड्ने युवाको प्रयास

गण्डकी । तनहुँको शुक्लागण्डकी नगरपालिकामा रहेको आँखे ताललाई धार्मिक पर्यटनसँग जोड्ने अभियानका सुरु भएको छ । नगरपकालिका वडा नं १ ज्यामिरबोटे र वडा नं २ सुन्दरी गाउँका युवाहरु आँखे तालको प्रवद्र्धनमा लागेका हुन् । पृथ्वी राजमार्गअन्तर्गतको कोत्रे तथा गगनगौडाबाट करिब छ किलोमिटरको दूरीमा रहेको ताल दुई वडाको सिमानास्थित ज्यामिरबोटेमा पर्छ । परापूर्वकालदेखि धार्मिक आस्था एवं विश्वाससँग जोडिएको ताललाई धार्मिक पर्यटनको गन्तव्य बनाउने उद्देश्यका साथ पाँच वर्षदेखि युवाहरु त्यसको संरक्षण र प्रवद्र्धनमा जुटेका हुन् । चार वर्षअघि सुन्दरी गाउँ र ज्यामिरबोटेका स्वदेश तथा विदेशमा रहेका युवाले सक्रियता देखाएका थिए । उनीहरुबाट  ९० हजार सङ्कलन गरी अभियान सुरु भएका आँखे ताल संरक्षण एवं सिद्धिकाली मन्दिर निर्माण समितिका सचिव सञ्जय ढकालले जानकारी दिए । ताल रहेको स्थानलाई व्यवस्थित गर्दै त्यही परिसरमा सिद्धिकालीको मन्दिर समेत बनाउनका लागि स्थानीय समाजसेवी डिल्लीराम अधिकारी, कृष्णराज अधिकारी र तीर्थराज ढकालले जग्गा दान गरेका छन् । मन्दिर निर्माण एवं तालको संरक्षणका लागि हालसम्म छ लाख २५ हजार नगद खर्च भएको छ । ‘निर्माणका लागि जग्गादानसँगै स्थानीय जनश्रमदान अत्यधिक छ, त्यही सहयोगले हामी मन्दिर निर्माणलाई अन्तिम चरणमा पुर्याउनुका साथै ताललाई केहीमात्रामा भने पनि व्यवस्थित गर्न सफल बनेका छौँ’, सचिव ढकालले भने । यस ठाउँमा मन्दिर निर्माणका क्रममा उत्खनन गर्दा प्राचीन मौलोसँगै महेन्द्रकालीन मुद्रासमेत फेला परेको उनले जानकारी दिए। उनले यसको ऐतिहासिकता अनुसन्धान गर्न बाँकी रहेको बताए । मन्दिर तथा जलाशय संरक्षणका लागि शुक्लागण्डकी नगरपालिका वडा नं १ बाट दुई लाख ५० हजार र वडा नं २ बाट ५० हजार नगद प्राप्त भइसकेको छ भने बाँकी रकम चन्दामार्फत् जुटाइएको छ। यहाँको जलाशय क्षेत्रफलका हिसाबले ताल जति ठूलो नभए पनि परावूर्वकालदेखि नै तालका रुपमा लिने गरिएको स्थानीय बुढापाकाहरु बताउँछन् । युवाको सक्रियतामा यहाँको जलाशयलाई नेपालकै पहिलो जलविद्युत् गृह फर्पिङको जलाशयको स्वरुपमा स्टिलको रेलिङसहित गोलाकार रुपमा संरक्षण गरिएको छ । आँखे तालको अस्तित्व प्राचीनकालदेखि रही आएको बताउँदै ८९ वर्षीय शिवप्रसाद पौडेल यो स्थल धार्मिक आस्था एवं विश्वासका कारण पनि महत्ववूर्ण रहेको बताए । यस क्षेत्रमा छ पुस्ताअघिदेखि नै मन्दिर रहेको बताउँदै उनले हालको मन्दिर निर्माण क्रममा प्राप्त भग्नावशेषसँगै काठका ठुटाले त्यसको स्पष्ट सङ्केत गर्ने उल्लेख गरे । यस स्थलको संरक्षण र विकास गर्दै यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउन सकिने उनको भनाइ छ । कोत्रे तथा गगनगौडाबाट आउने यहाँको बाटोलाई व्यवस्थित गर्दै ज्यामिरबोटे र सुन्दरी गाउँको बीचमा पर्ने गुवे खोलामाथि पक्की पुल आवश्यक रहेको पौडेलले बताए । जग्गादाता डिल्लीराम अधिकारीका अनुसार परापूर्वकालमा यस ठाउँमा जमिन भासिएर भ्वाङ(भुवान) परेछ । त्यसलाई पुर्ने क्रममा अधिकारीका हजुरबुवाको आँखा फुटेछ । ज्यातिषीसँग हेराउँदा त्यहाँ बाराहीको थान रहेको पाइएपछि पूजाआजा गरिँदै आइएको हो । त्यसै समयदेखि नै यहाँको जलाशयलाई आँखे ताल भनिएको उनले बताए । युवा जागरुकतामा यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन थालिएको प्रयासले यहाँको प्रवद्र्धन र विकासमा महत्वपूर्ण टेवा पुग्ने उनले विश्वास व्यक्त गरे । मन्दिर तथा तालको संरक्षणकै उद्देश्यका साथ आँखे ताल एवं सिद्धिकाली मन्दिर निर्माण समितिले दुई वर्षयता सिद्धिकाली कप भलिबल प्रतियोगिता पनि गर्दै आएको छ । पृथ्वी राजमार्गको गगनगौँडाबाट पाँच किलोमिटरको दुरीमा पुग्न सकिने उक्त क्षेत्र विगतमा बीचमा पर्ने खुदी खोला र गुवे खोलामा पक्की पुल नहुँदा लामो समयदेखि ओझेलमा परेको थियो । पछिल्ला समयमा दुवै खोलामाथि पक्की मोटरेवल पुल बनेपछि स्थानीय खुसी बनेका छन् । पुल बनेसँगै कास्कीको पोखरा महानगरपालिका वडा नं ३२ पृथ्वी राजमार्गमा पर्ने तल्लो गगनगौडाबाट आँखे तालसम्म आठ/दश मिनेटकै अन्तरालमा सवारी साधनबाट पुग्न सकिन्छ । खुदी खोलामाथिको पुल गण्डकी प्रदेश सरकारको तीन करोड ७५ लाख १२ हजार लागतमा सम्पन्न भएको हो भने गुवे खोलाको पुल तटबन्धसहित करिब पौने तीन करोडको लागतमा सम्पन्न हो । रासस

छात्राको मृत्युपछि सिरहाको मिर्चैया तनावग्रस्त, पाँच राउण्ड गोली चल्यो

सिरहा । सिरहाको मिर्चैया-३ मा रहेको विद्यालयमा अध्ययनरत एकजना छात्राको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ। शुक्रबार विद्यालयमा छँदा औषधि खाने क्रममा ‘स्प्रिट’ पिएर विरामी भएकी सगरमाथा उच्च माध्यामिक विद्यालयमा अध्ययनरत १६ वर्षे सृनजाकुमारी महराको उपचारको क्रममा निधन भएको थियो। शनिबार राति १२ बजे उपचारको क्रममा फुलबारी मेमोरियल अस्पतालमा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी हरिबहादुर वलीले जानकारी दिए। छात्राको मृत्यु भएपछि आक्रोशित विद्यार्थी र अभिभावकले विद्यालय तोडफोड गरेका छन्। आन्दोलनका क्रममा भिडले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी नारावाजी समेत गरेका थिए। आक्रोशित आन्दोलनकारी अनियन्त्रित भएपछि भीडलाई तितरवितर बनाउन तीन सेल अश्रु ग्यास र पाँच राउण्ड हवाई फायर गरिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कबारीले जानकारी दिए। गत शुक्रबार सामान्य पेट दुखेपछि विद्यालयकी शिक्षिका अम्बिका लम्सालले औषधि खाने क्रममा पानीको सट्टा स्प्रिट पिलाउँदा छोरी बिरामी भएको बुबा धर्मेन्द्र महराले बताए। स्प्रिट पिएपछि बिरामी भएकी सृनजालाई उपचार नगरी विद्यालयका प्रिन्सिपल प्रदीप तिवारीले घर पुर्‍याएकाले समयमै उपचार हुन नसकेको उनले बताए। ‘प्रिन्सिपल सरले थोरै स्प्रिट पिएकाले नसा लागेको र केहीवेर सुताएपछि निको हुन्छ भनेपछि हामीले विश्वास गर्‍यौं’, उनले भने, ‘अवस्था खराव हुँदै गएपछि अस्पताल पुर्‍यायौँ तर ढिला भइसकेको रहेछ।’ दुईजना प्रहरी नियन्त्रणमा  प्रहरीले औषधि दिने शिक्षिका अम्बिका लम्साल र प्रिम्सिपल प्रदीप तिवारीलाई नियन्त्रणमा लिएको छ। मृतकका बुबा धर्मेन्द्रले दोषिमाथि कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका छन्। जाहेरी दिएपछि प्रहरीले अनुसन्धानका लागि दुवै जनालाई नियन्त्रणमा लिएको हो। डिएसपी वलीले घट्ना सम्बन्धमा छानबिन भइइहेको बताए। ‘विद्यालयले पनि घट्ना स्वीकार गरिसकेको छ, स्प्रिट पिउने अवस्था कसरी भयो भन्ने विषयमा अनुसन्धान जारी छ’, उनले भने।

रुद्रलाल समाजेवा पुरस्कार ८० वर्षे मोक्तानलाई

काठमाडौं । प्रदेश नं १ का पहाडी क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा निस्वार्थ रुपमा समाजसेवामा जीवन अर्पण गरेका ८० वर्षे मनु मोक्तानलाई आइतवार रुद्रलाल समाज सेवा पुरस्कारबाट सम्मान गरिएको छ । गैरसरकारी संस्था महासंघ र छत्रलक्ष्मी-रुद्रलाल स्मृति प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधिश तथा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व अध्यक्ष अनुपराज शर्माले मोक्तानलाई सम्मान गरेको हो । उनी विरामी भएका कारण उनको सम्मान नेपाल तामाङ घेदुङ संघका अध्यक्ष मोहन गोलेले सम्मान थाप्दै उहाँको घरमा पुर्‍याइदिने बचन दिए । कार्यक्रममा गैरसरकारी संस्था महासंघका सल्लाहकार एवम् प्रतिष्ठानका अध्यक्ष शान्तलाल मुल्मीद्वारा लिखित अंग्रेजी पुस्तक रिलेन्टलेस जर्नीको लोकार्पण गरिएको थियो । कार्यक्रममा पूर्व प्रधानन्यायधिस शर्माले नेपाल वृद्धाश्रमको रुपमा परिणत हुन लागेको र नेपाली परिवारलाई आर्थिकभन्दा पनि वढी सामाजिक चुनौति वढी देखिन थालेको बताए । उनले अहिलेको व्यवस्था अंग्रजी शव्द ‘गन’को तन्त्र हो कि महादेवको अनियन्त्रित टोली ‘गण’को को तन्त्र भएको हो कि भन्ने व्यंग्य गरे । उनले समाजसेवा निस्वार्थ हुनुपर्ने र मोक्तानले गरेको समाजसेवा अतुलनीय भएको भन्दै रुद्रलाल मुल्मीका विगतका समाजसेवा र उनका छोरा शान्तलाल मुल्मीका समाजसेवाको अनुकरण गर्नुपर्ने बताउँदै समाजसेवाको सिद्धान्त र क्रियाकलाप बुझ्न लोकार्पण गरिएको पुस्तक अध्ययन गर्नुपर्ने बताए । वरिष्ठ मानवअधिकारकर्मी प्रा.कपिल श्रेष्ठले राणाकाल, पञ्चालतकाल र प्रजातान्त्रिक कालमा मुल्मी परिवारले सामाजिक कार्य गरेको चर्चा गरे । राष्ट्रिय योजना आयोगका सदस्य सलोनी सिंहले पुस्तकले आफूले आफैलाई चिन्नुपर्ने र आफैलाई पहिला खोतल्न अभिप्रेरणा दिने बताए । नेपाल मानव अधिकार आयोगका पूर्व सदस्य गौरी प्रधानले महात्मा गान्धीको अनुसरण गरी नेपालमा तुलसी मेहरसँग सहकार्य गरी नेपालमा स्वतन्त्रता, आत्मनिर्भरता र अहिंसाको शिक्षा रुद्रलाल मुल्मीले दिएको बताए । मुल्मीले महिलाहरुको उद्धार गरी सिपमुलक तालिम दिने, शिक्षा दिने, नेपाली स्वदेशी उत्पादनमा अभिप्रेरणा जगाउने कार्य गरेको प्रधानले जानकारी दिए । रुद्रलाल मुल्मीले सामाजिक कल्याणको कार्य गरेको उनको छोरा शान्तलाल मुल्मीले सामाजिक विकासका लागि काम गरेको र आफूहरुको पालामा आएर सामाजिक सशक्तिकरणका कार्य गरेको दृष्टान्त गौरी प्रधानले प्रस्तुत गरे । अमेरिकाका लागि नेपालका पूर्व राजदुत डा.अर्जुन कार्कीले रुद्रलाल मुल्मीले राज्यसत्ता फेर्नेदेखि जनताको जीवनशैली फेर्नेसम्म कार्य गरेको र सोको अभिलेखिकरण गर्ने काम पुस्तकमार्फत केही हदसम्म भएको जानकारी दिए । पुस्तकका लेखक शान्तलाल मुल्मीले मनु तामाङको सामाजिक कार्य र समाजेवी रुद्रलाल मुल्मीमा कार्यगत विशेषता मिल्दाजुल्दा खालको देखिएको र निस्वार्थ रुपमा सेवा गर्नेलाई बर्षेनी सम्मान गर्दै जाने बताए । आफू कुनै लेखक नभएको तर लकडाउनका बेलामा यत्तिकै बस्नुभन्दा किताव लेख्नु राम्रो भनेर नेपालीमा मभित्रको म लेखेको र अहिले अंग्रेजीमा रिलेन्टलेस जर्नी पुस्तक प्रकाशन गरेको जानकारी दिए ।

सहकारीको समस्यामा सरकार निरपेक्ष भएर बस्न सक्दैन : बालकृष्ण खाँड

काठमाडौं । पूर्व गृहमन्त्री बालकृष्ण खाँडले सहकारीमा देखिएको चुनौतीहरु अन्य क्षेत्रको जस्तै राष्ट्रिय समस्या भएकाले सरकारले यो हाम्रो सरोकारको विषय होइन भनेर भन्न नसक्ने बताएका छन् । उनले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ देखि मन्त्रीहरु यस विषयमा गम्भीर भएर काम गर्ने विश्वास रहेको बताए । नेपालको सहकारी अभियानको शिर्ष निकाय राष्ट्रिय सहकारी महासंघको सल्लाहकार समितिको बैठकमा महासंघका सल्लाहकार समेत रहेका गृहमन्त्री खाँडले सबै मिलेर वर्तमान संकटबाट मुलुकलाई बचाउनुपर्ने बताए । ‘उद्योग व्यवसायीहरु, बैंक वित्तियदेखि सबै क्षेत्र संकटमा छ, त्यसैले यो सहकारीको समस्यामा सरकार निरपेक्ष भएर बस्न सक्दैन,’ उनले भने ‘यो समस्यामा सरकारविरुद्ध अभियान होइन, अन्तर्राष्ट्रिय जगतमा भएको आर्थिक संकोचका कारण सबैमा चुनौति छ, नयाँ सरकार बने पनि नेतृत्वको अनुभव भएको व्यक्ति सरकारमा रहेकाले सहकारीको विषयलाई उहाँले गम्भिरतापूर्वक लिनेहुन्छ भन्ने मेरो विश्वास छ ।’ पूर्व मन्त्री तथा महासंघका सल्लाहकार गणेश साहले तत्काल समाधान गर्नुपर्ने समस्या र दीर्घकालिन रुपमा समाधान गर्नुपर्ने चुनौतिहरुमा आफ्नो साथ रहने बताए । पूर्व मन्त्री तथा महासंघका निर्वतमान अध्यक्ष केशव बडालले सहकारीको विषयमा नीति निर्माता, दलका नेताहरुलाई बुझाउनका सबैजना एकताबद्ध भएर जुट्नुपर्ने बताए । पूर्व गृहराज्य मन्त्री तथा महासंघका सल्लाहकार दीपक बास्कोटाले सहकारीले राम्रो राजश्व बुझाएका छन् संकटको समयमा राज्यले सहकारीलाई सहयोग गर्नुपर्ने बताए । उनले राज्यले राष्ट्रिय सहकारी बैंकमार्फत सफ्ट लोन दिने व्यवस्था गर्नुपर्नेमा जोड दिए । उनले केही समयका लागि बचत तथा ऋणको कारोबार गर्ने वित्तीय सहकारी संस्था दर्ता रोकेर व्यवस्थापन गर्न समेत आग्रह गरे । उनले भने, ‘सहकारी अनुगमनको जिम्मेवार सहकारी विकास बोर्डलाई दिने र उसले महासंघसँगको सहकार्यमा अनुगमन गर्ने कार्य गर्नुपर्छ ।’ सल्लाहकार डा. उषा झा र सल्लाहकार रविन्द्र केसीले सन्दर्भ ब्याजदरलाई स्वचालित बनाउनुपर्ने र जोखिम व्यवस्थापनमा राज्यले सहयोग गर्नुपर्नेमा जोड दिए । महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारीको ब्याजदरमा सन्दर्भ ब्याजदरको रुपमा रहेको क्यापिङ सिस्टम हटाउनुपर्ने, सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्नुपर्ने, ऋण असुलीका लागि प्रभावकारी भूमिकाका लागि तत्काल राज्यबाट सहयोग चाहिने बताए । महासंघका उपाध्यक्ष रमेश पोखरेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेती, नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष तथा संचालक खेम पाठक, संचालक राजेन्द्र पौडेलले सहकारीको वर्तमान अवस्थाको विषयमा सल्लाहकारहरुलाई जानकारी गराए । महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले महासंघको नीति, कार्यक्रम तथा गतिविधिहरुको विषयमा प्रस्तुती गरिन् ।

दुई दशकमा पनि बनेन कान्ति राजमार्ग

काठमाडौं । राज्यको पर्याप्त ध्यान पुग्न नसक्दा कान्ति राजमार्ग निर्माण सुरु भएको दुई दशकमा पनि अझै सम्पन्न हुन सकेको छैन । काठमाडौँ उपत्यकालाई मकवानपुरसँग जोड्ने छोटो मार्गका रुपमा रहेको सो सडकमा अझै कतिपय खण्ड निर्माणका लागि ठेक्कामा जान बाँकी छ । सहज भूवनोट भएका ठाउँमा सडक कालोपत्र अझै पनि बाँकी रहेको कान्ति राजमार्ग योजनाले जनाएको छ । मकवानपुरतिर साढे तीन किमी बाँकी र ललितपुरतर्फ झण्डै १० किमी सडक कालोपत्र हुन बाँकी रहेको योजनाका प्रमुख सुरेश न्यौपानेले बताए । उनले ललितपुरतर्फ १० किमी सडकमध्ये सात किमी चालु आर्थिक वर्षमा पूरा हुने बताए । उनले भने, ‘दुवै जिल्लाको बाँकी खण्डमा पनि यही वर्ष ठेक्कामा जान तयारी गरिएको छ ।’ अहिले काल्चे, भड्डेडाँडा, छपेली बजार आसपासमा कालोपत्र भइरहेको छ । तीनपानेमा ठाउँठाउँमा गरी पहिले अस्थिर रहेको ठाउँमा एक किमी सडक कालोपत्र गर्न बाँकी रहेको प्रमुख न्यौपानेले बताए । ललितपुरतर्फ तीन किमी कडा चट्टान छ भने आठ सय मिटरमा ठाउँठाउँमा पहिरो छ । चालु आवमा ललितपुरतर्फको सात किमी सडक सम्पन्न भएमा झण्डै साढे छ किमी सडक निर्माण बाँकी हुने योजनाले जनाएको छ । ललितपुरमा तीन किमी र मकवानपुुरमा साढे तीन किमी बाँकी छ । यो खण्डमा बहुवर्षीय ठेक्कामा जान स्वीकृतिका लागि राष्ट्रिय योजना आयोग हुँदै अर्थ मन्त्रालयसँग ६६ करोड रुपैयाँ माग गरिएको छ । बजेट स्वीकृति भएपछि काम भएको बाँकी खण्डमा काम अगाडि बढ्नेछ । विगतका वर्षमा वर्षाको समय पहिरोका कारण अवरुद्ध भइरहने खण्डमा विभागले अहिले अध्ययन गरिरहेको प्रमुख न्यौपानेले बताए । विभागको ‘जिओ इन्भाएरोमेन्ट युनिट’ले मकवानपुरमा काम गरिरहेको र त्यो काम सकाएपछि ललितपुरतर्फको बाँकी काम गर्ने उनले बताए । ‘कस्तो संरचना निर्माण गर्ने भन्ने अध्ययनको प्रतिवेदन आउने क्रममा छ, आएपछि काम गर्न सकिनेछ’, उनले भने । अहिले योजनाले माग गरेको बजेट र प्रतिवेदन आएपछि ठेक्का प्रक्रिया अघि बढाइनेछ । चालु आवभित्रमा ठेक्कामा जान सके अर्को दुई आवमा निर्माण सकिने गरी योजना बनाइएको छ । चट्टान फुटाउन विस्फोट ब्लास्टिङ चाहिने भएकाले काठमाडौं–तराई दु्रतमार्ग आयोनामा कार्यरत नेपाली सेनासँग कुराकानी भइरहेको आयोजनाले जानकारी दिएको छ । हाल सो आयोजनाले समेत आवश्यक सामग्री कान्ति राजमार्गको प्रयोग गरेर ढुवानी गरिरहेको छ । सेनाले पनि यसका लागि सहयोग गर्न सकिने बताएको छ । पहिले राजमार्ग हेटौँडाबाट टिकाभैरब, चापागाउँ हुँदै सातदोबाटोसम्म हुने गरी रेखाङ्कन भएको थियो । चापागाउँ–सातदोबाटो सडक विस्तार हुन नसकेपछि यसको रेखाङ्कन परिवर्तन गरेर टिकाभैरबबाट भैँसेपाटी हुँदै नख्खु पुग्ने भएको छ । टिकाभैरबबाट हेटौँडाको बुद्धचोकसम्म ७९ किमी सडक योजनाले निर्माण गरिरहेको छ । काठमाडौं उपत्यकाभित्र पर्ने टिकाभैरबबाट नख्खु चोकसम्म सडक काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले विस्तार गरिरहेको छ । झण्डै ९० किमी लम्बाईको राजमार्ग सबैतिर दुई लेनको हुनेछ । अहिले एक लेन रहेको पुलसमेत विस्तार गरिने योजनाको तयारी अघि बढाएको छ । चालु ठेक्कामा ललितपुरतर्फ बिरुवा एसएल सुनकोसी जेभी र सूर्य वाइवा कन्स्ट्रक्सन गरी दुई निर्माण कम्पनी कार्यरत छन् भने मकवानपुरमा नागार्जुन सर्वशक्तिले निर्माणको काम गरिरहेको छ । मकवानपुरतर्फ ८० प्रतिशत प्रगति रहेको र बाँकी काम चैतसम्ममा सप्म्पन्न हुने प्रमुख न्यौपानेले जानकारी दिए । सरकारले विसं २०६९ मा योजना स्थापना गरेर आव २०७१र७२ देखि बहुवर्षीय ठेक्का लागू गरी काम सुरु गरेको थियो । सरकारले योजनालाई हाल पहिलो प्राथमिकताको योजना पि वानमा राखेको छ ।

चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा आजदेखि जलपक्षी गणना

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा आजदेखि जलपक्षी गणना सुरु गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा शनिबारदेखि जलपक्षी गणना सुरु गरेको हो । चितवनमा आजदेखि गणना सुरु भएको वर्ड एजुकेसन सोसाइटी सौराहाका पूर्वअध्यक्ष वासु विडारीले जानकारी दिए । पूर्वी चितवनमा वर्ड एजुकेसन सोसाइटी सौराहाको नेतृत्वमा र पश्चिम चितवनमा वर्ड एजुकेशन सोसाइटी मेघौलीको नेतृत्वमा चरा गणना हुनेछ । सोसाइटीका अध्यक्ष टीकाराम गिरीका अनुसार आज बिहान सौराहामा संक्षिप्त कार्यक्रमको आयोजना गरी आठ ठाउँबाट गणना थालिएको छ । लोथरदेखि जिन्दगानीघाटसम्म हिँडेर एउटा टोलीले गणना सुरु गरेको छ । जिन्दगानीघाटबाट हिँडेर र डुङ्गा चढेर राप्तीघाटसम्म दोस्रो टोलीले गणना गरिरहेको छ । राप्ती घाटबाट कसरासम्म र लमोरताल एवं लामितालसम्म तेस्रो टोलीले गणना गरिरहेको उनले जानकारी दिए । सो टोलीले डुङ्गा र गाडीबाट गणना गर्दैछन् । चौँथो टोलीले बुढीराप्तीबाट झोलुङ्गे पुलको तल खोरसोरसम्म गणना गरिरहेको छ । पाँचौँ टोलीले जम्कौली सामुदायिक वनको ढुङ्ग्रेखोला क्षेत्रमा गणना गरिरहेको छ । छैठौँ टोलीले पुरानो पदमपुर क्षेत्रको पटना ताल क्षेत्रमा गणना गरिरहेको छ । सातौँ टोलीले गाडीबाट बीस हजारी र वरपरका तालमा गणना गरिरहेको छ । आठौँ टोलीले भण्डाराको मत्स्य विकास केन्द्र क्षेत्रमा गणना गरिरहेको गिरीले जानकारी दिए । सोमबार दिव्यनगर र माडीको रिउ खोला क्षेत्रमा गणना गरिने छ । गणनामा बर्ड एजुकेसन सोसाइटीका सदस्य, प्राध्यापक, कलेजका विद्यार्थी, गाईड, फोटोग्राफर, पत्रकार, व्यवसायी सहभागी छन् । नेपालमा पछिल्लो तथ्याङ्कअनुसार आठ सय ९२ प्रजातिका चरा छन् । त्यसमा दुई सय चरा पानीमा आश्रित छन् । चितवनमा मात्रै छ सय ५२ प्रजातिका चरा छन् । रासस

सर्वसाधारणलाई पेस्तोल ताक्ने प्रहरी को हुन् ?

काठमाडौं । पुस २० गते अर्थात् गत बुधबार शंकरापुर नगरपालिका–३ लप्सीफेदी बोझेनीमा स्थानीयले विरोध प्रदर्शन सुरु गरे । नेपाल विद्युत प्राधिकरणले त्यहाँ सबस्टेशन निर्माण गर्न लागेको भन्दै स्थानीयले विरोध गरेका थिए । त्यो विरोध अहिलेसम्म रोकिएको छैन । शुक्रबार पनि विरोध जारी नै रह्यो । शुक्रबार स्थानीय वासिन्दाको प्रदर्शन नियन्त्रणका लागि थप मद्दत गर्न प्रहरी वृत्त बौद्धबाट टोली खटियो । टोलीमा रहेका एक जना प्रहरी निरीक्षकले प्रदर्शनमा सहभागी स्थानीयलाई ‘गोली हान्दिउँ’ भन्दै पेस्तोल ताके । अहिले त्यो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । आन्दोलनमा उत्रिएका स्थानीय वासिन्दालाई पेस्तोल ताक्ने प्रहरी निरीक्षक (इन्स्पेकटर) विशालबहादुर बुढाथोकी भएको बुझिएको छ । उनीमाथि छानबिन पनि सुरू भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी निरीक्षक बुढाथोकीमाथि छानबिन सुरू गरेको प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए । प्रहरी निरीक्षक बुढाथोकीले गैर व्यवसायिक अभ्यास गरेकाले छानबिनका लागि समिति बनाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी मैनालीले जानकारी दिए ।