विकासन्युज

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि सङ्घीय संसद्को अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अपराह्न १ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक अलग अलग सञ्चालन हुनेछन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो अधिवेशन र राष्ट्रियसभाको नियमित १३औँ अधिवेशन सुरु हुनेछ । दुवै सदनका बेग्लाबेग्लै बैठकमा साझा कार्यसूचीका रुपमा सङ्घीय संसद्को अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ । यस्तै प्रधानमन्त्रीको नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयको पत्रसमेत वाचन गरेर सुनाइनेछ । प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए । प्रतिनिधिसभाको बैठक सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सञ्चालन गर्नुका साथै सदस्यलाई स्वागत गर्नेछन् । बैठकबाट ज्येष्ठ सदस्यको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्नका लागि प्रतिनिधिसभा नियमावलीअनुसार सात जना सदस्य चयन गरिनेछ । सांसद सदस्य सङ्ख्याका आधारमा कांग्रेस र एमालेबाट दुई/दुई र बाँकी अन्य दलबाट प्रतिनिधित्व हुनेछ । नेपालको संविधानअनुसार निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको ३० प्रतिनिधिसभाको बैठक बस्ने प्रावधान छ । यसैगरी पहिलो बैठक प्रारम्भ भएको दिनदेखि १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्छ । सभामुखको निर्वाचन सम्पन्न नभइसकेका कारणले हाल प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले बैठक सञ्चालन गर्नेछन् । बैठकमा ज्येष्ठ सदस्य जबराले यही पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने प्रस्तावबारे जानकारी गराउनेछन् । माओवादी केन्द्रका अध्यक्ष दाहाल यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । नेपालको संविधानको धारा ७६ को उपधारा ९२० अनुसार नियुक्त प्रधानमन्त्रीले सोही धाराको उपधारा ४ बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभामा १२ राजनीतिक दल र पाँच स्वतन्त्र सांसदको प्रतिनिधित्व रहेको छ । प्रतिनिधिसभामा नेपाली कांग्रेस ८९, नेकपा एमालेका ७८, नेकपा माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टी नेपालका १२, नेकपा एकीकृत समाजवादीका १०, जनमत पार्टीका छ, लोकतान्त्रिक समाजवादी पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक/एक तथा स्वतन्त्र पाँच सांसद् छन् ।

गरुडा नगरपालिकाले निजि जग्गामा बलपूर्वक बनाए सडक

रौतहट । गरुडा नगरपालिकाले जग्गाधनी संग विना कुनै सोधी खोजि नगरि निजि जग्गामा बलपूर्वक बाटो बनाएको वडा नम्बर २ का रामचन्द्र साह कानु र रामबाबु साहले आरोप लगाएका छन् । पिडितले आफु माथि अन्याय भयाे भनी मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र नेपाल पत्रकार महासंध राैतहट शाखामा आईतबार निवेदन दिदै सो आरोप लगाएका हुन् । गरुडा नगरपालिका को नगर प्रमुख कन्थमणी जयसवालको साथै ईलाका प्रहरी कार्यालय गरुडाले मिलोमतो गरी राैतहट जिल्ला अदालतको आदेश समेत कार्यान्वयन नगराएको आरोप पिडितले निवेदन मार्फत लगाएका छन् । राैतहट जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाको ईजलासले २०७९ मसिर १६ गतेका दिन निषेधाज्ञा आदेश गर्दै निवेदकको नाममा दर्ता रहेको किता नम्बर १६८५ र किता नम्बर १६८७को जग्गामा पर्ने गरि कुनै पनि किसिमको निर्माण कार्य नगर्नु नगराउनु भनि राेक लगाएका थिए । अदालतले निषेधाज्ञा आदेश गरेपछि पनि गरुडा नगरपालिका वडा नम्बर ५ का विनोद जयसवाल लगायतले बाटो निर्माण कार्य जारी नै राखेकोमा आवश्यक कार्यवाहीको माग सहित बाटो निर्माण कार्य राोक्का गराई खसालेको सर समान हटाई लैजान समेत विपक्षीमा पहलका लागि पिडितले अनुराेध गरेका छन् ।

जीवित छ तत्कालीन बाइसे चौबिसे राजाले प्रयोग गरेको तोप

बागलुङ । जैमिनी नगरपालिकाको तीन  वडाको सङ्गमस्थलमा रहेको माइकोस्थान नजिकैको तल्लो डाँडामा सानो सत्तलसँगै ढुङ्गाले छाएको मन्दिर छ । मन्दिरको भित्र बाइसे चौबिसे राजाको पालामा प्रयोग गरेको हतियार तोपको मुख्य भाग राखिएको छ । भुरे टाकुरे राजाहरुले तत्कालीन अवस्थामा राज्य गरेको स्थानमा रहेको तोप सङ्कटमा परेको छ । जिल्लाको सबैभन्दा ठूलो राज्य रहेको तत्कालीन गलकोटे राजाहरुसँग लडाइँपश्चात् राज्य एकीकरण गरिएको भन्ने स्थानमा अहिले मन्दिरसँगै तोप रहे पनि संरक्षण हुन नसकेको स्थानीयको गुनासो रहेको छ । कोतमा राखिएको तोप संरक्षण अभावमा केही भाग विसं २०३० मा खेतमा भेटिएपछि स्थानीयले पुनः बोकेर कोतमा लिएर राखेको स्थानीयले बताएका छन् । जैमिनी –१० राङ्खानी, वडा–४ सर्कुवा र वडा–७ जैदीको सङ्गमस्थलमा रहेको १८ औँ सताब्दीमा स्थापना गरिएको थन्थाप माइको मन्दिरमुनिको डाँडामा रहेको कोत घर र कोतघरमा रहेको तोप संरक्षणको पर्खाइमा रहेको स्थानीय नरविर थापाले बताए । ‘कोतमा भुरे टाकुरे राजाहरुले प्रयोग गरेको तोप छ भन्दा अचम्म हुन्छ, तर अहिले तोकपको केही कोत मन्दिरभित्र  गाडिएको अवस्थामा छ, तोपको केही भाग बाहिरै छ’, उनले भने, ‘पुरानो सत्तल स्थानीयको पहलमा मर्मतसम्भार गरिएको छ, पुरातत्व विभागले अनुसन्धान गरेपछि तोप संरक्षणमा कुनै चासो दिएन, तोपलाई संरक्षण गरेर प्रदर्शन गर्नसके धार्मिक पर्यटक भित्रन सक्नेछन्, नगरपालिकाले चासो दिनुपर्दछ ।’ मन्दिर क्षेत्र धार्मिक आस्था र विश्वासले मात्रै होइन, ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले पनि महत्वपूर्ण भए पनि तोप हराउने सम्भावना उत्तिकै छ । स्थानीयले तोप हराउने भएकाले गाडेर राखेका हुन् । थन्थाप माई मन्दिरदेखि एक किलोमिटर दूरीमा रहेको ऐतिहासिक कोत भवन संरक्षणको अभावमा भताभुङ्गजस्तै भएको छ । तत्कालीन भुरेटाकुरे राजाले आफ्नो सुरक्षाको लागि तयार गरेको गढी क्षेत्रको संरक्षण नहुँदा भग्नावशेषको रुपमा परिणत भएको हो । तत्कालीन राजाले आफ्नो दरबार, हतियार भण्डारण, विश्रमस्थल, रानीको सयन कक्ष तथा पूजास्थल, चौपारी, सेनाले पहरा दिने संरचना कतै पूर्णरुपले भत्किएको तथा कतै आधा पुरिँदा पहिचान गर्न नसक्ने अवस्थामा पुगेको स्थानीय टिकाराम आचार्यले जानकारी दिए । उनले कोतघर वरपर विभिन्न आकारका पर्खाल, सिँढी, ओखाललगायतका संरचना झाडीले पुरेर रुख उम्रेको उनको भनाइ छ । ‘यस क्षेत्रलाई संरक्षण गर्ने, उत्खनन गर्ने र केही जानकारीसहितको सूचना बोर्ड स्थापना गर्नेलगायतको कार्यका लागि नगरपालिकाले तगारुकता देखाउन सके पर्यटक आउन सक्ने छन्’, उनले भने, ‘कुनै सानो कुराको प्रचारप्रसार भएको देखिन्छ, यहाँ बाइसे चौबिसे राजाहरुले पड्काएको तोप जीवित छ, त्यही तोप कहिले हराउने हो पत्तो छैन, यहाँका महत्वपूर्ण सामाग्रीहरु हराई सकेको अनुमान छ, राज्यले संरक्षणमा लगानी गरे कोतघरलाई पुरानैस्वरुपमा जीर्णोद्धार गर्न सकिन्छ ।’ त्यो समयमा सत्रु पक्षबाट बच्नको लागि सेनाले प्रयोग गरेको एक थान तोपको अवशेषमात्र कोत मन्दिरमा सुरक्षित गरेर राखिएको छ । तोपको नाल र पछाडिको भागलाई मन्दिर निर्माण गरी सुरक्षा गरेको कोत मन्दिर व्यवस्थापन समितिका सचिव प्रेम थापाले जानकारी दिए । थन्थापमाईको क्षेत्रको डोका, देउराली, गुरुङकोट क्षेत्रमा तत्कालिन सेनाले निर्माण गरेका बङ्कर केही पुरिएको तथा केही आधा पुरिएको अवस्थामा छन् । सेनाले ओतको लागि निर्माण गरेका सत्तलको भङ्गावशेष देख्न सकिने सचिव थापाको भनाइ छ । ऐतिहासिक गढी क्षेत्रको संरक्षणमा राज्यले चासो नदिँदा प्राचीनकालका मौलिक सामग्री मासिँदै गएको स्थानीयको गुनासो छ । तोपको पाङ्ग्रा र त्यसलाई बाँधिने साङ्लासमेत चोरी भइसकेकाले तत्कालै संरक्षणको पहल गर्नुपर्ने सचिव थापाको भनाइ छ । राजाले दरबार वरिपरि खेती गर्दै आएको जग्गामा कालोपाती, औसेलुलगायतका बिरुवाको झाडी बनेको छ । दरबार, चौपारी जीर्ण भएका छन् । दरबार क्षेत्रदेखि करिब एक सय मिटर पूर्वपट्टि रानीले घाम ताप्दै कपाल कोर्न गरेको चट्टान जसलाई स्थानीय रानीले कपाल कोर्ने ढुङ्गाको नामले पहिचान समेत गरिएको छ । तीन वर्षअघि गण्डकी प्रदेश सरकारले साढे छ लाख र वडा कार्यालयको दुई लाख लागतमा सडक मार्गदेखि कोत भवन पुग्ने पक्की पदमार्ग र कोत क्षेत्रको तारबार गरेको भए पनि मुख्य कामजस्तै उत्खनन, सूचना बोर्ड र जीर्णोद्धार गर्न बाँकी रहेको सचिव थापाको भनाइ छ । कोतमा बडादसैँ र चैतेदसैँमा विशेप पूजा हुन्छ । उक्त क्षेत्रमा खानेपानी तारवार, झाडी सफा, पहुँचमार्ग विस्तार, ऐतिहासिक गढी संरचनाको पुनःनिर्माण, सूचनामूलक बोर्ड तथा उत्खनन्को काम बाँकी छन् । गढी क्षेत्रको संरक्षण, पुनःनिर्माण, उत्थनन्को लागि राज्यले विशेष ध्यान दिनसके पर्यटनको विकास हुनुका साथै इतिहासको अध्ययनस्थलको रुपमा विकास गर्न सकिने जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । उनले नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि ल्याएको योजना त्यही कोत मन्दिर र थन्थापमाईको मन्दिर संरक्षण र जीर्णोद्वारमा केन्द्रित हुने बताए । रासस

बझाङमा बाख्रा पालनबाट मनग्य आम्दानी

बझाङ । जयपृथ्वी नगरपालिका पडेसका किसान भरतबहादुर विष्टले बाख्रा पालनबाट लाखौंको आम्दानी गरिरहेका छन् । पुँगर लेकमा बस्ने उनले दुई बाख्राबाट सुरू गरेको व्यवसाय अहिले दुई खोर नै भरिभराउ छ । चार पुस्तादेखि पुँगरमा रमाएको विष्ट परिवारले तीन दशकयता मात्रै बाख्रापालन सुरू गरेका थिए । जिल्ला सदरमुकामबाट डेढ घण्टा मात्रै टाढा रहेको पुँगरमा उनले हरेक महिना चार/पाँच खसी बिक्री गर्दै आएका छन् । उनले भने, ‘बाख्रा सुरू गरेको समयमा एउटै बाख्रो र पाठी मात्रै थियो । पछि बढ्दै जाँदा दुई वर्षमा दर्जनको हाराहारीमा भए ।’ उनका अनुसार अहिले बाख्राको जति कारोबार गरे पनि ५५ बाख्राभन्दा तल भने कहिल्यै कम भएका छैनन् । ‘मैले जिन्दगीमा धेरै व्यवसायमा हात हाले, तर सफलता भने कतैबाट हात लागेन’, उनले भने, ‘बाख्रा व्यवसायपछि भने कहिल्यै पछाडि फर्कनुपरेन । अहिले पनि महिनामै चार/पाँच बाख्रा बेचिन्छ । त्योअनुसारको उत्पादन पनि भइरहन्छ ।’ निरन्तर सङ्घर्षपछि सफलता मिल्दै जाँदा ‘गरे हुन्छ’ भन्ने सोच थपिएको उनले बताए । उनी बाख्रालाई बाघ, स्यालबाट भने जोगाउन हम्मेहम्मे पर्ने गरेको बताउँछन् । ‘बाख्रापालनबाट केही घाटा छैन’, उनले भने, ‘दिनभर चराउँदा पनि पुग्छ, घाँस काट्नुपर्छ भन्ने हुँदैन । बिक्री नहोला भन्ने पनि छैन । दिउँसो ग्वालो (चरिचराउन गर्ने व्यक्ति) भए पुग्छ तर, ग्वालो बलियो छैन भने एकैपटक धेरै नोक्सान हुन्छ ।’ उनीसँग बाख्रा मात्रै होइन, अन्य चौपाया पनि प्रशस्तै छन् । ‘भैँसी, गाई, गोरु पनि पाल्दै आएका छौं’, उनले भने, ‘मेरा सम्पत्ति भनेकै यी चौपाया नै हुन् । यिनको रेखदेखमा लागेपछि कतै जान पाइँदैन । रेडियो सुन्नेबाहेक बाहिरी संसार पनि केही थाहा हुँदैन ।’ अहिले विष्ट परिवारलाई खसीबोका तथा बाख्रा विक्रीका लागि बाहिर जानुपर्दैन । कसैलाई चाहिएमा सम्पर्क गरेर पुँगरमै पुग्ने गरेको उनी बताउँछन् । पुँगर लेक एउटा ‘पिकनिक जोन’ पनि हो । वनभोज खान यहाँ सयौंको सङ्ख्यामा मान्छे आउँछन् । ‘मङ्सिर–पुसमा मात्रै दर्जनभन्दा बढी खसी बोका वनभोज खानेलाई विक्री गरें’, उनले भने, ‘बाख्रा व्यवसायको फाइदा पनि यही हो । बेच्ने पनि गाउँमा यसरी नै हो ।’ खसी बोका बिक्रीका लागि अहिलेसम्म दौडधुप गर्नु नपरेको उनले बताए । परिश्रम गरे हरेक कुरा सम्भव हुने बताउने विष्ट राज्यबाट अनुदान, पशु औषधिजस्ता कुराहरू केही नपाएको गुनासो गर्छन् । ‘राज्यले काम गर्नेलाई सहयोग गर्नुपथ्र्यो’, उनी भन्छन्, ‘कामै नगर्नेलाई लाखौँ, करोडौँ रूपैयाँ अनुदानको नाममा सरकारले सहयोग गर्छ तर, हामीजस्ता कृषकलाई सामान्य औषधि पनि दिँदैन ।’ राज्यबाट केही सहयोग प्राप्त नगरे पनि गाउँमै लोभलाग्दो व्यापार भएपछि निर्धक्क देखिन्छन् उनी । ‘म यहाँ बसेको तीन दशक नाघिसक्यो’, उनले भने, ‘म मात्रै होइन, बुबा, बाजेले पनि यसै ठाउँमा जीवन बिताउनुभएको थियो । पुस्तौँदेखि वस्तुभाउ पाल्दै आउँदा पनि आफूलाई कुनै निकायबाट सहयोग मिलेको छैन ।’ उनका अनुसार काम गर्ने इच्छाशक्ति भएका कृषकलाई राज्यले लगानी गर्नुपर्छ । ‘म त आफैँ पनि गर्न सक्छु, व्यवसायमा मलाई सरकारको कुनै सहयोग नभए पनि केही छैन तर, काम गर्ने इच्छाशक्ति भएका गरिब परिवारलाई राज्यले लगानी गर्ने हो भने त्यसको नतिजा पनि राम्रो आउँथ्यो होला ।’ उनी भन्छन् । अहिले विष्टले बाख्राबाटै वार्षिक सात लाखभन्दा बढी कमाउँदै आएका छन् । ‘मैले बाख्रा पालेको लामो समय भइसक्यो’, उनले भने, ‘पहिलेको आम्दानी घरखर्च मात्रै हुन्थ्यो, दुई/चार वर्षयता भने बचत पनि भइरहेको छ ।’ त्यसै आम्दानीबाट तीन जना छोराछोरीलाई कैलालीमा प्राविधिक शिक्षा पढाउँदै आएको उनले सुनाए । भरत मात्रै होइन उनका दर्जनभन्दा बढी छिमेकी नै पडेसभन्दा बढी पुँगरमै बस्छन् । भरतका छिमेकी बलराम विष्ट भन्छन् , ‘घर (पडेस) भन्दा लेक पुँगर नै सजिलो हुन्छ । यता खुला ठाउँ पनि छ । वस्तुभाउ पालनदेखि फलफूल तरकारी सबै यतै राम्रो उत्पादन हुन्छ । घरमा खेती लगाउने समयबाहेक बाँकी समय पुँगरमै बस्छौँ ।’ बलरामले पनि पुँगरमा फलफूल, तरकारी, बाख्रा, भैँसी पाल्दै आएका छन् । व्यावसायिकरूपमा नलागे पनि आफ्नो गुजाराका लागि पुँगर सजिलो भएको उनले बताए । उनले भने, ‘उत्पादन भएको केही बिक्री गर्नुपरेमा चैनपुर जान्छौँ । नत्र हाम्रो सानोतिनो उत्पादन फलफूल, तरकारी आफैँलाई ठीक हुन्छ ।’ उनका अनुसार पुँगर लेकमा सडक पुगेपछि नियमितरूपमा गाडी सञ्चालन भइरहेका छन् । ‘कहिलेकाहीँ ओखर, कागती त घरबाटै बेचिन्छ,’ उनले भने ।

इलामको विमानस्थलबाट नेपाल एयरलाइन्सले उडान भर्ने

इलाम । निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट उडान हुनेभएको छ । नेपाल एयरलाइन्सले सो विमानस्थलबाट साप्ताहिक उडान भर्न लागेको हो । यसबारे सैद्धान्तिक सहमति भइसकेको इलाम नगरपालिकाले जानकारी दिएको छ । इलाम नगर प्रमुख केदार थापाले आगामी माघ १ गतेबाट नै नियमित उडानका लागि पहल भइरहेको जानकारी दिए । यसअघि पनि इलाम नगरपालिकाले पैसा तिर्ने सर्तमा  विमानस्थलबाट तारा एयरले उडान भरेको थियो । सम्झौता मिति सकिएसँगै उडान बन्द भएको थियो । यस विमानस्थलबाट प्रायः सबै उडानमा यात्रु आउनेगरेका थिए । ताराले उडान बन्द गरेसँगै इलामबाट उडान भएको छैन । भरसक सस्तो मूल्यमा नै उडान गराउन पहल गरिने इलाम नगरपालिकाले जानकारी दिएको छ । यसका लागि उचित मूल्य निर्धारण गर्न नेपाल वायुसेवा निगमसमेत लाग्नेमा आफूहरु विश्वस्त रहेको नगर प्रमुख थापाको भनाइ छ । काठमाडौँबाट करिब एक घण्टाको उडान अवधिमा इलाम उडान गर्न सकिने यसअघि नै तारा एयरले बताएको थियो । सो विमानस्थलको छ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको छ । धावन मार्गसमेत पक्की भइसकेको छ । विमानस्थलको घेराबारा र टर्मिनल भवन निर्माणका लागि रकम विनियोजन भइसकेको जनाइएको छ । सो विमानस्थल सञ्चालन हुनसके इलाम मात्र नभएर पाँचथर, तेह्रथुम र ताप्लेजुङसम्मका यात्रुले सेवा पाउने छन् । साथै नजिक रहेको भारतका विभिन्न क्षेत्रबाट समेत काठमाडौँ उडानका लागि यात्रु आउन सक्ने छन् । रासस

२ वर्षमा नेपालीले लगाए विदेशी ६ करोड जोर जुत्ता, ३ हजारसम्मका जुत्ता आयात रोक्न माग

काठमाडौं । नेपाली जुत्ता उत्पादक व्यवसायीहरूको सङ्गठन फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालको आयोजनामा १६औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी २०७९ सम्पन्न भएको छ । जुत्ता उत्पादन, बजारीकरण, प्रवद्र्धनका अनेकन समस्याबीच स्वेदशी उत्पादनबारे जानकारी दिने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका अध्यक्ष नानीराज घिमिरे बताउँछन् । कोभिडका कारण गत ३ वर्ष प्रदर्शनी गर्न नपाइएको भन्दै यस वर्ष ग्राहकका साथै उद्योगी र उपभोक्ताको बीचमा पुलको काम गर्ने व्यवसायीलाई लक्षित गरिएको अध्यक्ष घिमिरेले बताए । १६ करोड जोरसम्म वार्षिकरूपमा उत्पादन गर्ने नेपाली कम्पनीको क्षमता रहेको उल्लेख गर्दै उनले ३ हजार रुपैयाँसम्मका जुत्ता विदेशबाट आयातमा रोक लगाउनुपर्नेमा जोड दिए । १० करोड जुत्ता नेपाली बजारको माग रहेको बताउँदै अध्यक्ष घिमिरेले गत वर्ष ५ करोड ६५ लाख नेपाली जुत्ता बिक्री भएको जानकारी दिए । गत वर्ष विदेशबाट ४ करोड बढी र यो वर्ष २ करोड गरी कूल ६ करोड जोर जुत्ता चोरी तस्करी र वैधानिक तरिकाले नेपाल भित्रिएको उनको भनाइ छ । चोरी तस्करीबाट जुत्ता भित्रिँदा त्यसको असर नेपाली उत्पादनमा पर्ने गर्छ । अहिले नेपाली बजारमा नेपालमै उत्पादन भएका ६५ प्रतिशत जुत्ता प्रयोग भइरहेको छ । सरकारले उद्योग र वाणिज्यलाई फरक किसिमले हेरिदिनुपर्ने भन्दै घिमिरेले दक्ष तालिमको व्यवस्था गरी चोरी–पैठारी सरकारले नियन्त्रण गर्नुपर्ने धारणा राखे । ‘अहिलेसम्म ४० देखि ४५ प्रतिशत नेपाली कच्चापदार्थ नेपाली जुत्ता उत्पादनमा प्रयोग हुने गरेको छ, राज्यले सहयोग गरे ७० देखि ८० प्रतिशत नेपालमा उत्पादन भएका कच्चापदार्थ प्रयोग गर्न सकिन्छ,’ उनले भने । विश्वभरको आर्थिक सङ्कटको असर जुत्ता व्यवसायीहरूलाई पनि परेकोे छ । अहिले जुत्ता बनाउन प्रयोग हुने कच्चापदार्थ नेपालमा पनि उत्पादन हुन थालेको पवित्रा सुज इन्डष्ट्रिज प्रालिका सेल्स अफिसर डम्बर श्रेष्ठले बताए । जुत्ता तयार गर्न नेपालमा उपलब्ध भएका छाला, रेग्जिन र कपडा प्रयोग हुँदै आएको छ । तर फेन्सी चप्पल र जुत्ताका लागि भने चीन र भारतबाट कच्चापदार्थ ल्याउन पर्दा खर्च दोब्बर लाग्ने गर्छ । सोलमा प्रयोग हुने रबर, सिलिकन सोल, रबरको सोल, नरम खालको कपडा जुत्ता चप्पलमा प्रयोग गरिन्छ । उनका अनुसार चीनबाट ल्याउने कच्चापदार्थमा धेरै ‘भेरियन्ट’ हुन्छ । जुत्ता चप्पल हेर्दा उस्तै देखिए पनि कच्चापदार्थको गुणस्तरअनुसार मूल्य फरक पर्ने दाबी गर्दै उनले सस्तो र राम्रोका लागि चीनका कच्चापदार्थ प्रयोग गरेका सामान बढी बिक्री हुने बताए । केही सोल नेपालमै उत्पादन भए पनि चुजी ब्रान्डहरूका लागि भने ग्राहकहरूले बाहिरको उत्पादन खोज्ने गरेका छन् । तर सामान्य उपभोक्ताहरूलाई भने कोरोना महामारीपछि नेपाली ब्रान्ड नै उपयुक्त लाग्न थालेको छ । पछिल्लो समय ग्राहकहरूले नेपाली ब्रान्डकै जुत्ता खोज्ने गरेको भन्दै बजारमा उपलब्ध भएका ७० प्रतिशत बढी जुत्ता नेपाली उत्पादनकै बिक्री हुन थालेको उनको जिकिर छ । पहिलाको हिसाबले बिक्री बढी भए पनि नाफा भने कम बस्ने व्यवसायीहरूको भनाइ छ । उत्पादन बढी हुँदा बजारमा प्रतिस्पर्धा हुने गर्दा धेरै बिक्री हुँदा पनि मार्जिन कम बस्छ । पछिल्लो समय ग्राहकहरूले नेपाली ब्रान्ड खोज्न थालेको मोडर्न सुज प्रालिका सेल्स अफिसर प्रभाषकुमार महतोले बताए । नेपाली उत्पादन भएका सामानमा पुनः मर्मत गर्नुपर्ने समस्या निकै कम आउने उनको दाबी छ । गोल्डस्टार जुत्ताका सेल्स प्रमुख उद्धव सिटौलाले कोरोना महामारीपछि नेपाली ग्राहकहरूले नेपालमै उत्पादन भएको सामानप्रति झुकाव बढाएको जिकिर गरे । ग्राहकको झुकाव देखेर आफ्नै देशको उत्पादनमा लाग्न प्रेरणा मिलेको उनको भनाइ छ । आफ्नो कम्पनीले नेपालमा उत्पादन भएका कच्चापदार्थमा जोड दिने गरेको उल्लेख गर्दै कच्चापदार्थ चीन, भारत र ताइवानबाट ल्याउने बताए । नेपालको भन्दा गुणस्तरका लागि विदेशी कच्चापदार्थ नै राम्रो मानिन्छ । नेपालमा मुख्य कच्चापदार्थ नपाइने व्यवसायीहरूको गुनासो छ । सिटौलाका अनुसार नेपालमा ४५ प्रतिशत जुत्ता बन्ने भए पनि बाहिरबाट ४५ प्रतिशत जुत्ता आयात हुनेगर्छ । कच्चापदार्थको उत्पादन बढाउन सरकारले रुचि बढाउनुपर्ने भन्दै उनले जुत्ता आयातमा सरकारले नीति परिवर्तन गर्नुपर्ने बताए । १ हजारदेखि १४ हजार रुपैयाँसम्मका बनेका गोल्डस्टारका जुत्ता नेपालमा पाइन्छन् । रोयल फुटवेयर इन्डस्ट्रिज प्रालिका सेल्स अफिसर सन्तोष पौडेलले जुत्ता बनाउन आवश्यक पर्नेमध्ये फाइबर, पिभिसी सोलहरू नेपालमा उत्पादन हुन थालेको बताए । जुत्ता बनाउन सोल, केमिकल डेन्ड्राइड, पियु र सोल पेस्टिङ, लाछी, धागो, सियो, कपडा आदि आवश्यक पर्छ । ग्राहकहरूले खोजिरहेको जस्तो डिजाइन बनाउन नसकेको व्यवसायीहरूको भनाइ छ । पौडेलका अनुसार पहाडी र शहरी क्षेत्रमा बिक्री गरिने सामानमा फरक कच्चा पदार्थ प्रयोग गरिन्छ । गोल्डस्टारले  १ हजार देखि ११ हजार रुपैयाँसम्मका जुत्ता महिला, बालबालिका, पुरुष सबैका लागि उत्पादन गर्दै आएको छ । विदेशी ब्रान्ड हेर्दा राम्रो भए पनि जुत्ताको गुणस्तर बलियो भने नेपाली उत्पादन नै हुने उनको दाबी छ ।

सानिमा मिडिल तमोर हाइड्रोपावरले माघ ४ गतेदेखि आईपीओ बिक्री गर्ने

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरले माघ ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री गर्ने भएको हो । कम्पनीले जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ३३ करोड ३२ लाख ५० हजार रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकति मूल्य दरका ३३ लाख ३२ हजार ५ सय कित्ता आयोजना प्रभावितका लागि बिक्री गर्ने भएको हो । जसमध्ये ४० प्रतिशत अर्थात १३ लाख ३३ हजार कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र फुङलिङ नगरपालिका वडा नं. १, २, ९ र १०, फक्ताङलुङ गाउँपालिका वडा नं. १ तथा भिक्वाखोला गाउँपालिका वडा नं. १ र २, मेरिङदेन गाउँपालिका वडा नं. २ र ३, आठराई त्रिवेणी गाउँपालिका वडा नं. ५ तथा मैवाखोला गाउँपालिका वडा नं. १ का बासिन्दाहरुका लागि र ६० प्रतिशत अर्थात् १९ लाख ९९ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ्गका लागि निष्काशन गर्ने भएको हो । साथै सर्वसाधारणमा निष्काशन हुने सेयरमध्ये १० प्रतिशत अर्थात् ४ लाख ९९ हजार ८७५ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रहेका नेपालीहरुका लागि निष्काशन गर्ने भएको हो । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आयोजन प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले छिटोमा माघ १८ गते र ढिलोमा फागुन ४ गतेसम्म आवेदन दिन पाउनेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने माघ १८ गतेभित्र आवेदन दिईसक्नु पर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । स्थानिय बासिन्दाले सानिमा मिडिल तमोर हाइड्रोपावरको कार्यालय, सानिमा बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

अवैध डिजिटल कारोबार बन्द गर्न दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूर सञ्चार प्राधिकरणले अनलाइन मार्फत हुने अवैध डिजिटल कारोबार बन्द गर्न निर्देशन दिएको छ । अनलाइन मार्फत् हुने अवैध डिजिटल कारोबार गर्ने वेबसाइट, एप र सञ्जालसम्मको पहुँच रोक्न प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन दिएको हो । नेपालमा मौद्रिक उपकरणको कानुनी मान्यता नदिएको भर्चुअल करेन्सी र नेटवर्क मार्केटिङ लगायतका डिजिटल प्रविधिको प्रयोग गरी हुने कारोबार बढेकाले त्यस्ता वेबसाइट अथवा एपसम्म पहुँच पुग्न नसक्ने व्यवस्था गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको हो । अनलाइन प्रविधिमार्फत हुने क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन सेवालगायतका गैरकानुनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट, एप, अनलाइन सञ्जाललगायतका भर्चुअल माध्यम नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न प्राधिकरणले निर्देशन दिएको हो । प्राधिकरणबाट जारी गरिएको निर्देशनको पालना नगरेको पाइएमा ऐनबमोजिम कारबाही हुने प्राधिकरणले बताएको छ ।