विकासन्युज

प्रिमियर इन्स्योरेन्सको मर्जर प्रस्तावसँगै १५ प्रतिशत लाभांश पनि पारित

काठमाडौं । प्रिमियर इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको शुक्रबार सम्पन्न २९ औं वार्षिक साधारण सभाले संचालक समितिद्वारा प्रस्तावित १५ प्रतिशत लाभांश पारित गरेको हो । संचालक समितिले गत वर्षको नाफाबाट सेयरधनीलाई हाल काय चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । कम्पनीले २०७८/७९ मा कुल बीमा शुल्क दुई अर्ब ११ करोड ७२ लाख २९ हजर आर्जन गरी खुद मुनाफा ३६ करोड ४८ लाख ९६ हजार आर्जन गरेको छ । यस्तै, सभाले सिद्धार्थ इन्स्योरेन्ससँग १:१ अनुपातमा मर्ज भई नयाँ कम्पनी सिद्धार्थ प्रिमियर इन्सर्योरेन्स बन्ने प्रस्ताव पनि पारित गरेको छ ।

अर्थतन्त्रका सूचक सकारात्मक

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा अर्थतन्त्रका महत्वपूर्ण सूचकहरु सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार अर्थतन्त्रका महत्वपूर्ण सूचकहरुमा सुधार देखिएकको हो । पछिल्लो समय बैदेशिक रोजगारीमा जानेहरुको संख्या बढेपछि रेमिट्यान्स पनि बढेको छ । बैदेशि रोजगारीमा जानेको संख्या बढेसँगै चालु आर्थिक वर्षको ५ महिनामा रेमिट्यान्स पनि २३ प्रतिशत बढेको छ । नेपाल राष्ट बैंकका अनुसार चालु आर्थिक वर्षको मंसिरसम्म ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जुन गत आर्थिक वर्षको तुलनामा २३ प्रतिशत बढी हो । गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ६.३ प्रतिशत घटेको थियो । यस्तै, अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३.१ प्रतिशत वृद्धि भई ३ अर्ब ७१ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा ६.८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २१.६ प्रतिशतले वृद्धि भई ५ खर्ब ३० अर्ब ६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद ट्रान्सफर ५.३ प्रतिशतले घटेको थियो । विदेशी मुद्रा सञ्चिती बढ्यो चालू आर्थिक वर्षको ५ महिनामा विदेशी मुद्रा सञ्चिति पनि बढेको छ । पछिल्लो समय अर्थतन्त्र सहज हुँदै गइरहेका बेला विदेशी मुद्रा पनि थपिँदै गएको हो । मंसिरसम्म विदेशी मुद्राको संचिती ६.३ प्रतिशत बढेको छ । मंसिर मसान्तसम्म १२ खर्ब ९२ अर्ब ५६ करोड कुल विदेशी विनिमय सञ्चिति रहेको राष्ट्र बैंकले जनाएको छ । जुन ५ महिनामा ६.३ प्रतिशत बढेको हो । गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको विदेशी मुद्रा रहेको थियो । अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति २०७९ असारसम्म ९ अर्ब ५४ करोड रहेकोमा मंसिरसम्म ३.० प्रतिशत वृद्धि भई ९ अर्ब ८२ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको मुद्राको ७.८ प्रतिशत वृद्धि भई ११ खर्ब ३९ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्म सञ्चिति १० खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो । बैंक तथा वित्तीय संस्थासँग असार मसान्तसम्म १ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ रहेकोमा मंसिरसम्म ३.८ प्रतिशतले कमी आई १ खर्ब ५३ अर्ब ३४ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति रहेको छ । २०७९ मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ । आयात घट्यो विदेशी मुद्राममा संकुचन आउने अर्को महत्वपूर्ण सूचक आयात हो । चालू आर्थिक वर्षको ५ महिनामा आायत घटेको छ । आर्थिक वर्ष २०७९÷८० को ५ महिनामा कुल वस्तु आयात २०.७ प्रतिशत कमी आई ६ खर्ब ६४ अर्ब ७५ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५९.५ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २०.० प्रतिशत, २२.६ प्रतिशत र २१.४ प्रतिशतले कमी आएको छ । मंसिरसम्म ३४.६ प्रतिशत निर्यात घटेको हो । मंसिरसम्म कूूल वस्तु निर्यात घटेपनि ६७ अर्ब ३० करोड रुपैयाँको निर्यात भएको हो । गत वर्षको सोही अवधिमा १०५.६ प्रतिशत निर्यात वृद्धि भएको थियो । सबैभन्दा धेरै निर्यात भारत र चीनतर्फ भएको छ । भारतमा ४३.७ प्रतिशत र चिनमा ३५.९ प्रतिशत निर्यात घटेको छ । अन्य मुलुकतर्फको निर्यात ७.१ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० को पाँच महिनामा कुल वस्तु व्यापार घाटा १८.८ प्रतिशतले कमी आई ५९७ अर्ब ४४ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५४.७ प्रतिशतले बढेको थियो । शोधनान्तर स्थिति बचतमा चालू आर्थिक वर्षको ५ महिनामा शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १९५ अर्ब १ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६४ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको छ । चालू आर्थिक वर्षको ५ महिनामा चालु खाता ३७ अर्ब ९१ करोड रुपैयाँ घाटामा रहेको छ । गत वर्षको सोही अवधिमा चालु खाता २९८ अर्ब ५१ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ५१ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २९ करोड ७२ लाखले घाटामा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २५.३ प्रतिशतले कमी आई ३ अर्ब ४७ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६० करोड ४९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ४ अर्ब ६४ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब ७ करोड रुपैयाँ रहेको थियो ।

साझा यातायातले थप ३७ विद्युतीय बस सञ्चालन गर्ने

काठमाडौं । गत असारमा तीन विद्युतीय बस सञ्चालन सुरु गरेको साझा यातायात सहकारी संस्थाले थप ३७ बस सञ्चालनका लागि तयारी अघि बढाइएको छ । गत महिना काठमाडौं आइपुगेका साझाका विद्युतीय बस सञ्चालनका लागि जाँच भइरहेको संस्थाले जनाएको छ । छ महिना पहिलेदेखि तीन बस सञ्चालनमा रहेको र अहिले आइपुगेका ३७ बस सञ्चालनका लागि जाँचका क्रममा रहेको साझा यातायातका प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए । जाँच सकाएर त्यसको प्रतिवेदन आएपछि दर्ता गरिने उनले बताए । उनले भने, ‘परीक्षण सकाएर दर्ता गर्न अब केही समय लाग्नसक्छ ।’ बस सञ्चालनका लागि बाटो इजाजतपत्र लिनुपर्ने हुन्छ । रुट निर्धारण गर्दा सकेसम्म हाल कम सङ्ख्यामा बस भएका रुटमा राखिने उनले बताए । साझा यातायातका पेट्रोलियम र विद्युतीय सबै बसहरुमा सरकारले तोकेबमोजिम भाडादर रहेको छ । अहिले आएका सबै सहरी बस सिटी बस रहेको र यी काठमाडौं उपत्यकाभित्रै सञ्चालन हुने संस्थाले जनाएको छ । पहिले ल्याइएका बस र अहिले आएका बसको लम्बाइ, चौडाइ क्षमता सबै उस्तै रहेको उनले बताए । उनले भने, ‘पहिले परीक्षणका लागि ल्याइएकामा अहिले थप ल्याइएको हो ।’ यी बसहरुमा २६ सिट रहेको र क्षमता प्रतिघण्टा एक सय ६१ किलोवाट रहेको छ, बस एकपटक पूरै चार्ज गर्दा दुई सय किलोमिटर चल्नेछन् । अरू सामान्य बसभन्दा विद्युतीय बस होचो र सानो हुँदा अपाङ्तामैत्रीसमेत रहेका छन् । होचो लो–फ्लोर रहेकाले अपाङ्गता भएका व्यक्ति उक्लिन र ओर्लन सजिलो हुन्छ । बसभित्र ह्विलचेयर राख्नका लागि पनि स्थान राखिएकोे छ । मोबाइल चार्ज गर्ने ठाउँ, गन्तव्यका बारेमा जानकारी दिने र अरू सूचना देखिने गरी बोर्डको व्यवस्था गरिएको छ । हाल सञ्चालनमा रहेका साझाका तीन विद्युतीय बस सञ्चालनका हिसाबले ठीक नै रहेको पाण्डेयले बताए । उनले भने, ‘यसबारे अन्तिम रिपोर्ट निकालेको नभए पनि अरू समस्या देखिएको छैन ।’ ती बसहरु हाल दुई माछापोखरी–बालाजु–सोह्रखुट्टे हुँदै जमल–पुरानो बसपार्क–माइतीघर–नयाँबानेश्वर–तीनकुने–सिनामङ्गल–एयरपोर्टको रुटमा र एक लगनखेल–जावलाखेल–कुपण्डोल हुँदै त्रिपुरेश्वर–नेपाल वायुसेवा निगम–लैनचौर–शिक्षण अस्पताल–नारायण गोपालचोक–बाँसबारी–बूढानीलकण्ठ रुटमा सञ्चालन भइरहेका छन् । विद्युतीय बस पेट्रोलियम बसका तुलनामा होचो हुने भएकाले खाल्डाखुल्डी भएको सडकमा गाह्रो हुने हुँदा कालोपत्र सडकमा गुडाइने उनले बताए । सञ्चालनमा रहेका बसजस्तै नयाँ आउने बस खाल्डा नभएको सडकमा गुडाइने उनले बताए । विगतदेखि नै स्थानीय तहसँगको समन्वयमा बस खरिद र सञ्चालन गर्दै आएको भए पनि तत्कालका लागि आएका बस सञ्चालन गर्नेलाई नै प्राथमिकता दिएको पाण्डेयले बताए । प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा आगामी दिनमा अघि बढाइने उनले बताए । सङ्घीय सरकारसँगको समन्वयमा थप बस खरिद गर्नुपर्नेमा बाँकीका लागि प्रक्रिया अघि बढाइने उनले बताए । काठमाडौ आइपुगेका बसका बारेमा विश्लेषण गरेर अर्को चरणमा ४०/५० वटा आउनसक्ने उनले जानकारी दिए । उनले भने, ‘दोस्रो चरणमा बस किन्न यो वर्ष प्रक्रिया अघि बढ्नसक्छ ।’ हाल सञ्चालनमा रहेका बसका लागि साझाको एउटा र नेपाल विद्युत् प्राधिकरणको एउटा गरी दुई चार्जिङ स्टेसन रहेका छन् । अबका थप दुई/तीनवटा जडान हुने गरी प्राधिकरणसँग छलफल भइरहेको पाण्डेयले बताए । उनले भने, ‘प्राधिकरणको चार्जिङ स्टेसन साझा यातायातलाई लक्षित गरेर चाँडो बनाइनेछ ।’ सरकारले साढे तीन वर्षपहिले तीन अर्बको शेयर खरिद गरेपछि सोही रकमबाट विद्युतीय बस खरिद गरिएको थियो । बस चीनको सिएचटिसी किनिवङ नानजिन अटो मोबाइल कम्पनी लिमिटेडले तयार गरेको हो । पेट्रोलियम पदार्थका सवारीसाधनजस्तो वातावरण प्रदूषण नगर्ने बसमा ध्वनिको प्रदूषण पनि अरूभन्दा कम रहेको छ । बसमा थकाइ भाइब्रेसन पनि कम रहन्छ । हाल खरिद भएका बस पाँच वर्षसम्म मर्मत गर्ने निर्माता कम्पनीसँगको सम्झौतामा उल्लेख छ । सम्झौताअनुसार साझाले ४० विद्युतीय बस र २० चार्जरका लागि ३७ लाख ३८ हजार पाँच सय ५० अमेरिकी डलर तथा आवश्यक तालिम र पाँच वर्षको मर्मतसम्भार तथा स्पेयर पार्टका लागि नेपाली छ करोड ७३ लाख ६५ हजार पाँच सय ५३ प्रदान गर्नेछ । साझा यातायातले गत चैतमा आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्रअनुसार नौ कम्पनीले बुझाएको बोलपत्रको मूल्याङ्कन गरेर सबै प्राविधिक ‘स्पेसिफिकेसन’ मिलेको र कम मूल्य कबोल गरेको सिएचटिसी किनिवङ नानजिन अटो मोबाइल कम्पनी लिमिटेडको प्रस्ताव स्वीकृत गरिएको हो । सार्वजनिक यातायातको विद्युतीकरणले एकातिर आयातीत खनिज इन्धनको बढ्दो प्रयोगलाई स्वदेशी नवीकरणीय ऊर्जाले प्रतिस्थापन गरेर देशको अर्थतन्त्रलाई टेवा दिने बताइएको छ । अर्कोतिर वायु प्रदूषण कम गरी वातावरण र जनस्वास्थ्यलाई समेत फाइदा पुग्ने अपेक्षा गरिएको छ । सरकारले विसं २०७५ पुसमा विद्युतीय बस खरिद गर्ने निर्णय गरेको र विसं २०७६ असार ३१ मा बस खरिदको जिम्मेवारी साझा यातायातलाई दिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बस खरिदका लागि साझाको तीन अर्बको शेयर खरिद गरेको थियो । संस्थाले ‘स्पेसिफिकेसन’ फरक भएको भन्दै रकम फिर्ता गरेको १६ महिनापछि पुनः संस्थालाई नै जिम्मेवारी दिएको थियो । साझासँग हाल डिजेलबाट चल्ने ७१ बस रहेकामा चार उपत्यकाबाहिर र बाँकी उपत्यकामा सञ्चालनमा रहेका छन् । उपत्यकामा निजी कम्पनीहरुले समेत विद्युतीय बस सञ्चालन गरिरहेका छन् ।

रमेश कर्पका सञ्जय अग्रवाल ‘दक्षिण एशियाका उत्कृष्ट बीजनेस लिडर्स’ अवार्डबाट सम्मानित

काठमाडौं । रमेश कर्पोरेशनका प्रबन्ध निर्देशक सञ्जय अग्रवाल ‘दक्षिण एशियाका उत्कृष्ट १० बीजनेस लीडर्स–२०२२’ अवार्डबाट सम्मानित भएका छन् । सीईओ इनसाइट एशियाले अग्रवाललाई उक्त अवार्डबाट सम्मान गरेकाे हाे । यो अवार्डले दक्षिण एशियाली राष्ट्रहरुमा कर्पोरेट क्षेत्रलाई भविष्यमा बहुआयामिक दिशातर्फ डो¥याउने उत्कृष्ट व्यवसायी र विचारशील लीडर्सहरूलाई सम्मान गर्दै आईरहेको छ । उनी मोबाइल फोन आयातकर्ता संघ नीति निर्धारण गर्ने निकायको उपाध्यक्ष रहेका छन् । उनले कलर्स, स्पाइस, एचटीसी, ब्ल्याकबेरी, जिओनी र शाओमी लगायत नेपालमा धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय मोबाइल कम्पनीहरूको निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका छन् ।  

सांग्रिला डेपलभमेन्ट बैंकले माग्यो कर्मचारी

काठमाडौं । बैंकका जागिर खोज्नेहरुको लागि खुशीको खवर छ ।सांग्रिला डेपलभमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित रिकभरी अफिसर पद अन्तर्गत एसआर एसिस्टेन्ट, सुपरवाईजर र जेआर अफिसर पदमा ३ जना कर्मचारी माग गरेको छ । त्यस्तै, प्रधान कार्यालय बालुवाटार, काठमाडौंको लागि सुपरभाइजर र जेआर अफिसर पदमा १ जना कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि कम्तिमा स्नात्तक देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो । ईच्छुक उम्मेदवारले बैंकको वेवसाईट मार्फत माघ १३ गतेभित्र आवेदन दिन सक्नेछन् ।

सिटिजन्स बैंकको एपबाटै मुद्दती खाता खोल्नुको साथै ऋण पनि लिन सकिने

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनलले माेबाइल एपबाटै मुद्दती निक्षेप खाता खोल्ने नयाँ सुविधा ल्याएको छ । बैंकले भौतिक रुपमा शाखामा जाँदा हुने झन्झट कम गर्न सिटिजन्स स्मार्ट एपबाट सिधै मुद्दती निक्षेप खाता खोल्ने नयाँ सुविधा ल्याएको हाे । एपबाट ग्राहकहरूले विभिन्न मुद्दती निक्षेप योजना, अवधि र इच्छित रकम चयन गर्न सक्ने बैंकले जनाएकाे छ । बैंककाे अनुसर फिक्स्ड डिपोजिट रकमको न्यूनतम सीमा १० हजार र अधिकतम रकम ५० लाख रुपैयाँसम्म सेट गरिएकाे छ । त्यसैगरी, एपबाट ग्राहकहरूले मुद्दती निक्षेप रकमको ९० प्रतिशतसम्म ऋणको लागि अनुरोध पनि गर्न सक्नेछन् । यसका साथै बैंकले बैंकको कर्पोरेट कार्यालयमा रहेको केआओएसके सेल्फ-सर्भिस प्रणालीबाट मुद्दती निक्षेप खोल्ने सुविधा पनि ल्याएको छ। सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८१ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३३ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिब १५ लाख २१ हजार ग्राहकवर्गलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

बच्चालाई अमृतसरह ‘ह्युमन मिल्क बैंक’

काठमाडौं । आफ्नो आमाको दूध नआउने वा कुनै कारणले खुवाउन नमिल्ने अवस्थामा पनि अब नवजात शिशुहरुले अर्को आमाको स्तनपान गर्न पाउने भएका छन्। बच्चालाई अर्को आमाको खुवाउनका लागि अहिले थापाथलीस्थित परोपकार प्रसुति गृह तथा स्त्रीरोग अस्पतालले स्थापना गरेको ‘ह्युमन मिल्क बैंक’ निकै प्रभावकारी देखिएको छ। कोषले विगत पाँच महिनादेखि स्तनपान गर्न नसक्ने बच्चालाई अमृतसरह आमाको दूध उपलब्ध गराउँदै आएको छ। गत भदौमा सञ्चालनमा आएको गृहमा रहेको मिल्क बैंकले स्तनपान गर्न नसक्ने, आमाको दूध नआउने बच्चालाई आमाहरुबाट दान गरिएको दूध उपलब्ध गराउँदै आएको छ। ‘बृहत् स्तनपान व्यवस्थापन केन्द्र’ अर्थात् ‘अमृत कोष’ नाम दिइएको यस बैंकमा दैनिक आमाहरुले दान गरिएको सङ्कलन भएको दूध बच्चालाई उपलब्ध गराउँदै आएको अस्पतालको प्रमुख बालरोग विशेषज्ञ तथा ‘ह्युमन मिल्क बैंक’का इञ्चार्ज डा कल्पना उपाध्याय सुवेदी बताइन्। सधन उपचार कक्ष (आइसियु)मा रहेका आमा, भर्ना भएका आमा, स्तनपान गर्न नसक्ने आमाबाट दूध दान गरिन्छ। ‘कसैको बच्चाले आमाको दूध खाने हुन्छ, कसैको हुँदैन। भेन्टिलेटरमा भएका बच्चालाई पनि आमाको दूध चुसाउँदैनौँ। त्यस्ता आमाहरुको दूध अमृत कोषमा राख्ने गर्दछौँ’, डा उपाध्यायले भनिन्, ‘जुन बच्चाले राम्रासँग स्तनपान गर्न सक्दैनन्। त्यस्तो आमाको दूध हामीले यही निकाल्छौँ र जति बच्चालाई चाहिन्छ त्यति दिन्छौँ र बाँकी बैंकमा नै राख्ने गरेका छौँ।’ शल्यक्रिया गरेका आमा पाँच दिन अस्पतालमा बस्ने गर्दछन्। अनि त्यस्ता आमाले पनि दूधदान गर्दछन्। बच्चालाई आमाको दूध अमृत बराबर मानिन्छ। भनिन्छ आमो दूध नै बच्चाको पहिलो खोप हो। छ महिनासम्म बच्चालाई आमाको दूध नै खुवाएपछि अरु कुनै पनि कुरा खुवाउन पर्दैन। तर त्यही आमाको दूध केही बच्चाले पाउन सकिरहेका छैनन्। अस्पतालका प्रमुख कल्यसन्ट्यान्ट डा श्रीप्रसाद अधिकारीले बच्चालाई आमाको खुवाउनका लागि नै ‘ह्युमन मिल्क बैंक’ स्थापना गरिएको बताए। ‘नेपालमा आमाको दूध खान नपाएर नवजात शिशुको मृत्युदर  एक हजार जनामा २१ जना रहेको छ’, उनले भने, ‘बैंकले बच्चालाई आमाका दूध खान उपलब्ध गराउँदै आएको छ। अब पक्कै पनि नवजात शिशु मृत्युदर घट्नेछ।’ कतिपय नवजात शिशुलाई आमाको दूध नआएर ल्याक्टोजेन खुवाउन गरिएको थियो। उनले बैंक स्थापनासँगै अहिले नवजात शिशुलाई ल्याक्टोजेन खुवाउन नपरेको बताउँछन्। उनले शिशुलाई आमाको दूध खुवाएर अस्पताललाई पूर्ण ल्याक्टोजेन मुक्त गराइएको बताए। नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को सर्वेक्षण प्रतिवेदनले नेपालमा हाल ५६ प्रतिशत आमाले मात्रै शिशु जन्मिएको छ महिनासम्म पूर्ण स्तनपान गराउने उल्लेख गरेको छ। सन् २०१६ को सर्वेक्षणले ६६ प्रतिशत आमाले शिशुलाई पूर्ण स्तनपान गराउने गरेको उल्लेख छ। समयभन्दा अगाडि जन्मेको बच्चा, गम्भीर बिरामी भएका बच्चा, जन्मिनेबित्तिकै रुन नसक्ने हातखुट्टा नै लल्याकलुलुक भएको बच्चा, आइसियुमा रहेको बच्चा,  आमाको दूध राम्रोसँग दूध तान्न नसक्ने बच्चालाई मिल्क बैंकमा जम्मा भएको दूध खुवाउने गरिन्छ। दैनिक दुई हजार ५०० सम्म सङ्कलन मिल्क बैंकमा पहिले दैनिक तीन सय ५० मिलिलिटर दूध जम्मा हुने गरेकामा अहिले दैनिक एक हजार ५०० मिलिलिटर जम्मा हुन थालेको अस्पतालले जनाएको छ। दैनिक बढ्दै गएर कहिलेकाहीँ दुई हजार ५०० मिलिलिटरसम्म दूध बैंकमा जम्मा हुने गरेको प्रमुख कल्यसन्ट्यान्ट डा अधिकारीले बताउँछन्। उनका अनुसार एक आमाले एक दिनमा दुई पटकसम्म बैकमा दूध जम्मा गर्ने गर्दछिन्। अस्पतालमा भर्ना भएकी अम्बिका बस्नेतले अहिलेसम्म सबैभन्दा बढी एकै चोटी दिनमा दुईपटक गरी एक सय ७० एमएल र एक सय ८० एमएल दिएको अस्पतालसँग तथ्याङ्क रहेको छ। एक बच्चालाई एक दिनमा न्यूनतम् ८० मिलिलिटरदेखि दुई सय ४० मिलिलिटर दूध आवश्यक हुन्छ। दुई/दुई घण्टाका दरले बच्चालाई दूध खुवाइन्छ। बच्चालाई तौलअनुसार दूध खुवाउने गरिन्छ। औसतमा दैनिक सात/आठ जना बच्चाका आमाले दूध मिल्क बैंकमा राख्ने गर्दछन्। उनका अनुसार अहिले सङ्कलन गरिएको दूध अस्पताल भर्ना भएका समयमा नै नजन्मिएका, अशक्त बच्चा, आमाको दूध नआउने, स्तनपान गर्न नसक्ने शिशुलाई खुवाउने गरेको बताउछन्। ‘हामीले आमाको दूध नआउने र आमाको दूध चुस्न नसक्ने शिशुलाई मात्र दूध उपलब्ध गराउने गरेका छौँ’, उनले भने, ‘अहिले हामीलाई सङ्कलन गरेको दूधले पनि पुग्दैन। सबै शिशुलाई दूध खुवाउनका लागि दैनिक चार हजार मिलिलिटर दूध चाहिन्छ।’ दूधलाई गरिन्छ निर्मलीकरण  सङ्कलन गरिएको दूध २४ घण्टासम्म सामान्य फ्रिजमा राख्ने गरिन्छ र त्यसपछि दूधलाई निर्मलीकरण गरेर मात्रै शिशुलाई खुवाइने गरिन्छ। निर्मलीकरण गरिसकेपछि दूधलाई छ महिनासम्म खुवाउन मिल्ने डा उपाध्याय बताउँछिन्। निर्मलीकरण गरिएको दूध माइनस २० डिग्री सेल्सियसमा राखिएकाले छ महिनासम्म बिग्रँदैन। निर्मलीकरण भनेको दूधमा रहेको पौष्टिक तत्वलाई नबिग्रने गरी अरु किटाणुलाई नष्ट गर्ने प्रक्रिया हो। बैंकमा जम्मा भएको दूधलाई ६२ डिग्री सेल्सियसमा तताइन्छ र उक्त तातेको दूधलाई चार डिग्रिसेल्सिएसमा झारेर निर्मलीकरण गरिन्छ। निर्मलीकरण गरेपछि दूधमा रहेको किटाणु मरेर जान्छ र दूध खानयोग्य हुन्छ। निर्मलीकरण गरेपछि दूधमा किटाणु छ कि छैन भनेर परीक्षण गरिन्छ र किटाणु नभए बच्चालाई दूध खान दिइन्छ। अझै अपुग दूध बैंकमा पर्याप्तमात्रामा दूध दान नभएपछि अस्पतालमा भर्ना भएका सबै बच्चालाई दूध उपलब्ध गराउन नसकिएको अस्पतालले जनाएको छ। दैनिक चार हजार मिलिलिटर आवश्यक रहेको बैंकमा अहिले दुई हजार ५०० मिलिलिटर मात्र दूध सङ्कलन हुने गरेको छ। यसरी सङ्कलन गरिन्छ  बच्चालाई आमाले दूध खुवाएपछि बचेको दूध बैंकमा दान गर्न स्वास्थ्यकर्मीले परामर्श गर्नुहुन्छ। अस्पतालको प्रमुख कन्सल्यन्ट्यान्ट डा अधिकारीले अस्पतालमा रहेका पाँच जना स्वास्थ्यकर्मीले प्रत्येक श्ययामा गई शिशुका आमालाई बैंकमा दूध दान गर्न परामर्श गर्ने गरेको बताए। ‘तपाईंको बच्चाले दूध खाइसक्यो अब बाँकी भएको दूध त्यो अरु दूध नआउने आमाको बच्चालाई खुवाउनु पर्दछ भन्ने सिकाउँछौँ। बच्चाको आमा दूध दान दिन तयार भएपछि मात्र भने दूध सङ्कलन गरिन्छ’, उनले भने। रासस

शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोड बचतमा

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १९५ अर्ब १ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६४ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको छ । चालु आर्थिक वर्षको ५ महिनामा चालु खाता ३७ अर्ब ९१ करोड रुपैयाँ घाटामा रहेको छ । गत वर्षको सोही अवधिमा चालु खाता २९८ अर्ब ५१ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ५१ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २९ करोड ७२ लाखले घाटामा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २५.३ प्रतिशतले कमी आई ३ अर्ब ४७ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६० करोड ४९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ४ अर्ब ६४ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब ७ करोड रुपैयाँ रहेको थियो ।