विकासन्युज

महालक्ष्मी विकास बैंककाे १०.४७ प्रतिशतको लाभांश पारित

काठमाडाैं । महालक्ष्मी विकास बैंककाे लाभांश पारित भएकाे छ । बैंककाे शुक्रबार सम्पन्न २१ औं वार्षिक साधारणसभाले बैंककाे प्रस्तावित १०.४७ प्रतिशत लाभांश पारित गरेकाे हाे । बैंकले २०७८/७९ को सञ्चित मुनाफा रकमबाट सेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस सेयर र ६.४७ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) गरि कुल १०.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हाे । सभाले आ.व. २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेकाे छ । यस्तै,  सभाले बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ असार मसान्तको वासलात, आ.व. २०७८/७९ को नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गरिएको छ ।        

जुत्ता सिलाउने व्यवसायबाट मनग्य आम्दानी

काठमाडौं । घर छोडेर सडकमा पुगेका ललितपुरको भैँसीपाटी निवासी ४९ वर्षीय राजेन्द्र रोका जुत्ता सिलाउने पेसामै ३५ वर्ष बिताएका छन् । कक्षा ४ सम्म परिवारसँग बसी पढ्दै आएका उनी साथीहरुको सङ्गतमा परेर सडकलाई नै आफ्नो बासस्थान बनाएको बताउँँछन् । सुरुमा ११ वर्षको उमेरमा दरबारमार्गस्थित जुत्ता सिलाउने र पालिस लागउने काम गरियो, केही समयपछि साथीहरुको लहलहैमा ठमेलको उत्से होटेल बाहिर दैनिक गुजारा चलाउन बाह्य पर्यटकसँग पैसा माग्ने क्रममा तीन वर्ष बिताइएको राजेन्द बताउँछन् । सोही बखत उनको बाल्यकालको दिनचर्या देखेर एक स्वीस नागरिकले अध्ययनका लागि होस्टेलमा राखी ललितपुर माध्यमिक विद्यालयमा भर्ना गरिदिएका थिए । करिब दुईवर्ष सम्पूर्ण खर्च बेहोरी पढाइका लागि पहल गरे पनि राजेन्द्रले पढाइलाई निरन्तरता दिन सकेनन् । सोह्र वर्षको उमेरमा वैवाहिक बन्धनमा बाँधिएका उनी विवाहपश्चात् पुनः सोही पेसामा सम्लग्न भए । पर्यटकको जमघट हुने वसन्तपुर क्षेत्रमा सोही काममा सम्लग्न हुदैँ आएका राजेन्द्रले बाह्य पर्यटकका लागि पथप्रर्दशकको काम पनि गरे । पन्ध्र वर्षसम्म त्यही काम गर्दै आएका उनी विगत आठ वर्षदेखि न्यूरोडस्थित भूगोलपार्कमा बसेर त्यसैलाई निरन्तरता दिँदै आएका छन् । दुई सन्तानका बुबा राजेन्द्रका जेठा छोराले आइटी र कान्छा छोराले व्यवस्थापनबाट स्नातक तहसम्मको अध्ययन पूरा गरिसकेका छन् । उनकी श्रीमती राधिका ललितपुर उपमहनारपालिका– १८ को जनप्रतिनिधि छिन् । राजेन्द्र भन्छन्, ‘मेहनतका साथ काम गरेको छु । मेरो पेसाप्रति परिवारको साथ छ । आफ्ना लगि आफै केही गर्छु भन्ने अठोट सबैले गर्नुपर्छ ।’ हप्तामा एक दुई दिन फुर्सद लिएर पनि मासिक ३५ हजार रुपैयाँँ कमाइ गरेको उनी बताउँँछन् । श्रीमती र छोराले कमाइ गर्न थालेपछि आफूलाई आराम गर्न भने पनि आफ्नो पेसामा नसा बसेको राजेन्द्रका भनाइ छ । राजेन्द्रसँगै जुत्ता सिलाउँदै आएका मीनबहादुर रम्तेल पनि ललितपुरको गोदावरी निवासी छन् । भूगोलपार्कको पिपलबोटमै उनले सोही पेसामा ४० वर्ष बिताए । उनान्साठी वर्षीय मीनबहादुर दैनिक बिहान खाना खाएर ८ बजेतिर कामका लागि घरबाट निस्कन्छन् । आफ्नो यो पेसाबाट के खाउ–के लाउ भनी कहिलै चिन्तित हुनु नपरेको र व्यवसाय राम्रोसँग चलेको उनी बताउँछन् । दुई छोरा र एक छोरीका बुवा मीनबहादुर आफ्ना छोराछोरीको पढाइखर्च, बिहेखर्चसम्म यही पेसाबाट आएको आम्दानीले चलाएको जानकारी दिन्छन्। उनी भन्छन्,’काम सानो र ठूलो हुँदैन । जुत्ता सिलाउने पेसा भनेर लाज मान्न आवश्यक छैन । अर्काको चोरेर, मागेर, छलेर, झुकेर खानुभन्दा भगवान्ले दिएका हातखुट्टाले काम गरेर खानुनै बेस । भारतले नेपालमा देखेको अवसर नेपालीले भने देख्दैनन् । धेरै अवसर छन् तर नेपाली भने सानोतिनो काम भनेपछि गर्न हिचकिचाउँछन् ।’ स्वर्गजस्तो जन्मभूमि र परिवार छोडेर अन्य मुलुकमा आफ्नो पसिना बगाउन बाध्य नेपालीको अवस्था र गरिब जनतालाई भनेर छुट्याइएका राहत पहुँँच हुनेका लागि मात्र रहेकोप्रति गुनासो पोख्दै मीनबहादुर राज्यले बनाएको नीति व्यवहारमा नल्याएकामा गुनासो गर्छन् । लामो समयदेखि भूगोलपार्कको छेउमा काम गर्दै आइएकाले धेरैजसो चिनेजानेका मानिस नै आउने गरेको, दिनमा १०/१२ जनाको कामले आफ्नो दिन बित्ने गरेको र त्यतिमै आफू सन्तुष्ट रहेको उनी बताउँछन् । विना सिप र लगानीमा मासिक प्राय ३० हजार रुपैयाँभन्दा बढी आम्दानी हुनुलाई राम्रै आम्दानी मान्नुपर्नेमा मीनबहादुर जोड दिन्छन् । राजेन्द्र र मीनबहादुरजस्तै आफ्नो जीविकोपार्जनका लागि जुत्ता सिलाउँदै आएका धादिङ निवासी ४२ वर्षीय लीलाबहादुर कार्की पनि विगत २० वर्षदेखि यही पेसामा सम्लग्न छन् । दस वर्षदेखि सुन्धारामा बसेर जुत्ता सिलाउँदै आएका उनी गाउँघरमा खेती गरेर जीविकोपार्जन गर्न र बालबच्चाको पढाइलाई खर्च जुटाउन नसक्दा राजधानी छिरेको बताउँछन् । सुरुमा पसलमा सामान ओसारपसार गर्दै आएकामा पछि आफूले चिनेजानेको मान्छेले यही पेसाबाट मनग्य आम्दानी गरेको देखेर आफूले पनि यही पेसा रोजेको लीलाबहादुर बताउँछन् । दिनमा १२/१५ जनाको कामबाट दैनिक दुईदेखि तीन हजारसम्म आम्दानी गर्दै आएका उनी भन्छन्,’ठूलो लगानी जुटाउन नपर्ने, पढाइको प्रमाणपत्र नचाहिने, कसैको डरधम्कीमा चल्न नपर्ने, आम्दानी पनि राम्रै हुने गरेकाले यो पेसामा आफू र परिवार सन्तुष्ट छन्। यही पेसाबाट आएको आम्दानीले आफूलगायत परिवार, छोराछोरीको पढाइखर्च सहज ढङ्गले चल्दै आएको छ ।’ आफूहरुले गरेको काम सानो भए पनि पेसा सबैको लागि अत्यावश्यक रहेको तर खुल्ला ठाउँमा व्यवसाय चलाउनाले घामपानी तथा धुवाँधुलो सहनुपर्ने बाध्यता रहेको उनीहरुको गुनसो छ । यी त केवल काठमाडौं उपत्यकाका केही उदारहण मात्र हुन् । मुलुकभर जुत्ता सिलाउने पेसामा संलग्न भई मनग्य आम्दानी गर्ने मानिस धेरै छन् । पेसा सानो र ठूलो होइन, मानिसको हेर्ने नजर फरक हो । सबै पेसालाई सम्मान गर्न सकेमा मात्र समाजलाई परिवर्तन गर्न सकिनेमा सम्बद्ध व्यक्ति जोड दिन्छन् ।

नेप्सेले सेयरधनीलाई प्रमाणपत्रको सट्टा डिम्याटमा सेयर दिने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयरधनीहरुलाई सेयर प्रमाणपत्रको सट्टा डिम्याट खातामा सेयर दिने भएको छ । नेप्सेले नेप्सेका सेयरधनीहरुलाई नेपाल सरकारले लगानी गरेका संस्थाहरुको डिम्याट गर्ने अर्थ मन्त्रलयबाट पत्र आएकाले प्रमाणपत्र नभएर सेयरधनीलाई डिम्याटमा सेयर दिने तयारीमा रहेको बताएको छ । शुक्रबार नेप्सेको ४१ औं वार्षिक साधरणसभामा बोल्दै सहायक प्रबन्धक निरञ्जन फुयाँलले नेपाल सरकारले लगानी गरेका संस्थाहरुको डिम्याट गर्ने अर्थ मन्त्रलयबाट पत्र आएकाले प्रमाणपत्र नभएर सेयरधनीलाई डिम्याटमा सेयर दिने तयारीमा रहेको बताए । उनले अर्थ मन्त्रालयको पत्रको आधारमा धितोपत्र बोर्डले नेप्सेमा सूचिकृतको लागि स्वीकृति दिए छिटै सेयरधनीलाई डिम्याटमा सेयर दिने बताए । उनले नेप्सेको सेयरलाई नेप्सेका सूचिकृत गर्ने प्रक्रियामा प्रयास भइरहेको बताए । त्यस्तै, कार्यक्रममा बोल्दै नेप्सेका अध्यक्ष चक्रबहादुर बुढाले नेप्सेको बजारको कारोबार परिणाम,अर्थतन्त्रका पक्ष,सूचिकृत कम्पनीको आर्थिक अवस्था र लगानीकर्ताको मनोविज्ञानमा आधारित हुने भएकाले आयमा सुनिश्चितता ल्याउन चुनौति रहेको बताए । उनले लगानीकर्ताको बढ्दो संख्यालाई सेवा पुर्याउन अनलाइन कारोबार प्रणालीलाई समय सापेक्ष परिवर्तन गर्नुपर्ने बताए । बढ्दो बजारमा मात्र लगानीकर्ताको आकर्षण बढ्ने र बजार घट्नेसँगै लगानीकर्ता अन्य क्षेत्रमा प्रवेश गर्ने भएकाले लगानीकर्तालाई बजारमा दिगो रुपमा कायम गरी बजारलाई सुदृढ बनाएर विस्तार गर्न चुनौति देखिएको बताए । ‘सरकारी तथा अन्य क्षेत्रले अवलम्वन गर्ने पुँजी बजारसँग सम्बन्धित नीतिहरु अनुकुल धितोपत्र बजारको व्यवस्थापन गर्न चुनौति छ,  बजारमा संस्थागत लगानीकर्ताहरुको संख्या बढाएर उनीहरुको सक्रिय सहभागिता बढाउनु आवश्यक छ,’ उनले भने । त्यस्तै नेप्सेको साधरण सभाले चुक्ता पुँजी १ अर्बमा नियमानुसार लाग्ने करसहित शतप्रतिशत नगद लाभांश (एक अर्ब रुपैयाँ) वितरण गर्ने भएको छ । नेप्सेले गत आर्थिक वर्षमा चुक्ता पुँजी ६० करोडको १०० प्रतिशत नगद नाभांश ६६.६७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

क्रसर सञ्चालनका लागि नयाँ मापदण्ड बनाइने

काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले क्रसर उद्योगमा देखिएको समस्या समाधानका लागि छलफल भइरहेको जनाउँदै चाँडै निकास खोजिने बताएका छन् । सरकारले क्रसर सञ्चालनका लागि नयाँ मापदण्ड बनाउने जानकारी दिँदै उपप्रधानमन्त्री श्रेष्ठले गुणस्तरीय निर्माण सामग्री उत्पादन भएमात्र गुणस्तरीय निर्माण हुने उल्लेख गरेको उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलले आज मन्त्री श्रेष्ठलाई भेटी नदी तथा खानीजन्य निर्माण सामग्रीको उत्खननमा देखिएको समस्याले निर्माण उद्योगमा परेको समस्याबारे ध्यानाकर्षण गराएको थियो । महासङ्घ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले निर्माण उद्योगका लागि अतिआवश्यक कच्चा पदार्थ गिट्टी, बालुवा, ढुङ्गा, माटोलगायतका निर्माण सामग्री उत्खनन, ओसारपसारलगायतमा समस्या भएसँगै निर्माणकार्य ठप्प जानकारी गराए । गृहमन्त्रालयको निर्देशनपछि मुलुकभरका आधाभन्दा बढी क्रसर उद्योग बन्द भइसकेको जनाउँदै अध्यक्ष सिंहले त्यसको प्रत्यक्ष मारमा निर्माण उद्योग परेको बताए । अध्यक्ष सिंहले एक वर्षको समय दिएर क्रसर उद्योगलाई वैद्य गराउन सकिने सुझाव दिए । निर्माण उद्योगलाई चलायमान बनाउन मोबिलाइजेसनबापतको २० प्रतिशत रकम उपलब्ध गराउन र म्याद थपमै समयसापेक्ष हुने गरी ‘माइलस्टोन’को व्यवस्था गर्न उनले आग्रह गरे ।

मेगा क्यापिटलले ल्यायो लगानीसँगै बीमा भएको नयाँ पोर्टफोलियो सेवा

काठमाडौं । मेगा क्यापिटल मार्केट्सले नयाँ मेगा इन्स्योर्ड पोर्टफोलियो सेवा सञ्चालनमा ल्याएको छ । क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत ग्राहकलाई उचित प्रतिफलका साथै दुर्घटना तथा स्वास्थ्यमा जोखिम खर्च प्रदान गर्ने बीमा आवद्ध गरी नयाँ मेगा इन्स्योर्ड पोर्टफोलियो सेवा सञ्चालनमा ल्याएको हाे । यस नयाँ सेवा ग्राहकलाई दुर्घटना तथा स्वास्थ्य अनुकुल नहुनाले अस्पताल भर्नाको आकस्मिक खर्चबाट सुरक्षा प्रदान गर्नुका साथै सेयर बजारमा हुने लगानीको जोखिमलाई समेत न्यूनीकरण गरी उचित प्रतिफल प्रदान गर्नेमा केन्द्रित रहने क्यापिटलले जानकारी दिएको छ । क्यापिटलको अनुसार यस नयाँ पोर्टफोलियो सेवामा लगानीको आकर बमोजिम बीमाको सुरक्षा रकम निर्धारण गरिएको र सो रकमलाई दुर्घटना बीमा तथा स्वास्थ्य बीमा अनर्गत अस्पताल भर्ना खर्च बीमा रकममा बराबर अनुपातमा विभाजन गरिएको छ । यसमा न्यूनतम ३ लाख नगदबाट वा आफुसँग भएको रकम बराबारको सेयर दिएर समेत प्रारम्भ गर्न सकिने क्यापिटलले जनाएको छ ।

विदेशमा गरिने लगानीमा राष्ट्र बैंकको थप कडाइ

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशमा पैसा लैजानका लागि थप कडाइ गरेको छ । केन्द्रीय बैंकले आज एक सूचनामार्फत् विदेशमा कानुनले तोकेबाहेक कुनै पनि प्रकारको लगानी नगर्न आग्रह गरेको छ । पछिल्ला दिनमा नेपाली नागरिकले विदेशका विभिन्न क्षेत्रमा लगानी गरिरहेको भन्ने आसयका समाचार एवं विवरण सार्वजनिक भएपछि सूचनामार्फत् विदेशमा पैसा नलैजान सेचत गराएको हो । विदेशमा घर जग्गा खरिद, धितोपत्र खरिद, सम्पत्ति खरिद विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मालगायतका पुँजीगत प्रकृतिका कारोबार नगर्न सचेत गराएको छ । बैंकले त्यससम्बन्धी प्रचारप्रसार नगर्नसमेत आग्रह गरेको छ । केन्द्रीय बैंकले तोकिदिएको व्यवस्थाबमोजिमबाहेक विदेशमा भुक्तानी हुनेसम्बन्धी कार्य नगर्न नगराउन ध्यानाकर्षण गराएको छ । त्यस्तो कार्य गर्ने गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गर्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी यस्तो सूचना प्रकाशित गरिएको हो । नेपालमा बसोबास गर्ने कुनै पनि व्यक्तिले कुनै पनि प्रकारको विदेशमा लगानी गर्न नपाउने केन्द्रीय बैंकले जनाएको छ ।

२० लाख धरौटीमा थुनामुक्त भए सन्दीप लामिछाने

काठमाडौं । बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने केन्द्रीय कारागार सुन्धराबाट थुनामुक्त भएका छन् । उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजालसले बिहीबार २० लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त गर्न आदेश दिएको थियो । लामिछाने तीन महिना नौ दिन कारागारमा बसेर थुनामुक्त भएका हुन् । लामिछानेका कानुन व्यवसायी सरोजराज घिमिरेका अनुसार लामिछाने थुनामुक्त भएका छन् । जिल्ला अदालत काठमाडौंको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावलोकनको निवेदन दिइएको थियो । उक्त निवेदनमाथिको सुनुवाइपछि अदालतले धरौटी लिएर थुनामुक्त गर्न आदेश गरेको हो । पाटन उच्च अदालतका रजिष्टार ठगिन्द्र कट्टेलका अनुसार लामिछाने काठमाडौं उपत्यका बाहिर जाँदा जिल्ला प्रहरी कार्यालय काठमाडौंको अनुमति लिनुपर्नेछ भने पीडित परिवारलाई कुनै पनि माध्यमबाट सम्पर्क गर्न, डर, त्रास वा धम्की दिन नपाउने गरी थुनामुक्त गरिएको हो । गत कात्तिक १६ मा जिल्ला अदालत काठमाडौँमा लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहस सुरु भएको थियो । लामिछानेका कानुन व्यवसायीले किशोरी नाबालिग नरहेको जिकिर गर्दै आएका थिए । लामिछानेमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा गत कात्तिक १४ मा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने मागसमेत गरिएको थियो । लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका थिए । लामिछाने गत असोज २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्राउ परेका थिए ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश पारित

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश पारित भएको छ । कम्पनीको २८ ‍औं वार्षिक साधारण सभाले संचालक समितिद्वारा प्रस्तावित ७.६० प्रतिशत लाभांश पारित गरेको हो । योसँगै कम्पनीले सेयरधनीलाई गत वर्षको नाफाबाट बोनश सेयर २.४० प्रतिशत र नगद लाभांश ५.२० प्रतिशत प्रदान गर्नेछ । बोनस सेयर वितरण पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी ९८ करोड १६ लाख ८३ हजार २ सय पुग्ने छ । सभाले सञ्चालक समितिको प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन सहित आ. व. २०७८/७९ को वार्षिक प्रतिवेदनहरु पारित गरेको छ । साथै, कम्पनीको सेयर संरचना हाल कायम रहेको संस्थापक तर्फको ५३.३२ प्रतिशत र सर्व–साधारण तर्फको ४६.६८ प्रतिशतलाई क्रमशः ५१ प्रतिशत र ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि पारित भएको छ ।