विकासन्युज

नयाँ सरकार आएपछि सेयर बजार र बैकिङ क्षेत्र सुधार भयो : महासेठ

काठमाडौं । नेकपा (एमाले) का सचिव, सांसद तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले सरकार गठन भएको ७ दिनभित्र आर्थिक स्थिती र सेयर बजारमा फड्को मारेको बताएका छन् । काठमाडौंमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै महासेठले सरकार गठन भएको ७ दिनभित्रै मुलुकको आर्थिक स्थिति, सेयर बजार र बैकिङ क्षेत्रतर्फ सुधार भएको महशुस जनताले गरेका छन् । ‘सरकार गठन भएको ७ दिनभित्रै मुलुकको आर्थिक स्थिति सुधार हुँदै गएको छ, सेयर बजार र बैकिङ क्षेत्रमा पनि सुधार भएको महशुस जनताले गरेका छन्,’ उनले भने । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएसँगै नेपाली कांग्रेस अब राजनीतिक, संवैधानिक र नैतिक रूपमा प्रतिपक्षी दल नभएको उनले बताएका छन् । कांग्रेसले के उद्देश्य राखेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको भन्ने कुरा माघभित्रै सबै छर्लङ् हुने उनको दाबी छ । एमालेको प्रयास र माओवादी केन्द्रको समर्थनमा मुलुकलाई कांग्रेसको चंगुल र दलदलबाट बाहिर ल्याउन सफल भएको उनले टिप्पणी गरे । ‘अहिले देशको राजनीति कांग्रेसको मिश्रित चंगुल र दलदलबाट एमालेको प्रयासबाट त्यो राजनीतिलाई बाहिर ल्याईएको छ, यो देश र राष्ट्रियताको लागि ठूलो जरूरी थियो,’महासेठले अघि भने,‘एमालेको पहल र माओवादीको सहयोगमा राजनीतिलाई कांग्रेसको दलदलबाट बाहिर निकाल्ने काम भएको छ, यसको रिजल्ट ६ महिनापछि थाहा हुन्छ ।’ उनले नेपालको राजनीतिलाई देशी तथा विदेशी शक्तिले कसरी कांग्रेसको चंगुल र दलदलमा पारेको थियो भन्ने कुरा ६ महिनापछि थाहा हुने सनसनीपूर्ण टिप्पणी गरे । उनले अब विस्तारै पर्दा खुल्दै जाने बताए । महासेठले देशको राजनीति हिजोभन्दा (२०७९ साल मंसिर ४ गते सम्पन्न भएको निर्वाचन) भन्दा अघिको स्थिति र अहिलेको स्थितिमा धेरै फरक रहेको पनि दाबी गरे । ‘हिजो कांग्रेसले केही मित्रराष्ट्र शक्तिहरुको भरमा यहाँका साना–साना पार्टीलाई मिलाएर देशलाई एउटा अलग बाटोमा लगेको थियो, जुन बाटोमा जाने प्रयास भएको थियो त्यसलाई एमाले र माओवादीको सहयोगले रोक्ने काम भएको छ । र, आज देशमा ७ दलको सरकार बनेको छ ।’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनिसकेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चा÷परिचर्चा बढि नै हुने गरेको पनि उनको भनाई छ । देशी तथा विदेशी शक्तिले बढि खेलिरहेको उनले आरोप लगाए । ‘नेपालको भविष्य हामीले बनाउने हो, पञ्चशीलमा आधारित परराष्ट्र नीतिअनुसार सम्बन्ध राम्रो बनाउन चाहन्छौं, एमालेको सोच पनि हो, आर्थिक स्थिति दयनीय अवस्थामा थियो, सामाजिक स्थिति करिब–करिब बिग्रन लागिसकेको थियो, राजनीतिक स्थिति त कुरै छोडौं, नेपालमा योभन्दा पहिलेको सरकारले नेपालीपनले काम गरेको भए त पक्कै राम्रो हुने थियो, देशले हाललाई निकास पाएको छ,’ उनले भने । उनले वर्तमान सरकार बाध्यतात्मक अवस्थामा बनेको उल्लेख गर्दै यसले देश र जनताको अहित हुनेगरि कुनै काम नगर्ने विश्वास दिलाए । यद्धपी २०७४ फागुन ३ गते एमाले र माओवादीको एकतापछि बनेको तत्कालिन नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारजस्तै काम यो सरकारले गर्न भने नसक्ने उनको ठोकुवा छ । ‘त्यो राष्ट्रवादी र वापमन्थीहरको सरकार थियो, त्यति काम त यो सरकारले गर्दैन्, यो सरकारमा विभिन्न विचारधारा भएकाहरुको सहभागिता छ, सबैको सल्लाह लिएर यो सरकार अघि बढिरहेको छ, ०७४ कै सरकारजति यो सरकारसँग अपेक्षा गर्न सकिँदैन् तर, हिजोको कांग्रेस सभापति शेरबहादुर देउवाजीको सरकारभन्दा यो सरकारले वास्तवमा धेरै राम्रो काम गर्नसक्छ,’ उनले भने ।

समृद्धि फाइनान्सको साधारण सभामा घिमिरे र थापा निर्वाचित

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीको २१ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको प्रधान कार्यालय रहेको हेटांैडा, मकवानपुरमा सञ्चालक समितिका अध्यक्ष ठाकुर प्रसाद भट्टराईकोे अध्यक्षतामा सम्पन्न भएको हो । फाइनान्सको सभाले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन पारित, वासलात, नाफा नोक्सान र नगद प्रवाह विवरण, आर्थिक वर्ष २०७९÷८० लागि बाह्य लेखापरिक्षक नियुक्ति गर्ने लगायतका पारित गरेको छ । साथै, सञ्चालक समितिको लागि संस्थापक समुह तर्फबाट १ (एक) जना र सर्वसाधारण समुह तर्फबाट १ (एक) जना संचालकको निर्वाचन भएको छ । जसमा संस्थापक समुहबाट सुदिप घिमिरे र सर्वसाधारण समुहबाट दुर्गा थापा निर्वाचित भएका छन् । साधारण सभामा अध्यक्षले सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदन उपर सहभागी भएका सेयरधनीहरुबाट सल्लाह, सुझाव र जिज्ञासाहरुलाई सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले स्पष्ट पारेका थिए ।

मुक्तिनाथ विकास बैंकको १४.२१ प्रतिशत लाभांस पारित

काठमाडौं । मुक्तिनाथ विकास बैंकको वार्षिक साधारण सभाले लाभांश पारित गरेको छ । बैंकको सभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १४.२१०५ प्रतिशत लाभांस प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । जसमध्ये १३.०५ प्रतिशत बोनस सेयर रहने छ भने बाँकी कर प्रयोजनको लागि नगद लाभांस रहेको छ । पुस ३० गते पोखरामा बैंकको सोह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको हो । बैंकको सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु परित गरेको छ । बैंकका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तब्य र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाको बारेमा जानकारी गराएका थिए । साधारण सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

३ करोडको लगानीमा कालिज फार्म

काठमाडौं । जिल्लाको म्याग्दे गाउँपालिका–७ वरभञ्याङ खर्कका इन्द्रप्रसाद तिवारीले व्यावसायिक कालिज फार्म सञ्चालन गरेका छन् । करिब २२ रोपनी क्षेत्रफलमा उनले गण्डकी कृषि फार्म दर्ता गरी २ हजार ५ सय कालिज पालेका हुन् । करिब डेढ वर्ष अघिदेखि गाउँमा नै कृषि र उत्पादनमा लागौँ भनेर ३ करोडको लगानीमा कालिज पाल्न सुरु गरेको बताए । केही समयपछि तरकारी खेतीलाई पनि सँगसँगै लैजाने उनको सोच रहेको छ । कालिजको अण्डालाई ह्याचरी गरी फार्ममै कालिज उत्पादन गर्ने गरिएको उनले जानकारी दिए । हरेक कालिजले अण्डा दिनका लागि कम्तीमा ६ महिना लाग्ने र उत्पादन भएको अण्डा यही खपत हुने गरेको उनले बताए । कालिजलाई दाना र स्थानीय घाँस खुवाउने गरिएको छ । जसले गर्दा कालिज अग्र्यानिक र स्वादिलो हुनुका साथै लागतमा कमी गर्न सकिन्छ । प्रतिभाले कालिज २ हजार ५ सय र पोथी १ हजार ८ सयमा बिक्री गर्दै आएको उनले बताए । ‘अण्डाको प्रतिक्रेट ९ सयमा बिक्री हुन्छ, फार्ममा दैनिक १ हजार ५ सयसम्म अण्डा उत्पादन हुँदै आएको छ,’ उनले भने । अण्डा र कालिज खरिदका लागि फार्ममा नै ग्राहक आउने गरेका छन् । ठूलो लक्ष्यका साथ काम गरिएको हँुदा अझ बढी लगानी गर्ने योजना रहेको कृषक तिवारीले बताए । सम्बन्धित निकायले व्यावसायिकरूपमा कृषि र व्यावसायिक फार्मका लागि सरकारले उचित अनुदान र व्यवस्थापन गर्नुपर्ने कृषक तिवारीको सुझाव रहेको छ । कृषकलाई उत्पादनमा जोड्न र समस्या समाधानका लागि पालिकाले जोड दिँदै आएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।

के तपाईँलाई रगत चाहिएको छ ? अब चिन्ता नगर्नुस्

काठमाडौं । के तपाईँलाई रगत चाहिएको छ ? रगत नपाएर तनावमा हुनुहुन्छ ? अब चिन्ता नगर्नुस् । अब तपाईँको चिन्ता मेट्न र समस्याको समाधान गर्न कर्णाली स्वयंसेवक दल (केएसडी) सारथी बन्ने भएको छ । रगत अभावमा ठूलो समस्या झेल्दै आएका सुर्खेतवासीका निम्ति स्वयंसेवक दल सुर्खेतले ‘केएसडी ब्लड एप’ सञ्चालनमा ल्याएको छ । कर्णाली स्वयंसेवक दलका अध्यक्ष सुदर्शन श्रेष्ठले स्वयंसेवक दलले सञ्चालनमा ल्याएको सो एप शनिबारदेखि पूर्णरूपमा अद्यावधिक भएको बताए । उनले नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र सुर्खेतमा इन्टरनेटको सुविधा जोडिएसँगै ब्लड एपले पूर्णरूपमा अद्यावधिक हुने भएको जनाए । ‘हामीले सुर्खेत जिल्लाका बिरामीका लागि चाहिने रगत पाउन सहज होस् भनेर एपको निर्माण र सञ्चालन गरेका थियौँ तर, पूर्णरूपमा अद्यावधिक हुन नसकिरहेको अवस्थामा ब्लड बैंकमा इन्टरनेट जोडिएपछि अपडेट हुने भएको हो,’ उनले भने । हाम्रो साझेदार संस्था नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेतसँग समन्वयमा वल्र्ड लिङ्कले सहुलियतमा इन्टरनेट जडान गरिदिएपछि सहज भएको अध्यक्ष श्रेष्ठले बताए । त्यस्तै नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र सुर्खेतका प्राविधक प्रमुख देपेन्द्र केसीले इन्टरनेट जडानले कर्णाली स्वयंसेवक दलले सञ्चालन गरेको एपमार्फत छिटोछरितो तरिकाबाट रक्तदाताहरूको डाटा खोज्न सहज हुने बताए । नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेतका अध्यक्ष प्रवाशकुमार शाक्यले कर्णाली स्वयंसेवक दलले सञ्चालनमा ल्याएको एप प्रयोग गरेर सहज तवरबाट रक्तदाताहरूसँग सम्पर्क गर्न सकिने बताए ।

नेपाल फाईनान्सको ३०औं साधारण सभा सम्पन्न

काठमाडौं । निजी क्षेत्रको लगानीबाटपहिलो फाइनान्स कम्पनीको रुपमा २०४९ सालमा स्थापना भएको नेपाल फाईनान्स लिमिटेडको ३०औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शेयरधनीहरुको उल्लेखनीय सहभागीतामा संचालकहरु हिरेन्द्रमान प्रधान, दिप्रश शाक्य, राजन प्रजापती, विकेश शाक्य, रोजीना श्रेष्ठ, लक्ष्मी महर्जन र स्वतन्त्र संचालक आनन्द कृष्ण ताम्राकार लगायत आधारभुत शेयरधनीहरुको उपस्थितीमा आज शनिबार सम्पन्न सम्पन्न भएको हो । साधारण सभामा सामान्य प्रस्तावहरु अन्तर्गत आ.व. २०७८/७९ को वार्षिक वित्तीय विवरणहरु पारित गर्नुको साथै आ.व. २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गर्ने निर्णय पारित गरेको छ । साधारण सभाले बिशेष प्रस्ताव अन्तर्गत अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्ने÷गाभिने एवम् प्राप्ति गर्ने कार्यको लागि संचालक समितिलाई अख्तियारी प्रदान गरेको छ । संस्थाका संचालक समिति अध्यक्ष हिरेन्द्रमान प्रधानको सभापतित्वमा सम्पन्न भएको साधारण सभामा संचालक दिप्रश शाक्यले स्वागत मन्तव्य राखेका थिए । यसैगरी संस्थाका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलियाले हाल सम्मको प्रगती विवरणहरुको बारेमा प्रकाश पारेका थिए । सभाको संचालन कम्पनी सचिव बिष्णु प्रसाद गौतमले गरेका थिए । सभामा शेयरधनीहरुले विभिन्न जिज्ञासा, सुझाव एवम् शुभकामना र धन्यबाद दिँदै संस्थाले छोटो समयमा नै शाखा विस्तार, खराब कर्जा असूली र शाख सृजना गरी व्यवसाय विस्तार गर्न सफल भएकोमा संचालक एवम् व्यवस्थापनलाई धन्यवाद दिएका थिए । सभाले आगामी दिनहरुमा खराब कर्जा नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र ल्याउन र नपुग भएको चुक्तापुजीं पुर्याउने गरी कार्य गर्न एवम् आगामी साधारण सभामा शेयरधनीलाई थोरै भएपनिलाभांशवितरणगर्न सक्ने हुनको लागि संचालक तथा ब्यवस्थापनलाई सुझाव एवम् शुभकामना तथा शुभेच्छा समेत प्रदान गरेका थिए । सभामा शेयरधनीहरुले उठान गरेका जिज्ञासाहरुको समाधान संस्थाका अध्यक्ष एवम् सभाका सभापति हिरेन्द्रमान प्रधान एवम् संस्थाका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलियाले गरेका थिए ।

‘मेरा लागि गौरव, जिम्मेवारी र चुनौती छ’ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाली जनताका आशाअपेक्षा पूरा गर्न आफ्नो पूरा सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् । कम्युनिस्ट आन्दोलनका पुराना नेता, नेकपा (माओवादी केन्द्र) का ज्येष्ठ नागरिक सल्लाहकार मञ्चका केन्द्रीय सदस्य भुवनप्रसाद श्रेष्ठद्वारा लिखित ‘कम्युनिस्ट आन्दोलनका प्रेरक भुवन दाइ’ पुस्तकको आज विमोचन प्रधानमन्त्री दाहालले गोरखाका ठूला विकासका परियोजना निर्माणमा आफ्नो ध्यान गएको बताए । ‘अहिले ४६ वर्षपछि गोरखाको जनप्रतिनिधिका रुपमा निर्वाचित भएर देशको कार्यकारी प्रमुखको भूमिकामा छु । बूढीगण्डकी जलविद्युत् आयोजना, बेनीघाट–आरुघाट–लार्के सडक निर्माण, जिल्लाको कृषि, पर्यटन र जडीबुटीको विकासमा मेरो ध्यान गएको छ’, उनले भने। गोरखाको जनप्रतिनिधि नहुँदा पनि जिल्लाको समृद्धिमा आफ्नो ध्यान केन्द्रित भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, ‘गोरखा, आरुघाट मेरो स्मृतिमा ताजै हुन्थ्यो, विगतमा पनि मैले सकेको सहयोग गरिरहेकै हुन्थेँ, अहिले त म त्यहीँको जनप्रतिनिधि छु । मेरो जिम्मेवारी अझ बढेको छ ।’ करिब ४० वर्षअघि प्रधानमन्त्री दाहालले गोरखाको आरुघाटस्थित भीमोदय माध्यामिक विद्यालयमा अध्यापन गर्ने काम गरेका थिए । प्रतिनिधिसभाबाट विश्वासको मत लिँदा असाधारण अवस्था देखिएको उल्लेख गर्दै उनले झण्डै सिङ्गै सदन नै विश्वासको मतका पक्षमा सहमत भएको बताए । ‘असाधारण उचाइका साथ मलाई समर्थन प्राप्त भएको छ । प्रधानमन्त्रीमा राष्ट्रिय सहमति भएको मैले अनुभूत गरेको छु । मेरा लागि यो थप गौरव, जिम्मेवारी र चुनौतीको विषय हो ।’ प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभामा उपस्थित दुई सय ७० मध्ये दुई सय ६८ सांसदले समर्थन गरेका थिए । उनले भने, ‘सिङ्गो सदन नै विश्वासको मत दिने अवस्थामा आयो । यो नेपाली राजनीतिमा असाधारण परिघटना भयो । करिब राष्ट्रिय सहमति नै भयो । सिङ्गो देशलाई एकताबद्ध भएर जाने वातावरण बनेको छ, देश एकताबद्ध भएर जान्छ ।’ पुस्तकमाथि चर्चा गर्दै प्रधानमन्त्री दाहालले भने, ‘भुवन दाईको पुस्तक विमोचन गर्न पाउँदा गौरवको अनुभूति भएको छ । झण्डै ४६ वर्ष पहिले भीमोदय माविमा फर्किएजस्तो अनुभूति भएको छ । पुराना शिक्षक साथीहरू र विद्यार्थीहरू पनि देख्दा छुट्टै आत्मीयता महसुस भएको छ । परिवारका सदस्यहरू पनि हुनुहुन्छ । मलाई युवा जीवनको स्मृति भइरहेको छ ।’ आरुघाटमा रहँदा आफूले श्रेष्ठसँग बिताएका क्षण अविस्मरणीय रहेको उल्लेख गर्दै उनले श्रेष्ठ र उनका परिवारजन सांस्कृतिकरुपले सुसज्जित, सभ्य र इमान्दार रहेको पाएको स्मरण गरे। ‘त्यतिबेलाको समय ऊर्जाशील थियो । हामीले उत्साहका साथ मिलेर काम गरेका थियौँ । म जानुपूर्व एसएलसीमा कोही पनि उत्तीर्ण भएका थिएनन् । म शिक्षक भएर गएपछि आठ विद्यार्थी उत्तीर्ण भए’, प्रधानमन्त्री दाहालले भने, ‘२२÷२४ वर्षको उमेर निकै महत्वपूर्ण र ऊर्जाशील रहेछ । मलाई नयाँ ऊर्जा प्राप्त भएजस्तो अनुभूति भएको छ ।

स्पार्क हेल्थहोममा कुमारीका ग्राहकले उपचार सहुलियत पाउने

काठमाडौं । आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र स्पार्क हेल्थहोम प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । सो सम्झौतापत्रमा कुमारी बैंकका डिजिटल मार्केटिंग प्रमुख अर्पण पौडेल तथा स्पार्क हेल्थहोम प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक हरी शरण रिजालले हस्ताक्षर गरेका थिए । यस सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले स्पार्क हेल्थहोम प्राइभेट लिमिटेडबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट–क्रेडिट कार्ड वा मोबाइल बैंकिंगबाट गर्दा उपचार खर्च तथा औषधि सेवाहरूमा १० प्रतिशत सम्म आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । आगामी दिनहरुमा पनि कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवाहरूमा सहुलियत दिन तथा डिजिटल कारोबारमा उत्प्रेरित गर्न आकर्षक योजनाहरु ल्याईरहने जनाएको छ । आफ्ना देशव्यापी २९९ शाखा सञ्जाल, ३४५ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४२ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा सुविधाहरु प्रदान गर्दै आएको कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता समेत जनाएको छ ।