एक करोड लागतमा बर्थिङ सेन्टर निर्माण हुँदै
कञ्चनपुर । लालझाडी गाउँपालिका–४ मा एक करोडको लागतमा बर्थिङ सेन्टर निर्माणकार्य थालिएको छ । सङ्घीय सरकारको विशेष अनुदान कार्यक्रमअन्तर्गत बर्थिङ सेन्टर निर्माण भइरहेको छ । निर्माण सुरु गरिएको बर्थिङ सेन्टर दुई तलाको हुने वडाध्यक्ष बहादुर रानाले जानकारी दिए । ‘तल्लो तलामा सुविधासम्पन्न बर्थिङ सेन्टर रहन्छ’, उनले भने, ‘दोस्रो तलामा स्वास्थ्यकर्मीका लागि आवास निर्माण हुन्छ ।’ चालु आर्थिक वर्षभित्रै बर्थिङ सेन्टर निर्माणकार्य पूरा हुने उनको भनाइ छ । ‘निर्वाचित भएर आएपछि आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्यायौँ, केन्द्रमै बर्थिङ सेन्टर सञ्चालन गरेका छौँ, स्वास्थ्यकर्मीदेखि आवश्यक ठाउँ र सामग्रीको अभाव छ’, उनले भने , ‘सुविधासम्पन्न बर्थिङ सेन्टरका लागि भवन निर्माण भएपछि सहज हुन्छ ।’ विगतमा बर्थिङ सेन्टर नहुँदा सुत्केरी हुने महिलाले पाँच किलोमिटर टाढाको देखतभुली स्वास्थ्यचौकी पुग्नुपर्ने बाध्यता थियो । ‘प्रसूति हुने महिलालाई स्वास्थ्यचौकी पु-याउनै निकै समस्या थियो’, स्थानीय लक्ष्मण रानाले भने, ‘स्वास्थ्यचौकी नपुग्दै महिलाले बीच बाटोमै जोखिम मोल्दै सुत्केरी हुन्थे, गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि महिलाले बीच बाटोमै बच्चा पाउनुपर्ने बाध्यता हट्ने भएको छ ।’ देखतभुली स्वास्थ्यचौकी पुग्नका लागि गाउँको बीचमा नदी तर्नुपर्ने बाध्यता रहेको छ । ‘वर्षात्का बेला नदीमा बाढी आएका बेला सुत्केरी हुने महिलालाई काँधमा बोकेर लैजानुपर्ने अवस्था थियो’, रामकुमारी रानाले भने, ‘बाढीका कारण नदी तर्न नसकेर सुत्केरी हुने महिलालाई घरमै फर्काएर ल्याउने गरिएको थियो, निकै जोखिम थियो, बर्थिङ सेन्टर निर्माण हुन थालेपछि विगतका दुःखका दिनको अन्त्य हुने भएको छ ।’ बर्थिङ सेन्टर निर्माण भएपछि लालझाडी गाउँपालिका–४ का एक हजार घरघुरी र शुक्लाफाँटा नगरपालिका–१२ का चार सय घरघुरी लाभान्वित हुने भएका छन् । दुवै पालिकाका वडामा आदिवासी जनजाति थारू समुदायको बाहुल्यता रहेको छ ।
मिटरजडित ट्याक्सीमा स्वचालित भाडा लागू गर्नुपर्ने माग
काठमाडाैं । नेपाल मिटर ट्याक्सी व्यवसायी चालक समाजले आफ्ना १६ बुँदे माग सार्वजनिक गरेको छ । समाजले आफूहरूको व्यवसाय र लगानीको सुरक्षा नभएको भन्दै माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । चालक समाजले राज्यले ट्याक्सी व्यवसायीलाई बन्धक बनाएको भन्दै १६ बुँदे माग सार्वजनिक गरेको हो । मिटर जडित ट्याक्सीमा स्वचालित भाडा लागू गर्नुपर्ने चालक समाजले माग अघि सारेको छ । एकद्वार कर प्रणाली लागू गर्नपर्नेमा जोड दिँदै महानगर वा सरकारले एप बनाएर ट्याक्सी सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्ने उनीहरूको भनाइ छ । चालक समाजले पेशा व्यवसायका क्रममा विभिन्न मितिमा हत्या गरिएका र कुटपिट गरी घाइते बनाइएका ट्याक्सी व्यवसायीको न्यायका लागि सरकारले पहल गर्नुपर्नेमा जोड दिएको छ । चालकले लगाउनुपर्ने पहेँलो ज्याकेटलाई हटाउनुपर्ने इम्बोड नम्बरमा नेपाली भाषाको प्रयोग गरिनुपर्नेलगायत माग चालक समाजले राखेको छ । चालक समाजका संस्थापक अध्यक्ष सानु पूर्वछानेले इम्बोस्ड नम्बरमा राज्यले गरेको व्यवस्था आफूहरू मान्न तयार नरहेको स्पष्ट पारे । उनले विभिन्न समयमा ४३ ट्याक्सी चालकको हत्या भएको उल्लेख गर्दै हत्यारा पहिचान गरी तत्काल कारबाही गर्न पनि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराए । ‘हामी पहेँलो प्लेटको नम्बर मान्दैनौँ । हामीलाई नेपालको संवत् र देवनागरीमा जिपिएस फिट गरिएको नम्बर चाहिन्छ’, उनले भने, ‘हाम्रो माग पूरा नभए सम्पूर्ण सवारीसाधन टुँडिखेलमा लगेर थुपारिदिनेछौँ ।’ वरिष्ठ अधिवक्ता ध्रुवलाल प्रधान, डा नन्दकाप्री, नेपाल मिटर ट्याक्सी व्यवसायी चालक समाजका अध्यक्ष प्रेमकुमार तमाङ, उपाध्यक्ष बाबुकाजी श्रेष्ठलगायतको उपस्थिति थियो ।
देवघाट स्नानका लागि निःशुल्क र्याफ्टिङ
नवलपुर । नवलपुर, तनहुँ र चितवन तीन जिल्लाको सङ्गममा पर्ने पवित्र तीर्थस्थल देवघाटधाममा स्नान गर्न जानका लागि नवलपुरतर्फबाट निःशुल्क र्याफ्टिङ डुङ्गाको व्यवस्था गरिएको छ । जिल्लाको गैँडाकोट नगरपालिका–३ का वडाध्यक्ष शिवकान्त तिवारीले केलादीघाट हुँदै वेणीमा जानका लागि निःशुल्क र्याफ्टिङ डुङ्गाको व्यवस्था गरिएको बताए । ‘माघे सङ्क्रान्तिको दिन नवलपुर र चितवन जोड्ने नारायणी नदीको पुल तरेर नारायणगढ हुँदै देवघाटको वेणी पुग्न तीर्थालुलाई निकै कठिन र असहज हुने गरेको छ’, वडाध्यक्ष तिवारीले भने, ‘तीर्थालुहरूले माघे सङ्क्रान्ति स्नान सहजरूपमा गरुन् भन्ने उद्देश्यले हामीले केलादीघाटबाट निःशुल्क र्याफ्टिङ डुङ्गाको व्यवस्था गरेका हौँ ।’ नवलपुरसहित पश्चिमबाट आउने तीर्थालुहरू गैँडाकोटको केलादीघाट हुँदै देवघाट स्थान गर्न जाँदा सहज र छिटो हुने तिवारीको भनाइ छ । ‘हाम्रो वडाको प्रचारप्रसारसहित सहज बाटोबाट तीर्थालुहरू देवघाट पुगुन् भन्ने उद्देश्यले हामीले पहल गरेका हौँ’, वडाध्यक्ष तिवारीले भने, ‘डुङ्गा सञ्चालकसँग हामीले सम्झौता गरेका छौँ, उनीहरूलाई वडा कार्यालयले नै शुल्क भुक्तानी गर्छ, डुङ्गा चढ्ने तीर्थालुसँग कुनै पनि शुल्क लिदैनौँ ।’ गैँडाकोटको पुलचोकबाट करिब पाँच किलोमिटर उत्तरतर्फ लागेपछि केलादीघाट आउने भन्दै तिवारीले केलादीघाट तरेपछि देवघाटको वेणी सङ्गममा पुग्न सकिने बताए । ‘माघे सङ्क्रान्तिको बेला चितवनतर्फबाट देवघाट जान भीडभाड मात्रै होइन बाटो पनि लामो पर्छ’, वडाध्यक्ष तिवारीले भने, ‘नवलपुरबाट सिधै देवघाट पुग्नका लागि बाटो छोटो र सहज हुने पनि हुन्छ ।’ नवलपुरभन्दा पश्चिमबाट आउने सबै तीर्थयात्रीलाई गैँडाकोटको केलादीघाटको बाटो प्रयोग गर्न वडाध्यक्ष तिवारीले आग्रह गरे । मुक्तिनाथबाट बग्दै आएकी कालिगण्डकी नदी र दामोदर कुण्डबाट बग्दै आएकी त्रिशूली नदीको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्ति पर्वको अवसरमा लाखौँ भक्तजन आउने गर्छन् । माघे सङ्क्रान्ति स्नानका लागि भक्तजन आउन सुरु गरेका देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीले बताए । देवघाट मेलालाई मध्यनगर गर्दै यहाँ यातायात, खानेपानी, शौचालय, बिजुलीबत्तीलगायतका सबै तयारी भएको अधिकारीको भनाइ छ । तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षाकर्मीको बैठकबाट सुरक्षा व्यवस्था कडा बनाउने निर्णयअनुसार काम भइरहेको अधिकारीले बताए ।
वायुसेवा निगमले कर्मचारी सञ्चय कोषलाई तिर्यो ३३ करोड
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कर्मचारी सञ्चयकोषलाई किस्ता वापतको रु ३३ करोड नौ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरेको छ । निगमले जहाज खरिद गरेबापत कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता रकम बुझाएको विज्ञप्तिमार्फत जनाएको हो । ‘कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा न्यारोबडी जहाज खरिदको साँवा र ब्याजबापतको रकम पछिल्लो पटक पुस २९ गते भुक्तानी गरिएको छ’, विज्ञप्तिमा भनिएको छ । यसअघि निगमले गत असार ३० गते रु एक अर्ब ३५ करोड र कात्तिक १ गते रु ७३ करोड नौ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरेको थियो । विगतमा विविध कारणले सञ्चयकोष तथा नागरिक लगानीकोषको ऋण दायित्व भुक्तानी नभइरहेकोमा पछिल्ला दिनमा नियमितरूपमा किस्ता तिर्दै आएको निगमले उल्लेख गरेको छ ।
स्वस्थानी मेलाभर साँखु बसपार्कदेखि बज्रयोगिनीसम्म निःशुल्क बससेवा
काठमाडाैं । शालिनदी यातायातले स्वस्थानी मेला भर्न साँखु शालिनदी पुगेका भक्तजनलाई बज्रयोगिनीसम्म लैजानका लागि निःशुल्क बस सेवा सुरु गरेको छ। शालिनदी यातायातले पुस २२ देखि स्वस्थानी मेला (माधवनारायण) मेलाभर शालिनदी मेला भर्न आएका भक्तजनको सुविधाका लागि सार्वजनिक बिदा र शनिबार दैनिक दुईवटा बस निःशुल्क प्रदान गरेको हो। शालिनदी यातायातका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठले शालिनदी मेला भर्न पुगेका भक्तजनलाई बज्रयोगिनीसम्म पुग्नका लागि साँखुस्थित नयाँ बसपार्कबाट बज्रयोगिनी मन्दिरसम्म दैनिक दुईवटा बस निःशुल्क प्रदान गरिएको जानकारी दिए। काठमाडौँको उत्तरी भाग शङ्खरापुर नगरपालिकामा पर्ने मणिचुड पर्वतको दुई पहराको बीचमा अवस्थित बज्रयोगिनी मन्दिर धार्मिक, पुरातात्विक तथा ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ। भगवान बुद्धको तपस्याबाट प्रशन्न भई प्रकट हुनुभएकी पार्वती नै बज्रयोगिनी भएको किवंदन्ती छ। यहाँ बौद्ध र हिन्दू परम्पराअनुसार देवीको पूजा गरिन्छ । उपत्यका र वरिपरि जिल्लाका भक्तजनले तान्त्रिक देवीको रूपमा बज्रयोगिनीको आराधना गर्छन्। यस्तै शालिनदी मेला भर्न गएका भक्तजनसमेत एकपटक बज्रयोगीनी मन्दिरसम्म पुग्ने गरेका छन्। गत वर्षहरूमा कोरोनाका कारण शालिनदी मेला भर्ने भक्तजनको सङ्ख्या तुलानात्मकरूपमा कम भए पनि यस वर्ष भने शालिनदी मेला भर्ने भक्तजनको सङ्ख्या ३० लाखभन्दा बढी हुने माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिए। रासस
आजको मौसम : आंशिकदेखि सामान्य बदली
काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले प्रदेश नं १, मधेस प्रदेशलगायत बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १, मधेस प्रदेशलगायत बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । विभागले देशभर पहाडी तथा हिमाली धेरै भू–भागमा र तराईका केही भू–भागमा बादल लागेर तथा तराईका थोरै भू–भागमा बिहानीपख हुस्सु–कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोध गरेको छ । राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने बताइएको छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव आठ डिग्री र अधिकमत तापक्रम १९ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइन एक दशमलव छ डिग्री सेल्सियस र सबैभन्दा बढी दिपायलको अधिकतम तापक्रम २३ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।
पसलमा आगलागी हुँदा लाखौँको क्षति
दमक । दमक-६ स्थित नमूना बजारमा रहेका नौ पसलमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । वडाध्यक्ष टेकबहादुर थापाका अनुसार आज बिहान करिब २ बजेतिर अचानक आगलागी हुँदा पसलका सम्पूर्ण सामान जलेर नष्ट भएको थियो । मुख्य बजारका ती ठाउँमा जुत्ता तथा कपडाका पसल रहेका थिए । आगलागीबाट जुत्ताचप्पल व्यवसायी राज श्रेष्ठको पसलसहित नौ पसलका सम्पूर्ण सामान नष्ट भएको उनले बताए । आगलागी कसरी भयो, कारण खुल्न सकेको छैन । आगलागी विद्युत् सर्ट भई लागेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताए । क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको उनले जानकारी दिए ।
गृहमन्त्रालयको निर्देशनसँगै दाङका सबै क्रसर उद्योग बन्द
काठमाडाैं । गृहमन्त्रालयले मापदण्डविपरीत सञ्चालनमा आएका अवैध क्रसरहरूलाई तत्काल बन्द गर्न निर्देशन दिएसँगै दाङमा पनि क्रसर उद्योग बन्द भएका छन् । गत पुस २० गते मन्त्रालयले निर्देशन दिएसँगै २१ गते जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक सूचना जारी गरी जिल्लामा रहेका सबै क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको थियो । सोहीअनुरुप जिल्लाका सबै क्रसर उद्योग बन्द भएका छन् । अहिले सबै उद्योग बन्द भए पनि वैध र अवैध उद्योग प्रमाणितपछि वैधानिक उद्योगलाई सञ्चालन गर्न अनुमति दिइने भएको छ । उद्योगहरूको अनुगमनका लागि समिति पनि गठन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा थापाको संयोजकत्वमा छानविन तथा अनुगमन समितिसमेत गठन गरिएको हो । यसको सदस्यहरूमा जिल्ला समन्वय अधिकारी, क्रसर व्यवसायी सङ्घका अध्यक्ष, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, नापी कार्यालय, सडक डिभिजन कार्यालय, जिल्ला घरेलु कार्यालय, विद्युत् कार्यालय तथा सम्बन्धित स्थानीय तहका प्रतिनिधिहरू रहने छन् । सोही समितिले कागजातका आधारमा छानविन अगाडि बढाउनेछ । दाङमा १२ क्रसर उद्योग र ३२ बालुवा प्रशोधन केन्द्र रहेका छन् । तर प्रशोधनको अनुमति पाएका आठ उद्योगले क्रसरको काम गरिरहेका छन् ।