काभ्रेमा आजदेखि जग्गाको कित्ताकाट खुल्याे
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा आजदेखि जग्गाको कित्ताकाट खुलेको छ। जिल्ला मातपोत कार्यालयले हाललाई सदरमुकाम धुलिखेल नगरपालिका र बनेपा नगरपालिकामा मात्र जग्गाको कित्ताकाट हुने जनाएको छ। यी दुई पालिकाले जग्गाको वर्गीकरण सम्पन्न गरेकाले कित्ताकाट खुला गरिएको हो। मालपोत अधिकृत गंगाप्रसाद पोखरेलका अनुसार जग्गा वर्गीकरण सकाएका काभ्रेपलाञ्चोकका अरू स्थानीय तहलाई कित्ताकाट अनुमति लिन पत्र समेत पठाइएको छ। कार्यालयले घर बाटोको सिफारिसमा एकरूपता हुनुपर्ने भएका वडा तहबाटै निश्चित ढाँचाको फाराम भरेर घरबाटो तथा जग्गा वर्गीकरण सिफारिस पठाइदिन अनुरोध गरेको हो। ‘जग्गा वर्गीकरण भएका मध्ये बनेपा र धुलिखेलमा मात्रै कित्ताकाट खुलाइएको हो,’ पोखरेलले भने। काभ्रेमा धुलिखेल र बनेपा नगर तथा चौँरीदेउराली र खानीखोला गाउँपालिकाले जग्गा वर्गीकरण गरेर जिल्ला मातपोत कार्यालयमा पठाएका थिए। चौँरीदेउराली र खानीखोला गाउँपालिकाको भने वर्गीकरणमा समस्या देखिएपछि पुनः वर्गीकरणका लागि पठाइएको पोखरेलले बताए। अरू पालिकाबाट भने मालपोत कार्यालयमा अहिलेसम्म जग्गा वर्गीकरण भएका निवेदन परेको छैन। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गएको जेठ २७ गते घरजग्गा कारोबारमा लगाएको रोक करिब सात महिनापछि काभ्रेपलाञ्चोकमा खुलेको हो। मन्त्रालयले गत मङ्सिर २२ गतेसम्म स्थानीय सरकारले स्थानीय भू-उपयोग परिषद्बाट जग्गाको स्थायी तथा अस्थायी वर्गीकरण गर्नुपर्नेमा जिल्लाका नौ स्थानीय तह नागरिक प्रति अझै अनुत्तरदायी देखिएको बताइन्छ । कार्यालयले भू–उपयोग नियमावली २०७९ कार्यान्वयनमा आइसकेको अवस्थामा जग्गाको वर्गीकरण भइसकेका स्थानीय तहहरुबाट आएका भू–उपयोग परिषद्को निर्णयअनुसार सबै कित्ता जग्गाको जग्गाधनी श्रेस्ता/पुर्जा तथा नक्सामा अध्यावधिक गरेर मात्र सेवा प्रवाह गर्नुपर्ने भएकाले अनिवार्यरुपमा मिति २०७९ साल माघ २ गतेबाट खुला गरिएको जनाएको हो । लिखत रजिष्ट्रेसन पास बैंक तथा वित्तीय संस्थाको रोक्का, नामसारीलगायत अन्य निवेदनसम्बन्धी सेवा भू–उपयोग वर्गीकरण क्षेत्र खुल्ने गरी स्थानीय तहहरुबाट सिफारिस आएपश्चात् मात्र सेवा प्रवाह गरिने कार्यालयले जनाएको छ । जल्लास्थित चौँरीदेउराली र खानीखोला गाउँपालिकाले सबै भूमि गैरकृषि क्षेत्र कायम गरिएको जानकारी गराएकाले पुनः वर्गीकरण गर्न भनिएको हो । गत जेठ २७ गतेदेखि मङ्सिर २२ गतेसम्म जग्गा वर्गीकरणमा आलटाल गरिरहेका स्थानीय सरकारले विज्ञ नभएका कारण समस्या भएको बताएका छन् । जग्गा वर्गीकरण नहुँदा नागरिकका अंशबण्डासमेत हुन नसकेको बताइन्छ । नेपाल लेखापढी कानुन व्यवसायी सङ्घका अध्यक्ष रोशनकुमार श्रेष्ठका अनुसार जसका कारण राज्यको राजस्व घटिरहेको छ भने नागरिकले आफ्नो जमिन धितो राखेर उपचारसमेत गर्नबाट वञ्चित बनेका छन् । सङ्घले जिल्लाका सबैै स्थानीय तहमा जग्गाको भू–वर्गीकरण समयमै सम्पन्न गर्न ज्ञापनपत्रसमेत बुझाएको थियो । नियमावलीमा स्थानीय सरकारले जग्गा भू-वर्गीकरण गर्न नसके प्रदेश सरकारले गर्ने उल्लेख छ । जग्गा वर्गीकरण नहुँदा मालपोत कार्यालयले प्राप्त गर्ने करोडौँ राजस्व घटेको छ । यसअघि नामसारी, दृष्टिबन्धक (व्यक्तिगत), पूरा कित्ता (अंश बण्डा), पूरा कित्ता (पास), छोडपत्र (पूरा) सगोलनामा मात्रै कारोबार हुने गरेको थियो । रासस
खराब मौसमका कारण आन्तरिक उडान प्रभावित
काठमाडौं । खराब मौसमका कारण सोमबार बिहानैदेखि आन्तरिक उडान प्रभावित भएको छ । अधिकांश विमानस्थलमा हुस्सु र कुहिरोका कारण उडान प्रभावित बनेको त्रभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । भिजिबिलिटी कम भएपछि काठमाडौंमा भने आएफआर प्रविधिबाट उडान सुरु भएको छ । यसले गर्दा अन्तर्राष्ट्रिय उडान/अवतरण भने रोकिएको छैन ।
पोखरा विमान : दुर्घटना २६ जनाको शव पहिचान
पोखरा । आइतबार अकल्पनीय दुर्घटनामा परेको यति एयरलायन्सको जहाजमा सवार यात्रुमध्ये २६ जनाको शव पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६७ जनाको शव लगिएको र ती मध्ये हालसम्म २६ जनाको पहिचान खुलेको जानकारी दिए । पहिचान खुलेका शव जिम्मा लगाउनका लागि आफन्तलाई बोलाइएको उनले जानकारी दिए । बिहानैदेखि पोखराको मौसम प्रतिकूल भइरहेका कारण पनि उद्धारका कठिनाइ भएको छ ।
नवलपरासीमा अवैध रुपमा सञ्चालनमा रहेका थप छ क्रसर उद्योग बन्द
नवलपरासी । पछिल्लोपटक नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा अवैधरुपमा सञ्चालनमा रहेका छ क्रसर उद्योग बन्द गराइएको छ । गृह मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको थियो । सोही पत्रअनुसार थप छ क्रसर उद्योग बन्द भएका हुन् । गृहको परिपत्रको पालना गर्दे नियमविपरीत सञ्चालनमा रहेका क्रसर बन्द गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । सुनवल नगरपालिका–११ को इन्द्रणी क्रसर उद्योग, सुस्ता गाउँपालिका–५ को ओम गिट्टी क्रसर उद्योग, बर्दघाट नगरपालिका–१३ को ओम बालुवा प्रशोधन उद्योग, सरावल गाउँपालिका–२ को मामा भान्जा बालुवा गिट्टी प्रशोधन तथा निर्माण सामग्री प्रालि, सुनवल नगरपालिका–४ मा नारायणगढ बुटवल सडक आयोजनाको क्रसर र प्रतापपुर गाउँपालिका–९ मा हुलाकी सडक आयोजनाद्वारा सञ्चालित क्रसरलाई बन्द गराइएको छ । जिल्लामा यसअगावै सात क्रसर उद्योग रहेकोमा एउटा यसअघिनै बन्द थियो । सुनवलमा रहेको लुम्बिनी रोडा क्रसर उद्योग यसअघि देखिनै बन्द छ । जिल्लामा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन बिक्री, तथा व्यवस्थापन मापदण्ड २०७७ विपरीत कतिपय क्रसर उद्योग सञ्चालन हुँदै आएका छन् । यस्तै तोकिएको अवधि सकिएर पनि नवीकरण नगराएका कपितय कतिपय उद्योग पनि सञ्चालनमा छन् ।
फलफूल खेतीमा रमाउँदै डोटीका युवा, मनग्य आम्दानी
दिपायल । डोटीमा पछिल्लो समय कृषि पेसामा लाग्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । तीनैमध्येका एक हुन डोटी जिल्लाको जोरायल गाउँपालिका-५ गड्सेरा नकुरडाका लक्ष्मण देउवा । उनले व्यावसायिक फलफूल खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । स्नातक तह उत्तीर्ण गरेका उनी विद्यार्थी राजनीतिक अनुभवसँगै अहिले फलफूल खेतीमा जमेका छन् । जिल्लाको जोरायल गाउँपालिका-५ गडसेरामा काफली गन्याप फलफूल तथा तरकारी फार्म दर्ता गरी १० लाखको लगानीमा आफ्नो निजी बाजो जमिनमा झण्डै ५४ रोपनी जमिनमा तीन हजार बोट कागती, अमिलो, सुन्तला केरा रोपेर उनले व्यावसायिक खेती सुरु गरेका छन् । कागती खेतीबाट उनले वार्षिकरूपमा चार लाख आम्दानी लिएका छन् । लगानीको तुलनामा कागती खेतीबाट नाफा बढी हुने उनी बताउँछन्। ‘खर्च कम, मलजल पनि थोरै भए पुग्ने, मिहेनत पनि कम लाग्ने, आम्दानी भने राम्रो हुने भएकाले कागतीखेतीतर्फ यहाँका किसान आकर्षित भएका छन् ।’ किसान देउवाले भने। उनले बर्सेनि रोजगारका लागि भारत तथा खाडीमुलुक जाने गरेकोमा यसलाई राज्यले रोकेर आफ्नै देशमा यस्तै आयआर्जनमूलक काममा लगाउनुपर्ने सुझाव दिए। लामो समय भरतमा रोजगारी गरे पनि सोचेजस्तो कमाइ नभएकाले स्वदेशमा आई व्यावसायिक कृषि पेसामा लागेको बडीकेदार गाउँपालिका-५ थान्कोटका प्रकाश मल्लले बताउँछन् । भागरथी कृषि तथा पशुपन्छी फार्म दर्ता गरी चार सय कागती र दुई सय सुन्तलाका बिरुवा लगाएको उनले जानकारी दिए । साथै वार्षिकरुपमा एक लाख आम्दानी हुने गरेको मल्लले जानकारी दिए । स्थानीय सरकारले कृषि व्यवसायलाई प्रभावकारी बनाउनका लागि अनुदानमा ऋण, सीपमूलक तालिम, कृषि कार्यक्रम दिनुपर्ने उनको भनाइ छ । डोटी जिल्लामा कागती ८८ हेक्टर, निबुवा दुई सय ८१ हेक्टर, मौसम एक सय ७२ हेक्टर र सुन्तला तीन सय १३ हेक्टर, गरेर जम्मा आठ सय ५४ हेक्टर क्षेत्रफलमा हिउँदे फलफूल खेती विस्तार भएको कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरुले जानकारी दिए ।
अन्नपूर्ण पदमार्गमा १६ हजार पर्यटकले घुमफिर गरे
लमजुङ । यहाँस्थित विश्व चक्रिय अन्नपूर्ण पदमार्गमा सन् २०२२ मा १५ हजार नौ सय विदेशी पर्यटकले घुमेका छन्। ती मध्ये १० हजार तीन सय ६४ पुरुष र पाँच हजार पाँच सय ३६ महिला रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप पर्यटक जाँच केन्द्र धारापानीले जनाएको छ। पर्यटकमध्ये सबैभन्दा धेरै फ्रान्सका दुई हजार १२ पर्यटक आएको बताइएको छ। यस केन्द्रका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार सन् २०२१ मा भन्दा सन् २०२२ मा १३ हजार छ सय २७ जना बढी पर्यटक आएका थिए। सन् २०२१ मा एक हजार पाँच सय ६२ पुरुष र सात सय ११ जना महिला गरी दुई हजार दुई सय ७३ जना पर्यटक आएको थियो। कोरोना सङ्क्रमका कारण प्रभावित हुँदै आएको यस पदमार्गमा अघिल्लो वर्षहरुमा भन्दा गत वर्षमा पर्यटक वृद्धि भएको उनको भनाइ छ। उनले भने, ‘लामो समय कोरोना सङ्क्रमणका कारण प्रभावित भएपनि विस्तारै सङ्क्रमणको जोखिम कम भएसँगै पर्यटक आगमन हुन थालेको छ।’ सरकारले आवश्यक प्रचारप्रसार गर्न नसक्दा सन् २०२२ मा उक्त सङ्ख्यामा मात्र आयो नत्र त्योभन्दा दब्बल तेब्बर नै हुने थियो। त्यस्तै, सन् २०२० मा एक हजार नौ सय ७६ जना पर्यटक आएको थियो। त्यस्तै, केन्द्रका अनुसार सन् २०१९ मा ३६ हजार छ सय ४७ जना पर्यटक, सन् २०१८ मा २९ हजार चार सय ८४ जना पर्यटक, सन् २०१७ मा २१ हजार ६८ जना पर्यटक पदमार्गमा आएका थिए। सन् २०१७ बाट पर्यटक आगममा वृद्धि हुँदै गर्दा सन् २०२० मा कोरोना सङ्क्रमणको पहिलो लहर आएयता पदमार्ग क्षेत्र नै प्रभावित भएको थियो। यस पदमार्गमा आउने पर्यटकमध्ये, छिमेकी मुलुक चीन, भारत, जापान, अष्ट्रेलिया, बेलायतलगायतबाट आउने पर्यटक बढी रहेको उक्त केन्द्रका पर्यटन सहायक गुरुङले बताए। केही समयसम्म दैनिक एक सय ५० जनाभन्दा बढी आउने गरे पनि चिसो बढेसँगै यति बेला भने एक दुई विराएर दुई चार जना मात्र आउने गरेको उक्त केन्द्रले जनाएको छ। अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङे चौतार रहेको छ। यस पदमार्ग लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच वटा जिल्ला जोडिएको छ। पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नलाई साथै मनाङबाट थुम्रापास गरी मुस्ताङ कोही पोखरा जानका लागि अन्नपुर्ण पदमार्गमा पर्यटक आउने गर्छन्। साथै मनाङमा रहेको विभिन्न हिमाल चढ्न तथा हेर्नका लागि आउने गरेको पाइन्छ। यस पदमार्ग आसपासमा रहेका पर्यटन व्यवसायी पर्यटक आगमन हुँदा व्यवसाय राम्रो सञ्चालन हुन्छ तर पर्यटक घट्न व्यवसाय नै घट्ने गर्दा उनीहरु चिन्तित हुने गर्दछन्।
पोखरा विमान दुर्घटना : शव आफन्तलाई जिम्मा लगाइँदै
काठमाडौं । पोखरामा आइतबार भएको यति एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ । दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू विहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए । पहिचान नभएका, विदेशी नागरिक एवं काठमाडौँमा आफन्त भएका व्यक्तिको शव हेलिकप्टरमार्फत पठाउने तयारी गरिएको छ । जहाजमा सवार ७२ जनामध्ये हालसम्म ६६ जनाको शव सङ्कलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिसकिएको छ । तीनवटा शव देखिए पनि भौगोलिक कठिनाइका कारण ल्याउन नसकिएको र छ जनाको शव अझै फेला नपरेको सहायक प्रजिअ शाहीले जानकारी दिए । सेती नदीको अप्ठेरो खोचमा विमान दुर्घटना भएको र रातको समय भएकाले उद्धारमा कठिनाइ भएसँगै आइतबार राति स्थगित उद्धार आज बिहानैदेखि सुरु गर्न लागिएको छ ।
यती एयरलाइन्सको साेमबार हुने उडान सबै रद्द
काठमाडौं । यती एयरलाइन्सले सोमबार हुने भनिएका सबै उडान रद्द गरेको छ । आइतबार पोखरामा एटिआर जहाज दुर्घटनामा परेपछि आइतबार साँझ एक सूचना जारी गर्दै एयरलाइन्सले भोलि हुने सबै नियमित उडान रद्द गरेको जानकारी दिएको हो । एयरलाइन्सले आपतकालीन र उद्धारका उडान भने हुने जनाएको छ । ४ चालक दलका सदस्य र ६८ यात्रु सवार गरेकाे विमान दुर्घटनामा परी अहिलेसम्म ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ।