विकासन्युज

सिटिजन्स बैंकको थप २ शाखा मधेश प्रदेशमा

काठमाडौं । सिटिजन्स बैक इन्टरनेसनलले थप दुई स्थानमा शाखा विस्तार गरेको छ । बैंकले सर्लाहीको बरहथवामा र वीरगन्जको कृष्ण प्रणामी चोकमा शाखा विस्तार गरेको हो । योसँगै बैंकको शाखा संख्या १८२ पुगेको छ । सुविधा सम्पन्न यस शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको जनाएको छ । बैंकले उक्त शाखाबाट सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए।टि।एम।सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने जनाएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३५ वटा ए।टि।एम। र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख २१ हजार ग्राहकवर्गलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

पोखरा विमान दुर्घटना : पोष्टमार्टममा केही समय लाग्ने

पोखरा । आइतबार भएको यती एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव पोष्टमार्टम सुरु हुन सकेको छैन । पहिचान भएमध्ये पोखरा र आसपासका व्यक्तिको शव यहीँ आफन्तलाई बुझाउने गरी यहीँ नै पोष्मार्टम गरिने र काठमाडौँ लगिने शव काठमाडौँमा नै पोष्मार्टम गर्नेगरी तयारी गरिएको जानकारी दिइएको छ । हवाई दुर्घटनामा परी निधन भएकाको शव पोष्टमार्टम सम्बन्धमा प्रक्रियागतरुपमा टोली गठन गर्ने व्यवस्थाअनुसार सम्बन्धित निकायमा पत्राचार गरिसकिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिकुमार शाहीले जानकारी दिए । पोष्टमार्टमका लागि अन्य आन्तरिक तयारी भइसकेको बताउँदै उनले प्रक्रियागतरुपमा केही समय अझै लाग्ने जानकारी दिए ।

दिउँसोको टिकट बिहान सारेका थिए त्रिभुवनले

पोखरा । प्रेस सेन्टर पदाधिकारीको बैठकमा सहभागी हुन पोखराका पत्रकार त्रिभुवन पौडेल शुक्रबार काठमाडौं गएका थिए । पदाधिकारीको बैठक सकेर आइतबार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने कार्यक्रम थियो । प्रधानमन्त्रीको व्यस्तताका कारण उनलाई आइतबार बिहान भेट्न सम्भव नभएपछि पौडेलले आफ्नो दिउँसो २ बजेको टिकट बिहान सारेर पोखराका लागि उडेका थिए । ‘आइतबार बिहान प्रधानमन्त्रीसँगको भेट सम्भव नभएपछि सम्भवः माघे सङ्क्रान्तिमा परिवारसँग मनाउने योजनापछि उनले दिउँसोको टिकट बिहान सारेको हुनसक्छ’, पत्रकार महासङ्घ कास्कीका पूर्वअध्यक्ष रामकृष्ण ज्ञवालीले भने । पत्रकार पौडेल बिहानको उडानबाट घर आउने जानकारी श्रीमती प्रतिभालाई पनि थिएन । ‘आइतबार बिहान काठमाडौंबाट ‘गुड मर्निङ बुढी’ भन्दै म्यासेजको रिप्लाइ आएको रहेछ’, बहिनीलाई सम्हालिरहेकी पौडेलकी दिदीसासू अजिता अधिकारीले भनिन्, ‘सम्भवतः हतारमा बिहान आउँदैछु भन्ने खबर गर्न नपाएको हुनसक्छ ।’ यतिसम्म कि बिहान ११ बजेर १५ मिनेटतिर पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको खबर पाउँदा पनि प्रतिभालाई आफ्नो श्रीमान् पनि त्यही विमानमा थिए भन्ने हेक्का थिएन । दिउँसोको टिकट काटेकाे भन्दै उनी श्रीमान् विमानमा नभएको भन्दै मन भुलाउने प्रयासमा थिइन् । सामाजिक सञ्जालमा सार्वजनिक यात्रुको सूचीमा श्रीमान्को नाम देखेपछि भने उनको मनको शङ्का बढ्दै गएको थियो । जब पटकपटकको प्रयासमा पनि फोन सम्पर्क हुन नसकेपछि भने शङ्का यथार्थमा बदलिदियो । दुर्घटनापछि श्रीमान् खोज्दै अस्पताल पुगेकी उनी बेहोस भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न लैजानु परेको थियो । आइतबार साँझ ६.३० बजेसम्म उनलाई अस्पतालबाट घर फर्काइसकिएको थियो । कोठाका भित्ताभरी टाँगिएका श्रीमान्का तस्बिर हेर्दै उनी एकोहोरो रोइरहेकी थिइन् । टेबुलमाथिको पोखरा मिडिया कपको ब्राण्ड एम्बेसडर लेखिएको फुटबल समातेर मुस्कुराइरहेका श्रीमान्को तस्बिरलाई हेरेर उनी निकैबेर रुइन् । ‘कस्तो मान्छे होला, अहिलेसम्म नआउने, बिरामी हुँदा त आउनुपर्छ नी, म कुरेर बसेको पनि कस्तो थाहा नपाएको ?’ श्रीमान्को तस्बिरसँग उनले गुनासो गरिन् । उनको ती शब्दले वरिपरि बसिरहेका आफन्त शुभचिन्तकको आँखा रसाइरहेको थियो । ‘ज्वाइँ काठमाडौँमै भएकाले माघको ५/६ गतेतिर श्रीमतीलाई उतै बोलाउने भन्ने पनि कुरा भएको रहेछ’, पत्रकार पौडेलकी दिदीसासू अधिकारीले भनिन्, ‘माघ ९ गतेको ‘एनिभर्सरी’ उतै मनाउने योजना उहाँहरुको थियो ।’ आइतबार साँझसम्म घरमा मानिसको भिड लागिसकेको थियो । तल्लो तलामा श्रीमती र माथिल्लो तलामा आमालाई सम्झाउनेलाई सम्हाल्न गाह्रो भइरहेको थियो । ‘मलाई त काठमाडौँ गएको भन्ने पनि थाहा थिएन, म जाने बेलामा अघि लागेर आफैँ गयो’, रुँदै गरेकी पौडेलकी आमाले भनिन्, ‘कतै जाँदा सधैँभरी खबर गर्ने छोराले खोइ किन हो तर यसपाली गरेन ।’ सानै उमेरदेखि पत्रकारितामा होमिएका पौडेल सानैदेखि मिहेनती थिए । पोखराका अग्रज पत्रकार प्रेस स्वतन्त्रता सेनानी बद्री विनोद खनाल (प्रतीक)का अनुसार पौडेलले १५/१६ वर्षको उमेरदेखि नै पत्रकारिता सुरु गरेका थिए । ‘मैले जनप्रियमा ७ कक्षादेखि १० कक्षासम्म पढाएँ, निकै टाठो र मेहनती थियो’, उनले भने, ‘माओवादीप्रति झुकाव राख्ने भएकाले सेना र प्रहरीको निगरानी थियो । मैले हटलाइनमा ल्याएर पत्रकारिता सिकाएको हुँ । त्यसअघि स्वाभिमान पत्रिकामा वितरक भएर काम गरेका थिएँ ।’ छोटो समयमा निकै प्रगति गरी आफूलाई स्थापित गर्न सफल पत्रकार पौडेल सबैलाई सहयोग गर्ने स्वभावको भएको उनले बताए । आफूलाई पनि बेलाबेला फोन गर्ने, स्वास्थ्य अवस्था बुझिरहने, भेट्न आउने गरेको उनले स्मरण गरे । घटनाले आफूलाई निकै मर्माहत बनाएका साथै पत्रकारिता जगतमै अपूरणीय क्षति भएको उनको भनाइ छ । उमेरले ३७ वर्ष पुगेका पौडेल नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य, नेपाल पत्रकार महासङ्घ गण्डकीका संस्थापक अध्यक्ष, महासङ्घ कास्कीका पूर्वउपाध्यक्ष एवं प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्षसमेत भइसकेका थिए । पौडेल तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराको प्रेस संयोजकका रुपमा समेत काम गरेका थिए । विसं २०७५ मा विवाह गरेका पौडेलका एक छोरा पनि छन् । पोखराबाट प्रकाशित हुने हटलाइन राष्ट्रिय दैनिकको सञ्चालकसमेत रहेका पौडेल रेडियो अन्नपूर्ण, नेपाल टेलिभिजन, हिमाल खबर पत्रिकालगायतका सञ्चारमाध्यममा काम गरेका थिए । स्वर्गीय पौडेलको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । उहाँको सम्झनामा नेपाल पत्रकार महासङ्घ, नेपाल पत्रकार महासङ्घ गण्डकी, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, प्रेस युनियन, प्रेस चौतारीलगायतका विभिन्न सङ्घसंस्थाले शोक वक्तव्य जारी गर्दै परिवारजनमा हार्दिक समावेदना व्यक्त गरेका छन् । पौडेलको पार्थिव शरीरलाई आजै पत्रकार महासङ्घ कास्कीको कार्यालयमा ल्याएर श्रद्धाञ्जली अर्पणको कार्यक्रम रहेका पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीले जानकारी दिए । रासस

आमाले बनाएको बटुक खान नपाइ अस्ताइन् २९ वर्षिय सिर्जना

रुपन्देही । आइतबार सैनामैनाकी खिमिसरा थापा विमान परिचारिका रहेकी छोरी सिर्जना (सिर्जु थापा) लाई पठाइदिनका लागि पाहुर तयार पार्दै थिइन् । २९ वर्षीया छोरी सिर्जनालाई मनपर्ने बटुक र सेलरोटी पकाउन उनलाई भ्याइनभ्याइ थियो । सोमबार बुहारी सरस्वतीको साथमा छोरीलाई पाहुर पठाउन खिमिसरा बिहानैदेखि सेलरोटी पकाउन व्यस्त थिइन् । सात वर्षदेखि यती एयरलाइन्समा एयर होस्टेसका रूपमा कार्यरत छोरी चाडबाडका बेलामा पनि घर आउन नभ्याएपछि सोमबार कोसेली लिएर बुहारी सरस्वती काठमाडौंमै पुग्ने तयारीमा थिइन् । सिर्जनाको आइतबार दुईवठा हवाइउडानका लागि पालो परेको थियो । बिहान साढे १० बजे काठमाडौंदेखि यतिएयरलाइन्सको एटिआर ७२ जहाजमा पोखरा उडान भर्ने र आइतबारै पोखराबाट काठमाडौं फर्किएपछि भद्रपुर जाने तालिका उनले शनिबार फोनमा आमा खिमिसरालाई बताएकी थिइन् । माघे सङ्क्रान्तिका दिन रूपन्देहीमा बिहानैदेखि शीतलहर चलेको थियो । अघिल्लो दिन घाम लागे पनि त्यस दिन निकै चिसो र बाक्लो हुस्सु लागेको थियो । यत्तिकैमा बिहान ११ः३० बजेतिर पोखरामा विमान खस्यो भन्ने समाचार जताततै फैलियो । पछि यति एयरकै जहाज खसेको थाहा पाएपछि उहाँलाई पत्याउन कर लाग्यो र सैनामैना नगरपालिका–५ बुद्धनगरमा रहेको सिर्जनाको घरमा पनि रुवावासी सुरु भयो । सिर्जनाका छिमेकी जम्मा हुनथाले सिङ्गो गाउँ नै शोकमा परिणत भयो । एक दिन अगाडि फोनमा छोरीसँग घण्टौँ कुरा गरेकी खिमिसरालाई त्यो घटना सुरुमा विश्वास गर्न गाह्रो भयो तर केही छिनमै सामाजिक सञ्जाल र मिडियामा नामसहित विवरण आउन थालेपछि खिमिसरालाई पत्याउन कर लाग्यो । घटनापछि उनको घरमा छिमेकी जम्मा भए । ‘हिजो फोनमा कुरा गर्दा अलि धेरै बटुक र रोटी पठाइदिनु है ममी भनेकी थिई, आज यस्तो भयो’ खिमिसराले भक्कानिँदै भनिन् । ‘बटुक धेरै मनपर्छ, अलि धेरै पठाइदिनु है मम्मी’ भन्ने वाक्य खिमिसराको मनमा अझै गडेर बसेको छ । भारतीय सेनाबाट अवकाश प्राप्त बुबा रिमबहादुर र खिमिसराकी छोरी सिर्जनाका साथै तीन छोरा छन् । उनको निधनपछि सैनामैनामा शोकमा रहेका आफन्त, छिमेकी र स्थानीय जनप्रतिनिधिले खिमिसरा र परिवारका अन्य सदस्यलाई सान्त्वना दिने काम गरिरहेको वडाध्यक्ष धनप्रसाद पौडेलले जानकारी दिइन् । प्लस–टुसम्म सैनामैनाकै सिद्धार्थ मेमोरियल एकेडेमीमा अध्ययनरत सिर्जनाले बुटवलको क्रिमसन कलेज अफ टेक्नोलोजीबाट स्नातक तहसम्म अध्ययन पूरा गरी बुटवलकै सहारा एकेडेमीबाट एयर होस्टेस तालिम लिएर २०७२ सालदेखि यती एयरलाइन्समा काम गरेकी थिइन् । आइतबार बिहान १०ः३२ मा काठमाडौंबाट उडेको यती एयरलाइन्सको जहाज पोखरा महानगरपालिका–१५ नयाँ गाउँस्थित सेती नदीको खोँचमा दुर्घटना भएको हो । विमानमा ६८ यात्रु र चालकदलका चार सदस्यसहित ७२ जना थिए । दुर्घटनामा सबैको मृत्यु भएको थियो ।

दुर्घटनाग्रस्त जहाजको ब्ल्याक बक्स भेटियो, डाटा निकाल्न भारत पठाइने

फाइल फाेटाे काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुग्नै लाग्दा खोँचमा खसेको यती एयरलाइन्सको विमानको ब्ल्याक बक्स भेटिएको छ । दुर्घटनामा हराइरहेका मानिसको खोजीमा जुटेका उद्धारकर्मीहरूले सोमबार बिहान १० बजे विमानको ब्ल्याक बक्स भेटाएका हुन । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले उद्धारकर्मीले सोमबार बिहान जहाजको ब्ल्याक बक्स भेटिएको जनाएको छ । क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जहाजको ब्ल्याक बक्स भेटिएको भन्दै काठमाडौं ल्याउने तयारी थालिएको बताए । ‘हामीले ब्ल्याक बक्स काठमाडौं ल्याएपछि सरकारले गठन गरेको जाँच आयोगलाई हस्तान्तरण गछौँ, उनले भने, ‘ब्ल्याक बक्सको डेटा नेपालमा निकाल्न मिल्दैन, सम्भवत डाटा निकाल्न भारत पठाइन्छ ।’ उनले ब्ल्याक बक्सको सम्पूर्ण जिम्मा जाँचबुझ आयोगको रहेको भन्दै आयोगले आइतबारदेखि नै काम सुरु गरेको बताए । ब्ल्याक बक्समा जहाज दुर्घटना हुनुअघि पाइलटले आपसमा गरेको कुराकानी रेकर्ड भएको हुन्छ । जसले दुर्घटनाको कारण पत्ता लगाउन सहजीकरण गर्छ । सरकारले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा जाँच आयोगमा गठन गरेको छ । उक्त आयोगको सदस्यमा हवाईविज्ञ दीपकप्रसाद बास्तोला, हवाई विज्ञ सुनिल थापा, हवाई मर्मत सेक्टरका इन्जिनियर एकराजजंग थापा र जाँच आयोगको सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् । आयोगले ४५ दिनको समयावधिमा दुर्घटनाको कारण पहिचान गर्ने र आगामी दिनमा त्यस्तो दुर्घटना हुन नदिन अपनाउनु र गर्नुपर्ने कारण पहिचान गरी सुझावसहितको प्रतिवेदन प्रश्तुत गर्नेछ । जहाजमा क्याप्टेन कमल केसी, को–पाइलट अञ्जु खतिवडा र एयर होस्टेज सृजना होंगचुन र ओसीन आलो मगर थिए । जहाजमा चालद दलका ४ सदस्यसहित ६८ जना यात्रु गरी ७२ जनाको मृत्यु भएको छ । जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका थिए । दुर्घटनामा ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रशियन, एक जना आयरल्याण्ड, एक जना अष्ट्रेलियन, एक जना अर्जेटिनी, दुई जना कोरियन, एक जना फ्रान्सेली गरि ६८ जना र चालक दलका ४ जना सहित ७२ जना थिए । ब्ल्याक बक्स के हो ब्ल्याक बक्स विमानको पछिल्लो भागमा रहने विद्युतीय उपकरण हो । विमान दुर्घटनाका घटनामा यो उपकरण निकै महत्त्वपूर्ण हुन्छ । ब्ल्याक बक्स वास्तवमा कालो रङ्गको चाहिँ हुँदैन । यस्तो उपकरण गाढा सुन्तला रङ्गको हुन्छ । विमान दुर्घटना भएको ठाउँमा भेट्न सहज होस् भनेर यस्तो रङ्गमा ब्ल्याक बक्स बनाइएको हुन्छ । ‘दुर्घटना हुँदा कम क्षति हुने भाग भएकाले यसलाई विमानको पछिल्लो भागमा राखिएको हुन्छ,’ एक दर्जनभन्दा बढी विमान दुर्घटना छानबिनमा संलग्न भएका एरोनटिकल इन्जिनियर रतीशचन्द्र लाल सुमनले भने । प्रायः ब्ल्याक बक्समा दुईवटा भाग हुन्छन् । तर सबै विमानमा यी दुवै भाग नहुन पनि सक्छन् । उच्च तापक्रम र पानीमुनिको गहिरो सतहमा पनि यसभित्रका डेटा नष्ट नहुनेगरी ब्ल्याक बक्सको निर्माण गरिएको हुन्छ ।

बच्चा नहुने समस्यामा महिला र पुरुष ३३/३३ प्रतिशत जिम्मेवार हुन्छन् : डा. सिंह

शुद्ध खानाहरु नपाउने, बढ्दो वायु प्रदुषण जस्ता वाह्य कारणहरु पनि नेपालका महिला, पुरुषहरुमा बाँझोपन दखिएको अनुमान गरिन्छ । आफ्नो समस्या डाक्टरलाई सेयर नगरेसम्म उपचार हुँदैन । बच्चा जन्माउनको लागि दुवै जना श्रीमान श्रीमती स्वस्थ छौं की छैनौं र अगाडि योजना बनाउन मिल्छ की मिल्दैन भनेर आइरहेका छन् । यो राम्रो पक्ष हो । निःसन्तानको समस्या महिला र पुरुष जो कोहीमा पनि हुनसक्छ, त्यसैले दुवैले परिक्षण गराउँदा उपयुक्त हुन्छ । कतिपय बच्चा नभएका दम्पतिहरुलाई यौन सम्पर्क राख्ने समय भनिदिए पुग्छ, धेरैको यौन सम्पर्क राख्ने समय नमिल्दा पनि बच्चा नभएको पाइएको छ । पछिल्लो समय नेपालसहित विश्वाभर नै बाँझोपन अर्थात् निःसन्तानको समस्या बढ्दो छ । पुरुषमा यौन इच्छाको कमी, यौनशक्तिको कमी, वीर्य स्खलन नहुने, वीर्यमा शुक्राणुको कमी वा शुक्राणु नहुने समस्याले गर्दा पुरुषको कारणले निःसन्तान हुने गर्छ । त्यस्तै महिलामा डिम्बाशय नलीको बन्द हुने, डिम्बा ननिस्कने, नलीमा खराबी हुने, जन्मजात नै पाठेघरमा खराबीले गर्दा सन्तान नहुने गरेको डाक्टरहरु बताउँछन् । हाम्रो समाजमा महिलाका कारणले बच्चा भएन भनेर विभेद गरेको देख्न सकिन्छ । तर अध्ययनले भने सन्तान नहुनुमा महिला र पुरुष दुवैमा हुने समस्या बराबर रहेको पुष्टि गरेको छ । बच्चा नहुने समस्यामा ३३ प्रतिशत महिला, ३३ प्रतिशत पुरुष जिम्मेवार हुन्छन् । ३४ प्रतिशत अन्य कारणले असर गर्ने अध्ययनबाट प्रमाणित भएको छ । पछिल्लो समय जीवनशैली, मानसिक समस्या र धेरै युवा वैदेशिक रोजगारीमा गएकाले यो समस्या बढ्दै गएको अध्ययनले बताउँछ । निःसन्तानको समस्या लिएर अस्पतालमा उपचारमा आएकाहरुमा ८५ प्रतिशतको उपचारपछि बच्चा हुन्छ । बाँकी १५ प्रतिशतमा भने अन्य समस्या देखिने गरेको छ । उनीहरूलाई इन भिट्रो फर्टिलाइजेसन (आईभिएफ) प्रजनन समस्या भएका मानिसलाई बच्चा जन्माउन मद्दत गर्ने प्रविधिमार्फत उपचार सम्भव भएको चिकित्सकहरुको भनाइ छ । यसै सन्दर्भमा केन्द्रित रहेर प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. श्वेता सिंहसँग कुराकानी गरिएकाे छ । डा. सिंह जावलाखेलस्थित अल्का अस्पतालमा कार्यरत छिन् । कस्ता खालका समस्याका कारण निःसन्तानको समस्या देखिन्छ ? कुनै पनि दम्पतीले एक वर्षसम्म सम्बन्धमा बस्दा कुनै किसिमको अस्थायी साधन प्रयोग नगर्दा पनि बच्चा हुन सकिरहेको छैन भने त्यस्तो दम्पतीहरुलाई निःसन्तानको समस्या भएको अथवा बाँझोपनको समस्या भएको भनेर बुझ्नसक्छौं । यो बाँझोपनको समस्या श्रीमती वा श्रीमानमा मात्रै समस्या देखिएर हुने होइन । समस्या श्रीमान वा श्रीमतीमा पनि हुनसक्छ । दुवैमा पनि हुनसक्छ । बाँझोपन आउनुमा श्रीमतीको डिम्बासयमा समस्या छ वा पाठेघर वा पाठेघरको दुवैतिरको डिम्बासयमा समस्या देखिएको छ भने निःसन्तानको समस्या हुने हो । केहीगरी डिम्बासयमा समस्या देखिएको छ । डिम्बासयमा सिस्ट,ट्युमर हुनसक्छ । पोलिटिक्स पोलियन डिजिज भनिन्छ । त्यो समस्या छ भने राम्रो अण्डा ननिस्किने,समयमा अण्डा नफुट्ने समस्या देखापर्ने हुनसक्छ । पाठेघरको दुवै वा एक तर्फको नली ब्लक वा खुला छ भने बच्चा गर्भधारण गर्न समस्या आइरहेको हुनसक्छ । पाठेघरको कुरा गर्दा पाठेघरमा मासु पलाएको छ । कित भित्र क्यापिटीमा केही पलिपहरु छ । पाठेघर सुनिएको छ भने पनि यस्तो समस्याहरु आउँछ । पाठेघरको मुखको कुरा गर्दा महिलाको योनी ब्लक छ भने शुक्रकिटहरु माथि जान पाउँदैन । पाठेघरको मुखको कुरा गर्दा लामो वा ट्युमरको कारणले ब्लक भएको छ भने पनि शुक्रकिटहरु माथि जान पाउँदैन र बाँझोपन हुनसक्छ । पाठेघरमा मासुहरु पलाएको छ वा भ्रुम बस्ने ठाउँमा इन्टरमेटिभ पलिपहरु छ भने पनि बच्चा बस्न अवरोध गराइरहेको हुन्छ । पाठेघरको नलीका पानी भरीएको वा ब्लक भएको छ भने बच्चा बस्न समस्या हुन्छ । किनकी अण्डाहरु नलीहरुमा आउनुपर्ने हुन्छ । सम्पर्क राखिसके पश्चात शुक्रकिटहरु माथि गएर नलिसम्म आउनुपर्ने हुन्छ । नलीमा शुक्रकिट र अण्डाको मिलन भएर भ्रम बन्ने हुन्छ । बनेको भ्रुम फेरि पाठेघरमा आएर वाल्सहरुमा टाँसेर बच्चा बस्ने हुन्छ । नलिमा नै ब्लक भयो भने अण्डा र शुक्रकिट मिलन हुन पाएन । त्यो हुँदा महिलामा बाँझोपन हुनसक्छ । यो बाहेक श्रीमतीमा थाइराइट,डाइभिटिज र अन्य समस्याहरु भयो भने बाँझोपन हुनसक्छ । श्रीमानको कुरा गर्दा सबैभन्दा पहिला शुक्रकिटको कुरा आउँछ । शुक्रकिटको संख्या राम्रो छैन । संख्या राम्रो भएपनि त्यसको चालहरु राम्रो छैन । बनावटहरु राम्रो छैन भने बाँझोपन हुनसक्छ । श्रीमानमा पनि थाइराइट,डाइभिटिज र अन्य समस्याहरु भयो भने बाँझोपन हुनसक्छ । कित श्रीमान श्रीमतीलाई नै यौन सम्पर्क राख्दा ग्राहो भएको छ । त्यो समस्याको कारण पनि बाँझोपन भइरहेको हुन्छ । पहिला निःसन्तान हुँदा भन्न डराउने गरेका थिए, तर पछिल्लो समय अस्पतालहरुले यो सेवा दिन थालेसँगै मानिसहरु अस्पतालमा आउने गरेका छन्, तपाईंहरुकोमा धेरै कस्ताकस्ता प्रकृतिका समस्या लिएर आउँछन् ? अहिलेसम्म आफ्नो प्राक्टिक्समा देखेअनुसार कोही गर्भधारणका विषयमा जानकारी लिन आउनुहुन्छ । उनीहरुले बच्चा जन्माउने योजना बनाउनुभएको हुँदैन । तर बच्चा जन्माउनको लागि दुवै जना श्रीमान श्रीमती स्वस्थ छौं की छैनौं र अगाडि योजना बनाउन मिल्छ की मिल्दैन भनेर आइरहनुभएको हुन्छ । यो खुशीको कुरा हो । यो विषयमा जानकारी लिनुपर्ने समाजमा हुनुपर्ने हुन्छ । बच्चा योजना बिना झुक्किएर बसेको हुन्छ । योजना बनाउँदा राम्रो बच्चा जन्मने हुनसक्छ । बाँझोपन भएर ३ वर्षसम्म योजना बनाएका वा एक वर्ष पनि नभएकाहरु पनि बच्चा के कारणले नभएको भनेर आउने गरेका छन् । कतिपय मानिसहरुलाई बाँझोपन हुन्छ भन्ने कुराहरु थाहा नभएको पाइन्छ । बाँझोपनको समस्या समाधानका उपायहरु छन् भन्ने कुराहरु पनि थाहा छैन उनीहरुलाई । ८ देखि १० वर्षसम्म बच्चा नभएर बच्चा बनाउन कोशिस गरिरहका पनि आउने गरेका छन् । अस्पतालमा सबै मिक्स प्रकृतिका समस्या भएका बिरामीहरु आउने गरेका छन् । कोही १० देखि २० वर्षसम्म बच्चा नजन्मेपछि किन नभएको रहेछ भनेर डाक्टरलाई देखाउन भनेर आउने गरेका छन् । उनीहरुलाई बाँझोपन सम्बन्धि जानकारी नभएर नै अहिलेसम्म बस्ने गरेको हुनसक्छ । अल्काले केही समय पहिलो बाँझोपन सम्बन्धि सिबिर क्याम्प राखेको थियो, विगतमा भन्दा कस्तो पाउनु भयो ? पाँच दिनको बाँझोपन सम्बन्धि क्याम्प थियो । त्यसमा निःशुल्क उपचारहरु गरेका थियौं । क्याम्पमा बाँझोपन भएका बिरामीहरुले टेष्ट ट्युब बेबी गर्नुपर्ने बुझाइरहेको पायौं । तर त्यस्तो होइन । बाँझोपनको समस्या हुने बित्तिकै श्रीमान श्रीमतीलाई इन्भेस्टिगेट गरेर हेर्छौं । पहिला श्रीमान वा श्रीमतीमा कस्तो समस्या छ भनेर छुटउनुपर्ने हुन्छ । उनीहरुलाई औषधिहरु मात्रै दिएर पुग्छ की यौन सम्पर्क राख्ने समय भनिदिए पुग्छ । धेरैको समय नमिल्दा बच्चा नभएको हुनसक्छ । उहाँहरुले आइवीएफतिर जानुपर्ने हो । दुवै जनालाई इन्भेस्टिकेट गरेपछि के गर्ने भनेर निर्णय लिन मिल्छ । १५ वर्षदेखि अस्पतालहरुमा भौंतारिरहेका बिरामी आउनुभएको थियो । डिम्बासयको नलीमा ब्लक भइरहेको केसहरु भेटिए । त्यस्तोको लागि अन्य उपाय गरेर हुँदैन त्यसको लागि टेष्ट्यु बेबीतिर जानुपर्ने हुन्छ । अहिले आइबिएफ र टेष्ट्यु बेबी चाहिने धेरै बिरामीहरु पाएको छृु । अहिले बाँझोपनको समस्या बढ्दै गएको भन्ने देखियो होइन ? पछिल्लो समय नेपालका महिला, पुरुषहरुमा बाँझोपन बढ्दै गएको भन्ने देखिएको छ । पछिल्लो समय आइबीएफको समस्या बढ्दो रुपमा छ । विगतको जस्तो अहिले शुद्ध खानाहरु पनि पाउँदैन । लाइफ स्टाइल (जीवन शैली) परिवर्तन रहेको छ । वायु प्रदुषण बढ्दो छ । यी सबै वाह्य कारणहरु भए । यसले गर्दा अहिले कतिपय मानिसहरुलाई मेडिकल समस्या आउने हुन्छ । थाइराइड,डाइभिटिज र अन्य प्रेसरको कारण समस्या बनाएको हुन्छ । बाँझोपन समस्या समाधान कसरी गर्ने त ? बाँझोपन समस्या समाधानको विषयमा कुरा गर्दा दुवै जना दम्पतीहरुको रगतको जाँचदेखि महिलाको भिडियोएक्स रे देखि श्रीमानको शुक्रकिटको जाँच गर्नुपर्ने हुन्छ । सबै परीक्षण गरेर के कारण बाँझोपन भयो भनेर थाहा पाएपछि सबै भन्दा पहिला मेडिकल परीक्षणमा कहिले काहीँ यौन सम्पर्क गर्दा समय मात्रै नमिल्दा बाँझोपन भइरहेको हुन्छ । सम्पर्क राख्ने समय एउटा, अण्डा फुटेर निस्किसकेर आफैँ मरेर गइसकेको हुन्छ । अर्को मेडिकल परीक्षण पछि दम्पतीको लागि अण्डा र शुक्रकिट राम्रो हुने औषधि राख्छौं । त्यो औषधि ३ देखि ६ महिना खाँदा राम्रो भएको हुन्छ । कतिपयलाई मेडिकल औषधिले काम नगरिरहेको अवस्था हुन्छ । त्यस्तो बिरामीलाई आइवाईतिर लैजान्छौं । युटायुटयाम इम्सेमिनेसनमा हामीले महिनावारी भएको दोस्रो दिनदेखि पाँच दिनसम्म डिम्बासयमा अण्डा बनाउने औषधि खान दिन्छौं । त्यसपछि अल्ट्रासाउण्ड गर्दै डिम्बासयमा अण्डाको साइज कत्रो भयो भनेर हेर्छौं । बाँझोपन भएर अस्पताल जान नसक्नेहरुको लागि के भन्नुहुन्छ ? दुर्गम क्षेत्रका पनि अस्पतालमा आउने गर्नुभएको छ । बाँझोपन भनेको लुकाएर राख्ने कुरा होइन । लुकाएर कसैको परामर्श नलिइ श्रीमान श्रीमतीसँग मात्रै सिमित राख्नुभयो भने मेडिकल उपचारबाट बच्चा पाउनसक्ने अवसर गुमाउनु हुन्छ । त्यस्तो छ भने आफ्नो वरपर भएको राम्रो बाँझोपन सम्बन्धि डाक्टरहरुसँग परामर्श लिएर आफ्नो कुरा खुलस्त रुपमा बोल्नुस् । आफ्नो समस्या डाक्टरलाई शेयर नगरेसम्म उपचारको योजना पनि पाउनुहुन्न । डाक्टरहरुले सल्लाह दिएर राम्रो बच्चा पाउने क्षमता हुन्छ । त्यो क्षमता डाक्टरहरुसँग सल्लाह नलिँदा वञ्चित हुनुहुन्छ जस्तो लाग्छ । बाँझोपन सम्बन्धि डाक्टरसँग परापर्श गर्नु उपयुक्त हुन्छ । डाक्टरहरुले जसलाई बच्चा चाहिन्छ उहाँहरुलाई मात्रै बाँझोपन समस्याको उपचार गर्ने हो ।

सुनको मूल्य वर्षकै उच्च, प्रति तोला एक लाख ५२ सय पुग्यो

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज सनको मुल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ भने चाँदीको मुल्य १० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ५ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ भने आज चाँदीको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

के हो ब्ल्याक बक्स, कसरी पत्ता लाग्छ विमान दुर्घटनाको कारण ?

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुग्नै लाग्दा खोँचमा खसेको यती एअरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको जाँचबुझ समिति उक्त विमानको ब्ल्याक बक्सको पर्खाइमा छ । दुर्घटनामा हराइरहेका मानिसको खोजीमा आइतवार अबेरसम्म जुटेका उद्धारकर्मीहरू सोमवारबाट विमानको ब्ल्याक बक्सको खोजीमा पनि जुट्ने अधिकारीहरूले बताएका छन् । विमानको पछिल्लो भागमा हुने यो उपकरणबाट विमान दुर्घटनाको कारण पत्ता लाग्ने उनीहरूको विश्वास छ । ‘कुन उपकरणको कस्तो अवस्था थियो भन्नेचाहिँ त्यो ब्ल्याक बक्सले बताउँछ। कुन भागको सङ्केत के थियो। अचानक आएको समस्या हो कि। बाहिरी वा आन्तरिक कारणले भएको हो भन्ने बताउँछ,’ जाँचबुझ समितिका सदस्यसचिव बुद्धिसागर लामिछानेले भने । ‘यसले दुर्घटनाको जाँचबुझमा धेरै नै सहयोग पु¥याउँछ ।’ यो जहाजमा हुने ब्ल्याक बक्समा फ्लाइट डेटा रेकर्डर र ककपिट भोइस रेकर्ड दुवै हुने भएकाले अनुसन्धानमा निकै महत्त्वपूर्ण हुने लामिछाने बताउँछन् । ब्ल्याक बक्स के हो ब्ल्याक बक्स विमानको पछिल्लो भागमा रहने विद्युतीय उपकरण हो। विमान दुर्घटनाका घटनामा यो उपकरण निकै महत्त्वपूर्ण हुन्छ । ब्ल्याक बक्स वास्तवमा कालो रङ्गको चाहिँ हुँदैन। यस्तो उपकरण गाढा सुन्तला रङ्गको हुन्छ । विमान दुर्घटना भएको ठाउँमा भेट्न सहज होस् भनेर यस्तो रङ्गमा ब्ल्याक बक्स बनाइएको हुन्छ । ‘दुर्घटना हुँदा कम क्षति हुने भाग भएकाले यसलाई विमानको पछिल्लो भागमा राखिएको हुन्छ,’ एक दर्जनभन्दा बढी विमान दुर्घटना छानबिनमा संलग्न भएका एरोनटिकल इन्जिनियर रतीशचन्द्र लाल सुमनले भने । प्रायः ब्ल्याक बक्समा दुईवटा भाग हुन्छन् । तर सबै विमानमा यी दुवै भाग नहुन पनि सक्छन् । उच्च तापक्रम र पानीमुनिको गहिरो सतहमा पनि यसभित्रका डेटा नष्ट नहुनेगरी ब्ल्याक बक्सको निर्माण गरिएको हुन्छ । फ्लाइट डेटा रेकर्डर फ्लाइट डेटा रेकर्डरले प्राविधिक पक्षको रेकर्ड राख्छ । त्यसमा विमानका हरेक उपकरणको अवस्था, उचाइ, दिशा, तापक्रम, गति, इन्धनको मात्रा, अटो–पाइलटको अवस्था लगायतका विवरणहरूको अभिलेख रहन्छ । ‘कुनै उपकरणले काम गरिरहेको थिएन भने त्यो कुरा यसमा नोट हुन्छ र त्यसबाट विमानको प्राविधिक पक्षको विश्लेषण गर्ने हो,’ सुमनले भने । तर कतिपय साना र ट्विनअटर विमानमा यो हुँदैन। यसअघि मुस्ताङमा दुर्घटनामा परेको तारा एअरको ट्विनअटर विमानमा यस्तो उपकरण थिएन । यसमा सामान्यतया २५ घण्टाको रेकर्डिङ अवधि हुन्छ । यो उपकरणमा चार वटा च्यानल हुन्छन् र चार स्थानका आवाजको रेकर्ड राखेको हुन्छ । यसमा पाइलटको, कटपिटको, टावरसँग हुने सञ्चारको र प्यासेन्जर अनाउन्सेन्टको रेकर्ड हुने सुमन बताउँछन् । दुर्घटना अनुसन्धानको क्रममा यस्तो उपकरणमा सङ्ग्रह भएको आवाज नै अनुसन्धानकर्ताहरूले सुनेर विश्लेषण गर्छन् । ‘पाइलटले के बोल्यो, के सुन्यो, केही खराबी थियो भने को–पाइलटलाई जानकारी दियो कि दिएन, यात्रु र टावरलाई दियो कि दिएन त्यो कुराहरूको आवाज सुनेपछि धेरै थाहा हुन्छ,’ यसअघिको तारा एअर दुर्घटना जाँचबुझ समितिका संयोजक समेत रहेका सुमनले भने । पुराना जहाजहरूमा म्याग्नेटिक टेपमा यस्तो आवाज रेकर्ड हुन्थ्यो र सुन्नका लागि विदेश जानुपर्ने बाध्यता थियो । नागरिक उड्डयन प्राधिकरणको हवाई दुर्घटना अनुसन्धान शाखामा लामो समय काम गरेका इन्जिनियर सुमनले आफू सन् १९९२ मा ककनीमा दुर्घटना भएको थाई एअरको सीभीआर लिएर क्यानडा गएको बताए । ‘म आफैँ ब्ल्याक बक्स लिएर क्यानडा र फ्रान्स गएको छु। तर अहिले धेरै काम नेपालमै हुन्छ,’ उनले भने । पछिल्ला विमानहरूमा यस्तो आवाज डिजिटल माध्यममा रहने र नेपालमै सुन्न सकिने सुमनले बताए । पछिल्लो समय नेपालमै ब्ल्याक बक्सको विश्लेषण हुने भए पनि फ्लाइट डेटा रेकर्डरको कतिपय अध्ययनका लागि विदेशी विशेषज्ञहरूको पनि सहयोग लिने गरिएको छानबिन समितिका सदस्यसचिव लामिछानेले बताए । डेटा विश्लेषण गर्ने ‘प्रोग्राम’मा राखेर हेरेपछि कतिपय अवस्थामा दुर्घटनाको कारण थाहा हुने उनी बताउँछन् । ‘दुर्घटना नहुँदै पनि विमानको स्वास्थ्य अवस्था परीक्षणका लागि र मर्मतका लागि पनि यसको प्रयोग र विश्लेषण गर्ने गरिएको छ,’ उनले भने । दुर्घटना अनुसन्धानमा ब्ल्याक बक्सको महत्व काठमाण्डूको अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा भासिएको टर्किश एअर दुर्घटना, काठमाण्डूको विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको यूएस बाङ्ग्ला एअरसहित धेरै हवाई दुर्घटनामा ब्ल्याक बक्सले वास्तविकता पत्ता लगाउन सहयोग गरेको लामिछानेले बताए । ‘हो यूएस बाङ्ग्लाको दुर्घटनामा गलत एप्रोच गरेको हो। गलत दिशाबाट अवतरण गर्न खोजेको हो भन्ने यसले देखायो,’ सुमनले थपे । लुक्ला विमानस्थलमा भएको समिट एअरको विमान दुर्घटना अध्ययनमा पनि ब्ल्याक बक्सले घटनाको कारण पत्ता लगाउन सहयोग गरेको लामिछानेले बताए । कहिलेकाहीँ कुनै कुरा निश्चित गर्न पनि ब्ल्याक बक्सले सहयोग गर्ने उनीहरू बताउँछन् । बीबीसी