विकासन्युज

साउनभित्र ओमन, कतार, साउदी, भियतनामबाट २.१० लाख मेट्रिक टन मल आउँदै

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ । किसानलाई राहत हुने गरी धानका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढाएको हो ।  मन्त्रालयका अनुसार सरकार-सरकार (जीटूजी) सम्झौताअन्तर्गत भारतबाट ३० हजार मेट्रिक टन युरिया मल ल्याउँदै छ । उक्त मल असार अन्तिमदेखि साउनको दोस्रो साताभित्र नेपाल आइपुग्ने सम्भावना देखिन्छ । भारतसँग जिटूजि मार्फत ८० हजार मेट्रिक टन भएको सम्झौता अनुसार पहिलो चरणमा ५० हजार मेट्रिक टन मल साउन दोस्रो साता नेपालमा भित्रिने छ । त्यसैगरी, अन्तर्राष्ट्रिय (ग्लोबल) टेन्डरमार्फत १ लाख ८० हजार मेट्रिक टन रासायनिक मल आयात गरिने मन्त्रालयले जनाएको छ । यसमध्ये ६० हजार मेट्रिक टन डीएपी र १ लाख २० हजार मेट्रिक टन युरिया रहेको छ । यी मल साउनको पहिलो सातासम्म नेपाल भित्रिने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ । ओमनमा लोडिगको प्रक्रियामा रहेको ३० हजार मेट्रिक टन यूरिया मल असार अन्तिमसम्म कलकत्ता आइपुग्ने र साउनको दोस्रो सातामा नेपाल भित्रिने छ ।  त्यसैगरी ३० हजार मेट्रिक टन डीएपी होर्मुज पार भई भिसाखापटनम पोर्टमा पुगी सकेको र असार १९ देखि २० गते सम्म नेपाल आइपुग्ने साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले जनाएको छ । साथै ३० हजार मेट्रिक टन यूरिया मल जहाजमा लोड भइसकेको र साउन पहिलो साता कलकत्ता बन्दगाह हुँदै साउन अन्तिमसम्ममा नेपाल आइपुग्ने छ ।  त्यसैगरी कतारबाट ३० हजार मेट्रिक टन यूरिया मल सिपमेन्ट भइसकेको र असार अन्तिम सातामा कलकत्ता आइपुग्ने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । साउदी अरेवियाबाट ३० हजार मेट्रिक टन यूरिया लोड भइसकेको र असार अन्तिम सातासम्म कलकत्ता आइपुग्ने कृषि कम्पनीले जनाएको छ ।  त्यसैगरी, भियतनामबाट ३० हजार मेट्रिक टन डीएपी मल लोड भई असार अन्तिम सातासम्ममा कलकत्ता आइपुग्ने र साउन दोस्रो साता नेपाल भित्रिने छ ।  मन्त्रालयले मध्यपूर्वमा जारी द्वान्दका कारणले अन्तराष्ट्रिय बजारमा मलको उपलब्धता घटेपनि किसानलाई राहत हुने गरी मल आपूर्ति गर्न लागि परेको छ ।  विगतका वर्षहरूको तुलनामा यस वर्ष मन्त्रालयले हालसम्मकै सबैभन्दा बढी रासायनिक मल आयात गर्ने लक्ष्य राखेको छ । चालु आर्थिक वर्षमा करिब ६ लाख मेट्रिक टन रासायनिक मल कृषकलाई अनुदानमा उपलब्ध गराउने मन्त्रालयको लक्ष्य रहेको छ । साथै मल वितरण प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन अनलाइन प्रणालीमा सम्बन्धित विवरण अनिवार्य रूपमा अद्यावधिक गर्नु पर्ने मन्त्रालयले निर्देशन दिएको छ । 

सेयर मूल्य १ सय, आवेदन शुल्क २ सय

काठमाडौं । ताराखोला जलविद्युत लिमिटेडले मौज्दातमा रहेको १ लाख ७३ हजार ६५९ कित्ता सेयर बिक्रीमा राखेको छ । कम्पनीको सञ्चालक समितिको असार १५ गतेको निर्णयअनुसार प्रतिकित्ता १ सय रुपैयाँ मूल्य दरमा सेयर बिक्रीमा राखिएको हो ।  कम्पनीको उक्त सेयर खरिद गर्न इच्छुक हाल कायम सेयरधनीहरुले असार २२ गतेभित्र आवेदन दिनुपर्नेछ । खरिद गर्न इच्छुकले अधिकतम ३ हजार कित्तासम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । आवेदन शुल्क २०० रुपैयाँ निर्धारण गरिएको छ ।  आवेदन कम्पनीको कार्यालय ताराखोला गाउँपालिका-५, करिमेला, बागलुङस्थित प्रभु बैंकको शाखामा पेश गर्नुपर्नेछ । आवेदनसँग नागरिकताको प्रतिलिपि, प्यान नम्बर र राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा संलग्न गर्नुपर्ने कम्पनीले जनाएको छ । 

यूनाइटेड अजोडको सेयर कट-अफ मूल्य ४४७.५० रुपैयाँ

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले लिलाम बढाबढमार्फत बिक्री गरिएको ६ हजार ६३३ कित्ता अवितरित हकप्रद सेयरको बाँडफाँड सम्पन्न गरेको छ । कम्पनीका अनुसार सर्वसाधारण समूहअन्तर्गतको अवितरित हकप्रद सेयर जेठ २९ गतेदेखि असार ८ गतेसम्म लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री खुला गरी बाँडफाँड गरिएकाे हाे । प्राप्त शिलबन्दी बोलपत्रहरू असार ११ गते खोलिएको र प्रचलित कानुन तथा धितोपत्रसम्बन्धी नियम-निर्देशिकाअनुसार असार १६ गते सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । कम्पनीले बाँडफाँडमा नपरेका आवेदकहरूको रकम असार १८ गते (बिहीबार)देखि आवेदन फाराममा उल्लेख गरिएको बैंक तथा वित्तीय संस्थाको खातामा आईपीएस प्रणालीमार्फत फिर्ता पठाइने जनाएको छ । कम्पनीका अनुसार लिलामको अन्तिम मूल्य (कट(अफ प्राइस) प्रतिकित्ता ४४७.५० रुपैयाँ कायम भएको छ । उक्त मूल्यमा बोलपत्र पेश गर्ने आवेदकहरूलाई सापेक्षिक भारअनुसार समानुपातिक रूपमा सेयर वितरण गरिएको कम्पनीले जनाएको छ । 

बैंकहरूमा ६० अर्ब बढीको धितो सम्पत्ति थुप्रियो : अध्यक्ष प्रचण्ड

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसङ्घ, नेपाल (सिबिफिन)का अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले मुलुकको बैंकिङ क्षेत्र अहिले गम्भीर दबाबमा रहेको बताएका छन् । मंगलबार एक कार्यक्रममा बोल्दै उनले आगामी मौद्रिक नीतिले बैंकिङ क्षेत्रले भोगिरहेका यथार्थ समस्यालाई सम्बोधन गर्दै वित्तीय स्थायित्व र आर्थिक पुनरुत्थानबीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिए । श्रेष्ठका अनुसार कागजमा बैंकिङ प्रणालीमा पर्याप्त तरलता देखिए पनि वास्तविक अर्थतन्त्रमा कर्जाको माग घटेको छ भने व्यावसायिक आत्मविश्वास कमजोर बनेको छ। विभिन्न आर्थिक क्षेत्रहरूमा नगद प्रवाह कमजोर भएकाले बलिया र सक्षम व्यवसायहरूको समेत ऋण भुक्तानी गर्ने क्षमता प्रभावित भएको उनको भनाइ छ । यही अवस्थाको प्रत्यक्ष असर बैंकहरूको सम्पत्ति व्यवस्थापनमा परेको उल्लेख गर्दै उनले बैंकहरूले ६० अर्ब रुपैयाँभन्दा बढीको गैर-बैंकिङ सम्पत्ति थुपार्न बाध्य भएको बताए । धेरै ऋणीले ऋण तिर्न नसक्दा बैंकहरूले धितो सम्पत्ति स्वीकार गर्नुपरेको र ठूलो परिमाणमा बैंकहरूको पुँजी अनुत्पादक सम्पत्तिमा फसेको उनको भनाइ छ ।

डीआर कङ्गोको ऐतिहासिक यात्रामा इंग्ल्यान्डको चुनौती

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ (राउन्ड अफ ३२) को खेलमा बुधबार (आज) राति एटलान्टा स्टेडियममा इंग्ल्यान्डले डीआर कङ्गोसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार पौने ११ बजे सुरु हुने भएको हो । यस खेलमा इंग्ल्यान्डलाई बलियो टोली मानिएको छ । प्रशिक्षक थोमस टुचेलको टोलीले शनिबार पानामालाई २–० ले पराजित गर्दै समूह ‘एल’को शीर्ष स्थान सुरक्षित गरेको थियो । तर त्यो जित निकाल्न इंग्ल्यान्डले अपेक्षाभन्दा धेरै संघर्ष गर्नुपरेको थियो । इंग्ल्यान्डले एक घण्टाभन्दा बढी समयसम्म गोल गर्न सकेन । त्यसपछि जूड बेलिङ्घमले कर्नरबाट आएको बललाई आकर्षक शैलीमा गोलमा परिणत गर्दै अग्रता दिलाए । त्यसको पाँच मिनेटपछि कप्तान ह्यारी केनले अर्को गोल गर्दै विश्वकपमा इंग्ल्यान्डका लागि सर्वाधिक ११ गोल गर्ने खेलाडी बने । तर यो जितले समर्थकहरूको असन्तुष्टि पूर्ण रूपमा भने हटाउन सकेन । किनभने यसअघि इंग्ल्यान्डले घानासँग गोलरहित बराबरी खेलेको थियो, जहाँ टोलीले ७८.९ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखे पनि जित निकाल्न सकेन । समूह चरणभर कुनै पनि टोलीले यति धेरै बल नियन्त्रणमा राखेर पनि खेल जित्न नसकेको तथ्यांक छ । डीआर कङ्गोले पनि इंग्ल्यान्डलाई त्यस्तै कठिन चुनौती दिन प्रयास गर्ने अपेक्षा गरिएको छ । समूह चरणमा डीआर कङ्गोको औसत बल नियन्त्रण केवल ३८.५ प्रतिशत थियो, जुन सबै टोलीमध्ये ३८औं स्थानमा थियो । यता इंग्ल्यान्ड भने ६५.३ प्रतिशत औसत बल नियन्त्रणसहित तेस्रो स्थानमा रह्यो । टुचेलको उत्कृष्ट सुरुआत हालसम्म केही उतारचढावपूर्ण प्रदर्शन गरे पनि टुचेलको प्रशिक्षणमा इंग्ल्यान्डले खेलेका ११ प्रतिस्पर्धात्मक खेलमा हार बेहोरेको छैन । टोलीले १० खेल जितेको छ भने एक खेल बराबरी खेलेको छ । यो सुरुआत इंग्ल्यान्डका पूर्व प्रशिक्षक रोन ग्रिनवुड (१९७७–१९८० बीच लगातार १६ खेल) र रोय होज्सन (२०१२–२०१३ बीच १४ खेल) पछि तेस्रो उत्कृष्ट अपराजित सुरुआत हो । यद्यपि टुचेलले डीआर कङ्गोलाई हल्का रूपमा नलिन चेतावनी दिएका छन् । ‘यदि हामी बहकियौं र अन्तिम १६ वा त्यसपछिका सम्भावित प्रतिद्वन्द्वीबारे सोच्न थाल्यौं भने त्यसको सजाय पाउनेछौं । अहिले हाम्रो ध्यान केवल एटलान्टामा हुने डीआर कङ्गोविरुद्धको खेलमा केन्द्रित हुनुपर्छ,’ टुखेलले भने । इतिहास रच्दै नकआउटमा पुगेको डीआर कङ्गो समूह ‘के’को अन्तिम खेलमा उज्बेकिस्तानसँग लामो समय १–० ले पछि परेको डीआर कङ्गो प्रतियोगिताबाट बाहिरिने अवस्थामा पुगेको थियो । तर योआने विस्साले पेनाल्टीमार्फत बराबरी गोल फर्काए । त्यसपछि फिस्टोन मायेले र पुनः विस्साले गोल गर्दै डीआर कङ्गोलाई ३–१ को ऐतिहासिक जित दिलाए । यो जितसँगै डीआर कङ्गो पहिलो पटक विश्वकपको नकआउट चरणमा पुगेको हो । विस्साले प्रतियोगितामा डीआर कङ्गोका चारमध्ये तीन गोल गरेका छन् । उनले क्लब फुटबलमा २०२५–२६ सिजनभरि गरेका गोलको संख्या पनि यही हो । क्लबका लागि उनले औसत ३०१ मिनेटमा एक गोल गरेका थिए भने विश्वकपमा प्रत्येक ९० मिनेटमा एक गोल गर्ने प्रभावशाली लयमा छन् । अफ्रिकी टोलीको कठिन चुनौती डीआर कङ्गोको यो विश्वकप नकआउट चरणमा प्रवेश ऐतिहासिक भए पनि अब उसले पूर्वविश्वविजेता इंग्ल्यान्डसँग खेल्नुपर्नेछ । यो विश्वकपको नकआउट चरणमा अफ्रिकी टोलीले पूर्व विश्वविजेतासँग खेल्ने ११औं अवसर हुनेछ । यसअघि सन् २०२२ मा मोरक्कोले स्पेनलाई पेनाल्टी सुटआउटमा हराएर मात्र यस्तो चुनौती पार गर्न सफल भएको थियो । प्रशिक्षक सेबास्टियन डेसाब्रेले अनुभवी स्ट्राइकर सेड्रिक बाकाम्बुलाई निरन्तरता दिने कि उज्बेकिस्तानविरुद्ध प्रभावशाली प्रदर्शन गरेका फिस्टोन मायेलेलाई सुरुआती रोजाइमा राख्ने भन्ने निर्णय गर्नुपर्नेछ । इंग्ल्यान्डको टोली ह्यारी केन फेरि गोल गर्ने लक्ष्यमा हुनेछन् । उनले समूह चरणमा तीन गोल गर्दै पुरुष विश्वकपमा इंग्ल्यान्डका सर्वाधिक गोलकर्ता बनेका छन् । यदि उनले डीआर कङ्गोविरुद्ध पनि गोल गरे भने विश्वकप नकआउट चरणमा चार गोल पु‍र्याउँदै ज्योफ हस्र्टको कीर्तिमान बराबरी गर्नेछन् ।  इंग्ल्यान्डका लागि नकआउट चरणमा सबैभन्दा बढी ६ गोल गर्ने कीर्तिमान भने ग्यारी लिनेकरको नाममा छ । मिडफिल्डर डेक्लान राइस पिण्डुलाको सामान्य समस्याका कारण पानामाविरुद्ध विश्राममा थिए । उनी यस खेलमा सुरुआती टोलीमा फर्किने अपेक्षा गरिएको छ । इलियट एन्डरसनले उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले यस विश्वकपमा इंग्ल्यान्डका खेलाडीमध्ये सबैभन्दा धेरै लाइन (ब्रेकिङ पास (३०), बल पुनः जित्ने (२०) र द्वन्द्व जित्ने (२४) तथ्यांक बनाएका छन् । समूह चरणमा इक्वेडरका पेड्रो भिटे बाहेक कुनै अन्य खेलाडीले यी तीनै सूचकमा २० भन्दा बढी उपलब्धि हासिल गरेका छैनन् । रक्षापङ्क्तिमा जारेल क्वान्सा घुँडाको चोटका कारण बाहिर रहने सम्भावना छ । रीस जेम्स अझै उपलब्ध नभएकाले टुचेलले राइट ब्याकमा जेड स्पेन्स वा एज्री कोन्सालाई खेलाउन सक्नेछन् ।  हेड–टु–हेड घानासँग बराबरी खेलेपछि यो विश्वकपमा इंग्ल्यान्डले दोस्रो अफ्रिकी टोलीसँग खेल्न लागेको हो । यसअघि सन् १९९० को विश्वकपमा इंग्ल्यान्डले समूह चरणमा इजिप्टलाई १–० ले तथा क्वार्टरफाइनलमा क्यामरुनलाई ३–२ ले हराएको थियो । विश्वकपको नकआउट चरणमा अफ्रिकी टोलीविरुद्ध इंग्ल्यान्डको अर्को खेल सन् २०२२ मा सेनेगलसँग भएको थियो, जहाँ इंग्ल्यान्ड ३–० ले विजयी भएको थियो । टुचेलको प्रशिक्षणमा इंग्ल्यान्डले जम्मा चार खेल मात्र जित्न सकेको छैन, जसमध्ये दुई खेल अफ्रिकी टोलीविरुद्ध परेका छन् । घानासँगको बराबरीबाहेक सन् २०२५ जुनमा भएको मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड सेनेगलसँग ३–१ ले पराजित भएको थियो ।  खेलको सम्भावित नतिजा रक्षापङ्क्तिमा केही चोटको समस्या र आक्रमणमा अस्थिर प्रदर्शन देखिए पनि इंग्ल्यान्डलाई यस खेलको स्पष्ट दाबेदार मानिएको छ । अप्टा सुपरकम्प्युटरले गरेको २५ हजार सिमुलेसनअनुसार : ९० मिनेटभित्र इंग्ल्यान्डको जित्ने सम्भावना : ७३.९५ प्रतिशत डीआर कङ्गोको जित्ने सम्भावना : ११.३५ प्रतिशत खेल बराबरी हुने सम्भावना : १४.८५ प्रतिशत समग्रमा अन्तिम १६ मा पुग्ने सम्भावना : इंग्ल्यान्ड – ८२.०५ प्रतिशत डीआर कङ्गो – १८.०५ प्रतिशत

फिनटेक, ओपन बैंकिङ, डिजिटल कारोबार मौद्रिक नीतिका महत्वपूर्ण एजेन्डा हुन् : पण्डित

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यवाहक गभर्नर किरण पण्डितले मौद्रिक नीतिले सरकारले लिएको उच्च आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग गर्ने भए पनि आर्थिक स्थायित्व कायम राख्ने चुनौतीलाई समान रूपमा सम्बोधन गर्नुपर्ने बताएका छन् । पण्डितले वित्त नीति र मौद्रिक नीतिबीच स्वाभाविक रूपमा अन्तरसम्बन्ध र कतिपय अवस्थामा द्वन्द्वसमेत देखिने भए पनि दुवै नीति समन्वयात्मक ढङ्गले अघि बढ्नुपर्नेमा उनले जोड दिए । उच्च आर्थिक वृद्धिको लक्ष्य प्राप्तिका लागि मौद्रिक नीतिले सहयोग गर्नुपर्ने भए पनि मुद्रास्फीति, वित्तीय स्थायित्व तथा अन्य आर्थिक सूचकहरूलाई वाञ्छनीय सीमाभित्र राख्ने दायित्व पनि उत्तिकै महत्वपूर्ण रहेको उनले बताए । पण्डितले राष्ट्र बैंकले आफ्ना लक्ष्य, मौद्रिक नीति सञ्चालनका आधार तथा संयन्त्रलाई ध्यानमा राखेर नीति निर्माण गर्ने स्पष्ट पारे । बजारमा मौद्रिक नीतिप्रति ठूलो अपेक्षा सिर्जना भएको उल्लेख गर्दै उनले ती अपेक्षालाई सावधानीपूर्वक व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याए । साथै, नियामकीय सुधार र मौद्रिक नीतिबीचको भिन्नतालाई स्पष्ट रूपमा बुझ्नुपर्नेमा पनि उनले जोड दिए । उनले बैंकिङ क्षेत्रसँग सम्बन्धित नीतिगत निर्णय र नियामकीय व्यवस्थाबारे स्पष्ट भाष्य निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए । कोभिड-१९ महामारीका क्रममा लागू गरिएका कर्जा पुनर्संरचना तथा सहुलियतपूर्ण व्यवस्थाले बैंकिङ प्रणाली र पुँजी निर्माणमा पारेको प्रभावबारे गम्भीर समीक्षा आवश्यक रहेको उनको भनाइ छ । कार्यवाहक गभर्नर पण्डितले वित्तीय क्षेत्रमा तीव्र रूपमा विकसित भइरहेका डिजिटल चुनौतीहरूतर्फ पनि ध्यानाकर्षण गराए । फिनटेक, ओपन बैंकिङ, डिजिटल कारोबारको निगरानी तथा प्रविधिसम्बन्धी जोखिम व्यवस्थापनजस्ता विषयहरू अब मौद्रिक नीति र नियामकीय ढाँचाका महत्वपूर्ण एजेन्डा बनेको उनले बताए ।  उनले नीति निर्माण तह र सर्वसाधारणबीच रहेको दूरी हटाउनुपर्नेमा पनि जोड दिए । विशेषगरी युवा, किसान तथा तल्लो तहका नागरिकका वास्तविक आवश्यकता र समस्या नीति निर्माण प्रक्रियासम्म पुग्न नसकेको उल्लेख गर्दै उनले यस खाडललाई कम गर्न आवश्यक रहेको बताए । उनका अनुसार यस्ता छलफलले नीति निर्माता र सरोकारवालाबीच संवाद विस्तार गर्दै व्यावहारिक नीतिगत सुधारका लागि उपयोगी सुझाव प्रदान गर्ने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक छ ।

आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जभित्रको जङ्गल सफारी सेवा आजदेखि बन्द हुने भएको छ । निकुञ्जले वर्षातको समयमा भलबाढी आउने, रुख ढलेर बाटो अवरुद्ध हुनेजस्ता कारणले पर्यटकलाई असहज हुने जनाउँदै सफारी बन्द गरेको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार अर्को सूचना नगरिएसम्मका लागि सफारी सेवा बन्द गरिएको हो । उनले भने, ‘वन्यजन्तु र चराचुरुङ्गीको प्रजननका लागि वर्षायाम उपयुक्त समय हुने, निकुञ्जभित्रका कच्ची वनपथहरू बिग्रिने, जङ्गलमा भएका स-साना खोलाखोल्सीमा भलबाढी आउने, रुख ढलेर बाटो अवरुद्ध हुने जस्ता कारणले गर्दा सफारी बन्द गरेका हौँ ।’ निकुञ्जले हरेक वर्ष वर्षात्को समयमा सफारी बन्द गर्दै आएको छ । वर्षातको अवस्था हेरेर दसैँको आसपासबाट निकुञ्जभित्रको सफारी खोल्ने विगतको परम्परा छ । निकुञ्जभित्र हुने सफारी रोकिएको भए पनि सामुदायिक वनहरूमा हुने सफारी भने नरोकिने उनले बताए । चितवनको सौराहा, कसरा, मेघौली, माडी र नवलपरासीका विभिन्न ठाउँबाट जीप व्यावसायिक सफारीका लागि निकुञ्ज प्रवेश गर्ने गर्दछ । यहाँ घुम्न आउने पर्यटक जीपमा सफारी गरेर वन र वन्यजन्तु हेर्न रमाउँछन् ।

देशभर मनसुन सक्रिय हुँदै, ५ प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू-भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भू-भागमा मनसुन विस्तार भएको छ ।  हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लागेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ । बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ जल तथा  मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर पूर्णतया बादल लाग्नेछ । देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको तथा तराई भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसैगरी, राति देशभर पूर्णतया बादल लाग्नेछ । देशको हिमाली भू-भागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशको पहाडी भू-भागका केही स्थानमा र देशका तराई भू-भागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी भू-भाग एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।