प्रदेश १ मा कृषिमा आधारित उद्यम लक्षित ५ महिने एक्सिलेटर कार्यक्रम शुरु
काठमाडौं । प्रदेश नं. १ मा उच्च वृद्धिको सम्भावना भएका कृषिमा आधारित उद्यम लक्षित ५ महिने एक्सिलेटरकार्यक्रम शुरु भएको छ । सरकारी तथा निजी क्षेत्रका वाणिज्य बैंक, वैकल्पिक कोष व्यवस्थापक अध्यन्त र स्वीस कन्ट्याक्टका बीचमा सम्झौता भई यो कार्यक्रममा सहभागी आकांक्षी उद्यमीहरूका लागी आवेदन खुला गरिएको छ । एक्सिलेटर कार्यक्रममा प्राप्त आवेदनहरूबाट १० जना उद्यमी छनौट गरी १२ हप्ता सम्म कृषि उद्यमीहरूलाई पूँजी, बजार पहुँच, र प्राविधिक लगायतका आन्तरिक चुनौती केन्द्रित परामर्श प्रदान गरिने उद्योग वाणिज्य महासङ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले बताए । उनले एक्सिलेटर कार्यक्रमले सम्भावना बोकेका कृषि उद्यमीहरूको विज्ञ तथा उद्योगी समुदाय सँग सम्पर्क विस्तार गर्ने बताए । आध्यन्त एक्सिलेटर कार्यक्रम काठमाडौँ बाहिर, प्रदेश नं. १ लाई केन्द्रित गरेर हुन लागेको हो । यो कार्यक्रम सार्वजनिक निजी साझेदारीको मोडलमा सञ्चालन हुनेछ । कार्यक्रममा प्रदेश सरकारको तर्फबाट लगानी प्राधिकरण र निजी क्षेत्रको तर्फबाट छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को सहकार्य हुनेछ । आवेदन माघ ४ गते देखि माघ १८ गते सम्म खुल्ला रहने छ ।
अफगानिस्तानमा कठ्याङ्ग्रिएर २५ जनाको मृत्यु
अफगानिस्तान । बढ्दो चिसोसँगै निरन्तर हिमपात भएपछि अफगानिस्तानको उत्तरी जाज्जान र छिमेकी सारी पुल प्रान्तमा २५ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूका अनुसार जाज्जान प्रान्तको खमाब, खानका र आक्चा जिल्लामा बिगत दुई दिनदेखि भारी हिमपात हुँदा कठ्याङ्ग्रिएर नौ जना पुरुष, चार बालबालिका र पाँच जना महिलासहित १८ जनाको ज्यान गएको हो । त्यसैगरी निरन्तर बढिरहेको चिसोसँगै अनवरत हिमपात भएका कारण जाज्जानको छिमेकी सारी पुल प्रान्तमा महिला र बालबालिकासहित सात जनाको मृत्यु भएको प्रान्तीय प्रशासनका अधिकारी सैयद सफतुल्लाह सफवानले बताएका छन् । अधिक चिसो मौसममा भएको हिमपातले युद्धग्रस्त अफगानिस्तानका केही भागमा बाक्लो हिउँ जमेको छ । अघिल्लो साता अफगानिस्तानका केही स्थानको तापक्रम माइनस ३० डिग्री सेल्सियसमा झरेको थियो । कुन्दुज , फर्याब, बादघिस, जज्जान र सारीपुल प्रान्तमा हालसम्म महिला र बालबालिकासहित ६० जनाले चिसोका कारण ज्यान गुमाएका थिएभने हजारौँ चौपाया पनि मरेका थिए । यसैबीच, चिसोबाट घरलाई न्यानो पार्न हेरत प्रान्तमा प्रयोग गरिएको ग्यासबाट विषाक्त कार्बन मोनोअक्साड उत्पन्न हुँदा बिरामी भएका एक सय ४० जनालाई प्रान्तीय अस्पतालमा भर्ना गरिएको छ । देशमा दाउरा तथा अन्य आधारभूत वस्तुको मूल्य आकाशिएपछि अफगान नागरिकले घर कोठा तताउन ग्यास प्रयोग गर्दै आएका छन् । रासस
कांग्रेसद्वारा विमान दुर्घटनाका सम्बन्धमा ‘रुलिङ’ गर्न माग
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबार पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाका सम्बन्धमा ‘रुलिङ’ गर्न सरकारसँग माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठकको प्रारम्भमै समय माग गर्दै सभामुखमार्फत सो माग गरेका हुन् । उनले मुलुकमा ठूलो पीडा भएको यस घटनाका सम्बन्धमा सरकारका तर्फबाट उक्त विषयमा भनाई प्रस्तुत हुने अपेक्षा गरे । नेता लेखकले बैठकको कार्यसूची पछि सारेर भए पनि विमान दुर्घटनाका सम्बन्धमा सरकारको धारणाबारेमा माग गरे । सदनप्रति सरकार उदासिन रहन नसक्ने जनाउँदै उनले सभामुखमार्फत रुलिङ गर्न आग्रह गरे ।
अवार्डले नेपाल र नेपालीको सम्मान बढाएको छ : डा सन्दुक रुइत
काठमाडौं । वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइतले इसा अवार्डले नेपाल र नेपालीको सम्मान बढाएको बताएका छन् बहराइनले ‘इसा अवार्ड’ दिने घोषणा गरेपछि यहाँ आयोजित पत्रकार सम्मेलनमा डा रुइतले आफूले आँखाका क्षेत्रमा उल्लेख्य काम गरेकाले अवार्ड पाएको बताए । उनले अवार्ड मुलुकका लागि सानो कुरा नभएकाले राज्यले पनि खुसी मनाउनुपर्ने उल्लेख गरे । ‘आँखाको क्षेत्रमा ३५ वर्षदेखि गर्दैआएको कर्म हेरेर संसारले पनि मेरो सम्मान गर्दो रहेछ भन्ने थाहा भयो’, डा रुइतले भने, ‘अवार्डबाट संसारको मानचित्रमा नेपालीले राम्रो काम गर्दा रहेछन भन्ने देखाएको छ । नेपालीको आत्मसम्मान र प्रतिष्ठा विश्वभर बढाएको छ । त्यसलाई बचाउन यसले ठूलो सहयोग गरेको छ ।’ सुरुमा अवार्ड पाउने खबर सुन्दा आफूलाई विश्वास नलागेको डा रुइतको भनाइ थियो । ‘यति ठूलो अवार्ड पाउँदा एकछिन त म आफैँले विश्वास गर्न सकेन । पछि राम्रो लाग्यो । अनि अवार्ड पाएको कुरा कसलाई भनुँ, कसलाई भनुँ भयो’, उनले भने । अवार्डले संसारमा अन्धोपनका क्षेत्रमा नेपाली गरेको योगदानलाई स्थापित गरेको डा रुइतको भनाइ छ । उक्त अवार्डका लागि एक सय ४५ व्यक्ति तथा संस्थाले मनोनयन दर्ता गराएका थिए । छ व्यक्ति तथा संस्था छनोट चरणको अन्तिम सूचीमा परेका थिए । वरिष्ठ आँखा चिकित्सक डा रुइतले नेपालमा अझ पनि पहुँच नपुगेको ठाउँमा आँखाको क्षेत्रमा काम गर्न प्रयास गरिरहेको बताए । उनले सबै मिलेर नेपालमा पहुँच नभएको ठाउँमा आँखाको सेवालाई विस्तार र सर्वसुलभ बनाउन आवश्यक रहेको उल्लेख गरे । ‘आँखाको लेन्स बनाएर अन्तर्राष्ट्रियरुपमा निर्यात गर्नुपर्छ’, उनले भने । बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले सन् २००९ मा पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले अवार्र्ड प्रदान गर्दै आएको छ । अवार्र्डको राशि १० लाख डलर रहेको छ । डा रुइतले मोतिबिन्दु उपचार गर्ने सरल विधि (रुइतेक्टोमी र इन्ट्रोकुलर लेन्स) को विकास गरेका छन् । उनलाई आँखा उपचार गरेर अन्धोपन हटाउन खेलेको भूमिकाको योगदान गर्दै उक्त अवार्ड प्रदान गर्ने निर्णय गरिएको बताइएको छ । रासस
म्याग्देमा २ सय मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण गरिँदै
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका-३ बिरुवा खिरेडाँडामा दुई सय मेट्रिकटन क्षमताको शीत भण्डार निर्माण थालिएको छ । शीत भण्डार निर्माणको जिम्मा पासा कन्स्ट्रक्सनले पाएको छ । विसं २०७९ पुस १ गते सम्झौता भई रु एक करोड ४७ लाखको लागतमा शीत भण्डार निर्माण गर्न सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । शीत भण्डारमा फलफूल, तरकारीलगायत उपज भण्डार गर्न सकिने छ । कृषकले उत्पादन गरेका वस्तु भण्डारणका लागि पोखरा र चितवन लैजानुपर्ने समस्याको अन्त्य गर्न शीत भण्डार निर्माण गर्न लागिएको हो । शीत भण्डार २०८० असारसम्म निर्माण सम्पन्न गर्नुपर्ने छ । समृद्ध गाउँपालिका बनाउनका लागि उत्पादन र कृषिमा प्राथमिकता दिइएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । कृषकले फलफूल र तरकारी उत्पादन गर्ने तर समयमा बिक्री हुन नसक्ने समस्या टड्कारो रहेका कारण उचित मूल्य पाउनबाट वञ्चित हुनुपरेकाले शीत भण्डार निर्माण जरुरी भएको उनको भनाइ छ । उत्पादित वस्तु समयमा बेच्न नसक्दा सड्ने र कृषकले घाटामा बेच्नुपर्ने हुँदा कृषकलाई प्रोत्साहन गर्न शीत भण्डार आवश्यक छ । उनले भने, ‘शीत भण्डार निर्माण पछि कृषक आफैँले उत्पादित वस्तु भण्डारण र बिक्री गरी आयआर्जन गर्न सक्नेछन् ।’ रासस
प्रतिनिधिसभा बैठकबाट सभामुख चयन हुँदै
काठमाडौं । प्रतिनिधिसभाको सभामुखका लागि चयन प्रकृया नयाँ बानेश्वरस्थित संसद भवनमा अहिले केही बेरमै शुरु हुँदैछ । प्रतिनिधिसभाको आजको वैठकमा सभामुखको निर्वाचन हुने सदनको कार्यसूची छ । सभामुखमा नेकपा एमालेका देवराज घिमिरे र नेपाली कांग्रेसका ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी परेको छ । घिमिरेको प्रस्तावकमा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र समर्थकमा नेकपा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन एवं राष्ट्रिय स्वजतन्त्र पार्टी रास्वपाका अध्यक्ष रवि लामिछाने छन् । न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला छन् । बैठकमा दुवै पक्षका प्रस्तावक र समर्थकले आआफनो उम्मेदवारलाई सभामुखमा निर्वाचित गरियोस् भनी बेग्ला बेग्लै प्रस्ताव प्रस्तुत गर्दै पक्षमा मतदान गर्न समर्थनका लागि आग्रह गर्नेछन् ।
जहाँ मोबाइलको उज्यालोको भरमा सुत्केरी गराइन्छ
बागलुङ । दुई महिना पहिले बागलुङको गलकोट नगरपालिका–७ मल्म गाउँकी एक गर्भवती सुत्केरी हुन् मल्म स्वास्थ्यचौकी पुगिन्। सुत्केरी हुन स्वास्थ्यचौकी पुगेपछि स्वास्थ्यकर्मीले सुत्केरी गराउने सबै तयारी पूरा गरे। प्रसूति व्यथाले च्यापेकी महिलालाई बर्थिङ सेन्टरमा राखियो । सम्भावित सबै जोखिम सामना गर्न स्वास्थ्यचौकीमा उपलब्ध स्वास्थ्यकर्मी तयार थिए । जब बच्चा जन्मिने बेला भयो, झ्याप्प बिजुली गयो । बच्चा जन्मिनै लागेकाले स्वास्थ्यकर्मीले हतार–हतार खल्तिमा रहेको मोबाइल निकाले। मोबाइलको लाइट बाले । मोबाइलको लाइटकै भरमा तीन जनालाई सुत्केरी गराएको स्वास्थ्य चौकीकी अनमी माधुरी नेपालीले बताइन्। ‘धेरै पटक हामीले मोबाइलको लाइटकै भरमा सुत्केरी गराएका छौँ, बेलाबेलामा काटिने विद्युत्को वैकल्पिक व्यवस्था नहुँदा समस्या भएको छ’, नेपालीले भनिन्,‘बर्थिङ सेन्टरजस्तो संवेदनशील ठाउँमा बत्तीको भरपर्दो व्यवस्था छैन।’ स्वास्थ्यचौकीमा बिजुली नभएका बेला ‘ब्याकअप’ को व्यवस्था नहुँदा समस्या हुने गरेको स्वास्थ्यचौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक अनिता कार्कीले बताइन्। ‘हामीले ब्याट्री राखिदिन गलकोट नगरपालिकाको स्वास्थ्य शाखालाई आग्रह गर्दैआएका छौं तर सुनवाई भएको छैन’, उनले भनिन्। बेलाबेलामा बिना सूचना काटिने विद्युतले यहाँका स्वास्थ्यकर्मीलाई समस्या हुने गरेको छ। बर्थिङ सेन्टर रहेको स्वास्थ्यचौकीमा चालु आर्थिक वर्षमा १९ जना सुत्केरी भएका छन्। अधिकांश रातिको समयमा सुत्केरी हुँदा स्वास्थ्यकर्मीले विद्युत् काटिएका बेला समस्या भोग्ने गरेका हुन्। ‘एक त हामीसँग प्रयाप्त जनशक्ति छैन, भएको जनशक्तिले काम गरिरहेका बेला एक जनाले मोबाइलको लाइटको व्यवस्था गर्नुपर्छ’, कार्कीले भनिन्, ‘हामीसित मोबाइल कोखमा च्यापेर सुत्केरी गराएका धेरै अनुभव छन्।’ यो समस्या गलकोट नगरपालिकाका स्वास्थ्य संस्थामा मात्रै होइन, बागलुङका अधिकांश स्वास्थ्य संस्थामा छ। स्थानीय तहले विद्युत्को वैकल्पिक व्यवस्था गर्न नसक्दा स्वास्थ्यकर्मीले आकस्मिक उपचार तथा प्रसूतिको समयमा सास्ती ब्यहोर्नुपरेको हो। बर्थिङ सेन्टर रहेको बरेङ गाउँपालिकाको बाटाका चौर स्वास्थ्यचौकीमा पनि बैकल्पिक ऊर्जाको समस्या छ। छिमेकी जिल्ला गुल्मी हुँदै बरेङ ल्याइएको केन्द्रीय प्रसारण लाइनको विद्युत् सामान्य हावा चल्दासमेत अवरुद्ध हुने गरेको छ। ‘एक पटक गयो भने तीन-चार दिन विद्युत् आउँदैन्, ब्याकअप नहुँदा सबैभन्दा समस्या सुत्केरी गराउने बेला हुन्छ’, स्वास्थ्यचौकीका निमित्त प्रमुख धर्मप्रकाश थारुले भने, ‘बर्थिङ सेन्टरलाई संवेदनशील मानेर आवश्यक पूर्वाधार तयार गर्नुपर्छ।’ विद्युत् नहुँदा मोबाइलकै भर पर्नुपरेको उनले सुनाए। बरेङ गाउँपालिकाले भने केही स्वास्थ्य संस्थामा विद्युत् नभएका बेला वैकल्पिक प्रयोगका लागि ‘ब्याकअप’ जडान गरेको छ। धुल्लुबास्कोट स्वास्थ्यचौकीको बर्थिङ सेन्टरमा जडान गरिएको ‘ब्याकअप’ले सहयोग पुगेको अनमी अनिसा आचार्यले बताइन्। गाउँपालिकाले सबै स्वास्थ्य संस्थामा ‘ब्याकअप’ पुर्याउने योजना बनाएको छ। ‘क्रमैसँग सबै स्वास्थ्य संस्थालाई सुविधा सम्पन्न बनाउँछौँ, एकै पटक बजेटका कारण सम्भव छैन्’, गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले भने।
प्रधानमन्त्रीले भेटे जहाज दुर्घटनामा ज्यान गुमाएका यात्रुको परिवारलाई
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले महाराजगन्जस्थित टिचिङ अस्पतालमा पुगी यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गरेका छन् । बिहीबार बिहान प्रधानमन्त्रीले शव पहिचानको स्थितिबारे जानकारी लिँदै शव पहिचानको काम छिटो गर्न, पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई हस्तान्तरण गर्न अस्पताललाई निर्देशन दिएका छन् । उनले शव पहिचानको काम छिटो सक्न सरकारको तर्फबाट चाहिने सहयोग माग्न पनि अस्पतालका पदाधिकारीलाई आग्रह गरे । भेटघाटका क्रममा प्रधानमन्त्रीले पहिचानका लागि राखिएका शवको निरीक्षण गर्नुका साथै मृतकका आफन्तसँग भेटघाट गरेका थिए ।