करोडौँ लगानीमा निर्माण गरिएको सोलुखुम्बुको विमानस्थल प्रयोगहीन
सोलुखुम्बु। सोलुखुम्बुको काँगेलडाँडा विमानस्थल वर्षौंदेखि प्रयोगहीन भएको छ। नेपालकै सबैभन्दा बढी विमानस्थल भएको जिल्लाका रुपमा परिचित सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका-२ स्थित सो विमानस्थल करिब सात वर्षदेखि उपयोगमा आउन सकेको छैन। राज्यको करोडौँ लगानीमा २०५२ सालमा निर्माण गरिएको विमानस्थलमा २०७२ सालपछि उडान तथा अवतरण ठप्प बनेको हो। लामो समय प्रयोगविहीन भएसँगै सो विमानस्थल अहिले गौचरणमा परिणत भएको छ। करिब आधा दशकपछि २०७७ मङ्सिर ३० गते परीक्षण उडान हुँदा हौसिएका स्थानीयसमेत उडान परीक्षणमै सीमित हुँदा अहिले निराश बनेका छन्। प्राविधिक हिसाबले विमानस्थल निर्माण नै त्रुटिपूर्ण रहेकाले मर्मत नगरी सञ्चालन गर्नसक्ने अवस्था नरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। टावर तथा घेराबारसमेत जीर्ण बन्दै गएको सो विमानस्थल सञ्चालनमा आउने स्थानीयले आशा मारिसकेका छन्। विमानस्थल सञ्चालनमा ल्याउन सक्दो कोसिस गरेको भए पनि सफल नभएको थुलुङ दूधकोसी गाउँपालिकाले जनाएको छ। विसं २०५२ मा निर्माण सुरु भएको विमानस्थलमा २०६२/६३ देखि उडान सेवा सुरु भएको थियो। विसं २०७२ सम्म नेपाल एयरलाइन्स र तारा एयरले उडान भर्दै आएको विमानस्थलमा त्यसपछि उडान बन्द भएको थियो।
‘जहाज पुराना हुन्छन्, थोत्रा हुँदैन’
काठमाडौं । विमान दुर्घटना भएपछि सधैँ एउटै भनाइ दोहोरिने गरेको छ । जहाज थोत्रा भएर दुर्घटना भयो । त्यस्ता, दुर्घटनामा मानवीय कमजोरी पनि औँल्याइन्छ अर्थात् विमानचालकको लापर्वाहीले दुर्घटना भएको प्रतिवेदनमा सिफारिस हुन्छन् । कतिपय दुर्घटनामा विमानको इन्जिनको कमोजारीलाई पनि औँल्याइन्छ । यही माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको कलसाइन नाइन–एएनसी (एटीआर–७२–२१२) विमान दुर्घटनमा चालक दलका सदस्यसहित ७२ मध्ये ७१ जनाको निधन भयो भने एक जनाको शव पहिचानको चरणमा छ । उक्त विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १८ मिटर पर सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको थियो । तुलनात्मक रुपमा सुरक्षित मानिएको एटीआर विमान दुर्घटनामा परेपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपालको हवाई क्षेत्रप्रति चासो हुनु स्वभाविक हो । बुद्ध एयरका प्राविधिक निर्देशक मङ्गेश थापाले विमान दर्ताको हिसाबले पुरानो हुने तर थोत्रा नहुने बताउँछन्। ‘दुर्घटना विमानको ‘आयु’ सँग सिमित हुँदैन, सधैँ विमानलाई पुरानो भनेर दाँजिनु पनि हुँदैन, विमानको विभिन्न तहमा समयसमयमा पाटपूर्जा फेर्नुपर्छ, ‘नियमित मर्मतसंहार गरेर उडानयोग्य’ अवस्थामा राख्नुपर्छ, समय पुगेपछि इन्जिन र साइकल फेरिन्छ’, उनले भने । विमान ‘निश्चित सयमा’ मा ‘पार्टपूर्जाहरू’ फेरेर मर्मत गरी उडान योग्य अवस्थामा राखिने गरेको छ । निश्चित समय पुगेपछि विमानको इन्जिन फेरिन्छ । विमानको ‘साइकल’ पनि परिवर्तन गरिन्छ । ‘जुन विमान कति घण्टा उड्यो र कति साइकल भयो’ सोही आधारमा समय समयमा मर्मत गरिन्छ । विमानमा एक ‘टेकअफ’ मा एक साइकल हुन्छ । विज्ञहरूका भनाइमा एटीआर जहाजको ७० हजार साइकल पूरा भएपछि उडाउन नपाइने नियम छ । त्यो जहाजको इन्जिन राम्रो भए पनि सञ्चालन गर्न पाइँदैन । मानवीय क्षतिका हिसाबले नेपालमा आन्तरिकतर्फ हालसम्मकै ठूलो विमान दुर्घटना भएकाले मुलुकको समग्र हवाई क्षेत्र मात्रै हैन कोभिड–१९ महामारीले तङ्ग्रिदै गरेको पर्यटन क्षेत्रमा पनि नकारात्मक असर पर्ने सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । निर्देशक थापाका अनुसार विमान दुर्घटना ‘मनवीय पक्ष’ मा धेरै आधारित हुनेगर्छ । उहाँले कुनै पनि विमान खरिद गरेर त्यसै उडानमा नलगिने, विमान सञ्चालनमा ल्याउनु अघि हवाई मापदण्ड अनुरुप मर्मतदेखि सबै खाले प्रक्रिया पूरा गरेर मात्रै व्यावसायिक उडानमा लगिने भएकाले हवाई सुरक्षा सबैको पहिलो प्राथमिकता हुने उल्लेख गरे । उनले भने, ‘विमान त्यसै ल्याएर उडाउने कुरा हुँदैन, कष्टोमाइज मेन्टिनेन्स्’ गरेर मात्रै उडानमा लैजान्छौँ, सञ्चालन वातावरण र ‘अप्रेशन ड्युरेसन’ का आधारमा कस्टमाइज गरिन्छ ।’ निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले एटीआर विमान दुर्घटनापछि सवत्र उठेको चासो र जिज्ञासालाई सम्बोधन गर्ने उद्देश्यले आज ‘गुणस्तरीय एवं आरामदायी उडान’ विषयक अन्तरक्रिया गरेको छ । कम्पनीले हवाई सुरक्षा गुणस्तर अभिवृद्धिमा हालसम्म गरिरहेको काम र सुरक्षा सतर्कताबारे पर्यटन र ‘एभिएसन बिट’मा कामगर्ने सञ्चारकर्मीलाई ‘एभिएसन सेफ्टी’ र उडान सञ्चालनबारे अभिमुखीकरण गराएको हो । कम्पनीको प्राविधिक विभाग, उडान सञ्चालन विभाग, तालिम विभाग, सुरक्षा विभागलगायत विभिन्न विभागका प्रमुख एवं विज्ञहरूले आधारभूत हवाई सुरक्षा र उडान सञ्चालनबारे प्रस्तुति गरेका थिए । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले एटीआर जहाज दुर्घटनापछि विगत केही दिनयता लगातार अन्तर्राष्ट्रिय सञ्चार माध्यमले नेपालका सबै हवाई सेवा प्रदायक असुरक्षित भन्ने सम्प्रेषणले कम्पनीलाई चिन्तित तुल्याएको बताए । उनले हवाई सुरक्षा प्रणालीमा कम्पनीले कसरी काम गरेको छ भनेर आधारभूत जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको सुनाए । सन् २०११ को दुर्घटनापछि कम्पनीको इञ्जिनीयर, अप्रेशन, ग्राउण्ड ह्याण्डलिङ, जनशक्ति, वित्त तथा बजार व्यवस्थापनजस्ता हरेक विभागलाई चुस्त र प्रभावकारी बनाइएको उनले बताए । प्रबन्ध निर्देशक बस्नेतले कम्पनीमा आबद्ध एक हजार पाँच सय कर्मचारीलाई नियमित तालिम दिएर र भौतिक पूर्वाधार जगेडा पाटपूर्जा एवं ‘टुल्स’ मा अर्बौ खर्चेर गुणस्तरीय वायुसेवाको रुपमा स्थापित गर्न सफल भएको दाबी गरे । बुद्ध एयरकै उडान सञ्चालन निर्देशक सुवर्ण खरेलले विमान उडानका विभिन्न प्रणालीबारे जानकारी गराएका थिए । कम्पनीसँग करिब एक सय ५० विमान चालक (पाइलट) रहेका छन् । तीन एटीआर–४२ र ११ एटीआर–७२ सिरिजका गरी कूल १४ विमानमार्फत सेवा सञ्चालन गरिरहेका छन् । अन्तर्राष्ट्रिय प्रचलन, हवाई मापदण्ड, अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) र नेपालको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को मापदण्ड अनुरुप सुरक्षा गुणस्तर व्यवस्थापनमा कम्पनी लागिपरेको कम्पनीका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताए । दुर्घटना लगत्तै सरकारले छानविन समिति बनाउने र समितिको प्रतिवेदन प्रभावकारी कार्यान्वनय हुन सकेको छैन । दुर्घटनाको क्रम रोकिनुभन्दा बढिरहेको छ । क्यानका अनुसार हालसम्म मुलुकमा आन्तरिक र अन्तर्राष्ट्रिय गरी एक सय पाँच विमान दुर्घटना भएका छन् । यी दुर्घटनामा नौ सयभन्दा बढी मानवीय क्षति भएको छ । रासस
विकासको युग सुरु भयो : ऊर्जामन्त्री लिङ्देन
बनियानी । उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले झापामा विकासको युग सुरु भएको बताएका छन् । २८५९औँ सोनाम ल्होछारको अवसरमा आज झापाको भद्रपुर नगरपालिका–२ कमलधापस्थित संयुक्त धार्मिकस्थलमा पद्मछोयोलिङ गुम्बाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले झापा क्षेत्र नं ३ को विकासमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘अब यस क्षेत्रमा विकास निर्माणको युग सुरु हुन्छ’, उपप्रधानमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला झापा आएका उनले भने, ‘चुनावताका गरेको बाचा भुलेको छैन, काम गरेरै देखाउँछु ।’ गुम्बाका अध्यक्ष सुभाषचन्द्र थिङको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा प्रदेश नं १ का कृषि तथा सहकारीमन्त्री भक्ति सिटौलालगायतको उपस्थिती थियो । पूर्वकार्य समितिका सदस्यलाई सम्मान र तामाङ जातिको सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिएको थियो । हरेक वर्ष एक/एक जनावर तथा चराचुरुङ्गीको नाममा फेरिने ल्हो अर्थात् वर्गअनुसार यो वर्ष बाघ वर्गलाई बिदा गरी बिरालो वर्गलाई स्वागत गरिएको छ । तामाङलगायत बौद्ध समुदायले नयाँ वर्षका रूपमा हर्षोल्लासका साथ मनाउने गर्दछन् ।
सोनाम ल्होछारमा धपक्क बलेको टुँडिखेल (फोटोफिचर)
काठमाडौं । तामाङ समुदायको मुख्य सांस्कृतिक पर्व सोनाम ल्होछार अर्थात् नयाँ वर्ष आज (आईतवार) विविध कार्यक्रम गरी मनाइएको छ । काठमाडौं लगायत देशभरका विभिन्न स्थानहरुमा सांस्कृतिक कार्यक्रम गरी ल्होछार मनाइएको हो । सो अवसरमा आज तामाङ समुदायका बालबालिका, किशोरकिशोरी र वृद्धवृद्धाहरू काठमाडौंको टुँडिखेलमा भेला भएर सोनाम ल्होछार मनाएका थिए । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार मञ्जुश्री पात्रोअनुसार आजबाट २८५९ औं वर्ष शुरु भएको छ । यससँगै बाघ वर्ष पूरा भइ बिरालो वर्ष प्रवेश गरेको मानिन्छ । मुसा, गाई, बाघ, बिरालो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।
अखिलको दबाबमा सारियो त्रिभुवन विश्वविद्यालयको परीक्षा
काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को दबाबका कारण त्रिभुवन विश्वविद्यालय (टीयू)ले विद्यार्थीको परीक्षा सारेको बुझिएको छ । फागुन पहिलो साता हुने २३औं राष्ट्रिय महाधिवेशनका कारण अनेरास्ववियुले त्रिभुवन विश्व विद्यालयलाई परीक्षा सार्न दबाब दिएपछि टीयू पनि परीक्षा सार्न बाध्य भएको बुझिएको हो । त्रिभुवन विश्वविद्यालयले यसअघि फागुन दोस्रो सातादेखि स्नातक तह पहिलो र चौथो वर्षका सबै संकायको परीक्षा तोकेको थियो । सोही समयमा परीक्षाको कारण अनेरास्ववियुको महाधिवेशन प्रभावित हुने भन्दै अनेरास्ववियुका विद्यार्थी नेताहरुले परीक्षा सार्न दबाब दिएपपछ परीक्षा सरेको स्रोतको भनाइ छ । विद्यार्थी नेताहरुको दबाबपछि विश्वविद्यालयले पनि फागुनामा हुने परीक्षा रद्द गरेर नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । विश्व विद्यालयले ती परीक्षाहरुलाई चैतको दोस्रो सातादेखि सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेको छ । विद्यार्थी नेताको दबाबकै कारण विद्यार्थीहरुको परीक्षा १ महिना पछाडि धकेलिएको छ । पुरानो परीक्षा तालिका [pdf id=382353] अनेरास्ववियुका महासचिव समिर बडालले भने दबाब नभई विश्व विद्यालयलाई आग्रह गरेको बताए । अनेरास्ववियुले विद्यार्थीको परीक्षा नै सार्नको लागि विश्वविद्यालयलाई दबाब नदिएको बताउँदै उनले विश्वविद्यालयलाई अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन र स्ववियु निर्वाचनको तालिकाको विषयमा जानकारी गराएर विद्यार्थीको परीक्षा प्रभावित नहोस् भनेर अग्रिम जानकारी गराएको बताए । ‘हाम्रो महाधिवेशनको कार्यतालिका यस्तो छ, स्ववियु पनि नजिकिँदैछ, यसले गर्दा विश्व विद्यालयको क्यालेन्डर प्रभावित नहोस, त्यही बिचमा धेरै विद्यार्थीको परीक्षा पनि छ, यो बेला विश्व विद्यालयले मिलाएर काम गर्नु पर्छ भनेर हामीले आग्रह मात्रै गरेका थियौं, परीक्षा नै सार्नु पर्छ भनेर हामीले दबाब दिएका छैनौं,’ बडालले विकासन्युजसँग भने । त्रिभुवन विश्वविद्यालयमा राजनीतिक दृष्टिकोणका आधारमा व्यवस्थापन तथा प्राध्यापकहरुको काम कारवाहीमा विद्यार्थी संगठनहरुले आफ्नो दृष्टिकोण राख्दै सोही अनुसार प्रतिक्रिया जनाउँदै आएको देखिन्छ । लामो इतिहास र प्रशस्त सम्भावना बोकेको विश्वविद्यालय पटक–पटक राजनीतिक निशानामा पर्दै पनि आएको छ । त्रिभुवन विश्वविद्यालयका रजिष्टार पेशल दाहाल भने विद्यार्थी नेताको दबाबमा परीक्षा सारेको विषयलाई अस्वीकार गर्छन् । उनका अनुसार केही मिलाउन बाँकी आन्तरिक विषयहरु मिलाउनका लागि परीक्षा सारिएको उनको तर्क छ । यसअघि तयारी सकेर परीक्षा तालिका नै सार्वजनिक गरिसकेको अवस्थामा अहिले कसरी तयारी पुगेन भन्ने प्रश्नमा भने उनी नाजवाफ भए । ‘विद्यार्थी नेताहरुको दबाबमा विश्वविद्यालय बस्दैन, अहिले केही विषयहरुमा तयारी नपुगेर एक महिना पछाडि सारेका हौं, यसमा अन्यथा सोच्नु हुँदैन,’ उनले भने । समयमा परीक्षा लिने, नतिजा सार्वजनिक गर्ने र पाठयक्रमको नियमित विकास गर्ने लगायतका विषयहरुमा अब्बलता पदर्शन गर्न नसकेको विश्वविद्यालयले एउटा विद्यार्थी संगठनको दबाबमा विद्यार्थीको परीक्षालाई एक महिना सार्ने काम गरेको भन्दै अहिले चौतर्फी रुपमा आलोचना पनि भइरहेको छ । कोरोना महामारीले प्रभावित पारेको शैक्षिक क्षेत्रको तालिका अझै नियमित हुन नसकिरहेको अवस्थामा विश्वविद्यालयले विद्यार्थीको परीक्षालाई थप एक महिना धकेल्दा यससँग सम्बन्धित हजारौं विद्यार्थीको पढाई पनि प्रभावित हुने देखिन्छ । नयाँ परीक्षा तालिका [pdf id=382349]
आरपिएस मार्फत १८ सय अर्बको भुक्तानी कारोबार फर्छ्यौट
काठमाडौं । रिटेल पेमेन्ट स्वीच(आरपिएस) मार्फत चालु आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्म १८ सय अर्ब बराबरको भुक्तानी कारोबार फर्छ्यौट भएको छ । याे गत वर्षकाे तुलनामा ३१ प्रतिशतले बढी हाे । त्यसैगरी, कम्पनीकाे कारोबार संख्या पनि गत आर्थिक वर्षभन्दा २५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीकाे अनुसार रिटेल पेमेन्ट स्वीच(आरपिएस)मा हाल दैनिक औसत १३.३० अर्ब बराबरको भुक्तानी कारोबार फर्छ्यौट हुने गरेको छ, जस अन्तर्गत ६० प्रतिशत बराबरको कारोबार नेशनल पेमेन्ट इन्टरफेस मार्फत हुने गरेको छ । नेशनल पेमेन्ट स्वीच अन्तर्गतको आरपिएस मार्फत विभिन्न रिटेल प्रणाली तथा उपकरणहरु बीच अन्तरआबद्धता कायम गरिएको छ । अरपिएस अन्तर्गत फण्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीहरु बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग, वालेटहरु, कनेक्टआईपिएसको वेब, मोबाइल एप तथा गेटवे, कर्पोरेटपे प्रणाली तथा कुनै पनि संस्थाको आफ्नो प्रणालीसँग जोड्न सकिने ओपन एपिआई मार्फत उपलब्ध रहेका छन् । आरपिएस अन्तर्गत बैंक वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालक, सरकारी निकाय तथा विभिन्न संघ संस्थाहरु एनपिआई मार्फत आबद्ध भई भुक्तानी कारोबारहरु गर्दै आएका छन् । ओपन एपिआई प्ल्याट्फर्मको रुपमा सञ्चालनमा रहेको एनपिआईले आरपिएसँंग इन्टिग्रेट गरी विभिन्न भुक्तानी प्रणाली तथा अन्य बैंकिङ्ग सेवाहरु प्राप्त गर्न सक्दछन् । आरपिएस अन्तर्गत हालै भिपिएमा आधारित भुक्तानी, रिक्वेष्ट टु पे इमेनडाटामा आधारित भुक्तानी, अन्तरआबद्ध नेपाल पे क्युआर, बिलर गेटवे, वालेट अन्तरआबद्धता तथा पिएसओ सेटल्मेन्ट लगायतका विभिन्न उपकरणहरु उपलब्ध रहेका छन् । आरपिएसमा हाल ५५ बैंक वित्तीय संस्था सदस्यका रुपमा आबद्ध रहेका छन् । भुक्तानी कारोबार गरिने च्यानलको आधारमा प्रति कारोबार २० लाखसम्मको भुक्तानी तथा सोही बैंक वित्तीय संस्थाको हकमा १ करोडसम्मको भुक्तानी कारोबार गर्न सकिन्छ । आरपिएस अन्तर्गत रहेका कनेक्टआईपिएसको वेब मार्फत प्रति कारोबार २० लाखसम्म र मोबाइल एप मार्फत प्रति कारोबार २ लाखसम्मको कारोबार गर्न सकिन्छ । बैंक वित्तीय संस्थाका ग्राहकहरुले कनेक्टआईपिएसमा आफ्ना एक वा सो न्दा बढी बैंक खाताहरु लिन्क गरी एकै प्ल्याटफर्म मार्फत भुक्तानी गर्न सक्दछन् ।
महासंघको चुनावमा आर्थिक मन्दीको असर, बरिष्ठका आकांक्षीले पाएनन् उम्मेद्वार
काठमाडौं । आगामी चैत मसान्तमा हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनले व्यवसायिक क्षेत्रमा रौनक ल्याउन सकेको छैन । वरिष्ठ उपाध्यक्ष पदका लागि चार जना व्यवसायी दौडधुपमा लागेका छन् । तर, उनीहरुले उपाध्यक्षसहितको टिम बनाउन सकिरहेका छैनन् । एक बरिष्ठ उपाध्यक्ष पदको लागि वर्तमान उपाध्यक्षहरु अञ्जन श्रेष्ठ, दिनेश श्रेष्ठ, रामचन्द्र संघाई र पूर्व उपाध्यक्ष उमेशला श्रेष्ठ प्रतिस्पर्धाको तयारीमा छन् । उनीहरु मध्ये अञ्जन र उमेशलालले पदाधिकारीहरुको टिम लगभग तय गरेका छन् तर आकांक्षीद्वय दिनेश र रामचन्द्रले पदाधिकारीको टिम तयार गरेको छैनन् । अन्जन श्रेष्ठको समूहबाट जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा अरुणराज सुमार्गी, एशोसिएट समूहबाट उपाध्यक्षमा शाहिल अग्रवाल, वस्तुगत समूहबाट उपाध्यक्ष मनिषलाल प्रधान उम्मेद्वार बन्दैछन् । यस्तै, उमेशलाल श्रेष्ठको समूहबाट जिल्ला नगरतर्फको उपाध्यक्षमा कृष्ण शर्मा, एशोसियततर्फको उपाध्यक्षमा भरतराज आचार्य र वस्तुगत समूहको उपाध्यक्ष पदमा हेमराज ढकाल उम्मेद्वार बन्दैछन् । दिनेश र रामचन्द्रको समूहबाट पदाधिकारीका उम्मेद्वारबारे अहिलेसम्म प्रारम्भिक खाका आएको छैन । ‘वरिष्ठमा चार जना उम्मेदवार हुँदैनन्, चारै जनाले टिम बनाएर चुनावमा जाने सम्भावना छैन, चार वटै टिम बन्ने हो भने २६० जना उम्मेद्वार हुनुपर्छ’ उपाध्यक्ष दिनेश श्रेष्ठले भने– ‘वरिष्ठ उपाध्यक्षमा २ जना उम्मेदवार हुन्छन्, त्यसपछि मात्र अन्य पदाधिकारी उम्मेद्वार तय हुनेछ ।’ जिल्ला उपाध्यक्षमा नरेन्द्र कुमार खड्का, सुरकृष्ण बैद्य, वस्तुगत उपाध्यक्षमा सकुन्तलाल हिराचनले पनि आकांक्षा राखेका छन् । वस्तुगत र जिल्ला उपाध्यक्षका आकांक्षी बढी भए पनि एशोसिएटतर्फ भए दुई जनाले मात्र आकांक्षा व्यक्त गरेका छन् । आर्थिक मन्दी भएको कारण व्यवसायीहरु संकटपूर्ण अवस्थामा रहेकोले पनि चुनावमा आकांक्षी कम देखिएको हुन सक्ने महासंघको स्वास्थ्य तथा सीप विकास समितिको सभापति हेमराज ढकाल बताउँछन् । आर्थिक मन्दीकै कारण महासंघको चुनावी माहोल पनि सुस्त रहेको उनले बताए । वर्तमान नेतृत्व मौन, पूर्व अध्यक्षहरु सक्रिय आगामी निर्वाचनको विषयमा महासंघको वर्तमान नेतृत्व मौन देखिएको छ भने पूर्व अध्यक्षहरुको सक्रियता बढेको छ । महासंघको राजनीतिमा पुराना खेलाडी चण्डिराज ढकाल अहिले पनि उस्तै सक्रिय देखिन्छन् । उनी खुलेर उमेशलाल श्रेष्ठको पक्षमा लागेका छन् । पूर्व अध्यक्षहरु भवानी राणा, कुशकुमार जोशी, पूर्व उपाध्यक्ष किशोर प्रधान अञ्जन श्रेष्ठको पक्षमा लागेका छन् । पूर्व अध्यक्ष पशुपति मुरार्का, वर्तमान अध्यक्ष शेखर गोल्छाले पनि अन्जनको समूहले समर्थन गर्ने उपाध्यक्षमा आकांक्षी अरुण राज सुमाग्रीले बताए । यद्यपि, वर्तमान अध्यक्ष शेखर गोल्छा र अध्यक्ष हुँदै गरेका चन्द्रप्रसाद ढकाल चुनाव लक्षित कार्यक्रमहरुमा सहभागी भैरहेका छैनन् । आगामी निर्वाचनमा कुनै पनि उम्मेद्वारको पक्षमा आफू नलाग्ने अध्यक्ष शेखर गोल्छाले विकासन्युजसँग बताए । ‘गत निर्वाचनमा मेरो पक्षमा कार्यसमितिमा बहुमत सदस्य जिताउन मैले खुलेर चुनावी अभियानमा लाग्नु पर्यो, यस पटक म तटस्थ भूमिकामा हुन्छु’ उनले भने । महासंघको अगामी निर्वाचनपछि स्वत अध्यक्ष बन्दै गरेका चन्द्रप्रसाद ढकाल पनि निष्पक्ष भूमिका खेल्न चाहेका छन् । ‘निर्वाचनपछि सबैलाई मिलाएर लैजानसजिलो होस् भनेर अध्यक्षमा निर्वाचन नगर्ने, बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था गरिएको हो’ ढकाल भन्छन्– ‘विधानको मर्म अनुसार नै म अगाडि बढ्छु, कसैलाई समर्थन वा विरोध मबाट हुँदैन ।’ वरिष्ठ उपाध्यक्षका अकांक्षीहरु भने अन्तिममा चन्द्र ढकालले आफूलाई समर्थन गर्नेमा आशावादी देखिन्छन् । ‘उहाँले खुल्दीन भन्नु भएको छ, उहाँलाई पनि काम गर्न सजिलो मान्छे चाहिन्छ, अन्तिममा उहाँले मलाई समर्थन गर्नुहुन्छ’ वरिष्ठ उपाध्यक्षका एक आकांक्षीले विकासन्युजसँग भने ।
राष्ट्रपति बाइडेनको निजी निवासमा खानतलास, गोप्य दस्तावेज बरामद
वासिङ्टन । सङ्घीय अनुसन्धान व्युरो (एफबिआई)ले राष्ट्रपति जो बाइडेनको डेलावार राज्यको विल्मिङ्टनस्थित निवासमा खानतलास गरेको छ । खोजविनका क्रममा ‘गोप्य’ लेखिएका केही दस्तावेज र उनका हस्तलिखित टिपोट एफबिआई आफ्नो स्वामित्वमा लिएको राष्ट्रपतिका वकिलले बताएका छन् । राष्ट्रपति बाइडेनले स्वैच्छिकरूपमा एफबिआईको टोलीलाई खानतलासको अनुमति दिएका थिए । यद्यपि उक्त टोलीले खानतलासीको पूर्जी प्रस्तुत नगरे पनि विशिष्ट प्रकृतिको खानतलासीमा कुनै समस्या नभए पनि यसले राष्ट्रपतिलाई अप्ठ्यारोमा पारेको छ । गत पुस १२ गते राष्ट्रपतिका वकिलहरूले मध्यावधि निर्वाचनको केही समयअघि वासिङ्टनको पेन बिडेन केन्द्रको पूर्वकार्यालयमा केही गोप्य दस्तावेज फेला पारेको खुलासा गरेपछि अनुसन्धान गर्न एफबिआई टोली राष्ट्रपतिको निजी निवासमा पुगेको हो । बाइडेन उपराष्ट्रपति रहेका बेलाका छ वटा गोप्य दस्तावेज विल्मिङटन निवासको पुस्तकालयबाट टोलीले फेला पारेको छ । राष्ट्रपतिले पुस्तकालयलगायत स्थानमा केही नभएको अनुसन्धान टोलीलाई बताउनुभएको थियो । आफ्ना पूर्ववर्ती डोनाल्ड ट्रम्पको अशान्तिपूर्ण बहिर्गमनपछि अमेरिकी जनतामाझ आफ्नो सत्चरित्रयुक्त छवि रहेको चित्रण गर्ने प्रयासमा राष्ट्रपति बाइडेनलाई ठेस लागेको छ । तेह्रघण्टा लामो खोजविनका क्रममा गोप्य लेखिएका छ वटा दस्तावेज अनुसन्धान टोलीले आफ्नो नियन्त्रणमा लिएको राष्ट्रपतिका निजी कानुन व्यवसायी बब बउरले बताएका छन् । बाइडेन सिनेटर र उपराष्ट्रपति रहेका बेलाका दस्तावेज टोलीले नियन्त्रणमा लिएको जानकारी पनि उनले दिए । टोलीले लिएका दस्तावेज कति गोप्य हुन् भन्ने स्पष्ट भएको छैन । अनुसन्धान टोलीले लिएका दस्तावेज कानुन मन्त्रालयले समीक्षा गर्नेछ ।