माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउन्टर लगनखेलमा
काठमाडौं । माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउन्टर लगनखेल संचालनमा आएको छ । बैंकले लगनखेलस्थित कर्मचारी सञ्चय कोष भवनमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको हो । कर्मचारी सञ्चय कोषका सह–प्रशासक जीवन कुमार कटवाल ज्यूले उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन गरे । योसँगै बैंकको देशभर एक्सटेन्सन काउन्टर संख्या ११ पुगेको छ । बैंकले नयाँ एक्सटेन्सन काउन्टर मार्फत ग्राहकको खाता खोल्ने, निक्षेप संकलन तथा भुक्तानी, विप्रेषण लगायतका अन्य बैंकिङ्ग सुविधाहरु समेत प्रदान गर्ने जनाएको छ ।
‘गाउँमा ब्रुनाइको बर्गर सम्झँदै बासी भातमा नुन छर्केर खाएँ’
काठमाडौं । ‘लाहुरे बुबाको कर्मथलो हङ्कङमा जन्मिएर ब्रुनाइमा हुर्केको म एकै पटक गाउँमा पुग्दा कस्तो भए होला ? जब म गाउँमा पुगेँ, ब्रुनाइको बर्गर सम्झँदै बासी भातमा नुन छर्केर खाएँ’, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती विगत सम्झिएर भावुक भए । भोजपुरको टेम्के डाँडा नजिकबाट वायुसेवा निगमको जहाज निस्कियो । मन्त्री किरातीको घरपारिबाट निस्किएको उक्त जहाजको गन्तव्य पहिल्याउँदा भोजपुरको डाँडा काटेर सङ्खुवासभाको तुम्लिङ्टार उडेको रहेछ । पर्यटनमन्त्रीको जिम्मेवारी सम्हालेको छ दिनपछि आज नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को नयाँ सडकस्थित मुख्यालयमा निगमको निरीक्षण र गतिविधिबारे जानकारी लिँदै पर्यटनमन्त्री किरातीले निगमसँगको संयोगका केही सन्दर्भ कोट्याउँदै विगत सम्झेर निकै भावुक बनेका हुन् । निगमका कर्मचारी र सञ्चारकर्मीको भीडमा भावुक मुद्रामा किरातीले भने, ‘जहाज आउँदा खुसी हुन्थेँ, जहाजले छाडेर जाँदा म रुन्थेँ’ र त्यही जहाज सम्झेर मेरो आमालाई भन्थेँ, गाउँमा नबसौँ आमा ।’ शायद त्यो बेला, हप्ता दिनमा एक पटक निगमको विमान भोजपुरको डाँडा भएर उड्थ्यो होला । सुविधासम्पन्न सहर, गाडी र जहाजको भीडमा हुर्किएका मन्त्री किरातीलाई त्यतिबेलाको जहाजको आवत–जावतले निकै रुवाउँथ्यो । उनले भने, ‘मलाई त्यो बेला रुवाउँथ्यो निगमको विमानले र मैले भन्थेँ आमालाई जाऊँ हङ्कङ ।’ भोजपुरको ओख्रेमा जन्मिएका पर्यटनमन्त्री किरातीका बुबा हर्कबहादुर राई ब्रिटिस लाहुरे हुँदा बुबाको कर्मथलो हङकङमा जन्मेर ब्रुनाइमा हुर्किए । लाहुरेको छोरा बाल्यकालमा कुनै चीजमा कमी थिएन । सुविधासम्पन्न मुलुकमा हुर्केको व्यक्ति एकैचोटि दुर्गम गाउँमा ओर्लँदा किरातीलाई अनौठो लाग्नु स्वाभाविक थियो । मन्त्री किरातीले आफू तेस्रो पटक सांसद हुँदै मन्त्री बनेर संयोगवश निगमको विभागीय मन्त्रीको जिम्मेवारीमा आइपुगेको बताए । उनले दोस्रो पटक सांसद भएर पर्यटन र परराष्ट्र मन्त्रालयसँग सम्बन्धित संसदीय समितिमा बसेर काम गर्दा नै निगमको अवस्था बुझ्न पाएको सुनाए । ‘अब यही जहाजको कारणले अब मलाई रुन नपरोस् सबैको ध्यान वायुसेवा निगमप्रति छ । म हाँस्न चाहन्छु,’ उनले भने । नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्यसमेत रहनुभएका मन्त्री किरातीले यो वा त्यो पदमा पुग्छु भनेर राजनीति पनि गरकाे हैन । तर, समय र परिस्थितिले मन्त्रीको जिम्मेवारी स्वीकारेका छन् । उनी भन्छन्, ‘वडाध्यक्ष पनि हुन्छु भनेर राजनीतिमा लागेको हैन, तर, मन्त्री भए । मैले मेरो जिम्मेवारी बुझेको छु, यो मेरो जीवनको अग्निपरीक्षा हो ।’ राज्यको गौरवमय संस्था डुबेको आफू टुलुटुलु हेर्न नसक्ने भन्दै ऐन, कानुन विधिसम्मत संस्था सुधारका लागि लागि पर्ने बताए । उनले कुनै पनि भेदभाव नगरी निगमको कामलाई चुस्त र प्रभावकारी बनाउन लागिपर्ने विश्वास व्यक्त गरे । अरू दुनियाँ एयरलाइन्स नाफामा जाने तर निगम सधैँ घाटामा रहरिहनुपर्ने स्वीकार्य नहुने भन्दै निगम सुधार्न सबै सक्रिय हुनुपर्नेमा जोड दिए । ‘कालो हातले छुने कोसिस नगर्नूहोला’ मुलुकको ४०औँ पर्यटनमन्त्री बनेका किरातीले देशको शान र गौरव ध्वजावाहक वायुसेवा निगमलाई गौरव गर्न लायक बनाइने विश्वास व्यक्त गरे । ‘किन हामी वायुसेवा निगममाथि गौरव गर्छौँ, जसले ४० हजार फिटमाथि राष्ट्रिय झन्डा फहराएर विश्वमा पहिचान कायम गरेको छ । विमानस्थल हाम्रो अनुहार हो, जहाज हाम्रो गौरव हो । पहिलो नजर अनुहारमा जाने भएकाले अब यो राम्रो हुनुपर्छ’, पर्यटनमन्त्रीले भने । निगम मुख्यालय र बैठक कक्ष हेर्दा दयनीय अवस्था रहेको मन्त्री किरातीले उल्लेख गरे । उनले भने, ‘म सेतो लुगा लगाएको मान्छे हुँ, कृपया कालो हातले छुने कोसिस कसैले नगर्नूहोला । सुनेको छु, कालो हातले छोएर नचिनिने भएर मान्छे फर्किन्छन् रे यहाँ । मैले त फेरि चिनिएर फर्किनु छ ।’ ‘हामीलाई असफल हुने छुटै छैन’ पर्यटनमन्त्री किरातीले आफूहरू गाडीको ‘स्टार्ट’ गर्नुपहिला पहिला चेकजाँच गर्ने क्रममा रहेको भन्दै छिट्टै स्टार्ट हुने गर्छौँ, हाम्रो उद्देश्य एउटै हो निगम बनाउने । उनले भने, ‘निगम असफल बनाउने छुट मसँग छैन । र त्यो समय, परिस्थिति र सन्दर्भले पनि दिँदैन । मलाई विश्वास छ, निगम व्यवस्थापनले सुधारको काम गर्नेछ ।’ निगमको ‘बिजनेस प्लान’ चाहियो पर्यटनमन्त्री किरातीले प्रत्येक दिन निगमको रिपोर्ट मन्त्रालयलाई बुझाउन निगम व्यवस्थापनलाई निर्देशन दिए । ‘कुन जहाज कहाँ कति मिनेट र कति घण्टा डिले भयो । कुन जहाजको कहिले चक्का हरायो, कुन जहाजको तार मुसाले काट्यो, यी सब विषयको दैनिक रिपोर्ट मन्त्रालयमा ल्याउनुस् मन्त्रालयबाट म फर्किँदा प्रत्येक दिन निगमको रिपोर्ट बुझेर फर्कन्छु’, उनले भने । ‘समस्या हात्ती जत्रो, समाधानको स्रोत चाहिँ झिँगाको टाउको जत्रो’ भएपछि निगम कसरी सुधार हुन्छ भनी प्रतिप्रश्न गर्दै मन्त्री किरातीले निगम सुधारको कार्ययोजना तत्काल ल्याउन निर्देशन दिए । उनले कुनै काम प्रलोभनमा पार्न जुत्ता फटाउने काम नगर्न पनि आग्रह गरे । एक महिनाभित्र अनलाइन टिकट ‘सर्वसाधरणले टिकट नपाउने तर, दलालले बिक्री गर्ने गरेको विकृति पाइएको’ भन्दै मन्त्री किरातीले एक महिनाभित्र अनलाइन टिकटको व्यवस्था गर्न निगमलाई निर्देशन दिए । उनले जहाज समयमै उडाउन र सेवालाई सरल र प्रभावकारी ब नाउनका साथै निगमको वार्षिक रुपमा आर्थिक अवस्था र निगमको समग्र कार्ययोजना ल्याउन पनि निगमलाई आग्रह गरे । पर्यटन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले निगमको विद्यमान अवस्थालाई सुधार गरी निगमको साख र गौरवलाई उचो बनाउन सबै जिम्मेवार भएर लाग्नुपर्ने बताए । उनले निगमको सेवालाई चुस्त र प्रभावकारी बनाउन व्यावस्थापकीय सुधार र रणनीतिक कार्ययोजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिए । पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले ‘बिजनेश प्लान’ बनाउन निर्देशन दिए । उनले जहाज किन्ने हो भने स्पष्ट कार्ययोजना बनाउन आग्रह गरे । ‘हो निगमलाई जहाज चाहिएको छ, तर, पहिला बिजनेस प्लान बनाउनुस् । जहाज थपेर मात्रै हुँदैन व्यवस्थापकीय सुधारसँगै गरिनुपर्छ, कुनै पनि वायुसेवा कम्पनी उडानमा प्राथमिकता हुनुपर्छ’, सचिव अधिकारीले भने । उहाँले निगमको ग्राउन्ड ह्यान्डलिङ सेवा अरू कम्पनीलाई दिनेबारे अहिलेसम्म मन्त्रालयमा कुनै छलफल नभएको स्पष्ट पारे । रासस
नेपालमा कफी उत्पादनमा ५० प्रतिशत कमी
काठमाडाैं । नेपाल कृषि अनुसन्धान परिषद्का वरिष्ठ सहायक जित चौधरीले नेपालमा पछिल्लो समय ५० प्रतिशत कफी उत्पादनमा कमी आएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित नेपालको कफी उत्पादन सम्बन्धि गरिएको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै चौधरीले नेपालमा पछिल्लो समय ५० प्रतिशत कफी उत्पादनमा कमी आएको बताएका हुन् । ‘पछिल्लो १० वर्षको तुलनामा नेपालमा कफी खेती बढेपनि उत्पादन भने ५० प्रतिशतले घटेको अनुसन्धानले देखाएको छ, नेपालको कफी उत्पादन ६ केजी प्रतिहेक्टर भएपनि याे अन्यदेशको तुलनामा अत्यन्तै कम हाे,’ उनले भने । उनले नेपालमा अब व्यापार तथा निर्यात भन्दा पनि उत्पादन वृद्धिमा ध्यान दिनुपर्ने भन्दै उत्पादन बढाउनको लागि बाहिरी देशबाट नयाँ प्रजातिको बीउ ल्याएर वा कफी खेतीमा सुधार गर्नुपर्ने बताए ।
अदुवाको बीऊ किन्दा २ करोड भ्रष्टाचार
काठमाडौं । गल्याङ नगरपालिकाका पूर्वमेयर भुपराज अधिकारी र नगरपालिकाका तत्कालिन कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदुवाको बीऊ किन्दा भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले अधिकारीसहित प्रमुख प्रशासकीय अधिकृत ईश्वरप्रसाद पाण्डे, तत्कालीन बाली विकास अधिकृत अरविन्दमणि त्रिपाठी, तत्कालिन लेखापाल राजेन्द्र रेग्मी, खरिदार सन्तोष कोइराला र बीऊ आपूर्तिकर्ता कम्पनीका प्रतिनिधिमाथि भ्रष्ट्राचार मुद्दा दायर गरेको हो । पूर्वमेयर अधिकारीलाई १३ लाख रुपैयाँ भ्रष्टाचारमा र बाँकी कमर्चारीलाई १ करोड ९७ लाख ७० हजार ४९९ रुपैयाँ भ्रष्टाचारमा विपक्षी बनाइएको अख्तियारले जानकारी दिएको छ । अख्तियारले बीउ आपूर्ति गर्ने स्पुक ट्रेडर्स प्रालि तिनकुनेका प्रतिनिधि शिव प्रसाद न्यौपानेविरुद्ध पनि दुई करोड १० लाख ७० हजार ४९९ रुपैयाँ बिगो माग गर्दै भ्रष्टाचारमुद्दा दायर गरेको छ ।
नेपाल उड इन्टरनेशनल एक्स्पो हुँदै, विभिन्न देशका १०० बढि स्टल राखिने
काठमाडौं । काठमाडौंको भृकृटीमण्डपमा नेपाल उड इन्टरनेशनल एक्स्पो हुने भएको छ ।मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस्ले नेपाल उड इनटरनेशनल एक्सपो माघ १३ गतेदेखि १५ गतेसम्म आयोजना गर्ने भएको हो । प्रदर्शनीमा संसारका विभिन्न देशका १०० भन्दा बढि ख्याती प्राप्त ब्राण्ड हरुका स्टल रहने आयोजकले जानकारी दिएको छ । प्रदर्शनीमा उड वर्किङ एण्ड फर्निचर म्यानुफ्याक्चरिङ मिसिनेरिज्, पावर टुलस्, प्लेउड, डोर्स एण्ड विन्डोज्, फिटिङ्स, उड एसेसरिज, र्व म्याटेरियल्स, इन्टेरियर डिजाइन, होम डेकोर तथा फिनिस्ड प्रडक्टस्हरु पनि राखिने बताइएको छ । आठौं नेपाल उड प्रदर्शनीमा आयोजकहरुले संसार भरका ख्याती प्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा आएर भविष्य लक्षित वस्तु तथा टेक्नोलोजीलाई नेपाली उद्योगहरुमा प्रयोग गराउन एउटा पहल भएको आयोजकले बताएको छ । यस प्रदर्शनीले नेपालमा भइरहेका काष्ठ वस्तु उत्पादन सम्बन्धि कार्यहरुमा पनि सकारात्मक भुमिका निर्वाह गर्ने विश्वास लिएको आयोजकले जनाएका छन् ।
पात्रो र भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रुपमा सरकारको स्वीकृति लिनुपर्ने
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पात्रो र भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रुपमा स्वीकृति लिन आह्वान गरेको छ । समितिको गठन आदेश, २०७७ र यसअन्तर्गत बनेका नियमका आधारमा समितिले स्वीकृति लिन आग्रह गरेको हो । समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले आज विज्ञप्ति प्रकाशित गरी सबै प्रकारका पात्रो र भित्तेपात्रो प्रकाशन गर्नुपूर्व स्वीकृतिका लागि निवेदन दिन अनुरोध गरेका हुन् । राजधानी बाहिर रहेकाले स्वीकृतिका लागि अनलाइनबाट नै स्वीकृतिको निवेदन दिन सकिने समितिले जनाएको छ । यस्ता पात्रो र भित्तेपात्रोलाई अनलाइनबाट नै स्वीकृति दिने व्यवस्था समितिले मिलाएको छ । आगामी वर्षका लागि प्रकाशित गरिने पात्रो र भित्तेपात्रोको सिरानमा समितिबाट स्वीकृत प्राप्त र समितिको चलानी नं समेत उल्लेख गर्न पनि समितिले सरोकार भएका सबैको ध्यानाकर्षण गराएको छ । स्वीकृति नलिई प्रकाशन भएका पात्रो र भित्तेपात्रोलाई कानूनबमोजिम कारबाही गरिने भएको छ । यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, संस्कृति महाशाखा प्रमुखको संयोजकत्वमा गृह मन्त्रालयका प्रतिनिधिसहित सरोकार भएका निकायका अधिकारी सदस्य रहेको अनुगमन समिति गठन गरिएको छ । यसका लागि मन्त्रालयले अनुगमन निर्देशिका नै तयार पारेको छ । समितिले आवश्यकता अनुसार उपसमिति गठन गरी प्रदेश, जिल्ला एवं ठूला शहरमा अनुगमन गरिने जनाइएको छ । अनुगमनका लागि प्रदेश र स्थानीय तहका प्रतिनिधिलाई पनि सहभागी गराइने समितिले जनाएको छ ।
बुढीगण्डकी परियोजना बनाउन ९६ अर्ब संकलन, काम अगाडि बढाउने छैन सुरसार
काठमाडौं । नेपाल आयल निगमले १२ सय मेगावाटको बूढीगण्डकी जलाशय जलविद्युत आयोजनाको पूर्वाधार निर्माणका लागि साढे ९६ अर्ब रुपैयाँ बढी संकलन गरेको छ । आर्थिक वर्ष २०७२/०७३ सालदेखि गत आर्थिक वर्ष २०७८/०७९ सम्म निगमले पूर्वाधार कर बापत ९६ अर्ब ४७ करोड ७ लाख ८८ हजार रुपैयाँ संकलन गरेको हो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७३/७४ को बजेट वक्तव्यमार्फत् डिजल र पेट्रोल आयात गर्दा भन्सार बिन्दुमा नै प्रतिलिटर ५ रुपैयाँका दरले थप कर लगाउने घोषणा गरेका थिए । तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले पनि पूर्वाधारमा लाग्दै आएको करलाई बढाएर प्रतिलिटर १० रुपैयाँ कायम गरेका थिए । निगम नाफामा गएको भन्दै राजश्व संकलन बढाउन अर्थमन्त्री खतिवडाले पूर्वाधार कर १० रुपैयाँ कायम गरेका थिए । पूर्वाधार करमा ५ र १० रुपैयाँ गरी निगमले सात आर्थिक वर्षमा पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनमा पूर्वाधार कर लगाएर बूढीगण्डकीका नाममा उक्त रकम संकलन गर्दै आएको छ । अहिलेसम्म बूढीगण्डकी जलाशय आयोजना कसरी निर्माण गर्ने भन्ने मोडालिटी नै तयार गर्न नसकेको सरकारले पेट्रोलियम पदार्थबाट कर उठाउने काम भने नियमितरूपमा गरिरहेको छ । भारतबाट पेट्रोलियम पदार्थ आयात गर्ने क्रममा प्रत्येक महिना भन्सार नाकामै पूर्वाधार करको रकम उठाएर निगमले उक्त रकम अर्थ मन्त्रालयको खातामा जम्मा गर्ने गरेको छ । गत आर्थिक वर्ष २०७२/०७३ सालदेखि हालसम्म पूर्वाधार कर शिर्षकमा संकलन भएको रकम अर्थ मन्त्रालयमा जम्मा गर्ने गरिएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए । सात आर्थिक वर्षदेखि नियमति रुपमा भन्सार विन्दुमै पूर्वाधार कर संकलन गर्दै आएको उनको भनाइ छ । आर्थिक वर्ष २०७२/७३ मा १ अर्ब १६ करोड रुपैयाँ, आव २०७३/७४ मा ९ अर्ब ४३ करोड, आव २०७४/७५ मा ११ अर्ब ३६ करोड, आव २०७५/७६ मा १२ अर्ब ४१ करोड, आव २०७६/७७ मा १३ अर्ब ९८ करोड रुपैयाँ संकलन भएको थियो । यस्तै, आव २०७७/०७८ मा २२ अर्ब ८६ करोड ९६ लाख ६९ हजार र गत आर्थिक वर्ष २०७८/०७९ मा सबैभन्दा बढी २५ अर्ब २६ करोड ६२ लाख रुपैयाँ संकलन भएको उनले बताए । सडक संम्भारमा ४८ अर्ब संकलन निगमले सडक पूर्वाधार कर (सम्भार) शिर्षमा साढे ४८ अर्ब रुपैयाँ संकलन गरेको छ । निगमले सडक पूर्वाधार कर आर्थिक वर्ष २०६५÷०६६ सालदेखि उठाउँदै आएको हो । हालसम्म उक्त शिर्षकमा ४८ अर्ब ६० करोड ४२ लाख ३८ हजार ७२७ रुपैयाँ संकलन गरिसकेको छ । जसमा आव २०६५/०६६ मा ७ करोड ४१ लाख १० हजार, आव २०६६/०६७ मा ९ करोड २६ लाख ५५ हजार, आव २०६७/०६८ मा १ अर्ब ७५ करोड ८८ लाख २१ हजार रुपैयाँ संकलन गरेको छ । यस्तै, आव २०६८/०६९ मा २ अर्ब ९७ करोड ८ लाख ६० हजार, आव २०६९/०७० मा २ अर्ब ३३ करोड २७ लाख १४ हजार, आव २०७०/७१ मा २ अर्ब ६१ करोड ६६ लाख ७९ हजार, आव २०७१/७२ मा २ अर्ब ९२ करोड ९६ लाख ४१ हजार, आव २०७२/७३ मा २ अर्ब ५२ करोड ७३ लाख ७९ हजार, आव २०७३/७४ मा ४ अर्ब २५ करोड ३३ लाख र आव २०७४/७५ मा ५ अर्ब १२ करोड ५९ लाख रुपैयाँ संकलन गरेको छ । यस्तै, आव २०७५/७६ मा ५ अर्ब ६९ करोड ७८ लाख ७२ हजार, आव २०७६/७७ मा ४ अर्ब ९८ करोड ५९ लाख ६२ हजार, आव २०७७/७८ मा ५ अर्ब ७५ करोड ४७ लाख २९ हजार र आव २०७८/७९ मा ६ अर्ब ८५ करोड ५७ लाख रुपैयाँ संकलन भएको बताइएको छ ।
आइएमई जनरल इन्स्योरेन्सको ६ महिनामा ९० करोड बीमाशुल्क संकलन
काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्सले ६ महिनामा ९० करोड २५ लाख बीमाशुल्क संकलन गरेको जानकारी दिएको छ । कम्पनीको २५औं वार्षिक साधारण सभाले चालु आर्थिक वर्ष २०७८/७९ मा सो रकम बराबरको बीमाशुल्क संकलन गरेको जानकारी दिएको हो । कम्पनीले २०७७/७८ मा एक अर्ब ७७ करोड १६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरी गत वर्षको दाँजोमा १६।४७ प्रतिशतले बीमा शुल्क वृद्धि गरेको थियो । सभामा कम्पनीका अध्यक्ष हेमराज ढकालले कम्पनीले पानीपोखरीमन दुई तल्ला पार्किङ सहितको ११ तल्ले भवन निर्माणको क्रममा रहेको जानकार दिएका छन् । निर्माण सम्पन्न पश्चात उक्त भवनबाट कम्पनीले करिब ४ देखि ५ करोड वार्षिक आम्दानी गर्ने उनले बताए । त्यसैगरी, कम्पनीले ७ वटै प्रदेश र अनलाइनको मध्यमबाट बीमालेख खरिद गर्न सक्ने गरी सेवा प्रदान गर्ने र आइजीआई हेल्थ प्लस बीमालेखको माध्यमबाट पारिवारिक स्वास्थ्य बीमामा चालु आ।व। मा उल्लेख्य सेवा प्रदान गर्ने जानकारी दिएको छ ।