नेपालमा डेढ लाख रुपैयाँसम्म पर्ने हेलमेट, कुन कम्पनीको बढी सुरक्षित ?
काठमाडौं । दुई पाँग्रे सवारी साधन चलाउनका लागि अत्यावश्यक चिज हो हेलमेट । दुईपाँग्रे सवारी चालकले आफ्नो सुरक्षाका लागि हेलमेटको प्रयोग गर्छन् । ‘भैँसी किन्दा पाडो उपहार’ भने जस्तै धेरै कम्पनीले मोटरसाइकल खरिद गर्दा हेलमेट निःशुल्क प्रदान गर्छन् । जुन हेलमेटमा कम्पनीको लोगो पनि हुन्छ । सुरक्षा सँगसँगै नयाँ तथा आकर्षक डिजाइनका महँगा हेलमेट लगाउनु युवाहरुको प्यासन नै बनिसकेको छ । मूल्यका हिसाबमा बजारमा हेलमेट लाखौं रुपैयाँसम्म पर्छन् । एउटा मोटरसाइकलको आधा मूल्य नै राम्रो हेलमेटमै पर्न जान्छ । दुईपाँग्रे सवारी चालकहरूले सबैभन्दा बढी भारतीय कम्पनीले उत्पादन गरेका हेलमेट प्रयोग हुने हेलमेट नेपालका सेल्स म्यान करन श्रेष्ठले बताए । उनका अनुसार नेपालमा सबै भन्दा बढी ६ देखि १० हजार रुपैयाँसम्म पर्ने हेलमेट प्रयोग हुन्छन् । ‘पहिला मान्छे सेफ्टी हेर्दैन थिए, अहिले सेफ्टटीको विषयमा मान्छे निकै चासो राख्छन्, युवाले ग्राफिक्स र बुढा पाकाले सहज किसिमको हेलमेट खोज्छन्, हेलमेटका पनि मोडल हुन्छन्, एउटै कम्पनीले धेरै मोडल बनाउँछ, मोडल अनुसार फिचर हुन्छन्, त्यही अनुसारको मूल्यको निर्धारण गरिएको हुन्छ,’ उनले भने । नेपालमा महँगोमा हेलमेट १ लाख ६० हजार रुपैयाँसम्म प्रयोग भएको पाइएको उनको भनाइ छ । एलएसटु, एमटी, एसएमके बिलमोला लगायतका कम्पनीको हेलमेटको माग बढेको उनी बताउँछन् । स्टिलबर्ड हेलमेट स्टिलबर्ड धेरै युवाको रोजाइमा पर्न सफल हेलमेट हो । उक्त हेलमेट दुईपाँग्रे सवारी चलाउँदा सुरक्षाको हिसाबले पनि निकै उपयुक्त मानिन्छ । स्टिलबर्ड हेलमेटका विभिन्न मोडल बजारमा पर्याप्त उपलब्ध छन् । यो सानो र हेर्दा आकर्षक देखिने भएकाले सो हेलमेट सबैको रोजाइमा पर्छ । यसको सेल सानो भएका कारण स्कुटरको डिग्गीमा पनि सहजै राख्न सकिन्छ । अन्य हेलमेटको तुलनामा यो हेलमेट सस्तो पनि छ । स्टिलबर्ड हेलमेट नेपालमा ३ हजार रुपैयाँदेखि ७ हजार रुपैयाँसम्मको पाइने बताइएको छ । यो हेलमेट विभिन्न रङ र मोडलमा उपलब्ध छ । एसएमके हेलमेट पछिल्लो समय एसएमके हेलमेटका नयाँ नयाँ मोडलहरू बजारमा आइरहेका छन् । यो हेलमेट टाउकामा लगाउँदा निकै सहज भएको महसुस हुन्छ । जसले गर्दा भाइजरको प्रयोग गरेर नै सवारी कुदाउन सकिन्छ । यो हेलमेटमा डबल भाइजर छ । हेलमेट प्रयोग गर्दा मानिसको मुखबाट निस्किएको बाफले भाइजलाई नछेकोस् भनेर एन्टी फग पनि दिइएको हुन्छ । यो युरोपेलीबाट मान्यता प्राप्त हेलमेट हो । एसएमकेका पनि विभिन्न मोडल छन् । मूल्य अनुसार यस कम्पनीको हेलमेटमा पनि विशेषता समेटिएका छन् । एसएमकेका ७/८ वटा ग्राफिक्स रहेको बताइएको छ । एसएमकेका हेलमेट नेपाली बजारमा ७ हजारदेखि साढे २४ हजार रुपैयाँसम्मका उपलब्ध छन् । केवाईटी हेलमेट केवाईटीका हेलमेट अधिकांश बाइक राइडरहरुले प्रयोग गरेको पाइन्छ । यो इटालियन हेलमेट हो । तर, इन्डोनेसियाबाट यो हेलमेट आएको कारण यसको मूल्य केही कम हुन गएको पनि बताइएको छ । अहिले नेपालमा सो ब्राण्डका हेलमेट ११ देखि १२ हजारसम्म उपलब्ध छन् । बिलमोला हेलमेट बिलमोला हेलमेटका पनि मोडल धेरै किसिमका छन् । यसको मोडल अनुसार ग्राफिक्स पनि भिन्नभिन्न हुन्छ । बिलमोला स्पाइकर मोडेलको हेलमेटलाई नेपालमा १९ हजार ५ सय रुपैयाँमा पाइन्छ । यो दुवईबाट मान्यता प्राप्त हेलमेट हो । यस हेलमेटको अगाडिको भागलाई खोली आधा बनाइ पनि प्रयोग गर्न सकिन्छ । यसको लुक्स हेर्दा आकर्षक देखिन्छ । सेफ्टीको हिसाबले सो हेलमेट निकै सुरक्षित मानिन्छ । यो हेलमेट सिटी राइडको लागि बढी मात्रमा प्रयोग हुँदै आएको छ । यस हेलमेटका पनि धेरै वटा मोडल बजारमा उपलब्ध भएको कारण अलग अलग मूल्यको निर्धारण गरिएको छ । एजीवी हेलमेट एजीवी ट्र्याकमा जाने हेलमेट हो । सेफ्टीको लागि यो हेलमेट निकै उपयुक्त मानिन्छ । एजीवीका विभिन्न मोडल छन् । यसको मोडल केवानदेखि सुरु हुन्छ । एजीवी हेलमेट नेपालीमा बजारमा ७ देखि एक लाख ८० हजार रुपैयाँसम्मका उपलब्ध छन् । शार्क हेलमेट शार्क पनि ट्र्याकमा जाने हेलमेट हो । अन्य हेलमेट भन्दा यो हेलमेट सेफ्टीको हिसाबले नम्बर वान मानिन्छ । यो फ्रान्सको प्रडक्ट हो । यसका पनि विभिन्न मोडल छन् । मोडल अनुसार रकमको निर्धारण हुने बताइएको छ । यो कम्पनीको हेलमेट नेपालमा २० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्म पर्ने बताइएको छ । ठन्डर हेलमेट ठन्डर मोडलको कार्बन फाइबर भएको यो हेलमेट फुल फेस हेलमेट हो । यसका पनि विभिन्न सेग्मेन्टमा हेलमेट छन् । यस कम्पनीका हेलमेट पनि विभिन्न मोडलसँगै रङमा पनि उपलब्ध छन् । यो हेलमेट नेपालमा ७ हजार रुपैयाँदेखि माथि पाइने बताइएको छ । आइरो हेलमेट यो हेलमेट झट्ट हेर्दा निकै आकर्षक देखिन्छ । यो कम्पनीले सेफ्टीलाई पनि उच्च प्राथमिकता दिदै सेफ्टी तयार पारिएको छ । यो सात वटै रङमा उपलब्ध छ । आइरो हेलमेट २९ हजारदेखि माथिसम्मका छन् । बेल हेलमेट विश्वमा पहिलो पटक हेलमेट उत्पादन गर्ने कम्पनी हो, ‘बेल हेलमेट’ । यो कम्पनीले सस्तोदेखि महँगोसम्मको हेलमेट उत्पादन गर्छ । यो हेलमेट सबैले प्रयोग गर्छन् । बजारमा यस कम्पनीको हेलमेट २ हजार देखि ८० हजारसम्म मूल्य भएको पाइन्छ । डट हेलमेट हेलमेट विशेष गरी अफरोडको लागि प्रयोग हुने बताइएको छ । डट बाइक प्रयोग कर्ताहरूले उक्त हेलमेटको सबैभन्दा बढी प्रयोग गर्छन् । यसको मूल्य पनि मोडल अनुसारको निर्धारण गरिएको छ । यो १०÷११ हजार रुपैयाँसम्ममा पनि पाइन्छ ।
माघ २४ गतेदेखि २९ गतेसम्म क्यान इन्फोटेक मेला हुँदै
काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ प्रविधिको प्रदर्शनीको उद्देश्यसहित २८औं संस्करणको क्यान इन्फोटेक प्रदर्शनी आयोजना हुने भएको छ । कम्प्युटर एशोसिएसन नेपाल महासङ्घको आयोजनामा काठमाडौँको भृक्टिमण्डपमा यही माघ २४ देखि २९ सम्म प्रदर्शनी हुने भएको हो । महासङ्घका महासचिव चिरञ्जीवी अधिकारीले छ दिनसम्म सञ्चालन हुने प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । प्रदर्शनीमा यसपटक नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवद्र्धन गरिने उनको भनाइ छ । प्रदर्शनीमा ब्राण्डिङ, प्रडक्ट लञ्चिङसँगै आइटी करिअर काउन्सिलिङका साथै कलेज, स्टार्टअप र सफ्टवेयर पेभिलियन समेत हुनेछ । प्रदर्शनीमा क्यानका सदस्य संस्थाका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीको सहभागिता हुनेछ । प्रदर्शनीका क्रममा नेपाल पर्यटन बोर्डमा आर्टिफिसियल इनटेलिजेन्स, बिग डेटा, मसिन लर्निङ, क्लाउड कम्प्युटिङ तथा अन्य टेक्नोलोजीका विषयमा सम्मेलन पनि हुनेछ । प्रदर्शनी साढे तीन लाख जनाले अवलोकन गर्ने आयोजकको अनुमान छ । प्रदर्शनी अवलोकनका लागि रू एक सयको टिकट काट्नुपर्नेछ भने विद्यार्थीका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । अवालोकनकर्ताले सूचना तथा सञ्चार प्रविधिका नवीनतम प्रविधि र उपकरणबारे जानकारी लिन र खरिद गर्न सक्नेछन् । महासचिव अधिकारीले मधेस प्रदेशमा फागुन ५ देखि ९ सम्म, सुदूरपश्चिममा फागुन १३ देखि १७ सम्म, गण्डकीमा फागुन २६ देखि ३० सम्म र बागमतीमा चैत २ देखि ६ सम्म प्रदर्शनी गर्ने तयारी रहेको जानकारी दिए ।
हिउँ पन्छाएपछि फेरि सुरु भयो जुम्लाको हवाई सेवा
जुम्ला । जुम्लालगायत माथिल्लो कर्णालीमा मङ्गलबारदेखि परेको हिमपातका कारण बन्द भएको हवाई सेवा आजदेखि फेरि सुरु भएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र बलले जुम्ला विमानस्थलको धावनमार्गमा जमेको हिउँ हटाएपछि नेपालगञ्जबाट तारा र समिटले जुम्लाका लागि उडान गरेको नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त कार्यालय प्रमुख राजीव श्रेष्ठले जानकारी दिए । दुई दिन परेको हिउँले विमानस्थलको धावनमार्गमा हिउँ जमेपछि हवाई सेवा ठप्प भएको थियो । निमित्त कार्यालय प्रमुख श्रेष्ठले भने, ‘आजका लागि दुई वटा मात्रै उडान भएको छ ।’ विमानस्थलभित्रको धावनमार्गमा जमेको हिउँ फालेपछि जुम्लाका लागि हवाई सेवा सञ्चालनमा आएको नेपाली सेना नन्दबक्स गण जुम्लाका गणपति रवीन थापाले बताए । हवाई सेवा बन्द हुँदा नेपालगञ्जबाट जुम्ला आउने यात्रु अलपत्रमा परेका थिए । कर्णाली राजमार्गको राचुलीमा पहिरो गएपछि सडक बन्द हुँदा जहाजबाट आउने जानेको चाप बढेको छ ।
‘व्यवसायीलाई बैंकहरुले दिने दवाव कम गर्न सरकारले सहयोग गर्नुपर्छ’
काठमाडौं । व्यवसायीहरुले बैंक तथा वित्तिय संस्थाले दिने दवावको कम गर्न सरकारले सहयोग गर्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । संघले व्यवसायीहरु दवावको कारण आत्महत्यासम्म गर्न पुगेको बताउँदै यसप्रति ध्यान दिन आग्रह गरेको छ । ‘आज सामाजिक संजालमा बैंकको वित्तीय संस्थाका दवाव र अन्यायका धेरै कुराहरु आइरहेको छन्, यस्ता अप्रिय घटना हुन नदिन र व्यवसायीको मनोवल वृद्धि गर्न राज्यका सबै निकायहरुले आर्थिक क्षेत्रसँग सम्बन्धित निति, नियम, ऐन, कानुन, निर्देशन, परिपत्रहरू कार्यान्वयन गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ । संघले ब्याजदरको स्थिरताको लागि सरकारले पहल गर्नुपर्ने माग गरेका छन् । ‘हालका बैंकिङ्ग व्यवस्थाहरु र व्याजदर स्थायित्वका लागी निजि क्षेत्र सरकारको ध्यानाकर्षण गर्दै अविलम्ब समस्या समाधानका लागी संवोधन हुन पनि जोडदार माग गर्दछौ,’ विज्ञप्तिमा भनिएको छ । यस्तै, उद्योग संगठन मोरङले सरकारले व्यवसायीको समस्यालाई गम्भिरतापूर्वक सुनी समय मै सम्बोधन गर्नु आवश्यक रहेको बताएको छ । मंगलबार नयाँ बानेश्वरमा व्यवसायीलर् गरेको आत्मदाहले नीति र नियमलाई परिपालना गराउने संयन्त्रलाई गिज्याईरहेको बताउँदै संगठनले अभिभावकको रुपमा राज्य प्रस्तुत हुनु पर्ने बताएको छ । संगठनले पेशागत संघरसंस्थाको माध्यमबाट पद्धती सुधारका लागि राज्यका संयन्त्रहरुलाई दवाव दिन आवश्यक पहल गरी अरुका लागि प्रेरणा श्रोत हुन अनुरोध गरेको छ ।
रुकुममा ३ दिनदेखि विद्युत् सेवा अवरुद्ध
रुकुम । रुकुम (पूर्व) मा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । वर्षा र हिमपातका कारण तीन दिनदेखि अवरुद्ध भएको विद्युत् अझै सुचारु हुनसकेको छैन् । विद्युत् सेवा अवरुद्ध हुँदा नागरिक समस्यामा परेका छन् । सल्यान र रुकुम (पश्चिम) को बिचमा फल्ट हुँदा विद्युत् अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र रुकुम (पूर्व) ले जनाएको छ । विद्युत् सुचारु गर्न निरन्तर काम भइरहेको केन्द्रका प्रमुख सुरेस चौधरीले जानकारी दिए। विद्युत् अवरुद्ध हुँदा मोबाइल चार्ज गर्न, बत्ती बाल्न, विद्युतीय काम गर्न समस्या हुनुका साथै सरकारी तथा गैरसरकारी कार्यालयमा पनि समस्या भएको रुकुमकोट जिल्ला अदालतकी निर्मला शर्माले बताए ।
६६ वर्षमा पनि बनेन कान्ति लोकपथ
पाटन । काठमाडौंलाई हेटौँडासँग जोड्ने उपयुक्त र दूरीका हिसाबले छोटो मानिएको कान्ति लोकपथ निर्माण सुरु भएको ६६ वर्ष बित्यो । तर हालसम्म पनि यसले मूर्तरुप लिन सकेको छैन । आयोजनामा हालसम्म कति खर्च भयो भन्ने हिसाबसमेत सरकारसँग छैन । सडक निर्माण गर्न नेपाली सेनाको नेतृत्वमा विसं २०१३ मा ट्र्याक खन्न सुरु गरिएको थियो भने २०१६ सालमा सकिएको थियो । ट्र्याक उद्घाटन गर्दै राजा महेन्द्र शाहले हेटौँडाको बुद्धचोकदेखि जीपमा ललितपुरको टीकाभैरवसम्म आएका थिए । राजा महेन्द्रले कान्ति लोकपथको उद्घाटन गरेको शिलालेख सडकको भित्तामा अहिले पनि देखिन्छ । कुल ९१ किलोमिटर लामो सडक निर्माणमा राज्यको पर्याप्त ध्यान पुग्न सकेको देखिन्न । कान्तिलोकपथ आयोजनाका प्रमुख सुरेश न्यौपाने पुरानो ठेक्का सम्पन्न नहुँदा र राज्यले उचित ध्यान नदिँदा नयाँ काम हुन नपाएको बताउँछन् । ‘पुराना ठेक्काका काम द्रुतगतिमा भइरहेका छन्’, उनले भने, ‘अर्थ मन्त्रालय समक्ष बहुवर्षीय ठेक्का हुने गरी ६६ करोडको योजना सहमतिका लागि पठाएका छौंँ । योजना आयोगबाट पनि सिफारिस भइसकेको छ ।’ उनका अनुसार अर्थ मन्त्रालयले सहमति दिए डेढवर्षभित्र कान्तिलोकपथ ‘डवल लेन’सहित सञ्चालन हुनेछ । कान्ति लोकपथ आयोजनाका इञ्जिनियर रबीन्द्र महर्जनका अनुसार अहिले दुईवटा पुरानो ठेक्काको काम भइरहेको छ । पहिलो ठेक्का अन्तर्गत हेटौँडाको बुद्ध चोकलाई जिरो मानेर ५७ किलोमिटरदेखि ६४ सम्म सात किलोमिटर कालोपत्र गर्ने काम भइरहेको छ । यसमध्ये करिब दुई किमी सम्पन्न भइसकेको छ । उनका अनुसार बिरुवा एसएल सुनकोसी कन्ट्रक्सनले १९ करोड ३९ लाख ८३ हजार आठ सय ६४ रुपैयाँमा लागतमा काम पूरा गर्ने गरी आर्थिक वर्ष २०७२/७३ मा सम्झौता गरेको थियो । विसं २०७३ साउन १६ मा सम्झौता भएको यो ठेक्काको अन्तिम पटक २०७९ चैत ३० सम्म सम्पन्न गर्नेगरी म्याद थप भएको इञ्जिनियर रवीन्द्र महर्जनले जानकारी दिए । त्यस्तै दोस्रो ठेक्का अन्तर्गत ग्याबिन भर्ने, मेसिनरी वाल लगाउने, ढलान लगायतका स्ट्रक्चर बनाउने र टालटुल गर्ने काम भइरहेको छ । यसका लागि नागार्जुन सर्वशक्ति जेभी, लिटी कालिका कन्ट्रक्सन एण्ड सप्लायर्स, एटलान्टिक नेपाल, थोदुङर विकास एण्ड ब्रदर्श जेभीले काम गरिरहेको उनको भनाइ छ । सहज भूवनोट भएका ठाउँमा सडक कालोपत्र सकिए पनि अझै केही ठाउँमा कालोपत्र गर्न बाँकी रहेको कान्ति लोकपथ योजनाले जनाएको छ । मकवानपुरतिर साढे तीन किमी बाँकी र ललितपुरतर्फ झण्डै १० किमी सडक कालोपत्र हुन बाँकी इञ्जिनियर महर्जनले बताए ।
भन्सार प्रशासनलाई सूचना प्रविधिमैत्री बनाइनेछ : अर्थमन्त्री
काठमाडौं । विभिन्न कार्यक्रमको आयोजना गरी आज ७१औँ भन्सार अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइएको छ । भन्सार विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार प्रशासनको समग्र पूर्वाधारलाई सूचना प्रविधिमैत्री बनाइने बताए । भन्सार क्षेत्रमा समस्या के हुन् र त्यसको समाधानका लागि के–कस्ता उपाय अवलम्बन गर्न सकिन्छ भन्नेमा कर्मचारी नै जानकारी रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले इमान्दार भएर काम गर्न निर्देशन दिए । उच्च सदाचारपूर्वक जनगुनासो नआउने गरी काम गर्न आग्रह गर्दै उनले बैध व्यापारको प्रवद्र्धन र चुहावट नियन्त्रणमा प्रतिबद्ध भएर लाग्न भन्सार प्रशासनको ध्यानाकर्षण गराए । अर्थमन्त्री पौडेलले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलताको नीतिअनुसार काम गर्न लागिपरेको उल्लेख गर्दै तदअनुरुप काम गर्नुपर्नेमा जोड दिए । उनले भन्सार चुहावट नियन्त्रण गर्न कडाइका साथ लाग्नसमेत सम्बद्ध कर्मचारीलाई निर्देशन दिए । प्राचीनकालदेखि राजस्व सङ्कलन र वैदेशिक व्यापारलाई नियमन र सहजीकरण गर्दै आएको भन्सार प्रशासनलाई आधुनिकीकरण गर्दै कागजविहीन, नगद कारोबारविहीन र व्यक्तिगत तवरको सम्पर्करहित बनाउँदै प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकतामा जोड दिए । भन्सार प्रशासनले सम्पादन गर्ने प्रमुख कार्यका रुपमा रहेको व्यापार सहजीकरण, राजस्व सङ्कलन र सामाजिक हित संरक्षणका दायित्वलाई प्राथमिकतामा राखी अवैध व्यापार र चोरी निकासी पैठारीबाट हुनसक्ने राजस्व चुहावट नियन्त्रण गर्ने कार्यलाई प्रभावकारी बनाउन अर्थमन्त्री पौडेलले आग्रह गरे । उनले भन्सार प्रशासनको आधुनिकीकरण, विकास र प्रविधियुक्त कार्य प्रणालीले मात्रै व्यापार लागत घटाउन र व्यापार सहजीकरण गर्न सकिने एवं राजस्व चुहावट नियन्त्रण गर्न सकिने उनको भनाइ थियो । अर्थ मन्त्रालयका सचिव तोयम रायले सरकारले विभिन्न चरणमा अगाडि बढाएको भन्सार सुधार तथा आधुनिकीकरणका रणनीति तथा कार्ययोजनाको कार्यान्वयनमा जोड दिए । उनले अन्तर्राष्ट्रिय व्यापारका मान्यताको परिपालना गर्दै व्यापार सहजीकरण र राजस्व सङ्कलन गरी राष्ट्र निर्माणका लागि आवश्यकपर्ने स्रोत जुटाउने कार्यमा दायित्व बोध गर्न आग्रह गरे । राजस्व सचिव डा रामप्रसाद घिमिरेले भन्सार प्रशासनमा रहेका कमीकमजोरी तत्काल हटाउने र राजस्व चुहावटको दृष्टिले जोखिमयुक्त क्षेत्र र क्रियाकलापमा निगरानी बढाउन तथा कानुनविपरीतका कार्यमा संलग्न सबैलाई कानुनको दायरामा ल्याउनुपर्ने बताए । भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाले भन्सार कार्यालयको संस्थागत सुधारका लागि सरकारले निर्धारण गरेको नीति, विधि र कानुनअनुसार कार्यसम्पादन भइरहेको बताए । विभागले समग्र कार्यसम्पादनलाई प्रभावकारी बनाउन, अवैध व्यापारको निगरानी गर्ने तथा चोरी पैठारीबाट हुने चुहावट नियन्त्रणका लागि संयुक्त गस्ती परिचालन गर्न सुरक्षा निकायसँगको समन्वय अझै प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
काठमाडौं महानगरले ३ महिनामा हटायो नौ हजार होर्डिङ बोर्ड
काठमाडाैं । काठमाडौं महानगरपालिकाले तीन महिनामा नौ हजार होर्डिङ बोर्ड (परिचय पार्टी) हटाएको छ । नियम विपरीत राखिएका र समयमै शुल्क नबुझाइएका होर्डिङ बोर्ड हटाइएको हो । महानगरलाई सुन्दर बनाइराख्ने लक्ष्यका साथ महानगरले बोर्ड हटाउन दैनिक नगर प्रहरी सहित चार टोली खटाएको छ । विशेषगरी नयाँ बानेश्वर, कोटेश्वर, पुतलीसडक, बागबजार र महाराजगञ्ज क्षेत्रका अनधिकृत बोर्ड हटाइएको महानगरका राजस्व विभाग प्रमुख डा शिवराज अधिकारी जानकारी दिए । उनका अनुसार गएको असोज ७ मा मापदण्ड बमोजिम राख्न मिल्ने र त्यसमा लाग्ने शुल्कसमेत उल्लेख गरेको र सोही अनुरुप नभएका बोर्डलाई ३० दिने सार्वजनिक सूचना जारी गरी सम्बन्धित संस्थालाई नै हटाउन आग्रह गरिएको थियो । महानगरले आर्थिक ऐन-२०७९ बमोजिम छ वर्ग फुटसम्मको वार्षिक पाँच सय शुल्क निर्धारण गरेको छ । त्यसैगरी १५ वर्ग फुटसम्मका लागि एक हजार पाँच सय र १५ वर्ग फुटदेखि ३० वर्ग फुटसम्मका बोर्डको प्रति वर्गफुट एक हजार शुल्क निर्धारण गरेको छ । महानगरले सम्पत्ति कर, घरबहाल घर, व्यवसाय कर, विज्ञापन कर, मनोरञ्जन कर, भूमिकर, मूल्य अभिवृद्धि कर र सवारी साधन करसहित ३६ शीर्षकमा राजस्व असूल गर्दै आएको छ । विभिन्न स्थानमा राखिएका बोर्डबाट असूल उपर हुने रकम व्यवसाय कर अन्तर्गत पर्दछ । चालु आर्थिक वर्षमा महानगरले व्यवसाय करको शीर्षकमा ५५ करोड लक्ष्य लिएकोमा पुस सम्म ३१ करोड ४२ लाख असूल उपर गरेको डा अघिकारीको भनाइ छ । लामो समयदेखि असूल हुन समस्या भइरहेको मनोरञ्जन कर पनि पछिल्लो समय सहज रुपमा उठिरहेको विभागको भनाइ छ । महानगरले पछिल्लो समय पटक-पटक ताकेता गरेपछि लामो समयदेखि उठ्न नसकेको बक्र्याैता रकम पनि असूल हुन थालेको बताएको छ ।