रवि लामिछाने पार्टीको साधारण सदस्य समेत नरहने
काठमाडौं । रवि लामिछाने पार्टीको साधारण सदस्य समेत नरहने भएका छन् । नेपालको नागरिक कायम नरहेको सर्वोच्च अदालतको फैसलापछि मन्त्री र सांसद पद खारेज भएका लामिछाने पार्टीको साधारण सदस्य पनि नरहने भएका हुन् । नेपालको संविधानअनुसार कुनै पनि दलको सदस्य वा सांसद हुन नेपाली नागरिक हुनु अनिवार्य छ । योसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद रिक्त भएको छ । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता कानुनसम्मत नभएकाले उनको सांसद पद बदर भएको फैसला सुनाएको हो ।
तत्काल पार्किङको व्यवस्थापन नगरे आन्दोलन गर्ने दरबारमार्गका व्यवसायीको चेतावानी
काठमाडौं । काठमाडौंको दरबारमार्ग क्षेत्रमा तत्काल सवारी पार्किङको व्यवस्थापन गर्न महानगरपालिकालाई दरबारमार्ग विकास बोर्डले ताकेता गरेको छ । काठमाडौं महानगरपालिकाले दरबारमार्गको सडक पार्किङलाई हटाएपछि व्यवसायमा गिरावट आएको भन्दै चाँडो पार्किङको व्यवस्थापन गर्न विकास बोर्डले माग गरेको हो । विकास बोर्डले शुक्रबार पत्रकार सम्मेलन गर्दै चाँडै महानगरपालिकाले उक्त क्षेत्रमा पार्किङको व्यवस्थापन नगरे दरबारमार्गका व्यवसायीहरु आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् । यसअघि दारबारमार्ग क्षेत्रलाई देशकै नमुना क्षेत्र बनाउँदै ५ लेनको सडक विस्तार गरेको थियो । २/२ लेन सवारी साधन गुड्ने र १ लेन पार्किङको लागि छुट्याईएको थियो । जसले गर्दा ट्राफिक व्यवस्थपानमा समेत टेवा पुग्दै आएको थियो । दरबारमार्ग क्षेत्रमा केही वर्ष अगाडिसम्म सवारी पार्किङ गर्दा शुल्क तिर्नु पर्दैनथ्यो । महानगरपालिकाले स्मार्ट पार्किङको अवधारणा ल्याएपछि शुल्क उठाउन सुरु गरिएको थियो । दरबार मार्गको विकास बोर्डका निवर्तमान अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिका अनुसार प्रतिघण्टा ८० रुपैयाँको दरले पार्किङ शुल्क लिने गरेको थियो । ‘पहिले पार्किङ शुल्क लिन पाईँदैनथ्यो, महानगरले स्मार्ट पार्किङको अवधारण ल्याएसँगै २ र ४ पाङ्ग्रे सवारीको शुल्क निर्धारण भयो, हामीले नै शुल्क बढी भयो कम गरौं भन्यौं तर, मिल्दैन भनेपछि महानगरले तोकेकै शुल्क उठाउँदै आएको थियो, अब पार्किङ निषेध गर्याे,’ उनले भने । अहिले दरबारमार्ग क्षेत्रमा बोर्डले पार्किङ हटाएको भन्दै कालो ब्यानर सडकमा टाँगेकोे छ । सडकको एकातर्फ पार्किङ स्थल हुुनुनर्पे उनीहरुको माग छ । ‘दरबारमार्ग क्षेत्रको दुबैतर्फ १०/१० फिटको पैदल हिँड्ने सडक पेटी छ, कूल ७० फिटको ५ लेन सडकमध्ये एक लेन सवारी पार्किङको लागि छुट्याईएको छ, बाँकी ४ लेन सवारी आवागमनको लागि प्रयोग भइरहेको छ, ट्राफिक व्यवस्थापनमा कुनै समस्या थिएन, अहिले पार्किङ हटाउँदा ७० प्रतिशसम्म व्यवसायमा गिरावट आएको छ,’ कक्षपतिले भने । यसअघि दरबारमार्गमा क्षेत्रमा दैनिक १२/१५ करोडसम्मको व्यापार हुँदै आएको थियो । तर, पार्किङ हटाएपछि दैनिक २/४ करोडमा सीमित भएको उनको भनाइ छ । काठमाडौं महानगरपालिकाका वडा नम्बर १ का अधिकृत विभिषण खतिवडा सडकमा पार्किङ गर्न नपाइने व्यवस्था भएका कारण हटाउनु परेको बताउँछन् । महानगरले गरेको निर्णय कार्यान्वयन गर्ने भएकाले आफूले केही पनि गर्न नसक्ने उनको भनाइ छ । ‘सडकमा पार्किङ गर्न पाँउदैन, सडकमा पार्किङ गर्न कुनै पनि नीति नियम बनेको छैन, त्यसैले महागनरले पार्किङ हटाउन निर्देशन दिएको हो,’ उनले भने । महानगरपालिकाले सडकमा अव्यवस्थित पार्किङ भएको भन्दै दरबारमार्ग सडकको किनारमा गरिँदै आएको पार्किङ हटाएको थियो । सडकबाट पार्किङ हटाइएको भन्दै व्यवसायीले महानगरको विरोध समेत गरेका थिए ।
रवि लामिछानेको मन्त्री र सांसद पद खारेज
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज भएको छ । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेले अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भइसकेको नागरिकता पुन:प्राप्तिका लागि प्रक्रिया पूरा नगरेकाले उनको सांसद पद खारेज भएको हो । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र अनिल सिन्हा संलग्न संवैधानिक इजलासले शुक्रबार उनीविरुद्ध परेको मुद्दाको फैसला गर्दै नागरिकता कायम नहुनेे ठहर गरेका हुन् । नेपालको संविधानमा गैरसांसद समेत मन्त्री हुन पाउने व्यवस्था भएपनि लामिछानेको नागरिकता समेत मान्य नभएकाले उनी उपप्रधान तथा गृहमन्त्रीबाट समेत पदमुक्त भएका छन् ।
भृकुटीमण्डपमा सुरु भयो नेपाल उड इन्टरनेशनल एक्स्पो (फोटोफिचर)
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा नेपाल उड इन्टरनेशनल एक्स्पो सुरु भएको छ ।मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस्ले नेपाल उड इनटरनेशनलले आयोजना गरेको एक्सपो माघ १५ गतेसम्म संचालन हुनेछ । प्रदर्शनीमा संसारका विभिन्न देशका १०० भन्दा बढि ख्याती प्राप्त ब्राण्डहरुका स्टल रहेको आयोजकले जानकारी दिएको छ । प्रदर्शनीमा उड वर्किङ एण्ड फर्निचर म्यानुफ्याक्चरिङ मिसिनेरिज्, पावर टुलस्, प्लेउड, डोर्स एण्ड विन्डोज्, फिटिङ्स, उड एसेसरिज, र्व म्याटेरियल्स, इन्टेरियर डिजाइन, होम डेकोर तथा फिनिस्ड प्रडक्टस्हरु राखिएको छ ।
दुगड समुहको स्वस्तिक आयल इन्डस्ट्रिज सम्मानित
काठमाडौं । के.एल. दुगड समुह अन्तर्गतको स्वस्तिक आयल इन्डस्ट्रिज सम्मानित भएको छ ।कम्पनीलाई विराटनगर भन्सार कार्यालयले राजस्व संकलनमा सबैभन्दा बढी योगदान पुर्याएको भन्दै सम्मान गरेको हो । अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा भन्सार कार्यालयले कम्पनीलाई स–सम्मान प्रशंसा पत्र प्रदान गरेको थियो । स्वस्तिक आयल इन्डस्ट्रिज, स्वस्तिक सोयाबिन तेल, धारा हेल्थ, सन्फ्लो सन्फ्लावर आयल जस्ता उत्कृष्ट ब्रान्डहरु उत्पादन गर्ने कम्पनी हो । यस कम्पनी विगतका वर्षहरुमा पनि उत्कृष्ट निर्यात गर्ने कम्पनीको रुपमा सम्मानित हुँदै आएको छ ।
स्वास्थ्य क्षेत्रको बजेट बढाउने प्रस्ताव पेस गरेका छौँ : राज्यमन्त्री कार्की
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा तोसिमा कार्कीले स्वास्थ्य क्षेत्रको बजेट बढाउन मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने तयारी भएको बताएकी छिन् । आज यहाँ आयोजित पत्रकारसँगको अन्तरक्रियामा उनले स्वास्थ्य वित्त रणनीति अन्तर्गत बजेट बढाउने प्रस्ताव पेस गर्न लागिएको जानकारी दिइन् । स्वास्थ्य क्षेत्रमा ठूलो लगानी आवश्यक भएको भन्दै बजेट बढाउने प्रयास भइरहेको उनको भनाइ छ । ‘स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेट अपुग छ, स्वास्थ्य वित्त रणनीति कार्यान्वयनका लागि थप बजेट आवश्यक भएकाले मन्त्रिपरिषदमै बजेट बढाउने प्रस्ताव पेस गर्न लागेका छौँ ।’ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पाँच दशमलव सात पाँच प्रतिशत बजेट मात्रै बिनियोजन भएको भन्दै उनले उक्त बजेट पर्याप्त नभएको बताइन् । न्यूनतम सेवा मापदण्डअनुसार देशभरका आधारभुत स्वास्थ्य केन्द्रदेखि विशिष्टकृत स्वास्थ्य संस्थाको अनुगमन तीव्र पारिने उनको भनाइ छ । उहाँले मुलुकभरको आकस्मिक स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन एकीकृत एम्बुलेन्स कार्ययोजना अघि बढाइएको जानकारी दिइन् । जसअन्तर्गत सरकारी, निजी, सामुदायिक तथा गैरसरकारी सङ्घसस्थाले सञ्चालन गरिरहेका मुलुकभरका सम्पूर्ण एम्बुलेन्सलाई ‘सेन्ट्रल पुल’मार्फत् एम्बुलेन्स सेवा दिने तयारी भइरहेको उनले बताइन् । ‘एकीकृत एम्बुलेन्स कार्ययोजना अनुसार कुनै पनि ठाँउमा एम्बुलेन्स आवश्यक परे हटलाइन नम्बरमार्फत् सम्पर्क गर्ने बित्तिकै सेवा उपलब्ध हुने गरी काम गर्दैछौँ’, उनले भनिन् । राज्यमन्त्री कार्कीले आफूले पदवहाली गरेको दश दिनमै स्वास्थ्य क्षेत्रका कार्ययोजना बनाउन लागेको बताइन् । उनले डाक्टर गोविन्द केसीले राख्दै आउनु भएको स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधारका मागप्रति आफू प्रतिबद्ध रहेको समेत बताइन् ।
ग्लोबल आइएमई बैंकद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग
काठमाडाैं । ग्लोबल आइएमई बैंकले चितवनको भरतपुर महानगरपालिका स्थित चितवन माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्रीहरु उपलब्ध गराई सहयोग गरेको छ । बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शैक्षिक सामग्री सहयोग गरेका हुन् । श्रीपञ्चमीको अवसरमा आयोजित एक कार्यक्रमकबीच बैंकको बागमती प्रादेशिक कार्यालय उप–प्रमुख विदुर ज्ञवालीले चितवन माध्यमिक विधालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश अधिकारीलाई दराज, कापी लगायतका विभिन्न शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेका हुन् । बैकले उपलब्ध गराएका शैक्षिक सामग्रीहरु विद्यालयले विभिन्न कक्षामा अध्ययनरत गरिब तथा जेहन्दार बिद्यार्थीहरुलाई वितरण गरिएको छ । ग्लोबल आइएमई बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता कार्यक्रमहरुको आयोजना गरी आम नागरिकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।
जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छु : मन्त्री गिरी
पर्वत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले जस्तोसुकै रोगको उपचार पनि नेपालमै गर्ने गरी स्वास्थ्य क्षेत्र सुधार गर्ने बताएका छन्। पर्वतको कुश्मा नगरपालिका–११ पकुवामा रहेको स्थानीय बीरेन्द्र माध्यमिक विद्यालयको आइसिटी कक्षाको आज उद्घाटन उनले नेपालको स्वास्थ्य क्षेत्रमा थुप्रै खालका जटिलता रहेको र अब आफूले यसको सुधारमा लाग्ने बताए। मन्त्री गिरीले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या पहिचान गरी समाधानमा केन्द्रित हुने स्पष्ट पारे। ‘जस्तोसुकै रोगको उपचार पनि नेपालमै गर्न सकिने गरी स्वास्थ्य क्षेत्रको सुधार आवश्यक छ’, उनले भने, ‘यसका लागि नीतिगत, कानुनी तथा प्राविधिक विषय सच्याएर अघि बढ्नुपर्छ ।’ नेपालका ठूला अस्पतालको क्षमता विस्तार तथा ग्रामीण क्षेत्रमा रहेका अस्पतालको भौतिक पूर्वाधार, जनशक्ति र आवश्यक स्वास्थ्य उपकरणको उपलब्धतालाई ध्यान दिइने पनि बताए। दक्ष जनशक्ति ग्रामीण क्षेत्रमा बस्न नचाहने समस्याले पनि गाउँका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा उपभोग गर्न नपाएको बताउँदै अब हरेक सरकारी चिकित्सकलाई न्यूनतम समय तोकेर दूरदराजका स्वास्थ्य संस्थामा परिचालन गरिने पनि बताए। स्वास्थ्य मन्त्रालय संवेदनशिल मन्त्रालय भएको बताउँदै उनले हरेक वर्ग र समूदायका नागरिक उपचार नपाएर अकालमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गरिने प्रतिबद्धता व्यक्त गरे। उनले पहुँचको आधारमा विदेशी अस्पतालमा गएर राज्यलाई व्ययभार पार्ने प्रचलन रोक्न प्रयास गर्ने बताए । नेपालमै सम्भव हुने उपचार सेवा नेपालकै अस्पतालमा लिनुपर्ने अनिवार्य गरिने बताउँदै सरकारी खर्चबाट विदेशमा उपचार गर्न जाने नीति हटाउनुपर्नेमा जोड दिए। उनले सानातिना रोगको उपचारका लागि सहरसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य गरिने विश्वाससमेत व्यक्त गरे। स्वास्थ्यमन्त्री गिरीले स्वास्थ्य क्षेत्रका समस्या समाधान भने सहज नरहेको बताउँदै न्यूनतम स्वास्थ्य सेवाको मापदण्ड देशैभर पुर्याउने दाबी गरे। उनले स्वास्थ्य बीमामा केही समस्या देखिएको चर्चा गर्दै त्यसका लागि कतिपय प्रावधानमा पुनरावलोकन गरेर भए पनि गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने बताए। आगामी दिनका लागि स्वास्थ्य बीमालाई दिगो र भरपर्दो बनाउँदै गरिब जनताले स्वास्थ्य बीमामार्फत् नै सेवा लिनसक्ने व्यवस्था गरिने उनको भनाइ छ । उनले पर्वत जिल्लाका सातवटै स्थानीय तहमा आगामी पाँच वर्षभित्र सुविधासम्पन्न अस्पताल खोल्ने घोषणा पनि गरे। प्राविधिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको ३२ लाखको लागतमा निर्माण भएको सूचना तथा सञ्चार प्रविधिमैत्री कक्षाको उद्घाटन गर्दै गिरीले अब गाउँ गाउँमा प्राविधिक शिक्षालाई विस्तार गर्न सरकार सक्रिय रहेकोसमेत बताए। यस्ता खालका कक्षाले विपन्न तथा दलित समुदायका विद्यार्थीले सर्वसुलधरुपमा ज्ञान र सीप हासिल गर्न सक्ने उनको धारणा थियो । गत बुधबार गृह जिल्ला आएका मन्त्री गिरी गाउँ गाउँमा कार्यकर्ता भेटघाट तथा स्वास्थ्य संस्था निरीक्षणमा सक्रिय रहेका थिए । रासस