डोनाल्ड ट्रम्पको रात्रिभोजमा गोली चल्यो, एक जना पक्राउ
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आयोजना गरेको रात्रिभोजमा गोली चलेको छ । ह्वाइट हाउसमा संवाददाताहरूसँगको रात्रिभोजमा गोली चलेको हो । अमेरिकी सञ्चार माध्यमका अनुसार अमेरिकी सीक्रेट सर्भिसका एक जना अधिकारीलाई गोली लागेको छ । तर, बुलेट प्रुफ भेस्ट लगाएका कारण उनी बाँचेका छन् । अहिले उनको उपचार भइरहेको छ । नजिकैको हिल्टन बलरुम बाहिर गोली चलेको जस्तो आवाज सुनिएपछि रात्रिभोजमा सहभागी भएकाहरू टेबल मुनी लुकेका थिए । त्यसपछि पहिले ट्रम्पलाई र रक्षामन्त्री पिट हेग्सेथलाई सुरक्षा घेरामा हलबाट निकालिएको थियो । सहभागी भइरहेका समयमा गोली चलाउने सन्दिग्ध व्यक्ति पक्राउ परेका छन् । नियन्त्रणका लिइएका व्यक्तिको तस्बिर राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् । गोली प्रहारको आरोपमा पक्राउ परेका व्यक्ति क्यालिफोर्निआका ३१ वर्षीय युवक रहेको खुलेको छ । उनी रात्रिभोज चलिरहेको होटेलमै बसिरहेको अन्तर्राष्टिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
लागुऔषधसहित विभिन्न ठाउँबाट ४१ जना पक्राउ
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट ४१ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-३२ जडीबुटीबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने १३० थान ट्रामाडोल ट्याब्लेट नगद ६८ हजार २०० रुपैयाँसहित एक जनालाई पक्राउ गरिएको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कैलालीको टीकापुर नगरपालिका–१ बाट एक, घोडाघोडी नगरपालिका–१० पहलमानपुरबाट दुई, वीरेन्द्रनगर नगरपालिका-८ सिम्ताली चोकबाट दुई, कपिलवस्तुको बुद्धभूमि नगरपालिका-९ बाट एक, सुनसरीको इनरुवा नगरपालिका-४ बसचोकबाट दुई र दाङको घोराही उपमहानगरपालिका-१५ भानुचोकबाट दुई जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको हो । अभियुक्त शनिबार पक्राउ परेका हुन् । उनीहरुबाट नगद र लागुऔषध जोख्न प्रयोग हुने तराजुसमेत बरामद गरिएको छ । यसैगरी, काठमाडौं महानगरपालिका–४ सुकेधाराबाट खैरो हेरोइनसहित एक, बल्खुचोकबाट दुई जनालाई ९९८ थान ट्रामाडोल ट्याब्लेट र १६ हजार ५०० नगदसहित पक्राउ गरिएको छ । यसैगरी, इलामको सूर्योदय नगरपालिका-११ कालापानीबाट दुई, झापाको भद्रपुर नगरपालिका–५ बाट नौ, शिवसताक्षी नगरपालिका-१ बाट दुई, कञ्चनपुरको वेदकोट नगरपालिका-८ बाट दुई, भिमदत्त नगरपालिका-११ गड्डाचौकीबाट दुई, रुपन्देहीको बुटवल उपमहानगरपालिका-१५ गोब्रैयाबाट दुई, सैनामैना नगरपालिका-५ बुद्धनगरबाट एकजनालाई पक्राउ गरिएको हो । यसैगरी, विराटनगर महानगरपालिका-१५ बाट एक, रुकुमपश्चिमको त्रिवेणी गाउँपालिाका–२ बिसौनीबाट एक, दाङको घोराही उपमहानगरपालिका-५ बाट शीतलपुरबाट एक, बर्दियाको बढैयाताल गाउँपालिका-६ रानीपुरबाट चार जना, पोखरा महानगरपालिका-५ प्रस्याङबाट दुई र धनुषाको गणेशमान चारनाथ नगरपालिका-२ राधापुरबाट एक जनालाई चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने २५० थान नाइट्राजेपाम ट्याब्लेटसहित एक जनालाई पक्राउ गरिएको जनाइएको छ ।
भक्तपुरमा ७७७ घरटहरा भत्काउन सुरु, बस्ती खाली गराउन डोजर प्रयोग
काठमाडौं । भक्तपूरको मनोहरा खोला किनारस्थित सुकुमवासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउन सुरु गरिएको छ । आइतबार बिहानैदेखि बस्तीमा भक्तपुरबाट खटिएका एक हजार ३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काउन सुरु गरिएको जिल्ला प्रहरी परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए । उनका अनुसार उक्त बस्तीका बासिन्दाले आफैं आफ्ना घरटहरा भत्काउने भनेपछि बिहान ९ः०० बजेसम्मको समय दिइएको थियो । त्यसपछि भने काठमाडौं महानगरपालिकाको डोजरसहितको टोली आएपछि घरटहरा भत्काउन सुरु गरिएको हो । प्रहरी उपरीक्षक खड्काले भने, ‘यहाँका अधिकांश घरटहराबाट सामान सारेर खाली बनाएपछि भत्काउन थालिएको छ ।’ यस बस्तीमा बस्तीमा सात सय ७७ घरटहरा छन् । यसअघि शनिबार साँझ पनि यहाँ सात वटा ठूला पक्की घर भत्काइएका थिए । त्यस क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अवरोध गरिएको थियो । केही सुकुमवासीले आक्रमण गर्दा २२ सुरक्षाकर्मी घाइते भएका थिए ।
धरौटीको रकम फिर्ता लैजान १७ जनालाई १५ दिनको ताकेता
काठमाडौं । कोष तथा लेखा नियन्त्रक कार्यालय डोटीले विभिन्न व्यक्ति, फर्म तथा सरकारी कार्यालयका नाममा रहेको धरौटी तथा विविध खाताको रकम फिर्ता लैजान आग्रह गरेको छ । कार्यालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्त्व नियमावली, २०७७ अनुसार लामो समयदेखि फिर्ता लिन नआएको प्रयोजन विहीन धरौटी रकम सदरस्याहा गरी राजस्वमा दाखिला गर्ने तयारी गरेको जनाएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०८१÷८२ सम्मको विवरणअनुसार विभिन्न व्यक्ति तथा संस्थाका नाममा धरौटी रकम बाँकी रहेको छ । तीमध्ये जिल्ला स्वास्थ्य कार्यालयको नाममा १२ लाख ४१ हजार ५६७ रुपैयाँ, शिक्षा तालिम केन्द्रको नाममा ११ हजार ५५७ रुपैयाँ, जिल्ला पशु सेवा कार्यालयको ४ लाख २३ हजार ८२७ रुपैयाँ, सूर्योदय ऊर्जा प्रालिको ४५ हजार ७०० रुपैयाँ, गोपाल बहादुर बोहराको ५० हजार रुपैयाँ, पदम बहादुर साउदको १२ हजार रुपैयाँ, महेन्द्र विकको ३८ हजार रुपैयाँ, मन्धिरे झाक्रीको ५ हजार रुपैयाँ रहेको छ । यस्तै, यदु भण्डारीको ३० हजार रुपैयाँ, क्षेत्रीय प्रशासन कार्यालयको २ लाख २० हजार ३३९ रुपैयाँ, महराको १२ हजार रुपैयाँ, दल बहादुर साउँदको ५ हजार रुपैयाँ, गजराज निर्माण सेवाको ६ हजार ३१९ रुपैयाँ, लोकेन्द्र बमको १० हजार रुपैयाँ, क्षेत्रीय शसस्त्र प्रहरी गण न. १ को १ लाख ५१ हजार १२९ रुपैयाँ, कोलेनिका डोटीको १ लाख ९५५ रुपैयाँ र कोलेनिका डोटीको विभिन्न खातामा रहेको १८ लाख ९७ हजार २५५ रुपैयाँ रहेको छ । उक्त रकम फिर्ता पाउनुपर्ने कुनै आधार वा प्रमाण भए १५ दिनभित्र आवश्यक कागजातसहित कार्यालयमा निवेदन दिन आग्रह गरिएको छ । तोकिएको अवधिभित्र दाबी नआएमा उक्त रकम नियमअनुसार सदरस्याहा गरी सरकारी खातामा दाखिला गरिने कार्यालयले जनाएको छ
९.२४ प्रतिशत बढायो सालपाले लगानी, ६.९२ प्रतिशतबाट ३.३५ प्रतिशतमा झार्यो एनपीएल
काठमाडौं । सालपा विकास बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा ३१ लाख ९९ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ३५ लाख ८४ हजार रुपैयाँ खुद नोक्सानी बेहोरोको थियो । चालु आवको चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ६.७७ प्रतिशत बढेर ५ करोड ५७ लाख ४९ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ५ करोड २२ लाख १५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिशन आम्दानी ४.४७ प्रतिशत बढेर १९ करोड ६४ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ७.७० प्रतिशत बढेर ६ करोड ३३ लाख ९५ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ३१ करोड ८९ लाख रुपैयाँ ऋणात्मक छ । चालु आवको चैतसम्ममा बैंकको वितरणयोग्य नाफा १ करोड ६५ लाख ९० हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा २ करोड ४६ लाख २१ हजार रुपैयाँ ऋणात्मक थियो । ५२ करोड २३ लाख ८८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ करोड ८७ लाख २७ हजार रुपैयाँ रहेको छ । चालु आवको चैत मसान्तसम्म बैंकले १ अर्ब ४९ करोड ४३ लाख ३७ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब १९ करोड ७५ लाख २१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको चैतसम्म बैंकले १ अर्ब ३८ करोड १६ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ९ करोड ६२ लाख ३७ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । समीक्षा अवधिमा बैंकको निक्षेप ८.१५ प्रतिशत र कर्जा लगानी ९.२४ प्रतिशत बढाएको छ । साथै चैत मसान्तमा बैंकको कर्जा निक्षेप अनुपात ७१.२१ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा (एनपीएल) भने घटेको देखिन्छ । गत वर्षको चैतमा ६.९२ प्रतिशत रहेको खराब कर्जा चालु आवमा घटेर ३.३५ प्रतिशतमा झारेको छ । बैंकका अनुसार आधार दर ९.९१ प्रतिशतमा झरेको छ । जबकि गत वर्षको चैतमा ११.१७ प्रतिशत थियो । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ०.८१ रुपैयाँ ऋणात्मक छ । गत वर्षको चैतमा बैंकको प्रतिसेयर आम्दानी १.३६ रुपैयाँ ऋणात्मक थियो । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १०३.७५ रुपैयाँ छ ।
वडामै पहिलोपटक सडक कालोपत्र
काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका-६ मा पहिलोपटक सडक कालोपत्र गर्न थालिएको छ । हालसम्म उक्त वडाका कुनै पनि सडक कालोपत्र गरिएका थिएनन् । वर्षौंदेखि कच्ची सडकको सास्ती भोग्दै आएका यहाँका बासिन्दाले अब सहज र सुरक्षित यातायात सुविधा पाउने आशा गरेका छन् । गाउँपालिकाको चालु आर्थिक वर्ष २०८२/८३ को बजेटअन्तर्गत हिलेखर्क खण्डमा दुई किलोमिटर र समस्तीपुर-गिरन्चौर खण्डमा दुई किलोमिटर सडक कालोपत्रको काम भइरहेको गाउँपालिकाका इन्जिनियर पङ्कज मगरले जानकारी दिए । हिलेखर्क सडक स्तरोन्नति योजनाअन्तर्गत जोगीनिभञ्ज्याङदेखि वडा नं ६ को कार्यालयसम्मको सडक सुधारकार्यलाई तीव्रता दिइएको छ । पहिलो चरणमा करिब २ किलोमिटर सडक कालोपत्र गरिँदैछ भने जोगीनिभञ्ज्याङदेखि हिलेखर्कसम्मको खण्डका लागि करिब २ करोड रूपैयाँ खर्च हुने उनको भनाइ छ । यस सडकले गाउँपालिकाको वडा नं १, २ र ६ लाई प्रत्यक्ष रूपमा जोड्ने भएकाले यसको रणनीतिक महत्व पनि उच्च छ । स्थानीय किसानका लागि कृषि उपज बजारसम्म पुर्याउन सहज हुने, विद्यार्थीलाई विद्यालय आवतजावतमा सहजता हुने तथा बिरामीलाई स्वास्थ्य संस्था पुर्याउन समयमै सेवा प्राप्त हुने गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । गिरन्चौरदेखि सार्तेसम्मको सडक स्तरोन्नतिका लागि सङ्घीय सरकारबाट विनियोजित करिब ६ करोड रूपैयाँ हालसम्म कार्यान्वयन हुन नसकेको उनले बताए । उक्त बजेट कार्यान्वयनमा ढिलाइ हुँदा बरादीदेखि हिलेखर्कसम्मको सम्पूर्ण सडक कालोपत्र कार्य अधुरै रहने अवस्था देखिएको छ । अध्यक्ष चुमानले भने, ‘यदि सो बजेट समयमै कार्यान्वयनमा आएको भए चालु आवभित्रै बरादी–हिलेखर्क सडक पूर्ण रूपमा कालोपत्र हुने थियो ।’ अध्यक्ष चुमानले स्थानीय तहको बजेटबाट सम्भव भएसम्म सडक पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताउँदै सङ्घीय सरकारको बजेट छिट्टै कार्यान्वयनमा आउने विश्वास व्यक्त गरे । ‘हामीले आफ्नो स्रोतले सक्दो काम अघि बढाएका छौँ, बाँकी काम सङ्घीय बजेट कार्यान्वयनसँगै पूरा हुनेछ,’ उनले भने । वडाध्यक्ष दिलीप गुरुङका अनुसार सडक कालोपत्र भएपछि धुलो र हिलोको समस्या अन्त्य हुने, सवारीसाधन सञ्चालनमा सहजता आउने र समग्र आर्थिक गतिविधि चलायमान हुने अपेक्षा गरिएको छ ।
भारतीय सीमामा लुकीछिपी, जाँच बिनै भित्रिन्छ भारतीय तरकारी
काठमाडौं । सीमावर्ती भारतीय बजार रक्सौलबाट लुकीछिपी वीरगन्जमा क्वारेन्टिन जाँच नगरिएका ताजा तरकारी भित्रिने गरेका छन् । वीरगन्जको सीमावर्ती बजार रक्सौलबाट पर्सा र बारा जिल्लासँग जोडिएका खुला सीमा नाकाको फाइदा उठाउँदै दैनिक साइकलमार्फत ताजा तरकारी भित्रिने गरेको छ । यहाँ दैनिक ‘क्यारिङ’ गर्ने साइकल चालकले ताजा तरकारी र फलफूल वीरगन्ज ल्याउने गर्छन् । पर्सा र बारासँग सीमा जोडिएको बाराको विश्रामपुर गाउँपालिका, वीरगन्ज महानगरको नगवा, इनरुवालगायत खुला नाकाको फाइदा उठाउँदै साइकल चालकले दैनिक तरकारी तथा फलफूल भित्र्याउने गरेका छन् । उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य अजित भुजेलले खुला सीमा नाकाबाट क्वारेन्टिन जाँच बिनै भित्रिने तरकारी तथा फलफूलले जनस्वास्थ्यमा असर पार्ने भएकाले पनि नियन्त्रणमा लिनुपर्ने बताए । ‘खुला सीमा नाकाको फाइदा उठाउँदै विभिन्न समूहले छपकैया, इनरुवा, विश्रामपुरलगायत स्थानबाट साइकलमार्फत दैनिक ठूलो मात्रामा तरकारी भित्र्याउने गरेका छन्,’ उनले भने, ‘स्थानीय प्रशासन र सशस्त्र प्रहरीले त्यसमा ध्यान दिन जरुरी छ ।’ वीरगन्जमा दैनिक साइकल चालकले बिहान सबेरैदेखि प्रति साइकलमा क्वारेन्टिन जाँच बिनै भारतीय तरकारी भित्र्याउने गरेका छन् । स्थानीय प्रशासन तथा सीमाक्षेत्रमा खटिएको सशस्त्र प्रहरीले कारबाही प्रक्रिया अघि बढाउन सकेको छैनन् । प्रमुख जिल्ला अधिकारी भोला दाहालले भन्सार प्रक्रिया पूरा गरेर क्वारेन्टिन जाँचमा योग्य भएका भएका तरकारी तथा फलफूलमात्र भित्र्याउन पाइने बताए । ‘क्वारेन्टिन जाँच बिनै ताजा तरकारी तथा फलफूल ल्याउन पाइँदैन । कोही कसैले ल्याएका रैछन् भने आवश्यक अनुगमन गरेर नियन्त्रणमा लिइनेछ,’ उनले भने । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीले पर्साको सीमा क्षेत्रबाट भन्दा पनि बाराको विश्रामपुर गाउँपालिकासँग जोडिएको सीमावर्ती क्षेत्रबाट क्वारेन्टिन जाँच बिनै तरकारी भित्रिएर वीरगन्ज बजारमा पुग्ने गरेको बताए ।
देशका विभिन्न स्थानमा पश्चिमी वायुको प्रभाव, वर्षा र हिमपात हुने
काठमाडौं । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा बदली भएको छ । हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली भएको छ भने सुदूरपश्चिम प्रदेशका तराई भेगमा मुख्यतया मौसम सफा रहेको छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बागमती प्रदेशका एक/दुई स्थानमा मध्यम वर्षा तथा हिमपात भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहने तथा बाँकी भागमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश सहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । साथै लुम्बिनी प्रदेशको तराई भागका एक/दुई स्थानमा पनि वर्षा हुन सक्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा तापक्रम बढ्ने सम्भावना छ । त्यसैगरी, आज राति देशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली तथा तराई भेगमा आंशिक बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । साथै देशका अधिकांश स्थानमा तापक्रम क्रमशः बढ्दै जाने देखिएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई, उपत्यका तथा खोँचमा तापक्रम बढ्ने महाशाखाको पूर्वानुमान छ । ती भेगका सर्वसाधारणलाई महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।