विकासन्युज

महँगो किने मात्र राम्रो हुन्छ भन्ने हाम्रो मानसिकता छ : अध्यक्ष पोद्दार

सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ, संघसंस्था र व्यवसायीहरुको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) नेपाल सन् १९९२ मा स्थापना भएको हो । संघले स्थापना भएको ३ वर्षपछि अर्थात् सन् १९९५ देखि सूचना प्रविधिमा भएका नवीनतम सामाग्रीका बारेमा जानकारी गराउने उद्देश्यले क्यान इन्फोटेक गर्दै आएको छ । क्यान महासंघ माघ २४ गतेदेखि २९ गतेसम्म २८ औं संस्करणको क्यान इन्फोटेक २०२३ आयोजना गर्ने तयारीमा छ । जुन सूचना प्रविधि सम्बन्धी प्रत्येक वर्ष मुलुककै ठूलो प्रदर्शनीका रुपमा लिइएको छ । यसै विषयमा रहेर विकासन्युजका सीआर भण्डारीले कम्प्युटर एशोसियसन महासंघका अध्यक्ष रञ्जीत कुमार पोद्दारसँग कुराकानी गरेका छन् । कम्प्युटर एशोसियसन महासंघ (क्यान)को इन्फोटेक २०२३ को तयारी कति पुग्यो ? क्यान इन्फोटेक २०२३ इन एसोयिसट वीथ डिस होमको अन्तिम चरणमा पुगेको छ । सबै स्टलहरु बुक भइसकेका छन् । माघ २४ गतेदेखि भृकुटीमण्डपमा पूर्ण तयारी भइसकेको छ । बाहिरको ४/५ वटा ह्याङ्गर मात्रै बुक हुन बाँकी छन् । प्रत्येक वर्ष इन्फोटेक मेला गर्दै आउनु भएको छ, यसपटकको क्यान इन्फोटक विगतका वर्षभन्दा कसरी फरक हुन्छ ? प्रत्येक इन्फोटेकमा नयाँ–नयाँ चिज मात्रै राख्ने गरिएको छ । किनभने टेक्नोलोजी बेस इभेन्ट भएको हुँदा टेक्नोलोजीले हरेक पल फड्को मारेको हुन्छ । क्यानले वर्षेनी गर्ने इन्फोटेक मेला हेर्दा उस्तै प्रकृतिको देखिन्छ । तर, त्यो भित्रको टेक्नोलोजी परिवर्तन भइसकेको हुन्छ । त्यसैले प्रत्येक वर्ष नयाँ प्रविधि, नयाँ सफ्टवेयर लगायत प्रविधि राखिएको हुन्छ । क्यान इन्फोटेक १९९५ देखि सानो ब्लु बर्डबाट सुरु भएको हो । विगत वर्षदेखि हालसम्म यो निरन्तर हुँदै आएको छ । सन् २०२१ मा कोरोना महामारीका कारण गर्न सकिएन । सूचना प्रविधिको विकास कहाँ, के, कसरी भएको छ भन्ने कुरालाई जानकारी गराउने उद्देश्यले निरन्तर हुँदै आएको छ । विगतभन्दा अहिले चुनौति धेरै छन् । थोरै समयमा ठूलो इभेन्ट गर्ने आँट गरेका छौं । यस्ता इन्फोटेक मेला गर्दा के फाइदा हुन्छ ? यस्ता इन्फोटेक मेला गर्दा सचेतना बढ्छ । प्रविधि कति विकास भएको छ भन्ने खुलस्त हुन्छ । सर्वसाधारणले देख्न चाहेका सबै समावेश गरिएको हुन्छ । महासंघको आम्दानी पनि हुन्छ । एउटै छातामुनि १८० वटा स्टलमा फरक–फरक किसिमका प्रविधिहरुका बारेमा जानकारी पाइन्छ । साधारणतः प्रदर्शनीको लागि मात्रै इन्फोटेक मेला गरिएको हुन्छ । कारोबार धेरै हुँदैन । केही व्यवसायीहरुले कारोबार पनि गर्छन् । कति कारोबार हुन्छ भन्ने तथ्याङ्क यकिन हुँदैन । कतिपय अवलोकनकर्ता खरिद गर्ने उद्देश्यले आउँछन् । उनीहरुले बिक्री गर्न अनुरोध गरेपछि मात्रै बिक्री गरिने हो । यो एउटा प्रचारप्रसार गर्ने थलो मात्रै हो । ग्राहकहरुलाई खरिद गर्ने ठाउँसम्म पुर्याउन यसले सहयोग गर्छ । क्यान महासंघको स्पोन्सर, टिकट बिक्री भएको रकमबाट नै सम्पूर्ण खर्च धानेको हुन्छ । भृकुटीमण्डपमा ६ दिनको इभेन्ट गर्दा ३० लाख रुपैयाँ भाडा तिर्नुपर्छ । स्टल वा ह्याङ्गर जडानमा मात्रै ४० लाख रुपैयाँ तिर्नुपर्ने हुन्छ । विद्युतमा १० लाख रुपैयाँ हुन्छ । यस्तै, प्रचारप्रसारको लगायत सबै जोड्ने हो भने करोडौं खर्च हुन्छ । त्यो सबै स्पोन्सरबाट आएको रकमले धान्ने हो । अवलोकनकर्ताले शुल्क तिरेर प्रवेश गर्नु हुन्छ, शुल्क तिरेवापत उनीहरुलाई के फाइदा हुन्छ ? मेलामा विद्यार्थीलाई ५० रुपैयाँ र सर्वसाधारणलाई १ सय रुपैयाँ तोकिएको छ । यो शुल्क १० वर्षदेखि लिँदै आएको हो । मेला नि:शुल्क गर्यो भने भीड मात्रै हुन्छ । तर, शुल्क तोकियो भने आवश्यक मान्छेहरु मात्रै गएर ज्ञान लिएर फर्किनुहुन्छ । पे वेल मोबाइल वालेटबाट टिकट खरिद गर्दा २५ रुपैयाँ मात्रै शुल्कको व्यवस्था गरिएको छ । इन्फोटेकमा १८० वटा स्टलबाट आफूलाई चाहिने ज्ञान लिनु नै धेरै फाइदा हुन्छ । यसबाट इन्टरनेटका प्याकेज, नयाँ–नयाँ ल्यापटप, नयाँ मोबाइल, कलेजहरुका विद्यार्थीले उत्पादन गरेका प्रविधिहरु, कलेजमा पढाई हुने प्रविधि सम्बन्धी शैक्षिक गतिविधि बारेमा जानकारी लिन सकिन्छ । आईटीसम्बन्धी विषय पढ्दै गरेका विद्यार्थीहरुले भविष्यमा कुन विषय पढ्दा राम्रो हुन्छ भन्ने जानकारी लिन सक्छन् । यहाँ २०/२५ वटा स्टार्टअपहरुलाई राम्रो स्थान दिईएको छ । केहीलाई नि:शुल्क र केहीलाई सानो रकम मात्रै लिएका छौं । पछिल्लो समय युट्युब र सामाजिक सञ्जाल वा गुगलबाटै सूचना प्रविधि सम्बन्धी आवश्यक सामाग्री हेर्न मिल्छ, भौतिक रुपमा उपस्थित नै किन हुनुपर्यो ? यो त प्रविधिले फड्को मारेको हो । आज त्यहि प्रविधि विकास नभएको भए इन्फोटेकमा जानै पर्ने बाध्यता हुन्थ्यो । अनलाइनमा नै भएको कुरा इन्फोटेकमा छ भने किन जाने भन्ने पनि छन् । विगत वर्षभन्दा अवलोकनकर्ताको संख्या घटेको पनि छ । विश्वव्यापी नै अवलोकनकर्ताको संख्या घटेको देखिन्छ । अनलाइनवालाहरुले इन्फोटेकमा राखिएका सामाग्रीहरु बिक्री गरिरहेका छन् भने अझै विश्वास बढ्छ । भोलिका दिनमा यहि इभेन्ट गर्नुपर्छ भन्ने जरुरी छैन । अनलाइन देखेको र भौतिक रुपमा देखेको कुरामा धेरै फरक हुन्छ । अनलाइनमा स्क्रिन वा फोटो मात्रै हेरिन्छ । इभेन्टमा आइसकेपछि चलाएर अनुभव गर्न पाइन्छ । मलाई कस्तो चाहिएको छ, त्यो यहाँ छ की छैन, यसले मेरो काम गर्छ क गर्दैन रु इभेन्टमा आइसकेपछि हेर्न, छुन र चलाउन पाइन्छ । अहिलेसम्म सूचना प्रविधिमा के उत्पादन गरेर निर्यात गरिरहनु भएको छ ?  अहिले हामीले सफ्टवेयर मात्रै उत्पादन गरेर निर्यात गरिरहेका छौं । स्वेदशमा नै आउट सोर्सिङका कामहरु भइरहेका छन् । नेपालमा नै बसेर बाहिरका कामहरु गरिरहेका छन् । नेपालमा प्रयोग हुने सफ्टवेयर विदेशमा पनि प्रयोग भइरहेका छन् । हरेक नेपालीलाई डिजिटलाइज गर्न क्यान महासंघले कस्तो भूमिका खेलेको छ ?  हरेक नेपाली डिजिटल बन्दैछन् । सरकारका हरेक कामकारवाहीहरु डिजिटल माध्यमबाट भइरहेका छन् । सहर वा केन्द्रमा मात्रै डिजिटल गरेर हुँदैन । क्यान महासंघ ७४ जिल्लामा पुगेको छ । ति सबै जिल्लामा सचेतना दिने काम भइरहेको छ विस्तारै सबै प्रविधिमैत्री बन्दैछ । एउटा मोबाइल छ भने अन्य केही आवश्यक पर्दैन । केही ठाउँमा वालेट प्रविधि चलाउन नसक्ने हुन सक्छन् । सबै ठाउँमा प्रविधिको पहुँच नपुगेको हुन सक्छ । त्यो ठाउँमा क्यान महासंघले सचेतना फैलाउने काम गरिरहेको छ । हामीले सबै जिल्लामा शाखा सञ्चालन गरेका छौं । जनमानसमा प्रविधिको जानकारी र प्रयोग गराउन जिल्लाका साथीहरुले काम गरिरहनु भएको छ । क्यान महासंघले सातै प्रदेशमा इन्फोटेक गरिरहेको छ । मधेश प्रदेशमा फागुन ४ गतेदेखि, सुदूरपश्चिम प्रदेशमा फागुन १३ गतेदखि, गण्डकी प्रदेशमा फागुन २६ गतेदेखि, बागमति प्रदेशमा चैत २ गतेदेखि, प्रदेश नम्बर १, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा पनि चाँडै गर्ने तयारी छ । सूचना प्रविधिलाई जनतामाझ लैजान आवश्यक छ । बुटवलबाट सुरु भएर धरान, हेटौडा लगायत सबै ठाउँमा क्यान महासंघले इन्फोटेक गरिरहेको हुन्छ । सूचना प्रविधिका सामाग्रीहरु सर्वसुलभ छैनन्, सस्तो लागतमा किन पाईंदैनन् ? यस विषयमा सर्वसाधारण नै आफै सजग हुनुपर्छ । किनभने ग्राहकलाई के चाहिएको छ रु कुनै कुरा खरिद गर्दा के को लागि हो रु मैले यसमा के चलाउने हो रु भनेर ग्राहक आफैं सजग हुन जरुरी छ । जस्तो एउटा ल्यापटप ३० हजार रुपैयाँबाट सुरु हुन्छ । नर्मल चलाउने हो भने ३० हजारको खरिद गरे पुग्छ । त्यहि ल्यापटप ३ लाखभन्दा पनि बढी पर्छ । मैले महँगो किने भने राम्रो हो भन्ने हाम्रो मानसिकता छ । यसमा परिवर्तन गर्न जरुरी छ । यदि ३५ हजारको ल्यापटपले काम हुन्छ भने महँगो किन्नु भएन । यदि त्यो ल्यापटपले पुग्दैन भने महँगो किन्नु पर्यो । काम कति गर्ने हो त्यहि अनुसारको सामाग्री खरिद गर्नु पर्यो । के चलाउने र कति वर्ष चलाउने हो त्यो स्पष्ट हुनु पर्यो । आज किनेर १० वर्ष टिक्छ भन्ने हुँदैन । प्रविधि ३/४ वर्षमा परिवर्तन भइसकेको हुन्छ । आज एउटा ल्यापटप किनेको छ भने केही वर्ष पछि त्यसका हार्डवेयर र सफ्टवेयर परिवर्तन भइसकेको हुन्छ । आवश्यकताका आधारमा किन्नुपर्छ । रिफर्मेस सामाग्री विश्वाव्यापी रुपमा नै बिक्री भइरहेका हुन्छन् । जस्तो कुनै सामान एकचोटी आएर बिग्र्यो भने कम्पनीले बनाएर पुनः सस्तो मूल्यमा बिक्री गर्छ । यस्ता सामाग्री नेपाल सरकारले ब्याण्ड गरेको छ । ल्याउन नपाउने सामाग्री बिक्री भइरहेका छन् भने सरकारले नै रोक्नपर्छ । यदि सरकारले त्यस्ता रिफर्मेस सामाग्री चिन्दैन भने क्यान महासंघ हातेमालो गर्न तयार छ । अहिलेको परिपक्ष्यमा सूचना प्रविधिमा कस्तो परिवर्तन भएका छन् ? सूचना प्रविधिमा नयाँ एआई आएका छन् । हिजोका दिनमा टूजी मोबाइल फोन थिए । अब फाइभजी नेपाल टेलिकमले लञ्च गरिरहेको छ । हाम्रो इभेन्टमा पनि टेलिकम आएको छ । यसरी नयाँ प्रविधि आइरहेका छन् । सूचना प्रविधिको भविष्य कस्तो छ ? सूचना प्रविधिको भविष्य ठूलो छ । यो अब कहिले पनि घट्दैन । बढ्दै जान्छ । हिजोका दिनमा किबोर्ड मोबाइल प्रयोग गथ्र्यौं भने अहिले धेरै किसिमका आएका छन् । भोलिका दिनमा आवश्यक पर्ने सबै प्रविधि आउँछन् । प्रविधि प्रयोग गरेर घरबाटै अफिसको काम गर्न सकिएको छ । घरबाटै शिक्षा लिन सकिएको छ । हिजोका दिनमा यस्तो सुविधा थिएन । आज सम्भव भएको छ । अझै यस्ता थुप्रै प्रविधि आउँछन् जुन कल्पना पनि गर्न सकिँदैन । सरकारले विदेशमा रहेका नेपाली कामदारलाई मोबाइल फोन ल्याउन रोक लगायो, पुनः खुला गर्यो, यसले तपाईंहरुलाई कति असर गर्छ ? यसले हाम्रो व्यापार व्यवसायमा कुनै असर गर्दैन । आजका दिनमा डलर सञ्चिती घट्दैछ । विदेशमा बसेका नेपालीहरुले मेहेनत गरेर पठाएको रेमिट्यान्सले अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको छ । उहाँहरुको योगदानलाई कदर गरेर मोबाइल फोन ल्याउन दिनुपर्छ । बरु जसको रेमिट्यान्समा योगदान छैन उसलाई मोबाइल ल्याउन रोक लगाउँ । बरु ३ दिनको लागि विदेश घुम्न गएकालाई विदेशबाट २ वटा मोबाइल ल्याउन दिनु हुँदैन । यसरी २र४ दिनका लागि विदेश घुम्न गएर मोबाइल फोन ल्याउने हो भने मात्रै हाम्रो व्यापारलाई घाटा हुन्छ । बैंक तथा वित्तीय संस्थाको ब्याजदर उच्च भएका बेला कस्तो असर परेको छ ?  यसको असर अहिले चारैतिर छ । अहिले व्यापार व्यवसाय पनि बढेको छैन । सुस्ताएको छ । हिजोका दिनमा ८ प्रतिशत ब्याजमा कर्जा दिइन्थियो भने आज यो १६ प्रतिशत पुगेको छ । दैनिक खर्च  पनि बढेको छ । आम्दानीको स्रोत छैन । व्यापार व्यवसाय सञ्चालन भएको भए १५ प्रतिशत ब्याज पनि तिर्न सकिन्छ । तर, पहिला भन्दा व्यापार घटेर खर्च मात्रै बढेको छ । सूचना प्रविधि व्यवसायीहरुको ७० प्रतिशत व्यापार घटेको छ । व्यापार व्यवसाय नभएपछि केही कम्पनीले नवीकरण नै गरेका छैनन् । उनीहरुको लाइसेन्स पनि खारेज भइरहेको छ ।

च्याउखेतीबाट मासिक ३ लाख आम्दानी गर्दै नवलपरासीका किसान

मध्यविन्दु । नवलपरासी बर्दघाट सुस्तापूर्वमा च्याउखेती गर्ने कृषक मेहनत गरे आफ्नै ठाउँमा नै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् । गैँडाकोट नगरपालिका–५ मा रहेको छत्राक एग्रो फार्मका सञ्चालक ६१ वर्षीय कर्णलाल श्रेष्ठ विगत दुई वर्षदेखि च्याउखेतीमा नै रमाइरहेका छन् । ‘केही गर्छु भन्ने इच्छाशक्ति भयो भने न त पैसाले रोक्दो रहेनछ, न त उमेरले नै छेक्दो रहेछ, मात्र काम गर्ने जोश, जाँगर चाहिँदो रहेछ’, श्रेष्ठले भने । छ कट्ठा क्षेत्रफलमा तीन टहरा बनाएर ६५ लाख रुपैयाँ लगानीका साथ सुरु गरेको च्याउ खेतीले उनलाई मनग्य आम्दानी दिएको छ । श्रेष्ठले अहिले महिनामा कम्तीमा एक लाख रुपैयाँ आम्दानी गर्दै आएको बताए । ‘छ कट्ठा जमिनको वर्षमा एक लाख रुपैयाँ भाडा तिर्ने गरेको छु, तर पनि आम्दानी राम्रो छ’, उनले भने, ‘वर्षमा कम्तीमा पनि २० हजार किलो च्याउ बिक्री गर्दै आएको छु, खर्च कटाएरै महिनामा कम्तीमा एक लाख रुपैयाँको व्यापार हुन्छ ।’ भौतिक संरचना निर्माणका लागि बढी रकम खर्च गरेको उनले बताए । पराल मौसमबाहेकका समयमा महँगो पर्ने भएकाले पनि पहिले नै किनेर राख्न र अन्य कामका लागि छुट्टै टहरा बनाएको श्रेष्ठको भनाइ छ । ‘बाजेसँग अन्य व्यापार व्यवसायमा सामेल थिए, ३० वर्षपछि किसान हुन मन लाग्यो, अनि व्यापारभन्दा खेतीमा फाइदा देखेँ’, उनले भने, ‘गर्मी, जाडो दुवै मौसममा च्याउखेती गर्दै आएको छु, यसको बजार सजिलै र मुल्य राम्रो पाइन्छ ।’ उनलाई नगरपालिकाले पनि सहयोग गरेको छ । उनलाई पराल बफाउनका लागि आवश्यक पर्ने अटोक्लेव मेसिन नगरपालिकाले ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको हो । स्टिलको १० लाख रुपैयाँको अटोक्लेव मेसिनमा पराल पकाइ बफाएर च्याउ उत्पादन हुने गरेको छ । ‘अरु व्यापार, व्यवसायभन्दा च्याउखेती राम्रो छ, ३० दिनमै उत्पादन दिन्छ, मुनाफा पनि धेरै हुन्छ’, उनले भने । श्रेष्ठ जस्तै गैँडाकोट–१ मा अनिता च्याउ फार्मको नाममा अनिता न्यौपानेले च्याउखेती गर्दै आइरहेकी छिन् । सुरुमा च्याउखेती गर्न निकै गाह्रो महसुस भएको अनुभव उनले बटुल्दै जाँदा अहिले यसैलाई आम्दानीको स्रोत बनाएकी छिन् । कोरोनाको महामारीसँगै विदेशबाट श्रीमान् घर फर्केपछि परिवार नै मिलेर च्याउखेती सुरु गरेको उनले बताइन् । ‘श्रीमान् कोरोनाका कारण कतारबाट घर फर्किएपछि च्याउ खेती सुरु गरेको हो, सुरुमा त बिग्रियो, घाटा पनि लाग्यो पछि राम्रो हुँदै आयो’, उनले भनिन् । अन्य काममा जस्तै च्याउखेतीमा पनि मेहनत गर्नुपर्ने उनको भनाइ छ । बिहानदेखि राति अबेरसम्म च्याउकै हेरचाहमा व्यस्त हुने उनले चिसो समयमा बढी राम्रो हुने बताइन् । जाडो समयमा मासिक दुईदेखि तीन लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनले बताइन् । गैँडाकोट–४ मा रहेको शिवशक्ति कृषक समूहले पनि सामूहिक च्याउखेती गर्दै आएको छ । पचास महिलाले तीन लाख रुपैयाँ लगानीबाट सुरु गरेको च्याउ फार्म पाँच टनेलमा छ । चार वर्षअघि नगरपालिकाको डेढ लाख रुपैयाँ सहयोगमा सुरु गरेको फार्मले सामूहिक एकतासँगै धेरै थोरै आम्दानी पनि गराएको समूहका अध्यक्ष सङ्गीता पण्डितले बताइन् । ‘आएको नाफा समूहमा नै राखी सामूहिकरुपमा सञ्चालन गर्ने गरेका छौँ’, पण्डितले भनिन्, ‘निरन्तरको लगाव भए च्याउखेती आम्दानीको उपयुक्त माध्यम हुने रहेछ ।’ सो नगरपालिका क्षेत्रमा च्याउखेती प्रवद्र्धनका लागि नगरपालिकाले पनि सहायता प्रदान गर्ने गरेको छ । नगरपालिकाले विभिन्न समयमा अनुदान, किसानका लागि सहुलियत र अन्य कार्यक्रम सञ्चालन गरेर अगाडि बढेको नगरपालिकाको कृषि शाखाका नायब प्राविधिक सहायक सुरक्षा पौडेलले बताइन् । ‘नगरपालिकाले किसानका लागि सहयोग र अनुदानका कार्यक्रमसँगै प्रोत्साहन गरेको छ’, पौडेलले भनिन्, ‘अहिलेसम्म नगरपालिकामा जम्मा तीन च्याउ फार्म दर्ता छन् ।’ रासस

चितवनको माडी नगरपालिकामा विद्युतीय कर भुक्तानी सेवा सुरु

चितवन । चितवनको माडी नगरपालिकाले विद्युतीय कर भुक्तानी सेवा सुरु गरेको छ । नगरपालिकाले सेवा प्रदायकलाई एकीकृत गरी विद्युतीय कर भुक्तानी सेवा बिहीबारदेखि सुरु गरेको हो । यो सेवा सुरुआतसँगै नगरपालिकाका सेवाग्राहीले विभिन्न एप्समार्फत घर बहाल कर, सम्पत्ति कर र व्यावसायिक कर तिर्न सक्नेछन् । सेवा शुभारम्भ गर्दै नगरपालिकाका उपप्रमुख खेमप्रसाद महतोले परम्परागत शैलीबाट कर भुक्तानी गर्दा झन्झटिलो हुनाका साथै ढिलासुस्ती हुने गरेकाले यस प्रविधिको प्रयोगले नागरिकलाई सहज हुने बताए । उनले यो सेवा प्रयोगसँगै नगरपालिका र वडामा सेवाग्राहीको चाप कम हुने भएकाले सेवा प्रवद्र्धनमा जोड दिनुपर्छ भने । नगरपालिकाका सूचना प्रविधि अधिकृत प्रविन भण्डारीले नगरपालिकालाई तिर्नुपर्ने विभिन्न शीर्षकका कर तथा राजस्व घरमै बसेर तिर्न मिल्ने गरी प्रविधिको विकास गरिएको बताए । यो सेवा सुरु भएसँगै कार्यालय आएर लाइन बस्नुपर्ने समयका साथै अतिरिक्त खर्च जोगिने उनको भनाइ थियो । सेवाग्राहीले कनेक्ट आइपिएस, खल्ती, आइएमइ पे, प्रभु पे र इ सेवामार्फत भुक्तानी गर्न सक्नेछन् ।

कञ्चनपुरमा नदी तर्न ४० रुपैयाँ तिर्नुपर्ने

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकाकी सरस्वती राना हरेक दिन झिसमिसे बिहानदेखि अबेर रातिसम्म दोदा नदी किनारमा बस्छिन् । नदी तर्नका लागि उनले अस्थायी काठको पुल बनाएकी छन् । पुलमार्फत् ओहरदोहर गर्ने मोटरसाइकल र साइकल सवारबाट उनी शुःल्क लिन्छिन् । पुलमार्फत् नदी वारपार गर्ने मोटरसाइकल सवारले ४० रुपैयाँ र साइकल सवारले पाँच रुपैयाँ बुझाउँछन् । रानाको यो पछिल्लो तीन वर्षदेखिको दिनचर्या हो । नदी छेउमै काठको वेरियर छेउ सानो पसल पनि राखेकी छन् । पुल भएर ओहरदोहर गर्ने साइकल तथा मोटरसाइकल सवार यात्रुबाट हुने आम्दानीले  उनले घर खर्च चलाउँछिन् । पुल प्रयोग गर्नेहरुबाट उनले दैनिक एक हजार रुपैयाँ देखि दुई हजार पाँच सय रुपैयाँसम्म रकम उठाउँछिन् ।  श्रीमानको निधन भएपछि छोरा बुहारी, नाती नतिनाको खर्चको जोहो गर्न उनले नदीमा अस्थायी पुल राखेकी हुन् । रोजगारीको छैन। खेती गर्न जग्गा छैन। नदीले जग्गा बगाएपछि वन क्षेत्रमा झोपडी बनाएर बस्दै आएका छौँ’, उनले भनिन्, ‘हरेक बर्ष वर्खा सकिएपछि कात्तिकदेखि नदीमा अस्थायी पुल राख्ने गरेकी छु ।’ उनले कात्तिकमा राखेको पुल जेठतिर निकालेर घरमा राख्छिन् । नदीमा सात महिना राखिने पुलबाट हुने आम्दानीले रानाको परिवार चलेको छ। रानाले अस्थायी रुपमा  काठको पुल राखेको स्थानभन्दा छेवैमा पक्की पुल निर्माणका लागि पिलर ठडयाइएका छन् । तर एक दशकअघिदेखि यसैगरी उभिएका पिलरले कहिले मूर्तरुप कहिले लिने हो टुङ्गो छैन । स्थानीय बोटसिंह राना भन्छन्, ‘कृष्णपुर नगरपालिकाको बाणि हुँदै लालझाडी गाउँपालिकासम्म पुग्न नदीमा पुल निर्माण थालिएको हो। निर्माण अलपत्र परेपछि अस्थायी पुलमा शुःल्क तिरेर तर्न बाध्य छौं ।’ दोदा नदी नजिकैको वनहरा नदीमा पनि अस्थायी काठको पुल निर्माण गरिएको छ । नदी तर्नेबाट त्यस ठाउँमा समेत शुःल्क लिइने गरिएको छ। नदीमा निर्माण गरिएको झोलुङगे पुल गत भदौको अन्तिम साता आएको बाढीले ढालेपछि स्थानीय शुःल्क तिरेर काठको अस्थायी पुल तर्दै आएका छन् । नदीमा काठको अस्थायी पुल राखेर शुःल्क उठाउँदै आएका रामबहादुर रानाले १५ जना मिलेर अस्थायी पुल राखेको बताए । पुलबाट उठेको केही रकम स्थानीय विपद् व्यवस्थापन समितिको कोषमा जम्मा गर्ने र बचेको रकम १५ जानाले बाँडेर लिने गरेको उनले सुनाए । दुवै नदीमा बनाइएका अस्थायी पुलमार्फत् पैदल यात्रु, साइकल र मोटरसाइकल आवतजावतका लागि प्रयोग हुने गरेको छ । ‘अस्थायी भएपनि निर्माणकर्ताले काठको व्यवस्था गरी पुल राख्दा थोरै समयका लागि भएपनि सुविधा पुगेको छ’, स्थानीय प्रकाश खुनाले भने, ‘थोरै शुःल्क लिँदा चित्त दुखाएका छैनौँ बरु सेवा पाएका छौँ ।’ रासस  

छुटे कामना सेवा विकास बैंकका सीइओ बस्नेत

काठमाडौं । कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रवीण बस्नेत छुटेका छन् । सीइओ बस्नेत हाजिरी जमानीमा छुटेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख देवानन्द मिश्रले जानकारी दिएका छन् । बस्नेतसहित हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारीलाई पनि हाजिरी जमानीमा छोडेको उनले बताए । बैंकको दमकस्थित शाखामा कम धितो राखी बढी ऋण प्रवाह गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । ऋण अपचलन भएको भन्दै नेपाल राष्ट्र बैंकले थप अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पत्र पठाएपछि झापास्थित इलाका प्रहरी कार्यालय दमकले बस्नेतसहितका विभिन्न व्यक्तिलाई पक्राउ पूर्जी जारी गरेको थियो ।

सांसद चौधरीलाई जेल चलान

काठमाडाैं । कैलाली–२ का सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन् । १३ वर्ष पुरानो आगजनीको घटनामा ६ महिना कैद सजाय सुनाइएका चौधरी जेल चलान भएका हुन् । बिहीबार उनलाई प्रहरीले शुक्रबार बिहानै जिल्ला अदालत कैलालीमा पेश गरेको थियो । अदालतबाट कैदी पुर्जी बुझेर चौधरी कारागार चलान भएका छन् । ट्र्याक्टर जलाएको सरकारीवादी फौजदारी मुद्दामा जिल्ला अदालत कैलालीले करिब १० वर्षअघि उनलाई  ६ महिना कैद तोकेको थियो । संसदीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेर चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।        

सन्दीपविरुद्धको निवेदनमाथि सुनुवाइ हुँदै

काठमाडौं । बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज हुने भएको छ । लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश बदरको माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिएको थियो । सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै दिइएको निवेदनको पेशी आज तोकिएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले जानकारी दिए । नेपाल क्रिकेट सङ्घले सन्दीपलाई आइसीसी विश्वकप लिग २ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्डबीचको एक दिवसीय सिरिजका लागि बन्द प्रशिक्षणमा समावेश गरिसकेको छ ।

१४ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला एक हजार चार सयले घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला रु एक लाख सात हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख छ हजार एक सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख पाँच हजार छ सय छ । यसको मूल्य अघिल्लो दिन एक लाख सात हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३० ले घटेर एक हजार तीन सय ६५ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।