काभ्रेपलाञ्चोकमा राहदानी वितरण सहज
काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले राहदानी वितरण कार्य सहज बनाएको छ । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको अगुवाइमा राहदानी वितरणमा देखिएका समस्या समाधानका लागि अभियान थालिएको छ । राहदानी वितरण सहज गराउने कार्यको सुरुआत भएको उनले बताए । जिल्लामा कार्य सम्पादन सुरु गरेलगत्तै राहदानी लिन आउने सेवाग्राहीका लागि टोकन प्रणाली सुरु गरेको उनी बताउँछन् । सेवाग्राहीको फारम कार्यालयले नै भर्ने गरेको छ । लामो समयदेखि झन्झटिलो रहेको प्रक्रियालाई सरल, सहज र नागरिकमैत्री बनाउन जिल्लामा यस्तो प्रणाली लागू गरिएको प्रजिख पौडेलको भनाइ छ । सेवाग्राही र प्रशासनबीचको दूरी घटाई कार्यमा शीघ्रता ल्याउन रादानीबाट सुरु गरिएको यो अभियान विस्तारै आवश्यकताअनुसार नागरिकता, राष्ट्रिय परिचयपत्रलगायत सेवामा समेत लागू गरिने उनले बताए । ‘अब सेवाग्राहीले लामो समय लाइन बस्नुपर्ने छैन । समय र टोकन लिई बुक गरेको समयमा कार्यालयमा आएर आफ्नो काम गरेर जान सक्ने छन्’, उनले भने । कार्य सहजताका लागि वाणिज्य बैंकको काउन्टर बिदाको दिन पनि खोल्ने र सेवाग्राहीले आफूले पाएको समयमा मात्र गर्न सकिनेसमेत कार्यालयले जनाएको छ । रासस
टिभिएसको एनटर्क १२५ रेस एक्सपी स्कुटरलाई उत्कृष्ट फिचर अवार्ड
काठमाडौं । टिभिएसको एनटर्क १२५ रेस एक्सपी स्कुटरलाई उत्कृष्ट फिचर अवार्ड पाएको छ । टिभिएस मोटर कम्पनीका लागि नेपालको आधिकारिक विक्रेता जगदम्बा मोटर्सको उत्पादन ‘टिभिएस एनटर्क रेस एक्सपी’ले २०२२ को उत्कृष्ट फिचर लोडेड स्कुटर अवार्ड पाएको हाे । एक सय २५ सिसी सेग्मेन्टको स्कुटरमा १० पिएसभन्दा बढी पावर निकाल्ने एक मात्र स्कुटर भएकाले यसलाई उक्त अवार्ड प्रदान गरिएको हो । अवार्ड नेपाली स्टार्टअप, उत्पादन र नेपाली प्राविधिक इभेन्टसँग सम्बन्धित नेपाली मिडिया टेकलेखले प्रदान गरेको जनाइएको छ । स्कुटर उद्योगमै पहिलोपटक भोइस असिस्ट फिचर ल्याएर टिभिएसले उद्योगमा एउटा नयाँ छाप छोड्न सफल भएको दाबी गरिएको छ । भोइस असिस्ट फिचरअन्तर्गत मोड चेन्ज, न्याभिगेसन, कन्सोल ब्राइटनेस एडजस्टमेन्ट, डुनट डिस्टर्बजस्ता फिचरहरू उपलब्ध रहेको उल्लेख छ । योे भोइस असिस्ट फिचरलाई टिभिएस स्मार्ट कनेक्ट ब्लुतुथ कनेक्टिभिटीले सपोर्ट गरेको जनाइएको छ । एनटर्क १२५ रेस एक्सपीको द रेस ट्युन्ड फ्युलइन्जेक्सन (आरटी–एफआई) इन्जिनले ५५०० आरपिएमका साथ १०.२ पिएसको पावर र १०.८ एनएमको टर्क जेनेरेट गर्ने कम्पनीको दाबी छ । तीन बल्ब सिभिटिआई–रेभ इन्जिन भएको यस स्कुटरको टप स्पिड ९८ किमि प्रतिघन्टा रहेको कम्पनीले जनाएको छ । जगदम्बा मोटर्सका सिइओ दीपक अग्रवालले टिभिएस एनटर्क १२५ रेस एक्सपी यो सेग्मेन्टमै सबैभन्दा बढी पावर दिने स्कुटर मात्र नभएर डुअल राइड मोड भएको पनि सेग्मेन्टमै पहिलो रहेको बताए । ग्राहक सेवा सन्तुष्टिको मान्यतालाई आत्मसात् गरेकाले नै अवार्ड प्राप्त गर्न सफल भएको उनको भनाइ थियो ।
भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के हुन्छ ?
काठमाडौं । भारतबाट पेट्रा्लियम पदार्थको मूल्य घटेर आएको नेपाल आयल निगमको जनाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटाएर पठाएको निगमले जनाएको हो । आईओसीले १६ फेब्रअरीमा पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपियाँ ९७ पैसा, डिजेलमा प्रतिलिटर छ रुपियाँ ४० पैसा र हवाई इन्धनमा प्रतिलिटर तीन रूपियाँ ८८ पैसा मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । भारतबाट इन्धनको मूल्य घटेर आए पनि निगम स्थानीय बजारमा भने मूल्य यथावत् राख्ने भएको छ । हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम छ । यसअघि गत माघ २३ गते आईओसीले मूल्य बढाएर पठाएको भन्दै निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । हरेक १५ दिनमा नयाँ मूल्य कायम गर्ने नेपाल आयल निगम र इण्डियन आयल कर्पोरसनको सम्झौता छ ।
बाँकेको बैजनाथ गाउँपालिका कृषि पर्यटनको गन्तव्य बन्दै
नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिकालाई कृषि पर्यटनको गन्तव्यको रुपमा विकास गर्न थालिएको छ । त्यसका लागि उक्त गाउँपालिकामा रहेको गाभर क्षेत्र र मानसरोवरको प्रतिमूर्तिलाई प्राथमिकता राखेर कृषि पर्यटन प्रवर्द्धनको योजना अघि सारिएको छ । लुम्विनी प्रदेशसभाका सदस्य रत्न खत्रीले वैजनाथ गाउँपालिका–६ लालपुरस्थित मानसरोवर प्रतिकात्मक उद्यान प्रदेशको गौरवको योजना भएको उल्लेख गर्दै टुक्राटुक्रा अवस्थामा रहेको गाभर भ्यालीलाई एकीकृत गरेर विकास गर्न चक्रपथ निर्माणको काम अघि बढाइएको बताए । गाभर क्षेत्रमा सो चक्रपथ निर्माणपछि दृश्वालोकन गरेर पर्यटकले भरपुर आन्नद लिन सक्नेछन् । ‘पर्यटनबाट यस क्षेत्रमा स्थानीयलाई आयआर्जन गर्न सहज अवस्थाको सिर्जना हुनुका साथै यसले यहाँको वास्तविक अवस्थाको पहिचान हुन्छ’, खत्रीले भने । वैजनाथ गाउँपालिका–१ चिसापानीका वडाध्यक्ष रुपबहादुर मल्लले गाभर उपत्यकालाई चारतिरबाट समेट्ने गरी करिब १८ किलोमिटर चक्रपथ निर्माणको काम अघि बढेको जानकारी दिए । उनले करिब दुई किलोमिटर क्षेत्रमा ट्र्याक निर्माणको काम बाँकी रहेको उल्लेख गर्दै सडक निर्माणको काम सुरु हुन लागेको बताए । ‘यस क्षेत्रको छुट्टै पहिचान छ, यसलाई पर्यटनसँग जोडेर पर्यटकलाई भित्र्याउन सकिन्छ’, उनले भने । वडाध्यक्ष मल्लले पहाडी क्षेत्रमा उकालो चढेर माथि गएपछि दृश्यावलोकन गर्न सकिने बताए । सहरी विकास तथा भवन कार्यालय नेपालगञ्जका अनुसार सो सडक निर्माण अघि बढाउन लुम्विनी प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा रु एक करोड बजेट छुट्टाइएको छ । मानसरोबर उद्यानका लागि १० लाख रुपैयाँ मात्रै छुट्टाइएको र अर्को आर्थिक वर्षमा यसलाई प्राथमिकतामा राखिने बताइएको छ । गाभरमा सडक निर्माण भएपछि पदयात्राका लागिसमेत महत्वपूर्ण कदम हुने स्थानीय बासिन्दा बताउँछन् । गाभरमा रहेको लायन्स उद्यान तथा होमस्टे र गाभर उपत्यका पछिल्लो समय पर्यटकीय क्षेत्रको रूपमा परिचित छ । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा केही भाग पर्ने भएकाले निकुञ्जसँग समन्वयको काम अघि बढाइएको छ । कोहलपुर नजिकैको चारैतिरबाट जङ्गल र स–साना पहाडले घेरिएको गाभर रमणीय स्थानको रूपमा रहेको छ । रासस
राष्ट्रियताको रक्षाका निम्ति अग्रपङ्क्तिमा छु : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैँ अग्रपङ्क्तिमा रहेको बताएका छन् । ज्ञापनपत्र बुझाउन आएका राष्ट्रिय जनमोर्चाका नेताहरुसित आज बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले देशमा शान्ति सुरक्षा सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले बैठकस्थलबाटै नेपाल प्रहरीका महानिरीक्षकसँग सम्पर्क गरी जनमोर्चाको ज्ञापनपत्र सम्बोधन हुने गरी शान्तिसुरक्षाको व्यवस्था गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । जनमोर्चाका नेताहरूसँगको भेटमा प्रधानमन्त्री दाहालले आफ्नो राजनीतिक जीवन राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा नै भएको स्मरण गराउँदै सङ्घीयताबाहेक अन्य सबै मुद्दामा आफू जनमोर्चासँगै रहेको बताए । सो अवसरमा जनमोर्चाका नेताहरूले राष्ट्रियताका पक्षमा प्रधानमन्त्री दाहालले खेलेको भूमिकाको प्रशंसा गर्दै राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने उनको अडानले मुलुकमा राजनीतिक स्थीरता र संविधानको रक्षा हुने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा आएको टोलीले प्रधानमन्त्री दाहाललाई भेटी राष्ट्रियता, सङ्घीयता र जनजीविकाका सवाल समेटेर ज्ञापनपत्र पेश गरेको थियो । भेटमा केसी नेतृत्वको टोलीले पछिल्लो अवधिमा बागलुङको गलकोट क्षेत्रमा महिलाका गरगहना लुट्नुका साथै चार जनाको हत्या गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको थियो । साथै अन्य जिल्लामा पनि गरगहना लुटपाटका घटना घटेको र महिला असुरक्षित भएको भन्दै जनमोर्चाले सरकारको ध्यानाकर्षण गराएको हो ।
पशुपतिनाथमा महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा
काठमाडौं । यही फागुन ६ गते त्रयोदशीमा पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि आठ उपसमिति गठन गरिएको छ । शिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । पत्रकार, स्वयंसेवकबाहेक पशुपतिनाथ क्षेत्र प्रवेशमा यस वर्ष अन्यलाई पासको व्यवस्था गरिएको छैन । यस वर्षको शिवरात्रिमा कम्तीमा २० लाख भक्तजनले पशुपतिनाथको प्रत्यक्ष दर्शन गर्ने अनुमान गरिएको र भक्तजनको व्यवस्थापनका लागि पाँच लाइनबाट दर्शन गर्ने व्यवस्था मिलाइएको सञ्चालक परिषद् सदस्य एवं मेलाबजार सञ्चालन तथा साज–सजावट व्यवस्थापन उपसमितिका संयोजक पूर्णसङ्गम जेठाराले जानकारी दिए । यस पटक महाशिवरात्रिमा जगन्नाथपुरीस्थित गोवर्द्धन मठका विभिन्न स्थानबाट मेला भर्न आउने साधु सन्तको लागि हंस मण्डप क्षेत्रमा भोजनको व्यवस्था गरिने र त्यहाँ संरचना निर्माण गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण सुवेदीले जानकारी दिए । उनका अनुसार पशुपति क्षेत्रमा सफाइ, शौचालय, खानेपानी र जुत्ता चप्पल राख्ने स्थानको व्यवस्थाको प्रबन्धसमेत मिलाइएको छ । सुरक्षा व्यवस्था, प्रचारप्रसार, दर्शन, रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीलगायत प्रबन्ध मिलाइँदै छ । सुरक्षा व्यवस्था अनुगमन, प्रचारप्रसार व्यवस्था, दर्शन, चन्दन मन्दिर एवं रात्रिकालीन व्यवस्था, आवास, भोजन, धुनीका लागि दाउराको व्यवस्था, धार्मिक कार्यक्रमको व्यवस्था र जुत्ता चप्पल व्यवस्थापन गर्न उपसमितिले काम सुरु गरिसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यसैगरी मन्दिरको मूल ढोकालगायत स्थानमा फूलले सजाउने कार्य शिवरात्रिको एक दिनअघिसम्म पूरा हुने विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए । उनका अनुसार धुनीका लागि पशुपति क्षेत्रका निर्मल, भष्मेश्वर, राम मन्दिर, श्री गोरखनाथ (मृगस्थली), अन्नपूर्णलगायत अखडामा दाउराको व्यवस्था गरिने छ । यसैगरी नागाबाबाका लागि भने पशुपतिनाथको मूल मन्दिर परिसरमै धुनीको व्यवस्था गरिएको आयोजकले जनाएको छ । यस वर्षको शिवरात्रिमा शान्ति सुरक्षा व्यवस्थापनका लागि एक हजार पाँच सयको हाराहारीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित हुने भएका छन् । मूल मन्दिर परिसरमा नेपाली सेनाले समेत व्यवस्थापनमा सहयोग पुर्याउनेछ । महाशिवरात्रिमा छिमेकी मुलुक भारतलगायत तेस्रो मुलुकबाट हजारौँको सङ्ख्यामा तीर्थालु तथा पर्यटक भित्रिने अपेक्षा गरिएको छ । पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिका लागि तयारीस्वरुप झिलिमिली बनाइएको छ । पशुपतिनाथका विभिन्न क्षेत्रलाई अहिले रङ्गीचङ्गी पारिनुका साथै फूल तथा बिजुली बत्तीले सजाइएको छ । मारवाडी समाजको सहकार्यमा पशुपतिनाथ मन्दिर क्षेत्रमा फूलले सजावट गर्ने काम आज सम्पन्न हुँदैछ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ क्षेत्रमा बिहीबार बिहान प्रभात फेरी कार्यक्रम गरिएको थियो । पशुपति क्षेत्र विकास कोषको आयोजनामा आज बिहान पशुपतिको पश्चिम द्वारबाट पशुपति विकास कोषका पदाधिकारी, कर्मचारी, सरकारी तथा गैरसरकारी निकायका प्रमुख, नागरिक समाजका अगुवा, विद्यार्थी तथा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी प्रभात फेरीमा सहभागी भएका थिए । रासस
गाँजाबाट जुत्तादेखि कोटसम्म, लाखौं आम्दानी गरेर भक्तपुरमा जोडे जग्गा
काठमाडौं । तपाईं हामीले प्रहरीले गाँजा (हेय) खेती नष्ट गर्याे भन्ने समाचार बेला बेलामा सुन्दै आएका छौं । गाँजालाई नेपालमा लागू औषधको रूपमा लिइने भएकाले पनि प्रहरीले यलाई बेला–बेलामा नष्ट गर्छ । गाँजाको विषयलाई लिएर विभिन्न समयमा विभिन्न व्यक्तिहरुबाट यसको बैधानिकताको विषयमा पनि तर्क वितर्क हुने गरेको छ । कतिपयले गाँजालाई औषधीको रूपमा लिन्छन् त कतिपयले यसलाई सेवनको रूपमा प्रयोग गर्छन् । गैर कानुनी भएकोले पनि हो यसको खेलआम रुपमा खरिदबिक्री हुँदैन । गाँजोको प्रयोग गर्ने मान्छेलाई प्रहरीले ‘अन दि स्पट’ पक्राउ गर्छ । भनिन्छ नि सदुपयोग गर्न जाने अमृत दुरुपयोग गरे विष । हो, कतिपय मानिसहरु गाँजाकै सेवन गरेर बिग्रेका छन् भने कतिपयले यसको सदुपयोग गरेर घरखर्च मात्रै चलाएका छैनन् जीवनलाई सम्वृद्ध पनि बनाएका छन् । गाँजाको सदुपयोग गरी बाजुराका खडकसिंह बोगटीले लाखौं रुपैयाँ आम्दानी गर्ने गरेका छन् । सुदूरपश्चिम प्रदेश बुढीगंगा नगरपालिका वडा नं. ४ घर भएका बोगटी गाँजाकै कपडा सामानहरु उत्पादन गरेर एक सफल उद्यमीको रूपमा परिचित छन् । बोगटी गाउँमा हुँदा उनकी आमाले गाँजाको धागो बनाइ कम्मरमा तान लगाइ कपडा बुन्थिन् । सो कपडा उनका बुबा बजारमा लगेर धानसँग साट्थे । र, त्यही धानबाट उनको घरपरिवारको गुजारा चल्थ्यो । सानैदेखि हस्तकलाका सामाग्री घरमा उत्पादन भइरहेको देखेका बोगटीलाई सोही किसिमका सामाग्री उत्पादन गर्नु कुनै गाह्रो कुरा थिएन । स्थानीय सीप र उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले उनले गाउँमै वि.सं. २०५१ सालमा कोसेली घर सञ्चालनमा ल्याए । र, उनले बाजुराको चिनो स्वरुप गाँजाबाट निर्मित कपडाहरू बेच्न थाले । बोगटीले अल्लोका कपडा बनाउने काम पनि सँगसँगै अगाडि बढाए । उनलाई त्यत्तिले मात्रै पुगेन । साना तथा घरेलु उद्योग नै स्थापना गरेर काम गर्ने उनको दृढ इच्छा थियो । तर, उद्योग खोल्ने पैसा भएन । पैसा कमाउने सिलसिलामा बोगटी छिमेकी देश भारतमा काम गर्न गएको स्मरण गर्छन् । ‘केही समय बोगटीले भारतमा गएर काम गरेँ, भारतमा बस्दा खर खर्च टार्दै लगभग ५ लाख रुपैयाँ जम्मा गरेँ, पछि गाउँमै फर्केर केही गर्नु पर्छ भन्ने महसुस भयो, बचत गरेको ५ लाख रुपैयाँले बुढीगंगा नगरपालिकामा सुदूरपश्चिम हेण्डिक्राफ्ट उद्योग सञ्चालन गरँे, सुरुमै नगरपालिकाको ९ वटै वडाका ९ जनालाई रोजगारी पनि दिएँ,’ उनले सुरुवाती दिनहरु स्मरण गर्दै भने । सबै वडामा एक एक जनालाई रोजगार दिएपछि स्थानीय तहबाट केही सहयोग मिल्छ भन्ने आशामा आफु रहेको उनी बताउँछन् । उनले स्थानीय कच्चा पदार्थ संकलन गर्दै हस्तकलाका सामान उत्पादन गर्दै उद्योग सञ्चालन गरे । उत्पादन बढ्दै गयो ।उत्पादनले बजार लिन थाल्यो तर त्यसको उपभोग गर्ने बजारको भने समस्या देखिन थाल्यो । उत्पादन गरेको सामानले बजार नपाएपछि बोगटीले काठमाडौंमा आफ्नो उद्योग सार्ने निर्णय गरे । बोगटीले अहिले बुढानीलकण्ठ नगरपालिकामा हिमालयन हेण्डिक्राफ्ट उद्योग सञ्चालन गरिरहेका छन् । बोगटीले गाँजाको मात्र हैन अल्लो, जुट, सनपाट, केरा, भेस्को र ह्याम लगायतका हस्तकलाका सामाग्री पनि बनाउँछन् । ‘हस्तकलाका सामाग्री हातबाट तयार गर्नुपर्ने हुन्छ, त्यसैले पनि सामानको मूल्य थोरै महँगो पर्न जान्छ, तर हामीले बजारमा धेरै मार्जिन नराखीकन उपलब्ध गराइ रहेका छौं,’ उनले भने । उनले अहिले स्थानीय तहले दिने विभिन्न सीपमुलक तालिमहरुमा पुगेर प्रशिक्षणको काम पनि गर्छन् । लाखौंको आम्दानी, विदेश पनि निर्यात बोगटीले बुढानीलकण्ठ हस्तकलाको सामान बनाउन थालेको १६ वर्ष भयो । उनले सो ठाउँमा बसेर आफूले उत्पादन गरेको हस्तकलाको सामान स्वदेशमा मात्र हैन विदेशमा समेत निर्यात गर्दै आइरहेका छन् । गाँजाबाट निर्मित हस्तकलाको सामानको माग विदेशी बजारमा समेत उच्च रहेको बोगटी बताउँछन् । बोगटीले प्रत्यक्ष १३ देशमा र अप्रत्यक्ष २६ देशमा हस्तकलाका सामाग्री पठाउँदै आएका छन् । बोगटीले देशभरका विभिन्न जिल्लाबाट कच्चा पदार्थ संकलन गरी गाँजाका कपडाहरूको उत्पादन गर्छन् । ‘गाँजा ओसार पोसारमा सरकारले रोक लगाएको छ, दुर्गम ठाउँ अथवा टाढाबाट यसका कच्चा पदार्थ ल्याउनु पर्ने हुन्छ, त्यसलाई सहज तरिकाले ल्याउन पाइँदैन, त्यसैले हामी त्यसलाई अल्लो भनेर ल्याउँछौं र सोही अनुरूप बन कार्यालयले सिफारिस गरिदिन्छ, अनि ल्याइन्छ,’ उनले मुस्कुराउँदै भने । बोगटीको आम्दानी अर्डरमा भर पर्छ । जति धेरै अर्डर त्यति धेरै आम्दानी । बोगटी कहिले धेरै कहिले थोरै अर्डर आउने बताउँछन् । बोगटीका अनुसार उनको वार्षिक आम्दानी ४० लाख रुपैयाँ हुन्छ । बोगटीले अहिले ६० जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । भक्तपुरमा जोडे जग्गा बैंकबाट ऋण नलिई सञ्चालन भएको उद्योग बिरलै पाइन्छ । अहिले उद्योग मात्र होइन सायद ऋण नलिएका मान्छे पाउन समेत मुस्किल छ । तर, अचम्मको कुरा, बोगटीले हालसम्म बैंकबाट ऋण नलिएरै आफ्नो उद्योग सञ्चालन गरेका छन् । बैंकबाट ऋण नलिएर उद्योग सञ्चालन गर्ने पनि उद्योगी हुन्छ र ? बैंकबाट ऋण नलिई उद्योग कसरी चल्छ ? भन्नेहरूका लागि बोगटी एक उदारहरणी पात्र बनेका छन् । उद्योग सानो भएर पनि ऋणको आवश्यकता नपरेको हुन सक्ने उनी बताउँछन् । उनले बैंकबाट ऋण लिने जमर्को भने नगरेका पनि होइनन् तर, उनलाई बैंकको ब्याजको डर छ । अहिले बैंकको ऋण लिन पनि डर छ, ब्याज उच्च छ, पछि उच्च ब्याजकै कारण उद्योगमा समस्या आउला भन्ने डर छ, हामी जस्तो साना उद्योगीलाई बैंकले पत्याउँदैन, पत्याए पनि पक्रिया धेरै झन्झट छ, बैंकले ऋण दिए कसले लिन चाहँदैन र, ऋण दिए उद्योगको विस्तार गरी अझै धेरै रोजगारी सिर्जना गर्न सकिन्थ्यो,’ उनले भने । बोगटीले उद्योगबाट उत्पादित सामान काठमाडौंको विभिन्न ठाउँमा उपलब्ध छन् । उत्पादन गरेको सामान बेच्ने शाखा पनि रहेको बोगटी बताउँछन् । बोगटीले उद्योगमै आम्दानीबाट केही समय अगाडि भक्तपुरमा जग्गा पनि जोडेका छन् ।
आजको मौसम : केही भू–भागमा आंशिक बदली
काठमाडौं । आज दिउँसो प्रदेश नं १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने रछ । अन्य भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । आज सुदूरपश्चिम, कर्णाली र लुम्विनी प्रदेशमा आंशिक बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसैगरी प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भने हल्का हिमपातको सम्भावना छ । आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।